Tag: केपी ओली

  • एमाले सांसदलाई ओलीको निर्देशन- वेल घेर्दा काँधमा नचढ्नू, जथाभावी नबोल्नू

    एमाले सांसदलाई ओलीको निर्देशन- वेल घेर्दा काँधमा नचढ्नू, जथाभावी नबोल्नू

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा मर्यादित रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।

    आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले वेल घेर्दा काँचमा नचढ्न पनि निर्देशन दिए । संसदमा निरन्तर अवरोध गरिरहेका एमाले सांसदहरूले आफ्ना सहकर्मी सांसदको काँधमा चढेर रोष्टमा पुग्ने प्रयास गरेका थिए ।

    ‘हामीले संसदीय मर्यादाभित्र तोकिएका नारा लगाउँ, हामी वेलमा जान्छौं, वेलमा नाराबाजी गर्छौं,’ ओलीले भने, ‘काँध चढेर माथि जान खोज्ने नगरौं । मर्यादापालकको घेरा तोड्न खोजेको होइन । यदि त्यस्तो हुन्थ्यो भने अर्कै ढंगले प्रस्तुत हुन्थ्यौं ।’

    एमाले सांसद रेखा झाले गृहमन्त्रीको माइक खोसेकी थिइन । उनले मिडिया आफूले सभामुखमाथि नै प्रहार गर्न चाहेको प्रतिक्रिया दिएकी थिइन् । ओलीले भने पार्टीको त्यस्तो कुनै नीति नभएको बताए। संसदमा जिम्मेवाररूपमा प्रस्तुत हुन र मिडियामा गएर बोल्दा पनि जिम्मेवारीपूर्वक बोल्न निर्देशन दिए ।

    ‘कतिपय साथीहरूले बोलेको सुनेँ, सभामुखलाई माइक हान्ने योजना थियो भनेर,’ ओलीले भने, ‘त्यसो योजना थिएन । हुँदै नभएको कुरा मिडियामा गर्नु वाञ्छनीय हुन्न। बोल्दा माननीयहरूले जिम्मेवारीपूर्वक बोल्ने गर्नुपर्छ ।’

  • ओलीको आशंका- सरकारले घण्टाघर पनि देख्न नसकेर भत्काउने भयो

    ओलीको आशंका- सरकारले घण्टाघर पनि देख्न नसकेर भत्काउने भयो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले घण्टाघर भत्काउन लागेको दावी गरेका छन् । आइतबार एमाले संसदीय दलको बैठकमा ओलीले यो सरकारले घण्टाघर बनाउन नसक्ने समते टिप्पणी गरे।

    ‘बनाउन चाहिँ के गर्छ कुन्नी, घण्टाघर भत्काउने कुरा चाहिँ लगभग लगभग घोषणा भएको देखिन्छ,’ ओलीले बैठकमा भने, ‘यस सरकारले घण्टाघर बनाउँदैन तपाईंहरुले नोट गरिराख्नुहोला । भत्काउन चाहिँ यसले सक्छ ।’

    ‘भत्काउने बेलामा अर्को बनाउने भनेर भत्काउलान् । बनाउन चाहिँ यसको बुताको कुरा होइन, अब घण्टाघर पनि देख्न नसक्ने भयो, त्यो पनि भत्काउने भयो,’ ओलीले थपे।

    सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत ओली सरकारको बजेटमा गरेको संशोधनमा घण्टाघर र त्रिचन्द कलेजलाई पुरानै स्वरूपमा पुर्ननिर्माण गर्ने उल्लेख गरिएको छ ।

  • एमसीसी उपाध्यक्ष बालकोटमा, एमालेबाट शुरू भयो भेटवार्ता

    एमसीसी उपाध्यक्ष बालकोटमा, एमालेबाट शुरू भयो भेटवार्ता

    काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटवार्ता शुरु गरेको छ ।

    ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ । छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।

    तस्बिरहरू : सरोज बैजु । 

  • संसदमा एमालेको नाराबाजी- गैरसांसदलाई संसदमा राख्न पाइँदैन

    संसदमा एमालेको नाराबाजी- गैरसांसदलाई संसदमा राख्न पाइँदैन

    काठमाडौं । नेकपा (एमाले) ले आफूबाट विभाजित एकीकृत समाजवादीका सांसदहरूलाई गैरसंवैधानिक भन्दै सभाबाट निष्कासन गर्नुपर्ने माग गरेको छ ।

    रोष्ट्रमअघि उभिएर एमाले सांसदहरूले गैरसांसदलाई बैठकमा राख्न नपाइने भन्दै नारावाजी गरिरहेका छन् । उनीहरूले पार्टी फुटाउन सभामुख मतियार बनेको आरोपसमेत लगाए ।

    एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका थिए ।

    संसदीय दलको निर्णय अनुसार एमाले सांसदहरुले सभा अवरुद्ध पारेका छन् ।

  • एमसीसीबारे सांसदलाई ओलीको जवाफ- हरेक कुरामा अग्रसर भैहाल्ने पक्षमा छैनौं, प्रस्ताव आए विचार गरौंला

    एमसीसीबारे सांसदलाई ओलीको जवाफ- हरेक कुरामा अग्रसर भैहाल्ने पक्षमा छैनौं, प्रस्ताव आए विचार गरौंला

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे संसदमा प्रस्ताव भएको खण्डमा विचार गरिने बताएका छन् ।

    ‘हामी हरेक कुरामा एकदम अग्रसर भैहाल्ने पक्षमा छैनौं,’ एमाले संसदीय दलको बैठकमा ओलीले भने, ‘एमसीसी अहिले छलफलका रूपमा आएको छ । दलहरूलाई विचार गर्न दिउँ, एमसीसीबारे सबै डकुमेन्ट पढौं- कति फाइदाजनक रहेछ, कति घाटा हुने खालको रहेछ ।’

    एमसीसी सम्झौता आफूहरूले नगरेको र काँधमा हाल्न जरुरी पनि नरहेको उनले बताए । ओलीले भने, ‘यो सम्झौता हामीले गरेका पनि हैनौं, कार्यान्वयन गरेका पनि हैनौं, अहिले हाम्रो काँधमा हाल्न जरुरी छैन ।’

    ओलीले एमसीसीको प्रस्ताव सदनमा आए गम्भीरतापूर्वक विचार गरिने तर अहिले हतारिनु आवश्यक नरहेको बताए । ‘प्रस्ताव आयो भने गम्भीरतापूर्वक निर्णय गर्छौं र अगाडि बढ्छौं । यो बहसको विषयमा हतारिनु जरुरी छैन । हरेक कुरामा हतारिनु जरुरी हुँदैन ।’

    ओलीले देशको हितको विरुद्ध, जनताको हितको विरुद्धमा भए त्यसलाई आफूहरूको साथ नहुने बताए ।

    एमाले संसदीय दलको बैठकमा सांसदहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट हुनुपर्ने सुझाव दिएका थिए । केही सांसदले यसको विरुद्धमा लाग्नुपर्ने बताएका छन् ।

    बैठकमा २५ जना सांसदहरूले सुझाव राखेका थिए । त्यसमध्ये धेरैको धारणा एमसीसीबारे पार्टी प्रष्ट हुनुपर्ने छ ।

  • कारवाही गरिएका १४ सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको घोषणा

    कारवाही गरिएका १४ सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको घोषणा

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका छन् ।

    ‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला,’ ओलीले भने, ‘गैरसांसदको उपस्थितिमा संसद चल्दैन । यदि आज हामीले कारवाही गरेको सांसद उपस्थित हुन्छन् भने हामी कसरी संसदमा बस्न सक्छौं ?’

    आफूहरूले साउन २५ गते निष्कासन गरेका मान्छे भदौ २३ गतेको बैठकमा उपस्थित हुन नमिल्ने ओलीको तर्क छ । ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानूनी ढंगले सदन प्रारम्भ हुनै सक्दैन,’ ओलीले भने, ‘संसदका नियमावलीले पनि त्यो दिँदैन ।’

    गैरसांसदलाई बैठकमा बस्न दिए एमालेमा गएवापत कारवाहीमा परेका माओवादीका सांसदलाई पनि फर्काउनु पर्ने उनले माग गरे । ‘त्यसो हो भने पहिले निकालिएका सांसदहरूलाई हाजिर गर्नुपर्‍यो,’ ओलीले भने, ‘रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायतलाई पनि हाजिर गर्नुपर्‍यो ।’

    सभामुख अग्निप्रसाद सापकोटा एमाले सिध्याउन लागेको भन्दै यथास्थितिमा उनलाई सभामुख मान्न नसकिने ओलीको भनाइ । ‘जो एमाले सिध्याउन खोज्छ, त्यसलाई हामीले सभामुख कसरी मान्ने ?,’ उनले भने, ‘ हामीलाई सिध्याउन खाजेको छ भने उनको निष्पक्षतामा कसरी आश्वस्त हुन सक्छौं ? सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने अवस्था छैन ।’

  • ओलीको आरोप- सत्ता गठबन्धनमा लोकतन्त्रविरुद्ध हतियार उठाएका र देश विखण्डन चाहने तत्व छन्

    ओलीको आरोप- सत्ता गठबन्धनमा लोकतन्त्रविरुद्ध हतियार उठाएका र देश विखण्डन चाहने तत्व छन्

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा लोकतन्त्रविरुद्ध हतियार उठाएका र विखण्डकारी तत्व भएको आरोप लगाएका छन् ।

    बुधबार एमाले संघीय संसदीय दलको बैठकलाई बानेश्वरमा सम्बोधन गर्दै ओलीले यस्तो गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने दावी गरे ।

    ‘यस गठबन्धनभित्र लोकतन्त्रविरुद्ध हतियार उठाएका तत्व छन्,’ ओलीको भनाइ छ, ‘यस गठबन्धनभित्र राष्ट्र विखण्डन गर्न चाहने, साम्प्रदायिक तत्व छन् । आफ्नो स्वार्थका लागि जे पनि गर्ने तत्व छन् । यस्ता तत्वबाट लोकतन्त्रको रक्षा हुँदैन ।’

