काठमाडौं । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ ।
संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।
कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तिय हव सांघाइमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलन थालेपछि चीनको सांघाइमा चरणबद्ध लकडाउन सुरु भएको छ भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् ।
त्यस्तै संक्रमण फैलन थालेसँगै आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्मार्ता टेस्लाले जनाएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौं मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको छ ।
ऊर्जा मागको त्रासबीच अमेरिकी बेन्चमार्क तेल सम्झौता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीआई)मा पाँच प्रतिशतले गिरावट आएको छ । सहरको पूर्वी आधा भागमा लकडाउन गरिएको छ । तर, बन्दरगाह र सहरका दुई विमानस्थलहरु भने खुला छन् ।
कोभिडको नयाँ संक्रमण ओमिक्रोन भेरियन्टका कारण चीनमा पछिल्ला समयमा संक्रमण दर बढेको छ । सन् २०१९ को अन्त्यमा वुहानमा पहिलो पटक यो भाइरस देखा परेदेखि गत महिना चीनमा सबैभन्दा धेरै संक्रमणका घटना देखिएका छन् ।
आइतबार चीनमा एकै दिन ४५ सय नयाँ संक्रमित भेटिएका थिए ।
काठमाण्डौं । नेपालमा कोरोना महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो ।
पहिलो पटक लकडाउन सुरु गरेपछिको दुई वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट ३ अर्ब ९८ करोड ८५ लाख ८० हजार रुपैयाँको फेस मास्क भित्रिएको छ ।
भन्सार विभागका अनुसार सो मुल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएको छ ।
कोरोना महामारी विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । कोरोना नियन्त्रण गर्न अनिवार्य मास्कको प्रयोग गर्न नेपालमा पनि स्थानीय प्रशासनले आदेश जारी गरेकाे थिए । मास्ककाे प्रयोगलाई अनिवार्य गरेपछि नेपालले मास्ककाे आयात सुरु गरेको थियो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि फागुन मसान्तसम्म १ अर्ब ५ करोड ४० लाख २३ हजार रुपैयाँको फेस मास्क नेपालले आयात गरेको छ । सो मुल्यमा १२ करोड ९४ लाख ४ हजार ६१८ थान मास्क नेपाल भित्रिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ३५ करोड ९८ लाख २ हजार १४४ थान र २७ हजार १७१ केजी मास्क नेपालले आयात गरेको थियो ।
आर्थिक वर्ष २०७६/०७७ (चैतदेखि असारसम्म) मा नेपालमा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी मास्क भित्रिएको थियो ।
नेपालमा बंगलादेश, चीन, हङकङ, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, म्यानमार, सिंगापुर, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, युनाइटेड अरब इमिरेट्स, अमेरिका, मियतनाम लगायतका देशबाट फेस मास्क आउने गरेको छ ।
काठमाडौं । कोरोना संक्रमण तीव्र भएपछि सरकारले भीडभाड नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
आमसला, जुलुस र धेरै भीडभाड हुने कार्यक्रमलाई माघ मसान्तसम्म रोक लगाइएको छ । केहीमा भने स्थानीय प्रशासनबाट स्वीकृति अनिवार्य गरिएको छ ।
पूर्वनिर्धारित परीक्षा यथावत राखेर विद्यालय भने माघ १५ सम्मलाई बन्द गरिसकिएको छ ।
१: सबै प्रकारका आमसभा, जुलुस, धेरै मान्छे भेला हुने कार्यक्रम माघ मसान्तसम्म नपाइने
२: गोष्ठी, सेमिनारमा भौतिक उपस्थित हुनुपर्ने भएमा बढीमा २५ जनामात्र
३: माघ ७ गतेपछि पूरै डोज खोप लाएका व्यक्तिमात्र गोष्ठी, बैठकमा भाग लिन पाउने
४: फिल्म हल, जिमखाना, रात्रिकालीन सबै व्यवसाय, स्वीमिङ पुलहरू माघ १५ सम्म बन्द
५: विद्यालय, विश्वविद्यालय, कलेज र ट्यूसन सेन्टरहरू माघ १५ गतेसम्म बन्द
६: पूर्वनिर्धारित परीक्षा, भाषा परीक्षा, चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा नरोकिने
६: मठ मन्दिर, मस्जिद, गुम्बा र चर्चहरूमा माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थनामात्र गर्ने
७: सपिङ मल, डिपार्टमेन्ट स्टोरहरूमा एकपटकमा २५ जनाभन्दा बढी प्रवेश नदिइने
८: पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको बढीमा एक तिहाई नबढ्नेगरी बढीमा ५० जनामात्र रहने
९: प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध, पास्नी, न्वारानजस्ता कार्यक्रम गर्न पाइने
१०: माघ ७ पछि खेलकुद कार्यक्रममा खोपकार्डका आधारमा मात्र रंगशालामा प्रवेश गर्न दिने
कैलाली । पछिल्लो केही दिन यता कैलालीमा कोरोना संक्रमितहरुको संख्या अत्याधिक गतिमा बढिरहेको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएका परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२१ जनामा परिएको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण हुँदा ५५ जनामा नभएको पुष्टि भएको हो । उनले पछिल्लो केही दिन यता संक्रमितहरुको संख्या तीव्र गतिमा बढिरहेको बताए ।
‘प्रत्येक दिन कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ ’ उनले भने ‘अहिले परीक्षण भएकामा सङ्क्रमित नहुनेहरू भन्दा हुनेहरू बढिरहेका छन् ।’
पछिल्लो चार महिनामा सबै भन्दा धेरै संक्रमित शुक्रबार फेला परेका हुन् । कैलालीमा बुधवारबाट कोरोना संक्रमितहरुको संख्या एक्कासी बढेको हो । पुसको २० गते गरिएको ३५ जनाको परीक्षणमा २ जना, २१ गते ४४ जनामा २ जना, २२ गते २४ जनामा २ जना, २३ गते ५६ जनाको परीक्षणमा ६ जना, २४ गते ३६ जनाको परीक्षणमा ८ जना, २६ गते ८७ जनाको परीक्षणमा १२ जना, २७ गते ७६ जनाको परीक्षण गरिएकोमा २१ जनामा कोरोना पुस्टी भएको छ।
यस्तै २८ गते १०५ जनाको परीक्षणमा ४५ जना, २९ गते १६१ जनाको परीक्षणमा ४ जना र शुक्रवार १२१ जनाको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
पछिल्लो केही दिन यता समुदायमा पनि कोरोना संक्रमण फैलिएको आशङ्का गरिएको छ । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ट्राभल हिस्ट्री समेत नभएकाहरू संक्रमित हुन थालेपछि समुदायमा संक्रमण फैलिन थालेको आशङ्का गरिएको छ ।
