Tag: कृष्णबहादुर महरा

  • माओवादी महाधिवेशनमा प्यानल प्रस्तुत गरिने, प्रचण्डसहितका पदाधिकारीको चयन केन्द्रीय कमिटीबाट (भिडिओ)

    माओवादी महाधिवेशनमा प्यानल प्रस्तुत गरिने, प्रचण्डसहितका पदाधिकारीको चयन केन्द्रीय कमिटीबाट (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन ५ दिनसम्म चल्न सक्ने देखिएको छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएपछि तीन दिन बढाएर ५ दिन हुन लागेको हो ।

    केन्द्रीय कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले महाधिवेशन हलमा केन्द्रीय कमिटी सदस्यको प्यानल प्रस्तुत हुने र त्यसमा असहमति भएमात्र चुनावमा लगिने बताए ।

    महराले भने, ‘२९९ प्लस केही सदस्यको प्यानल केन्द्रीय कमिटीको तर्फबाट प्रस्तुत हुन्छ । सहमति भए भइहाल्छ नभए चुनावमा जाने हो । हाम्रोमा महाधिवेशन हलबाट केन्द्रीय सदस्यमात्र चयन हुन्छन्, केन्द्रीय कमिटीले अध्यक्ष र अन्य पदाधिकारी चयन गर्ने हो ।’

  • माओवादीले भन्यो- राष्ट्रिय सम्मेलनमा संसदीय अभ्यासको भोगाइबारे गम्भीर समीक्षा गर्छौं (भिडिओ)

    माओवादीले भन्यो- राष्ट्रिय सम्मेलनमा संसदीय अभ्यासको भोगाइबारे गम्भीर समीक्षा गर्छौं (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलन विचार र पार्टी निर्माणमा केन्द्रित हुने बताएको छ । पुस ११-१३ मा तय गरिएको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले आफ्नै बारेमा पनि गम्भीर ढंगले समीक्षा हुने बताए ।

    ‘हामी गम्भीररुपले आफ्नै बारेमा समीक्षा गर्ने पक्षमा छौं,’ उनले भने, ‘२०६४ सालमा ठूलो पार्टी थियौं । २०७० पछि हामी सानो पार्टी भयौं । र, सानो पार्टी हुँदा हामीले भोगेको, अरु पार्टीसँग सहकार्य गर्दा भोगेको र संसदीय अभ्यासमा हामीले भोगेको चिजहरूलाई गम्भीररूपमा समीक्षा गर्छौं ।’

    राष्ट्रिय सम्मेलनमा आफ्ना कमजोरीको पनि समीक्षा हुने उनले बताए । महराले भने, ‘२०६४ सालमा हामी किन ठूलो पार्टी भयौं, त्यसपछि हामी किन सानो पार्टी भयौं ? हामी के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित भएर हामीले बहस थाल्ने सोचेका छौं ।’

    ‘यो कुराको संकेतका रूपमा प्रदेश सम्मेलन उद्घाटनका क्रममा पनि अध्यक्षले राख्नुभएको छ । व्यवस्थितरूपले दस्तावेज आएपछिमात्रै भन्न सकिन्छ,’ उनले थपे, ‘हामीले केही अवरोधहरूसँग लड्ने बेलामा हामीले केही कमिकमजोरी गर्‍यौं कि भन्ने समीक्षासहित प्रस्तुत हुने पक्षमा छौं यो राष्ट्रिय सम्मेलनमा ।’

    राष्ट्रिय सम्मेलन विचार निर्माण गर्ने सम्मेलन भएको भन्दै उनले त्यसका लागि अध्यक्षले दस्तावेजसमेत लेखिरहेको महराले जानकारी दिए । सम्मेलन विचारका अवला पार्टी निर्माणमा पनि केन्द्रित हुने उनको भनाइ छ ।

    ‘हामी अलि फरक ढंगको पार्टी निर्माणमा छौं,’ उनले भने, ‘संगठन निर्माणको जनवादी केन्द्रियताबाट हामी कतै विचलित त भएनौं भन्ने पनि हामीले समीक्षा गर्छौं ।’

  • आगामी चुनावमा माओवादी पहिलो दल बन्ने महराकाे दाबी

    आगामी चुनावमा माओवादी पहिलो दल बन्ने महराकाे दाबी

    रसुवा । पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताएका छन् । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा २०६४ कै अवस्थामा फर्कने बताएका हुन् ।

    अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदिवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए । माओेवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे ।

