Tag: कोरोना नियन्त्रण

  • बालुवाटार पुगेर एमाले नेताहरुले प्रधानमन्त्रीलाई सोधे- कोरोना नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ? (भिडिओ)

    बालुवाटार पुगेर एमाले नेताहरुले प्रधानमन्त्रीलाई सोधे- कोरोना नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ? (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले बालुवाटार पुगेर कोरोना नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शनिबार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्रीको सरकारीनिवासमै गएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    कोरोनाको ओमिक्रोन भेरियन्टबाट नागरिक आतंकित भइरहेका बेला सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै उल्लेख्य पहल नगरेको एमालेको आरोप छ ।

    प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउनुअघि एमाले सचिव योगश भट्टराईले भने– कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कदम प्रभावकारी भएनन्, भण्डारणमा भएका खोप पनि नागरिकले लगाउन पाएका छैनन्, यसले स्थितिलाई झन् जोखिमपूर्ण बनाउँछ ।

    तीनै तहका सरकारलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि चुस्त राख्न आग्रह गर्दै नेता भट्टराईले आवश्यक परे एमालेले सहयोग गर्ने बताए । ‘नागरिकको स्वस्थ्यप्रति एमाले सधैं जिम्मेवार छ, कोरोना नियन्त्रणका लागि हामीले सरकारलाई सक्दो सहयोग गर्छौं, उनले भने ।

    विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबाट अहिलेको सरकारले सिक्नुपर्ने उनको भनाइ थियो ।

    एमाले नेता सुवास नेम्वाङले ध्यानाकर्षणपत्र प्रधानमन्त्री देउवालाई बुझाएका हुन् ।

    ध्यानाकर्षणपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले भने– सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ । खोपका लागि प्रयास गरिरहेका छौं ।

    ध्यानाकर्षणपत्रको पूर्णपाठ

     

     

     

  • ‘निषेधाज्ञामा प्रहरी १८ घन्टासम्म खटिएका छन्, भत्ता अहिले इस्यू होइन’

    ‘निषेधाज्ञामा प्रहरी १८ घन्टासम्म खटिएका छन्, भत्ता अहिले इस्यू होइन’

    काठमाडौं । कोरोना नियन्त्रणका लागि यतिबेला देशका अधिकांश स्थानमा निषेधाज्ञा लागू भइरहेको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म मुलुकका ७७ जिल्लामध्ये ७२ जिल्ला पूर्ण र ३ जिल्ला आंशिक निषेधाज्ञामा छन् ।

    निषेधाज्ञा लागू गर्नका लागि आदेश तथा निर्देशन सरकारले दिने गरे पनि कार्यान्वयनको सम्पूर्ण जिम्मेवारी सुरक्षा निकाय, त्यसमा पनि नेपाल प्रहरीको हो । नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले सातवटै प्रदेश, ७७ जिल्ला र ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडासम्म ७० हजार १३ जना प्रहरी खटिएका छन् ।

    कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा खटिदा प्रहरीहरु पनि ठूलो संख्यामा संक्रमित बनेका  पनिछन् । अहिलेसम्म ८ हजारभन्दा बढी प्रहरी कर्मचारीलाई कोरोना संक्रमण भइसकेको छ । उनीहरुमध्ये ५ सयभन्दा बढी अहिले पनि कोरोनासँग लडिरहेका छन् । १० जनाभन्दा बढी प्रहरी अधिकारीले संक्रमण कोरोनाबाट ज्यान गुमाएका छन् ।

    प्रहरी प्रवक्ता  प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर जति सतर्कता अपनाउँदा पनि संक्रमणबाट प्रहरी जनशक्ति बच्न सक्ने अवस्था नरहेको बताउँछन् । सरकारबाट जारी निषेधाज्ञाको कार्यान्वयनमा प्रहरीले आफ्नो सम्पूर्ण ताकत लगाएको उनको भनाइ छ ।

    अहिलेको जस्तो ‘सशर्त’ निषेधाज्ञाले कोरोना नियन्त्रणमा आउन नसक्ने धारणा उनले राखे । ‘कोरोनालाई नियन्त्रणमा ल्याउनका लागि पूर्ण लकडाउनकै जानुपर्छ भन्ने हाम्रो बुझाइ हो,’ कुँवरले भने । प्रहरी जनशक्ति निषेधाज्ञाका बेला १८ घन्टासम्म खटिए पनि सेवा-सुविधालाई शर्त नबनाएको उनी बताउँछन् । प्रस्तुत छ कुँवरसँग नेपाल प्रेसले गरेको कुराकानीः  

    महामारीको चुनौतिपूर्ण समयमा प्रहरी संगठन कसरी परिचालन भइरहेको छ ?

    १३ महिनादेखि अर्थात पहिलो चरणको कोरोना महामारीको संक्रमणदेखि नै प्रहरी खटिएको छ । पहिलो दोस्रो चरणको महामारीले बढी प्रभाव पारेको छ । अहिले बिशेष गरी काठमाडौं उपत्यकामा बढी र अन्य ठाउँमा सामान्य रुपमा प्रहरी परिचालित छन् ।

    अहिले काठमाडौं उपत्यकामा ५ हजारभन्दा बढी प्रहरी कोरोना, रोकथाम, नियन्त्रण र व्यवस्थापनसँगै निषेधाज्ञा कार्यान्वयन गर्नमा खटिएका छन् । सम्रगमा देशव्यापी रुपमा ४८ हजार प्रहरी परिचालन भएका छन् ।

    तपाईहरुको आफ्नै मूल्यांकनमा निषेधाज्ञा कार्यान्वयनमा प्रहरी कति सफल छ ?

    सरकारले जारी गरेको आदेश, निर्देशन र जनस्वास्थ्यका मापदण्ड पालना गराउनका लागि नेपाल प्रहरी परिचालित छ । पहिलो लकडाउनभन्दा अहिले एकदमै प्रभावकारी रुपमा निषेधाज्ञा कार्यान्वयनमा आएको हामीले पाएका छौ ।

    हुन त पहिले पूर्णरुपमा देशब्यापी लकडाउन भएको थियो । अहिले जिल्ला-जिल्लामा शर्तसहितको निषेधाज्ञा भएको हुनाले सरकारी कर्मचारी, अत्यावश्यक सेवा, मिडियाकर्मी, स्वास्थ्यकर्मी लगायत अन्य विभिन्न सेवा सञ्चालनमै छन् । त्यसैले प्रहरीलाई निषेधाज्ञा कार्यान्वयन गराउन एकदमै चुनौती छ ।

    तर प्रहरीले अहिलेसम्म सरकारले जारी गरेका आदेश, निर्देशन तथा जनसस्वास्थ्यका सबै मापदण्ड अक्षरस कार्यान्वयन गराउन आफ्नो जनशक्ति, साधन स्रोतलाई उपयोग गर्दै आएको छ । जनस्वास्थ्यका मापदण्डलाई आफैले पनि पूर्ण कार्यान्वयन गर्ने र प्रहरीको मनोबल उच्च गराउँदै अन्य सरोकारवाला पक्षसँग समन्वय गरेर आफ्नो कार्यसम्पादन गरिरहेका छौ ।

    अघिपछिको तुलनामा अहिले प्रहरी संगठन कति फरक तरिकाले खटिएकाे छ ?

