Tag: कास्की

  • कास्कीका सबै जनप्रतिनिधि नेकपा एमालेमै रहने

    कास्कीका सबै जनप्रतिनिधि नेकपा एमालेमै रहने

    पोखरा । नेकपा एमाले कास्कीबाट निर्वाचित जनप्रतिनिधिहरू नेकपा एमालेमै रहने भएका छन् । कास्कीमा शुक्रबार भएको निर्वाचित जनप्रतिनिधिहरूको भेलामा सबै जनप्रतिनिधिहरू नेकपा एमालेमा रहने बताएका हुन् । भेलामा कास्कीका ४ गाउँपालीका र पोखरा महानगरपालिकाका जननिर्वाचित प्रतिनिधिहरू सहभागी थिए ।

    कास्कीमा ५ पालिकामध्ये अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष बाहेक सबै पालिकामा अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङसहित २२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको थियो ।

    महानगरका सबै जनप्रतिनिधि नेकपा एमालेमै रहेको पोखरा महानगरपालिका उपप्रमुख मन्जुदेबि गुरुङले दाबी गरिन् । महानगरमा निर्वाचित १ सय ५२ जना सबै जनप्रतिनिधि सबै नेकपा एमालेमा रहेको उनले बताइन् ।

    रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङ सहित जितेका वडाध्यक्ष र सदस्यहरू नेकपा एमालेमै रहने भएका छन् । गाउँपालिका भित्रका सबै नेकपा एमालेमा एक ढिक्का रहेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

    मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ र उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलसहित सबै जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन् । एमाले प्रदेश कमिटी सदस्य तथा मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले सबै जना एमालेमा एकताबद्ध रहेको बताए ।

    माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले सुर्यकै पक्षमा आफू सहितका सबै जनप्रतिनिधि एकताबद्ध रहेको बताए । उपाध्यक्ष कृष्णकुमारी दवाडी सहित सबै वडाध्यक्ष र सदस्यहरूले नेकपा एमालेमै रहने भएका छन् । यसैगरी अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङसहित वडाध्य र सदस्यहरूले नेकपा एमाले रोजेका छन् । कास्कीमा एमालेबाट २८१ जना जनप्रतिनिधि रहेका छन् ।

    भेलामा सहभागी जनप्रतिनिधिले हस्ताक्षर गर्दै कार्यक्रम सभाहलमा प्रबेश गरेका थिए । भेलालाई नेकपा एमाले केन्द्रिय सदस्य पूर्वमन्त्री खगराज अधिकारी, केन्द्रिय सदस्य सीता गिरी ओली लगायतले सम्बोधन गरेकी थिइन् ।

  • संक्रमितलाई नि:शुल्क खाना बाँड्न कास्की प्रशासनको रोक

    संक्रमितलाई नि:शुल्क खाना बाँड्न कास्की प्रशासनको रोक

    पाेखरा । विवेकशील साझा पार्टी पोखरा महानगर कमिटीले जेठ २ गतेबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत विरामी, कुरुवा र स्वास्थ्यकर्मीका लागि खानाको व्यवस्था गर्‍यो । ‘संक्रमितलाई तातो भात’ नाम दिएर चलाइएको उक्त अभियानमा प्रत्येक दिन साँझ २ सय जनालाई खाना खुवाउने साझाको योजना थियो ।

    लेकसाइडको एक रेस्टुरेन्टमा खाना पकाएर केही दिन आइसोलेसन सेन्टरमा खाना पनि खुवाए । १० दिनका लागि आइसोलेसनमा निशुल्क खाना बाँड्न सुरु गरेको भोलिपल्टै (जेठ) ३ गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै खाना नबाँड्न आग्रह गर्‍यो । उक्त सूचनामा बाँड्नै परे स्थानीय तहको समन्वयमामात्रै अभियान सञ्चालन गर्न भनिएको थियो ।

    तर, विवेकशील साझाले अटेरी गर्दै आफ्नो अभियानलाई अघि बढाइरहे । प्रशासनको आदेशलाईसमेत अवज्ञा गर्दै अभियान चलाइरहेपछि प्रशासनले पुनः जेठ ६ गते दोस्रो सूचना जारी गरेको छ । दोस्रो सूचनामा भने ‘केही संघसंस्था र युवाहरुले खाना बाँड्न अनुमति मागेको तर, स्वास्थ्य मापदण्ड पालन गर्न नसकिने स्थिति हुँदा अनुमति नदिने’ उल्लेख छ ।

    प्रशासनले ५ दिनमै दोस्रो पटक सूचना जारी गरेपछि भने विवेकशील साझाले आफ्नो अभियानलाई स्थगित गरेको छ । विवेकशील साझा महानगर संयोजक अजय श्रेष्ठले निश्वार्थ मानवीय सेवामा प्रशासनले अंकुश लगाएको आरोप लगाएका छन् । उनले महामारीकोबेला भोकले समेत संक्रमितहरु मर्ने देखिएपछि आफूहरुले अभियान चलाएको दाबी गरेका छन् ।

