Tag: कोभिसिल्ड

  • कोभिसिल्डको दोस्रो डोज लगाउन ढिला भएपनि आत्तिनु हुँदैन : अक्सफोर्ड खोप निर्देशक पोलार्ड

    कोभिसिल्डको दोस्रो डोज लगाउन ढिला भएपनि आत्तिनु हुँदैन : अक्सफोर्ड खोप निर्देशक पोलार्ड

    काठमाडौं । कोभिड-१९ विरुद्धको कोभिसिल्ड (आस्ट्राजेनेका)को पहिलो डोज खोप १४ लाख ज्येष्ठ नागरिकले लगाएका थिए । दुई महिनामै लगाउनुपर्ने दोस्रो डोज अहिलेसम्म उनीहरुले लगाउन पाएका छैनन् ।

    उनीहरुले दोस्रो मात्रा लगाउन कहिले पाउँछन् भन्ने जवाफ सरकारसँग पनि छैन । तर, आस्ट्राजेनेका खोप निर्माता कम्पनी अक्सफोर्डका एकजना विज्ञले चाहिँ मानिसलाई लामो समयपछि पनि दोस्रो डोज लगाउँदा सुरक्षित हुने बताएका छन् ।

    अक्सफोर्ड खोपका निर्देशक एन्ड्रयु पोलार्डले आस्ट्राजेनेका खोपको दोस्रो डोजको मात्रा लगाउन ढिलाई भएपनि भाइरससँग लड्न सक्ने क्षमता भने कमजोर नहुने बताएको बीबीसीले उल्लेख गरेको छ ।

    उनले कोरोनाभाइरस महामारीको उच्च जोखिम भएको बेलामा नेपालमा खोप आपूर्ति नभएकोमा दुःख व्यक्त गरेका छन् । उनले खोप अभावको सामना गरिरहेको नेपालले जतिसक्दो चाँडो खोप प्राप्त गर्नुपर्ने पनि बताएका छन् ।

    डेढ दशकभन्दा बढी समयसम्म चिकित्सकहरुसँग मिलेर खोप सम्बन्धी विभिन्न अनुसन्धान पनि गरिरहेका पोलार्डले मानिसहरुलाई धैर्य राख्न आग्रह समेत गरे । ‘पहिलो डोज खोपले उनीहरुलाई महामारीबाट सुरक्षा दिन्छ । हामीले तथ्यांकहरु हेर्ने हो भने पहिलो मात्राको खोप लगाएका मानिसहरु गम्भिर बिरामी हुनबाट सुरक्षित भएको देखिन्छ’ उनले भने, ‘हामीले पहिलो डोज खोप लगाउन एकदम जरुरी हुन्छ । दास्रो डोज खोप लगाउँदा अझ बढी महामारीसँग लड्न सक्ने क्षमता हुन्छ भनेका छन् ।’

    उनले नेपालमा आस्ट्राजेनेकाको पहिलो मात्रा लगाएका १४ लाख ज्येष्ठ नागरिकहरुलाई तत्काल नआतिन सुझाव समेत दिए । ‘दोस्रो मात्राको खोप ढिला लगाउँदा चिन्ता लिनुपर्दैन । पहिलो डोज लगाएको ६ महिना वा एक वर्षपछि लगाउने अवस्था आएपनि पहिलो डोजको खोप उत्तिकै प्रभावकारी हुन्छ’ उनले भनेका छन् ।

  • कोभिसिल्डको दोस्रो डोज खोप लगाउने अवधि फेरि बढ्यो, १२ देखि १६ साताभित्र लगाउने निर्णय

    कोभिसिल्डको दोस्रो डोज खोप लगाउने अवधि फेरि बढ्यो, १२ देखि १६ साताभित्र लगाउने निर्णय

    काठमाडौं । कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षभन्दा माथिका उमेर समूहलाई दोस्रो डोज खोप १२ देखि १६ हप्ताभित्र दिने तयारी भइरहेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले चार महिनाभित्र दास्रो डोज खोप दिने तयारी भएको बताएका हुन्् ।