    निषेधाज्ञा लागू गर्ने सवालमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले आफ्नो विशेष खालको सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेका छन् । जिल्लागत रुपमा प्रहरी परिचालन र व्यवस्थापन फरक–फरक हिसावले भइरहेको छ । उनीहरुले कसरी सहज र प्रभावकारी हुन्छ, त्यसरी नै काम गरिरहेका छन् ।

    समग्ररुपमा भन्दा रोटेसन पद्धतीमा प्रहरी परिचालन भइरहेको छ । दैनिक अन्य नियमित काम पनि गर्नुपर्ने र निषेधाज्ञा पूर्णरुपमा लागू गर्नुपर्ने भएकाले माथिल्लो निकायसँग समन्वय गरेर प्राप्त जनशक्तिको आधारमा व्यवस्थापन गरिएको छ । कार्यक्षेत्रमा खटिने प्रत्येक प्रहरी कर्मचारी जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर दैनिक १८ घण्टासम्म खटिएका छन् ।

    प्रहरी परिचालन गर्दा पनि सबैलाई समान व्यवहार नभइरहेको गुनासो छ नि ?

    निरन्तर खटिनुपर्ने विशेष टिमले खट्नैपर्छ । कार्यक्षेत्रमा खटिने जनशक्ति र कार्यालयमा खटिने जनशक्तिमा फरक त हुने नै भयो । समग्रमा सहीरुपमा परिचालन तथा व्यवस्थापन गरेर गुनासो नआउने गरी समानुपातिक रुपमा ड्युटीको विभाजन गरिएको हुन्छ ।

    यदि कसैलाई ड्युटी विभाजन न्यायसंगत तरिकाले भएन भन्ने लागेको छ भने प्रत्येक प्रहरी इकाइमा गुनासो सुन्ने अधिकारी नै तोकिएका छन् । चित्त बुझेन भने सम्बन्धित निकायमा गुनासो गर्नुपर्‍याे, बाहिर गुनासो गरेर सम्बोधन हुने होइन । यदि गुनासो गर्ने अधिकारीबाट सुनुवाई भएन भने त्योभन्दा माथिल्लो निकायमा भन्नुपर्यो । त्यहाँ पनि भएन भने प्रहरी प्रधान कार्यालयको गुनासो समन्वय इकाईमा सम्पर्क गर्नुपर्‍याे । त्यसलाई हामीले जसरी पनि सम्बोधन गर्छौ ।

    ड्यूटीमा खटिएका प्रहरीलाई अत्यावश्यक सामग्रीको उपलब्धता अहिले कस्तो छ ?

    जुनसुकै चिज पनि पर्याप्त त कहिले पनि हुन सक्दैन । अत्यावश्यक सामग्री उपलब्ध गराउने पक्षमा स्वयम् आफै पनि परिचालित हुनुपर्छ । कम्तिमा स्वास्थ्य सामग्री र जनस्वास्थ्यका मापदण्ड अपनाउने कुरा सबै प्रहरी कार्यालय र प्रहरी कर्मचारीले गरिरहेका छन् र त्यस सम्बन्धमा सम्वन्धित कार्यालयबाट अनुगमन पनि भइरहेको अवस्था छ ।

    प्रहरी प्रधान कार्यालयलले प्राप्त गरेका स्वास्थ्य सामग्री समानुपातिक हिसावले प्रदेशस्तरमा वितरण भइरहेको छ । सम्बन्धित प्रदेश प्रहरी कार्यालय र सम्बन्धित इकाई कार्यालयले आफुलाई निकासा भएको बजेटबाट त्यो शिर्षक अन्तरगतको सामग्री किनेर वितरण गर्ने गरेका छन् ।

    निषेधाज्ञा उल्लंघन गर्नेमाथि कसरी कारवाही भइरहेको छ ?

    सरकारले लागू गरेको निषेधाज्ञा, दिएका आदेश तथा निर्देशन पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि प्रहरीले आफ्नो ठाउँबाट कुनै पनि कसर बाँकी राखेको छैन । प्रहरीले २ वटा काम गरेको छ । एउटा चेतनामुलक र अर्को कानूनको पूर्ण कार्यान्वयन ।

    प्रहरीले काठमाडौं उपत्यका लगायत देशैभरीका प्रहरी इकाइले तपाईंको मास्क खोइ ? भन्ने एउटा कार्यक्रम सञ्चालन गरेका छन् । यो कार्यक्रम पहिलो चरणको कोरोना महामारीदेखि नै सञ्चालन भएको थियो । अहिले दोस्रो चरणमा झन् धेरै प्रभावकारी रुपमा सञ्चालन भएको छ । यसमा करिव ९ हजार वटा कार्यक्रम सञ्चालन गरेर ४ लाख ४८ हजार ४ सय २९ जनालाई निःशुल्क मास्क वितरण गरिसकेका छौं ।

    अहिले कोभिड संकट व्यवस्थापन अध्यादेश आइसकेको छ । यसभन्दा अघि विद्यमान संक्रामक रोक नियन्त्रण ऐन, २०२० कार्यान्वयनमा थियो । त्यसअनुसार करिव २४ हजार ३ सय ७७ जनालाई कारवाही गरेर २४ लाखभन्दा बढी जरिवाना वापत राजस्व संकलन भएको छ । ३ लाख २६ हजार ९ सय ५५ जनालाई होल्डिङ अर्थात रोकेर सम्झाइ बुझाइ गरेर छाडिएको छ । करिव १ लाख १३ हजार सवारी साधन नियन्त्रणमा लिइएको छ । यसमा ७६ हजार ६६ २ पाङग्रे र ३७ हजार ४ सय २९ वटा ४ पाङग्रे सवारी साधनलाई कारवाही गरिएको छ ।

