Tag: कृष्णचन्द्र नेपाली पोखरेल

  • ‘गठबन्धनका सूत्रधार रामचन्द्र हुन्, एमालेविरुद्ध तीनै तहका चुनावमा संयुक्त लड्नुपर्छ’

    ‘गठबन्धनका सूत्रधार रामचन्द्र हुन्, एमालेविरुद्ध तीनै तहका चुनावमा संयुक्त लड्नुपर्छ’

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अहिलेको सत्ता गठबन्धनलाई राष्ट्रियसभासम्म मात्र नभएर आगामी तीनै तहका निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् । एमालेको दम्भ र अधिनायकवादी शासन रोक्न अहिलेको गठबन्धन संघ र प्रदेशसम्म मात्र नभएर स्थानीय तहको चुनावसम्मै लैजानुपर्ने बताएका हुन् ।

    नेपाल प्रेससँगको नेपाल टकमा भिडिओ अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेसका नेता समेत रहेका नेपालीले सत्ताका लागिमात्र गठबन्धन गरेको भन्ने कुराले जनतामा नकारात्मक सन्देश जाने भन्दै चुनावसम्म गठबन्धन कायम राख्नुपर्ने बताए ।

    उनले भने, ‘नेकपा एमालेको विरुद्ध बनेको यो गठबन्धन सत्ताको लागिमात्र हो भन्ने पार्नु हुँदैन । अहिले पनि एमालेले लोकतन्त्रको आवरणमा अधिनायकवादको प्रयास गरिरहेको छ । त्यसलाई रोक्न पनि अहिलेको गठबन्धनलाई कायमै राख्नुपर्छ । आउने तीनै तहका चुनावमा गठबन्धन गर्नुपर्छ । यद्यपि यो सजिलो विषय होइन ।

    कांग्रेसभित्र चुनावसम्म गठबन्धन गर्ने कि एक्लै एमालेसँग प्रतिस्पर्धा गर्ने भन्ने दुईधार रहेको भन्दै मुख्यमन्त्री नेपालीले सभापतिमा जसले जिते पनि गठबन्धन भने कायमै रहने दाबी गरे । उनले देउवा नजिते गठबन्धन भत्किने र केपी ओली पुनः सत्तामा फर्किने भन्ने देउवानिकट नेताहरुको दावी भने चुनावी खपतका लागिमात्र भएको बताए ।

    नेपालीले भने, ‘हाम्रो सभापति त सुरूमा कम्युनिष्टहरूमा गठबन्धन गर्ने कुराको विपक्षमै उभिनुभएको हो नि । रामचन्द्र पौडेलले नै हो प्रतिनिधिसभा विघटनविरुद्ध ओलीविरुद्ध गठबन्धन गर्ने प्रस्ताव राखेको । त्यसमा देउवाजी पछि प्रधानमन्त्री बन्ने बेलामामात्र आउनुभएको हो । त्यसैले देउवा हारे गठबन्धन भत्किन्छ भन्ने कुरा चुनावी स्टन्टमात्र हो ।

    मुख्यमन्त्री नेपालीले गठबन्धनलाई राष्ट्रियसभा चुनावसम्म वा सरकार गठनमा मात्र सिमित राख्दा माओवादी र नेकपा एसमाथि धोखा हुने बताए । माधव नेपालले ठूलो जोखिम मोलेर सत्ता गठबन्धन बनेकोले गठबन्धन चुनावसम्म नलैजादा उनको दल संकटमा पर्ने नेपालीको भनाइ छ ।

    कांग्रेसको पहिलो मुख्यमन्त्री नेपालीले कम्युनिष्ट पार्टीहरूसँग कांग्रेसको सहकार्य लामो भए पनि अहिले माओवादी र नेकपा एससँगको गठबन्धन कम्फरटेबल रहेको बताए । एमाले कांग्रेसको मुख्य प्रतिस्पर्धी समेत भएकाले एमाले भन्दा अरु कम्युनिस्ट पार्टी कांग्रेसलाई सहज भएको उनले बताए ।

    कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनिरहेका नेपाली रामचन्द्र पौडेलनिकट नेता हुन् । उनले संस्थापनइतर पक्षबाट साझा उम्मेदवारको प्रयास जारी नै रहेको भन्दै पौडेलमाथि न्याय हुनुपर्ने बताए । शशांक कोइरालाले समेत पौडेललाई छाडेकाले त्यहिँबाट सहमति खोजिनुपर्ने बताए ।