    टुक्रिएर गएका डा बाबुराम भटृराई, बैध, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टृै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पु¥याउने महराले विश्वास व्यक्त गरे।

    उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो । महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै कोरोना संक्रमण कारण उत्पन्न असरका बारेमासमेत जानकारी लिए।

  • माओवादीका संगठित सदस्य ८ लाख पुग्ने दाबी, ६ लाखको अनलाइनमा इन्ट्री

    माओवादीका संगठित सदस्य ८ लाख पुग्ने दाबी, ६ लाखको अनलाइनमा इन्ट्री

    काठमाडौं । राष्ट्रिय सम्मेलनका लागि सदस्यता नवीकरण अभियान चलाइरहेको नेकपा (माओवादी केन्द्र) ले संगठित सदस्य ८ लाख पुग्ने दाबी गरेको छ ।

    प्रवक्ता कृष्णबहादुर महराले अहिलेसम्म ६ लाखको अनलाइन इन्ट्री नै भइसकेको र बाँकी २ लाखजतिको हार्डकपी जिल्ला, प्रदेश हुँदै केन्द्रमा आउन लागेको बताए ।

    ‘पार्टी सदस्यता लिनेको संख्या उत्साहजनक पाइयो,’ महराले भने, ‘६ लाखको अनलाइन इन्ट्रि भइसकेको छ । बाँकी रहेको २ लाखजतिको हार्डकपी केन्द्रमा पठाउन भनिएको छ ।’

    माओवादीले सफ्टवयेरमार्फत अनलाइनबाटै सदस्यता नवीकरणको व्यवस्था मिलाएको थियो । शुक्रबारसम्म सदस्यता नवीकरणको समय भएको भए पनि सबैको अनलाइन इन्ट्री नसकिएको भन्दै त्यो म्याद बढाउनुपर्ने आवाज उठेको थियो । यद्यपि शुक्रबार नै बसेको केन्द्रीय समिति बैठकले समय नथप्ने निर्णय गरेको थियो ।

    महराले हार्डकपीमा भरिसकेका र अनलाइनमा इन्ट्री गराइ नसकिएको विवरण केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ । समयमै हार्डकपी भरेर पठाइएका विवरणलाई भने मान्यता दिने र पछिसम्म केन्द्रीय कार्यालयबाटै अनलाइनमा इन्ट्री गरिने महराको भनाइ छ ।

    माओवादीले पुस ११-१३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

  • वर्षमान बिरामी हुँदा महरा सक्रिय

    वर्षमान बिरामी हुँदा महरा सक्रिय

    काठमाडौं । पार्टीका सांगठानिक अभियानमा निकै सक्रिय हुने मध्येका एक हुन माओवादी केन्द्रका नेता वर्षमान पुन ।

    निर्वाचन क्षेत्र रोल्पा भए पनि पुन पश्चिमदेखि पूर्वसम्म जाने गर्थे सांगठानिक कामका लागि। आफ्नै प्रदेश भएकाले लुम्बिनी प्रदेशमा झन् गइरहन्थे ।

    माओवादीभित्र सम्भावित महासचिवकारूपमा हेरिएका पुन हाल भने उपचारका सिलसिलामा थाइल्याण्डको बैंककमा छन् ।

    शरीरमा जन्डिसको मात्रा बढेपछि पुन गत १३ असोजमा बैंकक गएका थिए ।

    अहिले पुनको भ्याकुम रोल्पाकै नेता कृष्णबहादुर महराले भरिरहेका छन् । पार्टीको प्रवक्तासमेत रहेका महराको सक्रियता विशेषगरी लुम्बिनी क्षेत्रमा देखिएको छ।

    दुई दिनमा महराले रोल्पा, दाङदेखि बाँकेसम्मका कार्यक्रममा सहभागिता जनाएका छन् ।

    महराको यो सक्रियता भने हालसालैको हो । सभामुख हुँदा यौन काण्डमा मुछिएपछि उनले पदबाट राजीनामा दिनु परेको थियो।

    यद्यपि महराले उच्च अदालत र सर्वोच्च अदालतबाट त्यस सम्बन्धीअरोपबाट सफाइ पाए। सफाइ पाएको धेरै समयसम्म पनि राजनीतिमा सक्रिए भएनन्।

    महरा जब अदालतबाट नेकपा टुक्रियो र माओवादी केन्द्र पुनः अस्तित्वमा अयो, त्यसपछि मात्रै पार्टी राजनीतिमा सक्रिय भएका थिए।