    विभिन्न खालका सचेतनामुलक कार्यक्रम, जस्तै माइकिङ गर्ने, प्लेकार्ड वितरण गर्ने लगायतका १७ हजार ३७ वटा कार्यक्रम सञ्चालन गरेर करिव १४ लाख ६७ हजार ४ सय ५९ नागरिकलाई सचेत गराइएको छ । अक्सिजनको आपूर्तिलाई सहज बनाउने, देशभर सञ्चालनमा रहेका अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लगाउने, त्यसको निगरानी गर्ने र गैरव्यवसायिक रुपमा प्रयोग भएका अक्सिजन र सिलिण्डरलाई अस्पतालमा प्रयोजनका लागि मात्र प्रयोग गर्नका लागि अक्सिजन सिलिण्डर संकलन गर्ने अभियान पनि चलाइएको छ । यो अभियानबाट पनि करिव १४ हजार ५२ सिलिण्डर संकलन गरेर सम्बन्धित अस्पताललाई उपलब्ध गराएको छ ।

    यी सबै अभियान दैनिकरुपमा प्रहरीले निरन्तर रुपमा सञ्चालन गरिरहेको छ । परिआएको खण्डमा अरु व्यवस्थापनका काम, जस्तै अलपत्र परेका व्यक्तिलाई सम्बन्धित ठाउँसम्म पु¥याउने र अन्य समस्यामा परेकालाई सहजिकरण, सहयोग र समन्वय गर्ने काम पनि गरिरहेको छ ।

    सर्वसाधारणले कारवाही भोग्नुपर्ने तर ठूलाबढाले निस्फिक्री हिँडिरहेको देखिन्छ नि किन ?

    तपाईंले सर्वोच्च अदालतमा मुद्धा दर्ता गर्न गएका सांसदसँग जोडेर यो प्रश्न गर्नुभएको होला । हामीलाई जानकारी आएअनुसार उनीहरु स्वास्थ्यका सबै मापदण्ड पालना गरेका थिए । हामीले कानून कार्यान्वयन गर्ने भनेको हाम्रो निजी स्वार्थ र सरकारका लागि होइन । सम्बन्धित व्यक्ति नै सुरक्षित रहोस र अरुलाई पनि सुरक्षित राख्न सकोस भन्ने हो । यो सम्बन्धमा प्रहरी संगठनले भनिरहनु भन्दा पनि सम्बन्धित व्यक्तिले नै बुझ्नुपर्ने कुरा हो । प्रहरीले स्वास्थ्यका सबै मापदण्ड पालना गरेर नगरी नहुने काम गर्नुस भनिरहेको छ ।

    कोभिड संकट व्यवस्थापन अध्यादेश आइसकेपछि सजायको व्यवस्था कडा भएको हुनाले अब मान्छे अलिकति सचेत हुने अवस्था आउछ भन्ने हामीले अपेक्षा गरेका छौ । यसअघिको संक्रामक रोग नियन्त्रण ऐन, २०२० मा कानूनी व्यवस्था त्यति धेरै कडा थिएन । प्रहरीले त्यसै अनुसार लागू गरेको थियो । नागरिकले पनि सजाय सामान्य भएपछि त्यसलाई अवज्ञा गर्नेतिर बढी अग्रसर भएको देखिन्थ्यो । कानून नै कडा नभएका कारणले यस्तो भएको हो कि भनेर सरकारले अध्यादेशका रुपमा कानुन कडा बनाएको छ । यस सम्बन्धमा त्यसरी नै बुझिदिन मेरो र प्रहरी संगठनको आग्रह छ ।

    जति कडा कानूनी व्यवस्था ल्याए पनि सर्वसाधारण नागरिकका लागि मात्र त हो नि ?

    यो कुरा मैले भन्नुभन्दा पनि सबैले पालना गर्नुपर्छ ।

    प्रहरीले सामान्य नागरिकलाई बाहेक ठुलाबडालाई कारवाही गरेको कि नसुनिएकाे हाे ?

    स्वभाविक रुपमा ठूला मान्छेले पनि कानून कार्यान्वयन गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ । आफैँ नमूना बन्नुपर्छ, त्यसपछि अरुले गर्छन् । यसमा कसैले केही भनिरहनु पर्दैन र हामीले पनि कारवाही गरिरहनु पर्दैन ।

    निषेधाज्ञा कहिलेसम्म जारी राख्ने भन्ने विषयमा प्रहरी संगठनको धारण के छ ?

    यसमा प्रहरी र मेरो निष्कर्षभन्दा पनि अहिले जुन शर्तसहितको निषेधाज्ञा लागू भएको छ, यसलाई निशर्त अर्थात पूर्णरुपमा लकडाउन घोषणा गरिनुपर्छ भन्ने मलाई लाग्छ । त्यस्तो गरियो भने मात्र संक्रमण रोक्न सकिन्छ । संक्रमण घटाउने प्रमुख उद्देश्य हो र कोरोना महामारीलाई सामान्य अवस्थामा ल्याउने हो भने त्यो गर्न जरुरी छ ।

    अहिले करिव ३६ देखि ३७ प्रतिशत संक्रमणदर फैलिरहेको छ । एक दशमलव ६ प्रतिशत मृत्युदर छ । यसलाई तल झार्न त स्वभाविक रुपमा आवागमनमा नै एकदमै कडा गर्न जरुरी छ । त्यसैले यो विषयमा सरकारले ध्यान दिनुपर्छ ।

    सरकारले तथा स्थानीय प्रशासनले जारी गर्ने आदेश तथा निर्देशन अक्षरस कार्यान्वयन गर्नु प्रहरीको प्रमुख दायित्व हो । तर अनुभवले के भन्छ भने शर्तसहित भन्दा पनि निशर्त लकडाउन घोषण भयो भने यसलाई ग्यारेन्टीका साथ अर्थात भरपर्दो हिसावले कार्यान्वयन गराउन सकिने हुन्छ । अनि बल्ल संक्रमणको दरलाई नियन्त्रण गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो ।

    कोरोना संक्रमणको जोखिम कम गर्न संगठनभित्र के-कस्ता तौरतरिका र मापदण्ड अपनाइएको छ ?

    जनस्वास्थ्यका मापदण्डको कुरा गर्दा अहिले त स्वभाविक रुपमा एकदमै आधारभूत भनेको सेनिटाइजर र मास्क हो । तर नागरिकसँग एकदमै नजिक भएर काम गर्ने प्रहरी अधिकारीले पीपीई, ग्लोभ, फेस सिल्डलगायतका सामग्री प्रयोग गरिहेको पनि यहाँले देख्नुभएको नै छ । त्यसैले अवस्थाअनुसार, समय र परिस्थितले मागेअनुसारका सामग्री प्रयोग गरेर प्रहरी परिचालन भइरहेको छ ।

    अहिलेसम्म प्रहरीमा कति जनशक्ति कोरोनाबाट प्रभावित बनेका छन् ?

