Tag: कारबाही

  • सिरहामा माओवादीका बागी उम्मेदवार महतोसहित छ नेता कारबाहीमा

    सिरहामा माओवादीका बागी उम्मेदवार महतोसहित छ नेता कारबाहीमा

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रले सिरहामा बागी उम्मेदवार बनेका रामचन्द्र महतो ‘कोइरी’सहित छ नेतालाई कारबाही गरेको छ ।

    गोलबजार नगरपालिकामा माओवादीका बागी मेयर उम्मेदवार महतो, उपमेयर उम्मेदवार वास्ना मोक्तान, नेताहरू प्रवेश लामा, मनोज सिंह, कमल स्याइवो र पुजन सिंह कारबाहीमा परेका हुन् । माओवादी मधेस प्रदेशका इन्चार्ज गणेश शाहले विज्ञप्ति जारी गरेर उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जनाएका छन् ।

    गोलबजार नगर समिति, सिराहाबाट कारबाहीको लागि सिफारिस भइ आएको र उनीहरुलाई पार्टी अनुशासन पालना नगरेको देखिएकोले पार्टी विधानको धारा ११ को दफा १ (ग) अनुसार पार्टी केन्द्रको निर्देशन बमोजिम कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    गोलबजार नगरपालिकामा माओवादीले निवर्तमान मेयर देवनाथ साहलाई नै पुनः उम्मेदवार बनाएको छ । उनी माओवादी स्थायी कमिटी सदस्य विश्वनाथ साहका भाइ हुन् । उनलाई पहुँचक आधारमा पुनः टिकट दिएको भन्दै महतोले प्यानल बनाएर बागी उम्मेदवारी दिएका हुन् ।

  • म्याद गुज्रिएको चिया भेटिएपछि युनिलिभरको उद्योगमा सिल, कारबाही प्रक्रिया शुरु

    म्याद गुज्रिएको चिया भेटिएपछि युनिलिभरको उद्योगमा सिल, कारबाही प्रक्रिया शुरु

    हेटौडा । हेटौँडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया शुरु गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा उक्त कम्पनीमा म्याद गुज्रिएको चिया फेला पारेपछि स्थानीय प्रशासनले युनिलिभरको चिया प्लान्ट सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

    उनले भने, ‘विशेष सूचनाका आधारमा भएको अनुगमनमा विवरण स्पष्ट नभएका तथा म्याद गुज्रिएका चियापत्ती फेला पारेर हामीले नमूना सङ्कलन गरेका छौँ र कम्पनीको चिया प्रशोधन केन्द्रमा सिलबन्दी गरेका छौँ ।’

    उनका अनुसार उक्त कम्पनीमा म्याद गुज्रेका तथा विवरण स्पष्ट नभएका करिब ३० किलोग्रामका ९२० बोरा चिया फेला परेको थियो । फेला परेको चियाको नमूना सङ्कलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको उनले बताए ।

    उक्त चियालाई पुनः म्याद थपेर नयाँ प्याकेट बनाउने प्रयोजनका लागि राखिएको विशेष सूचना पछि अनुगमन गरिएको उनले जानकारी दिए । भारतबाट आयात गरिएको म्याद गुज्रिएको चियापत्ती ‘रेड लेबल’ नामक चियाको ब्राण्डमा बिक्रीका लागि बजार पठाउने गरेको फेला पारिएसँगै अनुगमन भएको हो ।

    प्राप्त विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्तावादी सङ्घ संस्थासहितको संयुक्त अनुगमन टोलीले उद्योग परिसरमा रहेको चियापत्ती प्लाण्टमा अनुगमन गरेको बताइएको छ । यसअघि सो टोलीले भारतीय ब्राण्डको नाममा गैरकानुनीरुपमा अगरबत्ती उत्पादन गर्ने एक व्यवसायीलाई पनि कारबाही गरेको थियो ।

  • निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही

    निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही

    काठमाडौं । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो ।

    उनका अनुसार उनीहरुलाई एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको उनले बताए ।

