Tag: काेपा अमेरिका

  • पुछियाे दाग, नयाँ उचाईमा मेस्सी

    पुछियाे दाग, नयाँ उचाईमा मेस्सी

    काठमाडौं । लियोनल मेस्सी… । विश्व फुटबलमा विगत डेढ दशकदेखि सर्वाधिक चर्चित यो नामले आजबाट नयाँ उचाई लिएको छ । सर्वकालीन महान फुटबलर मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअरमा लाग्दै आएको एउटा दाग मेटेका छन् ।

    क्लव फुटबलको कुरा गर्ने हो भने मेस्सीले हासिल गर्न बाँकी सफलता केही पनि छैन । चारपटक च्याम्पियन्स लिगको, तीनवटा फिफा क्लव विश्वकपको उपाधि, १० वटा ला लिगा उपाधि र ६ वटा कोपा डेल रे उपाधि । विश्व फुटबलका सर्वाधिक सफल खेलाडीलाई प्रत्येक वर्ष दिइने बालोन डि’ ओर अवार्ड उनले ६ पटक आफ्नो पोल्टामा पारेका छन् ।

    समकालीन खेलाडीहरुमा मात्रै होइन, सर्वकालीन खेलाडीहरुकै सूचीमा अग्रस्थानमा छन्, मेस्सी । तर, यी जादुयी क्षमताका फुटबलर आफ्नो देशका लागि भने अपेक्षित योगदान दिन चुकिरहेका थिए । उनको नेतृत्वमा अर्जेन्टिनाले अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलको कुनै पनि ठूलो उपाधि जित्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।

    तर, मेस्सीले अन्ततः आलोचकको मुख बन्द गरिदिएका छन् । ब्राजिलमा भएको दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता (कोपा अमेरिका) मा आयोजक टिमलाई १-० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ ।

    भलै ब्राजिलविरुद्ध आज भएको फाइनलमा मेस्सीले गोल गरेनन् । तर, उनका लागि आज गोलभन्दा जित महत्वपूर्ण थियो । यस प्रतियोगितामा अर्जेन्टिनालाई फाइनलसम्म डोहोर्‍याएको मेस्सीले नै हो । अर्जेन्टिना फाइनलसम्म आउँदा उनले चारपटक म्यान अफ द म्याचको पुरस्कार जिते । प्रतियाेगिताकै सर्वाधिक गाेलकर्ता बने । उनले ४ गाेल तथा ५ असिस्ट गरेका छन् । फाइनलमा पनि उनको नियमित प्रभाव थियो नै । त्यसैले यो उपाधिको सबैभन्दा ठूलो श्रेय मेस्सीलाई नै जान्छ ।

    स्मरणीय के छ भने सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हारेपछि मेस्सीले दिक्दार भएर अन्तर्राष्ट्रिय फुटबलबाटै सन्न्यासको घोषणा गरेका थिए । त्यसबेला उनको उमेर २९ वर्ष मात्रै थियो । पाँच वर्षअघिको त्यो सन्न्यासमा कायम रहेको भए मेस्सीलाई सदैव एउटा थकथकी रहिरने थियो ।

    विश्वभरका समर्थकहरुको निरन्तर आग्रह र दवावपछि त्यही वर्ष उनले सन्न्यास फिर्ता लिएर फेरि अर्जेन्टिनाको बागडोर सम्हाले । अन्ततः ३४ वर्षको उमेरमा मेस्सीलाई कोपा अमेरिकाको रुपमा राहत मिलेको छ ।

    यद्यपि, उनका समर्थकहरु यत्तिमै सन्तुष्ट हुनेवाला छैनन् । उनीहरु मेस्सीको हातमा विश्वकप उपाधि नै हेर्न चाहन्छन् । मेसी स्वयम पनि अर्जेन्टिनालाई विश्वकप नजिताएसम्म शान्त रहन सक्दैनन् । उनको अब एकमात्रै ध्येय विश्वकप उपाधि हो । उनीसँग सम्भवत एउटा मात्रै विश्वकप प्रतियोगिता बाँकी छ । र, कतारमा आगामी वर्ष हुने विश्वकप उपाधि जिते भने मेस्सीलाई ढुक्कसँग फुटबलका सर्वकालीन दिग्गज पेले र म्याराडोनाको हाराहारीमा राख्न सकिनेछ ।

    २०१४ मा भएको विश्वकपमा मेस्सीले आफूलाई त्यो सम्भावनाको नजिक पुर्‍याएका थिए । पहिलोपटक उनको नेतृत्वमा विश्वकप खेलिरहेको अर्जेन्टिनाले फाइनलसम्मको यात्रा गरेको थियो । तर, फाइनलमा जर्मनीले बाजी मार्‍याे। मेस्सीले म्यान अफ द टुर्नामेन्टको व्यक्तिगत अवार्डमा नै चित्त बुझाउनुपर्‍याे ।