    अग्रभागमा खटिने प्रहरी कर्मचारीको प्रत्यक्षरुपमा नागरिकसँग सम्पर्क हुने भएकाले प्रहरीमा संक्रमण हुुनु सामान्य जस्तै हो । यसमा जति सचेतना अपनाउँदा रोक्न नसकिने अवस्था छ । एकदमै जोखिमपुर्ण अवस्थामा काम गरेको कारणले संक्रमित भएको अवस्था हो ।

    स्वास्थ्य सामग्रीको अभाव भएर संक्रमण प्रहरीमा बढी भएको हो कि भनेर प्रश्न गर्नुहोला । तपाईंले प्रश्न गर्नुअघि नै म जवाफ दिन्छु । शतप्रतिशत नै सचेतना अपनाउँदा अपनाउँदै पनि र स्रोत साधनले सम्पन्न हुँदा पनि संक्रमण त हुन्छ नै । तपाईंले देख्नु नै भएको छ नि, पश्चिमा मुलुकको अवस्था कति भयावह थियो । त्यसैले स्वास्थ्य सामग्री अभाव भएको र लापरवाहीले भएको भन्ने होइन । अवस्था नै त्यस्तो छ ।

    अहिले तपाइसँग कुरा गरिरहेकै अवस्थाको तथ्यांक दिन त नसकुला । तर अहिलेसम्म समग्रमा पहिलो र दोस्रो चरणमा गरेर देशभरका ८ हजार प्रहरी कर्मचारी संक्रमित भइसकेको अवस्था छ । जसमध्ये अहिले पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । १० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

    पहिलो चरणको कोरोनामा यतो अफ्ठ्यारो अवस्था थिएन । तर अहिले एक्कासी रोगले च्यापेर बोल्दाबोल्दै मृत्युको मुखमा पुगिरहेका छन् । तर पनि अहिलेको यो भयावह अवस्थालाई चुनौतीका रुपमा लिएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउँदै प्रहरी कर्मचारी कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनसँगै निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि कार्यक्षेत्रमा खटिएको छ ।

    संक्रमित भएका जनशक्तिको व्यवस्थापन कसरी गर्ने गरिएको छ ?

    सम्बन्धित प्रहरी इकाइ, मुख्यत जिल्ला प्रहरी कार्यालयले आफ्नो खालको आइसोलेसन सेन्टर बनाएका छन् । उपचार गर्ने अवस्थामा अस्पतालमा पुर्‍याउने, नेपाल प्रहरी अस्पतालमा रिफर गर्ने कुरामा प्रणालीले काम गरिरहेको छ ।

    काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल कोभिड विशेष अस्पतालको रुपमा अगाडी बढाइसकिएको छ । सामान्य बिरामीका लागि काठमाडौं उपत्यकामा ३ ठाउँमा आइसोलेसन सेन्टर छन् । त्यहाँ चिकित्सक खटिएर नेपाल प्रहरी अस्पतालको निगरानीमा उपचार भइरहेको छ । करिव ४ सयभन्दा बढी बेडको व्यवस्थापन गरिएको छ । यसरी नेपाल प्रहरीले संक्रमितको उपचारमा एकदमै ध्यान दिएर व्यवस्थापन गरेको छ ।

    नेपाल प्रहरी अस्पतालको क्षमता विस्तारदेखि उपचार व्यवस्थापन कसरी भइरहेको छ ?

    नेपाल प्रहरीले प्रहरी अस्पताललाई मुख्यत १ सय ५० बेडबाट लेबल २ अस्पतालका रुपमा विकास गरिसकिएको छ । कोभिडको उपचार गर्ने सिलसिलामा १ सय ५० बेड थपेर करिव ३ सय बेडको बनाइएको छ । २ सय ६४ वटा बेड कोभिडका लागि र ३६ वटा बेड मात्र कोभिड बाहेकका बिरामीका लागि छुट्याइएको छ, जसमा इमर्जेन्सीदेखि लिएर सल्यक्रिया समेतको उपचारका काम भइरहेका छन् । अहिले ती सबै बेडमा उपचार हुने अवस्था छ ।

    समग्रमा १ सय ५४ वटा सामान्य बेड, ८० वटा एजडीयू बेड र ३० वटा आईसीयू बेड भनेर छुट्याएको अवस्था छ । आईसीयू र एचडीयू बेड दैनिक पूर्णरुपमा सञ्चालन भएको छ भने सामान्य बेड आवश्यकता अनुसार प्रयोग हुने गरेको छ ।

    नेपाल प्रहरी अस्पतालले मुख्यतया अहिलेसम्म कोभिड उपचारमा संलग्न भइसकेपछि करिव ३ हजार ५ सयलाई उपचार गरेर घर पठाइसकेको छ । जसमध्ये ९२ प्रतिशत नेपाल प्रहरी, पूर्व प्रहरी र प्रहरीका परिवारसँग सम्बन्धित रहेका छन् भने ८ प्रतिशत सामान्य नागरिक छन् । अहिले पनि नेपाल प्रहरी अस्पतालमा १ सय ८७ जना व्यक्ति उपचाररत छन् । जसमध्ये १ सय ३३ जना नेपाल प्रहरीसँग सम्बन्धित हुन् भने ५४ जना सामान्य नागरिक छन् ।

    नेपाल प्रहरी अस्पतालमा फिबर क्लिनिक पनि स्थापना भएको छ । पहिलो चरण र दोस्रो चरण गरेर अहिलेसम्म १७ हजार ३ सय ६४ जनाको पीसीआर परिक्षण भइसकेको छ । अक्सिजन आपूर्तिको समस्या आइसकेपछि हामीले निमार्णाधिन अक्सिजन प्लान्टलाई छिटो निमार्ण गर्न लगाएर सञ्चालनमा ल्याएका छौ । अहिले दैनिक करिव १ सय ४० वटा ठुला सिलिण्डरको उत्पादन गर्ने क्षमताको प्लान्ट सञ्चालनमा छ ।

    प्रहरी अस्पतालमा सामान्य अवस्थामा ७०–७२ वटा सिलिण्डर खपत हुने गरेकोमा अवस्थामा अहिले १ सय ४० सिलिण्डर त्यहीँ उत्पादन हुन्छ र अरु १ सय ६० जति सिलिण्डर बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । दैनिक रुपमा ४ वटा गाडी लाइनमा राखेर अक्सिजन आपूर्ति गरिरहेका छौ ।

    कोरोना महामारीमा खटिने सुरक्षाकर्मीलाई भत्ता दिने सरकारको निर्णय कार्यान्वयनमा आउन किन ढिलाइ भयो ?