    ओलीले सभामुखले सभामुखको गरिमा सुहाउँदो काम नगरेको समेत टिप्पणी गरे। ‘सभामुखको गरिमा उहाँले कायम गर्नु भएको छैन’, उनले भने, ‘सभाखुका टेबलबाट षड्यन्त्र हुन्छ । उहाँले गठबन्धनको मतियारको रूपमा काम गर्नुभयो ।’

    उनले राजनीतिक रुपमा विभेद गरेको समेत आरोप लगाए। ओलीले भने, ‘हाम्रा साथीहरू धेरे ठाउँमा निस्कासनमा परेका छन् । तर, ह्वीप उल्लघंन गर्नेलाई हामीले कारवाही गर्दा यसरी अड्काइन्छ । यो धेरै ठाउँमा प्रकट भएको छ ।’

    उनले छापामार शैली र धोकापूर्ण ढंगले मध्यरातमा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको आरोप लगाए। अध्यादेशको निर्माणका कानूनमन्त्रालयलाई छलेर कपटपूर्ण ढंगले काम भएको ओलीको दावी थियो ।

    ‘अध्यादेश तयार गर्नलाई कानून मन्त्रालयको परामर्श पनि चाहिन्छ,’ उनले भने, ‘मध्यरातमा अधिवेशन अन्त्य भयो । भोलिपल्ट बिहान अध्यादेश आयो ।’

    ओलीले थपे, ‘अध्यादेशको मस्यौदा त मन्त्रालयले तयार गर्ने हो । मस्यौदा तयार गर्ने भनेको बूढानीलकण्ठ, कोटेश्वर वा खुमलटारमा होइन । मन्त्रालयमा हो । अत्यन्तै कपटपूर्ण तरिकाले अध्यादेश ल्याइयो ।’

  • अप्ठ्यारोमा सभामुख : एकातिर एमालेसँग आमनेसामने, अर्कोतिर एमसीसी

    अप्ठ्यारोमा सभामुख : एकातिर एमालेसँग आमनेसामने, अर्कोतिर एमसीसी

    काठमाडौं । दोस्रोपटक पुनःस्थापित भएको महिना दिनमै सरकारले हठात अन्त्य गरिदिएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    विशेषगरी अहिलेको सरकार बन्न सघाएका माधव नेपाललाई एमालेबाट विद्रोह गरी नयाँ दल गठनका लागि सहज बनाइदिन हठात अधिवेशन अन्त्य गरिएको थियो । त्यसको भोलिपल्टै दल विभाजन गर्न सहज हुने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याइएको थियो ।

    साविकको संघीय संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत हुनुपर्ने ऐनको प्रावधानलाई अध्यादेशमार्फत संशोधन गरिएपछि प्रमुख प्रतिपक्षी बनेको नेकपा (एमाले) विभाजित भएको छ ।

    माधव नेपालले करिब २३ प्रतिशत सांसदको हारहारीको शक्ति लिएर नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन् ।

    अध्यादेश ल्याएर आफ्नो दल फुटाइदिएको भन्दै एमाले सरकारसँग त आक्रामक छँदैछ, पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरेकोमा सभामुखसँग क्रुद्ध छ ।

    त्यसयताको घटनाक्रमले संसदमा एमाले र सभामुखबीच द्वन्द्व चर्कने देखिएको छ । त्यसमाथि सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रसेले अमेरिकी साहायता परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) चाँडै संसदबाट पारित गर्नेगरी अघि बढेपछि संसदका नेता भएकाले सभामुख अग्निप्रसाद सापकोटाले कसरी सभा संचालन गर्ने भन्ने चासो बढेको छ ।

    एमालेको सामना र एमसीसी

    सभामुख सापकोटाका लागि पहिलो चुनौती प्रतिपक्षी एवम सदनकै ठूलो दल एमालेको सामना गर्नु हो । सरकारले ल्याएको अध्यादेशअनुसार एमाले विभाजित गर्न सभामुख पनि त्यसको सहायक बनेको ठम्याइ एमालेको छ ।

    माधव नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नुअघि एमालेले उनीसहित प्रतिनिधिसभाका १४ सांसदमाथि कारवाही गरेको थियो । संसद अधिवेशन अन्त्य गरिदिएकाले सभाखुले तुरुन्तै कारवाहीको सूचना टाँस गरिदिनुपर्छ भन्ने दबाब एमालेको थियो ।

    संवैधानिक हिसाबले कुनै दलले कारवाहीको सूचना संघीय संसद सचिवालयमा दर्ता गराएको १५ दिन संसदको बैठकमा पढेर सुनाउने वा बैठक नभए सूचना पार्टीमा सोको सूचना टाँस गर्ने छुट थियो ।

    एमालेले माधव नेपाललाई पार्टीमा अध्यादेश अनुसारको २० प्रतिशत नपुर्‍याउन भन्न सभामुखबाट त्यो काम तुरुन्तै गराउन चाहन्थ्यो । त्यसै उद्देश्यका लागि एमाले सांसदहरू सभामुखको कार्यकक्षमै गएर दबाब दिएका थिए ।

    तर, सभामुखले त्यसमा आनाकानी गरे । निर्वाचन आयोगले माधव नेपालको नयाँ दल पनि दर्ता गरिदियो । पहिले आनाकानी गरिरहेका सभामुखले दल नै दर्ता भइसकेको भन्दै अब कारवाहीको औचित्य नहुने भन्दै त्यसलाई अस्वीकार गरिदिए ।

    यही कारण एमाले विभाजित गर्ने सरकारको चाहनामा सभामुख प्रष्टरूपमा सहयोगी बनेको भन्ने एमालेको बुझाइ र आरोप छ ।

    एमालेको त्यही बुझाइ र असन्तुष्टी झल्काउँछ एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राजधानीमा आयोजित सभामा सम्बोधन गर्दा व्यक्त विचारले ।

    ‘पर्सि संसद शुरू हुँदैछ,’ ओलीको सभामुख लक्षित प्रश्न थियो, ‘हामीले सोध्नैपर्ने हुन्छ सभामुखलाई-सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता कि गठबन्धनको मतियार हो कि एमालेविरुद्ध जालझेल गर्ने सरकारको एउटा मोहडा को कि ? के हो सभामुख भनेको ?’

    साथै ओलीको यो अभिव्यक्तिले सदनमा साभमुखविरुद्ध एमाले कडारूपमा प्रस्तुत हुने संकेत पनि गर्छ । यसले सभामुख-एमाले द्वन्द्व बढ्ने पनि देखिएको छ। सभामुख सापकोटाविरुद्ध एमाले सर्वोच्च समेत पुगेको छ ।

    सदनको ठूलो दल समेत भएकाले सापकोटालाई एमालेको सामना सकसपूर्ण हुने देखिन्छ । अर्कोतिर ओली सरकारले ल्याएको बजेट परिमार्जन गर्न प्रतिस्थापन विधेयक ल्याउने सरकारले तयारी गरिरहेको छ ।

    आफ्नो सरकारले ल्याएको विधेयक परिमार्जन खोज्दा एमालले सदनमा त्यसको प्रतिवाद गर्ने देखिन्छ । यस्तो अवस्थामा आक्रामक एमालेको समेत साथ लिएर सभा संचालन गर्ने चुनौती सभामुखसामु छ ।

    एमसीसी

    साभामुखका लागि आउँदो अधिवेशन अमेरिकी सहयोग परियोजना एमसीसीका कारण पनि कठिन हुनेछ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी तत्कालै संसदमा पेस गरेर अदुमोदन गराउन चाहन्छन् । त्यसका लागि सर्वसारधणसामु उठेका आशंका निवारण गरेका अर्थमन्त्रालयले विभन्न ११ प्रश्न समेटेर एमसीसीलाई प्रश्न पठाएको छ ।

    अमेरिकाले त्यसको जवाफ पठाउने र यसै साता नेपाल भ्रमणमा आउन लागेकी एमसीसीकी उपाध्यक्षले थप प्रष्ट पारेर यसलाई सदनमा पेस गर्ने तयारी छ ।

    तर, एमसीसी अघि बढ्ने संकेत पाएसँगै यसको विरोध चर्किएको छ । दिनहुँ एमसीसीविरुद्ध प्रदर्शन हुन थालेका छन् । नेपाली कांग्रेसबाहेक सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन यसको विरोधमा उत्रिसकेका छन् । उनीहरूको माउ पार्टीको औपचारिक दृष्टिकोण भने अहिलेसम्म यसबारे सार्वजनिक भएको छैन ।

    प्रमुख प्रतिपक्षी एमाले भने यसबारेमा मौन छ । आफ्नो दृष्टिकोण अहिलेसम्म स्पष्ट नपारेको एमाले पहिले सत्तारुढ दलको धारणा आओस् भन्नेमा छ । पहिले एमसीसी पास गर्नुपर्ने लाइनमा रहेका एमाले अध्यक्ष ओलीले कांग्रेस र माओवादीको जवाफ मागेका छन्।

    ‘कांग्रेस र माओवादी भएको बेला एमसीसी सम्झौता गरे तर अहिले एमसीसीबारे बोल्दैनन्,’ सोमबार ओलीले भनेका थिए, ‘झुक्याएर पास गर्न खोजेका होलान् । जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के गर्ने हो भन्नु पर्दैन ? शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ?’