    यस्तै निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँड्डुल गर्ने ११ हजार ७२० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । होल्डमा राखिएकामा मास्क नलगाई हिँड्डुल गर्ने पनि छन् । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका सात हजार ७०० सवारी साधनलाई कारबाही गरिएको छ । त्यसमा चार पाङ्ग्रे सवारी साधन एक हजार ४४५ र दुई पाङ्ग्रे सवारी साधन ६ हजार २६० रहेका छन् । उनीहरुलाई ५०० रुपैयाँदेखि एक हजारसम्म जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

    निषेधाज्ञा उल्लङ्घन गर्नेबाट कारबाहीस्वरुप २२ लाख ९१ हजार ४०० रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जारी गरिएको निषेधाज्ञा तेस्रो पटकसम्म थप गरिएको समयसमेत यही जेठ २० गते सकिँदैछ । कोरोना संक्रमणका कारण जिल्लामा २२१ जनाको मृत्यु भएको छ भने १३ हजार ८८९ संक्रमित भएका छन् । सोमध्ये चार हजार ८४५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५०, होम आइसोलेशनमा रहेका चार हजार ६७९ र सार्वजनिक आइसोलेशनमा रहेका १६ संक्रमित छन् ।

    -रासस

  • नेपाल र रावल नसच्चिए थप कडा कारबाही गर्ने चेतावनी (पत्रसहित)

    नेपाल र रावल नसच्चिए थप कडा कारबाही गर्ने चेतावनी (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेले पूर्वमहासचिव माधवकुमार नेपाल र पूर्वउपाध्यक्ष भीम रावललाई जुनसुकै बेला थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै सच्चिनका लागि अन्तिम मौका दिएर ६ महिना निलम्बन गरिएको जनाएको छ ।

    यसबीचमा नसच्चिए निलम्बनकै बीचमा थप कारबाही हुने चेतावनी समेत दिइएको छ ।

    दुवै नेतालाई लेखिएको कारबाही पत्रको व्यहोरा उस्तै छ । पत्रमा स्पष्टीकरण बुझाउँदा कुनै गल्ती स्वीकार नगरी अहंकार र आत्म केन्द्रित कुराहरू लेखेको उल्लेख छ ।

    ‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरीरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्म केन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ पत्रमा भनिएको छ।

    स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटीको स्विकारोक्ति नगरेको र कुनै आत्मसमीक्षा नगिरएको भन्दै थप कारबाही हुने चेतावनीसमेत पत्रमा दिइएको छ। पत्रमा भनिएको छ, ‘यस्तै गतिविधिहरू कामय रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ।’

     

     

  • एमालेद्वारा माधव नेपाल र भीम रावलमाथि कारबाही,पार्टी सदस्यबाट ६ महिना निलम्बन

    एमालेद्वारा माधव नेपाल र भीम रावलमाथि कारबाही,पार्टी सदस्यबाट ६ महिना निलम्बन

    काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।

    उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

    कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेका थिए ।

    पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेका थिए ।

    अदालतबाट एमाले पुनःस्थापनापछि पेरिसडाँडामा बैठक बसेर केपी ओलीविरुद्ध संघर्ष गर्ने भन्दै फर्केका नेता नेपालले विभिन्न ठाउँमा पार्टीका नाममा भेला र बैठक गरेको तथा समानान्तर कमिटीहरु गठन गरी पार्टी फुटाउन खोजेको आरोप लागेको थियो ।

    यसबीचमा एमाले भइसकेपछि पनि पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेले नेपाल र रावलसहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टिकरण सोधेको थियो ।

    नेपाल र रावलले उल्टै अध्यक्ष ओलीमाथि आरोपहरू लगाउँदै प्रतिस्पष्टीकरण मागेपछि उनीहरू कारबाहीको भागिदार हुने अोलीले बताइसकेका थिए ।

    सोमवार बालुवाटारमा महासचिव ईश्वर पोखरेलसहितका नेताहरूसँगको छलफलपछि नेपाल र रावलका गतिविधि एमाले फुटाउने र प्रचण्डको इशारामा चलिरहेको ठहर गर्दै ६ महिना पार्टी सदस्यबाट निलम्वन गर्ने निर्णय भएको एक नेताले बताए । भुसाल र पाण्डेले भने स्पष्टीकरण बुझाएका छैनन् ।

