Tag: कानून व्यवसायी

  • सर्वोच्चको आदेशबारे कानूनविद् के भन्छन् ?

    सर्वोच्चको आदेशबारे कानूनविद् के भन्छन् ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद् विस्तारलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि विभिन्न क्रिया प्रतिक्रिया उत्पन्न भइरहेका छन् । अदालती आदेशले उत्पन्न गर्ने जटिलताका सम्बन्धमा पनि आ-आफ्नै व्याख्या विश्लेषण भइरहेको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषद् विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हिजो अन्तरिम आदेश दिएको थियो । त्यससँगै अब मन्त्रिपरिषद् ५ सदस्यमा खुम्चिएको छ ।

    राजनीतिक दलहरुको फरक-फरक प्रतिक्रिया आइरहँदा संविधानविद्हरूले भने सर्वोच्च अदालतको यो आदेशलाई स्वभाविक मानेका छन् । कामचलाउ सरकारले मन्त्रिपरिषद्‍मा गरेको पुनर्गठन संविधानको भावनाविपरीत रहेको उनीहरूको विचार छ ।

    प्रस्तुत छ, नेपाल प्रेससँग तीन कानून व्यवसायी दिएको प्रतिक्रिया :

    खाली भएका मन्त्रालय प्रधानन्त्रीले नै सम्हाल्नुपर्छ

    भीमार्जुन आचार्य

    अदालतको फैसलाले स्पष्ट सन्देश दिएको छ । एउटा कुरा त प्रतिनिधिसभा नभएको अवस्थामा प्रधानमन्त्रीको पद स्वत रिक्त भइसकेको भनेर बोलेको छ । दोस्रो, पद रिक्त भएको प्रधानमन्त्रीले मन्त्रिपरिषद्को विस्तारलगायतका काम गर्न सक्दैन भन्ने छ । तेस्रो, यदि ओलीले ६ महिनाभित्र चुनाव गराएनन् भने उनको संवैधानिक हैसियत नरहने पनि आदेशको अन्तर्य हो ।

    अब ४ जना मात्रै मन्त्री रहने भए । ६ महिनाको लागि सानो मन्त्रिपरिषद नै उत्तम पनि हुन्छ । त्यसो त, हरेक राजनीतिक विषयमा अदालत हाबी हुने र न्यालयको वर्चश्व हुने अवस्था आफैंमा सोचनीय पनि हो । तर अदालतले भनेपछि चित्त नबुझे पनि मान्नैपर्छ । कि संसद पुन:स्थापना हुनपुपर्‍यो कि उनीहरूले नै चलाउनुपर्‍यो । अरु उपाय नै छैन । अब चुनाव नभएसम्मका लागि खाली भएका मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्नुपर्ने अवस्था आएको छ ।

    अदालनले विधिको शासन स्थापित गर्‍यो

    टिकाराम भट्टराई

    सर्वोच्च अदालतले लिकबाट बाहिर जाँदै गरेको संवैधानिक अभ्यासलाई क्रमशः लिकतर्फ ल्याउँदैछ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन भएपछि निर्वाचनबाट आएको सरकारजस्तो गरी निर्णयहरु गर्नुभएको थियो । ती गलत थिए र गैरसंवैधानिक थिए भन्ने यसले पुष्टि गरेको छ ।

    संवैधानिक सर्वोच्चता र विधिको शासन मुलुकमा अहिले पनि कायम छ र यसलाई कसैले पनि चुनौति दिन सक्दैन भन्ने सन्देश पनि यो फैसलाले दिएको छ । आफ्नै पार्टीभित्रको असन्तुष्टिको व्यवस्थापन गर्न नसकेर अन्य शक्तिहरूसँग सहकार्य गरिरहनुभएका प्रधानमन्त्रीलाई यसले फेरि पनि आफ्नै घर बलियो बनाउन मौका प्रदान गरेको छ ।

