Tag: कोरोना त्रास

  • छाडी जाँदैछु तिम्रो शहर (तस्बिरहरू)

    छाडी जाँदैछु तिम्रो शहर (तस्बिरहरू)

    काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीब्र भएसँगै उपत्यका छाड्नेको लर्को लागेको छ ।

    भोलिदेखि लागू गरिएको निषेधाज्ञाका कारण घर जानेलाई दिइएको दुई दिनको समयसीमामा थातथलो फर्किने यात्रुको भीडले बसपार्क र उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू भरिएका छन् ।

    काठमाडौं छाड्नेमध्ये विद्यार्थी र ज्याला मजदुरी गर्ने धेरै छन् ।

    उपत्यका भित्रिने नाकामा प्रहरीले बुधबार राति १२ बजेदेखि कडाइ गर्नका लागि विशेष योजना नै बनाएको छ ।

    उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले मंगलबार रातिसम्म ५२ हजारभन्दा बढीले उपत्यका छोडेको बताएका छन् ।

    बुधबारमात्रै २ लाखभन्दा बढी सर्वसाधारणले उपत्यका छाड्ने अनुमान ट्राफिक प्रहरीको छ ।

  • राजधानीका तीनवटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै काम बन्द

    राजधानीका तीनवटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै काम बन्द

    काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि नहुने भएका छन् ।

    कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै नागरिकतालगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुनेछन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भीडभाड कम होस् र मानिसहरू घरबाट बाहिर निस्कन पर्ने अवस्था पनि नहोस् भनेर यस्तो निर्णय गरिएको बताए ।

  • कोरोना संक्रमणको त्रासका विचमा पनि चैती छठ मनाइँदै (फोटो फिचर)

    कोरोना संक्रमणको त्रासका विचमा पनि चैती छठ मनाइँदै (फोटो फिचर)

    जनकपुरधाम । कोरोना संक्रमणको त्रासका विचमा पनि जनकपुरसहित तराई, मधेसका जिल्लामा श्रद्धापूर्वक चैती छठ मनाइँदैछ । जनकपुरको ऐतिहासिक गंगासागर लगायतका पोखरी तथा जलाशयमा ब्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् ।

    शुक्रवारदेखि विधिवत रुपमा सुरु भएको चैती छठका ब्रतालु आज दिउँसो पूजाका विभिन्न समानसहित पोखरी तथा जलाशय पुगेको थिए । छठ मनाउन सिंगारिएको घाटमै राति विश्राम गर्ने र भोली विहान उदाउँसो सूर्यलाई अर्घ चढाएपछि चैती छठ समापन हुन्छ ।

    कात्तिक शुक्ल षष्ठीका दिन मनाइने ठूलो छठ हो भने चैत शुक्ल षष्ठीका दिन ‘चैती छठ’ हो । कात्तिक शुक्ल षष्ठीका दिन जसरी नै चैत शुक्ल षष्ठीका दिन पनि छठ मनाइने चलन छ । छठमा ब्रतालुले ४८ घण्टा उपबास बस्नुपर्ने भएकाले यसलाई कठोर ब्रत पनि भनिन्छ ।

    पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक चैती छठ मनाइन्छ । छठ मनाउने ब्रतालुले भने कोरोना फैलिने त्रास पनि बिर्सेका छन् । छठ घाटमा भीडभाड देखिए पनि स्वास्थ्य सतर्कता भने अपनाइएको छैन् ।

    सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

  • कोरोना त्रासले भारतबाट रित्तो हात फर्किँदै नेपाली

    कोरोना त्रासले भारतबाट रित्तो हात फर्किँदै नेपाली

    कैलाली । अछाम जयगढका दीर्घबहादुर साउद घर फर्कँदा पनि उत्साहित छैनन् । अघिल्ला वर्षमा भारतबाट मजदुरी गरेर फर्किँदा परिवारका सबै सदस्यका लागि कोसेली बोकेर पुग्ने उनको झोला यस वर्ष रित्तो छ ।

    मजदुरीको लागि भारतको छत्तिसगढ गएका साउद कोरोना त्रासले ३ महिनामै रित्तो हात घर फर्किन बाध्य भए ।

    ‘लकडाउन हुने डरले रित्तो फर्किएँ’ उनले भने, ‘लकडाउनमा परियो भने अझै समस्या हुन्छ । त्यो भन्दा घरै पुग्न जाति भनेर आएको हुँ ।’

    टीकापुरका रामलाल डगौराको झोलामा पनि आफूले प्रयोग गरेका लत्ताकपडा बाहेक केही छैन । उनी ७ महिनापछि घर फर्किएका हुन् । ७ महिना सम्म पनि कोरोना कहरले राम्रो आम्दानी नभएको उनी बताउँछन् ।

    छत्तिसगढमा मम बेचेर गुजारा चलाइरहेका डगौराको व्यापार पहिलेको जस्तो छैन । ‘दैनिक ५/६ सयको मात्रै व्यापार हुन थाल्यो’ उनले भने ‘कमाउनै सकिएन घर फर्किएँ ।’