भारतबाट आएका संक्रमितहरू सोझै घर जानेगरेकाले पनि समुदायमा संक्रमण फैलन थालेको बताइएको छ ।
भारतको नयाँ दिल्ली, पुना, बेंलोर लगायतका ठाउँबाट आएका सयौँमा प्रत्येक दिन कोरोना पुष्टि भइरहेको छ । तर, उनीहरू सार्वननिक सवारी मार्फत नै घर सम्म गइरहेका छन् ।
कोरोना सङ्क्रमित भएकाहरूलाई आइसोलेसनमा राख्नु पर्ने हो तर,वडाध्यक्षकै दबाबमा उनीहरूलाई यहाँबाट झिकाइने गरेको गुनासो बढिरहेको छ स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत लक्ष्मीराज उपाध्ययाले भने, संक्रतिमहरु होल्डिङ सेन्टरबाट समय भन्दा अघि नै घर जाने गरेको हुँदा समस्या थप हुने सङ्केत देखिएको छ ।
शुक्रबार मात्रै ७५० परीक्षण गर्दा १५० जनामा संक्रमित फेला परेका छन्। भारतबाट आउनेहरू मध्ये बढी भन्दा बढिमा कोरोना संक्रमित देखिने गरेको छ ।
पछिल्लो १० दिनमा सुदूरपश्चिम भरी १४ सय ९३ कोरोना संक्रमितथपिएका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार दैनिक जसो संक्रमितहरू थपिन थालेका हुन्।
१० दिनको तथ्याङ्क हेर्ने हो भने २० गते ४० जना संक्रमित भएको प्रदेशमा २९ गते त्यसको झन्डै ९ सय प्रतिशत अथवा ३१८ जनामा कोरोना देखिएको छ। सीमा क्षेत्रबाट होल्डिङ सेन्टर सम्म पुराइएकाहरू सबै त्यहाँ नबस्दा समस्या विकराल बन्ने आशङ्का गरिएको छ ।
भैरहवा । भारतबाट आउने नेपालीहरूमा संक्रमण दर बढेको छ । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले पुष्टि गरेको छ ।
केही समय शून्यमा झरेको कोरोना संक्रमण पछिल्लो साताबाट पुनः उक्लिन लागेको छ । भारतमा पछिल्लो दिन संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखापर्न लागेको हो ।
नेपाल भारत सीमा बेलहियामा मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।
लामो समय भारत बसेर आउनेहरूलाई सीमा विन्दुमै शंका लागे परीक्षण भइरहेको छ । पछिल्लो एक साताबाट संक्रमितको संख्या बढेको छ । भारतबाट आउनेमध्ये दैनिक करिब ३०० जनाको एन्टिजेन परीक्षण गर्दा २०/२५ जनामा संक्रमण पुष्टि भएको हेल्थ डेस्कमा खटिएका रेडक्रसका हेल्थ डेस्कका इन्चार्ज अभिनव निरौलाले बताए ।
‘नेपाल रेडक्रस सोसाइटीले बिहान ६ बजेबाट शंकास्पद र रोजगारीबाट आएका नागरिकको एन्टिजेन परीक्षण र स्क्रीनिङ गरेपनि तीन चार दिनबाट संक्रमितको संख्या बढेका छन, संक्रमितमध्ये अधिकांश तीर्थयात्री र रोजगारीमा रहेका नेपालीहरू रहेका छन्’, उनले बताए ।
भारतका विभिन्न शहर र विदेशी मुलुकहरूमा कोरोनाको नयां भेरियन्ट ओमिक्रोन देखिएका बेला पोजिटिभ देखिनेहरू अधिकांश दिल्ली, कलकत्ता, बनारस, गया, काशी लगायतका क्षेत्रबाट आएकाहरू छन् ।
दैनिकरुपमा संक्रमित बढे पनि सीमामा खासै सर्तकता अपनाइएको छैन । सीमामा दैनिक उपाभोग्य र बजार हजारौ नागरिक ओहोरदोहोर गरिरहेका छन् । जसबाट पनि संक्रमण रोकथामका लागि प्रभावकारी देखिँदैन ।
नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।
काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संस्करण फैलिन नदिन थप सतर्कता र तयारीका लागि अनुरोध गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्थानीय तह, स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै उक्त अनुरोध गरेको हो ।
कोभिड-१९ को थप संक्रामक भेरिएन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिएको भन्दै जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न, परीक्षणको दायरा बढाउन, संक्रमितहरूको उपचार र आइसोलेसनको प्रभावकारी व्यवस्थापन गर्न, खोपको प्रयोग बढाउनेलगायतका कार्य गर्न महाशाखाको आग्रह छ ।
काठमाडौं । कोरोना संक्रमणले अभिभावक गुमाएर शिक्षाको अवसरबाट वञ्चित बालबालिकाले छात्रवृत्तिका लागि अभियान थालिएको छ ।
राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको अगुवाइमा ती बालकालिकालाई छात्रवृत्ति व्यवस्था गर्न लागिएको हो ।
कांग्रेस नेता गगनकुमार थापा, डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झा, सिन्धुपाल्चोकमा शिक्षा क्षेत्रमा कार्यरत संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डाले अभियानको नेतृत्व गरेका छन् ।
अभियानलाई ‘भरोसा छात्रवृत्ति अभियान’ को नाम दिइएको छ । अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिने बताइएको छ ।
नेता थापाले कोभिड महामारीका कारण अभिभावक गुमाएका बालकालिकाले राज्य, संघसंस्था र व्यक्तिगत तवरबाट तत्कालका लागि केही राहत पाएको भए पनि उनीहरुको शैक्षिक निरन्तरता चुनौतीपूर्ण हुने ठानेर आफूहरुले अभियान थालेको बताए । उनले पहिलो वर्षको छात्रवृत्तिका लागि आवश्यक रकमको जिम्मा डिसहोमले लिएको र आगामी वर्ष अभियानमा संलग्न सबै र सहयोगी हातहरुलाई अपिल गरेर अभियान निरन्तर अगाडि बढाउने योजना रहेको उल्लेख गरे ।
हालका लागि छात्रवृत्तिमा आवश्यक रकमको जोहो डिशहोम परिवार (लगानीतकर्ता, कर्मचारी, देशभरका डिलर तथा शवडिलर) ले गर्नेछ । यो वर्ष ४० लाख खर्च गर्ने कार्यक्रम रहेको डिसहोमका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।
कोरोना कहरसँगै आर्थिक मन्दीको मार खेपेको समाजका लागि केही गरौं भन्ने उद्देश्यका साथ आफूहरुले ‘भरोसा छात्रवृत्ति अभियान’ सञ्चालन गर्न लागेको उनले बताए ।
सुर्खेत । सुर्खेतका शिक्षक, अभिभावक तथा विद्यार्थीले ‘जुलुस गर्दा कोरोना नसर्ने, विद्यालय खोल्दा सर्ने हो ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् । अमरज्योति माध्यमिक विद्यालय नेवारे सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापा भन्छन्– हामीले कक्षा ११ को परीक्षा पनि लिइसकेका छौं । कक्षा १२ को परीक्षा लिने अन्तिम तयारी गरिसकेका थियौं । परीक्षा मात्रै होइन, कक्षाहरु पनि भौतिक रुपमा सञ्चालन गर्न सकिने आधार तयार पारिरहेका थियौं । सरकारले तोकेको मापदण्ड पालना गरेरै भएपनि हामी कक्षा सञ्चालन गर्न चाहन्छौं । तर सरकारले नै छापामारशैलीमा विद्यालय सञ्चालन गर्न र परीक्षा सञ्चालन गर्न रोक लगाएपछि हामीले के गर्नु ?
