Tag: कृष्णप्रसाद सिटौला

  • ‘दोषजति सबै प्रधानमन्त्रीको हो, राष्ट्रपतिलाई महाभियोग जरुरी छैन’

    ‘दोषजति सबै प्रधानमन्त्रीको हो, राष्ट्रपतिलाई महाभियोग जरुरी छैन’

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि राजनीतिक वृत्तमा सरगर्मी बढेको छ । सर्वोच्चको फैसलासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री हुँदैछन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ४० महिनापछि विपक्षी नेता बन्दैछन् ।

    गत पुस ५ मा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको पहिलो कदम गत फागुन ११ मा सर्वोच्चकै आदेशबाट बदर भएको थियो । त्यसयता प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोगको चर्चा चलेको थियो ।

    प्रतिनिधिसभा विघटनको दोस्रो कदमपछि सर्वोच्चले बदर गरेसँगै राष्ट्रपतिलाई महाभियोग लगाउने विषय बहसमा आएको छ । विपक्षी गठबन्धनमा रहेका केही नेताहरुले राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्ने बताउँदै आएका छन् । तर नेपाली कांग्रेस भने संस्थागत रुपमा राष्ट्रपतिविरुद्ध निर्णय लिने अवस्थामा छैन ।

    दोष प्रधानमन्त्रीको हो, राष्ट्रपतिको होइन

    विपक्षी गठबन्धन निर्माणदेखि नयाँ सरकार गठनसम्मको कसरतमा खटिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला कांग्रेसले महाभियोगबारे चर्चा समेत नगर्ने बताउँछन् । संवैधानिक हिसाबले राष्ट्रपति एक सेरेमोनियल संस्था रहेको भन्दै सिटौलाले राष्ट्रपतिविरुद्ध कांग्रेसले कुनै ‘एक्सन’ लिन जरुरी नभएको बताए ।

    प्रतिनिधिसभा विघटनका दुवै कदमको दोषी प्रधानमन्त्री ओली रहेको र सर्वोच्च अदालतबाटै ओली ‘दण्डित’ भइसकेको सिटौलाको दावी छ । ‘लोकतन्त्र र कानूनी शासनमा प्रतिशोधको अर्थ छैन । संसदको दुवै विघटनमा दोषी प्रधानमन्त्री मात्रै हो । राष्ट्रपतिका कमजोरी होलान् तर त्यसलाई दण्डनीय मान्न सकिँदैन । त्यसैले राष्ट्रपतिविरुद्ध महाभियोग जरुरी छैन’, सिटौलाले नेपाल प्रेससँग भने ।

    सर्वोच्चको आदेशलाई मुलुकलाई संविधानसम्मत हिडाउन मद्दत गरेको भन्दै सिटौलाले कांग्रेसको नेतृत्वमा मुलुक सन्तुलित ढंगले अगाडि बढ्नुपर्ने बताए । ‘फराकिलो छाती गरेर कांग्रेस अगाडि बढ्नुपर्छ । विपक्षीको बेञ्चबाट ओलीजीको रचनात्मक भूमिका अपेक्षा गरेका छौं’, सिटौलाले भने ।

    संकीर्ण दायराबाट मुलुक हाँक्न नसकिने भन्दै सिटौलाले सबैले संवैधानिक भूमिका अनुसार काम गरेर संविधान र लोकतन्त्र जोगाउनुपर्ने बताए । ‘अदालतले निर्णय दिइसकेपछि त्यसलाई स्वीकारेर जानुपर्छ । त्योभन्दा बाहिर गएर राष्ट्रपतिलाई महाभियोग लगाउने कुरा उपयुक्त हुँदैन’, उनले भने ।

    देउवाजी जोगिएर हिड्नुपर्छ

    नेता सिटौलाले प्रधानमन्त्री बन्नभन्दा जिम्मेवारी पूरा गर्न गाह््रो हुने बताए । कांग्रेस नेतृत्वमा सरकार बन्दैमा सबैथोक प्राप्त भएजस्तो गर्न नहुने उनको सुझाव छ । ‘सरकारमा पुग्यौं भनेर धेरै मात्तिनु भएन । प्रधानमन्त्रीलाई खराब व्यापारी र ठेकेदारले घेरा हाल्ने चलन छ । देउवाजीले त्यो घेरा तोडेर जनताको दुःख निवारणका लागि काम गर्नुपर्छ’, सिटौलाले भने ।