    जहाँसम्म चारजनाले देश चलाउन सक्छ कि सक्दैन भन्ने प्रश्न छ, प्रधानमन्त्रीले पहिल्यै सोच्नुपर्थ्यो । राष्ट्रपतिले पहिल्यै सोच्नुपर्थ्यो । अदालतले आदेश दिएपछि ४ जनाले देश चलाउन सक्छन् कि सक्दैनन् भन्नै पाइदैन । अब जसरी पनि चलाउनुपर्छ, अदालतको पालना गर्नको लागि भए पनि । मन्त्री थप्न नपाए पनि भइरहेका मन्त्रीहरूलाई अर्को कार्यभार दिन मिल्छ ।

    सर्वोच्चको आदेशले चुनाव हुन्छ भन्ने संकेत गरेको चाहिँ मलाई लाग्दैन । ६ महिनाभित्र चुनाव हुँदैन भन्ने झन् पुष्टि भयो । यसले प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने झन् बलियो आधार तय गर्‍यो ।

    अदालतले प्रतिनिधिसभा विघटन स्वीकार्‍यो

    रुद्रप्रसाद पोखरेल

    अदालतको फैसलाले एउटा कुरा के देखायो भने संसद नभएको बेला कामचलाउ प्रधानमन्त्री नै हो । उहाँले राजीनामा नदिएको भए पनि प्रधानमन्त्री पद रिक्त नै हो । संसद नभएको बेलामा सरकारले मन्त्रीपरिषद पुनर्गठन र हेरफेर हुन सक्दैन । यद्यपि पूर्णआदेश आउन बाँकी छ । यसले राजनीतिक रूपमा नयाँ तरङग ल्याउने र देशको राजनीतिक कोर्स नै अब अदालतको हातभित्र छिर्ने सम्भावना बढी देखिएको छ ।

    चारजना मन्त्रीले मात्रै देश चल्न गाह्रो छ । तर, चलाउनैपर्ने वाध्यता छ । अदालतको आदेश मान्न सबै बाध्य छन् । त्यसो भएकाले जति बाँकी मन्त्री छन् त्यतिले नै चुनाव गराउनुपर्छ भन्ने देखियो ।

    प्रतिनिधिसभा विघटन भएको कुरालाई अदालतले घुमाउरो गरी स्वीकार गरेको हो कि भन्ने पनि देखिन्छ आदेश लेखन हेर्दा । प्रतिनिधिसभा नभएको अवस्थामा भन्नुको आसय त्यसलाई स्वीकारेको महसुस हुन्छ । जबकि संसद विघटनविरुद्धको रिटमा आजदेखि बल्ल बहस सुरू हुँदैछ । यसले न्यायपालिकाबाट कार्यपालिकाको अधिकार हस्तक्षेप गरेको हो कि भन्ने देखिन्छ । यद्यपि पूर्णफैसला आउँदासम्म अदालतको आदेश मान्नुको विकल्प छैन ।

  • माधव नेपाललाई के सल्लाह दिए कानून व्यवसायीले ?

    माधव नेपाललाई के सल्लाह दिए कानून व्यवसायीले ?

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सांसद पदबाट राजीनामा दिन अहिले नै हतार नगर्न सुझाव दिएका छन् ।

    नेपालले राजीनामापछि उत्पन्न हुने संवैधानिक र कानूनी प्रक्रिया तथा सरकार गठनका सन्दर्भमा कानून व्यवसायीसँग छलफल गरेका हुन् । सो छलफलमा संविधानको धारा ७६ को उपधारा २, ३ र ५ बमोजिम सरकार गठनको संवैधानिक प्रक्रियामाथि नै कुराकानी भएको नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले नेपाल प्रेसलाई बताए ।

    भट्टराईले भने, संविधानको धारा ७६ को ५ बमोजिम गठन हुने सरकार हाम्रो सन्दर्भमा नौलो अभ्यास पनि हो । त्यसमा पुग्दा हरेक सांसदको स्वतन्त्र अस्तित्वको कुरा पनि आउँछ र ह्वीप पनि लाग्दैन । राजीनामा दिनुस् वा नदिनुस् भन्ने हाम्रो कुरा होइन, उहाँहरूको राजनीतिक निर्णय हो । तर, एमाले मिल्दा राम्रो हुन्छ भन्ने त स्वभाविक हो ।

