Tag: काठमाडौं जिल्ला प्रशासन

  • लापरवाही बढे पुनः कडा निषेधाज्ञा: काठमाडाैं प्रशासन (भिडियो)

    लापरवाही बढे पुनः कडा निषेधाज्ञा: काठमाडाैं प्रशासन (भिडियो)

    काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले मास्क लगाए, नलगाएको अनुगमनलाई तिव्रता दिएको छ ।

    नेपाल सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो ।

    काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ ।

    मास्कको प्रयोग उचित ढंगले नगर्ने, गुणस्तरको प्रयोग नगर्ने, सकेसम्म प्रयोग नै नगर्ने चलनले जोखिम बढाएको गुनासो आउन थालेको सहायक प्रजिअ अधिकारीले बताए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मानिसको भीडभाड हुने सबै क्षेत्रमा निरन्तर अनुगमन गर्ने उनले बताए ।

    अहिले संक्रमणदर बढ्दै गएसँगै आम मानिसले लापरबाही पनि गर्न थालेकाले निषेधाज्ञा थप गर्नुपरेको उपत्यका प्रशासनले जनाएको छ । यसरी लापरबाही बढ्दै गए पुनः कडा निषेधाज्ञामा जान बाध्य हुनेप्रति प्रशासनले सचेत पनि गराएको छ ।

    यससँगै काठमाडौंको ३ वटै जिल्लामा आजदेखि ८ बजेपछि अत्यावश्यक सेवा बाहेक सबैलाई हिडडुल÷आवत्जावत्मा रोक लगाइएको छ ।

     

     

  • बिरामी भर्ना नलिने अस्पतालको भनाइप्रति काठमाडौं जिल्ला प्रशासनको ध्यानाकर्षण

    बिरामी भर्ना नलिने अस्पतालको भनाइप्रति काठमाडौं जिल्ला प्रशासनको ध्यानाकर्षण

    काठमाडौं । प्रशासनले कोभिड-१९ संक्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

    विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले मानवीय संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको छ ।

    वर्तमान परिस्थितिमा संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको जानकारी गराउँदै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

    यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोभिड-१९ संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । ‘यस्तो अवस्थामा मानवीय संवेदनशीलतालाई बुझी आआफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाहका लागि समेत सार्वजनिक ध्यानाकर्षण गरिएको छ’, प्रशासन कार्यालयद्वारा बुधबार राति जारी विज्ञप्तिमा उल्लेख छ ।

  • राजधानीका तीनवटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै काम बन्द

    राजधानीका तीनवटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै काम बन्द

    काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि नहुने भएका छन् ।

    कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै नागरिकतालगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुनेछन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भीडभाड कम होस् र मानिसहरू घरबाट बाहिर निस्कन पर्ने अवस्था पनि नहोस् भनेर यस्तो निर्णय गरिएको बताए ।