    आज ब्राजिलको जुन स्टेडियममा मेस्सीले कोपा अमेरिकाको उपाधि उचाले, यही स्टेडियममा उनले २०१४ मा विश्वकप फाइनल गुमाएका थिए । यसले पनि मेस्सीलाई अतिरिक्त सान्त्वना मिलेको छ ।

    यसअघि कोपा अमेरिकामा मेस्सीले अर्जेन्टिनालाई २०१५ र २०१६ मा दुईपटक फाइनलमा पुर्‍याएका थिए । तर फाइनल हारेर उपाधिबाट चुकेका थिए । तेस्रोपटकमा उनी सफल भएका छन् । ब्राजिलजस्तो विश्व फुटबलको महारथीलाई हराएर फाइनल जित्नुको मज्जा पनि बेग्लै छ ।

  • अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका उपाधि

    अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका उपाधि

    एजेन्सी । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । योसँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ ।

    ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो ।

    खेलको २२ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् ।

    अर्जेन्टिनाले १५ औं पल्ट काेपा अमेरिकाकाे उपाधि जितेकाे हाे । याेसँगै सबैभन्दा धेरैपल्ट काेपा उपाधि जित्ने उरुग्वेकाे कीर्तिमान पनि अर्जेन्टिनाले बराबरी गरेकाे छ ।

    सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेलेको थियो । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो ।

    बर्सिलोनाबाट क्लब फुटबलमा तहल्का मच्चाउँदै आएका ३४ वर्षीय मेस्सीलाई राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेको आरोप लागेको थियो । मेस्सीले अर्जेन्टिनाको जर्सीमा यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा फुटबलबाट स्वर्ण जितेका थिए ।

  • कोपा अमेरिका फाइनलः पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

    कोपा अमेरिका फाइनलः पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

    एजेन्सी । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि अहिले महारथी टोलीहरु ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गरिरहेका छन् ।

    ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा जारी फाइनलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ ।

    खेलको २३ औं मिनेटमा डी पाउलको पासमा एंगेल डी मारियाले काउन्टर एट्याकमा गोल गरी टिमलाई अग्रता दिलाएका हुन् ।

    अर्जेन्टिना २८ वर्षपछि पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधिको खोजीमा छ भने सुपरस्टार लियोनल मेस्सी पनि देशका लागि पहिलो ठूलो उपाधि जित्न चाहन्छन् ।

  • अर्जेन्टिनाको जितका नायक मेस्सी होइन मार्टिनेज

    अर्जेन्टिनाको जितका नायक मेस्सी होइन मार्टिनेज

    काठमाडौं । दक्षिण अमेरिकाको एक आम मामुली देश हो, अर्जेन्टिना । तर, विश्वभर अर्जेन्टिनालाई दक्षिण अमेरिकाको एक मामुली देशको रूपमा कमैले मात्रै चिन्छन् । अर्जेन्टिनालाई विश्वमा चिनाउने प्रमुख कुरा त फुटबल हो । अझ भनौं कप्तान लियोनेल मेस्सी हुन् ।

    विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डी’अर ६ पटक जितेका मेसी एक औसत फुटलबर होइनन्, उनी विश्व फुटलबकै सर्वोत्कृष्ट मध्येका एक खेलाडी हुन् । मेस्सी फुटबलर मात्रै होइनन्, उनी धेरैका प्रेरणाका स्रोत हुन्, आकर्षणको केन्द्र हुन्, र धेरै समर्थकका लागि फुटबलको पर्याय हुन् । अर्जेन्टिनी तथा बार्सिलोनाका सुपर–स्टार फरवार्ड मेसीको उपस्थिति नै कुनै प्रतियोगिताको मूल्य र औचित्यमा आकाश-पातालको फरक पार्छ ।

    मेस्सीको उपस्थितिले मात्र विपक्षीलाई १० पटक सोच्न बाध्य मात्रै बनाउँदैन, आफ्नो टोलीको आत्मविश्वासलाई पनि शिखरमा पुर्‍याउँछ । र, अहिले ब्राजिलमा जारी कोपा अमेरिका २०२१ मा उनै मेस्सीको टोली फाइनलसम्म पुगेको छ । र, आइतबार हुने उपाधि भिडन्तमा अर्जेन्टिनाले घरेलु टोलीको सामना गर्नेछ ।