    प्रस्तुत छ,

    गण्डकीका मुख्यमन्त्री पोखरेलसँगको भिडिओ अन्तर्वार्ता

  • मुख्यमन्त्री असल हुनुहुन्छ तर विश्वासको मत दिन सकिँदैन : पृथ्वीसुब्बा गुरुङ

    मुख्यमन्त्री असल हुनुहुन्छ तर विश्वासको मत दिन सकिँदैन : पृथ्वीसुब्बा गुरुङ

    पोखरा । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवसरवादी गठबन्धनको सरकारलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावबारे बोल्दै गुरुङले सफल कार्यकालको शुभकामना दिएपनि विश्वासको मत दिन नसक्ने स्पष्ट पारे । ‘मुख्यमन्त्रीजी गण्डकी प्रदेशसभाकै पाको, लोकतान्त्रिक आन्दोलनमा योगदान गरेको र शालीन व्यक्तित्व हुनुहुन्छ । व्यक्तिगतरूपमा उहाँ असल भएपनि अवसरवादी गठबन्धन सरकारको नेतृत्व गरेकाले विश्वासको मत दिन नसक्ने स्पष्ट पार्छु’, गुरुङले भने । उनले तनहुँमा मुख्यमन्त्री पोखरेलको परिवारले राजनीतिक रुपमा गरेको योगदान उल्लेखनीय भएको बताए ।

    संघीयता बलियो बनाउनकै लागि आफू मुख्यमन्त्री हुँदा काम गरेको भन्दै गुरुङले प्रदेश सरकारलाई आफूहरूले खबरदारी गर्ने बताए । ‘निरपेक्ष समर्थन वा निरपेक्ष विरोधको पक्षमा हामी छैनौं । सरकारले जनताको पक्षमा काम गरोस् हामी साथमा छौं । तर, गलत बाटोमा हिड्नुभयो भने हाम्रो झगडा पर्छ’, गुरुङले भने ।

    उनले काठमाडौंको मानसिकता बोकेर प्रदेश सरकार चलाउन नसकिने भन्दै केन्द्रको ह्याङबाट मुक्त हुन मुख्यमन्त्रीलाई सुझाव दिए ।

  • गण्डकी प्रदेशको विपद् कोषमा पाँच करोड, क्षति अवलोकन गर्न मुख्यमन्त्री मनाङ उडे

    गण्डकी प्रदेशको विपद् कोषमा पाँच करोड, क्षति अवलोकन गर्न मुख्यमन्त्री मनाङ उडे

    गण्डकी । प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ-ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय गरिएको हो ।

    प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

    हिमाल पारीको जिल्ला मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली आजै मनाङ जाने भएको छ । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङ जान लागिएको हो ।

    वैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई विपद्को यस अवस्थामा तत्काल उद्वार एवम् सहयोगमा लाग्न र पूर्वतयारीमा रहन निर्देशन दिए । वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रबन्ध मिलाउन उनले निर्देशन दिए ।

    नवनियुक्त मुख्यमन्त्री पोखरेलले पदबहाली भएकै दिनमा गरिएको निर्णय अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्यवनमा ल्याउन पनि निर्देशन दिएका छन् । सरकारले प्रदेशका नौ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।

  • पूर्वप्रधानमन्त्रीजस्तै पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे गण्डकीको मन्त्रिपरिषदमा सहमति

    पूर्वप्रधानमन्त्रीजस्तै पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे गण्डकीको मन्त्रिपरिषदमा सहमति

    काठमाडौं । गण्डकीमा नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे छलफल अघि बढाएको छ । यसबारे निर्णय भने भइनसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

    ‘पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे कुनै व्यवस्था अहिलेसम्म गरिएको रहेनछ । संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई अधिकतम सम्मान र सुविधा दिनुपर्छ भनेर हामीले छलफल गर्‍यौं,’ उनले भने, ‘सामान्य समझदारी भए पनि निर्णय हुन बाँकी छ ।’

    पूर्वमुख्यमन्त्रीको सम्मानमा सरकारले कुनै पनि कमि नगर्ने उनले बताए । यसबारे एउटा नीति ल्याएर ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने खड्काको भनाइ छ ।

