काठमाडौं । पूर्वीय दर्शनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको लगाव र ज्ञानबारे धेरै ठाउँमा चर्चा हुने गरेका छन् । पछिल्लो समय पशुपति दर्शन गरेको प्रसंगमा बहस चलिरहेका बेला प्रधानमन्त्रीले वसन्त पञ्चमीका अवसरमा आज दिएको शुभकामना सन्देश पनि अर्थपूर्ण छ ।
यसअघि प्रधानमन्त्रीहरुले दिने औपचारिक शुभकामनबाट एक कदम अघि बढेर प्रधामनन्त्री ओलीले वसन्त पञ्चमी (श्रीपञ्चमी)को महत्व र विद्याकी देवी सरस्वतीको अर्थ समेत वैदिक मान्यता अनुसार व्याख्या गरेका छन् ।
प्रधानमन्त्रीको सन्देशमा सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिएको उल्व्लेख छ । असल र खराबको पहिचान गर्ने प्रकाशमाय बुद्धी, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइने प्रधानमन्त्रीले जनाएका छन् ।
सन्देशमा भनिएको छ, ‘सरस्वतीको वीणाबाट ब्रह्माण्डमा स्वर, संगीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पति भएको मानिन्छ । सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीको नामले समेत पूजा गर्ने गरेका छन् ।’
प्रधानमन्त्रीले आफ्नो सन्देशमा वैदिक कालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकाका रुपमा सरस्वती पूजा गरी मनाइने यस पर्वका अवसरमा काव्यविनोदिनी, स्रष्टा, सर्जक, साहित्य, संगीत, कला साधन तथा ज्ञानका अध्येताहरुमा शुभकामना दिएका छन् ।
सुर्खेत । प्रतिनिधिसभाको विघटनका लागि आफ्नो बाध्यता प्रष्ट्याउँदै हिँडेका प्रधानमन्त्री ओलीले फागुन १४ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने भएका छन् ।
‘उहाँ फागुन १४ गते हुने वृहत जनप्रदर्शनमा सहभागी हुनुहुन्छ,’ नेकपा जिल्ला सदस्य टेकेन्द्र बस्नेतले भने, ‘उहाँ राजनीतिक सभामा सम्वोधन गर्न आउन लाग्नु भएको यो पहिलो पटक हो ।’
जनसभाका लागि स्थान निक्र्योल भइसकेको छैन । खुल्लामन्च, कभर्डहल पछाडिको खुला मैदान वा सामाजिक विकास मन्त्रालय पछाडिको मैदानमध्ये एक ठाउँमा सभा आयोजना हुने सदस्य बस्नेतले बताए ।
‘अहिले हामी वडा–वडामा गइरहेका छौं । आम जनता र नेकपाका शुभेच्छुकहरु वीरेन्द्रनगर आउन आतूर हुनुहुन्छ,’ उनले नेपालप्रेससँग भने, ‘सभाको स्थान एक दुई दिनमा नै टुंगिन्छ । सभापूर्वका कार्यक्रमको बारेमा अहिले आन्तरिक छलफलमै छौं ।’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रधानमन्त्री बनेको आज फागुन ३ गते ठिक ३ वर्ष पुगेर चार वर्ष लागेको छ । यसबीचका १ हजार ९३ दिनमा के के काम भए ? कहाँ कहाँ अवरोध भयो ? प्रधानमन्त्रीले सिंहदरवारस्थित पुनर्निर्मित प्रधानमन्त्री कार्यालयको प्रांगणबाट देशबासीलाई करीव २ घण्टासम्म लामो फेहरिस्त सुनाए ।
उनले कामको विवरण पेस गर्नुअघि प्रतिनिधिसभा विघटनको औचित्य सावित गर्न खोजे । त्यसपछि सरकारले गरेका कामहरू विवरण पेस गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वृद्धि अर्को वर्ष १० प्रतिशत पुग्ने दाबी गरेका छन्। सोमबार सरकारको तीन वर्षको प्रगति सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तीन वर्षको औसत आर्थिक वृद्धि साढे ५ प्रतिशत रह्यो । अर्को वर्ष १० प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ ।’
ओलीले आफूले सरकार सम्हालेको एक वर्षमै अर्थतन्त्रले लय समातेको दाबी गरे। ‘सरकार सम्हाल्दा अर्थतन्त्र ध्वस्त थियो’ उनको भनाइ छ, ‘ एक वर्षमै लय समात्न सरकार सफल भयो । एक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भयो । ७ वटै प्रदेशमा आर्थिक वृद्धि ६ प्रतिशत रह्यो ।’
संघीयता कार्यान्वयनमा समेत आफ्नो सकारले तीन वर्षमा उलेख्य काम गरेको प्रधानमन्त्रीको दाबी छ। ‘अहिले प्रदेश र स्थानीय तह धेरै सक्षम भइसकेका छन्’ उनको भनाइ छ, ‘ प्रदेश मन्त्रालय कति थिए ? कस्तो संरचना बनाउने भन्नेमा अलमल थियो । तीन वर्षपछि त्यसमा धेरै सुधार आएको छ ।’
‘सरकारले कसैले नसोचेको कोभिड १९ को महामारीको चपेटमा फसेकोमा समयमा समेत नेपालको आर्थिक वृद्धि दर नकारात्मक नभएको प्रधानमन्त्रीको जिकिर छ ।
‘यसले विश्व अर्थतन्त्रको संरचना नै भत्कायो केही मुलुकहरू आर्थिक वृछि नकारात्मक रह्यो कतिपय मन्दीको चपेटामा परे । हाम्रो पनि आर्थिक वृद्धिदर त घट्यो तर सरकारको सुझवुझ , नीतिगत स्पष्टता र पूर्व सक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा परेन । तिन वर्षको औषत वृद्धि ५ प्रतिशतको हाराहारीमा रह्यो, ओलीले भने ।’
कोभिडको असर कम हुँदै जादा नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको प्रधानमन्त्री दावी छ । चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कले पनि नेपालले पुन: उच्च आर्थिक वृद्धिको बाटो समातेको प्रधानमन्त्री ओलीको भनाई छ ।
‘अर्को वर्ष १५ औं योजनाले लिएको १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने प्रवल सम्भावना वढेको छ । यसै आर्थिक वर्षको पहिलो ६ महिनामा शोधान्तर बचत १ सय २४ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिका उक्त वचत २४ अर्व मात्रै छ ।’
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुल्यमा आधारित मुद्रास्फिर्तीको सूचाङ्क ३.५ प्रतिशत रहेको , आयात ४.८ प्रतिशतले घटेको तथा निर्यात ६.१ प्रतिशतले वढेको ओलीले बताए ।
९ लाख भन्दा वढी नागरिक निरपेक्ष गरिबीबाट माथि उक्सिए
प्रधानमन्त्रीले ओलीले आफ्नो तीन वर्षे कामको समिक्षामा सम्वोधन गर्दै ‘कोभिड नभएको १५ लाखभन्दा वढी नागरिकलाई निरपेक्ष गरिबीको रेखाबाट माथि उकास्न सकिने’ दाबी गरे ।
संयुक्त राष्ट्र संघको मानव विकास प्रतिवेदनले ५ प्रतिशतको विन्दुगत सूचाङ्कले पनि कोभिड १९ को चेपेटमा पर्दा पनि नेपालमा गरिबी नवढेको, भोकमरी नरहेको देखाएको प्रधानमन्त्रीले वताए ।
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले उद्देश्य नमिलेका केही व्यक्तिहरुले छोडेर गएपछि पार्टी गतिशील बनेको दावी गरेका छन् ।
आफूले नेपालको नयाँ नक्शा प्रकाशित गरेपछि ती व्यक्तिहरु आत्तिएको उनले बताए ।
बुटबलमा शनिबार आयोजित पार्टीको जनसभामा ओलीले भने, ‘संसदबाट सर्वसम्मतिका साथ नयाँ नक्शा अनुमोदन भएपछि उहाँहरु आत्तिनुभो । अनि सरकारबाट हट्नुपर्यो भन्ने दवाव सुरु भयो । अन्तबाट होइन, अरुले हिम्मत गरेको थिएन, आफ्नै पार्टीबाट विग्रत पैदा भयो ।’
गत वर्षको वैशाखबाट सरकार ढाल्ने खेल सुरु भएको उनले बताए । अमूक व्यक्ति प्रधानमन्त्री वा अध्यक्ष बन्नकै लागि आफूलाई हटाउन खोजिएको उनको आरोप थियो ।
ओलीले भने, ‘वैशाखमा एकैचोटि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भन्ने आवाज आयो । मैले सोधेँ, किन ? उत्तर आयो– मलाई प्रधानमन्त्री बन्न मन लाग्यो । फेरि अध्यक्ष छोड्ने आवाज उठ्यो । मैले सोधेँ किन ? अर्काले भन्यो, मलाई त अध्यक्ष आफैं हुन मन लाग्यो । मैले भनेँ, अध्यक्ष जो हुनुछ महाधिवेसनमा हुनूस, विचबिचमा झमेला नगर्नुस । तर, जवाफ आयो– उधारो हुँदैन नगदानगदी चाहिन्छ ।’
पार्टीबाट केही व्यक्तिहरु निस्केपछि सरकार र पार्टी गतिशील बनेको उनले दावी गरे ।
‘तीन वर्षदेखि संवैधानिक आयोग बन्न सकेका थिएनन् । उहाँहरु हट्नुभो । आयोग बने । पार्टी हल न चल भएको थियो । अहिले उहाँहरु जानुभो, पार्टी गतिशील भयो । गएको तीन वर्ष यस्तो आमसभा गर्न सक्दैनथ्यौं । खुट्टा तान्न खोजिन्थ्यो । अहिले देशैभरि भइरहेका छन् । आज बाहिर गएर हामीलाई गाली गरिरहेका छन्,’ ओलीले भने ।
उनले थपे, ‘आन्दोलनले सुद्धिकरण खोजेको थियो । आज उहाँहरु आफैं बाहिर गएर महान शुद्धिकरणका लागि ढोका खोल्नुभएको छ । पार्टी एक भएको छ, अनुशासित र गतिशील भएको छ । सुदृढ र अनुशासित ढंगले पार्टी अगाडि बढेको छ ।’
काठमाडौं । भ्यालेन्टाइन डे नजिकिएको छ । प्रेममा परेका युवा–युवतीहरू आफ्ना प्रेमी-प्रेमिकालाई कसरी माया दर्शाउने भनेर सोचमग्न होलान् । जो सिंगल छन्, उनीहरू पनि कसरी आफूले मन पराएको व्यक्तिलाई प्रपोज हान्ने भनेर योजना बुन्दै होलान् ।
माया दर्शाउन होस् वा प्रेम प्रस्ताव राख्न, सबैभन्दा चलनचल्तीको शब्द हो, आई लभ यू । प्रेममा परेकाहरूले एक-अर्कालाई आई लभ यू भन्नु नियमित काम नै भयो । तर आफूले मन पराएको व्यक्तिलाई फ्याट्ट ‘आई लभ यू’ भन्न सकिंदैन । बरु सामाजिक सञ्जालमार्फत आफूले मन पराएको सेलिब्रिटीलाई ‘आई लभ यू’ भन्ने/लेख्नेहरू चाहिं धेरै छन् ।
यही ‘आई लभ यू’ अहिले टिकटकमा अनौठो किसिमले भाइरल भइरहेको छ । अनौठो यसकारण कि युवा–युवतीहरू कुनै लक्का जवान सेलिब्रिटीलाई होइन, देशका प्रधानमन्त्रीलाई आई लभ यू भनिरहेका छन् । उमेरले वृद्धावस्थाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आई लभ यू’ भन्दै खासगरी युवतीहरूले बनाएका भिडियो क्लिप्स बग्रेल्ती भेटिन्छन् ।
केही वर्षदेखि नेपाली राजनीतिको केन्द्रमा छन् ओली । यस्तो लाग्छ कि उनको पक्ष र विपक्षमा देश बाँडिएको छ । देशमा या त ओली समर्थक छन् या विरोधी । धेरै सञ्चारमाध्यमले ओलीलाई लगातार खलनायकको रूपमा चित्रित गरिरहेका छन् । संसद विघटनयता त झनै खुलेर ओलीमाथि आक्रमण भइरहेको छ । यसका बाबजूद टिकटकमा ‘केपी ओली आई लभ यू’ वाला ट्रेन्ड किन चलिरहेको छ त ?
यसरी टिकटक बनाउने पुस्ता त्यो हो, जसलाई देशको राजनीतिसँग खासै चासो छैन । उनीहरू ओलीका भाषण समाचारमा होइन, टिकटकमै हेर्छन् र रमाइलो मान्छन् । विरोधीहरूको तेजोबध गर्ने चोटिला डाइलग र रमाइला उखान टुक्कासहितका भाषणले टिकटकमा ओलीको अर्कै खाले फ्यान फलोइङ जन्माइरहेको छ । राजनीतिमा चाख नराख्ने पुस्ताले उनलाई पछ्याउन थालेको छ ।
पछिल्लो समय ओलीको भाषणका कैयन् फुटेज टिकटकमा भाइरल छन् । ओली र प्रचण्डको फुटेज जोडेर बनाइएको ‘नाटकै हो, नौटंकी नै हो’ वाला टिकटकले त व्यापकै रूप लियो । ओलीले प्रचण्ड र माधव नेपालको क्यारिकेचर गरेका भिडियोहरू पनि उत्तिकै चर्चित छन् ।
कसरी शुरू भयो ट्रेन्ड ?