    अर्जेन्टिनाको फाइनल यात्रामा पनि सदाझैँ कप्तान मेस्सीको भूमिका उल्लेखनीय छ । जारी प्रतियोगितामा चार गोल गरिसकेका मेस्सी बुधबार बिहान भएको कोलम्बियाविरुद्धको सेमिफाइनलमा पनि अर्जेन्टिनी टोलीका नायक बन्ने सबैको अपेक्षा थियो । तर, निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएसँगै नजिता पेनाल्टी सुटआउटमा अल्झियो । परिस्थिति बदलियो र खेलको जिम्मेवारीको मात्रा पनि मार्टिनेजमाथि थपियो । त्यहाँ मेस्सीसहितका बाँकी टोलीको भूमिका आधा र गोलकिपर इमिलियानो मार्टिनेजको भूमिका आधा हुन्थ्यो । अर्जेन्टिनी टोलीमा क्षमतावान् खेलाडीको कुनै कमी छैन । तर, मेस्सीको उत्कृष्टतासामू औसत खेलाडीको गन्ती त्यति हुँदैन ।

    तर,  कोलम्बियाविरुद्ध अर्जेन्टिनाको जितमा नायक बन्ने मौका परिस्थितिले गोलकिपर मार्टिनेजसामू सिर्जना गरिदिएको थियो । र, मार्टिनेजले सोही मौका सदुपयोग गर्दै २०१६ पछि पहिलो पटक ठूला प्रतियोगितामा अर्जेन्टिनाले फाइनल यात्रा तय गर्दाका नायक बने । स्टार खेलाडीको उपस्थिति औसत खेलाडीका लागि प्रेरणा र चुनौती दुवै बन्ने गर्छ । तर, चाहे जे होस्, कोलम्बियाका तीन खेलाडीले प्रहार गरेको पेनाल्टी रोकेका मार्टिनेज अर्जेन्टिनाको जितका बास्तविक नायक बने । स्टार मेस्सीको उत्कृष्ट प्रदर्शन कुरिरहेका दर्शकले मार्टिनेजले निर्बाह गरेको नायकत्वको आनन्द लिए ।

    को हुन् मार्टिनेज ?

    आधुनिक फुटबलको सबैभन्दा प्रसिद्ध राष्ट्रिय लिग– इङ्लिस प्रिमियर लिगमा व्यावसायिक फुटबल खेल्दै आएका मार्टिनेजले गत महिना मात्रै अर्जेन्टिनी राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । एस्टोन भिल्लाबाट गत सिजन १५ क्लिनसिट राखेका मार्टिनेजले गत जुनमा विश्वकप छनोट अन्तर्गत चिलीविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा भने मार्टिनेजले जारी कोपाकै पहिलो खेलमा उही चिलीविरुद्ध डेब्यू गरेका हुन् ।

    सन् २०१२ मा आर्सनलको युवा टोलीबाट सिनियर टोलीमा उदाएका मार्टिनेजले सात वर्ष विभिन्न क्लबहरूमा लोनमा बिताए । आर्सनल बसाइ २०१९ मा टुङ्ग्याएका अर्जेन्टिनी २८ वर्षीय गोलकिपर मार्टिनेजले २०२० देखि एस्टोन भिलाको गोलपोस्ट सम्हालिरहेका छन् । उनले आर्सनल छाडेकै वर्ष एस्टोन भिल्लाबाट डेब्यू गर्दा २०२० को सेप्टेम्बरमा शेफिल्ड युनाइटेडविरुद्ध पेनाल्टी रोकेका थिए ।

    आर्सनलबाट २ करोड पाउन्डमा एस्टोन भिल्ला पुगेका मार्टिनेजले डेब्यूमै गरेको प्रदर्शनबाट फुटबलप्रेमीको ध्यान आफूतर्फ आकर्षित गरेका थिए । भिल्लाबाट दिइरहेको उत्कृष्ट प्रदर्शनको उपलब्धी राष्ट्रिय टोलीको पहिलो रोजाईको गोलकिपरका रूपमा पाए । र, त्यो उपलब्धीलाई अवसरमा ढालेका मार्टिनेज आजको खेलमा नायक बनेसँगै विश्व फुटलबम उदाएका छन् । स्थापित भएका छन् ।

    आजको खेलपछि कप्तान मेसीले मुक्त कण्ठले मार्टिनेजको प्रशंसा गर्दै भनेका छन्– हामीसँग इमी (इमिलियानो मार्टिनेज) छन्, र उनी ‘फेनोमेनन’ छन् । हामीले उनलाई विश्वास गर्‍याैं र सबै खेल खेल्ने हामीले लक्ष्य हासिल गर्‍याैं । अब हामी फाइनलका लागि जाँदैछौैँ ।’

    मार्टिनेज आफैँले पनि खेलपछि निःशब्द भएको प्रतिक्रिया दिए ।

    ‘म निःशब्द छु,’ उनले भने, ‘उनीहरूले हामीलाई पेनाल्टीसम्म पुर्‍याए । पेनाल्टीमा भाग्यको पनि कुरा हुन्छ, आज मेरो खुशी हुने दिन थियो ।’

  • कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    एजेन्सी । गोलरक्षक इमिलियानो मार्टिनेजले तीनवटा पेनाल्टी रोकेपछि कोलम्बियालाई हराउँदै अर्नेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको छ ।

    उपाधिका लागि उसले ब्राजिलसँग खेल्नेछ । ब्राजिल यसअघि नै पेरुलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

    आज विहाज ब्रासिलियामा सम्पन्न खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाको छिनोफानो पेनाल्टीबाट गरिएको हो । पेनाल्टीमा कोलम्बियाको तीन प्रहार इंग्लिस क्लब एष्टोन भिल्लाका गोलरक्षक मार्टिनेजले रोकेका थिए ।

    पेनाल्टी शुटआउटमा कोलम्बियाका जुहान क्वार्डाडो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आआफ्नो टोलीबाट पहिलो प्रहार गरेका थिए । दुवैले गोल गरे ।

    दोस्रो प्रहारमा दुवै टोलीका खेलाडीले गोल गर्न सकेनन् । अर्जेन्टिनाका रोड्रिगो डी पाउल र कोलम्बियाका ड्याभिन्सन सान्चेसको प्रहार विपक्षी गोलरक्षकले रोकिदिए ।

    त्यसपछि अर्जेन्टिनाका लिन्द्रो पारेडेस र लौटारो मार्टिनेजले गोल गर्दा कोलम्बियाका यारी मिना र इडविन कार्डोनाको प्रहार मार्टिनेजले रोकिदिए । अर्जेन्टिना ३–२ गोलले विजयी रह्यो ।

    यसअघि खेल सुरु भएलगत्तै अर्जेन्टिनाले अग्रता लिएको थियो । सातौं मिनेटमा कप्तान मेस्सीले उपलब्ध गराइदिएको पास उपयोग गरी लाउटारो मार्टिनेजले शानदार गोल गरी पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफमा सुधारिएको काेलम्वियाले ६१ औं मिनेटमा बराबरी गोल फर्कायो । इडविन कार्डोनाको लामो पास सदुपयोग गरी लुइस डियाजले काउन्टर एट्याकमार्फत कठिन एंगलबाट गोल गरेका थिए ।

    प्रतियोगिताको नियमअनुसार ३० मिनेटको अतिरिक्त समय नथपी पेनाल्टीबाट नतिजा छिनोफानो गरिएको हो ।

    फाइनल खेल आइतबार विहान हुनेछ ।

  • पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

    पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

    एजेन्सी । पेरुमाथि संघर्षपूर्ण १–० को जितसहित साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

    रियोको राष्ट्रिय रंगशालामा घरेलु टोलीको जितमा लुकास पाकेस्टाको गोल निर्णायक रह्यो । खेलको ३५ औं मिनेटमा नेइमारको ब्याकपासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका पाकेस्टाले शानदार गोल गरे ।

    दोस्रो हाफमा पेरुले खेलमा फर्कने प्रयास गरेको थियो । समूह चरणको खेलमा ४–० ले हारेको पेरुले सेमिफाइनलमा पुगे बलियो चुनौति पेस गरेको थियो । खासगरी दोस्रो हाफमा उसले अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोल गर्न सकेन ।

    जुलाई १० मा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइनल भोलि विहान हुनेछ । ब्राजिल अघिल्लो संस्करणको विजेता टोली हो ।

     

  • मेस्सीको प्रेरणादायी प्रदर्शनपछि कोपा अमेरिकाको सेमिफाइनलमा पुग्यो अर्जेन्टिना

    मेस्सीको प्रेरणादायी प्रदर्शनपछि कोपा अमेरिकाको सेमिफाइनलमा पुग्यो अर्जेन्टिना

    एजेन्सी । सुपरस्टार लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा इक्वेडरलाई ३–० गोलले पराजित गरी अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले कोलम्बियासँग खेल्नेछ । कोलम्बियाले आजै भएको खेलमा उरुग्वेलाई पेनाल्टी शुटआउटमा पराजित गरेको थियो ।

    रियो दि जेनेरियोमा केहिबेरअघि सम्पन्न खेलमा मेस्सीले १ गोल गरे भने अरु दुई गोलका लागि पास उपलब्ध गराएका थिए । ८४ औं मिनेटमा लाैटाराे मार्टिनेजले गरेको गोलमा मेस्सीले निस्वार्थ पास उपलब्ध गराएका थिए ।

    त्यसअघि खेलको ४० औं मिनेटमा मेस्सीले चतुर्‍याईँपूर्ण पास सदुपयोग गरी रोड्रिगो डी पाउलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

    खेलको इन्जूरी समयमा मेस्सीले बक्सको ठीकबाहिरबाट शानदार फ्रिकिक गोलमार्फत ३–० को जित निश्चित गरे । यो उनको ७६ औं अन्तर्राष्ट्रिय गोल हो । इक्वेडरका डिफेण्डर मार्टिन रेन्याले एंगेल डी मारियालाई फल गरेपछि अर्जेन्टिनाले फ्रिकिक पायो भने मार्टिन रातो कार्ड पाउँदै बाहिरिए ।