    ‘पूर्वप्रधानमन्त्रीलाई संघमा के व्यवस्था छ त्यो अध्ययन गर्ने अनि हामीबीच सल्लाह गरेर पदको सम्मान गर रिमा कायम रहने गरी सम्मान दिने कुरा भएको छ,’ उनले भने, ‘हामी फरक राजनीकि पार्टी भए पनि आपसी सहयोग र सद्भावमा साढे ३ वर्ष यात्रा गर्‍यौं । अब पनि प्रमुख प्रतिपक्षीसँग समन्वय र सम्मान गरेरै अगाडि बढ्न चाहन्छौं ।’

    सरकारे नीति तथा कार्यक्रम र बजेट ल्याउनेबारे पनि कुराकानी भएको उनले जानकारी दिए । अर्थमन्त्रीको जिम्मेवारी कसैलाई नदिएकाले मुख्यमन्त्रीले नै बजेटको वाचन गर्न सक्ने उनको भनाइ छ ।

    ‘अहिले अर्थमन्त्रालय खाली छ । १ गते नै बजेट ल्याउनुपर्ने अवस्थामा वाचन मुख्यमन्त्रीले नै गर्नुहन्छ,’ उनले भने । नीति तथा कार्यक्रम र बजेटलाई पर सार्न सकिने विकल्पका विषयमा प्रमुख प्रतिपक्ष एमालेसँग छलफल हुने खड्काले बताए । हिजोकै मन्त्रिपरिषद् बैठकले बिनाविभागीय मन्त्री खड्कालाई सरकारको प्रवक्ता तोकेको हो ।

  • गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीले दिए बधाई

    गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीले दिए बधाई

    जनकपुरधाम । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्री विजय कुमार यादवले बधाई दिएका छन् ।

    मुख्यमन्त्री राउतले विज्ञप्ती नै जारी गरेर गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । यस्तै प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री विजय कुमार यादवले पनि सामाजिक सञ्जाल मार्फत मुख्यमन्त्री पोखरेललाई बधाई दिएका छन् ।

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका पोखरेल शनिबार नियुक्त भएका हुन् । उनलाई जनता समाजवादी पार्टीको पनि समर्थन रहेको छ ।

  • निवर्तमान मुख्यमन्त्री गुरुङले नयाँ मुख्यमन्त्रीलाई फोनबाट दिए बधाई (भिडिओ)

    निवर्तमान मुख्यमन्त्री गुरुङले नयाँ मुख्यमन्त्रीलाई फोनबाट दिए बधाई (भिडिओ)

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् । प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि गुरुङले फोनमार्फत बधाइ दिएका हुन् ।

    यसअघि गुरुङले आफू फेरी मुख्यमन्त्री बन्न प्रयास गरेका थिए । उनले जसपा र जनमोर्चाको समर्थन आफूलाई रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेपछि प्रदेश प्रमूखले त्यसलाई मान्यता दिइनन् ।

  • मनाङेसहितको दलबल लिएर प्रदेश प्रमुखको कार्यालय पुगे कृष्णचन्द्र

    मनाङेसहितको दलबल लिएर प्रदेश प्रमुखको कार्यालय पुगे कृष्णचन्द्र

    काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल अग्रसर बनेका छन् । मुख्यमन्त्रीमा दावी पेस गर्न उनी दलबलसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

    स्वतन्त्र सांसद दीपक मनाङेसहितको टिम लिएर पोखरेल प्रदेश प्रमुख कार्यालयमा गएका हुन् । उनीसँग कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू पनि छन् ।

    मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो विश्वासको मत पाउन नसकेपछि हिजो गण्डकी सरकार ढलको थियो । मनाङेको समर्थनसँगै कृष्णचन्द्रसँग नयाँ सरकार गठनका लागि बहुमत जुटेको छ ।

  • गण्डकीमा कृष्णचन्द्र मुख्यमन्त्री बन्ने लगभग निश्चित, को हुन् उनी ?

    गण्डकीमा कृष्णचन्द्र मुख्यमन्त्री बन्ने लगभग निश्चित, को हुन् उनी ?