    ‘कोरोना महामारीका बेला विवेकशील साझा पार्टीको पोखरा महानगर समितिले सुरु गरेको ’तातो भात अभियान’लाई प्रशासनले अंकुश लगाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। महामारीका बेला रोगसँगै भोकले समेत नागरिकहरू मर्नसक्ने अवस्था देखेपछि कोभिड बिरामी र कुरुवाको भोकप्रति संवेदनशील हुँदै अभियान चलाएका हौं,’ श्रेष्ठले भनेका छन्, ‘हाम्रो पार्टीले निस्वार्थ मनले भोका पेटहरूलाई निःशुल्क खाना वितरण गर्दा प्रशासनले भाँजो हाल्नु खेदजनक छ ।’

    संक्रामक अस्पतालमा भने जारी

    प्रशासनको आदेशलाई वेवास्ता गर्दै प्रदेश कोभिड उपचार अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालमा भने बिरामी तथा कुरुवालाई निशुल्क खाना बाँड्ने काम जारी छ । नमस्ते चिकेन हाउसका तर्फबाट ४ दिन र दीपक पहारीको तर्फबाट एकदिनलाई गरी ५ दिनसम्म खाना खुवाउने व्यवस्था गरिएको छ ।

    शुक्रबारदेखि सुरु भएको उक्त निशुल्क खाना अभियानको समन्वय नेकपा एमाले सांसद राजीव पहारीले गरेका हुन् । प्रशासनले खाना नबाँड्न पटक पटक सूचना जारी गर्दा पनि अभियान जारी राख्नु अटेरी देखिएन र ? नेपाल प्रेसको प्रश्नमा सांसद पहारी भन्छन्, ‘हामी त्यहाँ आफैं खाना पुर्‍याउन जाने होइन । हाम्रो व्यवस्थापनमा अस्पतालले नै दिने हो ।’

    सांसद पहारीले त्यहाँ दैनिक बिहान, दिउँसो र साँझ गरी ६२ छाक खाना निशुल्क बाडिँदै आएको जानकारी दिए । उनले आफूहरु सस्तो प्रचारबाजीका लागिमात्रै खाना नबाँडेको प्रष्ट्याए । ‘हामी आफैं त्यहाँ गएर फोटो खिचाउने, प्रचारबाजी गर्ने होइन,’ उनले भने ।

    सीडीओ भन्छन्- एकद्वार प्रणाली र निषेधाज्ञा पालन गराउनका लागि हो

    जिल्ला प्रशासन कार्यालय कास्कीले भने सहयोग कार्यक्रम एकद्वार बनाउन र संक्रमण फैलिन नदिन खाना बाँड्ने काममा रोक लगाएको बताएको छ । ‘अहिले निषेधाज्ञा छ, संक्रमणदर उच्च छ । यस्तोबेला भिडभाड नगर्न सूचना जारी गरेको अवस्थामा खाना बाँड्दै हिँड्नु उपयुक्त हुँदैन,’ सिडिओ थानेश्वर गौतम भन्छन्, ‘काम राम्रो हो । तर, यो विपत्तीको सन्दर्भ अर्कै हो ।’

    गौतमले अस्पतालका बिरामीहरुलाई खानकै लागि समस्या भए अस्पतालकै क्यान्टिनसँग सहकार्य गर्न सकिने बताए । उनले संक्रामक तथा सरुवा रोग अस्पतालमा वितरण भइरहेको निशुल्क खानाबारे आफूलाई जानकारी नआएको सुनाए । ‘पश्चिमाञ्चलको अस्पतालबारे जानकारी आएर बन्द गराएको हो । संक्रामकको हामीलाई खबर आएको छैन । म बुझ्छु,’ उनले भने ।

  • एमाले कास्कीका नेता भण्डारीको कोरोना संक्रमणबाट निधन

    एमाले कास्कीका नेता भण्डारीको कोरोना संक्रमणबाट निधन

    पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष (माधव पक्ष) शोभाखर भण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ । ६३ वर्षीय भण्डारीको उपचारकै क्रममा निधन भएको हो ।

    एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएका उनको मणिपाल अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला अध्यक्ष (माधव समूह) धनराज आचार्यले जानकारी दिए ।

    ‘एकहप्ताअघि कोरोना पुष्टि भएर स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना हुनु भएको थियो । बचाउन सकिएन,’ उनले भने ।

    लामो समय नेकपा एमालेको सक्रिय राजनीति गरेका भण्डारी पछिल्लो समय प्रतिनिधि सभा विघटनपछि माधव नेपाल पक्षमा खुलेका थिए । केही समयअघि नेपाल समूहले गरेको समानान्तर कमिटी गठनमा उनी जिल्ला उपाध्यक्ष चुनिएका थिए ।

    भण्डारी कास्कीका विभिन्न संघसंस्थामासमेत आवद्ध थिए । अविभावक संघ, कास्की समाज अन्तर्राष्ट्रिय परिषद्, आदर्श समाज, पुष्पलाल मित्रता केन्द्रलगायत संघसंस्थामा आवद्ध थिए । ‘पञ्चायत कालदेखि नै निरन्तर रुपमा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । क्रान्तिकारी विचारधारा र हकी स्वभाव थियो,’ आचार्यले भने ।

  • कास्कीमा आजदेखि निषेधाज्ञा- सडकमा गाडी देखिए, मान्छे देखिएनन् !