    करिअरको उत्तरार्ध पुगेका मेस्सीका लागि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अर्को अवसर आएको छ । यसअघि सन् २०१५ र २०१६ को फाइनलमा पराजित भएको अर्जेन्टिनाले सेमिफाइनल जितेमा फाइनलमा सम्भवतः ब्राजिलसँग खेल्नेछ । साविक विजेता ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ ।

    यता आज भएको खेलमा कोलम्बियासँग पेनाल्टी शुटआउटमा पराजित भएसँगै १५ पल्टको च्याम्पियन उरुग्वे क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

    उरुग्ले सन् २०११ देखि कोपा अमेरिका उपाधिको खोजीमा छ । तर क्वाटरफाइनलमै पराजित भएपछि उसको उपाधि प्रतीक्षा कम्तिमा चार वर्ष धकेलिएको छ ।

    ब्रासिलियाको राष्ट्रिय रंगशालामा भएको खेलमा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् । पेनाल्टी शुटआउटमा कोलम्बिया ४–२ गोलले विजयी भयो । कोलम्बियाका सबैले पेनाल्टीमा गोल गर्दा उरुग्वेका इडिन्सन काभानी र लुइस स्वारेजले मात्र गोल गरे ।

  • चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

    चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

    एजेन्सी । चिलीलाई १–० गोलअन्तरले पराजित गरी साविक विजेता ब्रजिलले कोपा अमेरिकाको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । दोस्रो हाफको सुरुमै गाव्रियल जेससले रातो कार्ड पाएपछि ब्राजिलले १० खेलाडीमा रहेर कठिन प्रतिस्पर्धा पार गरेको हो ।

    रियो दि जेनेरियोको स्टाडियो निल्टोन सान्तोषमा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । रोवर्टो फिर्मिनोलाई प्रतिस्थापन गरी दोस्रो हाफको सुरुमै मैदान छिरेका लुकास पाक्वेटाले एक मिनेटभित्रै गोल गरे । चिलीको बक्सभित्र कप्तान नेइमारसँगको सुन्दर समन्वयसँगै पाक्वेटाले शानदार फिनिसिङ गरे ।

    त्यसको २ मिनेटपछि नै गाव्रियल जेससले रातो कार्ड पाएसँगै ब्राजिल १० खेलाडीमा समेटियो । त्यसयता रक्षात्मक बनेको आयोजक टोलीले अग्रतालाई अन्तिमसम्म कायम राख्न निकै कठिन भएको थियो ।

    सेमिफाइनलमा ब्राजिलले पेरुसँग खेल्नेछ । आजै विहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले पराजित गरी पेरुले अन्तिम चारमा स्थान बनाएको हो ।

    निर्धारित समयमा ३–३ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको हो । समूह चरणमा ब्राजिलले पेरुलाई ४-० गोलअन्तरले पराजित गरेको थियो ।

  • कोपा अमेरिका- कोलम्बियामाथि ब्राजिलको रोमाञ्चक पुनरागमन जित

    कोपा अमेरिका- कोलम्बियामाथि ब्राजिलको रोमाञ्चक पुनरागमन जित

    एजेन्सी । रियल मड्रिडका स्टार मिडफिल्डर कासिमेरोले इन्जूरी समयको अन्त्यतिर गोल गरेपछि कोपा अमेरिकामा साविक विजेता ब्राजिलले कोलम्बियामाथि २–१ गोलअन्तरको रोमाञ्चक जित निकालेको छ ।

    बराबरीतर्फ उत्मुख खेलको अन्त्यतिर नेइमारको कर्नरमा प्रहारमा कासिमेरोले पोष्ट जनिकैबाट हेड गोल गरेपछि कोलम्बियाको हार निश्चित भएको हो । ब्राजिलले भने शतप्रतिशत जितयात्रा कायम राखेको छ । उसले यसअघि इक्वेडर र पेरुलाई पराजित गरेको थियो ।

    घरेलु मैदानमा ब्राजिल सुरुआतमै पछि परेको थियो । अघिल्ला २ खेलमा सन्तुलित प्रदर्शन गरेको ब्राजिलले कोलम्बिया अपेक्षाभन्दा कमजोर प्रदर्शन गरेको थियो ।

    १० औं मिनेटमा जुहान कार्डडोको पासमा लुइस डियाजले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा अग्रता बनाएको हो । त्यसयता रक्षात्मक रणनीति सुरु गरेको कोलम्बियाले ७८ औं मिनेटमा गोल खान पुग्यो ।

