Tag: कोभिड खोप

  • अब नेपाल र भारत दुवै देशमा कोभिड खोप मान्य हुने

    अब नेपाल र भारत दुवै देशमा कोभिड खोप मान्य हुने

    काठमाडौं । नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

    सहमतिनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिने छन् । यी दुईमध्ये एक देशमा खोप लगाएको प्रमाणपत्र देखाएमा एक अर्का देशमा आवतजावत गर्न पाइने भएकोे हो ।

    सो कार्यक्रममा सचिव डा पोखरेलले एक अर्का देशले खोप लगाएको प्रमाणपत्रको मान्यता दिएसँगै आवतजावतमा सहज हुने बताए । ।

  • चीनद्वारा थप १६ लाख डोज कोभिड खोप हस्तान्तरण

    चीनद्वारा थप १६ लाख डोज कोभिड खोप हस्तान्तरण

    काठमाडौं । चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदुत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् ।

    कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिईसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे । उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको पनि जानकारी दिए ।

    चिनियाँ राजदुत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले २ दिन पछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन् ।

    राजदुत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पु¥याउने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

    स्वास्थ्यमन्त्री खतिवडाले चीन सरकारले नेपालमा कोभिड नियन्त्रणका लागि हालसम्म स्वास्थ्य सहायता सामग्रीहरु पनि अनुदान सहायता स्वरुप उपलब्ध गराउँदै आएको भन्दै धन्यवाद व्यक्त गरे । उनले नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत् १ करोड कोभिडविरुद्धको खोप ल्याईसकेको पनि बताए ।

     

  • कोरोनाविरुद्धको खोप ढिलोमा माघ १८ देखि लगाइने

    कोरोनाविरुद्धको खोप ढिलोमा माघ १८ देखि लगाइने

    काठमाडौं । सरकारले ढिलोमा माघ १८ सम्ममा कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ ।

    भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड बिहीबार नै काठमाडौं आइपुगिसकेको छ । माघ १४ देखि १८ गतेभित्र खोप सातै प्रदेशका फ्रन्टलाइनर, जेष्ठ नागरिक र दीर्घरोगीलाई समानुपातिक ढङ्गले लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

    शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माघ १४ गतेदेखि खोप लगाउन सुरु गरिने बताएका थिए ।

    “पहिलो दिन सबै प्रदेशका फ्रन्टलाइनरलाई एकैसाथ खोप दिएर खोप अभियान सुरु गरिनेछ,” मन्त्री त्रिपाठीले नेपाल प्रेससँग भने । भारतले नेपाललाई दिएको खोपको गुणस्तरमाथि प्रश्न उठिरहेका छन् ।

    सो विषयमा भारत सरकारले आफ्नो जनतालाई लगाइरहेको खोप नै नेपाललाई उपलब्ध गरएकोले  खोप सुरक्षित भएको मन्त्री त्रिपाठीले बताए ।

    “भारत सरकारले जुन खोप आफ्ना जनतालाई लगाइरहेको छ, त्यही गुणस्तरको खोप नेपाललाई पनि दिएको हो,” उनले भने, “त्यसैले ढुक्क भएर खोप लगाउनु हुन म आग्रह गर्छु ।”

  • नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (भिडियो)

    नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (भिडियो)

    काठमाडौं । भारतले अनुदानबापत उपलब्ध गराएको १० लाख डोज खोप नेपाल आइपुगेको छ । काठमाडौंमा विहिबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमानले खोप ल्याएको हो ।

    त्रिभुवन विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।खोप बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले चाँडै वितरणको काम सरकारले थाल्ने मिडियालाई बताए । मन्त्री त्रिपाठीले खोप आपूर्तिको लागि भारतीय सरकारलाई धन्यवाद समेत दिए ।

    अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो । विमानस्थलबाट प्राप्त खोपलाई सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ ।एयरपोर्टबाट तापक्रम कायम गर्न मिल्ने उपकरण जडित दुईवटा ट्रकमा टेकु लगिएको थियो । सरकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लग्दैछ । जिल्लागत विवरण सरकारले विहिबार साँझसम्म तयार पार्दैछ ।

    पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्‍याउने तयारीमा सरकार जुटेको छ । खोप लगाउने दिन भने अझै तय भएको छैन । स्वास्थ्य मन्त्रालयले यसका लागि कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पुरा गरेर खोप लगाउने योजना बनाएको छ ।

    सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ । अहिले भने १० लाख डोज मात्रै आएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

    पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक र जोखिममा रहेका अभियन्तालाई लगाइनेछ । अनुदानको खोप पर्याप्त नहुने भएपछि सरकारले भारत सरकारबाटै थप खोप किन्ने जनाएको छ ।

    नेपाल सरकारले गतसाता आपतकालिन प्रयोगका लागि कोभिसिल्ड खोपलाई प्रयोगमा अनुमति दिएको हो । यो खोपले अन्तराष्ट्रिय स्तरमा उपयोगका लागि विश्व स्वास्थ्य संगठनबाट छिटै अनुमति पाउने सम्भावना पनि देखिएको छ । खोप आएपनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सरकारको सुझाव छ ।