    यसअघि पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउने निर्णय भएको थियो । नेपालले खरिद गरेको १० लाख डोज खोप भारतबाट आउन नसकेकोले खोप लगाउने अवधि बढेको जनाइएको छ ।

  • सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू

    सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू

    काठमाडौं । सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू गरिएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवन पुगेर सभामुख अग्नि सापकोटाले कोभिडसिल्डको दोस्रो डोज लगाएका छन् ।

    संसद सचिवालयले नयाँवानेश्वरस्थिति संघीय संसद भवनको ल्होत्से हलमा आजदेखि आइतबारसम्म (३ दिन) खोप लगाउन व्यवस्था मिलाएको छ ।

    शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरू, पदाधिकारीहरूका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाइने छ । बिहान १० देखि ४ बजेसम्म खोप लगाइने सचिवालयले जनाएको छ ।

    त्यसैगरी भोलि शनिबार संघीय संसद सचिवालयका सबै कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत कर्मचारीहरी साथै आइतबार स्वकीय सचिव लगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षासँग सम्बन्धित कर्मचारी र संसदीय मामिलाका पत्रकारलाई खोप लगाउने तालिका छ ।

  • कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छ : पूनावाला

    कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छ : पूनावाला

    नयाँ दिल्ली । भारतमा अक्सफोर्ड-अस्ट्राजेनिकाको कोभिड-१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको जनाएको छ ।

    ‘कोभिसिल्ड’ नामबाट खोप उत्पादन गरिरहेको सेरमका प्रमुख कार्यकारी अदार पूनावालाले खोप उत्पादनको कार्यमा कुनै व्यवधान नरहेको र यो पूर्ण क्षमतामा जारी रहेको बताएका छन् ।

    सुरक्षा र धम्कीका कारण भारत छाडेको भनिएका पूनावालाले आफूले बेलायतमा साझेदारहरुसँग छलफल गरेको स्पष्ट पारे । उनले ट्वीट गर्दै भनेका छन्, ‘बेलायतमा हाम्रा सबै साझेदारसँग निकै राम्रो छलफल भएको छ । पुणेस्थित प्लान्टमा कोभिसिल्डको उत्पादन पूर्ण क्षमतामा भएकोमा खुशी लागेको छ । केही दिनभित्रै म भारत फर्किएपछि उत्पादनका बारेमा समीक्षा गरिने छ ।”

    यसैबीच, सेरमले बुधबार भारतीय राज्यहरुका लागि कोभिसिल्डको प्रति डोज मूल्यलाई समायोजन गरी भारु ४०० बाट भारु ३०० बनाएको जनाएको छ ।

    भारतको केन्द्रीय गृह मन्त्रालयले पूनावालालाई वाई वर्गीकरणको सुरक्षा दिइएको जनाएको छ ।

    केही अघि प्रमुख कार्यकारी पूनावालाले खोप उत्पादनलाई तिब्रता दिन भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरेका थिए ।

    भारत सरकारले कोभिसिल्ड खोप विदेश निर्यात गर्न रोकेपछि सेरमले भारत सरकार समक्ष आर्थिक सहायता माग गरिरहेको छ भने कोभिसिल्डको खोप विदेश निर्यात गर्न नदिइएको भन्दै सेरमसँग सम्झौता गरिसकेका अन्य मुलुकले पनि आपत्ति जनाएका छन् ।

  • सातै प्रदेशमा आज कोरोनाविरुद्धको खोप पुग्दै

    सातै प्रदेशमा आज कोरोनाविरुद्धको खोप पुग्दै

    काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप आइतबार सातवटै प्रदेशमा पुग्दैछ ।

    शनिबारदेखिनै खोप पठाउन थालिएको बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले सबै प्रदेशका भण्डारण केन्द्रमा आज खोप पुर्‍याइने जानकारी दिए ।

    भारतबाट जहाजमार्फत बिहीबार ल्याइएको खोप त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट सीधै टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । प्रवक्ता गौतमका अनुसार प्रदेशमा पठाइएको खोप आवश्‍यकताको आधारमा ७७ वटै जिल्ला अस्पतालमा वितरण गरिनेछ ।