गएको माघ २२ गते प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा देशव्यापी आमहड्ताल आयोजना गरेको थियो । सोही दिन ओली समूह समर्थित युवा संघले काठमाडौंमा मार्च पास आयोजना ग¥यो । त्यही मार्चपासमा पहिलोपटक ‘केपी ओली आई लभ यू’ को नारा लागेको बताउँछिन् ओली समर्थित अनेरास्ववियूकी सचिवालय सदस्य अस्मिता थापा ।
‘पूर्वयोजना बनाएर होइन, फिल्डमा स्वस्फूर्त रूपमा लागेको नारा हो’, उनले भनिन् । पार्टीका युवा नेता महेश बस्नेतबाट यो नारा शुरू भएको उनको भनाइ छ ।
सो मार्चपासमा सहभागीहरूले ‘नेपाल बन्दैछ, केपी ओली आई लभ यू’ भन्दै गरिएको नारावाजीको भिडियो फुटेज टिकटकमा आएपछि हिट भएको थियो । त्यसपछि ओली समर्थित अन्य जुलुसहरूमा पनि यो नारा लाग्ने गरेको छ । साथै, यही आवाजमा लिप सिंक गरेर टिकटकमा भिडियो बनाउने होड चलेको छ । युवा–युवतीहरूले ओलीको फोटो देखाएर भिडियो बनाइरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको अवधिमा दलभित्रको विवादमा निर्वाचन आयोग प्रवेश गर्न नमिल्ने भन्दै पार्टीको आधिकारिक अध्यक्ष आफैं भएको प्रमाण आयोगसँगै रहेको बताएका छन् ।
वैशाखमा निर्धारित निर्वाचनको बारेमा छलफल गर्न मंगलबार आयोग पुगेका ओलीले निर्वाचन प्रयोजनका लागि दल दर्ताको कुरा निस्किएपछि पुस ५ अघि नेकपामा कुनै विवाद ननिस्किएकाले अब १२० दिनभित्र पार्टीभित्रका विवादमा आयोग पस्न नमिल्ने बताएका हुन् ।
ओलीको भनाइ उद्धृत गर्दै आयोग स्रोतले भन्यो– उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनमा मैले एकल हस्ताक्षरमा उम्मेदवार सिफारिश गरेको थिएँ । म पार्टीको पहिलो अध्यक्ष हुँ । किन मेरो एकल हस्ताक्षर मान्य नहुने ? अहिले केही मान्छे बाहिरिएका छन् पार्टीबाट । बालुवाटारमा पुस ५ गते नेकपाको कुनै बैठक बसेको छैन, अध्यक्ष र महासचिवलाई जानकारी नभई बैठक कसरी बस्यो ? त्यसैले निर्वाचनको अवधिमा दलभित्रको विवादमा आयोग प्रवेश गर्न मिल्दैन ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले २०७५ जेठ ३ गते नेकपा एकीकरण भएको र जेठ २३ गते निर्वाचन आयोगले सूचना जारी गरेको स्मरण गराउँदै आफू नेकपा संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री भएको बताए । उनले पुस ५ गते प्रतिनिधिसभा विघटन हुँदासम्म आफ्नो सो हैसियत कायमै रहेको बताएका थिए ।
ओलीले भनाइ थियो– मैले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफरिश गरेको हुँ । त्यसपछि कसैले पार्टी छाडेको होला । निर्वाचनको अवधिमा दलभित्रको विवादमा आयोग प्रवेश गर्न मिल्दैन । ५ गते मैले सिफारिश गर्नुअघि त यस्ता कुनै कुरा थिएनन्, यो १२० दिनभित्र विवाद गर्न पाइँदैन ।
पार्टीमा आफ्नो बाहेक अरुको एकल हस्ताक्षर नचलेको भन्दै कहिलेकाहीं आफूसँगै पुष्पकमल दाहालको पनि हस्ताक्षर चलेको आयोगका पदाधिकारीलाई बताए । ओलीले आफूले पहिले नै केन्द्रीय कमिटी बैठक विस्तार गरेको र पछि अनुमोदन गरिएको जानकारी आयोगलाई दिएका छन् ।
माधव नेपालको हँसिया र मकैको घोगा !
प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष ओलीले निर्वाचन आयोगसमक्ष अर्को दलिल पेश गरेका छन् । त्यो के भने, सूर्य चिह्नमा माधव नेपालको पनि हक लाग्दैन । प्रचण्डले सूर्य चिह्नबाट कहिल्यै चुनाव नलडेको र लड्ने सहमतिबाट समेत पछि हटेको स्मरण ओलीले गराए ।
आयोगसमक्ष ओलीले भने– माधव नेपाल र बलराम उपाध्यायले पहिले नै हँसिया र मकैको घोगा चुनाव चिह्न दर्ता गराउनुभएको हो । हामीले सूर्य चिन्ह कायम गरेको हो । हामी त्यसयता सूर्य चिन्हमै चुनाव लड्दै आएका छौं । प्रचण्डजीसँग २०७४ असोज १४ गते सूर्य चिह्नबाट लड्ने सहमति भएको थियो, तर १६ गते त्यसबाट पछि हट्नुभयो । उहाँ कहिल्यै सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन ।
ओलीले नेकपा एकीकरण टुंगिन नसकेकाले आफूले केन्द्रीय कमिटीमा सदस्य थपेर विस्तार गरेको बताएका छन् । तीन महिनाभित्र एकीकरण सक्ने र दुई वर्षमा महाधिवेशन गर्ने भनिएकोमा त्यसो नभएकाले कमिटी विस्तार गर्नुपरेको मौखिक जानकारी समेत ओलीले आयोगलाई गराएका छन् ।
ओलीले भने– पुस ५ गतेपछि कसैले कुनै निर्णय गरेर आयौं भन्छ भने त्यो जालझेल र राजनीतिमात्र हो । दुई अध्यक्षको सहमतिमा एकता भएर त्यसलाई पछि दुवै पार्टीले अनुमोदन गरेका हुन् । त्यो एकता टुंगिन नसकेपछि मैले एकल हस्ताक्षर चल्ने पहिलो अध्यक्षको वैधानिक हैसियतमा विस्तार गरें । अहिले उहाँहरुको कार्यालय पेरिसडाँडामा छ । हाम्रो कार्यालय धुम्बाराहीमा भाडामा चलेको छ ।
नेकपा विवाद पुस ५ गतेअघिसम्म नभएकाले निर्वाचन घोषणा भइसकेपछि आयोगले दलभित्र पस्न नहुनेमा अोलीले जोड दिएका छन् । प्रधानमन्त्री तथा देशको प्रमुख पार्टीको अध्यक्ष दलविहीन र स्वतन्त्र कसरी हुन्छ भन्ने प्रश्न गर्दै उनले कुनै पनि कानून र तथ्यका आधारमा नेकपाको आधिकारिकता र आफ्नो वैधानिकतामाथि प्रश्न उठ्न नसक्ने जिकिर ओलीले गरेका छन् ।
रासस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उनले थिचोमिचो र गुम्स्याएर नभई सत्यतथ्य, समानता, सम्मान र न्यायका आधारमा मात्र छिमेकीसँगको समन्धलाई सुमधुर र सुदृढ बनाउन सकिने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘नेपाल–भारतबीचको सम्बन्धलाई सुमधुर सम्बन्धमा परिणत र विस्तार गर्न हामीले नक्सा छाप्नै पर्थ्यो, भारतसँग कुरा गर्नैपर्थ्यो, वार्ताका माध्यमद्वारा हाम्रो भू–भाग फिर्ता ल्याउनैपर्छ अनि मात्रै सम्बन्ध सुमधुर हुन सक्छ, सीमा समस्या सुस्तामा छ, कञ्चनपुरमा छ ।’
लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसगँ मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने बताउँदै उनले भने, ‘हाम्रा भू–भाग फिर्ता लिनुपर्छ, सत्य र तथ्यमा आधारित भएर चल्नुपर्छ, दुवै छिमेकीलाई उहाँहरुको भू–भाग हाम्रो भनेर दाबी गर्ने हैसियतमा हामी छौँ र ? भनी स्पष्ट पारिसकेका छौँ ।’
बैलैमा कोहि नबोल्दा धम्की सुन्न परेको छ
भूमि र सीमा समस्या ततकालीन शासकले बेवास्ता गर्दा अहिले समस्या भएको पनि दावी गरे । उनले भने, ‘इतिहासले छोडेका सीमासम्बन्धी केही समस्या छन् । अन्ठाउन्न वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या छ । विसं २०१८ सम्म हामीले नापी गरेको, जनगणना गरेको, मालपोत उठाएको, तीरो तिरेको, प्रशासन राखेको, प्रशासन चलाएको ठाउँबाट तत्कालीन शासकले बोल्ने आँट नगर्दा हामी चुपचाप विस्थापित हुने कुरा भयो ।’
पछिल्लो पटक आफ्नो भू–भाग सामेल गरेर राजनीतिक र प्रशासनिक नक्सा बनाएको उनले बताए । ‘नक्सा छाप्यौँ, त्यसलाई संविधानको अनुसूची र निसान छापमा पनि सामेल गर्यौं,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो गर्दा भारतसँग असमझदारी बढ्यो भन्ने केही मानिसमा परेको छ , त्यो कुरा साँचो होइन ।’ जुनसुकै मूल्यमा पनि आफ्नो भूमि हाम्रै हो भन्न सक्ने हैसियत राख्न जरुरी रहेको उनको भनाइ थियो । भूमिको मामिला निकै संवेदनशील हुँदा सीमा सुरक्षासँग सरोकारवाला निकाय निकै सजग र सचेत हुनुपर्ने उनले बताए।
‘हाम्रो भूमि हडपिएको छ, भोग चलन गर्न पाएका छैनौँ, हाम्रो हो भन्दासमेत गाली खानु र धम्की सुन्नुपरेको छ’, उनले भने । प्रधानमन्त्री ओलीले अबका दिनमा सीमाका विषयमा वार्तामा जाने र सीमाना हेर्ने राष्ट्रसेवक तथा सिमानाको सुरक्षा खटिनेलाई सीमास्तम्भ सार्न नदिन तथा भूमि मिचिन र दशगजाको दुरुपयोग रोक्नेतर्फ विशेष ध्यान पुर्याउन निर्देशन दिए ।
सीमाकै सुरक्षा छैन भने देशको सुरक्षा कसरी ?
