Tag: कांग्रेस सहमहामन्त्री

  • ‘राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने वाध्यता छ, आमचुनाव एक्लै लड्छौं’

    ‘राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने वाध्यता छ, आमचुनाव एक्लै लड्छौं’

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवा पुन: अनुमोदित भएका छन् भने केन्द्रीय समिति पनि देउवाअनुकूल बनेको छ ।

    पदाधिकारीमा एक उपसभापति र ६ सहमहामन्त्री देउवा पक्षधरले जितेका छन् । खुल्ला केन्द्रीय सदस्य, खुल्ला महिला केन्द्रीय सदस्यमा खुल्ला मधेसीतर्फ र अन्य क्लस्टरमा पनि उनकै दबदबा छ ।

    अहिले कांग्रेसमा नेतृत्व परिवर्तनको विषयमा चर्चामा छ । सभापतिमा देउवा अनुमोदित भए पनि युवा अनुहार नेतृत्वमा आएकाले नेतृत्व परिवर्तन भएको काँग्रेसीहरूको दाबी छ । तर, बदलिँदो राजनैतिक समिरकणले संस्थापनइतर समूहलाई आगामी रणनीति बनाउन भने सकस हुने देखिन्छ ।

    संस्थापनइतरबाट विजयी भएकाहरूले अब कांग्रेसभित्र कसरी संघर्ष गर्छन् त्यो भने हेर्न बाँकी नै छ । तर, सहमहामन्त्रीमा विजयी भएका बद्री पाण्डे भने काँग्रेसमा अब गुट नरहेको बताउँछन् । सरकार र पार्टी दुवैलाई तिब्रता दिन आवश्यक रहेको उनको बुझाइ छ ।

    प्रस्तुत छ, कांग्रेस महाधिवेशन पछिको अवस्था, एमसीसीमा कांग्रेसको भूमिका र गठबन्धनको आयुबारे पाण्डेसँग गरिएको संवाद नेपाल टकमाः

    – चासो, चर्चा र चिन्तनका बीच कांग्रेस महाधिवेशन सुरू भएको थियो । महाधिवेशन सुरू हुँदाको अवस्था र सकिँदाखेरिको अवस्थामा के फरक महसुस भएको छ ?

    हाम्रो महाधिवेशन सकियो त्यो नै ठूलो कुरा हो । हामीले नीति कार्यक्रम पेस नगर्ने भनेका थियौँ । त्यो गरेनौँ । नेतृत्व चयन गर्ने भनेका थियौँ त्यो गर्‍यौँ । हामीले नेतृत्व परिवर्तनको कुरा गरेको थियौँ त्यो परिवर्तन भएको देखियो ।

    – तपाईंहरू कुन हिसाबले कांग्रेसमा नेतृत्व परिवर्तन भएको मान्नुहुन्छ ?

    हो, नेतृत्व परिवर्तन भयो । तर, समस्या के भयो भने सभापति पदका दाबेदारहरूले अहिलेको सभापतिको विकल्प दिन्छौँ पनि भन्नुभयो । तर, विकल्प दिनुपर्ने बेलामा उहाँहरू विभाजित हुनुभयो । कोही संस्थापनमै गएर मिसिनु भयो । कोही मौन हुनुभयो ।

    पदाधिकारीको अरू पदमा नेतृत्व परिवर्तन भएको देखियो । तर, सभापतिमा नहुनुको कारण सभापतिका उम्मेदवार स्वयम्ले ढंग पुर्‍याउनु भएन । उहाँहरूले योग्यता देखाउन नसक्नुभएकाले नै सभापति परिवर्तन नभएको हो ।

    – आफ्नै समूहका नेताहरूलाई किन दबाब दिन सक्नुभएन त तपाईंले ?

    ‘तपाईंहरू एक हुनुभए नेतृत्व परिवर्तनको गतिलाई कसैले रोक्न सक्दैन, नत्र उहाँलाई सुरूमै गएर माला लगाइदिए हुन्छ’ हामीले यो कुरा सुरूमै भनेका थियौँ । तपाईंले दबाब दिनुभएन भन्नुभयो । तर, हामीले चार वर्षदेखि यही दबाब निरन्तर दिइरहेका थियौँ ।

    अरू पदमा को आउँछ को आउँदैन त्यो ठुलो कुरा होइन । सभापति ठूलो कुरा हो । यही ढंगले निरन्तर दबाब दिइरहेका थियौँ । तर, आफूलाई अरुले मान्ने भए मिल्ने नत्र नमिल्ने यो खालको रवैया देखाउनु भयो नेताहरूले । त्यसले गर्दा हामी चाहेको कुरामा सफल हुन सकेनौँ । तर, महाधिवेशनपछि अब गुट वा समूह रहदैन । सबै मिलेर अगाडि बढ्छौं ।

    – यी त भन्ने कुरा हुन् । १३ औँ महाधिवेशनपछि पनि यस्तै कुरा आएको थियो । तर, मन्त्री बनाउँदा समेत गुटगत भागबण्डा हुने कांग्रेसमा गुट रहँदैन भनेर कसरी पत्याउने ?