    यहाँले भनेको कुरा सही नै हो । तर सरकारले मितव्यीतताका कारणले यो अहिलेसम्म व्यवस्थापन हुन नसकिरहेको अवस्था छ । हुन त भत्ता पाउनु राम्रो कुरा हो । यसले प्रहरी कर्मचारीको मनोबल उच्च हुन्छ । तर भत्ता नपाए पनि यसमा कुनै शर्त राख्ने कुरा भएन ।

    नेपाल सरकारको अग्रभागमा खट्ने सुरक्षा निकाय जहाँ, जुनसुकै अवस्थामा पनि तत्काल खटिने जिम्मेवार निकाय हो । त्यसकारण प्राप्त सेवा सुविधामा चित्त बुझाएर त्यसैमा रमाएर उच्च मनोबलका साथ राष्ट्रलाई परेको बेला काम गर्नुपर्छ । हामी त्यही हिसावले काम गरिरहेका छौ । मातहतका प्रहरी कर्मचारीलाई पनि त्यसरी नै काम गर्न भनिरहेका छौ ।

    भनेको अहिलेसम्म एक जना प्रहरी अधिकारीले पनि भत्ता नपाएको हो ?

    कोरोना संक्रमणको बेला खटिने कुनै पनि प्रहरी कर्मचारीले अहिलेसम्म भत्ता पाएका छैनन् । नियमित सेवा–सुविधा मात्र पाइरहेको अवस्था हो ।

    सरकारले नै उपलब्ध नगराएको हो कि, प्रहरी संगठनले पाएर पनि वितरण नगरेको हो ?

    अहिलेसम्म प्रहरी प्रधान कार्यालयलाई त्यो किसिमको बजेट नै आएको छैन । सुरुमा प्रहरी कर्मचारी धेरै मात्रामा खटिएको भए पनि थोरैलाई भत्ता उपलब्ध गराउने भन्ने सुनेका थियौ । तरसरकारसँग साधन स्रोत अभाव भएको कारणले आउन नसकेको हो । प्राविधिक कुरा त अरु पनि हुन सक्ला ।

    अहिले भत्ताभन्दा पनि औषधि तथा स्वास्थ्य सामग्रीमा बजेट खर्च गर्ने कुरा पहिलो प्राथमिकतामा आउँछ । त्यसकारण भत्ताको विषयलाई हामीले त्यसरी नै बुझेका छौं ।

    ज्यान नै जोखिममा राखेर खटिने कर्मचारीलाई भत्ता उपलब्ध गराउन संगठनबाट पहल नपुगेको हो कि ?

    यसबारेमा मैले तपाईंको अघिल्लो प्रश्नमा नै भनिसके । अहिलेको विषम अवस्थामा भत्ता प्रमुख कुरा होइन । भत्ता वितरण भएको अवस्थामा समानुपातिक हिसावले र न्यायसँगत हिसाले वितरण हुनुपर्छ भन्ने हो । त्यसै अनुसार काम गर्ने र खटिने सबैले आशा गर्ने कुरा पनि हुन्छ नै । तर अरु नै कुरा प्राथमिकतामा परेको अवस्थामा अहिले भत्ता–भत्ता भनेर मनोबल गिराउनु ठीक हुन्न ।

    अग्रभागमा खटिने कर्मचारीलाई खोप अनिवार्य भनिएको थियो, सबैले लगाइसकेको अवस्था हो ?

    सबै प्रहरीले अहिलेसम्म खोप लगाइसकेको अवस्था छैन । स्वभाविक रुपमा सबैले खोप गाउने अवसर प्राप्त गर्न सकेनन् । पहिलो चरणको खोप करिव ३८ हजार प्रहरी कर्मचारीले लगाएका छन् । तर दोस्रो चरणको खोप भने त्यसको ६७ प्रतिशत अर्थात साढे २५ हजार  ५ सयले मात्र लगाएका छन् ।

    दोस्रो चरणमा पनि खोपको अपुग भएको छ । कोभिसिल्ड लगाउने व्यक्तिले अब खोप लगाउने समय भयो तर, आवश्यक खोपको मात्रा सरकारसँग छैन । पहिलो चरणमा आधा जतिले खोप लगाएका थिए । हेरौ बिस्तारै खोप आपूर्ति भयो भने दोस्रो चरणको खोप लगाउनुपर्ला ।

    संक्रमित जनशक्तिलाई संगठनमा के-कस्तो क्षतिपूर्ति र अन्य सुविधा प्राप्त हुने गरेको छ ?

    संगठनले कर्मचारीको बीमा त गरेकै अवस्था छ । त्यो कानून बमोजिम उनीहरुले पाउने नै भए । नीतिगत हिसावले संगठन प्रमुखको तहबाट हुने कुरा भइरहेको छ।  मेरो जानकारीमा आएसम्म संगठन प्रमुखवाट नीतीगत रुपमा पहल र दैनिक रुपमा सचिवालयका प्रहरी नायव महानिरीक्षकबाट फोन र पाैष्टिक आहारसहितको निशुल्क खानाको  व्यवस्था गरिएको छ ।

    प्रहरी संगठनले अन्य सुरक्षा निकायसँग कसरी समन्वय भइरहेको छ ?

    अन्य सुरक्षा निकायसँग स्वभाविक रुपमा केन्द्रदेखि तल्लो तहसम्म समन्वय भइरहेको नै छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकमा, गृह मन्त्रालयसँगको बैठकमा अथवा अन्य निकायसँगको बैठकमा संगठन प्रमुख गएर समन्वय गर्ने काम भइरहेको छ ।

    तल्लो तहसम्म पनि यसले निरन्तरता पाइरहेको छ । प्रहरीले सबै सुरक्षा निकायसँग आवश्यकता अनुसार सहकार्य गरेर काम गरिरहेको छ । प्रहरीले सुरक्षा निकायसँग मात्र होइन कि, तल्लो तहसम्म अन्य सरोकारवाला निकायसँग पनि सहकार्य र समन्वय गरेर काम गरिरहेको छ ।

    निषेधाज्ञायता अपराधिक घटनाको अवस्था के छ ?