सीमा सुरक्षा भनेको समग्र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण भाग र अङ्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘सीमा सुरक्षा छैन भने राष्ट्रको सुरक्षा कसरी हुन्छ ? राष्ट्रको सुरक्षाका लागि सीमा सुरक्षा हुनुपर्छ । सीमा सुरक्षा अत्यन्तै महत्वपूर्ण कुरा हो, त्यसका निम्ति सुरक्षा नीति कार्यान्वयन कार्यनीति बनाएका छौँ ।’
पछिल्लो समय सरकारले सीमा सुरक्षा बलको जनशक्ति र पोष्ट बढाउँदै लगेको, उनीहरुलाई सक्षम तुल्याउन साधनस्रोतको प्रबन्ध मिलाउने तर्फ ध्यान दिइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए । पछिल्लो समय संविधानले नेपाली जनताको सार्वभौमसत्ताको सम्मान, सीमा, भूगोल र नेपालको हितको रक्षालाई हाम्रो कर्तव्यका रूपमा प्रस्तुत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘संविधानले राष्ट्र र जनताको भावनाको प्रतिनिधित्व गरेको छ ।’
नेपालको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको निरन्तरता तथा समृद्धिको वास्तविक प्रयोग हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘सीमानामा केही समस्या छन्, हामी पूर्व, पश्चिम र दक्षिण तीनतर्फबाट भारत वेष्ठित छौं ।’
नेपालका तराई क्षेत्रका कञ्चनपुरलगातका क्षेत्रमा बस्तीभन्दा पनि यता सीमास्तम्भ ल्याइएको घटनाको प्रशंग उल्लेख गर्दै उनले भने, ‘रिफरेन्स सीमास्तम्भलाई वास्तविक सीमास्तम्भ मान्न सकिन्न । हामीले हाम्रो भू–भागको सुरक्षाका लागि जिम्मेवार ढङ्गबाट पहल गर्नुपर्छ ।’
मुलुक र सभ्यताका कुरा
प्रधानमन्त्री ओलीले नेपाल सभ्यताको विकासका दृष्टिकोणबाट मात्र नभई ज्ञानको प्रारम्भ, विस्तार र खोजअनुसन्धानका हिसाबले पनि उत्तिकै गौरव गर्न लायक देश रहेको बताए । भने, ‘प्रकृतिको देन मात्र होइन, हाम्रा पुर्खा र पूर्वजको योगदानका कारण पनि हामी देशप्रति गौरव गर्न सक्दछौँ । पुर्खाले राष्ट्र निर्माण र सुरक्षाका लागि ठूलो बलिदान दिए । नेपाल गौरवपूर्ण इतिहास बोकेको देश हो, जुन देशले कहिले पनि उपनिवेश हुन परेन, हुन मानेन, औपनिवेशिकता र पराधीनतालाई स्वीकारेन, स्वाधीनतालाई सर्वोपरी राख्यो ।’
‘बलिदान गर्ने बहादुर पुर्खाका सन्तान र सुन्दर देशका नागरिकका हैसियतले हामी नेपाली हुन पाएकामा गौरवान्वित महसुस गर्छौं’, उनले थपे, ‘हाम्रा पूर्वजले लडाइँ गरेर यो देश बनाए । इतिहासको प्रारम्भदेखि नै उत्तरा र हिमवत् खण्डमा नेपाल एउटा मात्र स्वतन्त्र देशका रूपमा सदैव उल्लेखित रह्यो । यो हाम्रा शास्त्रमा पनि वर्णित भएको विषय हो ।”
शैव सभ्यता र संस्कृति, तान्त्रिक, बुद्धयानको महिमा जोडिएको नेपाल र नेपाली सेनाको झण्डाको इतिहास पनि निकै पुरानो रहेको बताउँदै उनले भने, “सबैभन्दा पुरानो सभ्यता शैव सभ्यता हो, त्यो सभ्यताको शुरुआत भएको तथा विश्वमा उपनिवेश नभएका १९ मध्ये एउटा देश नेपाल हो ।”
सम्मानलाई अझै प्रज्वलित बनाउनुपर्छ
मुलुकको इतिहास, भूगोल, गौरव, सम्मानलाई अक्षुण्ण राखी अझ प्रज्वलित बनाई अघि लैजानुपर्ने आवश्यकता आज हाम्रो अगाडि रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘यदाकदा केहीबाट केही कमजोरी भए पनि स्वाधीनता र सम्मानको बाटोलाई नेपालले कहिल्यै छाडेको छैन ।’
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गका रूपमा रहेको सीमा सुरक्षा कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको र त्यसका लागि विभिन्न विषयगत ऐन नियम तर्जुमा गर्नुपर्ने खाँचो देखिएको बताए । उनले भने, ‘आवश्यक स्रोत साधन, प्रविधि उपलब्ध गराउने कुरामा मन्त्रालयले कुनै कसर बाँकी राख्ने छैन, चार वटै सुरक्षा निकायबीच समन्वय र सूचना आदान प्रदानका लागि संयन्त्र बनाउनु पर्ने महसुस भएको छ ।’
प्रधानसेनापति पूर्णचन्द्र थापाले आम नागरिकबाट आएको चासो र चिन्ता तथा कोभिड–१९ का बेला व्यहोर्नुपरेको अप्ठेरोको पाटोलाई समेत ध्यान दिँदै सीमालाई वैज्ञानिक ढङ्गबाट व्यवस्थित गर्न उचित हुने बताए । रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सदस्य सचिव रेश्मीराज पाण्डेले कार्यक्रमको आवश्यकता र गोष्ठीबाट अपेक्षा गरिएको निचोडबारे जानकारी दिनुका थिए । नेपालको अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थापनमा प्रत्यक्ष र परोक्ष गरी ३४ वटा निकायको संलग्नता रहँदै आएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले पुर्याएको योगदानको चर्चा गर्दा नेपाल जोगाउनेहरूको योगदानलाई पनि बिर्सिनु नहुने बताएका छन् । कालु पाँडेदेखि विशे नगर्चीसम्मले देशको रक्षामा कुनै न कुनै भूमिका खेलेको उनको भनाइ छ ।
नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार कार्यक्रममा बोल्दै ओलीले भने, ‘कसैका सन्तान-दरसन्तानको गुणगान गाउने, कसैको लेखाजोखा नहुने, त्यसरी इन्साफ हुँदैन । बिनाभेदभाव महान पूर्वजहरुको स्मरण गर्नुपर्छ । बिसे नगर्चीसमेत धन्यवादका पात्र छन् । यसरी लड्नुपर्छ भनेर पृथ्वीनारायण शाहलाई बुद्धि दिने बुढी आमैलाई पनि धन्यवाद छ ।’
अमरसिंह थापाले ७४ वर्षमा तरवार लिएर मैदानमा लडेको ओलीले चर्चा गरे । यसैगरि, अर्का महान योद्धा भिमसेन थापालाई हिरासतमा कायरतापूर्वक षडयन्त्रपूर्वक मारिएको टिप्पणी गरे ।
ओलीले भने, ‘हाम्रो इतिहासका महान देशभक्त हुन् भिमसेन थापा । उनी मात्र होइन, उनका छोरा नातिले पनि योगदान दिएका छन् । उजिरसिंहले बुटवलमा किल्ला सम्हालेर अंग्रेजलाई नलखेटेको भए नेपाल जोगाउन गाह्रो हुन्थ्यो । बुटबलमा हारेको भए भिमसेन थापाले सम्हालेको मोर्चा पाल्पामा आक्रमण हुन्थ्यो । पाल्पा टिकाउन गाह्रो हुन्थ्यो ।’
उनले थपे, ‘त्यसैले, पृथ्वीनारायण शाह मात्र होइन, अमरसिंह, वलभद्र, भिमसेन, भक्ति थापा लगायतका सेनापतिहरु पनि उत्तिकै स्मरणीय छन् । कालु पाँडे, दामोदर पाँडेहरु सेनापति भएर पनि तरवार बोकेर आफैं लडाईंका मोर्चामा थिए । उनीहरू आदेश दिने पोजिसनमा थिए । तर, सैनिकहरुलाई आदेश दिएर लडाईमा पठाउने अनि आफू घर बस्ने गरेनन् । ‘आउ सेना’ हो भने, ‘जाउ सेना’ भनेनन् ।
ओलीले इतिहासमा पुर्खाले लडाईं लडेका किल्लाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
‘हामीले अहिले लडाईं लड्नुछैन, केवल पुर्खाले लडाईं गरेको ठाउँको संरक्षण गर्ने हो । यो लडाईं लड्नेजस्तो कठिन काम होइन,’ उनले भने ।
‘हाम्रा पुर्खाले त किल्ला बनाउँदै लड्दै गरे । कति गाह्रो भयो होला । आजको जस्तो गाडीमा जान पाइन्थ्यो र ? आज निरीक्षणमा जाँदा म हेलिकोप्टरमा जान्छु, गाडीमा जान्छु । हाम्रा पुर्वजले त ज्यान जोखिममा राखेर नदि तर्नुपर्थ्यो । रासन कहाँबाट ल्याए ? लत्ताकपडा कसरी बोके ? दाँत कहाँ माझे ? कहाँ खाए ? कपडा कहाँ फेरे ? कसरी लडे होलान् ? आज हामीले जति प्रशंसा गरे पनि कम हुन्छ ।’
काठमाडौं । विभाजित नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको नेपाल बन्दमा गरिएका गतिविधिहरुको तीब्र आलोचना गरे ।
आज आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई उपस्थिति हुन नदिन हिजो तथाकथित नेपाल बन्द गरियो । बन्द गर्दा के गरियो ? गरिब सर्वहारा श्रमजिविका लागि काम गर्ने भन्ने, तर बुढी आमाले डोकामा बोकेर ल्याएर बेच्न राखेको टमाटर, तरकारी बाटाभरी छरेर क्रान्ति गर्न खोजियो । त्यही हो उहाँहरुको क्रान्ति । किसानका मूला फ्याँकिए, त्यही हो उहाँहरुको क्रान्ति ? एउटा गरिब ट्याक्सीवालालाई आगो लगाउनेहरु सर्वहारावादी पार्टी । ट्याक्सीभित्रै गरिब ड्राइभर जलाउन खोज्ने सर्वहारावादी पार्टी । घोषणै गरेर अब साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? चिकन चिल्ली खान्छु भनेको हो ? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । तर, नरभक्षी आन्दोलनका दिन गए । नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे पनि हुन्छ ।’
उनले हिजो बन्दका क्रममा गरीब जनताले भोगेको क्षतिको सरकारले क्षतिपूर्ति गर्ने बताए ।
ओलीले भने, ‘सागसब्जी फ्याकिएको छ, त्यो नोक्सानको सरकारले क्षतिपूर्ति दिन्छ । हामी उहाँहरूलाई क्षतिपूर्ति हामी दिन्छौं । ट्याक्सी इन्स्योरेन्स गरेको होला । क्षतिपूर्ति दिन लगाउँछौं । भएन भने गरिबलाई हेर्ने सरकार छ । जनतालाई माया गर्ने सरकार छ । शान्तिलाई मन पराउने सरकार छ ।’
बन्द गराउने पार्टीले कतिपय ठाउँमा बम राखेर ‘बिप्लव’ लेख्ने काम गरेको ओलीले आरोप लगाए ।
काठमाडौं । प्रधानमन्त्री तथा विभाजित नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले कुन पार्टी मूल पार्टी भन्ने आजबाट टुंगो लागेको दाबी गरेका छन् । उनले आज इतिहासकै ठूलो जनसभा काठमाडौंमा भइरहेको बताए ।
आफ्नो पार्टीद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै ओलीले भने, ‘अब पनि कोही अलमल छ त कुन पार्टी मूल पार्टी हो भनेर ? हामी हौं मूल पार्टी । हामी कम्युनिष्टको मात्रै होइन, देशकै मूल पार्टी हौं ।’
काठमाडौंमा कुनै पनि स्थान आफ्नो पार्टीको जनसभाका लागि सानो भएको ओलीले बताए ।
‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन । अरुलाई जुन ठाउँ पनि ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ । हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं । तर, यहाँ पनि मान्छे अटेका छैनन् । फेरि, मान्छेहरु सोधिराख्या छन्, मूल पार्टी कुन हो भनेर । कोही अलमलमा छ अझै पनि भने कठैबरा भन्न सकिन्छ । मूल पार्टी कुन हो थाहा पाउनु परेन ? मूल पार्टी यही हो, जहाँ तपाईं हामी छौं । यो सबैभन्दा ठूलो पार्टी हो । यो पार्टी देशको स्वाधिनताको रक्षा गर्ने र ठीक ढंगले प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो । आजबाट कुन पार्टी मूल र सक्कली भन्ने कुराको टुंगो लाग्यो, फैसला भयो अब ।’
काठमाडौं । पार्टी विभाजनपछि अहिलेसम्मकै ठूलो जनसभा गरेर देशलाई सन्देश दिन खोजेको केपी अोली नेतृत्वको नेकपाले आजको सभाअघि गर्ने जुलुसमा लगाइने नारा तय गरेको छ ।
आयोजकले अराजकताको अन्त्य,राजनीतिक स्थिरता, संविधानका रक्षा,राष्ट्रिय स्वाधिनता,ताजा जनादेश,विकासको निरन्तरता भन्ने मूल नारा तय गरेका छन् ।
ओली पक्षले तय गरेका १३ वटा नारामध्ये तीनवटा केपी ओली केन्द्रित छन् । विदेशी सेना फिर्ता गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कुरालाई पनि ओली पक्षले नारामा समेटेका छन् ।
काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओलीपक्षले शुक्रबार राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ।
दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको छ।
आमसभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित तीन जना नेताले सम्वाेधन गर्ने छन् । सभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्वाेधन गर्नेछन् ।
१३ ठाउँबाट जुलुस
त्यसअघि उपत्यकाका विभिन्न स्थानबाट जुलुस सुरु हुनेछ, जुन दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।
बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ । महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कनेछ ।
त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कनेछ ।
पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।
टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको छ ।
‘हाइटेक’ मञ्च
‘टी’ आकारकाे हुने मञ्चको व्यवस्थापन हाइटेक तरिकाले बनाइने छ। मञ्चको देब्रेपट्टि नागपोखरी खण्ड, दाहिनेपट्टी ठमेलतर्फको खण्ड र नारायणहिटीको दक्षिणतर्फ त्रिचन्द्र कलेजपट्टि ‘टी’ आकारमा सभामा उपस्थित हुनेलाई राख्ने व्यवस्था मिलाइएको छ।
प्रधानमन्त्रीलगायत मञ्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ।
महेन्द्र सालिक छेउमा जयनेपाल हलतर्फ, ठमेलतर्फ र यती समूहको भवनमा डिजिटल स्क्रिन राखिने छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकले दु:ख गरेर फलाएको तरकारी सडकमा फ्याकेको भन्दै प्रचण्ड-माधव समूहको आलोचना गरेका छन् । उनले जनतालाई दुख दिएर प्रचण्ड र माधव नेपाल गाडीमा सयर गर्दै तमासा हेरेको आरोपसमेत लगाए ।
किसान महासंघको कार्यक्रममा सम्वोधन गर्दै ओलीले भने, ‘बुढी आमाले डोकामा बोकेको टमाटर सडकभरि फ्याकेर उहाँहरुले क्रान्तिकारिता देखाउनुभो । अरुका गाडी जलाउनुभो । अनि जनताले कति दु:ख पाए हँ भनेर आफू गाडीमा तमासा हेर्न निस्किनु भो ।’
उनले अगाडि थपे, ‘एकजना गाडीमा हिँड्नुभा, अर्को चाहिँ गाडी नै त नचढौं, बाइकसम्म ठीक हुन्छ भनेर पछाडि बस्नुभयो ।’
ओलीले प्रचण्ड-माधव समूहसँग कार्यकर्ता सिद्धिएको टिप्पणी गरे ।
उनले भने, ‘कार्यकर्ता जति यता छन्, कहाँबाट उता होस ? गाडी रोक को उभिएको भनेर यसो हेर्दा त प्रचण्ड । कहाँ भन्दा फेरि सातदोबाटो । ठाउँमा पनि छानेकै हो । कार्यकर्ता सिद्धिएछन् उहाँहरुका । आफैं ‘हामी यहाँ छौं’ भन्दै यता टाँसो, उता टाँसो । हामी यहाँ छौं भन्ने त उहाँहरुको ब्रान्ड नै भयो । जसले हामी यहाँ छौं भनेर टाँसेका छन् त्यत्ति हुन् उहाँहरूका कार्यकर्ता ।’
उनले प्रचण्डलाई पहिलेजस्तो संविधान-कानून मान्दिनँ भनेर उपद्रव नमच्चाउन चेतावनी दिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न खोज्दा जहिले पनि केही व्यक्तिले छलफल गर्नुपर्छ भन्दै अवरोध सिर्जना गरेकोमा अब छलफलवालाहरू हिँडेपछि धमाधम काम हुन थालेको बताएका छन् ।
नेकपानिकट भूमिहीन सुकुम्बासी संघको राष्ट्रिय भेलालाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल र नारायणकाजी श्रेष्ठले हरेक कुरामा छलफल गर्नुपर्छ भनेर आफूलाई सधैँ अवरोध गरेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘मैले भेटेको तीनजना मान्छे छलफलवाला माधव नेपाल ,घनश्याम भुसाल र नारायणकाजी श्रेष्ठ, सुकुम्बासी आयोग बनाउँ भन्यो छलफल गर्नुपर्छ । यसो गरौं भन्यो छलफल हुनुपर्छ भन्ने । ती मान्छेहरू पार्टी छाडेर पाटीतिर लागे । तिनीहरूको पाटीको बास हुन थालेपछि अब काम हुन थालेको छ ।’
आयोगले अब भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र कोही पनि भूमिहीन नहुने प्रधानमन्त्रीले बताए । ओलीले आउने चुनावमा कसरी बहुमत आउँछ भन्ने प्रश्न आवश्यक नरहेको बताए ।
उनले भने, ‘कतिपयले प्रश्न गर्छन्,नेकपा फुटेपछि कसरी वहुमत आउछ ? यसमा कुनै भ्रम पाल्नु जरुरी छैन । हामीलाई वहुमत नदिए जनताले कसले दिन्छन् ? त्यो हामी गरेर देखाउँछौं ।’
‘तपाईंहरू आफूलाई अयोग्य नभन्नुस् है, अयोग्य लडाकु भनेको लडाकु हुन अयोग्य होइन, तोकिएको मापदण्ड नपुगेको मात्र हो’, प्रधानमन्त्री केपी शर्मा ओलीले बडो स्नेह देखाउँदै एक पूर्व बाललडाकुलाई सम्झाएका छन् ।
पूर्व बाललडाकु समूहका प्रवक्ता राजन थापासँगको फोन सम्वादमा ओलीले यसरी लोलोपोतो गरेका थिए । जवाफमा थापा पनि ओलीप्रति नतमस्तक बन्दै भन्छन्, ‘प्रचण्डले त माओवादी जनयुद्धलाई कुहिएको फर्सी बनाए । हामीलाई अब तपाईंसँगै भरोसा हो, प्रधानमन्त्रीज्यू !’