    यस्तो सधैँ रहँदैन । वर्तमान सभापति १५ औँ महाधिवेशनमा हुनुहुने छैन । किनभने विधानले नै उहाँलाई दिँदैन । त्यसैले अब सभापतिले गुटको राजनीतिबाट माथि उठ्नु पर्छ । यो गुट र त्यो गुटभन्दा पनि उहाँ कांग्रेसको सभापति हुन सक्नुपर्छ ।

    शेरबहादुर देउवालाई भोलिको दिनमा कुनै गुटले होइन कि कांग्रेसले सम्झियोस्, कांग्रेसले मात्रै होइन कि पूरै मुलुकले सम्झियोस् भन्ने हाम्रो चाहना हो ।

    – विमलेन्द्र निधिले पहिलो चरणमा देउवालाई सभापति हुन नदिने र दोस्रो चरणमा उहाँविरुद्ध मोर्चाबन्दी गरेर पराजित गर्ने सार्वजनिकरूपमै भन्नुभएको थियो । प्रकाशमान सिंह पनि देउवाको विकल्प खोज्ने भन्दै आइरहनु भएको थियो । रातारात कस्तो सहमति भयो जसले गर्दा सार्वजनिकरूपमै बोलेको कुरा भुल्न बाध्य भए नेताहरू ?

    यो कुरा म भन्न सक्दिनँ । सोध्न पनि सक्दिनँ उहाँहरूलाई किनभने उहाँहरू आदरणीय नेताहरू हुनुहुन्छ । मलाई लाग्छ यो कुरा इतिहासले सोध्दा ।

    – इतिहास त परैको कुरा भयो । वर्तमानले नै सोध्दैछ । तपाईंहरूसँग के जवाफ छ ?

    उहाँहरूको लय मिलेको छैन त्यहाँनिर । रातिसम्म नेतृत्व परिवर्तनको पक्षमा हुने र बिहान भएपछि यथास्थितिको पक्षमा उभिने, त्यो स्वाभाविक होइन । अस्वाभाविक प्रकारको निर्णय आएको छ ।

    त्यसमा मैले हावामा गोली हाने जस्तो बोल्दा म आफैँ गैरजिम्मेवार हुन्छु । मलाई के लाग्छ भने यस्तो कुरा चाडै उजागर हुन्छन् ।

    उहाँहरूले आजसम्म यस विषयमा जवाफ दिनुभएको छैन । तर, कार्यकर्ताहरूले पनि माग्छन्, समयले पनि माग्छ । इतिहासले पनि माग्छ । त्यो अस्वाभाविक र आश्चर्यपूर्ण निर्णय हो जस्तो लाग्छ मलाई ।

    – संचारमाध्यमले त भागबण्डा र लेनदेनमा कुरा मिल्यो त्यसैले नेताहरूले त्यस्तो निर्णय गरे भनिरहेका छन् नि ?

    भागबण्डा र लेनदेन त त्यहाँमात्रै हुँदैन थियो होला । अर्कोतिर पनि हुन्थ्यो होला नि ।

    – अब पछिल्लो राजनीतिक परिवेशतर्फ लागौँ, सत्तारुढ दलहरूको गठबन्धनको आयु कति लामो होला ?

    यो त चुनाव सम्म जानुपर्छ ।

    – जानुपर्छ कि जान्छ ?

    जान्छ । मलाई त जान्छ भन्ने लाग्छ । अब तीन तहको निर्वाचन आइसकेको छ । त्यो निर्वाचन सम्पन्न हुने दिशासम्म यो गठबन्धनलाई जोगाएर लैजानु पर्छ ।

    – एमसीसीको कारण तपाईंहरूको गठबन्धन भत्किँदै छ भन्ने चर्चा पनि छ नि ?

    एमसीसीभन्दा सत्ता गठबन्धन प्राथमिकतामा पर्नुपर्छ भन्ने मेरो विचार हो । हाम्रो प्रधानमन्त्री तथा पार्टी सभापतिले पनि त्यही सोच्नु भएको होला जस्तो लाग्छ मलाई ।

    – तपाईंहरू बाहेक गठबन्धनभित्रका सबै दलहरू एमसीसीको विपक्षमा छन् । यस्तो अवस्थामा एमसीसी पनि अघि बढ्ने, गठबन्धन पनि रहिरहने भन्ने कसरी होला र ?