    कोभिडका कारण उत्पन्न विभिन्न समस्याबाट जनता आक्रान्त रहेकोले देउवा सरकारको प्राथमिकता कोभिडको कष्ट हटाउनेमा केन्द्रीत हुनुपर्ने सिटौलाको सुझाव छ । ‘प्रधानमन्त्री त उहाँ धेरैपटक भइसक्नुभएको छ । यसपटक परिस्थिति फरक छ । उहाँले जनताको दुःख र भोगाईसँग जोडिएर काम गर्नुपर्छ,’ उनले भने ।

    पार्टीभित्र र बाहिरका सबैलाई समेटेर लैजाने परिपक्वता देउवाबाट अपेक्षा गरेको भन्दै सिटौलाले नयाँ सरकारको कामसंग कांग्रेस र लोकतन्त्रको भविष्य जोडिएको उल्लेख गरे ।

  • सिटौलाको सन्देश : फैसला जे आएपनि मुलुक निर्वाचनमा जान्छ

    सिटौलाको सन्देश : फैसला जे आएपनि मुलुक निर्वाचनमा जान्छ

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेपाली राजनीतिका परिपक्व ‘खेलाडी’ मानिन्छन् । पार्टी र सरकारको मूल नेतृत्वमा नपुगेपनि राजनीतिको केन्द्रमा छाइराख्न सिटौला माहिर छन् ।

    नेपाली कांग्रेसका तत्काली सभापति गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा लोकतन्त्र प्राप्तिपछि गृहमन्त्री बनेका सिटौलाले नै गणतन्त्र स्थापनाका लागि ‘राजाले नारायणहिटी छाड्ने’ चाँजोपाँचो मिलाएका थिए । कांग्रेसको १२ औं महाधिवेशनपछि तत्कालीन सभापति सुशिल कोइरालाले सिटौलालाई पार्टीको महामन्त्री नै मनोनित गरे । दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिको सभापतिका रुपमा सिटौलाले नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको ड्राफ्ट लेखेका थिए । राष्ट्रिय राजनीतिका महत्वपूर्ण र ऐतिहासिक घटनामा निर्णायक भूमिका देखिएका सिटौला कांग्रेसभित्र पनि निर्णायक पोजिसनमा छन् ।

    १३ औं महाधिवेशनमा कांग्रेसभित्रको परम्परागत २ गुटको रस्साकस्सी अन्त्य गराउँदै सिटौलाले तेस्रो समूह निर्माण गरे । सभापतिमा प्रतिस्पर्धा मात्रै गरेनन्, दोस्रो चरणको निर्वाचन अगावै देउवालाई समर्थन पनि दिए । सिटौलाको निर्णायक समर्थनपछि शेरबहादुर देउवा कांग्रेस सभापति बने । त्यसयता तेस्रो धार भनिने आफू नेतृत्वको समूहलाई पार्टीभित्र स्थापित गराउन र भागबण्डा लिन उनी सफल भए । नेपाल विद्यार्थी संघ र महिला संघमा देउवासंग मिलेर अत्यधिक लाभ लिन सफल सिटौलाको समूहले तरुण दलमा पनि उपाध्यक्ष पायो । माओवादीसंगको गठबन्धन सरकारमा सिटौला टिमबाट भीमसेनदास प्रधान रक्षामन्त्री बने भने गगन थापा स्वास्थ्य मन्त्री बने । नेविसंघको पुनर्गठनमा पनि २ महामन्त्रीसहित सिटौलाले आफ्नो समूहको सम्मानजनक उपस्थिति गराएकै छन् ।

    यसरी पार्टीको संरचनादेखि सरकारसम्म जोगाएर ल्याएको सिटौलाको ‘तेस्रो धार’ फेरी निर्णायक अवस्थामा छ । कांग्रेसको १४ औं महाधिवेशनमा यो समूहले लिने निर्णयले परिणाममा असर पार्ने निश्चित छ । यहीकारण सिटौलाले पछिल्लो समय समूहगत छलफल र भेलालाई तीव्रता दिएका छन् ।