यो संवाद एउटा झलक मात्रै हो, प्रधानमन्त्री ओलीले माओवादीका पूर्वलडाकुप्रति देखाइरहेको अतिरिक्त सहानुभूति र प्रेमभावको । तत्कालीन माओवादीबाटै परित्यक्त अवस्थामा रहेका पूर्वलडाकुहरूलाई ओलीले अहिले संरक्षण दिन खोजेको उनका अभिव्यक्ति र व्यवहारबाट स्पष्ट झल्किन्छ । धेरैका लागि यो आश्चर्यजनक छ । यसकारण कि तत्कालीन माओवादीले गरेको १० वर्ष लामो जनयुद्धको प्रखर विरोधी मानिन्छन् ओली ।
विगतदेखि नै ओलीले माओवादी जनयुद्धलाई अनेक तरिकाले छेड हान्दै आएका छन् । माओवादी लडाकुलाई उनले ‘गुरिल्ला’ को संज्ञा दिने गरेका थिए । जनयुद्धकालमा माओवादीले पनि ओलीलाई आफ्नो कठोर विरोधी ठान्थ्यो । तत्कालीन एमालेभित्र माधव नेपाल, वामदेव गौतमहरू तुलनात्मक रूपमा माओवादीप्रति लचिला थिए । माधव नेपालले हालै आफ्नो भाषणमा भनेका पनि छन्, ‘ओलीले प्रचण्डलाई २०६३ सालपछि देखेका हुन्, मैले त उहाँलाई ४० वर्षदेखि चिनेको छु ।’ यो भनाइमा सत्यता हुनसक्छ ।
केपी ओली जनयुद्धप्रति पछिसम्म पनि सकारात्मक थिएनन् भन्ने विभिन्न दृष्टान्त छन् । पार्टी एकतापछि पनि उनले जनयुद्धको अपनत्व लिन इन्कार गरेको तथ्य ‘जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी नभएबाट प्रमाणित हुन्छ ।
माओवादीले हरेक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउने गर्छ । तत्कालीन एमाले र माओवादी निर्माण भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएपछि दुईवटा फागुन १ गए । दुवैपटक पूर्व माओवादी समूहले कार्यक्रम गर्यो, तर त्यसलाई ‘जनयुद्ध दिवस’ नभनेर ‘विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूलाई सम्झिने कार्यक्रम’ भनिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा ओलीलाई निमन्त्रणा गरिएको भए पनि ओली दुवैपटक विभिन्न कारण देखाएर गएनन् ।
एक तीर, दुई शिकार
पार्टी एक हुँदासम्म पूर्वलडाकुप्रति कुनै सरोकार नदेखाएका प्रधानमन्त्री ओली विभाजनपछि किन उनीहरूलाई बारम्बार सम्झिरहेका छन् भन्ने प्रश्न उठ्छ । सम्झिरहेका मात्रै छैनन् कि उनीहरूलाई अनेक चिल्ला आश्वासन पनि दिएका छन् । बुझ्न कठिन छैन, ओलीको पूर्वलडाकु प्रेम रणनीतिक हो ।
पार्टी विभाजनपछि आएर ओली एकाएक पूर्वलडाकुप्रति सहानुभूतिशील देखिनुको मुख्य कारण राजनीतिक लाभको खोजी बाहेक अर्को हुन सक्दैन ।
पूर्वलडाकुलाई आफ्नो समूहमा समावेश गरेर ओलीले ‘एक तीर दुई शिकार’ गर्न खोजेको देखिन्छ । पहिलो, प्रचण्डले युद्धमा होमेर पछि अलपत्र पारेका युवाहरूलाई आफूले संरक्षण दिएको देखाएर उनी आफ्नो छाती साह्रै फराकिलो छ भन्ने देशवासीसामु देखाउन र प्रचण्डलाई नैतिक संकटमा पार्न चाहन्छन् ।
ओलीको दोस्रो उद्देश्य विभाजनपछि आफ्नो समूहमा लागेका बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायतका पूर्वमाओवादी नेताहरूलाई खुशी पार्ने हुनसक्छ, जो ‘कुहिएको फर्सी’ वाला अभिव्यक्तिबाट झस्किएका छन् । ओलीले जनयुद्धलाई ‘कुहिएको फर्सी’ भनेर होच्याउँदा उनीहरूलाई नैतिक संकट परेको थियो । अर्को समूहमा रहेका पूर्वमाओवादी नेताहरूले उनीहरूलाई गिज्याइरहेका छन् । जस्तो कि वर्षमान पुनले रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीलाई ‘ओलीको दायाँ–बायाँ रहेका ढेडु बाँदर’ को संज्ञा दिए ।
ओलीले पूर्वलडाकुहरूलाई माया दर्शाउन थालेपछि बादललगायतको अनुहारमा मुस्कान फर्केको छ । तर, के ओलीले करीब चार हजारको संख्यामा रहेका पूर्व बाललडाकुहरूको समूहलाई साँच्चिकै संरक्षण देलान् त ?
राजनीतिक विश्लेषक (पहिले माओवादीका नेता, पछि विभिन्न पार्टी फेरेर हाल स्वतन्त्र) मुमाराम खनाल यो ओलीको राजनीतिक चालबाजी मात्रै भएको बताउँछन् । पूर्वलडाकुलाई आफ्नो साथमा लिएर ओलीले प्रचण्डलाई ‘डिस्क्रेडिट’ गर्न खोजेको उनको भनाइ छ ।
ओलीले पूर्व लडाकुलाई साथमा लिन खोज्नुका कारण खोतल्दै खनालले भने, ‘पहिलो त उहाँ अहिले हरतरहले शक्तिशाली बन्न खोजिरहनुभएको छ । शक्ति आर्जन गर्ने हेतु धेरै गलत मानिसहरूलाई उहाँले हातमा लिइरहनुभएको छ । प्रभु शाह, बालकृष्ण ढु्ंगेल, कालीबहादुर खाम जस्ता आपराधिक पृष्ठभूमिका मान्छेहरूलाई संरक्षण दिनुको मूल उद्देश्य भनेको अतिरिक्त शक्ति आर्जन नै हो । यस्ता मान्छे चुनावमा काम लाग्छन् भन्ने विश्लेषण उहाँको हुनसक्छ । अर्को चाहिं प्रचण्डले युद्धमा होमेका र पछि अलपत्र पारेका युवाहरूलाई आफूले संरक्षण दिएको देखाएर लोकप्रियता आर्जन गर्ने तथा प्रचण्डलाई तल गिराउने सोच पनि हो ।’
पूर्वमन्त्री तथा ओली निकट नेता गोकुल बास्कोटा भने ओलीले पूर्वलडाकुहरूलाई अभिभावकत्व दिन खोज्दा कोही आत्तिनु नपर्ने बताउँछन् ।
‘उनीहरू पनि यही देशका नागरिक हुन्, जो विभिन्न कारणले बहिष्करणमा परेर दयनीय जीवनयापन गरिरहेका छन् । देशको प्रधानमन्त्री भएको हिसाबले यस्ता नागरिकलाई संरक्षण दिने कार्यलाई राजनीतिक अर्थमा बुझ्नुहुँदैन’, उनले भने ।
प्रचण्डको प्रतिक्रिया
ओलीले गत पुस १५ गते सुदूरपश्चिममा भएको भेलामा पहिलोपटक माओवादीका पूर्वलडाकु कमाण्डर कालीबहादुर खामलाई सम्झिएका थिए । त्यसभन्दा अगाडि ओली र खामबीच बालुवाटारमा भेटघाट भइसकेको थियो । जबकि खाम कानूनको नजरमा एक फरार अभियुक्त हुन् । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि भएको रामहरि श्रेष्ठको हत्याकाण्डमा अदालतले उनलाई दोषी ठहर्याएको थियो । एउटा फरार अभियुक्तलाई ओलीले बालुवाटारमा स्वागत मात्रै गरेका छैनन्, संरक्षणसमेत दिन खोजिरहेका छन् ।
पार्टी विभाजनयता गरेका धेरै भाषणमा ओलीले माओवादीका पूर्वलडाकुको प्रसंग उठाउँदै प्रचण्डलाई घोचपेच गरेको पाइन्छ । प्रचण्डले आफ्नो परिवारलाई प्रश्रय दिएर जनयुद्धका घाइते, अपांग र शहीद परिवारलाई तिरस्कार गरेको आरोप उनको छ ।
पछिल्लो एक भाषणमा ओलीले भनेका छन्, ‘आफ्ना छोरी–ज्वाईंलाई हेर्नुपर्ने, अनि आफूले लडाईंमा होमेका लडाकुका सन्तानलाई हेर्नु नपर्ने ?’
हालैको अर्को भाषणमा उनले युवाहरूलाई लड्न पठाएर प्रचण्ड आफू दिल्लीमा ‘जेल’ लगाएको कपाल मुसारेर बसेको आरोप लगाएका छन् ।
ओलीले भनेका छन्, ‘प्रचण्ड कहिले रोल्पा जानुभयो, कहिले सिरहा जानुभयो । अब जाने ठाउँ कतै छैन । उहाँ हिजो जङ्गलमा बस्नुभएको होइन । दिल्ली, नोयडा बस्नुभयो । जनताका छोराछोरीलाई बन्दूक भिराएर जंगल पठाउनुभयो । आफू जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो ।’
ओलीले पूर्वलडाकुप्रति सहानुभूति दर्शाउन थालेपछि प्रचण्ड–माधव समूहभित्रको पूर्वमाओवादी खेमा सकसमा परेको छ । प्रचण्ड स्वयंले असहजता महसूस गर्न थालेको देखिन्छ । उनले काठमाडौंमा आयोजित जनसभामा ओलीले लगाएका आरोपमा जवाफ दिएका थिए ।
उनले भनेका थिए, ‘प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले हेर्ने रे ! नाटक पनि कति गर्न जानेको हो । लाजै लाग्ने । त्यसैले जनयुद्धका साथीहरू ओलीको कुरामा गम्भीर नहुनुहोला । कमरेडहरू तपाईंहरूको योगदानको इतिहासमा स्वर्णिम अक्षरले लेख्ने काम भएको छ । त्यसलाई कसैले कालो नपोतौं ।’
उनले यो पनि थपे, ‘जनयुद्धका घाइते अपाङ्गहरू माइतीघरमा अनशन बस्दा मैले बारम्बार कुरा उठाएँ । सरकारलाई पटकपटक यी घाइते, अपांगको उपचार गर्नुप¥यो, यो सरकारले त खाईपाई आएको सुविधा पनि काटेछ भन्दा केपीले नै त्यसलाई रोकेका हुन् । गृह प्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरैपटक भन्दा कहीं कतै टेरपुच्छर लागेन । उल्टो मासिक भत्ता खोसियो । अहिले पार्टी विभाजनमा अल्पमतमा परेपछि ती घाइते अपांगलाई हेर्नुपर्दैन प्रचण्डले भन्ने तिनै केपीले ? फट्याइँ पनि कति गर्न सकेको हो ? जालझेल पनि कति गर्न जानेको ? कस्तो दिमाग हो ?’
ओलीले पूर्वलडाकुलाई सहयोग गर्न अवरोध गरेको प्रचण्डको आरोपबारे पूर्वमन्त्री बास्कोटा भन्छन्, ‘प्रचण्डले फजुल कुरा गरेका हुन् । यदि सहयोग गर्नै चाहेका थिए भने आफू दुईपटक प्रधानमन्त्री बनेका बेला किन गरेनन् ? बाबुरामले किन गरेनन् ?’
याे जुहारी हेर्नुस्
के छ सरकारको तयारी ?