    रेनन लोडीले दिएको क्रस उपयोग गरी फिर्मिनोले पेनाल्टी क्षेत्रबाट गरेको हेडर कोलम्बियाका गोलरक्षक डेभिड ओस्मिनाको हातबाट फुत्किएर गोल हुन पुगेको हो ।

    समूह बी मा रहेको ब्राजिलले तीन खेलबाट ९ अंक बनाएको छ र शीर्ष स्थानमा यथावत छ । कोलम्वियाका लागि भने समूह चरणको खेल सकिएको छ । उसले ४ खेलबाट ४ अंक बनाएको छ । दुवै टोली क्वाटरफाइनलमा छनोट भइसकेका छन् ।

    कोपा अमेरिकामा १० टोलीलाई २ समूहमा बाँडेर खेलाइएको छ । हरेक समूहबाट शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्नेछन् । यसअघि आज विहान नै भएको अर्को खेलमा यही समूहबाट इक्वेडर र पेरुले २–२ गोलको बराबरी खल्दै अंक बाँडेका छन् ।

  • पाराग्वेलाई हराएपछि अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

    पाराग्वेलाई हराएपछि अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

    एजेन्सी । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले पाराग्वेमाथि १-० को जित हासिल गरेको छ । यो जितले अर्जेन्टिना समूह ए बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    केहिबेरअघि सम्पन्न खेलमा अर्जेन्टिनाका लागि अलेजान्द्रो गोमेजले दशौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले एंगेल डी मारियाको पासमा गोल गरेका थिए ।

    समूह ए को आफ्नो पहिलो खेलमा चिलीसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा उरुग्वेलाई १-० ले हराएको थियो । उसले ३ खेलबाट ७ अंक जोडेको छ ।

    दुई खेल खेलेको पाराग्वेको भने ३ अंक छ । उसले पहिलो खेलमा बोलिभियालाई पराजित गरेको थियो ।

    आज विहानै भएको यही समूहको अर्को खेलमा चिली र उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको २६ औं मिनेटमै इडुरो भार्गासले गोल गरी चिलीलाई अग्रता दिलाएका थिए ।

    ६६ औं मिनेटमा अटूरो भिडालले आत्मघाती गोल उपहारमार्फत उरुग्वेले बराबरी गर्न सक्यो । चिली ३ खेलबाट ५ अंकसहित समूह ए को दोस्रो स्थानमा छ । उरुग्वेले २ खेलबाट १ अंकमात्र जोड्न सकेको छ ।

    १० देश सहभागी कोपा अमेरिकामा २ समूहमा खेलाइएको छ । हरेक समूहको शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्नेछन ।

  • पेरुसँग हार्‍यो कोलम्बिया, भेनेजुएला र इक्वेडरले बराबरी खेले

    पेरुसँग हार्‍यो कोलम्बिया, भेनेजुएला र इक्वेडरले बराबरी खेले

    एजेन्सी । कोपा अमेरिका अन्तर्गत समूह चरणको खेलमा पेरुले पहिलो जित हासिल गरेको छ । समूह बी को आफ्नो पहिलो खेलमा साविक विजेता ब्राजिलसँग ४-० ले स्तब्ध भएको पेरुले आज विहान भएको खेलमा कोलम्बियालाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

    १७ औं मिनेटमा सर्जियो पेनाले गोल गरी पेरुलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै कोलम्बियाले पेनाल्टी अवसर पायो । मिगुल बोर्जाले गोल गरी खेल बराबरीमा ल्याए ।

    तर ६४ औं मिनेटमा कोलम्बियाली स्टार डिफेण्डर यारी मिनाले आत्मघाती गोल गर्न पुगेपछि कोलम्बियाले अप्रत्यासित हार ब्यहोरेको हो । कोलम्बियाले समूहको आफ्नो पहिलो खेलमा इक्वेडरलाई हराएको थियो भने दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।

    समूह बी अन्तर्गत नै आज विहान सम्पन्न अर्को खेलमा समूहको पछारमा रहेका दुई टोलीहरु भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेले । समूहको पहिलो खेलमा ब्राजिलसँग हारेको भेनेजुएलाले त्यसयता लगातार दोस्रो बराबरी खेलेको । कोलम्बियासँग पहिलो खेल हारेको इक्वेडरले भने पहिलो अंक जोडेको छ ।

    रियो दि जेनेरियो रंगशालामा दुईपल्ट अग्रता लिएर पनि भेनेजुएलाले ३ अंक जोड्न सकेन । ३९ औं मिनेटमा इडोर प्रेसियाडोले गोल गरेपछि पहिलो हाफ भेनेजुएलाले अग्रता बनायो ।