    प्रमुख प्रतिपक्ष प्रष्ट नभएको, सरकारको नेतृत्व गरको कांग्रेस यसलाई अगाडि बढाउन चाहने र सत्ता साझेदार दुई दल यसप्रति सकरात्मक नभएको अवस्थामा साभामुखले संसदमा एमसीसी कसरी ‘इन्डोर्स’ गर्छन् भन्ने चासो धेरैको छ।

    मंगलबार वाईसीएलको प्रथम केन्द्रीय समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूका प्रश्नमा अमेरिका सकारात्मक नभए एमसीसी पारित नहुने घोषणा गरेका छन् । ‘अमेरिका सकारात्मक नभए एमसीसी पास हुँदैन,’ प्रचण्डको भनाइ छ, ‘हामीले यसबारे अमेरिकालाई कूटनीतिक नोट पठाएका छौँ । यसको सकारात्मक जवाफ नआए एमसीसी पास हुने कुरा हुँदैन ।’

    प्रचण्डले भनेजस्तै एमसीसी परिमार्जन गर्न अमेरिका तयार नभए यसअघिका दृष्टिकोणका कारण पनि माओवादी र एकीकृत समाजवादी एमसीसी पारित गर्न तयार हुने दखिन्न । यस्तोमा कांग्रेस, प्रतिपक्ष र सत्ता साझेदार अन्य दलहरूसँग लय मिलाउन सभामुखलाई सकस हुने देखिन्छ ।

    संसदलाई प्रभावकारी बनाउने दायित्व

    हिजोकै सभामा पूर्वसभामुख एवम् एमाले संसदीय दलका नेता सुवास नेम्वाङले दुईपटक पुन:स्थापित हुँदा पनि संसदले सिन्को भाँच्न नसेको टिप्पणी गरेका थिए ।

    यो मुलतः साभामुख र सरकार लक्षित टिप्पणी नै हो । स्वयं सभामुखले पनि संसद पुन:स्थापना भएपछि यसलाई प्रभावकारी बनाउने सार्वजनिक प्रतिवद्धता पटक-पटक जनाएका छन् । यसकारण उनलाई अबको सदनलाई प्रभावकारी बनाउनुपर्ने चुनौती छ । अन्यथा अहिलेको सदनबाट समस्याको निकास निसकन्न भन्ने एमाले र ओलीकै भनाइको राजनीतिक पुष्टी हुनेछ ।

    दोस्रोपटक पुन:स्थापित संसद ३० दिनभन्दा धेरै नबसेको र खासै काम गर्न नसकेको पृष्ठभूमिमा उनले सदनको गतिलाई बढाउनु पर्ने छ । संघीय संसद सचिवालयका अनुसार हाल संसदमा ५५ वटा विधेयकहरू छन् । तीमध्ये प्रतिनिधिसभामा २६ वटा प्रतिनिधिसभामा छन् । तीनमा जनताका प्रत्यक्ष जीवनसँग जोडिएका विधेयक पनि छन् ।

    नेपाल नागरिकता ऐन संशोधन विधेयक संसदमा लामो समयदेखि विचाराधीन छ । ४ साउन २०७५ मा प्रतिनिधिसभामा पेस भएको यो विधेयक अझैसम्म पारित हुन सकेको छैन । यसलाई चाँडो पारित गर्नुपर्ने भन्दै आन्दोलन समेत भइरहेका छन् । त्यस्तै संघीय निजामती सेवाको गठनसम्बन्धी विधेयक र लोक सेवा आयोगसम्बन्धी विधेयक पनि संसदमा लामो समयदेखि थाती छन् ।

    राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक, शान्ति र सुरक्षासम्बन्धी विधेयक, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरूको द्रूत निर्माण तथा विकाससम्बन्धी विधेयकहरू पनि विचाराधीन छन् । सार्वजनिक महत्वका यी विधेयकहरू चाँडै अनुमोदन गरिहाल्नु पर्ने खालका छन् ।

    सबैको सहमति लिएर यी सबै विधेयक अगाडि बढाएमात्रै सभामुखको पनि कार्यक्षमतामाथि प्रश्न उठ्ने ठाउँ रहँदैन । त्यसभन्दा पहिले त उनले एमालेसँगको सम्बन्ध समधुर पार्न कसरत पानुपर्ने देखिन्छ । सदनको सबैभन्दा ठूलो दलसँग द्वन्द्व गरेर लामो समय सदन चलाउन सकिन्न भन्ने महसुस उनले पक्कै पनि गरेकै होलान् । उनले यसमा कति सफलता पाउँछन् भन्ने चाहिँ आगामी दिनले नै प्रष्ट पार्नेछ ।

  • एमाले अध्यक्ष ओलीको रिटको सुनुवाइ आज पनि प्रधानन्यायाधीशको इजलासमा

    एमाले अध्यक्ष ओलीको रिटको सुनुवाइ आज पनि प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको जिकिरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको आज पनि पेसी चढेको छ ।

    निर्वाचन आयोग र सभामुखविरुद्धको सो मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलास तोकिएको छ ।

    यसअघि २० भदौमा पनि प्रधानन्यायाधीशै इजलासमा सुनुवाइ तोकिए पनि सो मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो ।

    एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै ओलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् । त्यस्तै ह्वीप उल्लंघनमा पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको भन्दै सभामुख अग्नि सापकोटालाई पनि रिटमा विपक्षी बनाइएको छ ।

  • रामकुमारीलाई ओलीको व्यंग्य- फिल्मी स्टाइलमा ज्याकेट फ्याँक्नेहरू, देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? (भिडिओ)

    रामकुमारीलाई ओलीको व्यंग्य- फिल्मी स्टाइलमा ज्याकेट फ्याँक्नेहरू, देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृ रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै देशका बारेका बोल्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न गरेका छन् ।

    ‘जो मन्त्री हुनलाई खुट्टो उचालेर ठिक्क परेका छन्, तीनै मान्छे हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, आफैंले टाँसेको टेप (सरकारले टाँसिदिएको थिएन) फिल्मी स्टाइलमा फुकालेर बोल्न पाइन्छ भन्थे,’ ओलीले भने, ‘अहिले सोध्न चाहन्छु म तिनीहरू र तिनका सरकारलाई- बोल्न पाइन्छ कि पाइँदैन नेपालमा ? देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन । राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ?’

    युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले थपे, ‘अहिले किन भन्न सक्दैनन ती दलहरू ? ती दलका नेताहरु ? ती सरकारमा बसेकाहरू ? सरकारका सहयोगीहरू ? अपराधका हिस्सेदारहरू ?’

  • तुइन प्रकरणमा नबोलेको भन्दै सरकारप्रति ओलीको कटाक्ष- घरको बाघ, वनको स्याल

    तुइन प्रकरणमा नबोलेको भन्दै सरकारप्रति ओलीको कटाक्ष- घरको बाघ, वनको स्याल

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाकाली नदी पार गर्दै गर्दा भारतीय सुक्षा बलले तुइन काटिदिएपछि बेपत्ता भएका जयसिंह धामीका पक्षमा बोल्न नसकेको भन्दै सरकारलाई ‘घरको बाघ र वनको स्याल’को संज्ञा दिएका छन्।

    ‘तुइनबाट मान्छे खासालिन्छ, तपाईंहरू बोल्नुहुन्न,’ सोमबार राजधानीमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘नेपाल सरकारले यसरी झारिएर मारिए भन्ने जानकारी किन दिन सकेन ? नागरिक मारिँदा पनि चुइँक्क बोल्न सक्दैन । यस्तालाई भन्छन- घरका बाघ, वनका स्याल ।’

    ओलीले राष्ट्रियता पक्षका बोल्दा युवाहरूलाई यातना दिने तर आफ्ना नागरिकमाथि ज्यादती हुँदा चुइँक्क नबोलेको आरोप लगाए । उनले भने, ‘राष्ट्रियतका लागि बोल्ने युवालाई यातना दिइन्छ । तर, आफ्ना नागरिकमाथि ज्यादती हुँदा चुइँक्क बोल्न सक्दैन । एउटा पार्टीमात्रै भए हुन्थ्यो, पाँच पार्टी हुँदा पनि चुइँक्क बोल्न सक्दैनन् ।’

    सरकारले विज्ञप्ति निकालेर बोल्न रोकेको भन्दै त्यसको ओलीले आलोचना गरे । ‘देशका बारेमा बोल्न पाइन्छ । राष्ट्रियताका बारेमा बोल्न पाइन्छ । गाली भने गर्न पाइन्न ।’

    ओलीले यसलाई अधिनायकवाद भन्दै यो धेरै नटिक्ने दावी गरे ।

  • केपी ओलीलाई युवाले किन बा भन्छन् ? महेश बस्नेतले खुलाए कारण (भिडिओ)

    केपी ओलीलाई युवाले किन बा भन्छन् ? महेश बस्नेतले खुलाए कारण (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतले सभामुख अग्नि सापकोटा माओवादी अध्यक्ष प्रचण्डको मामुली कार्यकर्ता भएको भन्दै संसदमा भदौ २३ गते देखाइदिने चेतावनी दिएका छन् ।

    राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र पूर्वसभामुख सुवास नेम्वाङसमेत उपस्थित रहेको बेला सभामुखले अब प्रमुख प्रतिपक्ष देख्ने बताए ।

    एमालेले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरी पार्टी विभाजनमा प्रचण्डको सहयोगी बनेको भन्दै बस्नेतले राजनीतिक पूर्वाग्रह नत्यागेमा सभामुखको विरोध संसदमै हुने बताए ।

    उनले भने, ‘सभामुखले राजनीतिक दलको सदस्यता त्याग्नुपर्छ । प्रचण्डको कार्यकर्ता बनेर सदनमा आउनुभयो भने २३ गते तपाईंसँग हाम्रो प्रत्यक्ष भेटघाट हुनेछ’, उनको चेतावनी थियो, ‘२३ गते प्रमुख प्रतिपक्षी देख्नुहुनेछ ।’

    बस्नेतले अर्को प्रसंगमा केपी ओलीलाई युवाहरूले बा भन्नुको कारण युवालाई उत्पादन र रोजगारीमा लगाउने भूमिका रहेको बताए ।