पार्टी विभाजनपछि पूर्व बाललडाकु समूहका युवाहरू ओली निकट नेताहरूको सम्पर्कमा आएका थिए । ती नेताहरूले पूर्वलडाकु समूहलाई बालुवाटार पु¥याएका थिए ।
गत १० माघमा बालुवाटारमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गरेर तत्कालीन माओवादीका लडाकुहरूको संगठन पूर्व जनमुक्ति सेना र बहिर्गमित बाल सैनिकको संगठनले ओली समूहमा समाहित हुन अनौपचारिक सहमति जनाए । आफूहरूसँग चार हजारभन्दा बढी युवाहरू रहेको यो समूहको दाबी छ । यो समूहले आगामी २१ माघमा पूर्व बाललडाकुहरूको भेला आयोजना गर्ने तयारी पनि गरिरहेको छ । ओली समूहमा बढीभन्दा बढी संख्यामा पूर्वलडाकुहरूलाई तान्न उनीहरू गृहकार्य गरिरहेका छन् ।
यता बालुवाटारले पनि पूर्वलडाकुलाई चिल्ला आश्वासनहरू दिएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले पूर्वलडाकुलाई परिचयपत्र वितरण तथा सम्मान गर्ने विषयमा मापदण्ड बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा तीन मन्त्रीको कार्यदल बनायो । यस्तै पूर्वलडाकुलाई दिन सकिने राहत प्याकेजको विषयमा छलफल भइरहेको बालुवाटार स्रोत बताउँछ । पूर्वलडाकु, घाइते र शहीद परिवारले निःशुल्क उपचार र उचित व्यवस्थापनको माग गर्दै आएका छन् ।
ओलीले पूर्व बाललडाकु तथा शहीद परिवारलाई आफ्नो पार्टीको केन्द्रीय समितिमा समेत स्थान दिने आश्वासन दिएका छन् । तथापि, निर्वाचन आयोगले यसअघि ओलीले थपेका केन्द्रीय सदस्यलाई नै मान्यता नदिएपछि यो योजना तत्काललाई पछिसरेको छ ।
को हुन् अयोग्य लडाकु ?
माओवादी जनयुद्धको विसर्जनपछि उक्त पार्टीमा रहेका लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने सहमति बनेको थियो । संविधानसभा निर्वाचनपछि बनेको सरकारले ६ महिनाभित्र लडाकुको समायोजन र पुनर्स्थापनाको काम सक्ने भनिएको थियो । तर, विभिन्न विवादले या प्रक्रिया लम्बियो ।
२०६३ सालको साउनमा सरकार र माओवादीबीच शान्ति प्रक्रियामा राष्ट्रसंघीय मिसनलाई सहभागी गराउने नयाँ सहमति भयो । सरकारको निर्णय र अनुरोधपछि २०६३ सालको माघ ९ गते नेपालका लागि राष्ट्रसंघीय मिसन-अनमिनको स्थापना भयो । चार वर्षको अवधिमा अनमिनको म्याद सातपटक थपिएको थियो । अनमिनले नेपालमा लडाकूहरूको प्रमाणीकरण, हतियार र लडाकूको अनुगमन तथा विवाद सहजीकरणको काम सम्पन्न गर्यो ।
शुरूमा अनमिनले ३२ हजार २५० लडाकु र ३ हजार ४७५ हतियार दर्ता गरेको थियो । तर, कुल दर्तामध्ये ८ हजार ६४० जना दोस्रो चरणको प्रमाणीकरणमा उपस्थित नभएपछि स्वतः अयोग्य ठहरिए । युद्धविराम आचारसंहिता जारी भइसकेपछि लडाकुका रूपमा भर्ती भएका र उमेर कम रहेका कारण ४ हजार ८ जना दोस्रो चरणको प्रमाणीकरणमा अयोग्य घोषित गरिएका थिए, उनीहरूमध्ये २ हजार ९७३ जना १८ वर्षमुनिका थिए । उनीहरूलाई २५ माघ २०६६ मा क्यान्टोनमेन्टबाट खालीहात घर फर्काइएको थियो । अयोग्य लडाकु भनिएका उनीहरू नै हुन् ।
योग्य ठहर भएकाहरूमध्ये १५ हजार ६३० लडाकुले स्वेच्छिक बहिर्गमन रोजेका थिए । उनीहरूलाई सरकारले आर्थिक प्याकेज दिएको थियो ।
जिम्मेवार को ?
जनयुद्धकालमा तत्कालीन माओवादीले प्रलोभन वा दबाबमा पारेर उमेर नपुगेका किशोर–किशोरीहरूलाई युद्धमा सामेल गरायो । उनीहरूको पढाइ टु्ट्यो । तर, माओवादी शान्ति प्रक्रियामा आएपछि ‘अयोग्य’ भन्दै उनीहरूलाई खालीहात घर पठाइयो । ‘योग्य’ ठहर भएकाहरू या नेपाली सेनामा समायोजन भए, या सरकारबाट ४–५ लाख रुपैयाँ पाएर आफ्नो इलमतिर लागे । कोही विदेश हान्निए । तर, यी बालसैन्यहरूले भने केही पाएनन् ।
युद्धकालमा क्रान्तिका भाषण घोटाएर, नयाँ जनवादको सपना देखाएर युद्धमा होमिएकाहरू ‘अयोग्य’ ठहरपछि परिवार र समाजको समेत बहिष्करणमा परेका थिए । उनीहरूमध्ये धेरैको आर्थिक अवस्था अहिले पनि जर्जर नै छ । यी पूर्वलडाकुप्रति वास्तवमा सरकार नैतिक रूपमा जिम्मेवार छैन । सरकारले उनीहरूलाई युद्धमा पठाएको होइन । उनीहरूप्रति जिम्मेवार त पूर्वमाओवादी नै हो जसले उनीहरूलाई उमेर नपुग्दै लडाईंमा होम्यो ।
गणतन्त्रपछि दुई माओवादी नेता प्रचण्ड र डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने । प्रचण्ड त दुईपटक बने । आफू प्रधानमन्त्री बन्दा उनीहरूलाई केही गर्न नसकेका प्रचण्डले अहिले आएर ओलीले गर्न दिएनन् भन्नुमा पनि कुनै तुक छैन ।
यता पूर्वलडाकुलाई ओलीले देखाएको माया पनि आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्यबाट मात्रै प्रेरित छ । यो एकप्रकारको राजनीतिक तिगडम नै हो । नाटकै हो ।
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिरहा आउने भएका छन् । धनुषाको ढल्केवरमा विद्युत सव–स्टेशन उद्घाटन र सिरहामा स्वर्गीय हेमनारायण यादवको स्मृति दिवस मनाउन प्रधानमन्त्री तराई आउन लागेका हुन् ।
ढल्केवरमा चार सय केभीए क्षमताको विद्युत सव स्टेशन निर्माण पूरा भइसकेको छ । आज विहान ११ बजे उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटनका लागि प्रधानमन्त्रीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी पनि हेलिकप्टरबाट आउने बताइएको छ ।
यस्तै सिरहा सदरमुकाममा कम्युनिस्ट नेता स्वर्गीय हेमनारायण यादवको १७ औं स्मृति दिवस मनाइँदैछ । पूर्व सांसद यादवको हत्याको १७ वर्ष वित्दा धेरैपल्ट कम्युनिस्ट सरकार बने पनि हत्यारालाई कानूनी दायरामा ल्याउन सकिएको छैन ।
हत्यारालाई कारबाही नभएको भन्दै उनका छोरा डा नवीनले पटक-पटक कम्युनिस्ट पार्टी परित्याग गरे । तर पछिल्लो समय नेकपा ओली समूहमा लागेका छन् ।
यादवको स्मृति दिवसको अवसरमा नेकपाले सिरहा क्याम्पस परिसरमा सभाको आयोजना गरेको छ । सभामा प्रधानमन्त्री ओली, उर्जामन्त्री रायमाझी, मन्त्रीहरु लीलानाथ श्रेष्ठ, प्रभु साह र जुली महतो समेत सहभागी हुनेछन् ।
काठमाडौं । विभाजित नेकपाका दुवै पक्ष पहिलो चरणका भेला बैठकहरु सकेर ठूला आमसभा आयोजना गर्ने प्रतिस्पर्धामा छन् । माघ २३ र २८ गते एक साताको फरकमा केपी ओली पक्ष र प्रचण्ड माधव पक्षले काठमाडौंमा वृहतसभाको तयारी गरिरहेका छन् ।
शनिवार प्रचण्ड माधव पक्षले धनगढीमा प्रदेशस्तरीयसभा गरिरहदा ओली पक्षले प्रचण्डको गृहजिल्ला चितवनमा जिल्लास्तरीय सभामा ठूलो संख्या जुटाएर शक्ति देखायो । प्रधानमन्त्री ओली सहित संघीय सरकारका चारजना मन्त्री समेत सहभागी सभा भरतपुरमा आयोजना भएको थियो ।
प्रधानमन्त्रीले विभिन्न विकास आयोजनाको शिलान्यास गर्दा मेयर रेनु दाहालले बहिस्कार गरेकी थिइन् । त्यसपछि आयोजित आमसभामा प्रधानमन्त्री ओली र गृहमन्त्री रामवहादुर थापा बादल सहितका नेताहरुले प्रचण्डका बाबु छोरीको आलोचना गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको साता पशुपतिनाथको मन्दिरमा ‘विशेष पूजा’ गरेको विषय निकै चर्चामा रह्यो । गणतन्त्रपछि प्रधानमन्त्री ओलीले पशुपति मन्दिरमा गएर पहिलोपटक यसरी पूजाआजा गरेका थिए । यद्यपि ओलीले गरेको पूजा व्यक्तिगत स्तरमा हो ।
प्रधानमन्त्री संलग्न भएकाले चर्चामा आए पनि पशुपतिमा ‘विशेष पूजा’ को प्रचलन नौलो होइन । यहाँ सर्वसाधारणले पनि निश्चित शुल्क तिरेर विभिन्न थरीका पूजाआजा गर्न सक्ने व्यवस्था छ । पशुपति विकास कोषका अधिकारीहरूका अनुसार पशुपतिमा ११ सयदेखि २५ लाख रुपैयाँसम्म तिरेर विशेष प्रकारका पूजा गर्न सकिन्छ ।
विशेष पूजाका विभिन्न श्रेणी अनुसार भक्तजनले फरक-फरक शुल्क तिर्नुपर्छ । शुल्क तिरेर गरिने संकल्प पूजा नै विशेष पूजा हो । पशुपतिमा सबैभन्दा धेरै ११ हजार, २१ हजार, २७ हजार र ५६ हजार रुपैयाँ शुल्क तिरेर विशेष पूजा गरिन्छ ।
कोरोनाअघि पशुपतिमा र वासुकीमा १५ प्रकारको विशेष पूजा हुने गरेका थिए । कोरोनाकालमा ती सबै पूजा रोकिए । चैतदेखि गत मंसीरसम्म पशुपति मन्दिर नै पूर्णरूपमा बन्द थियो । पुसबाट मन्दिर खुले पनि विशेष पूजा शुरू भएको थिएन । प्रधानमन्त्रीले कोरोनापछि पहिलोपटक विशेष पूजा गरेका हुन् ।
यस्ता छन् पूजाका प्रकार
कोषका अनुसार सबैभन्दा कम शुल्कमा गराइने सामान्य पञ्चामृत पूजा हो । यसका लागि ११०० रुपैयाँ तोकिएको छ । यस्तै, २१०० रुपैयाँमा बालभोगसहित पञ्चामृत पूजा, ५१०० मा रुद्राभिषेक र बालभोगसहित पञ्चामृत पूजा, ११ हजार रुपैयाँमा लघुरुद्राभिषेक, पूरा भोगसहित पञ्चामृत विशेष पूजा हुन्छ ।
२७ हजारभन्दा बढी रकमको विशेष पूजामा लाखबत्ती बाल्न पाइने व्यवस्था छ । यस्तै रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरती र पञ्चामृत पूजा २७ हजारमा गर्न पाइन्छ । लघुरुद्राभिषेक, पूराभोग, हवन, सवालाख बत्तीद्वारा आरती र पञ्चामृत पूजा गर्दा ५६ हजार तिर्नुपर्ने हुन्छ ।
भक्तजनको सहभागिता हुने नित्यभोगसहित दिनभरको पूजा गर्न १ लाख ५६ हजार रुपैयाँ तिर्नुपर्छ । यसैगरी एक दिवसीय महारुद्री गर्न २ लाख ५१ हजार शुल्क लाग्छ । एकादश दिवसीय महारुद्री गर्नका लागि ८ लाख १ रुपैयाँ तिर्नुपर्छ ।
पशुपतिमा गरिने सबैभन्दा महँगो पूजा भनेको २५ लाख रुपैयाँको हो । यसमा ११ दिवसीय अतिरुद्री पर्दछ । हालसम्म यो पूजा निकै कमले लगाएका छन् । पशुपति मन्दिर परिसरमा मात्रै १० वटा ठूलो रकमको विशेष पूजा हुने कोषले जनाएको छ । यसैगरी २५५ रुपैयाँको दुग्धार्पण, ५०५ रुपैयाँको बेलपत्र, नैवेद्य एवं दुग्धार्पण, ११०० रुपैयाँको पञ्चामृत पूजा, २१०० रुपैयाँको विशेष पूजा र ५१०० रुपैयाँको विशेष पूजा वासुकीनाथको मन्दिरमा गरिन्छ ।
पूजाका लागि रकम तिरिसकेपछि कोषले आवश्यक सबै सामान किनेर तयार गरिदिन्छ । सम्बन्धित व्यक्ति पूजाको लागि मन्दिरमा उपस्थित हुनेबाहेक केही गर्नु नपर्ने कोषका कर्मचारीले बताए ।
‘यो दिन हामी यस्तो पूजा गर्छौं भनेर बिल काटेपछि कोषले सबै सामग्री तयार गर्छ । व्यक्ति पूजामा सहभागी मात्र हुने हो ।’
आफूले गर्न चाहेको पूजाको रकम तिर्न मन्दिरसँगै रहेको एसबीआई बैंकमा रकम बुझाएको रसिद कोषलाई बुझाउनुपर्छ । सो दिनका लागि सामग्रीदेखि सबै व्यवस्था गरिएको हुन्छ । उक्त रकमबाटै पूजाका लागि आवश्यक सामग्री, भट्टको खर्च, ब्राह्मणको दक्षिणासमेत जोहो हुन्छ ।
प्रधानमन्त्रीले गरेको पूजा
प्रधानमन्त्री ओलीले रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरती र पञ्चामृतसहितको विशेष पूजा गरेको मन्दिरका पुजारीले जानकारी दिए । यसको पूजा खर्च २७ हजार रुपैयाँ रहेको छ ।
मन्दिरका एक कर्मचारीका अनुसार प्रधानमन्त्री ओलीले पशुपतिमा मात्र नभई वासुकी मन्दिरमा पनि पूजा गरेका थिए । उनले झण्डै ५० हजार बराबर खर्च गरेको ती कर्मचारीको भनाइ छ । प्रधानमन्त्रीले ५२ लाख रुपैयाँको पूजा गरेको कुरा निराधार भएको पनि उनले बताए ।
मन्दिर व्यवस्थापक अरुणकुमार श्रेष्ठले प्रधानमन्त्रीले जुन पूजा गरे पनि राष्ट्र कल्याणकै लागि हुने बताए ।
उनले भने, ‘हाम्रो यहाँ ५२ लाखको पूजाको व्यवस्था नै छैन । २५ लाखसम्मको मात्रै हो ।’
श्रेष्ठका अनुसार फूलमालादेखि हरेक मन्दिरमा छुट्टाछुट्टै पूजा हुन्छ । प्रधानमन्त्रीले वासुकी र पशुपतिमा पञ्चामृत चढाएको उनले बताए ।