    बाजुराका सगुनबहादुर विकलाई कोरोनाले सबै भन्दा बढी मार पारेको छ । २५ वर्षदेखि भारतको नयाँदिल्लीमा चौकीदारीको काम गरिरहेका उनी पहिलोपटक रित्तो हात घर फर्किएका छन् ।

    ‘केही महिना अघि गएको थिए । कोरोनाको डरले तुरुन्त फर्किएँ ’उनले भने ‘भारतका लकडाउन हुँदैछ । त्यहीँ अलपत्र परिन्छ भनेर हतार हतारमा घर फर्किए ।’

    अहिले भारतमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा एक हजार २६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

    ‘केही दिन बसेर तलब लिएर आएको भए हुने थियो । तर, कोरोनाको धेरै डर छ’ कैलाली मोहन्यायका घनश्याम बगालेले भने ‘सकुशल घर पुगिने आसाले पुरै पारिश्रमिक समेत नलिएर आएका हौँ ।’

    भारतमा कोरोनाको संक्रमण बढिरहेको बेला नेपालमा नयाँ वर्ष सुरू हुँदा पनि घर फर्किने नेपालीहरूको संख्या बढी भएको हो ।

    सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै बिसु पर्व मनाइने गरिन्छ । बिसु पर्वका कारण पनि घर फर्किनेहरू बढेको त्रिनगर हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

    उनले पछिल्लो एक महिनामा मात्रै ३० हजार बढी नेपाली गौरिफन्टा नाका हुँदै घर फर्किएको जानकारी दिए । कञ्चनपुरको गड्डाचौकीबाट पनि त्यतिकै सङ्ख्यामा नेपालीहरू घर फर्किरहेका छन् ।

  • कोरोना त्रासले रोकेन भारत पस्नेहरूको लर्को

    कोरोना त्रासले रोकेन भारत पस्नेहरूको लर्को

    कैलाली । शुक्रबार साँझ कञ्चनपुर पुनर्वास कि शान्ती विक हतार हतार कैलालीको गौरिफन्टा नाका पुगिन् । साथमा थिए, ५ वर्षीय छोरा रिदम र २ वर्षीया छोरी आसिका ।

    थप दुई जना आफन्त लिएर उनी रोजगारीका लागि भारतको बेङ्लोर जाँदै थिइन् । भारतमा कोरोना संक्रमण बढिरहेको बेला पनि रोजगारका लागि जानुपर्ने उनको बाध्ता छ । ‘हामी बसेको ठाउँमा अहिलेसम्म कोरोना पुगेको छैन भन्ने सुनेका छौँ,’ नेपाल भारत सीमा नाका काट्दै गर्दा उनले भनिन्, ‘यहाँ बसेर के गर्नु, कसरी परिवार पाल्नु ।’

    उनले नेपालमै रोजगारीको व्यवस्था भए भारत जानुपर्ने बाध्यता नरहने बताइन् ।

    कैलाली लम्की चुहा नगरपालिकाका करण भूल विगत १० वर्षदेखि भारतको महाराष्ट्रमा काम गर्दै आइरहेका छन् । उनका सबै परिवार अहिले पनि त्यहीँ छन् ।

    पछिल्लो केही समय यता भारतको महाराष्ट्र कोरोनाको उच्च जोखिममा छ । तर, करणलाई भने त्यहाँ पुग्न हतारो छ । ‘केही दिनअघि नेपाल आएको थिएँ । आज फर्किँदै छु । यहाँ बसेर पनि के गर्नु काम नगरी खान पुग्दैन,’ करणले भने ।

    उनले आफू मात्र नभई आफ्ना परिवार नै उतैको रोजगारीमा निर्भर रहेका बताए । कैलाली लम्किकै जयसरा महतराको परिवार पनि भारतमै छ । शुक्रबार उनी पनि रोजगारीको लागि बेंलोर गइन् । आफूलाई कोरोना त्रास भन्दा रोजगारीको नहुँदाको संकटले सताउने गरेको उनी बताउँछिन् ।

    वर्षौंदेखि आफूहरूले भारतमा रोजगारी गरेको उनी सुनाउँछन् ।

    भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेको जानकारी त छ । यद्यपि, दैनिक ४ सय भन्दा बढी नेपाली नागरिक गौरिफन्टा नाका हुँदै गइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी बताउँछन् ।

    ती मध्ये अधिकांश रोजगारीको लागि र केही नेपाली उपचारको लागि जान्छन् । जोशी भन्छन्, ‘नेपालमा रोजगारीको अभाव हुँदा भारत पस्नेहरूको संख्या बढेको छ ।’

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गौरिफन्टा नाकाकै हाराहारीमा कञ्चनपुरको गड्डा चौकी नाकाबाट पनि नेपाली भारत गइरहेका छन् ।