दैलेखको आठबीस नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमित देखिएका छैनन् । त्यहाँ कोरोना संक्रमित नदेखिएप नि विद्यालय भने पूर्णरुपमा बन्द छन् । कर्णाली प्रदेशअन्र्तगत सुर्खेतको वीरेन्द्रनगर, दैलेखको नारायण नगरपालिकालगायत सदरमुकाम रहेका पालिकाहरुमा कोरोना संक्रमण देखिए पनि वीरेन्द्रनगरबाहेक अन्य जिल्लामा भयावह स्थिति देखिएको छैन ।
जिल्लामा पसलहरु खुलेका छन् तर विद्यालयहरु खुल्न सकेका छैनन् । विद्यालय खोल्दा बालबालिकामा कोरोना सर्ने भय देखाउने गरेको सरकारले आन्दोलन गर्न, नारा जुलुस गर्न, विभिन्न दल निकटका कार्यक्रमहरु गर्न भने रोक लगाउन सकेको छैन । बारम्बार २५ जना भन्दा बढी भेला हुन नदिने उर्दी जारी गर्ने गरेको जिल्ला प्रशासन कार्यालय जुलसका अघि निरीह बनेको छ ।
तीन दिनअघि मात्रै नेकपा एमाले माधव नेपाल समूहले वीरेन्द्रनगरको एक हलमा कार्यक्रम गर्यो । त्यसको एक दिन पछि सुकुम्वासी तथा भूमिहीनहरुको हजारौंको संख्याले ¥याली मात्रै निकालेन, जिल्ला प्रशासन कार्यालयमै गएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझायो ।
नेपाली कांग्रेसका हरेक कार्यक्रमहरु अहिले गाउँ केन्द्रित भइरहेका छन् । महाधिवेशनको चटारोमा रहेको काँग्रेसले हरेक वडामा केही न केही कार्यक्रम गर्दै आइरहेको छ । नेकपा माओवादी केन्द्रले पनि गाउँ जाने अभियान सञ्चालन गरेको छ भने केही दिनअघि सुर्खेतका विभिन्न पालिकामा भेला तथा कार्यक्रमको माओवादी केन्द्रले आयोजना गरिरहेको छ ।
राजनीतिक दलका कार्यक्रम हुन वा अन्य कुनै समुदायको अधिकार प्राप्तीका आन्दोलनहरु होउन्, न त्यहाँ सामाजिक दूरी कायम गरिएको छ न त कुनै त्यहाँ स्वास्थ्य मापदण्ड नै अपनाइएको छ । यसरी हेर्दा सरकारले शिक्षा क्षेत्रलाई तहसनहस हुने खालको नीति अवलम्बन गर्दै आइरहेको सरोकारवालाहरुको गुनासो छ ।
‘शिक्षा क्षेत्रलाई मात्रै टार्गेट गर्न हुँदैन । पछिल्लो समयमा विद्यार्थीहरु थप कमजोर बन्दै गइरहेका छन् । जहाँ जहाँ कोरोनाको भयावह स्थिति छ, त्यहाँबाहेक अन्य क्षेत्रमा विद्यालय सञ्चालन गर्ने राज्यले नीति ल्याउन आवश्यक छ’, भैरव माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक मोतिराम पुरी भन्छन्, ‘सरकारले बेलैमा यसतर्फ ध्यान नदिएको खण्डमा विद्यार्थीहरुको भविष्य चौपट हुने खतरा छ ।’
सुर्खेतमा नीजि विद्यालयहरुले अहिले पहिलो त्रैमासिक परीक्षा लिइरहेका छन् । उनीहरुले अनलाईनमार्फत परीक्षा लिइरहेको एक नीजि विद्यालयका प्रिन्सिपलले बताए ।
‘हामीले अनलाईनबाट कक्षा सञ्चालन गर्दै आइरहेका छौं तर प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । विद्यालय खोल्ने वातावरण सरकारले बनाउन नसकेका कारण अधिकांश विद्यार्थीहरु गाउँमा नै छन्’, उनी भन्छन्, ‘यो कोरोना भनेको विद्यार्थीका लागि मात्रै आएको हो कि भन्ने लागिरहेको छ । विद्यालयमा हामीले पूर्णरुपमा स्वास्थ्य मापदण्ड कायम गरेर अध्यापन गराउँछौं भन्दा पनि राज्यले अनुमति दिइरहेको छैन ।’
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६ सय २४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमुना (८,६६७ पीसीआर र ४,९०६) परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
शनिबार २० जनाले ज्यान गुमाएका छन् भने १३ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार मुलुकमा ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०,२५९ रहेको छ भने कूल ७ लाख भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।
काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै पूर्वतयारी थालेको छ । गृहमन्त्री बालकृष्ण खाणले कोरोना सम्बन्धमा विशेष बैठक गर्दै खोप, होल्डिङ सेन्टर र अन्य आवश्यक तयारीका लागि निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सहभागी थिए ।
‘कोरोना नियन्त्रण चुनौतीपूर्ण भएपनि सबैको समन्वयमा काम गर्यौं भने असम्भव छैन । कोरोना नियन्त्रणलाई प्राथमिकता दिएर योजनाबद्ध ढंगले काम गरौ’, गृहमन्त्री खाणले भने ।
उनले होल्डिङ सेन्टर निर्माणको काम सन्तोषजनक नरहेको भन्दै थप प्रभावकारी ढंगले काम गर्न निर्देशन दिए । कोरोनाको तेस्रो लहर आउनुअघि नै कोरोनाविरुद्धका संरचना तयार गर्नुपर्नेमा खाणको जोड थियो ।
बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै सरकारी अस्पतालमा अक्सीजन व्यवस्थापन गर्न तथा कोरोनाविरुद्ध सय दिने विशेष योजना कार्यान्वयन गरिने बताए । सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई खोप दिएर होल्डिङ सेन्टरमा राखिने भन्दै राज्यमन्त्री श्रेष्ठले एक हप्ताभित्र ३२ लाख डोज खोप आउने बताए ।
‘हामीले ४० लाख फाइजर खोप किन्न आवश्यक प्रबन्ध गरेका छौं । त्यसमध्ये १६ लाख चीन र १६ लाख डोज जापानबाट यही हप्ता आउनेछ’, श्रेष्ठले भने ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले स्वास्थ्य मापदण्ड कार्यान्वयनका लागि सक्रियता बढाइएको जानकारी दिएका थिए ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४१ लाख ५५ हजार ९३० जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ८४ हजार ६०४ जनाको मृत्यु भएको छ ।
विश्वभर तीन अर्ब २२ करोड ६८ लाख २६ हजार २७७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्ब ३० करोड ५४ लाख ९९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ३५ करोड ७५ लाख ५३ हजार ६१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३२ करोड ९५ लाख ९७ हजार ६९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ९७ लाख ९१ हजार ९४४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
बेलायतमा सात करोड ९७ लाख ४४ हजार १९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७३ लाख ३२ हजार २०७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस
काठमाडौं । चीन सरकारसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप नेपाल ल्याउन लागि वायु सेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ ।
निगमका अनुसार पहिलो उडान जुलाई ८, दोस्रो र तेस्रो उडान जुलाई १५ र २२ मा हुने भएको छ । स्वास्थ्य मन्त्रालयले चीनको बेइजिङस्थित सिनोर्फाम कम्पनीसँग सम्झौता गरेको थियो । मन्त्रालयले असार २४ गतेबाट खोप आपूर्ति हुने जनाएको छ ।
नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले अहिलेलाई ३ उडान तय गरिएको साथै थप उडानका लागि तयारी भइरहेको नेपाल प्रेसलाई बताए ।
काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड २२ लाख ४ हजार ८५७ जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ४७ हजार ९९ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयले जुलाई १ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस
देश संक्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका ३ करोड ३६ लाख ६४ हजार ९४९ ६ लाख ४ हजार ७१४ भारत ३ करोड ४ लाख ११ हजार ६३४ ३ लाख ९९ हजार ४५९ ब्राजिल १ करोड ८५ लाख ८७ हजार १४१ ५ लाख १८ हजार ६६ फ्रान्स ५८ लाख ३७ हजार २६५ १ लाख ११ हजार २४४ रुस ५४ लाख ३९ हजार ५९४ १ लाख ३२ हजार ९७३ टर्की ५४ लाख २५ हजार ६५२ ४९ हजार ७३२ बेलायत ४८ लाख १७ हजार २९८ १ लाख २८ हजार ४०४ अर्जेन्टिना ४४ लाख ७० हजार ३७४ ९४ हजार ३०४ इटाली ४२ लाख ५९ हजार ९०९ १ लाख २७ हजार ५६६ कोलोम्बिया ४२ लाख ४० हजार ९८२ १ लाख ६ हजार ५४४ स्पेन ३८ लाख ८ हजार ९६० ८० हजार ८७५ जर्मनी ३७ लाख ३६ हजार २०५ ९० हजार ९४५ इरान ३२ लाख ४ हजार ५५७ ८४ हजार २६४ पोल्याण्ड २८ लाख ७९ हजार ९१२ ७५ हजार २१ मेक्सिको २५ लाख १९ हजार २७९ २ लाख ३३ हजार ४७ युक्रेन २३ लाख १०१ ५४ हजार ५८१ इन्डोनेसिया २१ लाख ७८ हजार ३७२ ५८ हजार ४९१ पेरु २० लाख ५२ हजार ६५ १ लाख ९२ हजार ३३१ दक्षिण अफ्रिका १९ लाख ७३ हजार ९७२ ६० हजार ६४७ नेदरल्याण्ड १७ लाख १२ हजार ७४७ १८ हजार २८
काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा कोरोनाभाइरस संक्रमितको संख्या १८ करोड १४ लाख ३१ हजार १२३ जना रहेका छन् ।
कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख २९ हजार ८२९ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयले जुन २९ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस
देश कूल संक्रमित कूल मृत्यु
संयुक्त राज्य अमेरिका ३ करोड ३६ लाख ४० हजार ५२७ ६ लाख ४ हजार ११५ भारत ३ करोड ३ लाख १६ हजार ८९७ ३ लाख ९७ हजार ६३७ ब्राजिल १ करोड ८४ लाख ४८ हजार ४०२ ५ लाख १४ हजार ९२ फ्रान्स ५८ लाख ३२ हजार ४९० १ लाख ११ हजार १७४ टर्की ५४ लाख १४ हजार ३१० ४९ हजार ६३४ रुस ५४ लाख ८ हजार ७४४ १ लाख ३१ हजार ६७१ बेलायत ४७ लाख ७१ हजार ३६७ १ लाख २८ हजार ३६७ अर्जेन्टिना ४४ लाख २३ हजार ६३६ ९३ हजार १४२ इटाली ४२ लाख ५८ हजार ४५६ १ लाख २७ हजार ५०० कोलोम्बिया ४१ लाख ८७ हजार १९४ १ लाख ५ हजार ३२६ स्पेन ३७ लाख ९२ हजार ६४२ ८० हजार ७८९ जर्मनी ३७ लाख ३४ हजार ८३२ ९० हजार ८२७ इरान ३१ लाख ८० हजार ९२ ८३ हजार ९८५ पोल्याण्ड २८ लाख ७९ हजार ६८९ ७४ हजार ९७९ मेक्सिको २५ लाख ७ हजार ४५३ २ लाख ३२ हजार ६०८ युक्रेन २२ लाख ९८ हजार ६६० ५४ हजार ५२२ इन्डोनेसिया २१ लाख ३५ हजार ९९८ ५७ हजार ५६१ पेरु २० लाख ४८ हजार ११५ १ लाख ९१ हजार ८९९ दक्षिण अफ्रिका १९ लाख ४१ हजार ११९ ६० हजार ३८ नेडरल्याण्ड १७ लाख ११ हजार ५४५ १८ हजार ३४
काठमाडौं । कोभिड-१९ महामारीको बढ्दो जोखिमसँग जुध्न सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले उक्त जानकारी दिएका हुन् । ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी गरेका छौं’ उनले भने ।
ती ३९६ वटा अस्पतालको निर्माण तत्कालै सुरु हुने जानकारी दिँदै मन्त्री तामाङले असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने बताए ।
आफू मन्त्री भएर मन्त्रालयमा आइसकेपछि नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता रहेको बताउँदै मन्त्री तामाङले कोरोनाविरुद्ध युद्ध लड्ने आफ्नो मुख्य कार्यभार रहेको समेत बताए ।
कोरोनाको तेस्रो लहर आउनुअघि नै सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाउन पहल गरिरहेको उनले जनाए ।
काठमाडौं । काठमाडौंको दुई बालमन्दिरमा आश्रित ४९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड-१९ पुष्टि भएको यो पहिलो पटक हो । नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ जनामा संक्रमण पुष्टि भएको संगठनका महासचिव समिक बडालले जानकारी दिए ।
‘सिफलका ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा पोजिटिभ देखिएको छ । नक्सालको बालगृहमा रहेकाको पनि केयर टेकरसहित २३ जनामा पनि संक्रमण देखिएको छ । रिपोर्ट आउने क्रम जारी रहेकोले यो संख्या बढ्नसक्छ’, बडालले नेपाल प्रेससँग भने ।
दुवै ठाउँका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे छन् ।
संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका छन् । केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण रहेको बडालले जानकारी दिए । एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ अभाव भएको उनले बताए ।
बडालका अनुसार नजिकै रहेको बहिरा विद्यालयलाई व्यवस्थापन गरी त्यहाँको भवनमा नक्सालका बालबालिका राख्ने मन्त्रिपरिषद्ले निर्णय गरे पनि कार्यान्वयन नहुँदा ठाउँ अभाव भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको सम्भावना विज्ञहरुले औल्याएकोले बेलैमा पूर्ण तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभापति देउवाले ट्वीटमार्फत कोरोनाको तेस्रो लहरले बालबालिकामा बढी प्रभाव पार्ने भएकोले १२ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसंग माग समेत गरेका छन् ।