    काठमाडौं । गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले गृहकार्य सुरू गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

    वैकल्पिक सरकारको नेतृत्व लिन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल अघि सरेका छन् । कांग्रेससहित माओवादी, जसपा र जनमोर्चाको समर्थन उनलाई छ । स्वतन्त्र संसद दीपक मनाङेले पनि हिजो पदबाट राजीनामा दिँदे विपक्षी गठवन्धन लाग्ने घोषणा गरेका छन् । उनको समर्थनसँगै कृष्णचन्द्रको पक्षमा बहुमत जुटेको छ ।

    हिजो भएको मतदानमा सरकारको पक्षमा २७ र विपक्षमा ३० भोट परेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । हिजोको मतदानको आँकडाका आधारमा विपक्षी गठबन्धनलाई बहुमतमा लागि १ मत अपुग देखिएको थियो । मनाङेको समर्थनसँगै त्यो सुनिश्चित भएको हो ।

    हिजो कांग्रेसका १५, माओवादीका ११ जसपाका २ र जनमोर्चाका २ सांसदले सरकारको विपक्षमा मतदान गरेका थिए । उनीहरु सबैले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने विश्वास पोखरेलको छ ।

    पोखरेलले आफूहरूसँग सरकार गठनका लागि आवश्यक बहुमत रहेको बताए । उनले भने, ‘हामीसँग बहुमत छ । प्रदेश प्रमुखले आह्वान गरेपछि दावी पेस गर्छौं ।

    दीपक मनाङे तपाईंहरूको सम्पर्कमा हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘हुनुहुन्छ-हुनुहुन्छ, सबै हुनुहुन्छ ।’

    अहिले गण्डकी प्रदेशसभाको वैठक सुरू हुँदैछ । संविधानअनुसार अब प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि बहुमतको समर्थनसहित दावी पेश गर्न आह्वान हुने छ । कुनै पनि प्रदेश सांसदले बहुमत देखाएर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दावी पेस गर्न सक्छन् ।

    यसअघि पनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएको थियो । एक महिनाअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गर्दा कसैले पनि दावी पेस गर्न सकेका थिएनन् । त्यसपछि संसदको ठूलो पार्टीको हैसियतमा गुरुङ नै पुन मुख्यमन्त्री नियुक्त भएका थिए ।

    अहिले जनमोर्चाका दुई सांसद र मनाङे विपक्षी गठवन्धनमा खुलेका छन् । जनमोर्चाका एक सांसद भने तटस्थ छन् । यसअघि पार्टीको ह्वीप उल्लंघन गरेको भनेर सांसदबाट बर्खास्त भएका थापालाई अदालतले पुनर्वहाली गरेको थियो । हिजोको मतदानमा पनि उनले जनमोर्चाको ह्वीप नमानी तटस्थ बसेका थिए । पार्टीले फेरि उनलाई कारवाही गरेको छ ।

    तर, अब मनाङे आएपछि थापाको समर्थनबिना पनि पोखरेलसँग बहुमत जुटेको छ ।

    को हुन् कृष्णचन्द्र पोखरेल ?

    नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।

    २००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

    २०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

  • प्रतिगमनलाई साथ दिने सबै सरकार ढाल्नुपर्छ : कांग्रेस नेता पोखरेल

    प्रतिगमनलाई साथ दिने सबै सरकार ढाल्नुपर्छ : कांग्रेस नेता पोखरेल

    पोखरा । नेपाली कांग्रेसले संविधान र लोकतन्त्रविरुद्ध उभिने संघीय सरकारलाई समर्थन गर्ने सबै प्रदेश सरकारको विकल्प खोज्ने बताएको छ ।

    गण्डकी प्रदेशसभा विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई समर्थन गरेका कारण गण्डकी प्रदेश सरकारको विकल्प खोज्नु अनिवार्य भएको बताए ।

    ‘जसरी संघमा प्रधानमन्त्रीले संसद छलेर हिड्नुभयो त्यसरी नै मुख्यमन्त्रीजीले प्रदेशसभाको अवमूल्यन गरिरहनुभयो । संविधान, संसद र लोकतन्त्रसंग भागेर हिँड्ने सबै सरकारविरुद्ध हामीले मोर्चाबन्दी गरेका छौं’, पोखरेलले भने ।

    उनले मुख्यमन्त्रीले प्रदेशससभामा सुनाएका सफलता झूठो रहेको दावी समेत गरे । ‘सरकारले प्रदेशसभामा पढेर सुनाएका सफलताहरु जनताले अनुभूति गर्न पाएका छन् । भन्नका लागि सफल भयौ भनेर हुँदैन, गण्डकी प्रदेश सरकार असफल भएको छ’, उनले भने ।

    पोखरेलले बोलेसँगै विश्वासको मत सम्बन्धी प्रस्तावउपर धारणा राख्ने समय सकिएको छ । बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।