    बत्तीसपुतलीमा चुनावी चर्चा

    कांग्रेसको महाधिवेशन र राष्ट्रिय राजनीतिका विषयमा मंगलबार आफ्नो समूहका नेता कार्यकर्ताहरुसंग सिटौला खुलेर प्रस्तुत भए । बत्तीस पुतलीस्थि सम्पर्क कार्यालयमा ५० बढी नेता कार्यकर्तासंग सिटौलाले पार्टी महाधिवेशनको विषयमा मात्रै छलफल गरेन्न, राष्ट्रिय राजनीति बारे भविष्यवाणी समेत गरे । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे आफ्नो विश्लेषण सुनाउने क्रममा सिटौलाले मुलुक निर्वाचनमा गइसकेको बताए । ‘सर्वोच्चको आदेश जे आएपछि मुलुक निर्वाचनमा जानेछ । जस्तोसुकै आदेश आएपनि राजनीति चुनावतिर अग्रसर छ । महाधिवेशनसंगै चुनावको तयारी पनि हामीले गर्नुपर्छ’ सिटौलाले भने । उनले अदालतले प्रतिनिधिसभा विघटन सदर गरे सोझै निर्वाचन, देउवालाई प्रधानमन्त्री घोषणा गरे विश्वासको मत निश्चित नदेखिएका कारण निर्वाचन र संसदलाई नै अधिकार दिएपनि वैकल्पिक सरकार गठनमा बाधा पुगेर निर्वाचनमा जानुको विकल्प नरहेको बताए । ‘चुनाव हुनेवाला छ । ग्राउण्डमा धेरै झगडा नगरौं,पछि चुनाव लड्दा अन्तर्घात नहोस्’, सिटौलाको भनाई थियो । नेकपा एमालेमा एकता प्रयास सकरात्मक ढंगले अगाडि बढेकोले अदालतको आदेशपछि ओलीको सरकार रहँदा वा देउवाको सरकार बन्दापनि विश्वासको मत पाउन असहज हुने सिटौंलाको आँकलन छ ।

    बाली लगाउने हो, मिलाएर आउनु

    भेलामा सहभागि अधिकांश कार्यकर्ताले आसन्न महाधिवेशनबारे चासो राखे । ‘तपाईं सभापतिको उम्मेदवार हो कि होइन ? हाम्रो समूहले महाधिवेशनमा कसरी जान्छ ?’ अधिकांशको जिज्ञासा थियो । जवाफमा सिटौलाले भूमिका बाँधेर जवाफ दिए । ‘कुनैपनि किसानले खेतबारी जोत्छ, डल्लो फुटाउँछ र जमीन रोप्नका लागि तयारी गर्छ भने त्यो किसानलाई बाली लाउने होकि होइन भनेर सोधिरहन जरुरी छैन । तपाईंहरु यत्ति बुझ्नुस्, अगाडि बढ्नुस्’, सिटौलाले भने । उनले क्रियाशील सदस्यता विवाद टुंगिएपछि तयारी अझ बढ्ने र स्थानीय अधिवेशन सकिएपछि टिम नै तयार हुने बताए । कार्यकर्तालाई तल्लो अधिवेशनमा जोसंग मिल्दा प्रतिनिधि जितिन्छ उसैसंग मिल्नपनि सिटौलाले निर्देशन दिए । ‘तल धेरै झैझगडा गर्नुपर्दैन । जोसंग मिल्दा हामी जित्छौं उसैसंग मिलेर प्रतिनिधी आउनस् । बाँकी कुरा त्यसपछि हुन्छ’, सिटौलाको भनाई थियो ।

    भेलामा सिटौला समूहका नेताहरु उमाकान्त चौधरी, शिवप्रसाद हुमागाँई , भीमसेनदास प्रधान, महिला संघकी महासचिव धना खतिवडा, गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडी, पूर्व सभाषद चन्द्र महर्जन, युवा नेता कुन्दन काफ्ले, तरुण दल उपाध्यक्ष उत्तम चापागाई, नेविसंघ महामन्त्री बलदेव तिमिल्सिना लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

  • फेरि सभापति बनेर कांग्रेसलाई एक नम्बर बनाउने देउवाको इच्छा, सिटौलाको साथ खोज्ने