    उनले भने, ‘देउवाका श्रीमती र छोरा नै दलालीमा छन् । बाबुरामका र प्रचण्डका पनि परिवार नै दलालीमा छन् । तर, केपी ओलीले श्रीमतीलाई कहिल्यै यस्ता कार्यमा संलग्न गराउनु भएन । उहाँले हामी युवालाई उत्पादनमूलक काममा लाग्न सहुलीयत ऋण, प्रमाणपत्र धितो र श्रमिकलाई न्यूनतम पारिश्रमिक वृद्धिजस्ता निर्णय गर्नुभयो त्यसैले उहाँ सबैको बा हो । बा हुनका लागि राम्रो काम गर्नुपर्छ ।’

  • नेपाल-भारतको खेल हेर्न रंगशाला पुगे पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाण

    नेपाल-भारतको खेल हेर्न रंगशाला पुगे पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाण

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच आजको दोस्रो मैत्रिपूर्ण खेल हेर्न पुगेका छन् । खेल शुरू हुनुअघि उनी आफ्नो दलबलसहित दशरथ रंगशाला पुगेका हुन् ।

    यसैगरी, गृहमन्त्री बालकृष्ण खाण पनि आजको खेल हेर्न रंगशाला पुगेका छन् । दोस्रो मैत्रीपूर्ण म्याच शुरू हुन लागेको छ । पहिलो म्याचमा दुवै देशले बराबरी खेलेका थिए ।

  • एमालेनिकट कानून व्यवसायीको भेलामा ओली नजाने

    एमालेनिकट कानून व्यवसायीको भेलामा ओली नजाने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीनिकट कानून व्यवसायी संगठनले बोलाएको कार्यक्रममा नजाने भएका छन् । ओलीलाई प्रमुख अतिथि बनाएर एमाले निकटप्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) ले आज भेला डाकेको थियो ।

    एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपाललाई थाहा नै नदिइ भेला राखेपछि विवाद भएको छ । आफू सहभागी हुँदा पार्टीभित्र फेरि विवाद बढ्ने भन्दै ओली कार्यक्रममा सहभागी नहुने भएका हुन् ।

    तर, ओलीका स्वकीय सचिव राजेश बज्रचार्यले त्यस्तो कुनै विवादका कारण नभइ आज निवासमै आराम गर्ने र उक्त कार्यक्रममा नजाने जानकारी नेपाल प्रेसलाई दिए ।

  • दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय जनप्रतिनिधिलाई एमालेको निर्देशन (सर्कुलरसहित)

    दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय जनप्रतिनिधिलाई एमालेको निर्देशन (सर्कुलरसहित)

    काठमाडौं । नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको हो ।

    ‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ,’ एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको अपानीमा भनिएको छ, ‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’

    जनप्रतिनिधिलाई अपानीमा भनिएको छ, ‘यसका साथै २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’

    सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार निर्वाचन आयोगले हिजो एक विज्ञप्ति जारी गर्दै प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म आफ्नो दल रोजिसक्न भनेको छ । अध्यादेश अनुसार एमालेमा माधवकुमार नेपालले विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् भने महन्थ ठाकुरले समाजवादी लोकतान्त्रिक पार्टी (लोसपा) गठन गरेका छन् ।

    भदौ २२ सम्म एमाले र जसपा त्याग्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई कुनै कारवाही हुँदैन ।

  • माधव छाडेकालाई एमालेमै राख्न १० बुँदे कार्यान्वयनको टाइमलाइन, स्थायी कमिटी बैठक तत्कालै बस्ने

    माधव छाडेकालाई एमालेमै राख्न १० बुँदे कार्यान्वयनको टाइमलाइन, स्थायी कमिटी बैठक तत्कालै बस्ने

    काठमाडौं । नेकपा एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरूको माग सम्बोधन गर्न १० बुँदे सहमति कार्यान्वयनको ‘टाइमलाइन’ सहित मोडालिटी बन्ने भएको छ ।

    १० बुँदे सहमति अक्षरशः पालना भए एमालेमै बस्ने मनस्थितिमा रहेका नेताहरू यसबारे निर्णायक छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका थिए । छलफलमा विघटित कार्यादलका नेताहरूसहित महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए ।

    माधव नेपालले दल दर्ताका लागि निवेदन दिइसकेको र भोलिसम्म सनाखत गर्ने बेला संघीय संसद र केन्द्रीय कमिटीमा रहेका नेताहरूले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने भएकाले आजको बालकोट छलफललाई निर्णायक मानिएको छ ।

    माधव नेपाललाई विभाजनमा साथ नदिएका केन्द्रीय सदस्य र सांसदहरूसहितको विगतको माधव नेपाल समूहको आधाभन्दा ठूलो हिस्सा भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायतको समूहमा छ । त्यसलाई एमालेमै राख्न १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी बनिरहेको एक नेताले बताए ।

    त्यसमा सहमतिपछि आजै साँझसम्म वा भोलि बिहानै माधव नेपाल छाडेका १० जना नेतासहितको स्थायी कमिटी बैठक बस्ने भएको छ । दश बुँदे कार्यान्वयनका सन्दर्भमा देखिने समस्या समाधान गर्न कार्यदलको समेत प्रस्ताव गरिएको छ ।
    दश बुँदे कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई मनाउने जिम्मा यसअघि आइतबारको छलफलमै शंकर पोखरेलले लिएका थिए । कार्यदलमा रहेका माधवपक्षीय नेताहरूको सहमतिमै कार्यसूची बनाएर अध्यक्ष र महासचिवले स्थायी कमिटी बैठक बोलाउने नेता पोखरेलले बताएका छन् ।

    दश बुँदे सहमतिको मुख्य स्पिरिट नेकपाकालमा समेटिएका नेताहरूसहित २०७५ जेठ २ अघिका एमालेका संरचनाहरू क्रियाशील गराउने र जहाँ समस्या पर्छ त्यहाँ कार्यदलले टुंगो लगाउने उनले बताए । त्यसबाहेक विधान महाधिवेशनका सन्दर्भमा माधव नेपाल छाडेर आउनेहरूका समेत सरोकार सम्बोधन गरेर अघि बढ्ने तयारी संस्थापन पक्षको छ ।

    माधव नेपालको पार्टीमा नजानेहरू जेठ २ अघि जुन पदमा थिए त्यही पदमा रहने सहमति भएको छ । माधव नेपाल पक्षका ३० भन्दा बढी जिल्ला अध्यक्ष थिए । नेपालसँग नजानेहरूले अब जेठ २ अघिकै कमिटीको बैठक बोलाएर पार्टी गतिविधि अघि बढाउन पाउने गरी मोडालिटीमा छलफल भइरहेको छ ।

    १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनलगायतका विषयमा पनि सहमतिनजिक पुगेको छ । तर, ओलीले अब गुटका आधारमा डिल नहुने बताएका छन् ।

  • सभामुख सापकोटालाई ओलीको चेतावनी- माओवादी कार्यकर्ता नै बन्ने भए पद छोडिदिनुस्

    सभामुख सापकोटालाई ओलीको चेतावनी- माओवादी कार्यकर्ता नै बन्ने भए पद छोडिदिनुस्

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारवाही गरेका १४ जनालाई निस्कासन गरेको सूचना नटाँसेको भन्दै सभामुख अग्नी सापकोटाविरुद्ध आक्रोश पोखेका छन् । सभामुखको रूपमा निष्पक्ष भूमिका निर्वाह गर्न नसके पद छोड्न उनले चेतावनी दिए ।

    आज एक भिडियो अन्तर्वार्तामा ओलीले सभामुख माओवादीको कार्यकर्ताका रूपमा प्रस्तुत भएको आरोपसमेत लगाएका छन् ।

    उनले भने, ‘हिजो टोपबहादुर रायमाझीहरूलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल संसदमा सुनाउनुभएको थियो । अहिले तीन दिनदेखि के हेरेर बसिरहनुभएको छ ? एमालेले आफ्ना सांसदहरू हटाएको सूचना किन टाँस्नुहुन्न ?’

    पार्टीले कारवाही गरेपछि २४ घन्टाभित्रै सभामुखले सूचना टाँस्नुपर्ने परम्परा रहेको ओलीले बताए । सभामुखले न्यायाधीशले जस्तो छानविन र फैसला गर्नु नपर्ने उनको भनाइ छ ।

    ‘कागजपत्र झिकाउँछु, हेर्छु भनेको सुनियो । सभामुख न्यायाधीश हो र ? सभामुखले छानविन, फैसला हेर्ने होइन नि । निष्कासन गरेको सूचना टाँसिदिने हो । सदन चलेको भए संसदमा सुनाउने, होइन भने सूचना टाँस गर्ने काम हो । सभामुख न्यायाधीश पल्टिने हो ? माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो ? केलाई पर्खिरहनुभएको छ उहाँ ?’ उनले प्रश्न गरे ।

    ‘उहाँले ठान्नुभएको होला उहाँले नसुनाएसम्म पद कायम रहन्छ । अग्नी सापकोटाजीलाई म सोध्न चाहन्छु संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ? पार्टी कार्यकर्ता भएर सभामुख बन्न सकिन्न । होइन भने छोडिदिए हुन्छ । निष्पक्ष बन्नु छैन भने सभामुख छोडिदिनुस् । कार्यकर्ता भइरहने हो भने सभामुख हुन सकिँदैन । उहाँले रोज्नुपर्छ ।’

    सभामुख सापकोटाले अटेरी, जिद्दी, असंसदीय खालका क्रियाकलाप बारम्बार देखाएको ओलीले बताए ।

  • एमाले विभाजनपछि अघि बढेका ओलीका पाइला (तस्बिरहरू)

    एमाले विभाजनपछि अघि बढेका ओलीका पाइला (तस्बिरहरू)

    काठमाडौं । माधव नेपालले पार्टी फुटाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

    एमाले भक्तपुर जिल्ला संगठन समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका उनलाई युवा संघका कार्यकर्ताले स्वागत गरे ।