उनी भन्छन्, ‘प्रधानमन्त्रीलाई विशेष पूजा निःशुल्क हुँदैन । उहाँले रकम राखेर गर्नुभएको होला । पूजा राष्ट्र कल्याणको लागि गरेको हुनाले राज्यकोषबाट नै भुक्तानी हुन सक्छ । राष्ट्रप्रमुखले गर्दा पनि उहाँको नामबाट आउँछ । आखिर सशुल्क भने पनि त्यो रकम जाने भनेको राज्यकोषमा नै हो । संस्थालाई बजेट पनि राज्यबाट नै आउने हो ।’
पशुपति विकास कोषले भने प्रधानमन्त्री ओलीले गरेको पूजालाई ‘विशेष पूजा’ भनिरहन आवश्यक नभएको बताएको छ ।
कोषका निर्देशक डा. घनश्याम खतिवडा भन्छन्, ‘प्रधानमन्त्रीले गराएको पूजा मात्र हो । त्यसलाई विशेष पूजा भनिरहन आवश्यक छैन । त्यो संकल्प पूजा हो । कोषको संरक्षक हुनुहुन्छ उहाँ । उहाँले छुट्टै गर्नुपर्ने कारण नै छैन । उहाँहरू आउनुभयो, हामीले पूजा गरायौं ।’
जन्मदिनमा विशेष पूजा गर्ने ट्रेण्ड
सामान्यतया मन्दिरमा विभिन्न भाकलहरू पूरा गर्नका लागि विशेष पूजा गरिन्छ । तर पछिल्लो ट्रेण्ड हेर्ने हो भने पशुपतिमा जन्मदिनमा पनि विशेष पूजा गराउने चलन बढ्न थालेको कोषका कर्मचारीहरू बताउँछन् ।
कोष कर्मचारीका अनुसार अहिलेका युवा धेरैजसो जन्मदिनमा विशेष पूजा गराउन आउँछन् । यो अहिलेको नयाँ ट्रेण्ड नै हो ।
यसअघि खासै जन्मदिनमा विशेष पूजा गराउने चलन थिएन । त्यति मात्र होइन परीक्षा सफल होस्, विदेश यात्रा फलदायी बनोस्, रोग निको होस् भन्ने जस्ता कामनाले पनि विशेष पूजा गर्ने चलन बढ्दो छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ मा काठमाडौं र २९ मा बुटवलबाट जनसभा गरेर आफ्नो शक्ति दुनियालाई देखाउने बताएका छन् ।
काठमाडौं महानगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अबका जनसभाहरू चुनावी अभियानका रुपमा लैजाने बताए ।
ओलीले भने, ‘हिजो बुटवलमा पाँच/सात हजार मान्छे जम्मा गरेर खुट्टा बजारेछन् । वास्तविक आमसभा हामी बुटवलमा २८ गते गर्छौं । हामीलाई त्यो ठाउँ सानो हुन्छ, ठूला ठाउँ खोजेर लाखौं जनताको बीचमा सभा गर्छौं । त्यसपछि उनीहरूले खुट्टा बजारेको बेकार रहेछ भन्नेछन् ।’
ओलीले माघ २३ गते काठमाडौंले चुनावको लागि देशलाई जुरुक्कै उठाउनुपर्ने भन्दै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई प्रणाम गरेर प्रचण्डलाई चितवनबाट आफूहरूले जिताएको बताएका छन् ।
ट्रेड युनियन महासंघले राष्ट्रिय सभागृहमा आयोजना गरेको एक कार्यक्रममा ओलीले भने, ‘ ७४ सालमा प्रचण्डलाई जनतालाई प्रणाम गरेर चितवनमा हामीले जिताएको । ७० मा बत्ती निभाएर बाकस साटेर जितेका हुन् । त्यो भन्दा अगाडि कीर्तिपुर हारिसक्नु भएको थियो ।’
ओलीले भने, ‘उहाँ त यस्तो ‘फ्लोटिङ’ हुनुहुन्छ नी कहिले रोल्पा, कहिले सिराहा, कहिले कीर्तिपुर जानुभयो अब जाने ठाउँ कतैपनि छैन ।’
जनयुद्धको बेला प्रचण्ड जेलवाला तेल लाएर जुल्फी कोरेर दिल्ली बसेको उनको टिप्पणी छ ।
ओलीले भने, ‘जंगलमा न हिजो बस्नु भएको थियो न अब बस्नु हुन्छ । हिजो जंगल बस्नु भएको हैन उहाँ । दिल्ली, लखनऊमा हुनुहुन्थ्यो हामीलाई थाहा छ । जंगलमा उहाँले कार्यकर्ता र लडाकु बसाउनु भयो । आफूहरू त जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो ।’
काठमाडाैं । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाऔबेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका हुन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरेकी छन् । उनले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल-भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गरेकी छन् ।
त्यसैगरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासमा भारतले गरेको चमत्कारपूर्ण योगदानको प्रशंसा गगरेका छन् । उनले कोभिड–१९ विरुद्धको १० लाख मात्रा खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नभए शान्ति प्रक्रिया डिरेल हुने भनी दिएको अभिव्यक्तिलाई ‘सिङ फुक्लिसकेको तिल्के गोरुको फाँ फू’ जस्तै भनेका छन् ।
दाङको लालमटीयामा सोमवार आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमा अशान्ति मच्चाउने क्षमता र दम नरहेको दाबी गरे । उनले अहिलेको धम्की तिल्के गोरुले बहरसँग सिंगौरी नखेल्दासम्मको फाँ फू जस्तै हो भने ।
ओलीले भने, ‘धेरै फुर्तिफार्ति गर्ने तिल्के गोरु एक दिन वहरसँग जुधेपछि सिङ भाँचिएर हिडे जस्तै यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँ फू गर्छन् तर यियनका सिङ फुक्लिसके । यिनीहरूसँग अशान्ति मच्चाउने क्षमता पनि छैन,दम पनि छैन । यिनीहरूले केही गर्न सक्दैनन्, धाक धक्कु नलाए हुन्छ । तिघ्रा नठटाए हुन्छ, खुट्टा भ्याट भ्याट नगरे हुन्छ ।
आफूले अशान्ति र अराजकता नचाहेको भन्ने तर अदालतले फैसला आफू अनुकुल गरेन भने नत्र…भन्ने खालका भाषा प्रचण्डले प्रयोग गरेको भन्दै ओलीले अब अशान्ति मच्चाउने धम्कीको अर्थ नरहेको बताए ।
ओलीले भने- अदालतप्रति भरोसा छ पनि भन्ने अनि हाम्रो पक्षमा फैसला गरेन भने नत्र..के भन्या ? शाकहारी आन्दोलनले भएन भनेर के भनेको ? बाघ जस्तै झम्ट भनेर नेपाली जनतालाई धम्क्याउन खोजेको ? म भन्न चाहान्छु एउटा जमाना हुन्छ कुनै पनि चीजको । तिल्के गोरुको सिङ भाँचिएको कथा मैले त्यसै भनेको होइन ।
सरकारले राम्रा काम गर्न खोज्दा खुट्टा समातेर चल्नै नदिएपछि अति भएर प्रतिनिधिसभा विघटन गरिएको ओलीको दावी छ । उनले आउने चुनावले त्यस्ता तत्वहरूलाई झुक्किएर पनि सांसद जिताउन नहुने बताए ।
विभाजित नेकपाका अध्यक्ष प्रचण्डले शुक्रवार रत्नपार्कमा आयोजित आमसभामामा अदालतले प्रतिनिधिसभा पुन:स्थापना नगरे शान्ति प्रक्रिया डिरेल हुन सक्ने बताएका थिए । उनले यद्यपी आफू अशान्ति मच्चाउने र हिंसा निम्त्याउने पक्षमा नरहेको पनि बताएका थिए ।
काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले प्रतिनिधिसभाको निर्वाचनका लाागि जुट्न र मतदाता नामावली अद्यावधिक गर्न तथा आगामी चुनावको घोषणापत्रमा समेट्नुपर्ने विषय लिखित रुपमा पठाउन मातहत कमिटीलाई परिपत्र गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले तल्ला कमिटीमा पठाएको परिपत्रमा प्रतिनिधिसभाको आगामी वैशाखमा हुने निर्वाचनका लागि जारी हुने घोषणापत्रमा समेट्नुपर्ने विषय सबै कमिटी, सदस्य तथा जनतासँग छलफल गरि फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत केन्द्रबाट पठाउन निर्देशन दिएका छन् ।
त्यस्तै निर्वाचन आयोग आयोगको पत्र अनुसार देशभरीका सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली माघ १५ गते प्रकाशित हुने भएकाले प्रकाशित नामावलीमा त्रुटी भए सच्याउने र हटाउनुपर्ने नामहरुको उजुरी दिएर हटाउने काममा जुट्न सर्कुलर गरिएको छ ।
ओलीले नेकपाका सबै तहका कमिटीलाई निर्वाचनको तयारीमा जुट्न र चनाखो हुन निर्देशन दिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनेर आफूहरूले माघ २३ मा देखाउने बताएका छन्।
विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले काठमाडौंमा शुक्रबार आयोजना गरेको सभाप्रति लक्षित गर्दै ओलीले त्यो सामान्य सभा मात्रै भएको बताए।
सभामा आठ-दश हजार मान्छे जम्मा भएपछि प्रचण्ड, माधव नेपाल लगायतका नेताहरू अनाश्वयक उत्तेजित भएको भन्दै उनले जनपरिचालनको बास्तविक ‘कास्टिङ’ आफूहरूले देखाउने बताए।
आजको सभा के हो र ? वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं,’ पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी अन्य काममा लागेर तयारी गर्न नभ्याइएको मात्रै हो । वास्तविक जनपरिचालन कस्तो हुन्छ भन्ने कुराको कास्टिङ त्यो बेला देखाउँछौं ।’
काठमाडौं । आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंको राष्ट्रियसभामा आयोजित पत्रकारको भेलामा बोल्दै उनले भने– कोही कोहीले तमासा गरिरहेका छन् । हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेका छन् । सिनेमा हिरो हिरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन । उहाँहरु त्यस्तै नाटक गरिरहनु भएको छ ।
आफूले सुशासन र समृद्धिको अभियान चलाउँदा प्रचण्ड–माधव नेपाललाई नपचेको पनि उनले बताए ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् ।
प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै ओलीले भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटो’को संज्ञा दिएका थिए । ओलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिएका थिए । प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिपछि भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्– केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनी पाउँदा मलाई दुःख छैन । तपाईँको स्तर थाहा पाएँ, खुशी लाग्यो ।
केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध देशै एकजुट भइरहेको जस्तो देखिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीमा देखिएको ‘कन्फिडेन्स’बारे साताअघि नेपाल प्रेसले नै रिपोर्ट प्रकाशित गरेको थियो ।
‘आक्रामक ओली- कहाँबाट आइरहेको छ यो ‘कन्फिडेन्स’ ?’ भन्ने उक्त फिचर रिपोर्टमा पक्ष र विपक्षमा नेता र राजनीति शास्त्रीले आ-आफ्नै तर्क पस्किएका थिए ।
ओलीले त्यो आक्रमकता र आत्मविश्वासलाई पुन एकपटक प्रकट गरेका छन् । शनिबार राजधानीमा भएको आफू पक्षीय नेकपाको प्रदेश १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले आफू आत्मविश्वासी हुनुको कारण समेत खुलाए ।
‘यस्तो हुँदा पनि केपी ओली मुस्कुराउने ?’ भन्ने प्रश्न आफूप्रति लक्षित गरिएको भन्दै ओलीले त्यसको जवाफ दिए- के भयो चुनाव हुँदै छ । चुनाव हुँदै छ, हामी जित्दै छौं । चुनाव भनेकै त्यही हो कसैले जित्ने कसैले हार्ने ।’
राष्ट्रियसभामा सम्बोधन गर्दा ‘लोकप्रियताको ग्राफ’ जाँच्न चुनावी मैदानमा आउन आह्वान गरेका ओलीले आत्म विश्वासको त्यही लय पकड्दै आज पनि भने-आउनुहोस्, पार्टीमा आउनुहोस्। पार्टीमा आउनुभएन भने चुनावमा आउनुहोस् ।
आफ्नो सम्बाधोनका क्रममा ओलीले पछिल्लो समय उठेका केही प्रश्नको जवाफ समेत दिए, भलै उनले ठट्यौली र अरुलाई उडाउने शैलीमा त्यसलाई व्यक्त गरे ।
मैले हँसाएँ, के बिगारेँ
प्रचण्ड र नेपाललाई आफूले जनता हँसाउँदै हिड्दा चिन्ता भएको उनले टिप्पणी गरेका छन् । सम्बोधनका क्रममा ओलीले भनेका छन्-उहाँहरूलाई केपी ओलीले मान्छे हँसाउँदै हिड्दा चिन्ता छ । के म मान्छे मार्दै, दुनियाँलाई रुवाउँदै हिडौँ । म बालबालिका, किशोर किशोरी, युवा, दाजुभाइ दिदीबहिनी, बा-आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छु ।
मजदुरमा मुस्कान ल्याउन चाहन्छु । उनीहरूका आँखामा आँसु हुनु हुँदैन । उनीहरूले दुनियाँ रुवाएर । कसैको घोडा खोसेर रुवाए । कसैलाई गाडी खोसेर रुवाए । कसैको खेत खोस्या छ । कसैको घर र पैसा खोस्या छ । रुवाउने अनेक काइदा छन् । मारेर, कुटेर, लुटेर पनि रुवाएको छ । अनि मैले हँसाएँ भनेर कुरा गरिराखेका छन् । जता गए पनि हँसाएर मख्ख पार्यो भनेको छ । नेपाली जनता हाँस्दा किन पीर परेको हो ?