    फेरि सभापति बनेर कांग्रेसलाई एक नम्बर बनाउने देउवाको इच्छा, सिटौलाको साथ खोज्ने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने विषयमा आफ्नो समूहका नेताहरुसंगको छलफललाई तीव्रता दिइरहेका छन् । शनिबार प्रदेश १ र २ का आफूनिकट केन्द्रीय सदस्यहरुसंग छलफल गरेका देउवाले आज बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसंग छलफल गरे ।

    देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजेदेखि ४ घण्टासम्म भएको छलफलमा सभापति देउवाले उम्मेदवारी घोषणा गर्दै सुझाव दिन आग्रह गरेका थिए । बैठकमा सहभागि अधिकांश केन्द्रीय सदस्यहरुले देउवाको दावी स्वभाविक भएकोले पार्टीका सबै पक्षलाई सकारात्मक बनाउन पहल गर्नुपर्नेमा जोड दिए । पार्टी र विपक्षी गठबन्धन दुवैलाई देउवाले नेतृत्व गरेर अगाडि बढ्नु नै उपयुक्त हुने अधिकांशको सुझाव थियो ।

    सिटौला समूहसँग सहकार्यको रणनीति

    बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले अघिल्लो महाधिवेशनमा जस्तो दोस्रो चरणमा नभई पहिलो चरणमै जित्नेगरी तयारी गर्नुपर्ने सुझाव दिएका छन् । केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर भण्डारी लगायतले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहलाई समेटेर जानुपर्नेमा जोड दिएका थिए ।

    अघिल्लो महाधिवेशनमा देउवाले रामचन्द्र पौडेल र सिटौलालाई सभापतिमा पराजित गरेका थिए । पहिलो चरणमा नतिजा ननिस्किएपछि दोस्रो चरणमा सिटौला समूहले देउवालाई सहयोग गरेको थियो । आसन्न महाधिवेशनमा भने सिटौला समूहलाई पहिले नै सहमत गराउनुपर्ने देउवा पक्षको निष्कर्ष छ ।

    ‘हामीप्रति सिटौलाभन्दा पौडेलपक्ष बढी आक्रामक छ । पौडेल र सिटौलाबीच कुरा मिल्ने सम्भावना पनि कम छ । त्यसैले सिटौलाजीलाई मिलाएर लैजान सुझाव दियौं’, बैठकमा सहभागी एक नेताले भने । ती नेताका अनुसार सभापति देउवाले अघिल्लो महाधिवेशनमा सिटौलाले गरेको सहयोग आफूले नबिर्सेको बताएका थिए । देउवा पक्षको आजको बैठकमा सिटौला समूहका नेता शिव हुमागाईं सहभागी थिए । उनले देउवा-सिटौला सहकार्यबारे छलफल गर्ने बेला भइनसकेको बताए ।

    ‘फेरी एकपटक सभापति बनेर पार्टीलाई अबको चुनाव जिताउँछु भन्ने सभापतिजीको भनाई थियो । हामीले सबैसँग छलफल गरेर अगाडि बढ्नुस भन्ने सुझाव दिए,’ हुमगाईंले भने ।

    राष्ट्रिय र पार्टी राजनीतिमा सिटौलाको भूमिका निर्णायक हुने भन्दै हुमागाइँले आफूले सिटौलाकै नेतृत्वमा कांग्रेस अगाडि बढेको हेर्न चाहेको बताए । ‘कृष्णप्रसाद सिटौंलाको योगदान आन्दोलनदेखि शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म नेतृत्वदायी रहेको छ । त्यसैले आज कांग्रेसको नेतृत्वको विषय आउँदा उहाँको भूमिकालाई कसैले कमजोर आँक्न मिल्दैन । तर अहिले नै कसले कसलाई सघाउने भनेर छलफल भएको छैन’, हुमगाइँले भने ।

    देउवा समूहका केही नेताले सिटौलालाई भावी प्रधानमन्त्री वा कार्यवाहक सभापतिको रुपमा प्रस्तुत गरेर जान सकिने बताउँदै आएका छन् ।

    विधानले बाटो छेकेको छैनः देउवा

    बैठकमा सभापति देउवाले अझै एक कार्यकाल सभापति बनेर पार्टीलाई सफल बनाउने आफ्नो ईच्छा रहेको बताए । अघिल्लो महाधिवेशलगत्तै मुलुक निर्वाचनमा होमिएको र वामगठबन्धनका कारण पार्टी कमजोर भएको भन्दै आफूलाई सबैले असफल भन्ने गरेको गुनासो देउवाको थियो ।