    कास्कीमा आजदेखि निषेधाज्ञा- सडकमा गाडी देखिए, मान्छे देखिएनन् !

    पोखरा  । कास्कीमा आजदेखि एक साताका लागि निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले सोमबार १५ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

    अत्यावश्यक कामबाहेक सम्पूर्ण भिडभाडजन्य गतिविधिहरु बन्द गर्न आदेश दिए पनि यातायतामा भने जोरबिजोर प्रणाली लागू गरिएको छ ।

    निषेधाज्ञापछि बिहानैदेखि कास्कीको मुख्य शहरी क्षेत्र पोखरा सुनसानप्रायः छ । बजारका अत्यावश्यक बाहेकका कुनैपनि पसलहरु खुलेका छैनन् । बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ पारिएको छ ।

    पोखराका मुख्यमुख्य चोकमा सुरक्षाकर्मीले कडाइका साथ चेकिङ गरिरहेका छन् । मास्क नलगाएकालाई सम्झाउने र ‘जोर’ अंकमा सवारी साधन चलाउनेलाई कारवाही गरिएको छ । निषेधाज्ञा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट ६ सय ३५ जना प्रहरी परिचालित छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डीएसपी सुवास हमालले मंगलबार बिहानमात्रै २ सय ८१ वटा दुईपांग्रे, ८४ वटा चारपांग्रे र निषेधाज्ञा अटेर गरेर खोलिएका २ सयभन्दा पसल बढी बन्द गराएको जानकारी दिए । ‘अहिलेसम्म मान्छेलाई चाहिँ नियन्त्रणमा लिएका छैनौं,’ उनले भने ।

    यातायातमा जोरबिजोर प्रणाली लागू भएपछि बाटोमा फाटफुट मोटरसाइकल, ट्याक्सी, सार्वजनिक बसलगायत सवारी साधन देख्न सकिन्छ । तर, बाटोमा भिडभाड गर्ने गरी मान्छेहरु हिँड्डुल गरेको देखिँदैन ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा मंगलबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार मंगलबारसम्म गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९ छ ।

    त्यसमध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमामात्रै ७ सय २७ जना सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ । जसमध्ये कास्कीकामात्रै १ सय २० जना छन् ।

  • बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडकसँग पैसा असुल्ने वकिल पक्राउ

    बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडकसँग पैसा असुल्ने वकिल पक्राउ

    पोखरा । बलात्कार गरेको आरोपमा पक्राउ परेका एक प्रतिवादीको मुद्दा मिलाइदिने प्रलोभन देखाएर पैसा असुल्ने एक जना वकिल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार ५८ वर्षीय अधिवक्ता लक्ष्मीबहादुर घिमिरेलाई पक्राउ गरेको हो ।

    लमजुङ दोर्दी गाउँपालिका-३ स्थायी घर भएका घिमिरे पुरानो कानुन व्यवसायी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

    घिमिरेले जबर्जस्ती करणी आरोप पक्राउ परेका आरोपीसँग मुद्दा मिलाइदिने भन्दै एक करोड रुपैयाँ माग गरेको पाइएकाले पक्राउ गरिएको डिएसपी हमालले जानकारी दिए ।

    ‘सुरुमा पीडकसँग एक करोड रूपैयाँ माग गरेका रहेछन् । पछि बार्गेनिङ चल्दै जाँदा १५ लाखमा कुरा मिलेको रहेछ,’ डिएसपी हमालले भने, ‘त्योमध्ये एक लाख १० हजार रुपैयाँ क्यास लिइसकेको रैछ । बाँकी १२ लाखको चेक लिँदा लिँदै राष्ट्र बैंक चोकमा प्रतिनिधि समायौं ।’

    प्रहरीले फागुन १९ गते राष्ट्र बैंक चोकबाट बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडक परिवारसँग चेक बुझिरहेकोबेला २ जनालाई पक्राउ गरेको थियो । त्यतिबेला प्रहरीले उनीहरूबाट उनीहरूबाट कामना सेवा विकास बैंकको ६/६ लाखका दुई वटा चेक, अन्य विभिन्न बैंकका चेक तथा भौचर, विभिन्न कम्पनीका ४ थान मोबाइल फोन बराबद गरेको थियो ।