    आफ्नो स्वभावविपरीत लामो समय निष्क्रिय रहेका महराको राजनीति के हुन्छ भन्ने जिज्ञासा सबैतिर थियो। तर, महरा विस्तारै सक्रिय भए । पार्टीले प्रवक्ताको जिम्मेवारी दियो र अन्य विभागको पनि जिम्मेवारी लिए ।

    पुन बिरामी भएपछि भने उनी झन् सक्रिय भए । महरा पुनका राजनीतिक र शैक्षिक गुरु हुन् ।

    टाइमलाइनमा हेरौं महराको सक्रियता

    कार्तिक १४- वाइसिएल नेपाल बाँके जिल्लाको कोहलपुरमा आयोजित शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागि ।

    कार्तिक १४- वाइसिएल नेपाल घोराही उपमहानगरमा राजनीतिक प्रशिक्षणमा सहभागि ।

    कार्तिक १२- रोल्पाको गंगादेव गाउँपालिकामा वाईसीएल नेपालको प्रथम अधिवेशन उद्घानटन ।

    कार्तिक ९- प्रेस सेन्टर दाङको जिल्ला अधिवेशन उद्घाटन ।

    कार्तिक ६- वाईसीएल रोल्पा नगर कमिटीको प्रथम अधिवेशन उद्घाटन ।

    कार्तिक ६- नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको लुम्बिनी प्रदेशको दोस्रो भेलालाई दाङको भालुवाङमा सम्बोधन ।

    असोज ९- माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को लुम्बिनी प्रदेश सम्मेलनको दाङमा उद्घाटन ।

  • माओवादीको निर्वाचन आयोग संयोजकमा विष्णुपुकार, प्रदेश समिति पदाधिकारीबारे अझै अनिर्णित

    माओवादीको निर्वाचन आयोग संयोजकमा विष्णुपुकार, प्रदेश समिति पदाधिकारीबारे अझै अनिर्णित

    काठमाडौं । नेकपा (माओवादी) केन्द्रले पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोग गठन गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको आयोग बनाएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा आयोगलाई दिएको छ। त्यस्तै पार्टीको विधानपनि परिमार्जन गरेर पेश गर्नेगरि पारित गरेको महराले जानकारी दिए ।

    ‘विधानमा केही थपघट र परिमार्जन भएको छ,’ उनले भने, ‘अझै भाषमा थपघट गर्नुपर्ने भएकाले त्यसलाई छिटो सक्ने र केही परिमार्जन गरेर आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गर्ने गरि पारित गरियो ।’

    बैठकले विभिन्न ४५ पार्टीबाट विद्रोह गरी आएकाहरूलाई समायोजन गर्नेबारे गठित कार्यदलले बुझाएको प्रतिवेदन पनि पारित गरेको छ। नियुक्त गर्न बाँकी प्रदेश समितिका पदाधिकारीबारे छलफल भए पनि आज कुनै निर्णय नभएको महराले जानकारी दिए ।

    मन्त्रिपरिषद् विस्तारबारे भने कुनै छलफल नभएको उनले बताए ।

  • माओवादी प्रवक्ताको जिम्मेवारी महरालाई

    माओवादी प्रवक्ताको जिम्मेवारी महरालाई

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ । यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठे उक्त जिम्मेवारीमा निरन्तरता दिन नचाहेपछि पछिल्लो समय जिम्मेवारीविहीन भएका महराले प्रवक्ताको जिम्मा दिइएकाे हाे।

    भदौ ५ र ६ को स्थायी समिति बैठकमा श्रेष्ठले आफूले प्रवक्ताको जिम्मेवारी त्याग्न चाहेको बताएका थिए । जवाफमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे अर्को बैठकमा निर्णय हुने बताएका थिए । तर, उनले ६ गते जारी गरेको परिपत्रमा प्रवक्ताको जिम्मेवारी महराललाई दिएका हुन्।

    महराले प्रचार विभागका अलवा राष्ट्रिय सुरक्षा विभागको पनि जिम्मेवारी पाएका छन् ।

    श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

  • नारायणकाजी र महराले दावी गरेपछि माओवादीमा मन्त्री छान्न थप सकस

    नारायणकाजी र महराले दावी गरेपछि माओवादीमा मन्त्री छान्न थप सकस

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्व सभामुख कृष्णवहादुर महरा दुवैले दावी गरेका छन् ।

    मन्त्री छान्नका लागि माओवादी स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउँदा प्रचण्डले कसैलाई थाहा नदिएको भन्दै श्रेष्ठ अशन्तुष्ट थिए ।