सभापति देउवाले अस्पतालरुहमा बालबालिकाका लागि विशेष वार्ड र आइसीयुको प्रबन्ध बेलैमा गर्नसमेत सरकारसंग माग गरेका छन् ।
दैलेख । दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका ९ जनाको मृत्यु भएको छ । वडामा कोरोना संख्या यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो ।
मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए ।
उनीहरुको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य छमध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए ।
यहाँ कामका लागि भारत गएका स्थानीयवासी घर फर्केसँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
एउटै समुदायभित्र नौ जनाको मृत्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ । दुल्लु–१२ को एउटै टोलमा १०० भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।
‘रातदिन नभनी स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा गएका छौँ । अधिकांशमा ज्वरो र रुघाखोकी रहेको छ’, भण्डारी बताए । औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र पारेको छ ।
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनेसँगै अहिले बिरामीको उपचार व्यवस्थापनमा अस्पताललाई सकस परिरहेको छ । संक्रमित र मृत्यु हुनेको संख्या ४ र ३ डिजिटमा थपिन थालेको छ ।
काठमाडौं उपत्यकामा हाल ४०,२२२ सक्रिय संक्रमित छन् जसमध्ये काठमाडौं जिल्लामा मात्र २९,२४४ छन् । उपत्यकाका निजी तथा सरकारी अस्पतालले बेड अभाव हुन थालेको बताएका छन् । अक्सिजन अभावको कारण देखाउँदै केही अस्पतालले बिरामी भर्ना नलिने र उपचार गराइरहेका बिरामी पनि डिस्चार्ज गरिदिने बताइरहेका छन् ।
अस्पतालका बेड संक्रमितले भरिन थालेपछि बाहिरै राखेर उपचार गर्न थालिएको छ । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रन्सप्लान्ट सेन्टरको नयाँ भवनमा पनि संक्रमितको उपचार भइरहेको छ । ७०० बेड क्षमताको उक्त भवनमा बिरामीको चापले बाहिर नै राखेर भएपनि उपचार गरिरहेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए ।
काठमाडौं । नेपालकै पहिलो अनलाईन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टर डटकम र हाम्रो डक्टर मोबाइल एप्लिकेशनले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ ।
मोबाइल एप्लिकेशनमार्फत चिकित्सकसँग सशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको एप्सले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले निःशुल्क परामर्श सेवा सुरु गरेको एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए ।
गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेशनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कल्सल्टेशनमा प्रयोगकर्ताले बिना शुल्क चिकित्सकहरुसँग परामर्श गर्न सक्नेछन् । एकपटक सुरु गरेपछि सातदिनसम्म प्रयोगकर्ताले चिकित्सकसँग परामर्श लिन, आफ्ना रिपोर्टहरु पठाउन र निगरानीमा रहन सक्नेछन् ।
त्यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेको ठाउँ र मानिसलाई लक्षित गर्दै डाइरेक्ट हटलाईन सेवा पनि सुरु गरेको छ । चिकित्सकसँग कोरोना सम्बन्धी जानकारी र परामर्श लिनका लागि हाम्रो डक्टरले तीनवटा हटलाईन नम्बर पनि सार्वजनिक गरेको छ । ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरि कोरोनाभाइरस संक्रमणका बारेमा चिकित्सकसँग जानकारी लिन सकिने छ ।
सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टर एप्सबाट चिकित्सक, अस्पताल, एम्बुलेन्स लगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकहरुसँग अनलाईन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिद लगायत सेवा लिनसकिन्छ ।
बाँके । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको मृत्यु भएको छ ।
मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो ।
जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् ।
उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आउनु भएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो ।
एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताउनुभयो । बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारकाक्रममा मृत्यु भएको थियो ।
हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।
काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु दर बढेसँगै पशुपति आर्यघाटमा नदी किनारमै शव जलाउन शुरू गरिएको छ ।
कोभिड-१९ बाट मृत्यु भएका शव यसअघि विद्युतीय शवदाह गृहमा मात्र जलाइँदै आएको थियो । शव जलाउन पालो कुर्नुपर्ने भएपछि विद्युतीय शवदाह गृहमा समय अभावका कारण वागमती किनारमा नै शव जलाउन थालिएको हो ।
आइतबार काठमाडाै उपत्यकामा मात्र ३१ वटा शव व्यवस्थापन गरिएको भन्दै सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सोमबार ५ बजेसस्ममा पनि त्यति नै संख्याको शव व्यवस्थापनको अनुरोध आएको नेपाल प्रेसलाई बताए ।
दुई वटा विघुतीय शवदाह गृहमध्ये एउटा बिग्रिएको छ । यहाँ एक शव जल्न झण्डै २ घण्टा लाग्छ ।
‘मृत्युदर बढेसँगै शवदाह गृहमा जलाउन निकै समय लाग्ने हुँदा शव थुप्रिने भयो । तर, संक्रमित लाशहरूलाई यतिकै लामो समयसम्म राख्न जोखिम हुने भएकोले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी किनारमा नै लाश जलाउन थालेका छौं’, पौडेलले भने ।
खुल्ला ठाउँमा शव जलाउँदा संक्रमण फैलिने अहिलेसम्म कुनै वैज्ञानिक आधार नभेटिएको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए ।
रूपन्देही । आइतबार रुपन्देहीमा ७१८ नमूना परीक्षण गर्दा ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमतिले ज्यान गुमाएका छन् ।
२४ घण्टामा बुटवलमा २०७ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा १०४ जना थपिएका छन् । सिद्धार्थनगरमा ५८ जना, देवदहमा २३ जना, सैनामैनामा २० जना, सुद्धोधनमा ६ जना संक्रमित थपिएका छन् ।