    ‘उनीहरूको बयानका क्रममा बुझ्दै जाँदा यसको मास्टरमाइन्ड ‘वकिल साप’ पो रहेछन्,’ डिएसपी हमालले भने । पक्राउ परेका घिमिरेलाई ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।

    ‘पहिले पक्राउ परेका २ जनालाई ठगी मुद्दामात्रै थियो । तर, अहिले आएको नयाँ अध्यादेश अनुसार बलात्कारजन्य घटनामा मेलमिलाप गर्न नपाइने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बलात्कारका मतियार ठहरिएका छन्,’ उनले भने, ‘घिमिरेलाई त्यही अनुसार कानुनी कारबाही हुन्छ ।’

    पोखराकै एक युवतीलाई पटकपटक बलात्कार गरेको आरोपमा ६ महिनादेखि फरार अभियुक्त करिब २० दिनअघि पक्राउ परेका थिए । पक्राउ परेका ती ५७ वर्षीय पुरुषको मुद्दा मिलाइदिने भन्दै पैसा असुल्ने खोजेको आरोपमा ३ जना पक्राउ परिसकेका छन् ।

    यो पनि पढ्नुहोस्

    बलात्कार मुद्दा मिलाइदिन्छौं भन्दै करोडौं पैसा माग्ने दुई जना पक्राउ

  • ‘घोषणापत्रका ७० प्रतिशत काम पूरा भएका छन्, बाँकी कामको लागि ढोका खोल्यौं !’

    ‘घोषणापत्रका ७० प्रतिशत काम पूरा भएका छन्, बाँकी कामको लागि ढोका खोल्यौं !’

    पोखरा । विकास र योजना कार्यान्वयनका हिसाबमा कास्कीकै नमूना ‘स्थानीय तह’ का रूपमा चिनिन्छ, रूपा गाउँपालिका । अध्यक्ष चुनिएर गाउँपालिकामा पदभार ग्रहण गर्दै गर्दा नवराज ओझाले जनतासामु विभिन्न प्रतिबद्धता व्यक्त गरेका थिए । तत्कालीन नेकपा एमालेबाट विजयी ओझाले गाउँ–गाउँलाई सडकले जोड्ने र घर–घरमा खानेपानीका धारा पुर्‍याउने प्रतिबद्धता समेत जनाएका थिए ।

    ओझाले गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्दा जम्मा ३० मिटर कालोपत्रे र १०२ घरमा मात्रै खानेपानीको धारा पुगेको थियो । चुनाव जितेलगत्तै घरघरमा धारा र कालोपत्रे सडकबारे गरिएका ती प्रतिबद्धता ‘महत्वाकांक्षी योजना’ का रूपमा हेरिएको थियो ।

    आफ्ना प्रतिबद्धता पूरा हुँदै गएपछि यतिबेला गाउँपालिका अध्यक्ष ओझा सन्तुष्ट छन् । जनताले गुनासो गर्ने वातावरण नरहेको सुनाउँदै उनी भन्छन्, ‘७० प्रतिशत प्रतिबद्धता पूरा गरें । बाँकी योजना बहुवर्षीय भएकाले आउँदो कार्यकाललाई पनि ढोका खुल्ला गरेको छु, सन्तुष्ट छु ।’

    शुरुमा गाउँपालिकामा जम्मा ३० मिटर कालोपत्रे बाटो भएकोमा अहिले करीब ८५ किलोमिटर बाटो कालोपत्रे भइसकेको छ । खानेपानीका ५७ वटा योजना सञ्चालन भइरहेका छन्, जसमध्ये अधिकांश पूरा भइसकेका छन् । खानेपानी योजनाबाट ३९०० घरमा खानेपानीको धारा पुगिसकेको अध्यक्ष ओझा सुनाउँछन् ।

    ‘५७ वटा योजनामध्ये अधिकांश योजना सम्पन्न भइसकेका छन् । बाँकी रहेका योजना पनि केही समयभित्रै सकिन्छन् । ५४ वटा खानेपानी त गाउँपालिकाले आफ्नै पहलमा ल्याएको हो’ अध्यक्ष ओझा भन्छन्, ‘तीन वटा योजनामा मात्रै प्रदेश सरकारले सहयोग गरेको छ ।’

    लामो समयसम्म जनताले जनप्रतिनिधि नपाएकाले बीचमा ‘ग्याप’ हुन गए पनि विस्तारै संघीयता कार्यान्वयनका सिलसिलामा जनता सकारात्मक बन्दै गइरहेको ओझाको अनुभव छ ।

    ओझा भन्छन्, ‘संघीयता आइसकेपछि जनताले विकास माहोलको भने अनुभूति गर्न पाएका छन् । त्यो विकासले गर्दा संघीयताप्रति विस्तारै जनताको सकारात्मक दृष्टिकोण बन्दै गइरहेको छ । जन श्रमदानमा जुट्न थालेका छन् ।’

