Tag: कावुल

  • अफगानिस्तानबाट फर्केकाहरूले भने- हामीलाई अमेरिकाले ल्यायो, अरुको पनि उद्धार होस्

    अफगानिस्तानबाट फर्केकाहरूले भने- हामीलाई अमेरिकाले ल्यायो, अरुको पनि उद्धार होस्

    काठमाडौं । अफगानिस्तानबाट पहिलो लटमा ११८ जना नेपालीहरू सुरक्षित नेपाल फर्किएका छन् । अमेरिकी दूतावासमा सुरक्षा गार्डको काम गर्ने उनीहरूलाई अमेरिकाले नै नेपाल फर्काइदिएको थियो ।

    काबुलबाट कतार र कुवेत हुँदै उनीहरू नेपाल आइपुगेको प्युठान घर भएका लालबहादुर पुनले बताए ।

    ‘हामीलाई दूतावासले सुरक्षित तरिकाले राखेको थियो, कुनै समस्या भएन,’ उनले भने, ‘अरु पनि धेरै नेपाली दाजुभाइहरू हुनुहुन्छ, उहाँहरुको पनि सुरक्षित उद्धार होस् ।’

    त्रिभुवन विमानस्थबाट बाहिरिने क्रममा अधिकांश नेपालीहरू मलिन अनुहारमा देखिएका थिए । पत्रकारहरूसँग उनीहरू त्यतिधेरै खुल्न चाहेनन् । उनीहरूले आफूहरू सुरक्षित फर्किन सफल भएकोमा खुशी व्यक्त गरे ।

    आफ्नो नाम बताउन नचाहने एकजनाले भने, ‘त्यहाँको अवस्था दर्दनाक छ । हामी बाध्यताले गएका हौं । अरुलाई त्यस्तो ठाउँ नजानुस् भन्न चाहन्छौं ।’

    उनले आफू १४ वर्षदेखि अफगानिस्तानमा काम गर्दै आएको बताए । अर्का एक युवाले चाहिँ काबुलमा सोचेजस्तो डरलाग्दो अवस्था नभएको बताए । ‘सोचेजस्तो खराब अवस्था छैन, सामान्य छ,’ उनले भने ।