किन चाहियो सूर्य चिह्न ?
ओलीले चुनाव चिह्न सूर्य आफ्नो पार्टीको भएको दावी गरेका छन् । प्रचण्डलाई लक्षित गर्दै उनले आफू हालसम्म सूर्य चिह्न लिएरै चुनाव लडेको भन्दै एक पटक पनि सूर्यबाट चुनाव नलडेको व्यक्तिले दावी गर्न नसुहाउने बताए ।
ओलीले भने-उहाँहरू सूर्य चिह्न दावी गर्न जानुभएछ। सूर्य चिह्न दावी गर्न जाने मान्छे को? जो एकपल्ट पनि सूर्य चिह्नबाट चुनाव लडेको छैन । उसले सूर्य चिह्न त मेरो हो भन्यो । हामी दर्ता गरेदेखि अहिलेसम्म सूर्य चिह्नबाट चुनाव लडेका छौँ। त्यो हाम्रो पार्टीको चिह्न हो ।
न्यायाधीश भेटेको पनि छैन, देखेको पनि छैन
प्रधानमन्त्री ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको दावी गरे ।
उनले भने- न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए भनियो, यो भन्दा झुट के हुन्छ? न्याय प्रणालीमाथिको जनताको विश्वास हटाउनको लागि, न्याय प्रणालीमाथिको यो गम्भीर प्रहार हो । योभन्दा घिनलाग्दो कुरा के हुन्छ ? उहाँहरू यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ?
उनले सपना प्रधान मल्ललाई न्यायाधीश हुनअघि सार्वजनिक कार्यक्रममा भेटे पनि अरु न्यायाधीशलाई देख्दै नदेखेको दावी गरे ।
ओलीको भनाइ थियो-ती नाम गरेका न्यायाधीशजीहरूलाई मैले सायद कहिल्यै भेटेको पनि छैन । यसपल्ट मात्रै होइन, कहिल्यै पनि सायद भेटेको छैन । सपना प्रधान मल्ललाई मैले भेटेको थिएँ, सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएका बेला ।
त्यो पनि सार्वजनिक कार्यक्रममा। व्यक्तिगत भेटघाट कहिल्यै भएको छैन । अरु न्यायाधीशहरूलाई मैले देखेको पनि छैन । सायद चिनेको पनि छैन । हिजो सर्वोच्च अदालतले खण्डन गरिसक्यो ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई खुसी बनाउँदा पनि केहीलाई पीर परेको टिप्पणी गरेका छन्।
शनिबार आफू पक्षीय नेकपाको प्रदेश १ का आगुवा कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले भने– हसाउँदै हिँड्छ भन्छन्। म देशै हँसाउन चाहन्छु। मैले हँसाए भनेर पीर परेको छ। नेपाली जनता हाँसेकोमा किन पीर परेको होला ?
ओलीले जनता रुवाउन खोजे पनि त्यसो हुन आफूले नदिने बताए। भने– रुवाउन खोजेका थियौं, सकेनौं, सक्दैनौं। रुन दिइन्नँ।
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोखरेलले प्रतिनिधिसभा विघटनलाई राजनीतिक जडताविरुद्ध केपी ओलीको राजनीतिक विद्रोह भनेका छन् । पोखरेलले यसलाई नयाँ युगतर्फको पाइला भन्दै प्रतिनिधिसभा विघटन हुनुभन्दा केही घण्टा अगाडि पनि आफूले प्रचण्डलाई विभाजन रोक्ने विकल्प सुझाउदा कुनै हालतमा नमानेको दावी गरेका छन् ।
आज विहान सामाजिक सञ्जालमार्फत केही तथ्यहरू खुलासा गर्दै पोखरेलले कम्युनिस्ट पार्टी अब नयाँ शीराबाट पुनर्गठन हुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटन अहिलेको संकटको कारण नभएर परिणाम मात्र हो भनेका छन् ।
पोखरेलको विचार जस्ताको त्यस्तै:
एकताको रक्षाका लागि गरिएका प्रयासहरू किन असफल भए भनेर कमरेडहरू प्रश्न गर्नुहुन्छ । म कति कुरा बताउँ भनेर अन्योलमा पर्छु । प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिएँ, जनार्दन शर्माको साथमा । त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्त्वकासाथ सुझाएको थिए ।
तर कमरेड प्रचण्ड त्यस प्रति एकरती पनि सकारात्मक देखिनु भएन । मेरो तर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनु भएन । उहाँ आफ्नो भित्रि योजनामा निकै प्रतिवद्ध भइसक्नु भएको रहेछ । उहाँ सहमतिमा होइन, षडयन्त्रको बाटोबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम बेहोर्दै छौँ ।
पार्टी एकता समयको माग र आवश्यकता थियो । दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा आफूलाई प्रस्तुत गर्नु भो । हामीले वैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि बढ्नु उचित हुने सुझाव दिएका थियौ । तर उहाँहरूले भावनात्मक कुरा गर्नु भो । हामीले त्यसलाई स्विकार गर्यौं ।
तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन । भएको शक्तिसमिकरणका माध्यमबाट अघि बढ्नेकुरामा नै हमेसा रुचि देखियो । तर आज आएर विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो । तर पनि यसले दुई फरक आन्दोलनका प्रवृत्तिहरूलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ । एकातिर कमरेड केपीको साथमा रामबहादुर थापा ‘बादल’ हुनुहुन्छ अर्कोतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल । यसले पनि नयाँ शिराबाट आन्दोलनलाई पूनर्गठन गर्ने अवसर प्रदान गरेको छ ।
नेपाली राजनीतिमा पुरानो पुस्ताले अधिकार प्राप्तिको लडाईमा ऐतिहासिक भूमिका निर्वाह गरेकै हो । नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले एउटै पुस्ताले तीन वटा क्रान्तिको नेतृत्व गरेको कुरा सगौरव चर्चा गर्नुहुन्थ्यो । वास्तवमा क्रान्तिको इतिहासमा यो अनुपम कुरा नै थियो । तर दुनियामा एउटा क्रान्तिबाट युगको परिवर्तन हुन्छ । तर हामी कहाँ तीनवटा क्रान्तिपछि पनि युग परिवर्तनको आभाष दिन सकिएको छैन ।
यस्तो किन ? पुरानो पुस्ताका नेताले खोज्ने कोशिस कहिले गर्नु भएन । कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नु भएको थियो । उहाँलाई चारैतिरबाट घेराबन्दी गरियो र अपमानजनक हिसावले पार्टी र आन्दोलनबाट बाहिर पठाउने कोशिस गरियो । कमरेड केपी ओलीको प्रतिनिधिसभा विघटनको घटनालाई सोही परिपेक्षमा हेर्नु पर्दछ । यो एक प्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्धमा कमरेड केपी शर्मा ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो । नयाँ युगतर्फको पाइला हो ।
नेकपा भित्र कमरेड केपी शर्मा ओलीलाई एकता निर्माणमा असफल भएको आरोप लगाइएको छ । मेरो विचारमा नेपालका पार्टी निर्माणमा देखिएको जडताको परिणाम हो यो । नौ सदस्यीय सचिवालयमा सात जना पार्टी प्रमुख हुनु र चार जना पूर्व प्रधानमन्त्री हुनु आफैमा एकता निर्माणको चुनौती थियो । पश्चिमा मुलुकहरूले राजनीतिमा आउनसक्ने यस प्रकारको अवस्थाको समाधान पहिले नै खोजेका थिए ।
समाजवादी चीनले पनि त्यसको समाधान खोजिसकेको छ । तर हामीले पद्धतिगत सुधारको साटो व्यवस्थापनमा जोड दियौं र आजको संकटलाई आमन्त्रण गर्यौं।
मेरो विचारमा पार्टी पद्धतिमा सुधारको प्रयास नगर्ने हो भने पुनर्गठित पार्टीहरू भित्र पनि भविष्यमा यही प्रकृतीको समस्या नआउला भन्न सकिन्न । अहिले प्रचण्ड र माधव कमरेडहरूका बीचमा चलिरेहको छलफलले पनि त्यही संकटलाई संकेत गरिरहेको छ ।
कतिपय कमरेडहरू नयाँ शिराबाट एकताको पहल गर्न अनुरोध गरिरहनु भएको छ। त्यो पहलकदमीका लागि यस्ता कुरामा मतैक्यताको आवश्यकता पर्दछ ।
आजको संकटको कारण प्रतिनिधिसभाको विघटन हो या दुई तिहाईको जनादेशलाई र पार्टी एकताको भावनालाई आत्मसात गर्न नसक्ने कुरा हो भन्नेमा हाम्रा बीचमा विमती रहेछन् ।
प्रतिनिधिसभा विघटन परिणाम हो । कारण होइन । कारण त हाम्रो पार्टी प्रणालीमा छ र त्यसमा सुधार नै नयाँ एकताको आधार हो । आउनुहोस् नयाँ जनादेशको बाटोबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकतावद्ध गरौँ । पार्टी पद्धतीको सुधारका माध्यमबाट नयाँ युगको सारथीको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरौँ ।
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको जिकिर सहित निर्वाचन आयोगलाई जवाफ पठाएका छन् ।
ओलीले पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै रहेको भन्दै अर्को पक्षले अनुशासनको कारवाही गरेको औचित्य तथा वैधानिकता नरहेको आयोगलाई बताएका छन् ।
ओलीले पत्रमा लेखेका छन्–नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्धितीय अध्यक्ष पुष्पकमल दाहाल रहनु भएको छ । दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरि दायर गरेको निवेदन औचित्यहीन छन् ।
ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा तय भइसकेको र प्रथम अध्यक्ष र महासचिवले बोलाएको बैठकले गरेका निर्णयनै वैधानिक हुने जिकिर गर्दै अर्को पक्ष बैठकमा नआएको बताएका छन् ।
ओलीले निर्वाचन आयोगलाई पठाएको पत्रमा भनिएको छ–विधिसम्मत रुपमा गरिएको मनोनयन र विधानको धारण १८ ९ट० १ वमोजिम अध्यक्षको परामर्शमा महासचिव श्री विष्णु प्रसाद पौडेलले विधि सम्म रुपमा बोलाउनु भए बमोजिम बसेको केन्द्रीय कमिटी बैठकलाई कसैले चुनौति दिन सक्दैन ।
ओलीले केन्द्रीय कमिटीमा गरेको मनोनयन वदर गर्न माग गरि अर्का अध्यक्ष दाहालले पुस २१ गते आयोगमा पेश गरेको पत्रमा आफ्नो कुनै दावी नभएको र अध्यक्ष परिवर्तन वाहेक कुनै दावी नभएको भनी आफैंले पहिला गरेको दावी फिर्ता लिएको भन्दै आयोगमा आफूले पठाएको जानकारी अभिलेख गर्नु बाहेक अर्को विकल्प नरहेको जिकिर गरेका छन् ।
ओलीले भनेका छन्–पार्टीमा जहिले पनि प्रथम अध्यक्ष नै कार्यकारी हुने तथ्य निर्विवाद छ । दुवै जनाले अध्यक्षता गर्ने गरि कार्यकारी अध्यक्ष भन्ने पदावली सिर्जना गरियो ।
यस पदावली सम्बन्धी विधानमा कुनै व्यवस्था छैन । केन्द्रीय कमिटी वैठकले कार्यकारी अध्यक्ष भन्ने पदावलीलाई हटाई अध्यक्ष भन्ने विधान सम्मत पद यथावत राखिएको स्पष्ट गर्न चाहान्छु ।
ओलीले आयोगलाई बुझाएको पत्रमा एकता महाधिवेशन नभई एउटा अध्यक्षे अर्को अध्यक्षलाई निश्कासन गर्न नसक्ने जिकिर गरिएको छ । पार्टीको एकता महाधिवेशन नभएसम्म एकीकरण प्रक्रिया पूरा भएको मान्न नमिल्ने ओलीको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ–यसरी एकीकरण प्रक्रिया नसकिदै अर्थात एकता महाधिवेशनबाट नयाँ नेतृत्वको छनौट नभई कुनै पनि अध्यक्षलाई निश्कासन गर्ने प्रश्न आउदैन । यस्तो हास्यास्पद कुरा आयोगमा अभिलेखिकरण हुन सक्दैन ।
