Tag: किसान महासंघ

  • धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति दिन किसान महासंघको माग

    धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति दिन किसान महासंघको माग

    काठमाडौं । नेकपा एमाले आबद्ध अखिल नेपाल किसान महासंघले वर्षा र डुबानका कारण अर्बौंको धानबाली नष्ट भएको भन्दै धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ ।

    महासंघका अध्यक्ष प्रेम दंगालले वर्षा, बाढी र डुवानले धानमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    दंगालले विज्ञप्तिमा भनेका छन्– किसानको व्यवसाय पुनस्र्थापनासमेतका विभिन्न अल्पकालीन र दीर्घकालीन प्याकेज कार्यक्रम अविलम्व घोषणा गर्न नेपाल सरकारसमक्ष माग गर्दछ । धान उत्पादन गर्ने किसानमाथि परेको यो प्राकृतिक विपत्तिमा साथ सहयोग गर्न सम्पूर्ण सरोकारवाला निकायहरुसमक्ष अखिल नेपाल किसान महासंघ हार्दिक अपील गर्दछ ।

    वर्षासमेत बाढी र डुवानका कारण भित्र्याउने अवस्थामा रहेको ठुलो पैमानाको धान खेतमै नष्ट भएको धान थन्काउने वेलाको वेमौसमी वर्षाले खेतमा काटेर राखेको धान वा काट्ने अवस्थामा रहेको धानमासमेत नोक्सानी भएको महासंघले जनाएको छ ।

    धान थन्काउने समयमा अप्रत्याशित रुपमा भएको अविरल बर्षा, बाढी र डुवानले किसानसमेत मुलुकको अर्थतन्त्रले क्षति व्यहोर्नु परेको भन्दै महासंघले मुलुकको प्रमुख खाद्यवालीको रुपमा रहेको धानमा भएको यस प्रकारको क्षतिले खाद्य सुरक्षामा समेत आँच आउन सक्ने चेतावनी दिएको छ ।

  • किसान महासंघको माग– पेन्सन देऊ, स्मार्ट कार्ड लागू गर

    किसान महासंघको माग– पेन्सन देऊ, स्मार्ट कार्ड लागू गर

    चितवन । अखिल नेपाल किसान महासंघले किसानलाई पेन्सन सुविधा माग गरेको छ । भरतपुरमा आयोजित महासंघको राष्ट्रिय भेलामा केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले सरकारी जागिरमा जस्तै किसानलाई पनि पेन्सन सुविधा दिनुपर्ने बताए ।

    ‘राष्ट्रलाई योयदान गरेको भन्दै जागिर खानेलाई सरकारले पेन्सन दिन्छ’, उनले भने, ‘जीवनभर रगत–पसिना सिञ्चित गरेर अर्थतन्त्र उकास्ने किसानलाई पनि अब पेन्सन दिनुपर्छ, किसान आन्दोलनको मुख्य माग नै यही हो ।’

    उनले किसानको वर्गीकरण, सूचीकरण गरेर परिचयपत्रको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । ‘अब क्रेडिट, स्मार्ट कार्ढ किसानलाई दिनुपर्छ’, उनले भने, ‘राज्यका अनुदान परिचयपत्रका आधारमा वितरण हुनुपर्छ ।’

    उनले धानको मूल्य समेत बढाउन माग गरेका छन् । सरकारले गत वर्षको तुलनामा १७ रुपैयाँ मात्रै बढाएर धानको मूल्य तोकेको भन्दै उनले गत वर्षभन्दा कम्तिमा २५ प्रतिशत बढाएर धानको मूल्य तोक्न सुझाएका छन् । मूल्य परिमार्जन नगरे आन्दोलनमा उत्रने उनले चेतावनी दिए । उनले सबै खाद्यवालीको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने बताए । मलको हाहाकारलाई छिटै सम्बोधन गरेर सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने उनले बताए ।

    किसान आन्दोलनलाई अब निर्णयक तहमा पुर्याएर कृषिमा क्रान्ति गरिने उनको दाबी छ ।

    राष्ट्रिय भेलाको एमाले स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले उद्घान गरेका हुन् । भेलालाई सम्बोधन गर्दै नेता बादलले कृषि क्षेत्रमा देखिएको विचौलिया प्रवृत्ति हटाउनुपर्नेमा जोड दिए ।

    अखिल किसान संघ चितवनका इञ्चार्ज शम्भु सुवेदीले एक पार्टी सदस्य, एक फर्मको अवधारणा लागू गर्नुपर्ने माग गरे । कृषिप्रधान देश भनिए पनि छिमेकी मुलुकको कृषि बजारका रुपमा नेपाल चिनिएकाले स्वदेशी कृषि उत्पादन वृद्धि तथा निर्यात गर्न प्रयाप्त बजेट विनियोजन हुनुपर्ने बताए ।

    अखिल नेपाल किसान महासंघ एमालेनिकट संस्था हो । राष्ट्रिय भेलामा देशभरका ३ सय प्रतिनिधिहरु सहभागी छन् । भेला शनिबारसम्म चल्नेछ । भेलामा २२ वटा विषयगत समूह बनाएर छलफल हुने महासंघका सचिव खड्कबहादुर खड्काले जानकारी दिए ।

    चितवन घोषणापत्र जारी गर्दै भेला भोलि समापन हुनेछ । भेलाबाट नयाँ नेतृत्व समेत चयन हुनेछ । २२ वटा वर्गीय, सामुदायिक र विषयगत उत्पादक संघमा १७ देखि २१ सदस्यीय नयाँ समिति समेत बनाइने छ । यस्तै राष्ट्रिय समितिको संयोजक समेत नयाँ चयन हुनेछन् ।