    निषेधाज्ञाको अवस्थामा त्यस्तो खासै अपराधिक गतिविधि बढेको अवस्था छैन । तर अहिले आत्महत्याका घटना बढिरहेका छन् । अघि पछिको तुलनामा आत्महत्याका घटना केही बढेको देखिन्छ ।

    अघिल्लो लकडाउनमा पनि आत्महत्याका घटना बढेका थिए । अरु अपराधिक गतिविधि खासै बढेको अवस्था छैन । तर अहिलेको अवस्थामा अपराधिक गतिविधि घटे पनि कोभिडसँग सम्बन्धित अन्य अपराध जस्तै अत्यावश्यक चिज वस्तु तथा स्वास्थ्य सामग्रीमा कालोबजारीका गतिविधि बढिरहेका छन् । कोभिडलाई नियन्त्रण गर्नेसम्बन्धी सामग्री उपकरण, मास्क, सेनिटाइजर लगायतका बस्तुमा कालोबजारी गर्ने, स्वास्थ्यमा असर पुर्‍याउने खालको स्वास्थ्य सामग्री विक्री–वितरण गर्ने काम भइरहेका छन् । यस्ता क्रियाकलापलाई रोक्न, नियन्त्रण गरेर कारवाही गर्न प्रहरी सक्रिय रुपमा लागेको छ ।

    नियमित अपराध नियन्त्रणमा अहिले कसरी काम भइरहेको छ ?

    यो काम त स्वभाविक रुपमा हुने नै भयो । प्रत्येक ठाउँमा प्रहरी खटिएको छ । हरेक कुना काप्चा, गल्ली र कन्दारामा प्रहरी परिचालन भएको छ । सबै ठाउँमा प्रहरी परिचालन भइसकेपछि अपराधका घटना यसै पनि कम हुने नै भए ।

    अपराध गर्न पनि अपराधीले हिँडिरहनुपर्छ नि त । यताउता जान पूर्णरुपमा रोकिएको हुनाले र प्रहरी परिचालन बढी भएको हुनाले पनि अपराधिक गतिविधि घटेको हो । कहिँकतै यस्ता अपराधिक गतिविधि भएको अवस्थामा पनि नियन्त्रण तथा अनुसन्धान गर्न सजिलो भइरहेको छ ।

    महामारीका बेला प्रहरी संगठनले भोग्नुपरेका समस्या के–के छन् ?

    समस्या नै नभोगेको त कसले होला र । अहिलेको अवस्थामा यो-यो समस्या भोगिरहेका छौ भनेर भन्ने कुरा पनि भएन । आधारभूत रुपमा जेजति जनशक्ति र साधनस्रोत छ, त्यसलाई प्रयोग गरेर काम गर्ने हो ।

    जानेर वा नजानेर कुनै प्रहरीबाट गलत काम भयो भने त्यसैलाई आधार मानेर प्रहरीलाई बुझिदिने र त्यही किसिमको जनधारणा बनाइदिने प्रवृत्ति छ । त्यस्तो कतै सामाजिक सञ्जालबाट भएको छ, कतै पुर्वाग्रही मिडियाबाट नै भएको छ । अथवा कोही कसैबाट यस्ता कुरा नभइदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो ।

    यदि त्यस्ता कुरा छन् भने हामीसँग सिधा सम्पर्क गर्न सकिने नम्बर छन् । आधिकारिक मान्छे छन् । सबै ठाउँमा प्रवक्ता र सूचना अधिकारी छन् । त्यहाँ कुरा राख्दा राम्रो हुन्थ्यो । सामान्य खालका गल्ति–कमजोरी त मान्छेबाट हुन्छ । एउटा व्यक्तिको कुरालाई जोडेर संगठन मुछिदिदाँखेरी समस्या हुन्छ । यो कुरा आम नागरिकलाई अनुरोध गर्न चाहन्छु ।

    निषेधाज्ञाका बेला प्रहरीले नागरिकलाई दिने नियमित सुरक्षा र सेवामा कमी आएको छ कि छैन ?

    छैन । सेवामा कुनै पनि कमि आएको छैन । अहिले पनि प्रहरीका सबै इकाई सक्रिय छन् । कार्यालयका फोन तथा टोल फ्रि नम्बर सञ्चालन भएर नागरिकका गुनासा सुन्ने तथा समस्या समाधानका काम भइरहेका छन् ।

    तथ्यांक नै भन्ने हो भने अहिले पनि निषेधाज्ञाको बेलामा दैनिक रुपमा ५ हजार कल आउने गरेका छन् । यो निषेधाज्ञाको अवधिमा करिव २२ लाख ८ हजार कल हामी प्राप्त गरेका छौ । लैंगिक हिंसादेखि लिएर अरु घरेलु हिंसाका कुरालाई सम्बोधन गर्ने सिलसिलामा नेपाल प्रहरीका महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयले पनि सूचना जारी गरेको छ । सम्पर्क गर्ने नम्बर, टोल फ्रि नम्बर सामाजिक सञ्जालमा जानकारी गराउन अनुरोध गरेको छ ।

    जुनसुकै खालका गुनासा अहिले नेपाल प्रहरीको सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत र वेवसाइटमा पनि आउने भएकाले तत्काल समाधान गरेको अवस्था छ । निषेधाज्ञाका कारण नागरिकलाई नियमित दिने सेवामा कुनै पनि कमि आएको छैन । प्रहरीको पहुँच भएन, सूचना प्राप्त भएन, सेवाग्राही र सेवा दिने अधिकारीविचमा सम्पर्क हुन सकेन भन्ने अवस्था छैन् ।

  • स्वास्थ्यमन्त्रीलाई एमाले स्वास्थ्य विभागले दियो कोरोना नियन्त्रणसम्बन्धी दर्जन बढी सुझाव

    स्वास्थ्यमन्त्रीलाई एमाले स्वास्थ्य विभागले दियो कोरोना नियन्त्रणसम्बन्धी दर्जन बढी सुझाव

    काठमाडौं । नेकपा (एमाले)को स्वास्थ विभागले सरकारका मन्त्रीहरुलाई भेटी कोरोना नियन्त्रण सम्बन्धी दर्जन बढी सुझाव दिएको छ ।

    बुधबार विभागका तर्फबाट पूर्व स्वाथ्यमन्त्री समेत रहेका खगराज अधिकारी नेतृत्वको टोलीले उप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीलाई भेटेर ती सुझाव दिएका हुन् ।

    यस्ता छन् सुझाव

    १) स्वास्थ मन्त्रालयले १० देखी १५ वटाअपरेटरहरू राखी वेड, औषधी, अक्सिजन लगायतका सूचना पाउने र टोल फ्री लाइन व्यस्त नबनाउने