ओलीले महाधिवेशनबाट पराजित व्यक्तिलाई कथित केन्द्रीय कमिटीले अध्यक्ष बनाउन नसक्ने भन्दै माधव नेपाल अध्यक्ष भएको भनिएको निर्णयनै औचित्यहीन रहेको जिकिर गरेका छन् ।
ओलीको पत्र लिएर नेकपा नेता सुवास नेम्वाङ,अधिवक्ता रमेश बडाल,बाबुराम दाहाल लगायत बुधवार आयोग पुगेका थिए । पार्टीको आधिकारिकताको विवादनै नरहेको भन्दै बडालले निर्वाचन आयोगलाई बिगतका र अहिलेका सबै निर्णय तथा कागजपत्र बुझाइएको बडालले बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे भारत र चीनबीच मध्यस्थता गर्न नेपाल तयार रहेको बताएका छन् । भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिँदै उनले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालले कुटनीतिक ‘मध्यस्थता’को भूमिका खेल्न सक्ने बताए ।
‘उहाँहरु दुबैजना मेरो मित्र पनि हुनुहुन्छ । हामी तीनैजनाले लगभग समान उमेरमा राजनीति पनि सुरु गरेका हौं । हामी एकअर्कालाई बुझ्न सक्छौं’ ओलीले भने, ‘नेपालले तटस्थताको राजनीति गर्छ । हामी एकको विरुद्ध अर्काको कार्ड खेल्दैनौं । हामी समदुरीको सम्बन्ध राख्न चाहन्छौं । कार्ड खेल्दा भलाइ हुँदैन ।’
‘यदि भारत इमान्दार छ भने आफूलाई बोस ठान्दैन । मोदीजी म भन्दा केही वर्षले जेठो हुनुहुन्छ व्यक्तिगतरुपमा तर, सरकार प्रमुखको रुपमा हाम्रो हैसियत एउटै हुन्छ ।’
नेपालले एउटा छिमेकी विरुद्ध अर्काे छिमेकीलाई आफ्नो जमिन र आकाश प्रयोग गर्न नदिने समेत ओलीले बताए । नेपाल चीनप्रति नरम भएको भन्ने भारतीय आलोचनाको ओलीले खण्डन गरे । ‘नेपाल चीनप्रति सफ्ट छैन । हामी छिमेकीसँग समस्यारहित सम्बन्ध चाहन्छौं । हात्ती लडेपनि मैदानलाई नोक्सान हुने हो । हात्ती मिलेपनि नोक्सान मैदानलाई नै हुने हो ।’
नेपाल र भारतबीच दाई र भाइको सम्बन्ध नरहेको बताउँदै ओलीले बदलिएको समयानुसार पारस्परिक सम्बन्ध स्थापना गर्नु जरुरी रहेको बताए । ‘यो पारस्परिक सम्मानको युग हो । यो उपनिवेशको युग होइन । भूगोल र आकारमा देशको साइज ठूलो सानो होला तर, राष्ट्रको रुपमा भारत र नेपाल समान छन्’ ओलीले भने, ‘यदि भारत इमान्दार छ भने आफूलाई बोस ठान्दैन । मोदीजी म भन्दा केही वर्षले जेठो हुनुहुन्छ व्यक्तिगतरुपमा तर, सरकार प्रमुखको रुपमा हाम्रो हैसियत एउटै हुन्छ ।’
के नेपाल भारत र चीनबीच फसेको हो भन्ने जी न्यूज सम्पादक सुधीर चौधरीको अर्को प्रश्नमा ओलीले भने –‘दुबै हाम्रा असल छिमेकी हुन् । छिमेकीलाई चाहेर पनि बदल्न सकिँदैन । दुबै आकार र विकासमा ठूला छन् । यो हाम्रा लागि खुशिको कुरा हो । हामी दुबै मुलुकबीच समदुरीको सम्बन्ध राख्न चाहन्छौं । हामी दुबै मुलुकबीचको गलत बुझाइलाई हटाउन तयार छौं ।’ पछिल्लो समय कस्मिरको गलवान घाटीमा भारत र चीन आमनेसामने भएपछि यी दुई ठूला मुलुकबीच सुखद सम्बन्ध छैन ।
आगामी युग एसियाको भएको भन्दै ओलीले विगतमा भारत र चीनविरुद्ध समेत विज्ञान एवं प्रविधिलाई प्रयोग गरिएको बताए । ‘हिमालदेखि हिन्द महासागरसम्म भारत थियो, के पुगेको थिएन र भारत गरिब रह्यो ? चोमोलोङ्मादेखि मंगोलियासम्म चीन फैलिएको थियो । के पुगेको थिएन र चीन गरिब रहयो ? नेपाल कहिल्यै उपनिवेश भएन तरपनि गरिब भने रह्यो । किनभने विज्ञान र प्रविधि एसियाविरुद्ध प्रयोग गरियो’ ओलीले भने, ‘एसिया, त्यसमा पनि नेपाल ज्ञान, तपस्या र आविष्कारको भूमि हो । न्यूटनले गुरुत्वाकर्षण पत्ता लगाउनुअघि भाष्कराचार्यले ग्राभिटी पत्ता लगाए । गायत्री मंत्र व्यासले कोसी किनारमै बसेर लेखेका हुन् ।’
के बैशाखमा हुने चुनावपछि पनि तपाइँ प्रधानमन्त्री रहिरहनुहुन्छ भन्ने जिज्ञासमा ओलीले चुनाबपछि पनि आफ्नो दलले बहुमत ल्याउने दाबी गर्दै आफ्नै पार्टीको सरकार बन्ने दाबी गरे ।
उनले अबको विकास आफैले गर्नेुपर्ने बताउँदै कसैमा निर्भर हुन नहुने समेत बताए । अब उपनिवेशवादको जमाना नरहेको टिप्पणी गर्दै ओलीले उपनिवेशका अवशेषलाई मन-मस्तिष्कबाट हटाउनुपर्ने धारणा राखे ।
नेपालले लिम्पियाधुरा र कालापानीलाई समेटेर प्रकाशन गरेको चुच्चे नक्साको ऐतिहासिकता, तथ्य र भावनालाई भारतले सम्मान गर्नुपर्ने प्रधानमन्त्रीले ओलीले बताए । आफ्नो सार्वभौम भूगोललाई लिएर नेपालले चीन र भारत दुबैसँग सम्झौता नगर्ने समेत ओलीले बताए । भारतले भूमि कब्जा गर्दा बोल्ने तर, चीनले भूमि कब्जा गर्दा चुप लाग्ने भन्ने कतिपय आलोचनको खण्डन गर्दै ओलीले दुबै देशसँग समान व्यवहार लागु हुने बताए । उनले पटक–पटक दुबै मुलुकबीच पारस्परिक एवं सौहाद्र्ध सम्बन्धमा जोड दिए ।
के बैशाखमा हुने चुनावपछि पनि तपाइँ प्रधानमन्त्री रहिरहनुहुन्छ भन्ने जिज्ञासमा ओलीले चुनाबपछि पनि आफ्नो दलले बहुमत ल्याउने दाबी गर्दै आफ्नै पार्टीको सरकार बन्ने दाबी गरे । ‘चुनावमा केही कमजोर भएपनि ठूलो दल हाम्रै हुन्छ । चुनावपछि पनि सरकारको नेतृत्व हामीले नै गर्नुपर्ने अवस्था हुन्छ’ ओलीले भने ।
काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले पार्टीका तल्लो तहसम्मका सदस्यलाई अन्तरपार्टी निर्देशन जारी गर्दै अर्का अध्यक्ष प्रचण्डले पार्टी र सरकारको नेतृत्व कब्जा गर्न अवैधानिक बाटो रोजेपछि प्रतिनिधिसभा विघटनको अवस्था आएको जानकारी पठाएको छ ।
केन्द्रीय कमिटी बैठकका निर्णय जानकारी गराउन पठाइएको सर्कुलरमा राजनीतिलाई पद,पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने प्रचण्डको स्वार्थी चिन्तनले विभाजनको अवस्थामा पु¥याएको दावी गरिएको छ ।
सर्कुलरमा भनिएको छ–यस परिस्थिति निर्माणका लागि प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने,नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंशकारी मनशाय मुख्य जिम्मेवार छ । पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने उहाँहरुमा अन्तर्निहीत अलोकतान्त्रिक चरित्रले यसमा निर्णायक भूमिका खेलेको छ ।
ओलीले पुस ४ गते आफू प्रचण्ड निवास खुमलटार पुगेर सहमतिको अन्तिम प्रयास गर्दा पनि प्रचण्डले दुरासययुक्त आरोपपत्र फिर्ता लिन नमानेको र उल्टो राजीनामा गर्नु पर्ने हठ नछाडेको सर्कुलरमा उल्लेख छ । अरुलाई बैठकमा अल्मल्याएर प्रचण्डहरुले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न सांसदहरुको फर्जी हस्ताक्षर बोकेर दौडेपछि विघटन गर्नुपरेको कार्यकर्तालाई जानकारी दिइएको छ ।
सर्कुलरमा भनिएको छ–पुस ४ गते प्रचण्ड निवास खुमलटारमै पुगेर दुराग्रहयुक्त प्रस्ताव फिर्ता लिन,पार्टीको विशेष महाधिवेशनको तयारी गर्न र कमरेड वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने निर्णयका लागि सहयोगी बन्न बारम्बार आग्रह गर्नुभयो । तर कमरेड प्रचण्डले यी सबै प्रस्तावलाई अस्वीकार गर्दै तत्काल राजिनामा गर्नुपर्ने हठ गरिरहनुभयो ।
ओली पक्षको सर्कुलरमा प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई अध्यक्षबाटे हटाउने प्रस्ताव पार्टीको कुनै कमिटीमा निर्णयार्थ प्रस्तुत गर्ने आँट नगरेको र संसदीय दलको नेता परिवर्तन गरेर प्रधानमन्त्री परिवर्तन गर्ने सहज बैधानिक बाटो पनि अलम्बन गर्न नसकी षड्यन्त्र गरेको उल्लेख छ ।
कार्यकर्तालाई कुनै अलमलमा नरहन भन्दै ओली पक्षले प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा अप्रत्याशित रुपमा प्रधानमन्त्रीविरुद्ध पेश गरेको अभियोगत्रनै पार्टी विभाजनका लागि ल्याइएको सर्कुलरमा उल्लेख छ ।
प्रचण्डहरुले महाधिवेशन समेत नपर्खिने भएपछि ओलीले सीमित प्रतिनिधित्व र नेतृत्व परिवर्तनको म्याण्डेट सहितको एकताको विशेष महाधिवेशन यथाशीघ्र अयोजाना गर्न प्रचण्डलाई आग्रह गर्दा पनि नमानेको सर्कुलरमा जनाइएको छ ।
सरकारको नेतृत्व परिवर्तन गर्ने भए आफूहरु पटक पटक सरकारमा गइसकेकाले वामदेव गौतमलाई यो जिम्मेवारी दिनु न्यायोचित हुने विश्लेषणका साथ यसका लागि अनुकुल वातावरण बनाउन ओलीले औपचारिक रुपमा स्थायी कमिटीमा प्रस्ताव राखेको समेत सर्कुलर स्मरण गराइएको छ ।
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । पुस १७ गतेबाट शुरु भएको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पहिलो पटक आज जाँदैछन् ।
अपरान्ह १ बजे शुरु हुने बैठकमा प्रधानमन्त्रीले बोल्ने समय मागेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । प्रतिनिधिसभा विघटनपछि संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
आफूले के कारणले प्रतिनिधिसभा विघटन गर्नुपर्यो भन्नेबारेमा संसदमार्फतनै जनतालाई प्रष्ट पार्न खोजेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । ओलीले सडकबाटै फैसला दिन खोज्ने प्रवृत्ति कदापि स्वीकार्य नहुने बताए ।
युवा संघको राष्ट्रिय भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘म भन्न चाहन्छु, सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा बसिसकेका मान्छेले गलत ढंगले प्रभावित पार्ने, अदालतलाई धम्क्याउने खालका क्रियाकलाप गर्न सुहाउँदैन । सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?
प्रधानमन्त्रीले संविधानमा व्यवस्था भएको संवैधानिक इजलासलाई नमान्ने भन्दै केही अजासु (अति जान्ने सुन्ने) निस्केर अरु इजलास माग गर्न थालेको आरोप लगाए ।
ओलीले भने– ‘केही अजासु निस्केर संवैधानिक इजलासले हुँदैन भन्दैछन्, कुन संविधानले भन्यो ? उनीहरुले जे भन्यो त्यही फैसला हुनुपर्ने ? उनीहरुले जुन इजलास माग्यो त्यही हुने हो भने किन चाहियो अदालत ?’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने पुनः ठोकुवा गर्दै वैशाख १७ र २७ गते नै चुनाव हुने बताए । केपी ओलीले चुनाव गराउँदैन भन्नेहरु चुनावबाट डराउने पानीमरुवा हुन् भन्दै प्रधानमन्त्रीले लोकतन्त्र जोगाउन आफू जेलनेल बसेको बताए ।