    घरघरमा धारा, ३० मिटर कालोपत्रे बाटो ८५ किलोमिटरमा बढायौं

    संघीयता लागू भएर स्थानीय तह भइसकेपछि पहिलो काम हामीले कानून बनाउने थियो । स्थानीय तहको कामकारबाहीका लागि आवश्यक नीतिनियम, कार्यविधि, नियमावली बनाउने कुरा सबै गर्‍यौं ।

    विकास निर्माणलाई समानान्तर रूपमा अघि बढाउन गाउँपालिकाले एउटा योजना बनायो– सबै काममा गुरुयोजना र डीपीआर बनाउने । अन्य काममा योजनाबद्ध तरिकाले तथ्यांक संकलन गरेर अघि बढ्ने र त्यसैका आधारमा काम गर्ने भन्यौं ।

    त्यही योजनाअनुसार पहिलो वर्ष ‘कानून निर्माण तथा पूर्वाधार वर्ष’ को रूपमा मनायौं । त्यो वर्ष हामीले सडकलाई महत्व दिएर अघि बढ्यौं । शुरुमा हाम्रो गाउँपालिकामा जम्मा ३० मिटर कालोपत्रे थियो । अहिले स्थानीय तह आइसकेपछि ८५ किलोमिटर बाटो पिच भइसकेको छ ।

    दोस्रो वर्ष ‘खानेपानी वर्ष’ का रूपमा मनायौं । खानेपानीका लागि करीब ५४ वटा योजना पूरा गर्‍यौं । तीन वटामा प्रदेश सरकारसँग सहकार्य गरेका थियौं । खानेपानी योजनामा पनि गाउँपालिकाले आफ्नो योजना पूरा गर्‍यो । एकाध ठाउँमा मात्रै बाँकी छन् ।

    तेस्रो वर्षलाई ‘कृषि वर्ष’ का रूपमा मनायौं । यो वर्ष हामीले कृषिलाई फोकस गरेका छौं । किसानलाई टनेल बनाइदिने, पकेट क्षेत्र घोषणा गर्ने, प्रदेश–संघसँग भएका पकेट क्षेत्र, अन्य लाइफ स्टाइलसँग जोडिएका योजनामा समन्वय गरेर काम गरिरहेका छौं । अहिले गाउँपालिकाको कृषि विकासका लागि मात्रै करिब २० करोड रुपैयाँ बराबर लगानी गरिरहेका छौं ।

    शिक्षाको क्षेत्रमा पनि हाम्रो गाउँपालिकाले राम्रो काम गरेको छ । भूकम्प प्राधिकरण, जिल्ला इकाई, प्रदेशसँग समन्वय गर्ने र स्थानीय तहको तर्फबाट लगानी गरेर सबै विद्यालयको भौतिक पूर्वाधारदेखि पक्की भवनसम्म बनाएका छौं । भूकम्प गइसकेपछि अधिकांश भवन जीर्ण थिए, सबै मर्मत गरिसकेका छौं ।

    प्राविधिक शिक्षा शुरू गरेका छौं । कृषि, भेटेरिनरी, इन्जिनियरिङ शुरू गरिसकेका छौं । सबै विद्यालयमा अंग्रेजी माध्यमको पढाइ शुरू भएका छन् । तालिम, ड्रेस, शिक्षक डायरी, विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तकका लागि आर्थिक भार पर्ने भएकाले ती सबै गाउँपालिकाले नै व्यहोर्दै आएको छ ।

    शिक्षामा स्तरीयता ल्याउन, प्रविधिमैत्री बनाउन ‘एक शिक्षक एक ल्यापटप’ को व्यवस्था गरेका छौं । शिक्षामा गाउँपालिकाले गरेकोे लगानीले राम्रो प्रतिफल पनि दिइरहेको छ ।

    स्वास्थ्य क्षेत्रमा सबै स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था गरेका छौं । अहिले गाउँपालिकाका पाँच वटा स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था भइसकेको छ । गाउँपालिकामै अस्पताल निर्माण गर्नेलगायतका काम भइसकेका छन् । आउँदो वैशाख १ गते १० बेड क्षमताको अस्पताल उद्घाटन गर्दैछौं । स्वास्थ्य इकाइ नभएका वडामा स्वास्थ्य चौकी भवनहरू बनाउन लागेका छौं ।

    कोभिडको बेला पनि हाम्रो गाउँपालिकाले देशकै नमूनाको रूपमा काम गर्‍यो । कोरोनाविरुद्ध खटिने स्वास्थ्यकर्मीलाई १० लाख रुपैयाँको बीमादेखि कर्मचारीहरूलाई भत्ताको व्यवस्था पनि गर्‍यौं । यसले देशलाई नै एउटा सन्देश दियो ।

