Tag: कालो ढुसी

  • नेपालमा २६ जनामा कालो ढुसी संक्रमण पुष्टि, औषधि नहुँदा उपचारमा समस्या

    नेपालमा २६ जनामा कालो ढुसी संक्रमण पुष्टि, औषधि नहुँदा उपचारमा समस्या

    काठमाडौं । कोरोना बिरामीमा प्रकोपको रुपमा देखिएको म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमण नेपालमा अहिलेसम्म २६ जना बिरामीमा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी भर्ना भएका छन् ।

    भर्ना भएका मध्ये दुईजनाको अवस्था गम्भिर रहेको अस्पतालका डा. रवीन्द्रभक्त प्रधानाङ्गले जानकारी दिए । समयमै अस्पतालमा नपुग्दा धेरैजना बिरामीमा जटिलता हुनसक्ने र आँखा नै नदेख्ने हुने गरेको उनले जनाए ।

    कालो ढुसी भएका एक बिरामीले अहिलेसम्म ज्यान गुमाएका छन् भने दुईजनाको आँखा निकालिएको छ । कालो ढुसीका बिरामीलाई दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव देखिएको समेत उनले जनाए । उक्त औषधि उपलब्ध नहुँदा अहिले बिरामीले पोसाकोनाजोल नामक वैकल्पिक औषधि प्रयोग गरिरहेका छन् ।

    एम्फोटेरिसिन बीलाई भारतले निर्यात प्रतिबन्धित औषधिको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले कालो ढुसीका बिरामीका लागि भन्दै विश्व स्वास्थ्य संगठनसँग ३ हजार भाइल पठाउन आग्रह गरेको थियो । तर, सहजरुपमा उपलब्ध नभएको भन्दै डब्लुएचओले जवाफ दिएको छ । औषधि महंगो हुने भएकाले समेत नेपालले खरिद प्रक्रिया अघि बढाउन सकेको छैन भने विकल्पमा पोसाकोनाजोल औषधिलाई प्रयोग गरिरहेको छ ।

  • कैलालीमा कालो ढुसी संक्रमणबाट एकजनाको मृत्यु

    कैलालीमा कालो ढुसी संक्रमणबाट एकजनाको मृत्यु

    कैलाली । कैलालीमा म्यूकोर्माइकोसिस अर्थात कालो ढुसी संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया- ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको कालो ढुसी संक्रमणबाट आज मृत्यु भएको हो ।

    जेठ १७ देखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका छन् । कालो ढुसीबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालको पहिलो केस भएको उनले बताए ।

  • नेपालमा कालो ढुसीको संक्रमण फैलिएको भन्दै सरकारद्वारा एड्भाइजरी जारी

    नेपालमा कालो ढुसीको संक्रमण फैलिएको भन्दै सरकारद्वारा एड्भाइजरी जारी

    काठमाडौं । नेपालमा ‘कालो ढुसी’ को संक्रमण भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गर्दै एड्भाइजरी जारी गरेको छ । भारतमा ‘ब्ल्याक फङ्गस’ भनिने कालो ढुसीबाट हजारौं मानिस संक्रमित भइसकेका छन् । कोभिड निको भएका विरामीहरुमा यो रोग देखिएको छ ।

    मन्त्रालयले रोगका लक्षण, रोकथामका विधि र संक्रमण भए आइसोलेसनमा रहेर गर्नुपर्ने कार्यबारे एड्भाइजरीमा उल्लेख गरेको छ । कोभिड-१९ भएर निको भएका विरामीहरुमा आँखा, नाक र अनुहार विगार्ने जस्ता समस्याहरु देखा परेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा हाल कालो ढुसीको संक्रमण विरलै देखिएपनि संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो रोग घातक भएकाले स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउन जरुरी रहेको जनाइएको छ ।

    कालो ढुसी भएका मानिसहरुमा सामान्य यी देखा पर्ने लक्षणहरु

    • अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने
    • आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
    • नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने
    • ज्वरो आउने
    • आँखाको ढकनी सुनिने, ढकनी झुक्ने, आँखा धमिलो देखिने
    • दाँत दुख्ने वा हल्लिने

    यी मानिसहरुमा उच्च जोखिम हुने सम्भावना हुन्छ

    • कोभिड–१९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु
    • चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
    • मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु

    घरमा आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपायहरु

    • सफा र सुख्खा माक्स प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने
    • नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
    • व्यक्तिगत सरसफाईमा ध्यान दिने
    • घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने
    • धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
    • नुुनिलो पानीले नाक सफा गर्ने
    • पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
    • मधुमेह भएका विरामीले सुगर नियन्त्रणमा राख्ने
    • स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने
  • नेपालमा १२ जनामा कालो ढुसीको संक्रमण पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा एड्भाइजरी जारी

    नेपालमा १२ जनामा कालो ढुसीको संक्रमण पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा एड्भाइजरी जारी

    काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको भएका मानिसहरुमा ‘कालो ढुसी’को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म झन्डै एक दर्जन मानिसमा आँखा बिगार्ने ‘ब्ल्याक फङ्गस’को संक्रमण देखिएको मन्त्रालयले बताएको छ । वीरगञ्ज, नेपालगञ्ज र काठमाण्डौंका अस्पतालबाट कालो ढुसी संक्रमणको विवरण आएको स्वास्थ्य मन्त्रालयको प्रवक्त्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

    भारतमा ब्ल्याक फङ्गसबाट हजारौ मानिस संक्रमित भएका छन् । नेपालमा पनि कोभिड बिरामीका लागि यो संक्रमण घातक बनेको छ ।
    पौडेलले भने, ‘नेपालमा सुरुमा वीरगञ्जबाट कालो ढुसीको संक्रमणबारे रिपोर्ट गरिएको थियो । संक्रमण रोकथाम तथा उपचारको लागि मापदण्ड बनाएका छौं, विशेषज्ञ चिकित्सकहरुको एउटा कोर टीम बनाएर हामीले रोकथामका लागि एड्भाइजरी प्रकाशित गरिसकेका छौं ।’

    चिकित्सकका अनुसार कालो ढुसी संक्रमितको उपचारको लागि ‘एम्फोटेरिसिन बी’ औषधीको प्रयोग गरिएको छ तर नेपालामा भने अहिलेसम्म यो औषधी उपलब्ध हुन सकेको छैन । पछिल्लो समय भारतले आयात निर्यातमा रोक लगाएपछि औषधि उपलब्ध गर्नका लागि चुनौतिपूर्ण भएको छ’ पौडेलले बताए ।

    तीलगंगा इन्स्टिच्यूटका विशेषज्ञ रीता गुरुङका अनुसार कालो ढुसी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको मानिसमा बढी हुने गर्दछ । कोभिड संक्रमण भइसकेका मानिसहरुमा इम्यूनिटी (प्रतिरोध क्षमता) घटेको हुन्छ, त्यस्ता बिरामीहरुमा रोगसँग लड्ने क्षमता घट्न जान्छ । यो रोग मधुमेह रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा बढी समस्या देखिने गर्छ ।

    अहिले चर्चामा रहेका ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र एलो फङ्गस एउटै प्रजातिको भएको उनी बताउँछिन् ।