  • हस्ताक्षर फिर्ता नलिने सांसदमाथि कारबाही थाल्न मुख्यमन्त्रीलाई ओलीको निर्देशन

    हस्ताक्षर फिर्ता नलिने सांसदमाथि कारबाही थाल्न मुख्यमन्त्रीलाई ओलीको निर्देशन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संघीय संसदीय दलको नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई निर्देशन दिएका छन् ।

    राईले आज संसदीय दलको बैठक डाक्दा माधव नेपाल पक्षधरका २ सांसद सहभागी भए । बैठकमा उनीहरूले अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता गर्ने जानकारी गराएका छन् । माओवादी सांसद टंक आङबुहाङ भने सहभागी थिए । एमालेका ५१ सांसदमध्ये ३१ जना राईको पक्षमा उभिएका छन् ।

    भीम आचार्यको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएकोमा सो प्रस्ताव फिर्ता नलिए कारवाही अघि बढाइने भएको छ । ओलीले मुख्यमन्त्री राईलाई हालै काठमाडौंमा बोलाएर हस्ताक्षर फिर्ता लिन मौका दिने र फिर्ता नलिएमा अनुशासनको कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

    यसबीचमा एमालेले प्रदेश सांसदहरुको समेत कारबाही र समानुपातिकबाट हटाउने थप्ने अधिकार अध्यक्ष ओलीलाई दिइसकेको छ ।

    वागमतीका मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्ध पनि तत्कालीन प्रचण्ड-माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको छ । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरेर दर्ता गरिएको सो प्रस्ताव फिर्ता नलिए एमालेका सांसदहरुमाथि कारबाही प्रक्रिया अघि बढ्ने भएको छ ।

  • माओवादीले एमालेमा लागेका सांसदलाई फर्काउन पत्र पठाउने

    माओवादीले एमालेमा लागेका सांसदलाई फर्काउन पत्र पठाउने

    काठमाडौं । नेकपा माओवादी (केन्द्र) ले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ ।

    हिजो सोधेको स्पष्टीकरणको जवाफ नआएकाले औपचारिक पत्र काट्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

    पेरिसडाँडामा केहीबेरअघि सकिएको केन्द्रीय कमिटी बैठकले कारबाही प्रक्रिया अघि बढाउने भनिएपनि कानूनी प्रश्नसमेत उठ्न सक्ने भएकोले विधि पुर्‍याउन औपचारिक पत्र पठाइन लागिएको हो ।

    सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।

    पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपाको ओली पक्षमा लागेका प्रदेश सांसदहरू एमाले, माओवादी ब्युँतिएपछि माओवादीमा फर्किन चाहेनन् । उनीहरूले बरु सांसद पद त्याग्न तयार रहेको तर ओलीलाई छाड्न नसकिने बताउँदै आएका छन् ।

    यो पनि पढ्नुहोस् : को को हुन् माओवादी छाडेर एमाले भएका १३ सांसद ? (सूचीसहित)

  • अनलाइन व्यापारमा ठगीः १९ वटा कम्पनी कारबाहीमा, ५ हजारदेखि १ लाखसम्म जरिवाना

    अनलाइन व्यापारमा ठगीः १९ वटा कम्पनी कारबाहीमा, ५ हजारदेखि १ लाखसम्म जरिवाना

    काठमाडौं । पछिल्लो समय अनलाइन कारोबार गर्ने कम्पनीहरूको संख्या बढेसँगै उपभोक्ता ठगिने क्रम पनि वृद्धि भएको छ । ई- कमर्सको माध्यमबाट ठगी गर्ने १९ वटा कम्पनी हालै कारबाहीमा परेका छन् ।

    नेपालमा कोरोनाको समयमा अरू व्यापार व्यवसाय ठप्प हुँदा पनि अनलाइन व्यापार फस्टाएको थियो । कोरोना रोक्न सरकारले घोषणा गरेको लकडाउनका समयमा अनलाइन व्यापार गर्ने कम्पनीहरू थपिएका थिए । तर, यसरी व्यापार गर्नेमध्ये कतिपयले उपभोक्ता ठगेको गुनासो आएपछि सरकारले कारबाही थालेको हो ।