    पर्यटनको हकमा रूपा गाउँपालिका एकदमै सम्भावना भएको ठाउँ हो । यहाँ तीनतिरबाट हिमाल देखिन्छ । पूर्वतिर मनास्लु, पश्चिमतिर धौलागिरि, उत्तरतर्फ अन्नपूर्ण हिमशृंखला मजाले नियाल्न सकिन्छ । बंगलादेशका महामहिम राष्ट्रपतिले समेत हाम्रो गाउँपालिकाको भ्रमण गरेका थिए ।

    भ्युटावर, पार्क बनाउनेदेखि करिब चार किलोमिटर फुट–ट्रयाक बनायौं । यो वर्ष ६ किलोमिटर पैदलमार्ग बनाउँछौं । होमस्टे सञ्चालन, तालिम दिने सबै गर्‍यौं । रूपातालको ब्युटिफिकेसन गर्नका लागि डीपीआरहरूमा सहभागी हुने, सहजीकरण गर्ने काम गर्‍यौं ।

    पशुका हकमा भकारी सुधार, नश्ल सुधार सबै काम गर्‍यौं । अहिले हाम्रो गाउँपालिकाभित्र निःशुल्क रूपमा नश्ल सुधार गर्न गाउँपालिकाले नै कर्मचारी खटाएको छ । चौबीसै घन्टा प्राविधिकहरू अपडेट गरेर राखेका छौं ।

    जनताको जीविकोपार्जनसँग जोडिने सबै पाटोहरू हाम्रो मुख्य प्राथमिकतामा पर्छन् । सिंचाइ, कुलो व्यवस्थापन, सिंढी निर्माण गर्ने भन्ने हामी जनप्रतिनिधि आएपछि मात्रै सम्भव भएका हुन् । भूकम्पले क्षति पुगेका घरहरू पनि पुनर्निर्माण भइसकेका छन् ।

    स्थानीय तहका जनप्रतिनिधिका चुनौती र अवसर

    लामो समयसम्म जनताले जनप्रतिनिधि नपाइरहेको अवस्था थियो । संघमा थियो तर संघ स्थानीय तहका जनतासँग सीधै जोडिन सक्ने अवस्था थिएन । अहिले घरआँगनमै जनप्रतिनिधि पाइसकेपछि जनताले आफ्नो समस्या सजिलै भन्न पाएका छन् ।

    जनताको समस्या सुनेर सोही अनुसार योजना बनाउने हाम्रो जिम्मेवारी हो । त्यही अनुसार हामी लागिरहेका छौं ।

    तर, लामो समयसम्म जनताले जनप्रतिनिधि नपाउँदा ग्याप रहन गयो । जनप्रतिनिधि र जनताले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने कुरा सिकाउने मिडिएटर भएनन् । त्यसले गर्दा हरेक काम र योजनामा जनसहभागिता जोड्ने काम केही असहज हुन गयो । त्यो काम अझै पनि गाह्रो छ ।

    जनसहभगिता न्यून रहेकै कारण जनताले सबै काम तथा योजना मेरो पनि हो भन्न अझै गाह्रो छ । कानून ऐन नबुझी भनी र गरिदिएपछि हुन्छ नि भन्ने परिपाटीले पनि समस्या उत्पन्न भइरहेका छन् । त्यो मानसिकता परिवर्तन गर्न पनि गाह्रो छ ।

    कानून, मापदण्डअनुसार संरचनाहरू बनाउने, योजना ल्याउने, गुणस्तरीयता बढाउने भन्ने कुरामा अझै सबैलाई प्रष्ट पार्न सकिएको छैन । यसमा जागरुक बनाउनुपर्नेछ । राम्रो पक्ष भनेको संघीयता आइसकेपछि जनताले विकास माहोलको अनुभूति गर्न पाएका छन् । त्यो विकासले गर्दा संघीयताप्रति विस्तारै जनताको सकारात्मक दृष्टिकोण बन्दै गइरहेको छ ।

    सिंचाइ, खानेपानी, कुलो, सिंढी जस्ता क्षेत्रमा जनश्रमदान र राम्रो सहयोग पाइएको छ । तर, सडक बनाउने, विद्यालय बनाउने कुरामा भने अझै पनि जनश्रमदान पाउन सकिएको छैन । विस्तारै माहोल बनाउँदै लैजानुपर्नेछ ।

    योबेला प्रदेश र संघले हामीलाई सहयोग गरेजस्तो गरेर अधिकार भने आ–आफैंतिर केन्द्रित गरेर राखेको अनुभूति गरेका छौं । आफ्ना कार्यक्रमहरू एउटा न एउटा बहानामा स्थानीय तहमा लिएर आउने र दख्खल दिने काम भइराखेको छ । गाउँपालिकामा आउँदा धेरै कुरा समन्वय र व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

    काम गर्दा धेरै रमाइलो र मजा नै भइराखेको छ । सोचेअनुसारको सफलता पाइरहेकै छौं । सन्तुष्ट नै छौं । घोषणापत्र अनुसार ७० प्रतिशत काम पूरा गरिसक्यौं । बाँकी ३० प्रतिशत बहुवर्षीय योजनाअन्तर्गतका हुन्, ती काम केही समय पछि पूरा हुन्छन् । केही भने आउँदो कार्यकालका लागि सजिलो हुने गरी ट्रयाकमा लगाइसकेका छौं ।