त्यसैगरि सियारी, ओमसतिया र कञ्चनमा ५–५ जना थपिएका छन् भने लुम्बिनी साँस्कृतिक नगरमा ३ जना, रोहिणीमा २ जना र कोटहिमाईमा १ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा १४५ जना कोरोनामुक्त भएर घर फर्केका छन् भने अहिले पनि जिल्लामा ३६०३ जना सक्रिय संक्रमित छन् ।
डोटी । पछिल्लो केही सातायतादेखि कोरोना संक्रमण दर निकै बढ्दै गएको छ । यहाँका प्रमुख शहरबजार भन्दा ग्रामीण क्षेत्रमा रहेका नागरिकमा बढी संक्रमण हुने दर देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिक सिधैँ गाउँघरमा जाने तथा त्यहाँ उनीहरुले समुदायमा घुलमिल गर्ने क्रम बढेका कारण कोरोना सङ्क्रमित दर बढ्दै गएको पाइएको स्वास्थ्यकर्मी बताउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ भने कम्तीमा १०० भन्दा बढी सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुने प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको बताइएको छ ।
भारतबाट आएका नागरिक राख्ने क्वारेन्टिन तथा कोरोना सङ्क्रमित भएकाहरू राख्ने ठाउँ अभावमा समस्या हुँदै आएको जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताए । उनले भने, ‘कोरोना सङ्क्रमित हुने दर ह्वात्तै बढ्यो, उपचार गर्ने ठाउँ अभाव छ, अब कहाँ राखेर उपचार गर्ने समस्या हुने स्थिति आउँदैछ ।’
यहाँका प्रमुख बजार दिपायल, सिलगढी, पिपल्ला तथा राजपुर क्षेत्रमा खासै कोरोना संक्रमित नदेखिए पनि बिरामी परी गाउँबाट उपचार गराउन अस्पताल आएका नागरिकलाई जाँच गर्दा कोरोना सङ्क्रमण देखिने गरेको उनको भनाइ छ । यहाँका गाउँघरमा गहुँबाली भित्र्याउने चटारो भइरहेका बेला एकाएक कोरोना सङ्क्रमण देखिएपछि किसान पनि चिन्तित बनेका छन् ।
गाउँघरमा रहेका नागरिक अन्नबाली भित्र्याउन नपाउँदै कोरोनाले ज्यान लैजान्छ कि भन्ने चिन्तामा परेको जोरायल गाउँपालिका-५ का गङ्गाराम चोखालले बताए । स्वास्थ्य जाँच नगरी भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिक अहिले गाउँमा गहुँबाली भित्र्याउन तथा धानको बेर्ना राख्नमा व्यस्त हुने तथा गाउँका पसलमा जम्मा हुन थालको स्थानीयवासी बताउँछन् ।
उनीहरूका अनुसार गाउँघरमा अहिले कोरोना त्रास फैलिएको छ । खेतमा काम गर्ने अधिकांश किसानले कोरोनाबाट बच्ने कुनै उपायसमेत प्रयोग गर्ने गरेका छैनन् । समयमै पाकेको गहुँ नकाटिए पछि के खाने भन्ने चिन्ताले आफू हिजोआज गहुँ काट्नमै व्यस्त हुने गरेको केआइसिंह गाउँपालिका-५ का किसान दिनेशबहादुर विकले बताए ।
कोरोनाको चिन्ता मनमा भए पनि उक्त जोखिमलाई कुनै वास्ता नगरी किसान दिनहुँ गहुँ काट्न थालेका छन् । कोरोनाको सम्भावित जोखिम हुन नदिन सरकारले विभिन्न जिल्लामा लकडाउन गरे पनि वर्षभरिको उत्पादन गरेको गहुँबाली भित्र्याउन जिल्लाका बजार तथा ग्रामीण क्षेत्रका किसानलाई भ्याइनभ्याइ छ ।
किसानलाई कोरोना सङ्क्रमण हुने चिन्तासँगै बेलाबेलामा मौसम परिवर्तन हुने हुँदा कतै खेतबारीमा पाकेको गहुँ भित्र्याउन पाइँदैन कि भन्ने अर्को चिन्ताले ग्रसित बनाएको गहुँ काट्नमा व्यस्त दिपायल सिलगढी नगरपालिका–४ की खिमादेवी विष्टले जानकारी दिए । उनले भने, ‘कोरोना त्रास त छ तैपनि वर्षभरिको खाने खेती हो, समयमै नभित्र्याए पछि के खाने, आफू मरे पनि बचेकाले त खालान् भनेर गहुँ भित्र्याउन थालेका छौँ ।’ यहाँका गाउँघरमा गहुँ बाली प्रायः सबै ठाउँमा पाकिसकेकाले कोरोनाको कुनै प्रवाह नगरी किसान गहुँ भित्र्याउन व्यस्त छन् ।
‘खोइ मास्क’ अभियान !
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिपायलले जिल्लामा ‘खोइ मास्क’ अभियान सञ्चालन गरिरहेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर बढ्न थालेको तथा बिनामास्क यहाँका नागरिक बजार हिँडडुल गर्न थालेपछि उक्त अभियान सञ्चालन गरेको हो । कोभिड–१९ को सङ्क्रमण दोस्रो लहर फैलिइरहेको अवस्थामा आम नागरिकलाई सचेतना फैलाउन ट्राफिक प्रहरीले ‘खोइ मास्क’ अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक अशोक खड्काले बताए ।
पछिल्लो केही दिनयता ट्राफिक प्रहरीले मास्क नलगाएका सवारी चालक, यात्रामा सवार मानिस, बजारमा हिँडडुल गरिरहेका मानिसलाई लक्ष्य गरी ‘खोइ मास्क’ अभियान सञ्चालन गरिरहेको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्तरूपमा सञ्चालन गरिरहेको सो अभियानअन्तर्गत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न परामर्श, प्लेकार्ड प्रदर्शन, माइकिङलगायत क्रियाकलापका माध्यमबाट सचेतना फैलाउने काम भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म यहाँका १ हजार भन्दा बढी नागरिकलाई कोरोनाबाट बच्न विभिन्न जानकारी दिइनुका साथै त्यत्तिकै सङ्ख्यामा मास्कसमेत वितरण गरिएको छ । जिल्लामा वैशाख ५ देखि १६ गतेसम्ममा कम्तीमा पनि १०० जनामा कोरोना सङ्क्रमण देखापरेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धबबहादुर ठगुन्नाले जानकारी दिए ।
रूपन्देही । शुक्रबार रुपन्देहीमा साढे चार सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको रिपोर्ट सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय रुपन्देहीले ४५९ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । आज रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी संक्रमित थपिएका छन् ।
बुटवल उपमहानगरमा मात्र २१६ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित थपिएका पालिकाहरुमा तिलोत्तमा नगरपालिकामा ८७ जना, सिद्धार्थनगरमा ७३ जना, देवदहमा २० जना, सैनामैनामा १६ जना, मायादेबी, कञ्चन र सुद्धोधनमा ८/८ जना, सियारी र ओमसतियामा ७/७ जना, गैडहवा, लुम्बिनी साँस्कृतिक नगर, कोटहिमाई र रोहिणीमा २/२ जना तथा मर्चवारीमा १ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । आज मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १९१ पुगेको छ । जिल्लाका विभिन्न अस्पताल, आइसोलेशन तथा होम आइसोलेशन गरि रुपन्देहीमा २,९३० जना सकृय संक्रमित रहेका छन् ।