    माओवादीले बढीमा ७ मन्त्रालय पाउने र त्यसमा स्थायी कमिटीकै नेताहरुको प्रतिस्पर्धा भएपछि प्रचण्ड सकसमा परेका छन् । श्रेष्ठ र महराले उपप्रधानमन्त्रीसहित सरकारम जान चाहेका छन् ।

    सभामुख भइसकेका व्यक्ति मन्त्री हुन खोजेको भन्दै माओवादीभित्र महराको आलोचना भएको छ । संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेपछि सभामुखबाट राजीनामा दिएका महराले हालै उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

    यद्यपी सरकारी वकिल सर्वोच्च अदालतमा जाने तयारीमा छन् । श्रेष्ठ र महरालाई रोक्न प्रचण्डमाथि दबाब छ । महरा सभामुखसहित ५ पटक मन्त्री र तीन पटक उपप्रधानमन्त्री भइसकेका छन् । उनी अब प्रधानमन्त्री हुनमात्र बाँकी छ ।

    माओवादी स्थायी कमिटीमा रहेका सांसदमध्ये देवेन्द्र पौडेलमात्र एक पटक पनि मन्त्री बन्न नपाएका नेता हुन् । यसपटक उनलाई मन्त्री बनाउन प्रचण्ड सकारात्मक छन् ।

    गठबन्धनभित्र उपप्रधानमन्त्री नै नराख्नेबारे पनि छलफल भइरहेको छ । प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको सजिलोका लागि पनि उपप्रधानमन्त्री नराख्दा सिनियर नेतालाई सरकारमा लैजान नपर्ने भएकाले यसबारे छलफल भएको हो ।

    माओवादीबाट दुईपटक सांसद भइसकेका भोजपुरका सुदन किराती,मोरङका अमनलाल मोदी मन्त्रीका प्रवल दाबेदार हुन् । त्यस्तै कांग्रेस र माओवादीबाट चार पटक सांसद भइसकेका सिरहाका सुरेशचन्द्र दास मन्त्रीका दावेदार हुन् ।

    नारायणकाजी श्रेष्ठ मन्त्री बन्न नपाए उनको समूहबाट अन्जना विशंखेको सम्भावना छ ।

  • महरालाई भेट्न पुगे विप्लव

    महरालाई भेट्न पुगे विप्लव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रचण्ड-पक्षीय नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

    महरालाई भेट्न विप्लव आइतबार उनकै निवास पुगेका थिए । विप्लवसँग सरकारसँगको वार्ताका लागि गठित समितिका सदस्य तथा केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ पनि पुगेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक परिवेशमा छलफल भएको बताइएको छ ।

    सरकारसँगको वार्तामा ३ बुँदे सहमतिसँगै शान्तिपूर्ण खुला राजनीतिमा आएदेखि विप्लवले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन् ।

    शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका उनले संयुक्त रणनैतिक मोर्चामा रहेका दलका नेताहरूसँग छलफल गरेका थिए ।

    तत्कालीन माओवादीमा विप्लव र महरा सँगै थिए ।

  • दाङमा महराभन्दा शंकर बलिया, कसको पक्षमा कति जनप्रतिनिधि ?

    दाङमा महराभन्दा शंकर बलिया, कसको पक्षमा कति जनप्रतिनिधि ?

    दाङ । नेकपा विभाजनको असर दाङमा पनि परेको छ । दाङमा ओली पक्षीय नेकपाका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड–माधव नेपाल पक्षका कृष्णबहादुरबीच टसल छ । केन्द्रमा ओली र माधव–प्रचण्ड समूह भनिए पनि दाङमा भने शंकर–महरा समूह छ ।

    नेकपाको राम्रो प्रभाव रहेको दाङमा पनि नेता तथा जनप्रतिनिधि कित्ताकाट भएका छन् ।

    राष्ट्रियसभातर्फ

    दाङ नेकपाका तर्फबाट दुई जना राष्ट्रियसभा सदस्य छन् । ती हुन् कोमल वली र जगप्रसाद शर्मा । वलीको साथ शंकरलाई छ भने शर्माले महरालाई साथ दिएका छन् ।

    प्रतिनिधिसभातर्फ

    ३ प्रत्यक्ष निर्वाचित र ३ समानुपातिक गरी ६ जना प्रतिनिधिसभा सदस्यमध्ये ५ जना महराको पक्षमा छन् भने २ जना शंकरको पक्षमा छन् ।