    पहिलो चरणमा उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइने सरकारको तयारी छ । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

    उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, संक्रमितको मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

    दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ। खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने डा. गौतमले बताए ।

    भारत सरकारले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

    सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

    कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ ।

  • कोभिसिल्डबारे ८ तथ्यः ७० प्रतिशत मात्र प्रभावकारी, घरकै फ्रिजमा राख्न सकिने

    कोभिसिल्डबारे ८ तथ्यः ७० प्रतिशत मात्र प्रभावकारी, घरकै फ्रिजमा राख्न सकिने

    काठमाडौं । सरकारले भारतबाट १० लाख डोज खोप भित्र्याएसँगै कोरोनाको कहरबाट मुलुकले त्राण पाउने आशा बढेको छ । साथै, यस खोपलाई लिएर विभिन्न संशय पनि देशवासीमा छन् ।

    सुरुमा कोभिसिल्डबारे १० तथ्यहरु पेश गर्दैछौं, जसले तपाईंलाई यो खोपको विषयमा जान्न मद्दत मिल्नेछ ।

    १. भारतीय खोप होइन
    नेपालले भारतबाट ल्याएको खोप कोभिसिल्डलाई धेरै भारतीय उत्पादन ठानेका छन्, जुन सत्य होइन । स्वीडेनको विश्वविख्यात बहुराष्ट्रिय फर्मा कम्पनी एस्ट्राजेनिसाले बेलायतको अक्सफोड विश्वविद्यालयसँगको सहकार्यमा यो खोप विकास गरेको हो । आफ्नै देशको औषधी उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेकाले भारतले यसको नाम कोभिसिल्ड राखेको हो । सिरम विश्वकै ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो ।

    २. दर्जन देशमा अनुमति
    भारतसहित बेलायत, ब्राजिल, बंगलादेश, भुटानलगायत एक दर्जनभन्दा बढी देशले यो खोपलाई आपतकालिन प्रयोगमा अनुमति दिएका छन् । नेपालको सरकारले पनि आपतकालिन प्रयोगका लागि मात्र कोभिसिल्ड खोपलाई प्रयोगको अनुमति दिएको हो ।

    ३. प्रभावकारिता ७० प्रतिशत मात्र
    कुनै पनि भ्याक्सिनको सबैभन्दा महत्वपूर्ण पाटो हो यसको प्रभावकारिता । यो पाटोमा कोभिसिल्ड कमजोर छ । कोभिसिल्डको ट्रायलका क्रममा भेटिएको एउटा तथ्यले झन् अलमलमा पार्छ ।

    ट्रायलका क्रममा त्रुटीवस जो व्यक्तिलाई कम डोज दिइएको थियो, उनीहरुमा खोपले बढि काम गर्यो । बढि डोज दिइएकालाई कम काम गर्यो । भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो डोज थोरै दिइएकाहरुमा यो खोप ९० प्रतिशत प्रभावकारी दखिएको थियो भने बढि डोज दिइएकाहरुमा ६२ प्रतिशत मात्रै प्रभावकारी देखियो, जुन आश्चर्यजनक नतिजा हो ।

    दुईथरि नतिजालाई मिलाएर समग्रमा कोभिसिल्डको नतिजा ७० प्रतिशत रहने विश्लेषण गरिएको छ, जुन फाइजरको भन्दा कम हो । फाइजरका प्रभावकारिता ९४ प्रतिशत अनुमान गरिएको छ । त्यसो त ५० प्रतिशतभन्दा बढि प्रभावकारिता भएका भ्याक्सिनलाई विज्ञहरुले प्रयोग गर्नयोग्य मान्छन् ।

    ४. यस्ता छन् साइड इफेक्ट
    कोरोना विरुद्धका अन्य खोपका तुलनामा कोभिसिल्डको साइड इफेक्ट कम हुने दावी गरिएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डियाका अनुसार कोभिसिल्डका सम्भावित साइड इफेक्टहरुमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने र चिलाउने, थकान महसुस हुने, टाउको दुख्ने, हाड जोर्नी दुख्ने, सिँगान बग्ने, खानामा अरुची हुने आदि हुन सक्छ । प्रत्येक १० जनामध्ये एक जना अलि कडा साइड इफेक्ट हुन सक्ने बताइएको छ ।