    २) वेड, आइसीयू, भेन्टिलेटरको सूचना अनलाइनमा अद्यावधिक गर्ने

    ३) जनस्वास्थ विपद घोषणा गर्ने, देशी विदेशी सहयोगको लागि अपील गर्ने

    ४) काठमाण्डौंमा एउटा र मोफसलमा एउटा लिक्विड अक्सिजन उद्योग खोल्ने र पहल गर्ने

    ५) अक्सिजनको खरीद, वितरण र प्रयोग प्रभावकारी बनाउने, प्लान्ट राख्न नसकिने ठाँउमा कन्सनट्रेटर ​पठाउने

    ६) औषधी र मेडिकल ​सामाग्रीको वितरण माग अनुसार गर्ने

    ७) औषधी र कच्चा पदार्थकोआयात अनुमति मागेका कम्पनीलाई सहज तरिकाले अनुमति दिने

    ८) वीर अस्पताललाइ एकीकृत कमान्ड अस्पतालका रूपमा सञ्चालन गर्ने

    ९) ऊच्चतहको अध्यनको तयारी गरेका चिकित्सक र स्वास्थ कर्मीहरूलाई काममा लगाउन प्रोत्साहन दिने

    १०) सही सूचना प्रवाह गर्न मिडिया काउन्सिललाई आफ्ना सदस्यहरूलाई सचेत पार्न आदेश दिने

    ११) प्रोजेक्सन गरी साप्ताहिक योजना लागू गर्ने

    १२) खोपका लागि विश्वव्यापी पहल गर्ने

    १३) ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि नेपाल टेलीकम र एनसेललाइ प्रयोग गर्ने

  • सरकारले अवकासप्राप्त चिकित्सकलाई करारमा खटाउने

    सरकारले अवकासप्राप्त चिकित्सकलाई करारमा खटाउने

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महामारीविरुद्ध जुध्न सरकारले अवकासप्राप्त स्वास्थ्यकर्मीलाई खटाउने भएको छ ।

    सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रण तथा उपचारका लागि सरकारले थप कदम चाल्ने आश्वस्त पारे ।

    ‘स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ’, प्रधानमन्त्रीले भने, ‘कोभिड-१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बीमाको व्यवस्था गरिनेछ ।’

    सङ्क्रमणको साङ्लो तोड्न लागू निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहेको प्रधानमन्त्रीले बताए ।

  • मुलुकभरका २३ जिल्लामा निषेधाज्ञा, १४ जिल्ला पूर्णरुपमा बन्द

    मुलुकभरका २३ जिल्लामा निषेधाज्ञा, १४ जिल्ला पूर्णरुपमा बन्द

    काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । गृह मन्त्रालयका  विववरण अनुसार शुक्रबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये १४ जिल्ला पूर्णरुपमा र ४ जिल्ला आंशिक बन्द छन् । थप ५ जिल्लामा निषेधाज्ञा जारी हुने क्रममा छ ।

    सल्यान, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा र झापा जिल्लामा निषेधाज्ञा जारी गरिने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले जनाएका छन् । शनिबार राति १२ बजेदेखि जाजरकोट, आइतबार बिहान ६ बजेदेखि रुकुम पश्चिम, सल्यान र डडेल्धुरा तथा आइतबार राति १२ बजेदेखि झापामा निषेधाज्ञा जारी हुने मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले जानकारी दिए ।

    यस्तै १९ गते आइतबार बिहान ६ बजेदेखि सल्यानमा पनि निषेधाज्ञा जारी हुनेछ । अहिलेसम्म पूर्णरुपमा निषेधाज्ञा लागेका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन र रुपन्देही छन् । शुक्रबार राति १२ बजेबाट पाल्पा र सुनसरीमा निषेधाज्ञा जारी हुँदैछ । यसैगरी, बागलुङ, कालिकोट, बर्दिया र दार्चुलामा आंशिक निषेधाज्ञा लागू भएको छ । बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४, साविक आमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा छ । यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिका ११ रेङगिलमा निषेधाज्ञा जारी गरिएको छ ।

    बर्दियाको गुलरिया नगरपालिकास्थित ५ र ६ नम्बर वडाका सबै क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

    यस्तै दार्चुुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६, शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ को बलाँज बजार क्षेत्र, वडा नम्बर २ को देथला बजार क्षेत्र, वडा नम्बर ३ को कर्कले बजार क्षेत्र, वडा नम्बर ५ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र र वडा नम्बर ९ को गोकुलेश्वर बजार, कठपते, गाँजरी, नायल र घट्टीगाड क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।

    मन्त्रालयका प्रवक्ता दाहालका अनुसार अहिलेसम्म निषेधाज्ञा जारी भएका जिल्लामध्ये बाँकेमा २० गतेसम्म, सुर्खेत र कास्कीमा २१ गतेसम्म, काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा र कञ्चनपुर २२ गतेसम्म जारी रहने छ । शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको दाङमा २५ गतेसम्म, शुक्रबार राती १२ बजेदेखि पाल्पा र सुनसरीमा लाग्ने निषेधाज्ञा २४ गतेसम्म जारी रहने उनले बताए । यस्तै बिहिबार बिहान ६ बजेबाट निषेधाज्ञा लगाइको रुपन्देहीमा ३० गतेसम्म, चितवनमा ३१ गतेसम्म र १९ गते आइतबारबाट निषेधाज्ञा लगाइने सल्यानमा जेठ २ गतेसम्म जारी रहनेछ ।

    शनिबार राति १२ बजेबाट निषेधाज्ञा जारी हुने जाजरकोटमा २५ गते राति १२ बजेसम्म, १९ गते आइतबार बिहान ६ बजेबाट निषेधाज्ञा लगाइने रुकुम पश्चिममा ३१ गते राति १२ बजेसम्म, १९ गते आइतबार बिहान ६ बजेबाट नै निषेधाज्ञा जारी हुने डडेल्धुरामा २५ गते राति १२ बजेसम्म र १९ गते आइतबार राति १२ बजेबाट नै निषेधाज्ञा जारी हुने झापामा २६ गते राति १२ बजेसम्म जारी रहने छ ।

    झापामा लगाइएको निषेधाज्ञामा सवारी साधनमो जोर बिजोर प्रणाली लागू गरिएको छ । बैशाख ७ गतेदेखि आंशिक निषेधाज्ञा लगाइएको बागलुङ र बैशाख १० गतेबाट आंशिकरुपमा निषेधाज्ञा लगाइएको कालिकोटमा शुक्रबार म्याद सकिँदैछ । बर्दियामा पनि बैशाख १३ गतेबाट लगाइएको आंशिक निषेधाज्ञा १९ गते आइतबार सकिँदैछ । आंशिक रुपमा निषेधाज्ञा लगाइएको दार्चुलामा अर्को आदेश नभएसम्मका लागि जारी रहने छ ।