    ओलीले आजै एक अन्तर्वार्तामा एमाले विभाजित नभइ चोइटिएको बताएका छन् । माधव नेपाललाई एमालेबाट चुँडाउन बाहिरी तागत लागेको टिप्पणी गरेका छन् ।

    पार्टी विभाजनपछि कार्यकर्तामाझ विशेष सम्बोधन गर्न लागेका ओलीले पछिल्लो राजनीतिक परिवेश र एमाले विभाजन सम्बन्धमा धारणा राख्ने छन् ।

    तस्बिरहरू : सरोज बैजु/उमेश कार्की । 

  • बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो : ओली

    बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो : ओली

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिरी शक्तिले एमाले छोड्न बाध्य पारेको बताएका छन् । एमाले फुटेपछि दिएको पहिलो अन्तर्वार्तामा उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको गुनासोसमेत गरे ।

    भिडियो अन्तर्वार्तामा ओलीले भने, ‘मलाई अहंकार देखायो भन्छन् । तर मैले माधव नेपाललाई भेटौं भन्दा पनि मानेनन् । कम्तीमा दुई वर्ष भयो होला, मलाई एकपटक पनि फोन गरेका छैनन् । जहिले पनि मैले नै फोन गरेर कुरा गरिराख्या छु । उनले यहाँ भेट्दिन, त्यहाँ भेट्दिनँ भन्दा म आफैं भनेको ठाउँमा गएको छु ।’

    ओलीले माधव नेपाललाई एमालेबाट चुँडाउन बाहिर तागत नै लागेको टिप्पणी गरे ।

    ‘चुम्बकका दुईवटा पोलजस्ता शक्तिहरु एकै ठाउँमा ल्याइएको छ, कसरी ? त्योभन्दा बलबान शक्ति भयो भने लैजाने हो । जस्तै बन्धन भए पनि चुँडाउन सक्ने गरी तागत लाग्यो भने लैजाने हो । एमालेबाट चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लागेन होला ।’

    ओलीले एमाले विभाजित भएको नभएर चोइटिएको बताए । पार्टीबाट केही व्यक्तिहरु बाहिरिनुलाई विभाजन भन्न नमिल्ने उनको भनाइ छ ।
    उनले एमालेलाई हात्तिको संज्ञा दिँदै अलिअलि दुब्लाउँदैमा फरक नपर्ने टिप्पणी गरे ।

    ‘हात्ति दुब्लायो भने पनि त्यसको वजन कति घट्छ ? त्यसको सिमा हुन्छ । हात्ति हात्ति हो बाख्रा बाख्रा हो । अरु पार्टीले आफ्नो हैसियत के बनाएका छन् त्यो हेर्नुपर्छ,’ ओलीले भने ।

  • माओवादी बैठकमा प्रस्ताव- लुम्बिनीका वली भड्किन्छन्, ओली होइन केपी प्रवृत्ति भनौं

    माओवादी बैठकमा प्रस्ताव- लुम्बिनीका वली भड्किन्छन्, ओली होइन केपी प्रवृत्ति भनौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिनेक्रममा लुम्बिनी प्रदेशका नेताहरूले केपी ओलीलाई आलोचना गर्ने क्रममा थरभन्दा व्यक्तिको नामलाई प्रवृत्तिकारूपमा चित्रण गर्न सुझाव दिएका छन् ।

    लुम्बिनी प्रदेश कमिटी सदस्य दीपेन्द्र पुनले लुम्बिनीमा ओली समुदायको बाहुल्यता रहेको भन्दै ओलीप्रवृत्तिभन्दा त्यो समुदाय भड्किने बताएका हुन् । पुनले भने, ‘ओली प्रवृत्ति नभनौं, केपी प्रवृत्ति भनौं । लुम्बिनीमा यो समुदायको ठूलो संख्या छ र हाम्रै पार्टीमा पनि यो समुदाय ठूलो छ ।’

    समूहगत छलफलमा प्रदेशसभा सदस्यसमेत रहेका पुनको भनाइबारे लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले बैठकमा समूहका सुझाव सुनाउने क्रममा बताएपछि माओवादी बैठक हलले सुझावलाई समर्थन जनाएको केन्द्रीय सदस्य निर्मल आचार्यले बताए ।

    माओवादी बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक तथा संगनात्मक प्रतिवेदनमा ओली प्रवृत्ति भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति चर्को घृणा र आक्रोश व्यक्त गरिएको छ । प्रचण्डको प्रतिवेदन नै ओलीविरुद्ध केन्द्रित छ ।

    स्मरणीय छ पूर्वकाले नामको पछाडि ओली राख्छन् भने पश्चिमकाले वली ।

  • ओलीले भने- खोप ल्याएर थुपारिदिएका छौँ, चैतसम्म किन पर्खिनुहुन्छ ?

    ओलीले भने- खोप ल्याएर थुपारिदिएका छौँ, चैतसम्म किन पर्खिनुहुन्छ ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले यथेष्ट खोप ल्याएर थुपारेको भन्दै छिटो वितरण गर्न माग गरेका छन् । उनले लगभग एक करोड खोप स्टकमा रहेको बताए ।

    संसद बैठकमा बोल्दै ओलीले भने, ‘मेरो सरकारले खोप ल्याएर थुपार्देको छ त । चैतसम्म किन पर्खिनुहुन्छ ? लगाउनुस् न छिटोछिटो । लगभग एक करोड स्टकमा छ । एकैचोटि ल्याएर राख्न नमिलेको भएरमात्र हो । आइराख्या छ । चैतसम्म भनेको के फागुनको निर्वाचन नगर्न खोजेको हो कोभिड छ भनेर ? म पहिल्यै सजक गराउन चाहन्छु ।’

  • सरकारलाई ओलीको प्रश्न- कालापानी-लिपुलेक फिर्ता ल्याउँछौं भन्न किन खुट्टा कमाएको ? (भिडियो)

    सरकारलाई ओलीको प्रश्न- कालापानी-लिपुलेक फिर्ता ल्याउँछौं भन्न किन खुट्टा कमाएको ? (भिडियो)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रियताका मुद्दाहरुमा खुट्टा कमाएको टिप्पणी गरेका छन् । सरकारको साझा कार्यक्रममा कालापानी-लिपुलेकलाई फिर्ता ल्याउने कुरा नगरिएको भन्दै उनले आपत्ति जनाए ।

    संसदमा सम्बोधन गर्दै ओलीले भने, ‘साझा कार्यक्रममा कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौं किन सक्नुभएन ? यसलाई कालापानी समस्या भनेर राख्नुभयो । के यो समस्या हो ? हाम्रो अभिन्न भू-भाग, पवित्र भू-भाग समस्या हुन्छ ? समस्या समाधान कसरी गर्ने त ? छोडिदियो भने त समाधान होला नि । स्पष्टरूपमा फिर्ता लिन्छौं भन्ने कि समस्या हो समाधान गर्छों भन्ने ? त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’

    उनले थपे, ‘त्यो हाम्रो पवित्र भू-भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । सक्नुभएन भने ढेढ वर्ष पर्खिनुस् । हामी आउछौं ।’

    छिमेकीहरूसँग सीमा समस्या समाधान गर्ने भनेर साझा कार्यक्रममा उल्लेख गरिएको विषयमा पनि ओलीले प्रश्न उठाए । उनले भने, ‘कुन-कुन देशसँग कहाँ-कहाँ के समस्या छ ? कति साह्रो डराएको ? जिब्रोबाट पनि रगत आइसक्यो होला चपाउँदा चपाउँदा ।’

     

  • ओलीको प्रश्न- प्रधानमन्त्रीज्यू जनता जान्न चाहन्छ, एमसीसी के हुन्छ ? (भिडियो)

    ओलीको प्रश्न- प्रधानमन्त्रीज्यू जनता जान्न चाहन्छ, एमसीसी के हुन्छ ? (भिडियो)

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभामा बोल्दै ओलीले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा ‘कांग्रेसको अनुहार खोइ ?’ भनी प्रश्न गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वकै अघिल्लो सरकारले एमसीसी सम्झौता गरेपनि संयुक्त सरकारले एमसीसीबारे प्रष्ट धारणा नराखेको ओलीको टिप्पणी छ । उनले एमसीसी पास गर्ने, नगर्ने वा चुप लाग्ने के हो ? भनी प्रधानमन्त्रीलाई प्रश्न समेत गरे ।

    ‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ? एमसीसी पास गर्ने की फेल गर्ने की चुप लाग्ने ?’ ओलीले प्रश्न गरे ।

    उनले सरकारले आफ्नो कार्यक्रम संसदमा नल्याएर संसदलाई छलेको आरोपसमेत लगाए ।

  • प्रचण्डलाई ओलीको जवाफ- आगो लगाउने धम्की नदिए हुन्छ, पानी खन्याइदिन्छौं (भिडियो)

    प्रचण्डलाई ओलीको जवाफ- आगो लगाउने धम्की नदिए हुन्छ, पानी खन्याइदिन्छौं (भिडियो)

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक महिनाको समय खेर फालेको बताएका छन् । अबको १४-१५ महिना सरकारले बधाइ र शुभकामना लिएरै व्यतित गर्ने उनले भविष्यवाणी गरे ।

    प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक संसदमा बोल्दै ओलीले वर्तमान सरकारप्रति तीव्र कटाक्ष गरेका थिए ।

    ओलीले भने, ‘एक महिनाको समय त खेर गयो । बहुत राम्रो गठजोड छ तपाईंहरूको । चारजना मन्त्री लिएर हिँड्नुभएको छ । सबै मन्त्रालय आफूसँग राख्नुभएको छ । मन्त्रालय दिनभर घुमेर पनि भ्याउनुहुन्न । अब १४-१५ महिना शुभकामना र बधाई थाप्दैमा जान्छ तपाईंहरूको ।’