    ‘यी कुुरालाई सामान्यरुपमा लिनुपर्छ, आत्तिनु जरुरी छैन’ जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले नेपाल प्रेससँग भने, ‘कसैलाई एलर्जी छ र कोही भर्खर संक्रमणबाट मुक्त भएको छ भने तुरुन्तै खोप नलगाउँदा वेश हुन्छ ।’

    कोरोनाविरुद्धको खोपले भारतमा केही मानिसहरुको मृत्यू भएकाले धेरैमा त्राश पनि छ । तर, कोभिसिल्डले कसैको ज्यान लिएको छैन । भारतमा कोभ्याक्सिनको ट्रायलमा दुईले ज्यान गुमाएका थिए । गतसाता फाइजर खोप लगाउँदा उत्पन्न साइड इफेक्टले युरोपेली राष्ट्र नर्वेमा २९ जनाले ज्यान गुमाएका थिए ।

    ‘खोप लगाउँदा एलर्जी देखिनु स्वभाविक हो’ जनस्वास्थ्यविद डा. समीरमणि दीक्षित नेपालप्रेससँग भन्छन्, ‘सामान्य एलर्जी देखिदैंमा यसबारे भ्रम फैलाउनु राम्रो होइन ।’ आपतकालिन प्रयोगका लागि ल्याइएको भ्याक्सिनमध्ये कोभिसिल्ड सबैभन्दा सुरक्षित रहेको उनले बताए ।

    ५. यसरी गर्छ काम
    चिम्पाम्जीमा पाइने सामान्य रुघाखोकीको भाइरस एडेनोभाइरसको कमजोर संस्करण मिलाएर कोभिसिल्ड खोप विकास गरिएको हो । कोभिसिल्ड लगाएपछि यसले एन्टीबडी बनाउन थाल्छ र कोरोना संक्रमणविरुद्ध काम गर्न थाल्छ ।

    ६. लगाउने तरिका
    कोभिसिल्ड खोप ४ देखि १२ साताभित्र दुई डोज लगाउनुपर्ने हुन्छ । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने भएकाले नेपालजस्ता मुलुकका लागि आपूर्ति र वितरणमा सजिलो हुन सक्नेछ । घरकै रेफ्रिजेरेटरमा पनि राख्न सकिन्छ । फाइजर खोपलाई माइनस ७५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले वितरणमा चुनौति थियो ।

    ७. बेलायत र ब्राजिलमा परिक्षण
    कोभिसिल्डलाई बेलायत र ब्राजिलमा तेस्रो चरणको परिक्षण गरिएको थियो । ब्राजिललाई त भारतले व्यवसायिकरुपमै खोप निर्यात गरेको हो । यो खोपलाई फेब्रुअरीमा भारतमा ‘ब्रिजिङ स्टडी’ गर्ने सिरम इन्स्टिच्युटले जनाएको छ । अहिले भारतमा मात्र ६ वटा कम्पनीले खोपका लागि ट्रायल गरिरहेका छन् ।

    ८. अरुभन्दा सस्तो
    कोभिसिल्ड विश्वकै सस्तो मूल्यको कोरोना भ्याक्सिनमा पर्छ । सेरिम इन्स्टिच्यूटका अनुसार यसको मूल्य भारत सरकारका लागि करिब चार सय ४० भारु रहेको छ भने बाहिर बजारमा ७ सय देखि ८ सय भारु पर्नेछ । सस्तो भएकाले ठूलो परिमाणमा उत्पादन गर्न सकिने मानिएको छ ।

    प्रभावकारिता बढि भएका फिजर र मोडर्ना जस्ता भ्याक्सिनहरु धनी मूलुकहरुले खरिद गरिसकेका छन् । यी दुई भ्याक्सिनको मूल्य ३५ देखि ४० अमेरिकी डलर रहेको छ, जुन नेपालजस्ता गरिब देशहरुका निम्ति महंगो हो ।