    ५१ औं मिनेटमा एडसन क्यास्टिल्लोले बराबरी गोल फर्काए । ७१ औं मिनेटमा गोल्जालो प्लाटाले पुनः भेनेजुएलालाई अग्रता दिलाएका थिए । तर खेलको इन्जूरी समयमा भेनेजुएला संहालिन नसक्दा खेल बराबरीमा पुग्यो । इक्वेडरका रोनाल्ड हर्नान्डेजले गोल गरेपछि इक्वेडरले महत्वपूर्ण १ अंक लिन सक्यो ।

    कोपा अमेरिकामा भोलि विहान समूह ए अन्तर्गतका दुई खेलहरु हुनेछन् । विहान पौने ३ देखि सुरु हुने खेलमा उरुग्वे र चिली आमने सामने हुँदैछन् भने पौने ६ बजेदेखि सुरु हुने दोस्रो खेलमा पाराग्वेले अर्जेन्टिनाको सामना गर्नेछ ।

  • कोपा अमेरिकामा नेइमार प्रेरित ब्राजिलको लगातार दोस्रो जित, क्वाटरफाइनल प्रवेश

    कोपा अमेरिकामा नेइमार प्रेरित ब्राजिलको लगातार दोस्रो जित, क्वाटरफाइनल प्रवेश

    एजेन्सी । कोपा अमेरिकामा समूह बी बाट लगातार दोस्रो जित हासिल गर्ने क्रममा साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । दुई जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    अघिल्लो संस्करणमा फाइनलिस्ट टोलीबीचको प्रतिस्पर्धामा घरेलु टोली ब्राजिलले एकपक्षीय खेल प्रदर्शन गरेको थियो । खेलको १२ औं मिनेटमै गाव्रियल जेससको पासमा एलेक्स सान्द्रोले ब्राजिललाई अग्रता दिलाएका थिए ।

    बाँकी तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६८ औं मिनेटमा नेइमारले बक्स बाहिरबाट आकर्षक गोल गरी अग्रता दोब्बर पारेका थिए । उनलाई फ्रेडले बल उपलब्ध गराएका थिए ।

    ८९ औं मिनेटमा एभर्टन रिबेरोले गोल गरी ३–० को अग्रता दिलाउँदा अप्रत्यक्ष रुपमा नेइमारको संग्लग्नता रह्यो । नेइमारले निकालिदिएको चलाखीपूर्ण पासमार्फत रिचर्डलिसनले गोल असिस्ट गरेका थिए ।

    त्यसको तीन मिनेटपछि उनै रिचर्डलिसनले गोल गरी ४–० को जित निश्चित गरे । यसअघि उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–० को विजय पाएको थियो ।

  • कोपा अमेरिकामा बोलिभियामाथि पाराग्वेको पुनरागमन जित

    कोपा अमेरिकामा बोलिभियामाथि पाराग्वेको पुनरागमन जित

    एजेन्सी । कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा १० खेलाडीमा समेटिएको बोलिभियामाथि पाराग्वेले ३–१ गेलअन्तरको प्रभावशाली जितसहित विजयी सुरुआत गरेको छ ।

    ब्राजिलमा जारी प्रतियोगिताको केहिबेर अघि सम्पन्न खेलमा बोलिभियाले खेलको दशौं मिनेटमै इरभिन सावेद्राको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो ।

    अग्रतासहित पाराग्वेलाई दवावमा राखेको बोलिभिया पहिलो हाफको अन्त्यतिर १० खेलाडीमा समेटियो । उसका स्ट्राइकर जुमी मेन्डोजा १० मिनेटको अन्तरमा दुई पहेँलो कार्ड खाँदै मैदान बाहिरिनुपरेपछि बोलिभियाको कठिन समय सुरु भयो ।

    ६२औं मिनेटमा अलेजान्द्रो रोमेरोले बराबरी गोल गरेको तीन मिनेटपछि एंगेल रोमेरोले पाराग्वेलाई अग्रता दिलाए । ८० औं मिनेटमा एंगेलले नै व्यक्तिगत दोस्रो गोल गर्दा पाराग्वे सहज जितसहित समूह ए को शीर्ष स्थानमा पुग्यो ।

  • म्याराडोनाप्रति समर्पित खेलमा अर्जेन्टिना फेरि चिलीसँग रोकियो

    म्याराडोनाप्रति समर्पित खेलमा अर्जेन्टिना फेरि चिलीसँग रोकियो

    एजेन्सी । कोपा अमेरिका अन्तर्गत चिलीसँग १–१ को बराबरीमा रोकिएको खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले शानदार फ्रिकिक गोलमार्फत आफ्ना लिजेन्ड डिएगो म्याराडोनाको सम्मान र स्मरण गरेका छन् ।

    समूह ए को सुरुआती खेलमा मेस्सीले पहिलो हाफमा उत्कृष्ट फ्रिकिक गोल गरे । ३३ औं मिनेटमा गरेको गोलले पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता दिलाएको थियो । उनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ७३ पुर्‍याए ।