    ‘मेरै कारणले पार्टीले चुनाव हारेको झैं देखाउन खोजिएको छ । त्यसैले यो पार्टीलाई चुनाव जिताएर नम्बर एक बनाउन म फेरी सभापति बन्न खोजेको हुँ’, बैठकमा देउवाले भने । उनले पार्टीको विधानमै दुई कार्यकाल सभापति हुनसक्ने व्यवस्था भएकोले कसैले अन्यथा सोच्न नहुने स्पष्ट पारेका थिए । केन्द्रीय सदस्य किरण गिरीले सभापति देउवाको दावी स्वभाविक रहेको बताए ।

    ‘पार्टीलाई बलियो बनाउन एकपटक जिम्मेवारी लिन्छु भन्नु गलत होइन । हिजो चुनाव हारेको उहाँको व्यक्तिगत कारण पनि होइन । त्यसैले अधिकांश केन्द्रीय सदस्यहरुले उहाँको उम्मेदवारीलाई स्वागत गरेका छौं’, गिरीले नेपाल प्रेससंग भने ।

    अर्को पक्ष शान्त

    महाधिवेशन कार्यतालिका पारित भएलगत्तै सभापति देउवाले आफ्नो सक्रियता बढाइरहँदा देउवाइतर पक्ष भने खास तरंगित देखिदैन । देउवाइतर पक्षमा सभापतिका आकांक्षी धेरै भएका कारण पनि अलमल बढेको देखिन्छ ।

    ‘शेरबहादुर दाईलाई चुनाव लागिसक्यो । हाम्रोमा त नेतै धेरै छन् । को लड्ने को नलड्ने भन्ने अहिलेसम्म निधो भएको छैन । त्यसैले शान्त छन् सबै,’ देउवा इत्तर समूहका एक नेताले भने । इतरपक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइराला सभापति पदका आकांक्षी छन् । देउवाले जारी राखेको छलफललाई ‘वाच’ गरेको बताउने इतर पक्षका एक नेताले केहीदिनमै आफ्नो समूहको बैठक बसेर साझा धारणा बनाउन प्रयास हुने बताए ।

  • ओलीजी तानाशाह बन्न खोज्नुभयो: सिटौला

    ओलीजी तानाशाह बन्न खोज्नुभयो: सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

    गणेशमान सिंह तथा स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै नेता सिटौलाले संविधान विपरीतको कदम चाल्नेले निर्वाचन गरेर देशलाई ट्रयाकमा ल्याउने विश्वास आफूलाई नलागेको बताए ।

    ‘म कुनै कन्फ्युजनमा छैन । संविधानमै नभएको संसद विघटनको कदमले प्रधानमन्त्री ओलीलाई तानाशाही बनाएको छ । संविधान नै कब्जा गर्नेले कस्तो निर्वाचन गर्ला ?’, सिटौलाले भने ।

    संविधान मस्यौदा समितिका सभापति रहँदाको स्मरण गर्दै सिटौलाले संविधान बनाउँदा नै प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिइएको बताए ।

    संसद विघटनको क्रमले नेपालमा संसदीय व्यवस्थालाई बदनाम गराएको आरोप लागेकै कारण अहिलेको संविधानमा प्रधानमन्त्रीले विघटन गर्ने प्रावधान नराखिएको उनको भनाई छ ।

    नेता सिटौलाले नेकपाको घर झगडाको कारण मुलुक बन्धक बन्न नहुने बताए । ‘प्रधानमन्त्रीले आफ्नो पार्टीको घर झगडा मिलाउन नसकेर संसदमाथि रिस पोख्नुभयो । यो संविधान विपरीतको कदम हो’, सिटौलाले भने । उनले अदालत स्वतन्त्र रहेको भन्दै संविधानको मर्म अनुसार नै निर्णय दिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेका कांग्रेस नेता भिमसेनदास प्रधानले संसद विघटनपछि जनताको नजर सर्वोच्च अदालतमा रहेको भन्दै जनताको पक्षमा फैसला आउनुपर्ने बताए ।