    उनले थपे, ‘भोटोको फेर समातेर आँगनमा नाच्दानाच्दै जानेभयो तपाईंहरुको समय । माया लाग्छ । चिन्ता त्यो कुरामा हो ।’

    ओलीले प्रचण्डलाई पनि कटाक्ष गर्न बाँकी राखेनन् । प्रचण्डले आफूलाई संसदमा उभिएर आफूलाई ‘आगो’ को संज्ञा दिएकोमा ओलीले कडा जवाफ दिए ।

    उनले भने, ‘सरकार परिवर्तन हुनेवित्तिकै, अर्को सरकार बन्नेवित्तिकै सत्तापक्षका नेताहरूले यसै रोष्ट्रमबाट भन्नुभयो- होसियार, म आगो हुँ, मसँग नखेल.. नत्र… भन्नुभयो । उहाँ आगो हो, डढेलो लगाउनुहुन्छ । यस्तो डढेलो निभाउन हामीलाई नि आउँछ । पानी खन्याउनुपर्छ पानी ।’

     

  • म असाधारण जनमतका साथ फेरि मूलढोकाबाट फर्किन्छु : ओली (भिडियो)

    म असाधारण जनमतका साथ फेरि मूलढोकाबाट फर्किन्छु : ओली (भिडियो)

    काठमाडौं । भुतपूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू असाधारण जनमतका साथ मूलढोकाबाट शक्तिमा फर्किने दावी गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक संसदमा बोल्दै ओलीले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री बनेको बताए ।

    ओलीले भने, ‘म यो देश र यस देशका जनताको सेवाको निम्ति जन्मिएको जस्तो लाग्छ । म प्रधानमन्त्री बन्न जन्मिएको होइन । काम गर्दै जाँदा भएँ । म ६४ वर्षसम्म त प्रधानमन्त्री थिइनँ । भइयो । प्रधानन्त्रीबाट हट्दा भनेको थिएँ । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मुलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।’

    ओलीले थपे, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर जनताले मत दिएर हो । म विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्‍या, जलन आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । उछिट्टएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनदेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।’

     

  • ओलीले भने- भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने सबै चिजहरू

    ओलीले भने- भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने सबै चिजहरू

    काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा अ‍ोलीले अहिलेको सरकारले सबै भत्काउने काम मात्रै गरेको आरोप लगाएका छन् ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धन सरकार एक महिनासम्म विस्तार हुन नसकेकोमा पनि कटाक्ष गरे।

    ‘उहाँहरूले जनताका लागि केही नयाँ गर्ने होइन, के भत्काउने भनेर काम सुरु भएको छ,’ ओलीले भने, ‘जनताले गीत लेखिसके-भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाँल, बन्द गर ओली याद आउने सबै चिजहरु।’

    उनले गठबन्धन सरकारले ल्याएको साझा नीति कार्यक्रमको मूल प्रस्तावनाबाट आफूहरुमाथि गाली र आक्रमण सुरु भएको समेत बताए ।

  • एमाले एकता जोगाउन बढ्यो रावलको सक्रियता, राष्ट्रपति र पार्टी अध्यक्षसँग परामर्श

    एमाले एकता जोगाउन बढ्यो रावलको सक्रियता, राष्ट्रपति र पार्टी अध्यक्षसँग परामर्श

    काठमाडौं । नेकपा एमालेमा उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेपछि आज निर्धारित केन्द्रीय कमिटीको बैठक स्थगित भएको खुलेको छ ।

    रावलले शनिबार अपरान्ह अध्यक्ष ओलीलाई भेटेर आफूहरूले माधव नेपाललाई एकताको लागि दबाब दिइरहेको र पछिल्लो बैठकले पनि एकताको पक्षमा निर्णय गरेको भन्दै नेपालसँग वार्ताको पहल गर्ने बताएका थिए ।

    अध्यक्ष ओलीले शनिबारै महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेतासँग पनि परामर्श गरेका थिए । नेपाल पक्षले आजको बैठक स्थगित गर्न र सदस्यता नवीकरणलगायतका संगठनात्मक काम रोक्न माग गरको थियो ।

    रावलको आग्रहपछि ओलीले बैठक सोमबारसम्मलाई स्थगित गरेको बताइएको छ । तर, माधव नेपालसँगको वार्ता भने तय भइसकेको छैन । दुई नेताबीच वार्ता गराएर पावर सेयरिङमा सहमति जुटाउने प्रयास भए पनि दुवै नेता एक अर्काका सर्त मान्न तत्पर नदेखिएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।

    रावलले ओली लगायतका नेताहरूसँग एकता भाँडिने खालका गतिविधि र अभिव्यक्ति बन्द गर्न आग्रह गरेका छन् । उनले सदस्यता नवीकरणको काम पनि सहमति भएपछि अघि बढाउन सकिने बताएका छन् ।

    उपाध्यक्ष रावलले शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि करिब ३ घण्टा लामो छलफल गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा भएको छलफल एमालेको विवाद र सत्ता गठबन्धनबाट हुनसक्ने राष्ट्रपतिविरुद्धका सम्भावित कदमहरूकै बारेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

    राष्ट्रपतिले पार्टीलाई एकताबद्ध बनाएर लैजान रावललाई आग्रह गरेको बताइएको छ । रावलले पनि एमाले एकताका लागि राष्ट्रपतिको पहल पनि महत्वपूर्ण हुनसक्ने बताएका थिए । भण्डारी र रावल दुवैजना नवौं महाधिवेशनबाट एमालेको उपाध्यक्ष निर्वाचित भएका थिए ।

    सत्ता गठबन्धनका केही नेताहरू विशेषतः माओवादी अध्यक्ष प्रचण्ड र जसपाका नेताहरू राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन चाहान्छन् । त्यसका लागि एमाले विभाजित हुनुपर्छ । एमाले विभाजित हुँदा प्रतिनिधिसभामा ९१ जना सांसद ओली पक्षमा रहेनन् भने सत्ता गठबन्धनको दुई तिहाई पुग्छ ।

    तर, महाअभियोग राष्ट्रियसभाबाट पनि पारित हुनुपर्छ । राष्ट्रियसभामा एमालेका ३१ जना सांसद छन्, ती मध्ये कम्तीमा २४ जना ओली पक्षमा छन् । त्यो भनेको सत्ता गठबन्धनलाई दुई तिहाई पुग्न नदिने संख्या हो ।

  • विधान संशोधनबारे नेकपा एमालेको अनौपचारिक छलफल शुरू (तस्बिरहरू)

    विधान संशोधनबारे नेकपा एमालेको अनौपचारिक छलफल शुरू (तस्बिरहरू)

    काठमाडौं । भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग छलफल थालेका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा अनौपचारिक छलफलका लागि नेताहरू भेला भएका छन् ।

    २०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्न नेताहरूबीच अनौपचारिक छलफल शुरू गरिएको एमालेले जनाएको छ ।

    एमालेको हालको विधान संघीय ढाँचा अनुसार छैन । त्यस्तै ७० वर्षे उमेर हद लगायतका विषयहरू र संविधान अनुकूलका संरचनाहरू विधानमा व्यवस्था गर्न बाँकी छ । यीलगायत विधानमा गर्नुपर्ने संशोधन र हेरफेरबारे नेताहरूले एकखालको सहमति गरेपछि मस्यौदा गरिने भएको छ ।


    
    
      
  • स्काउटको कार्यक्रम रोकेकोप्रति ओलीको आपत्ति, भएको के थियो ? (भिडियो)

    स्काउटको कार्यक्रम रोकेकोप्रति ओलीको आपत्ति, भएको के थियो ? (भिडियो)

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल स्काउटको कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै सरकारको आलोचना गरेका छन् । आइतबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले स्काउटको कार्यक्रम रोकेर सरकारले दमन शुरु गरेको आरोप लगाए ।

    ओलीको भनाइ यस्तो थियो :

    हामी सरकारबाट पनि हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्था चल्न दिइदैन । स्काउटका विरुद्ध जुलुस निकाल्न थाले । केही ठाउँमा स्काउटका, केही मान्छे भेला भए त्यसलाई रोक्न लगाउँछन् । दुई सय मान्छे थिए, त्यो हलमा कार्यक्रम गर्न दिएनन् । भोलिपल्ट साढे चार सय पार्टीका कार्यकर्ताले कार्यक्रम गरे । यो खालको दादागिरी शुरु भइसक्यो । स्काउटका कार्यकर्ता कार्यक्रमका लागि विभिन्न जिल्लाबाट आउँदा बस-बसमा खोजेर उतार्ने काम भयो । उनीहरुलाई दमन गर्ने काम भयो । खाना खान दिइएन । रोक्ने काम भयो, छेक्ने काम भयो । दमन शुरु भइसक्यो । मान्छेहरु निस्काशन हुन थालिसके । भद्दा राजनीतिकरण शुरु भइसक्यो । यो कास्टिङ हो अलोकतान्त्रिक तरिकाको ।

    भूतपुर्व प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिबारे स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीसँग बुझ्दा उनले विपदबारे स्काउटका स्थानीय तहका संयोजकहरुलाई तालिम दिने कार्यक्रममा अवरोध गरिएको बताए । प्रहरी परिचालन गरेर आफूहरुलाई खानासमेत खान नदिइएको उनको भनाइ छ ।

    भण्डारीको भनाइ जस्ताको तस्तै :

    स्काउटले यो संक्रमणका बेला सचेतना सिर्जना गर्ने काम ठाउँ-ठाउँमा गरिरहेको छ । शव व्यवस्थापनको काम पनि गरिरहेका छौं । त्यसका लागि हामीले युवाहरुलाई तालिम दिनुपर्छ ।

    यही प्रयोजनका लागि स्थानीय तहका संयोजकहरु काठमाडौं आइरहेका थिए । काठमाडौंमा अलि बस्न समस्या छ । त्यसैले हामी सिधै नुवाकोटको ककनीमा गयौं । त्यहाँ ९ सय रोपनी क्षेत्रफल भएको जग्गा छ स्काउटको । त्यो तालिम गर्ने केन्द्र पनि हो र त्यसमा भौतिक दुरी राखेर तालिम गर्ने ठाउँ छ ।