    कोरोनाको समयमा घरमै बसी-बसी आफूलाई चाहिएको सामान किन्‍न पाइने र अनलाइनमार्फत नै पैसा तिर्न सकिने भएकाले उपभोक्ताहरू यसतर्फ आकर्षित भएका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ७ महिनामा १९ वटा अनलाइन व्यापार गर्ने कम्पनीलाई कारबाही गरेको बताए ।

    पछिल्लो समय कपडा, खाद्यान्‍न, फलफूल, तरकारी, औषधि, माछा र मासुसमेत अनलाइनबाट किन्‍न थालिएको छ । उपभोक्ताहरूको यसमा आकर्षणसँगै कम्पनी खोलेर अनलाइनमार्फत व्यापार गर्नेहरूको संख्यासमेत ह्वात्तै बढेको छ ।

    उनले भने, ‘विनादर्ता कारोबार गर्ने र छुट भन्दै उपभोक्ता ठग्नेहरू कारबाहीमा परेका छन् ।’

    सुवेदीका अनुसार कुनै पनि सरकारी निकायमा दर्ता नगरी अनलाइन व्यापार गर्न पाइँदैन । तर, यसरी व्यापार गर्नेको यकिन तथ्यांक सरकारसँग नभएकाले समस्या भएको उनले बताए ।

    पछिल्लो समय कपडा, खाद्यान्‍न, फलफूल, तरकारी, औषधि, माछा र मासुसमेत अनलाइनबाट किन्‍न थालिएको छ । उपभोक्ताहरूको यसमा आकर्षणसँगै कम्पनी खोलेर अनलाइनमार्फत व्यापार गर्नेहरूको संख्यासमेत ह्वात्तै बढेको छ । विभागको ७ महिनाको तथ्याङ्‍कले अनलाइन व्यापारको नाममा ठगी धेरै भएको देखिन्छ ।

    विभागले उपभोक्ताको उजुरीका आधारमा साउनदेखि माघ महिनासम्ममा १९ वटा कम्पनीलाई कारबाही गरेको हो । विभागले २४ वटा कम्पनीमा अनुगमन गरेर १९ वटालाई आर्थिक जरिवाना तिराएको छ । ती कम्पनीहरूबाट विभागले ७ लाख ३० हजार रुपैयाँ जरिवाना असुलेको हो । अनुगमन तथा कारबाही हुन थालेपछि ठगीमा केही कमी भएको विभागको भनाइ छ ।

  • अनेरास्ववियूका संयोजक महरमाथि प्रचण्ड–माधव पक्षको कारबाही

    अनेरास्ववियूका संयोजक महरमाथि प्रचण्ड–माधव पक्षको कारबाही

    काठमाडौं । पार्टी विभाजनपश्चात कारबाही र प्रतिकारबाहीको लहर नेपाल कम्युनिष्ट पार्टीका भ्रातृ संगठनमा पनि प्रवेश गरेको छ।

    सग्लो नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरलाई प्रचण्ड–माधव पक्षले कारबाही गरेको छ।

    महर ओली पक्षका हुन् भने उनलाई कारबाही गर्ने सहसंयोजक रञ्चित तामाङको समूह प्रचण्ड–माधव पक्षका हुन्।

    तामाङ समूहले संगठनको नीति, निर्णय र विधान विपरीतका काम महरले जारी राखेकाले संगठनको बहुमतको निर्णयअनुसार कारबाही गरिएको बताएको छ।

    ‘विगतमा पटकपटक सम्झाउँदा पनि रूपान्तरण नभइ संगठनको नीति, निर्णय र विधान विपरीतका रवैया निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णय अनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाहीलाई अनुमोदन गर्नका लागि नेकपाकाे केन्द्रीय कमिटी समक्ष सिफारिश गरिएको छ’ सहसंयोजक तामाङद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै निकट भविष्यमा बस्ने केन्द्रीय कमिटीको पूर्ण बैठकबाट अन्य राजनीतिक तथा सांगठनिक निर्णय लिइनेसमेत जानकारी गराउँछौँ ।’

    प्रचण्ड–माधव पक्षले कारबाही गरेपछि ओली पक्षले पनि यसको प्रतिवादस्वरुप तामाङ समूहलाई कारबाहीको तयारी थालेको छ।