    तर दोस्रो हाफको सुरुमै इडोउरो भार्गासले बराबरी गोल फर्काए । ५७ औं मिनेटमा पेनाल्टी अवसर पाएपछि अटूरो भिडालको पेनाल्टी प्रहार अर्जेन्टिनाका गोलरक्षकले रोकिदिए । रिबाउण्ड बललाई नै भार्गासले सदुपयोग गर्न भ्याए ।

    खेल सुरु हुनुअघि लाइट र इफेक्टको प्रयोगद्वारा विश्व फुटबलकै सर्वकालीन महान खेलाडी अर्जेन्टाइन डिएगो म्याराडोनाको स्मरण गरिएको थियो ।

    सन् १९८६ को विश्वकप जित्दाको म्याराडोनाको प्रदर्शनको भिडियो क्लिपहरु इफेक्टमार्फत मैदानमा देखाइएको थियो । महान फुटबलर म्याराडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो ।

    महादेशीय प्रतियोगितामा अर्जेन्टिनाका लागि चिली टाउको दुखाइ बनेको धेरै भइसकेको छ । सन् २०१५ र २०१६ मा आयोजित कोपा अमेरिकाको फाइनलमा चिली नै अर्जेन्टिनाको बाधक बनेको थियो । गत सातामात्र विश्वकप छनोट अन्तर्गतको खेलमा पनि चिलीले अर्जेन्टिनालाई बराबरीमै रोकेको थियो ।

  • कोपा अमेरिकामा इक्वेडरमाथि कोलम्वियाको जित

    कोपा अमेरिकामा इक्वेडरमाथि कोलम्वियाको जित

    एजेन्सी । दक्षिण अमेरिकी महादेशीय फुटब प्रतियोगिता कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा कोलम्बियाले इक्वेडरलाई पराजित गरेको छ ।

    केहिबेरअघि सम्पन्न खेलमा कोलम्बियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । कमजोर इक्वेडरमाथि पहिलो हाफको अन्त्यतिर इडविन कार्डोनाले गोल गरेका थिए ।

    अर्जेन्टिनी क्लब बोका जुनियर्सका २८ वर्षीय मिडफिल्डर कार्डोनाले मिगुल बोर्जाको पास सदुपयोग गरेका हुन् ।

    एक जितसँगै समूह ए बाट कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा पुग्ने सम्भावना प्रवल छ । १० टोली रहेको कोपा अमेरिकामा दुई समूहबाट चार/चार टोलीले क्वाटरफाइनलमा स्थान बनाउँछन् ।

  • कोरोना प्रभावित भेनेजुएलामाथि ब्राजिलको विजयी सुरुआत

    कोरोना प्रभावित भेनेजुएलामाथि ब्राजिलको विजयी सुरुआत

    एजेन्सी । कोरोना प्रभावित भेनेजुएलामागि ३–० गोलअन्तरको सहज जितसँगै आयोजक राष्ट्र ब्राजिलले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ ।

    समूह बी अन्तर्गतको उद्घाटन खेलको एक दिनअघि भेनेजुएलाका खेलाडी र अफिसियल गरी १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    सुपरस्टार स्ट्राइकर नेइमारले एक गोल र अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले सहज जित भेट्टाएको हो ।

    पेरिस सेन्ट जर्मेइन (पीएसजी)का स्टार नेइमारले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरेका थिए भने खेलको अन्तिम मिनेटमा गाव्रियल बार्बोसाको गोलका लागि बल उपलब्ध गराएका थिए ।

    त्यसअघि खेल सुरु भएको २३ औं मिनेटमै घरेलु टोली ब्राजिलले अग्रता बनाएको थियो । पीएसजीकै डिफेण्डर माक्र्वीनोस बोन्डलेडले गोल गरेका हुन् । भेनेजुएलाले क्लियर गर्न नसकेको कर्नरलाई उनले सदुपयोग गरेका हुन् ।

    ब्राजिलले पहिलो हाफमै गोलका अन्य दुई अवसर खेर फालेको थियो । एभर्टनका स्ट्राइकर रिचर्डलिसनले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएन भने नेइमारले क्लोज रेन्जबाट गोलको एउटा उत्कृष्ट अवसर खेर फाले ।

    भेनेजुएलाका योहान क्युमानाले ड्यानिलोलाई फल गरेपछि पाएको पेनाल्टी उपयोग गर्दै नेइमारले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ६७ पु¥याएका छन् । उनी पेलेको ७७ गोलको कीर्तिमान नजिक पुगेका छन् ।

    ४७ औं संस्करणको कोपा अमेरिका कोरोना महामारीका कारण १ वर्ष ढिलामात्र भएन पूर्व निर्धारित आयोजक कोलम्बिया र अर्जेन्टिना भए पनि उनीहरुले हात उठाएपछि अन्तिम समयमा ब्राजिल सारिएको हो ।