    त्यहाँ तालिममा गएका बेला रातको साढे १२ बजे माथिको आदेश छ भनेर खाना खान लाइनमा बसेको मान्छेलाई खालि पेट फर्काइयो । बाटो-बाटोमा प्रहरीले छेक्यो । त्यहाँबाट फर्काएपछि यहाँ काठमाडौंमा पनि राती दुई बजे आएर साथीहरु सुते । खाली भएका कतिपय होटेल म्यानेज गरेर हामीले केहीलाई सुतायौं, केही ठाउँ नपाएर गाडीमै सुते ।

    उनीहरु स्काउटको स्थानीय लिडर भएको हुनाले प्रशिक्षित गर्न भोलिपल्ट स्मार्ट पार्टी प्यालेस चाबहिलमा कार्यक्रम गरिरहेका थियौं । तालिम लिन नपाएपछि हामीले उनीहरुलाई खाना खुवाएर पठाउने र पठाउनुअघि केही सम्बोधन गर्ने कार्यक्रम राखेका थियौं । कतिपयले पद तथा गोपनीयतको सपथ पनि लिने कार्यक्रम थियो ।

    एकाएक प्रहरीहरु आएर चारैतिरबाट हामीलाई घेरे । अनि केटाहरु पनि आए । उनीहरुले यो बन्द गर्नुपर्छ भन्दै ममाथि अपशब्द पनि प्रयोग गरे । त्यहाँ कोलाहाल मच्चाए । माथिको आदेश छ भनेर गौशाला र बौद्धको प्रहरी आएर अवरोध गर्न खोजे ।

  • वार्ता टोलीसँग माधव नेपालको बटमलाइन-१० बुँदे जान्दिनँ, ओलीलाई अध्यक्ष मान्दिनँ

    वार्ता टोलीसँग माधव नेपालको बटमलाइन-१० बुँदे जान्दिनँ, ओलीलाई अध्यक्ष मान्दिनँ

    काठमाडौं । दुई अध्यक्षको अन्तरिम व्यवस्था गरेर भए पनि एमालेको एकता कायमै राख्ने दोस्रो तहका नेताहरूको प्रयास लगभग असफल भएको छ । केपी ओली र माधव नेपालबीच वार्ता गराउन निरन्तर लागेका नेताहरूले यस्तो निष्कर्ष सुनाएका छन् ।

    विघटित कार्यदलका सदस्यहरूबीच शनिवार सिंंहदरवारमा भएको छलफलमा माधव नेपालको बटमलाइनको ब्रिफिङ भएपछि नेपालसहितको एमाले एकताको अध्याय लगभग समाप्त भएको छ ।

    दुवै पक्षका नेताहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा छलफल गरिरहँदा केपी ओली काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै थिए भने माधव नेपाल अखिल फोर्सको मार्चपासपछिको सभालाई सम्बोधन गर्दै थिए ।

    कार्यदलमा भीम रावल, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको बटमलाइन सुनाइरहँदा नयाँ बजारबाट ओलीको घोषणा आयो- माधव नेपाल जस्ता आन्दोलनविरोधी, देशद्रोहीलाई एमालेमा कुनै स्थान छैन । उता माधव नेपालले पनि ओलीलाई फेरि प्रधानमन्त्री बन्न सक्छु भन्ने जालझेल नगर्न चुनौती दिँदै थिए ।

    सिंहदरबारमा त्यो ब्रिफिङ

    अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएपछि त्यसअघि एकताको उपाय खोज्न विघटित कार्यदलका नेताहरू अनौपचारिक छलफलमा जुटेका थिए । १० बुँदे सहमति र दुई अध्यक्ष मानेर एमाले एकता कायम गर्नेबारे छलफल भएको एमाले सचिव गोकर्ण विष्टले बताए ।

    तर, विष्टले बताए जस्तो ब्रिफिङ अनौपचारिक छलफलमा भने भएन । विघटित कार्यदलका एक सदस्यका अनुसार माधव नेपालले दश बुँदेमा आफ्नो सहमति नरहेको प्रष्ट पारेका छन् । उनले यो कुरा आफू पक्षधर वार्ता टोली संयोजक भीम रावल र केपी ओली पक्षधर संयोजक सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रष्ट रुपमा बताएका छन् ।

    ‘माधव कमरेडले दश बुँदे सहमति मैले भने अनुसार छैन त्यसलाई म मान्दिन भन्नुभयो । उहाँले म मिल्न तयार छु र अलग हुन पनि तयार छु । मिल्ने हो भने केपी ओलीले अध्यक्ष छाड्नुपर्छ भन्नुभयो । यो भनेको लगभग माधव नेपालसहितको एकताको च्याप्टर क्लोज हो’ छलफलमा सहभागी एक नेताले नेपाल प्रेसलाई बताए ।

    अनौपचारिक छलफलमा ओली पक्षका नेताहरूले माधव नेपालको बटमलाइन आइसकेको भन्दै ‘अब तपाई हामी के गर्ने हो ?’ भन्ने प्रश्न गरेका छन् । नेपाल पक्षका नेताहरूले अझै जवाफ दिएका छैनन् । उनीहरू दुई अध्यक्षमा माधव नेपाललाई मनाउन सकिन्छ भन्नेमा अझै लागेकाले एमालेको वारपार हुन एक दुई दिन थप लाग्ने देखिएको छ ।

    यसबीचमा केपी ओलीले भीम रावललाई बोलाएर माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको भन्दै चाँडो टुंगो लगाउन आग्रह गरे । ओलीसँग भेटेपछि रावलले नेपाललाई भेटेर अर्को अध्यक्षमा सहमत हुन आग्रह गरे पनि नेपालले उल्टै रावलमाथि ओलीसँग मिलेमतो गरेको आरोप लगाएको चर्चा चलेको छ ।

    माधव नेपालले भने- ओली भन्दा तल बन्दिनँ

    नेपाललाई यसबीचमा सुवास नेम्वाङ र विष्णु पौडेलले पनि भेट गरेर अध्यक्ष ओलीसँग संवाद गर्न सुझाए । तर दुवै नेतालाई वरिष्ठ नेता नेपालले आफू ओलीलाई अध्यक्ष मानेर एमालेमा नफर्किने बताएका छन् । उनले अर्को अध्यक्ष पनि आफू नबन्ने प्रष्ट पारेका छन् । यहि कुरा उनले रावललाई पनि बताइसकेका थिए ।

    रावलले माधव नेपालको बटमलाइन बुझे पनि नेपाल पक्षकै कतिपय नेताले अझै पनि अर्को अध्यक्षमा मनाउन सकिने आशा राखेका कारण एमाले एकताको नामका वार्ता अझै केही दिन चल्ने सम्भावना छ । ओली पक्षले भने माधव नेपालसहितको एकताको सम्भावना देखेको छैन ।

    वार्तामा संलग्न एक नेताले भने-माधव कमरेडले म केपी ओलीको अन्तर्गत बस्दिनँ, दोस्रो अध्यक्ष पनि खान्नँ र म आउदिनँ भन्नुभयो । उहाँले १० बुँदे पनि मान्दिन भन्नुभयो । उहाँ आफ्नो अडानमा प्रष्ट हुनुहुन्छ तर उहाँसँग जोडिएका केही नेताहरू अझै अन्योलमा भएका कारण आज भोलिमै वारपार नहोला ।

    माधव नेपाललाई तपाईकै सहमतिमा बनेको कार्यदलले तयार पारेको १० बुँदे मान्दिनँ मिल्छ ? भन्न प्रश्न यसबीचमा केही नेताले गरेका छन् । तर नेपालले जवाफमा भनेका थिए- म किन मान्छु ? मैले यो यो कुरा सच्यानु र यो थप्नु भनेको थिएँ खै सच्याएको ? तिनीहरू (कार्यदलका आफ्ना सदस्य) केपी ओलीको जालमा परे ।

    आफ्नैप्रति अविश्वास

    वरिष्ठ नेता नेपाल पछिल्लो समय कार्यदलमा पठाएका आफ्नै सदस्यहरूप्रति समेत सन्तुष्ट छैनन् । त्यसैले उनले तेस्रो र चौथो तहका नेता कार्यकर्ताको भर पर्न थालेका छन् । शनिबारको अखिल फोर्सको भेलामा पनि नेपाल र रामकुमारी झाँक्रीले सम्बोधन गरे तर दोस्रो तहका नेतालाई बोलाइएन ।

    झाँक्रीले त माधव नेपाललाई धोखा दिएर दोस्रो तहका नेताहरू अर्कैतिर मिल्न गएको आशंका समेत व्यक्त गरिन् । कार्यदलको बैठकमा पनि सुवास नेम्वाङ लगायतका नेताहरूले माधव नेपाल पक्षधर नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न सुझाव दिएको दिएका छन् ।

    सम्भवत: शनिवारबाटै एमालेले अब आफ्नो निर्णय गरेर अघि बढ्नेछ । तर नेपाल पक्षधर नेताहरूलाई अझै केही दिन पर्खिने सोचमा ओली छन् । उनले यसबीचमा माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरूलाई व्यक्तिगत रूपमा बोलाएर भेटघाट गरिरहेका छन् ।

    आफूले विश्वास गरेका दोस्रो तहका नेताहरूप्रति उनको भरोसा टुटेको छ । पछिल्लो भेला र छलफलहरूमा माधव नेपालले भन्दा सांसद र केन्द्रीय सदस्यहरूले ती नेताहरूको चर्को विरोध गरिरहेका छन् । भीम रावल र सुरेन्द्र पाण्डे जस्ता नेताहरूले अन्तिममा घोखा दिएको निष्कर्ष नेपाल पक्षको छ ।