काठमाडौं । कोरोनाको महामारी नियन्त्रण गर्न भन्दै सरकारले काठमाडौंमा १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । आजबाट सुरु भएकाले निषेधाज्ञाका कारण काठमाडौंका सडक सुनसान छन् । तर, यही बेला देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अर्कै माहोल देखिन्छ । आज बिमानस्थलभित्र छिर्दा नियमितभन्दा पनि बढी भिडभाड देखिन्थ्यो । सामाजिक दुरीको गुञ्जायस थिएन । सरकारले सडकमा गुड्ने सवारीसाधनको आवागनमा रोक लगाए पनि आन्तरिक उडानलाई भने खुला छोडेको छ । आन्तरिक र बाह्य दुवै हवाइ सेवा सुचारु छन् । त्यसैले काठमाडौं आउने वा काठमाडौबाट बाहिरिनेहरुको भिड बढेको हो ।
सार्वजनिक सवारीसाधन नचलेकाले बिमानस्थल आउने वा बिमानस्थलबाट बाहिरिनेहरुलाई बाटोमा भने सास्ती खेप्नु परिरहेको छ । हेर्नुहोस नेपाल प्रेसको भिडियो रिर्पोट ।
पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ र गोरखाका १ जना छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार साँझ बागलुङ नगरपालिका ५५ वर्षीय महिलाको मृत्यु भएको छ । उनको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई बैशाख १० गते कोरोना पुष्टि भएको थियो । त्यस्तै, बुधबार कोरोनाबाट गोरखा १४ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
८ गते कोरोना पुष्टि भएका उनको भरतपुर जिल्ला अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।
पोखरा । गण्डकीमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १-१ जना छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का ८३ वर्षीय पुरुष छन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, मंगलबार मृत्यु गोरखा, पालुङटार ५ का ६७ वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ ।
दिल्ली । लगातार छैटौं दिन भारतमा ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार चौबीस घण्टामा मात्र ३ लाख २३ हजार १ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् ।
सोमबार भारतमा संक्रमितको संख्या थोरै घटेको छ । आइतबार भारतमा अहिलेसम्मकै बढी ३ लाख ५२ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो एक दिनमा २ हजार ७ सय ७१ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९८ हजार ८ सय ९४ पुगेको छ ।
भारतमा अहिलेसम्म १ करोड ७६ लाख ३६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४५ लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १६ लाख ५८ हजार ७ सय नमुना परीक्षण भएको थियो ।
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।
‘डेढ घण्टा भयो आएको । बिरामीलाई भेन्टिलेरमा राख्नुपर्ने अवस्था छ । तर, कतै खाली छैन,’ एक आमा व्यग्रतासाथ भन्दै थिइन् । उनकी छोरी धमाधम मोबाइलमा नम्बर दवाइरहेकी थिइन् ।
‘कसलाई ल्याउनुभएको छ यहाँ ?’ हामीले नजिक गएर सोध्यौं ।
‘मेरो श्रीमान्लाई ल्याएको,’ उनले हामीतिर नहेरी जवाफ दिइन् ।
ड्युटीका एक डाक्टर बाहिर आए । ‘कतै पाइएन ?’ उनले महिलातर्फ फर्कँदै सोधे ।
‘अहँ, पाइएन,’ महिलाले निरीह भावमा भनिन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा थियौं हामी । अस्पतालको आकस्मिक कक्षमा करिब २ बजेतिर पुग्दा यी आमाछोरी बेचैन अवस्थामा भेटिएका थिए ।
महिलाका श्रीमान ५० वर्षीय सञ्जय सिंह आकस्मिक कक्षमा सुताइएका छन् । उनको अवस्था गम्भिर छ । अक्सिजन लेभल ४० प्रतिशतमा झरेको महिलाले बताइन् ।
‘४/५ गतेदेखि बिरामी हुनुहुन्थ्यो, तर यस्तो साह्रो भएको थिएन,’ यसो भनिरहँदा सञ्जयकी पत्नीको आँखाभरि आँशु टल्पलाएका थिए ।
उनका अनुसार ११ गतेबाट सञ्जयको अवस्था बिग्रीयो । सोही दिन बिहान ४ बजे परिवारले ग्रिन सिटी हस्पिटल लगेका थिए । त्यहाँ उपचार नहुने भएपछि चिरायु अस्पातलतिर कुदाइयो । त्यहाँ टेस्ट गर्दा कोभिड पुष्टि भयो ।
अस्पतालको सुझावअनुसार परिवारले उनलाई घरमै ल्याएर अक्सिजन दिए । तर, अवस्थामा सुधार आएन । झन् गाह्रो हुँदै बिहान अस्पताल खोज्नतिर लागे आमाछोरी । तर, भर्ना पाउनै मुस्किल ।
‘म रिपोर्ट लिएर घर आइपुग्दासम्म उहाँ एकदमै सिरियस हुनुहुनथ्यो,’ महिलाले सुनाइन् ।
लगत्तै उनले वडाध्यक्षलाई फोन गरिन् । वडाध्यक्षले एम्बुलेन्स पठाए । बुढानिलकण्ठस्थित हात्तीगौंडाबाट टेकु ल्याइयो ।
‘टेकुमा आइपुग्दा अक्सिजन लेभल ४० मात्र रहेछ । तर भेन्टिलेटर छैन,’ उनले भनिन् ।
भेन्टिलेटरका लागि एम्बुलेन्स चालक पनि फोन घुमाउँदै थिए ।
‘अहँ, त्यहाँ पनि रै’नछ,’ फोन काट्दै उनले भने । आमाछोरीको आँखामा फेरि निराशा छायो ।
(आकस्मिक कक्षको गेटको बायाँ साइडमा ‘एल्लो जोन’ थियो । ‘कोभिडका बिरामीका लागि सिटी’ लखिएको ठाउँमा संक्रमितका आफन्त घरि यता घरि उता गरिरहेका थिए ।
‘सर नमस्ते । कोभिडको बिरामीलाई भेन्टिलेटर चाहिएको छ । एकदम इमर्जेन्सी छ,’ एम्बुलेन्स चालकले पुनः अर्को अस्पतालमा फोन लगाए ।
‘हजुर हजुर ल्याण्डलाइनमा हामीले कल ग¥यौं तरर खासै रेस्पोन्स भएन,’ उनी भन्दै थिए ।
उताबाट नम्बर नम्बर दिइन्छ । उनी नम्बर टिपाउन लगाउँछन् । छोरी नम्बर डायल गर्छिन् र चालकलाई दिन्छिन् ।
‘मलाई हाम्रो सरले फोन नम्बर दिनुभएको । भेन्टिलेटर चाहिएको थियो ।’ चालक भन्छन् ।
फेरि उताबाट अर्को नम्बर टिपाइन्छन् । त्यो नम्बरमा पनि फोन हान्छन् ।
‘भयो त ?’ फोन राख्नेवित्तिकै चालकलाई अर्का एक व्यक्ति सोध्छन् ।
‘अहँ छैन रे,’ उनले निराश भन्दै भन्छन् ।
आमाछोरी स्तब्ध मुद्रामा थिए । केही मिनेटपछि ड्युटीमा खटिएका डाक्टर बाहिर निस्कँदै भन्छन्, ‘चिन्ता नगर्नु । तपाईंको बिरामीलाई सुधार भएको छ ।’
त्यसपछि आमा छोरीको मुहारमा थोरै खुसी झल्कियो ।
ती डाक्टरसँग हामीले सोध्यौं, ‘बेड पाउनै मुस्किल छ है ?’