    भट्टराईले सांसदहरूलाई जनताले दिएको ५ वर्षको जनादेश भएकाले उनीहरुले ५ वर्ष बिताउनुपर्छ भन्ने आफूहरूले सैद्धान्तिक मान्यता सुनाएको बताए । एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार भए आफूहरू पार्टी एकताको पक्षमा रहेको नेपालले कानून व्यवसायीलाई बताएका थिए ।

    नेता नेपाल र कानून व्यवसायीहरूबीच छलफल भइरहेकै बेला प्रधानमन्त्री तथा एमाले अध्यक्षले फोनमा कुरा गरेका थिए । सो कुराकानीमा पनि नेपालले जेठ २ अघिको पार्टी बैठक बोलाएमा आफू राजीनामाबाट पछि हट्ने बताएका थिए ।

    नेपालले आफूसँग सबै सांसदको राजीनामा रहेको र राजीनामा दिने सांसदको संख्या नपुगेको भन्ने हल्ला आधारहीन रहेको समेत बताएका छन् । दिउँसो कार्यालय समयभित्र ओलीले शर्त नमाने राजीनामा बुझाउने चेतावनी माधव पक्षले दिइसकेको छ ।

    नेपालनिकट स्रोतका अनुसार संविधानको धारा ७६ को उपधारा २ मा प्रतिनिधिसभाको बहुमतको कुरा गरेकाले २७५ सदस्यकै बहुमत हुनुपर्ने तर्क आइरहेको सन्दर्भमा धारा ५ बमोजिमको सरकार गठनको प्रक्रियामा नपुग्दासम्म राजीनामा नदिने कि भन्ने कोणबाट पनि सुझावहरू आएका छन् ।

    कांग्रेस, माओवादी र जसपा सिंगै मिल्दा प्रतिनिधिसभाको बहुमत अर्थात १३८ नै पुग्छ र त्यसबेला माधव नेपाल पक्षले राजीनामा दिनु पर्दैन । जसपालाई मनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पहल गरिरहेका छन् ।

    तर, महन्थ ठाकुर पक्षले जसपाका बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई आफूहरू वैकल्पिक सरकार गठनको पक्षमा नरहेको पत्र दिएकाले जसपा विवादलाई टेकेर राष्ट्रपतिले धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ ।

    यदि त्यसरी ओली प्रधानमन्त्री नियुक्त भएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने बेलामा माधव नेपाल पक्षले मत नदिए वा राजीनामा गरेको खण्डमा ओली फेरि पदमुक्त हुन्छन् र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन प्रक्रियामा जाँदा तत्काल कायम रहेको संख्याको बहुमतले सरकार बन्न सक्ने भएकाले त्यो अवस्थासम्म लैजान राजीनामा नगर्दा उपयुक्त हुने सुझाव नेपाललाई दिइएको स्रोतले जनाएको छ ।

  • गृहमन्त्रीले महिला वकिलसँग भने-भागरथी हत्या निर्मला प्रकरण जस्तो हुँदैन (भिडियो)

    गृहमन्त्रीले महिला वकिलसँग भने-भागरथी हत्या निर्मला प्रकरण जस्तो हुँदैन (भिडियो)

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न अपराधी पहिचानमा प्रहरी सफलता नजिक पुगेको बताएका छन् । उनले भागरथी प्रकरणमा निर्मला पन्तको जस्तो कुनै कमजोरी नहुने प्रष्ट पारेका छन् ।

    नेपाल बार एशोसियसनका पदाधिकारीसहित महिला कानून व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले चाँडै भागरथी हत्यामा संलग्न व्यक्तिहरू सार्वजनिक हुने बताए । प्रहरी अनुसन्धान सफलता नजिक पुगेको गृहमन्त्रीको भनाइ थियो ।

    नेपाल बार एशोसिएसन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेटेर बैतडीको दोगडाकेदार-३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कारबाहीको दायरमा ल्याउन माग गरेका थिए ।

    नेपाल बार एशोसिएसनका उपाध्यक्ष रक्षा बस्यालले अपराधीहरू छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन खोजिएको बताइन् ।

    महिला कानून व्यवसायीहरूले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्नसमेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् ।