    उनले केही नेताहरूसँगको छलफलमा अब नयाँ पार्टीमा बरु डा. विजय पौडेललाई महासचिव बनाउने तर दोस्रो तहका भनिएका नेताहरूको विश्वास नगर्ने बताएका छन् । पौडेल पछिल्लो समय माधव नेपालको प्रतिनिधित्व गर्दै सत्तारुढ गठबन्धनका बैठकमा जाने गरेका छन् ।

    नेपालले भने आफू निकट स्थायी कमिटी सदस्यहरूसँगको छलफल पातलो बनाएका छन् । बरु उनी आफूलाई विश्वासको मतका बेला साथ दिने २२ सांसदसँग नजिक छन् । नेपालमाथि सरकारमा जान पनि दबाब छ । सम्भवत: नेपाल पक्षका केही मन्त्रीले चाँडै सपथग्रहण समेत गर्नेछन् ।

    यदि नेपालले सरकारमा मन्त्री पठाएमा एमाले एकताका लागि भन्दै विश्वासको मतका बेला संसद छाडेका नेता र सांसदहरूले औपचारिक रूपमा माधव समूहबाट आफ्नो आबद्धता तोड्नेछन् । नेपाल निकट सांसद झपट रावलले माधव नेपालले त्यस्तो कदम नचाल्ने अपेक्षा व्यक्त गरे ।

    रावलले भने- हामीले संसद जोगाउन अदालत गयौं र हाम्रै कारण संसद जोगियो । अब हाम्रो प्राथमिकता भनेको एमाले जोगाउने हो । एमाले जोगाउनका लागि माधव नेपाल र केपी ओलीबीच संवाद हुनुपर्छ । तर, माधव नेपालले सरकारमा सहभागी हुने कुरा एमाले एकताको बाधक हुनेछ, यो कुरा हामीले भनेका छौं ।

    तर, मन्त्रिपरिषद् विस्तार रोकिएकै माधव नेपालले अन्तिम निर्णय नगरेर मात्र हो । अब लगभग त्यो बेला आएको छ । उनले केपी ओली निकट नेताहरूसँग प्रष्ट शब्दमा ‘एमाले मिल्ने हो भने ओलीले अध्यक्ष छाड्नुपर्छ’ भनेका छन् । तर त्यो सम्भावना छैन । त्यही विन्दूबाटै माधव नेपालको बाटो अलग भएको छ ।

  • एकता प्रयासका लागि एमाले बैठक स्थगित, भोलिसम्म टुङ्गो नलागे नेपाललाई नपर्खिने

    एकता प्रयासका लागि एमाले बैठक स्थगित, भोलिसम्म टुङ्गो नलागे नेपाललाई नपर्खिने

    काठमाडौं । माधव नेपाल पक्षीय नेताहरूको आग्रहमा एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी भएर नबस्ने भन्दै शनिबार अपरान्ह ३ बजेका लागि बैठक बोलाएका थिए ।

    यसअघि माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूसँग ओली निकट नेताहरुको छलफल भएको थियो । अझै पनि एकताको प्रयास जारी राख्ने भन्दै नेपाल निकट नेताहरूले आजको बैठक रोकेर माधव नेपालसँग छलफल गर्न आग्रह गरेका थिए ।

    भीम रावल लगायतका नेताहरूले अझै पनि प्रक्रिया पूरा गरौं भनेर गरेको आग्रहलाई अध्यक्षले सकारात्मक रूपमा लिएर बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरेको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिए ।

    उनका अनुसार बैठक बसे पनि एजेण्डामा प्रवेश नगरी स्थगित भएको हो । आइतबार दिउँसोसम्म टुङ्गो नलागेमा अब एमाले माधव नेपाललाई नपर्खी अघि बढ्ने नेताहरूले बताएका छन् ।

  • ओलीको उद्घोष- माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन (भिडियो)

    ओलीको उद्घोष- माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन (भिडियो)

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई कुनै ठाउँ नरहेको उद्घोष गरेका छन्।

    ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन,’ एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’

    ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको भन्दै प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाए। ओलीले भने, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्‍याए । प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन् ।’

    पार्टीको सरकार ढल्दा अग्रहमणको सपनामा धक्का लागेको उनको भनाइ छ। ‘पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो, दक्षिणपन्थीको सरकार बन्यो,’ ओलीको भनाइ छ, ‘सुशासन र अग्रमणको सपनामा धक्का लाग्यो।

    आउँदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी पनि ओलीले गरे।

     

  • ओलीले भने- माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ (भिडियो)

    ओलीले भने- माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ (भिडियो)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले गल्ती गर्नेलाई कारवाही र माफी दुईटै आफूले नभइ पार्टीले गर्ने बताएका छन् ।

    अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी उवाच’ भएको भनी गरेको टिप्पणीको जवाफ दिएका हुन् । ‘ उनले भने, ‘माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ’ ।

    पार्टी एकता भन्दै अहिलेसम्म पनि एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेकोप्रति ओलीले आपत्ति जनाए । उनले संविधानको रक्षा गर्ने भनेर माधव नेपाल पक्षले कम्युनिष्ट ढाल्न र दक्षिणपन्थी सरकार बनाएर नुनको सोझो गर्न सदन वहिष्कार गरेको आरोप लगाएका छन् ।

    आफूले प्रधानमन्त्रीका रूपमा विश्वासको मत माग्दा मत दिएर किन संसदको रक्षा नगरेको ? भन्दै ओलीले भने, ‘संसदको रक्षा गर्न चाहनेले आफ्नै पार्टीका अध्यक्षले विश्वासको मत नदिएर बहिष्कार गर्दैन ।’

    अहिलेको गठबन्धन सरकार विचारर र सिद्धान्तमा नमिले पनि सबै खानका लागि कृतिम ढंगले प्रतिकृयावादी डिजाइनमा मिलेको भन्दै उनले भने, हाम्रै पार्टी फुटाएर, हाम्रै साथीहरूको अगुवाइमा प्रतिगमनको आयोजना भयो । माओवादीको कुरा छोडौं उनीहरूको टुप्पी अर्कैको हातमा छ , आफूलाई एमाले भन्ने, पार्टी फुटाउने अन्तरघात गर्ने र पार्टीलाई ध्वस्त बनाउन खोज्ने र पार्टीलाई नै बहुमत पुग्न नदिने ब्यक्तिहरुको संलग्नतामा गम्भीर षडयन्त्र भएको छ ।’

    एमालेभित्रकै केही व्यक्तिगत स्वार्थ बोकेकाहरूकै कारण अहिलेको अवस्था आएको उनको ठम्याइ ५ । यसले नेपाली राजनीतिमा पछिसम्म असर पर्ने भन्दै ओलीले संविधानको अपव्याख्या भएर परमादेशमार्फत प्रधानमन्त्री नियुक्त हुनुमा अन्तर्राष्ट्रिय शक्तिको पनि हात रहेको बताएका छन् ।

    ‘पार्टीभित्रकै केही व्यक्तिको व्यक्तिगत स्वार्थ, ईर्श्यालुपन र पदलोलुपताका कारण पार्टीमा समस्या उत्पन्न भएको र उनीहरूले खेल्ने मौका पाएका छन्’, उनले भने ।

    माधव नेपाललाई हरियो सर्पको संज्ञा दिँदै ओलीले भने, ‘घाँसको मुठो पनि नछोड्ने र त्यहीँभित्र लुकेर अनेक षड्यडन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौं ।’ अहिलेको अवस्थावाट नआत्तिन र विचलित नहुन कार्यकर्ता पंक्तिमा आग्रह गर्दै उनले भने, ‘केहीबेर सूर्य छेकिएको छ, हतोत्साही नहुनुस् । एमालेको सूर्य कमजोर हुँदैन यसले आफ्नो सही विचार र मार्ग परित्याग गर्दैन ।’

     

  • देउवा र प्रचण्डलाई ओलीले भने – राष्ट्रपतिलाई महाअभियोग लगाउने असम्भव सपना नदेख

    देउवा र प्रचण्डलाई ओलीले भने – राष्ट्रपतिलाई महाअभियोग लगाउने असम्भव सपना नदेख

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलालाई ‘प्रतिगमन’को संज्ञा दिएका छन् । प्रतिगमनको हल्ला गर्दै वास्तविक प्रतिगमन भएको उनले टिप्पणी गरे ।

    पार्टीको केन्द्रिय समिति बैठकलाई सम्वोधन गर्द ओलीले भने, ‘प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन हो अदालतको फैसला । समयमै पलाएको एजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी रह्यो ।’

    पार्टीभित्र उत्पन्न विवाद र विभाजनको अवस्थालाई ओलीले माउसुलीको पुच्छरको उदाहरणसहित व्याख्या गरेका थिए ।

    उनले भने, ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फाल्दिन्छ । तर, त्यो कारण उ आत्तिदैन किनकि पुच्छर तुरुन्तै पलाउँछ । अहिले हामीले पुच्छर फाल्नु परे पनि तयार हुनु पर्ने बेला आएको छ ।’

    वरिष्ठ नेता नेपालले वर्गविरोधि तथा कम्युनिष्ट विचार र जनताका विरोधिसँग साँठगाँठ गरेको आरोप ओलीले लगाए । नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिने उनले टिप्पणी गरे । अदालतको फैसला पनि संसारमै नयाँ रेकर्डका रुपमा रहने ओलीको भनाइ थियो ।

    एकताका लागि आफूले अझै प्रयास जारी राख्ने ओलीले बताए । उनल भने, ‘मसँग अझै आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर उता लागेका सबैलाई आफ्नो राजनीतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु । एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु ।’

    ओलीले भने, ‘म यो अन्तिम क्षणमा साथीहरुलाई भन्छु, पार्टी एकतामा आउनुहोस् । नत्र भोलि पुस्पलाल स्मृति दिबसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बस्छ र उचित निर्णय गर्छ ।’