    क्षेत्र नम्बर १ बाट निर्वाचित मेटमणि चौधरी, ३ बाट निर्वाचित हिराचन्द्र केसी, समानुपातिक सांसदहरु रेखा शर्मा र गंगा चौधरी महरातिर छन् । क्षेत्र नम्वर २ बाट महरा आफैं निर्वाचित भएका थिए । प्रतिनिधिसभातर्फ समानुपातिक सांसद शान्ता चौधरी र विष्णु पौडेल शंकरको खेमामा छन् ।

    प्रदेशसभातर्फ

    दाङका कुल नेकपाका ८ प्रदेश सांसदमध्ये शंकरको पक्षमा ६ जना छन् । क्षेत्र नम्बर १‘क’बाट निर्वाचित सांसद इन्द्रजित चौधरी र समानुपातिक सांसद दामा शर्मा गरी २ जना महराको पक्षमा छन् । क्षेत्र नम्बर १‘ख’बाट निर्वाचित रेवतीरमण शर्मा, क्षेत्र नम्बर २‘ख’बाट निर्वाचित अमर डाँगी, क्षेत्र नम्बर ३‘ख’बाट निर्वाचित विमला वली र समानुपातिक सांसदद्वय धमकली चौधरी र सरस्वती गौतम शंकरको पक्षमा उभिएका छन् । क्षेत्र नम्बर २‘क’बाट शंकर आफैं निर्वाचित भएका थिए ।

    हाल महरातिर लागेका इन्द्रजीत चौधरी पनि शंकरको खेमामा आउने सम्भावना प्रबल छ ।

    स्थानीय तहतर्फ

    नेकपाको नेतृवमा भएका ७ स्थानीय तहमध्ये ५ तहका प्रमुख शंकरको पक्षमा उभिएका छन् भने एक स्थानीय तह प्रमुख महराको पक्षमा छन् । एकजना भने हालसम्म तटस्थ छन् ।

    तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, दंगिशरण गाउँपालिका प्रमुख भागिराम चौधरी, बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेल र गढवा गाउँपालिका प्रमुख सहजराम यादवले शंकरलाई समर्थन गरेका छन् भने बंगलाचुली गाउँपालिका प्रमुख भक्तबहादुर वलीले मात्रै महरालाई साथ दिएका छन् ।

    कसको पक्षमा कति जनप्रतिनिधि ?

    दाङमा जनप्रतिनिधिका हिसाबले शंकर बलिया देखिएका छन् । दाङमा दुई जना राष्ट्रियसभा सदस्य, ७ जना प्रतिनिधिसभा सदस्य, ८ जना प्रदेशसभा सदस्य र ७ वटा स्थानीय तह प्रमुखगरी नेकपाका जम्मा २४ जना जनप्रतिनिधि छन् । तीमध्ये शंकरको पक्षमा १५ जना छन् भने महराको पक्षमा ९ जना रहेका छन् ।

  • सबै चलखेल देश बाहिरबाट भइरहेको छ:  पूर्वसभामुख महरा

    सबै चलखेल देश बाहिरबाट भइरहेको छ:  पूर्वसभामुख महरा

    घोराही । पूर्वसभामुख कृष्णबहादुर महराले नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको हात भएको बताएका छन् । ‘अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन,’ महराले भने, ‘देशभन्दा बाहिर-धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ ।’

    महराले आफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेकोसमेत बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३औं दिनको पुन्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभालाई संवोधन गर्दै महराले कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताएका हुन् ।

    ‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उनले भने, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्त्वपूर्ण होइन, मेरो आर्दश र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो ।’

    उनले अहिले देश दुई धुब्रमा विभाजित भएको उल्लेख गर्दै बहस र छलफलकै माध्यमबाट नयाँ निष्कर्ष निकाल्न सकिने धारणासमेत व्यक्त गरे ।

    अहिले नेकपा विभाजित भइनसके पनि विभाजनको संघारमा पुगेको उनले बताए । ‘हामी केही समयमा विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहनुहुँदैन,’ उनले भने।

    छलफल र बहसलाई तुषको रूपमा नभएर स्वच्छ रूपमा अगाडि लैजानुपर्ने महराको भनाई थियो । उनले अहिलेको अवस्थामा प्रतिकृयावादीहरूको विरुद्धमा लाग्दै जनताको सेवा गर्नुपर्ने धारणा व्यक्त गरे।

    यस्तो अवस्थामा साना कुरामा अल्झन नहुने महराले बताए । नेपाली कम्युनिष्ट आन्दोलनमा माणिकलाल गौतमका योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सच्चा कम्युनिष्टहरू एकता र सहकार्यको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।