  • कास्कीमा नेता छान्न प्रचण्ड-माधवलाई सकस, अध्यक्षमा साबिक एमाले र माओवादीको दावी

    कास्कीमा नेता छान्न प्रचण्ड-माधवलाई सकस, अध्यक्षमा साबिक एमाले र माओवादीको दावी

    पोखरा । प्रचण्ड-माधव नेपाल पक्षीयन नेकपाले ६८ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाउँदा कास्की जिल्लाको नेतृत्व भने चयन गर्न सकेन । पार्टी विभाजनपछि अध्यक्ष कृष्ण थापा केपी ओलीतिर छन् ।

    कास्कीका सबै जनप्रतिनिधि र अधिकांश नेता कार्यकर्ता केपी ओलीतिर लागेपनि प्रचण्ड माधव पक्षमा नेतृत्व कसले गर्ने भन्ने विवाद देखिएको छ ।

    सो पक्षले नयाँ ढंगबाट एकता गर्ने भन्दै ५०-५० प्रतिशतको पद बाँडफाँड गर्ने निर्णय गरिसकेका छन् । सोही निर्णय बमोजिम प्रचण्ड-माधव पक्षीय नेकपाले पहिलो चरणमामा फागुन ७ गते ६८ जिल्लाको चयन गरिसकेको छ । बाँकी ९ वटा जिल्लामा नेतृत्व छान्नै बाँकी छ ।

    साविक माओवादी र एमालेको आआफ्नै दाबी !

    कास्की जिल्ला तत्कालीन एमालेको राम्रो प्रभाव रहेको ठाउँ मानिन्छ । कास्कीका जिल्लादेखि स्थानीय तहसम्म तत्कालीन एमालेको प्रभाव छ । तर, यसबीचमा साविक माओवादी र एमालेबाट चुनेर जिल्लाको नेतृत्व चुन्नुपर्ने चुनौति छ ।

    तत्कालीन समयमा पूर्व एमाले र माओवादीले एकता गरी समायोजन गर्दा कास्कीमा नेकपा अध्यक्षमा तत्कालीन एमालेका कृष्ण थापा र सचिवमा नेकपा माओवादीबाट बखानसिंह गुरुङ चयन भएका थिए । अहिले गण्डकी प्रदेश सांसदसमेत रहेका पार्टी अध्यक्ष कृष्ण थापा ओली पक्षमा उभिएसँगै अध्यक्ष पद खाली छ ।

    अध्यक्ष ओली समूहमा लागेपछि अहिले जिल्लाको नयाँ अध्यक्ष को बन्ने भन्ने विषयमा माधव-प्रचण्ड पक्षीय नेकपाको चासोको विषय छ । सहमतिअनुसार कास्कीमा तत्कालीन एमालेबाट पद रिक्त हुन गएकाले एमालेबाटै नेतृत्व चयन हुनुपर्ने दावी माधव नेपाल पक्षको छ । तर, त्यसमा सहमति जुट्न नसकेकोले निर्णय हुन नसकेको स्रोतको दाबी छ ।

    प्रचण्ड माधव पक्षीय नेकपाको कास्की जिल्ला अध्यक्षमा अहिले जिल्ला सचिव नै रहेका बखानसिंह गुरुङ र तत्कालीन एमालेका नेता धनराज आचार्यको चर्चा छ ।

    पार्टी सहमति अनुसार कास्कीको जिल्ला नेतृत्व तत्कालीन एमालेले पाउनुपर्ने हुन्छ । तर, जिल्ला अध्यक्षमा तत्कालीन माओवादीले अध्यक्ष पद नछाड्ने संकेत गरेको छ । हाल जिल्ला सचिव रहेका साविक माओवादीका जिल्ला अध्यक्ष बखानसिंह गुरुङ आफू नै अध्यक्ष हुने ‘सुल्टो तरिका’ बताएका छन् ।

    ‘कास्कीबारे केन्द्रीय कमिटीले कुनै निर्णय गरेको छैन । त्यसको आधिकारिक निर्णय आइसक्या छैन । तर, यहाँको यहाँको सापेक्षतामा त अहिले भइराखेको सचिव नै अध्यक्ष हुने होला !’ गुरुङले नेपाल प्रेससँग भने ।

    जिल्ला अध्यक्ष प्रतिगमनको पक्षमा लागेपछि अर्कोले सम्हालिराखेको खण्डमा आफूले अध्यक्ष पाउने नै सुल्टो तरिका हुने उनले बताए । तर पार्टी अध्यक्ष ओली पक्षमा लागेपछि जिल्लाको नेतृत्व सहमति बमोजिम साविक एमालेले नै पाउनुपर्ने माधव नेपाल पक्षको दावी छ ।