     

  • कोरोना नियन्त्रणमा सक्रिय स्थानीय सरकार: सैनामैनामा कोरोना अस्पताल, तिलोत्तमामा अत्याधुनिक आइशोलेसन सेन्टर

    कोरोना नियन्त्रणमा सक्रिय स्थानीय सरकार: सैनामैनामा कोरोना अस्पताल, तिलोत्तमामा अत्याधुनिक आइशोलेसन सेन्टर

    रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्थानीय सरकारले नियन्त्रण तथा व्यवस्थापनमा सक्रियता देखाउन थालेका छन् ।

    रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आएको छ । नगरको वडा नम्बर १ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोरोना अस्पताल सञ्चालनमा आएको हो ।

    अस्पतालमा तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड छन् । यसैगरी अस्पतालमा एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् ।

    बिहीबार अस्पतालको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अहिले नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे । उनले जिल्ला प्रशासनले आजदेखि लागू गरेको निषेधाज्ञाको समेत पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।

    ढकालले प्रदेश सरकारले कोरोना रोकथामका लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै थप कार्य योजनाका लागि सर्वदलीय बैठक राखेर अघि बढिने बताए ।

    नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर, एउटा एक्सरे, तीन वटा प्यारामिटर थप भएमा ५० वटै बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने बताए ।

    उनले यो सुविधा उपलब्ध भएमा नगरसँगै आसपासका पालिकाहरुमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले कोरोना रोकथामका लागि सैनामैना नगरपालिकाले जिल्लामै उत्कृष्ट कदम चालेको बताए । रुपन्देहीका १६ वटै पालिकाले यसको सिको गर्न जरुरी रहेको उल्लेख गर्दै कोरोनाबाट बँच्नका लागि सबै सचेत हुनुपर्ने औल्याए ।

    तिलोत्तमामा अत्याधनिक आइसोलेशन सेन्टर

    कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइशोलेसन सेन्टर तयार गरेको छ ।

    कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्यचौकीमा आइशोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । गतवर्ष कोरोना महामारीको समयमा निर्माण गरिएको आइशोसन सेन्टरमा आवश्यक उपकरण व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

    बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमा नगरपालिकाले गत वर्ष आइसोलेशन सेन्टर निर्माण गरेको थियो । कोरोना महामारीको पहिलो लहरमा यहाँ बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालले पठाएका बिरामीलाई समेत राखिएको थियो ।

    नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइशोलेसन सेन्टरको रुपमा तयार गरिएको जानकारी उनले बताए ।

    बीस शैय्याको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईले बताए । सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिनेछ ।

    केन्द्रमा बिरामीको २४ सै घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । कोरोना महामारीबाट नगरबासीलाई बँचाउन नगरपालिकाले गत वर्षदेखि नै आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गरिने छ ।

  • कोरोना नियन्त्रणमा सहयोग गर्न मुख्यमन्त्रीको भट्टको आग्रह

    कोरोना नियन्त्रणमा सहयोग गर्न मुख्यमन्त्रीको भट्टको आग्रह

    कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड-१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सहयोग गर्न संघीय स्वास्थ्य सेवा विभागको टोलीसँग आग्रह गरेका छन् ।

    बुधवार स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण श्रेष्ठको नेतृत्वमा स्वास्थ्य क्षेत्रको अवस्था बुझ्न धनगढी पुगेको संघीय स्वास्थ्य सेवा विभागको टोलीलाई मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका लागि प्रदेशमा सहयोग गर्न आग्रह गरेका हुन् ।

    भारतबाट आउने नेपालीको व्यवस्थापन, उनीहरूको परीक्षणको लागि किट र उपचार, उपकरण र दक्ष जनशक्ति तथा पर्याप्त अक्सिजनका लागि मुख्यमन्त्री भट्टले टोलीलाई आग्रह गरेका थिए ।

    टोलीमा बाल स्वास्थ्य महाशाखा निर्देशक, जनस्वास्थ्य प्रमुख लगायतको सहभागिता रहेको थियो ।

    यसअघि सोही टोलीले सामाजिक विकास मन्त्रालयमा कोभिड-१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने सम्बन्धी निजी अस्पताल सञ्चालकहरूसँग पनि छलफल गरेको थियो ।

  • कोरोना नियन्त्रण र उपचारमा प्रभावकारी कदम चाल्न सांसदहरूको माग

    कोरोना नियन्त्रण र उपचारमा प्रभावकारी कदम चाल्न सांसदहरूको माग

    काठमाडौं । बजेट रकमान्तर गरेर भए पनि कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागी सांसदहरूले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको उनको भनाइ थियो ।

    नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरूमा भयावह स्थिति आइसकेकोतर्फ संकेत गरे । सीमावर्ती जिल्लाका स्वास्थ्यकर्मीहरूले हात उठाइसकेको भन्दै सरकारलाई आफैंले गरेका निर्णयहरू कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताए । यस्तै कोभिडलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने उनको माग थियो ।

    जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहायप्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरवाही गरिरहेको आरोप लगाए । सरकार आफैंले विभिन्न मेला गर्ने, भीडभाड गर्ने, उद्घाटनको नाउँमा भीड गराउने गरेको यादवको टिप्पणी छ ।

    नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले सरकारको मातहतमा रहको अक्सिजन प्लान्टहरूलाई मर्मत गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने र अक्सिजन सिलिण्डर खरिदका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने कुरा उठिराखेको औंल्याए ।

    बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमित बिरामीको उपचारका लागि भइरहेका कामको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।

  • उपत्यकाका सीडीओको बैठक : कोरोना नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्ने (भिडियो)

    उपत्यकाका सीडीओको बैठक : कोरोना नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्ने (भिडियो)

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

    मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीहरू समेतको उपस्थितिमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारले हिजो (वैशाख ६) मा गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरेको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणबाट बच्न व्यापक रूपमा प्रचार-प्रसार गर्ने, सरोकारवालाहरूसहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको छ ।

    सरकारले २०७८ वैशाख मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्ने, रात्रिकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह व्रतवन्धजस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउनेलगायतको निर्णय गरिसकेको छ ।

    स्थानीय प्रशासनहरूले सरकारको सोही निर्णयलाई कार्यान्वयनमा ल्याएका हुन् ।