    नेपालका लागि कुन खोप उपयुक्त हुन्छ भन्ने जवाफ स्वास्थ्य मन्त्रालयसँग छैन । कोभिसिल्डसहित मोर्डना, फाइजर, बायोएनटेक, रुस र चीनले उत्पादन गरेका खोप अहिले आपतकालिन अनुमतिसहित विश्वमा प्रयोग हुन थालेका छन् । तर, नेपालको कोल्डचेन प्रणालीलाई हेर्दा कोभिसिल्ड सजिलो हुने तर्क स्वास्थ्य मन्त्रालयका अधिकारीको छ ।

    भारतले किन दियो सित्तैमा ?
    भारतले नेपालसहितका दक्षिण एसियाली मुलुकलाई निश्चित परिमाणमा भ्याक्सिन निशूल्क उपलब्ध गराएको छ । जानकारहरु यसलाई भारतको कुटनीति र छिमेकसँग सम्बन्ध सुधार्ने एउटा रणनीतिको रुपमा लिन्छन् ।

    जनस्वास्थ्य विज्ञ डा. दीक्षितले चाहिँ खोपमा राजनीति गर्नु गलत भएको बताए । ‘हरेक कुरामा राजनीति जोडिन्छ’ उनी भन्छन्, ‘खोप कुटनीति हुन सक्ला तर, यसका लागि भारतलाई धन्यवाद दिनुपर्छ ।’

    भारतले पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकलाई निःशुल्क खोप उपलब्ध गराएको छ । भारतभित्रै प्रतिपक्षी दलले बीजेपीको खोप भन्दै राजनीतिक रङ दिने प्रयास गरिरहेका छन् । यही आलोचनालाई खण्डन गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो चरणअन्तर्गत आफू र अन्य मन्त्रीले खोप लगाउने योजना बनाएको बताएका छन् । नेपालमा पनि नागरिकलाई खोपबारे चेतना दिन प्रधामन्त्री र शीर्ष नेताले सुरुमा खोप लगाउनुपर्ने सुझाव दीक्षितको छ ।

    ‘भारतले करोडौंलाई कोभिसिल्ड लगाउँदा केही नहुने तर, नेपालमा केही लाखको लागि लगाउन लाग्दा हल्ला गर्नुको तुक छैन’ उनले भने ।

    ‘जबसम्म शीर्ष नेताले खोप लगाउँदैनन् तबसम्म हल्लालाई चिर्न सकिँदैन र नागरिकमा विश्वास जगाउन सकिँदैन’ दीक्षितको तर्क छ । प्रधानमन्त्री स्वयम जोखिम समूहमा पर्ने भएकाले खोप लगाउनुपर्ने उनले बताए । सरकारले सार्वजनिक गरेको कोभिडको जोखिममा २० प्रतिशत जनसंख्या पर्दछ ।

    खोप आएपनि जनस्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

    ‘खोपभन्दा महत्वपूर्ण मास्क हो’ नेपाल पे्रससँग स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘खोप आउनु शुभ समाचार हो तर, नागरिकले सामाजिक दूरी र प्रोटोकललाई पालना गर्नु जरुरी छ ।’

    नेपालको कूल जनसंख्याको ८० प्रतिशतलाई खोप दिइने सरकारी योजना छ । पहिलो चरणमा फ्रन्टलाइनमा खटिने ५ लाखले खोप पाउनेछन् ।

  • कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने सरकारको निर्णय

    कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोभिड–१९ विरुद्ध आपतकालीन प्रयोगका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई प्रयोगमा ल्याउने निर्णय गरेको छ । औषधि व्यवस्था विभागले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त खोप आपतकालीन रुपमा प्रयोग गर्नको लागि सशर्त अनुमति प्रदान गर्ने जनाएको छ ।

    माघ २ गते बसेको विभागको बैठकले यस्तो निर्णय गरेको हो । भारतले चाहिँ शनिबारदेखि कोभिसिल्ड खोप देशव्यापी प्रयोगमा ल्याउँदैछ ।