‘५ बेडको इमर्जेन्सीलाई १८ बेड बनाइसकेका छौं । ल्याउने थप्ने, भइरहेको छ । तर पनि पु¥याउन गाह्रो छ,’ ती डाक्टरले भने ।
अक्सिजन सिलिण्डर पनि बेडअनुसार थपिरहेको उनले बताए ।
‘अहिले पनि ५ वटा सिलिण्डर नयाँ थप्न लागिरहेका छौं,’ उनले भने ।
बिरामीले भेन्टिलेटर नपाउँदा उनी पनि चिन्तित थिए उनी ।
‘कोही बिरामी मर्नै आँट्यो भने मात्र भेन्टिलेटर पाउने अवस्था हुन्छ । नत्र अहँ…’ आफ्नो नाम खोल्न नचाहने ती डाक्टरले सुनाए ।
उनी थकित पनि देखिन्थे ।
‘फुर्सद छैन । कोभिडका बिरामीलाई एम्बुलेन्सबाटै उचालेर ल्याउनुपर्छ,’ उनले भने ।
गत दसैंको बेलामा संक्रमित अत्यधिक थिए । अहिलेको अवस्थाले त्यसलाई पनि माथ गरेको उनको अनुभव छ ।
‘अहिले युवाहरू संक्रमित धेरै छन् । गम्भीर पनि उनीहरू नै छन्,’ उनले भने ।
पिपिई लगाएका अर्का स्वास्थ्यकर्मी भन्दै थिए ‘हाम्रो दुई जना स्टाफ हुनुहुन्छ । उहाँहरूले अहिलेसम्म खाना खान पनि भ्याउनुभएको छैन ।’
त्यही क्रममा हुइकिँदै आयो अर्को एम्बुलेन्स । एम्बुलेन्समा बिरामी र उनका आफन्त थिए ।
‘कुन बिरामी हजुरको ?’ स्वास्थ्यकर्मीले सोेधे ।
‘कुकुरले टोकेर ल्याएको,’ आफन्तले भने ।
‘त्यसको त यहाँ हुन्न नि । कोभिडको मात्र हो ।’
एम्बुलेन्स फर्कियो ।
०००
टेकु अस्पतालले दैनिक कम्तिमा १५ जनालाई बेड अभावमा अन्यत्र पठाउँदै आएको छ । अस्पतालमा आइसियु २२ र आइसोलेसन ३८ बेड क्षमताका छन् । यतिबेला बिरामी संख्या व्यवस्थापन गर्न अति निकै चुनौति भएको अस्पतालका निर्देशक डा सागरराज भण्डारी बताउँछन् ।
‘आइसीयु, भेन्टिलेटर बेड खाली छैन । अस्पतालको भेन्टिलेटर २० वटा छन् । ती सबै प्याक छन्,’ उनी चिन्ता व्यक्त गर्छन् ।
आइसीयु र भेन्टिलेटरमा राख्नुपर्नेलाई अन्य अस्पतालमा सम्पर्क गरेर पठाउनुपरेको बाध्यता उनले सुनाए ।
‘९० प्रतिशत बिरामी एकदमै गम्भीर प्रकारको हुनुहुन्छ । सबैलाई अक्सिजन दिएर राख्नुपर्ने अवस्था छ,’ उनी भन्छन् ।
अस्पतालमा एउटै परिवारका ५/६ जना सदस्यसमेत भर्ना भएका छन् । अस्पतालका अनुसार दैनिक तीन सय जनाको पीसीआर परीक्षण हुन्छ । अस्पतालमा भिडभाड हुने देखिएपछि खोप कार्यक्रम पनि बन्द गरिएको डा. भण्डारी बताउँछन् ।
अस्पतालमा संक्रमितको उपचार व्यवस्थापन गर्न कठिनाइ भएको बेला सर्वसाधारणले स्वास्थ्य मापदण्ड नअपनाएकोमा उनको गुनासो छ ।
‘एकातिर अस्पतालमा व्यवस्थापन गर्न चुनौती छ र अर्कोतिर सार्वजनिक यातायातका साधनमा जनस्वास्थ्यका मापदण्ड अपनाइएको छैन । सरकारी कार्यालयमा भिडभाड छ । यसले त झन् भयावह अवस्था आउन सक्छ,’ उनले भने ।
जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५८ महिलासहित १६४ कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै यस प्रदेशमा संक्रमितको संख्या १८ हजार ५२१ पुगेको छ । आज सबभन्दा बढी पर्सामा ८६ जना संक्रमित भेटिएका छन् ।
धनुषामा २२, महोत्तरीमा ३, सिरहामा ९, सप्तरीमा १५, सर्लाहीमा २ र रौतहटमा १५ जना र बारामा १० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस प्रदेशमा सक्रिय संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेको छ । आज सक्रिय संक्रमितको संख्या १३ सय ३ पुगेको छ ।
कैलाली । कोरोना संक्रमित कैलालीका एक वृद्धको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको छ ।
जिल्लाको टिकापुर नगरपालिका १ ज्योतिनगर बस्ने वर्ष ७० का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गराउन पुगेका उनीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उपचार्थ भर्ना भएका वृद्धको मेडिकल कजेलमा मृत्यु भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए ।
बाँके । बाँकेमा बिहीवार मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाँकेकी ६५ बर्षीया महिलाको बिहीवार दिउँसो मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा बैशाख ७ गते पिसिआर टेष्ट गराएकी उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बैशाख ८ गते भर्ना भएकी उनको बिहीवार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
त्यसअघि नेपालगंज उपमहानगरपालिका वडा नं. १७ की ८६ वर्षीया महिलाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको वलीले बताए । यो सँगै बाँकेमा मृत्युु हुने कोरोना संक्रमितको संख्या ६८ पुगेको छ ।