    साविक एमाले नेता धनराज आचार्यले जुन ठाउँमा जुन पक्ष खाली रहेको हो त्यही पक्षले नै पद पाउनुपर्ने सहमति अनुसार तत्कालीन एमालेले पाउने दाबी गरे । उनले भने–कास्की पुरानो एमालेको हो । सम्भवतः एमालेले नै पाउँछ ।’

    अध्यक्षका दाबेदारका रुपमा उभिएका तत्कालीन एमालेका नेता धनराज आचार्य स्वर्गीय रवीन्द्र अधिकारीका सहपाठी र रवीन्द्र अधिकारी प्रतिष्ठानका महासचिवसमेत हुन् ।

    रवीन्द्र अधिकारीको हवाइ दुर्घटनामा मृत्यु भएपछि रिक्त बनेको कास्की २ को प्रतिनिधि सभा चुनावमा उनकै पत्नी विद्यालाई नेकपाले चुनावमा उठाएको थियो । उक्त चुनावको चुनावी कमान्डरको रुपमासमेत आचार्यले काम गरिसकेका छन् । विद्या भने ओली पक्षको केन्द्रीय सदस्य हुन् ।

    नयाँ सहमति अनुसार ५०÷५० प्रतिशत पद बाँडफाँड भनिएकाले सोअनुसार पदमा थपघट हुन सक्ने भने आचार्यको भनाइ छ । उनले पार्टी सचिवालयले कुनै पनि सिफारिस नगरेकाले कास्कीमा कोही पनि ‘दाबेदार नरहेको’ बताए ।

    ‘अधिवेशनको बेला भए केही भन्न सकिन्थ्यो । तर, अहिले अप्ठेरोबेला छ । यस्तोबेला दाबी गर्ने समय होइन,’ आचार्यले भने, ‘पार्टीले जे निर्णय र जिम्मेवारी दिन्छ त्यही स्वीकार्ने हो ।’

    प्रचण्ड-माधव पक्षीय नेकपाले कास्कीमा अध्यक्ष पदमात्रै नभई पोखरा महानगरसमेत नेतृत्व छान्न सकेको छैन । गण्डकीका ११ जिल्लामध्ये ६ वटा जिल्लामामात्रै नेकपाले नेतृत्व छानेको छ ।

  • महिलालाई लोकसेवा पढाउँदै माछापुच्छ्रे गाउँपालिका

    महिलालाई लोकसेवा पढाउँदै माछापुच्छ्रे गाउँपालिका

    रासस । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । कास्कीको उत्तर-पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब्सुबा) र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३० युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले जानकारी दिइन् ।

    छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागिताका लागि माघ १४ गतेसम्म खुला आवेदन आह्वान गरिसकिएको र माग सङ्ख्याभन्दा बढी आवेदन आएमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षणमार्फत गरिने बताइन्।

    उनले भनिन्, ‘कतिपय महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिनसक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौँ । राष्ट्रसवेक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।’

    सुविधासम्पन्न प्रशासनिक भवन बन्दै

    माछापुच्छ्रे गाउँपालिकाले आधुनिक र सुविधासम्पन्न प्रशासनिक भवन निर्माण शुरु गरेको छ । गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन (साहुथर) मा १० रोपनी क्षेत्रफलको जमिनमा ६ करोड ६२ लाख ११ हजार ९०६ रुपैयाँ लागतमा गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम भइरहेको छ । साविक लाहाचोक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा अहिलेको भवन साँघुरो हुँदा सेवाप्रवाहमा समस्या छ ।

    विसं २०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो÷जिएस इञ्जिनीयरिङ जेभीसँग गत भदौ १५ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषको २ करोड ५० लाख रुपैयाँ र प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बाँकी रकम गाउँपालिकाले लगानी गर्नेछ ।

    विद्युतीय भर्‍याङ (लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन् । यसैगरी माथिल्लो तलामा २०० जना क्षमताको सभाहल बन्ने गाउँपालिकाका सबइञ्जिीनियर राजेन्द्र गौतमले जानकारी दिए । भवनको तल्लो तलामा हाल टाइपिङ र पिलर उठाउने काम सकिएको छ । यसैगरी प्रशासकीय भवनको चारैतिर पर्खाल लगाउने काम पनि भइरहेको उनले बताए ।

    गाउँपालिका उपप्रमुख दवाडीले साँघुरो भवनबाट सेवा दिँदा अप्ठ्यारो भएकामा सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘हालको भवनमा पर्याप्त ठाउँ नहुँदा कार्यालय व्यवस्थापन राम्रोसँग कुर्सी टेवलसमेत राख्न सकिने अवस्था छैन । निर्धारित समयभित्रमा नै सुविधासम्पन्न भवन बनाएर पालिकावासीलाई सहज सेवा दिन्छौं ।’ नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिकसहित कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकासलगायतका विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुने जनाइएको छ ।