    प्रधानमन्त्रीले सोच्नु भएको छ होला । उहाँसँग छलफल पनि हुन पाएको छैन । तर, यसमा विभिन्न विकल्पहरू छन् । जेसुकै विकल्प दिएर भए पनि गठबन्धनको निरन्तरता, जनतामा छाएको निराशाको अन्त्य गर्नु नै मुख्य प्राथमिकता हुनुपर्छ ।

    – तपाईंले निर्वाचनसम्मकै गठबन्धनको कुरा गर्नुभयो । त्यसो भए प्रत्यक्षमा १६५ निर्वाचनक्षेत्रमध्ये अब निर्वाचनमा तपाईंहरू बीच भागबण्डा गरेर उम्मेदवारी घोषणा हुने भयो हैन त्यसो भए ?

    त्यसो हुन्छ जस्तो मलाई लाग्दैन । हाम्रा मतदाताहरू अरूको भोट लिन पनि सक्दैनन्, अरूलाई भोट दिन पनि सक्दैनन् । त्यो पहिलो चरणको स्थानीय तहको निर्वाचनमा त देखियो पनि ।

    हाम्रा साथीहरूलाई हेर्दा टिमको नजरले हेर्दैनौं हामी । त्यो क्षणसम्म हामी टिम थियौँ होला । अब निर्वाचन सकिएको छ । अब हामी पार्टी भएका छौँ । अब हामीले एकता निर्माण गरेर अर्को कसैसँग प्रतिस्पर्धा गर्नुपर्छ हामीले । अर्को कसैलाई परास्त गर्नुपर्छ ।

    – भरतपुरको गठबन्धनले गर्दा तपाईंहरू काठमाडौँ, पोखरालगायतका स्थानीय तहमा पराजित भएको भन्ने पनि सुनिन्छ नि ?

    ठीक हो । त्यो बेलाको गठबन्धनले हामीले पनि कहीँ लाभ लिन सकेनौँ । हामीले पनि खासै कसैलाई त्यहाँ लाभ दिन सकेनौँ । कांग्रेस जित्दा पनि एक्लै जित्ने हार्दा पनि एक्लै हार्ने पार्टी हो ।

    म सन्तुष्ट छैन । हाम्रो सभापति, प्रधानमन्त्री उहाँले अधिवेशन सम्पन्न गर्नुपर्ने, उहाँ फेरि सभापतिमा निर्वाचित हुनुपर्ने । हाम्रा मन्त्रीहरू पनि महाधिवेशनमा सक्रिय हुनुपर्नेलगायतका कारणले सरकारले भनेजस्तो समय दिन नसकेको हो कि भनेर म शंकाको सुविधा दिन्छु । अब पार्टी आफ्नो गतिमा अगाडि बढ्नु पर्छ । सरकार आफ्नो गतिमा आफ्नो ढंगले चल्नुपर्छ । अब सरकारले जनतालाई सरकारको अनुभूति दिनुपर्छ ।

    – चुनावमा हामी एक्लै लड्छौँ भन्ने अनि गठबन्धन पनि रहिरहनु पर्छ भन्ने कुरा त विरोधाभासी भएन र ?

    त्यो बाध्यता हो । प्रतिनिधिसभामा हामीसँग बहुमत छैन त्यसको लागि साथ चाहियो । अब राष्ट्रियसभाको चुनावमा हामी सहकार्य गर्छौं । त्यो पनि हाम्रो बाध्यता हो ।

    किनभने, प्रदेशसभा र पालिकाहरूका भोटरहरू पार्टीका छन् । उनीहरूलाई हामी बदल्न सक्दैनौँ । संसदमा हुने गठवन्धन, राष्ट्रियसभा जस्तो निर्वाचनमा हुने गठबन्धन र जनतामा हुने गठबन्धनलाई हामीले तुलना गर्नुहुँदैन ।

    संसदहरूमा गठबन्धन हुनसक्छ । यता भोट हाल भने यता हाल्छन् उता हाल भने उतै हाल्छन् । हुन्छ भन भन्यौँ भने हुन्छ भन्छन्, हुँदैन भन भन्यौँ भने हुँदैन भन्छन् । जनतालाई हामीले जबरजस्ती गर्न हुँदैन । पाँच वर्षमा एकपल्ट चुनाव आउँछ त्यो बेला जनतालाई जबरजस्ती गर्न हुँदैन । गरे पनि विद्रोह हुन्छ ।

    -कांग्रेसका नेताभन्दा जनता नै विवेकी रहेछन् होइन ?

    त्यसमा त कुनै द्वविधा नै छैन । अहिले पनि हाम्रो महाधिवेशनको मत हेर्नुहोस् न । माथिको गुटबन्दी अनुसार त प्रतिनिधले भोट दिएनन् नि । जति तल जान्छौँ तपाईंले भनेजस्तो विवेकको घनत्व बढ्दै गएको छ ।

    – त्यसोभए जनताको डरले तीन तहको निर्वाचनमा गठबन्धन सहित नजाने तर राष्ट्रियसभाको निर्वाचनमा मिलेर जाने किन भनेर तपाईंहरूको कार्यकर्ताले प्रश्न गर्दैनन् ?

    नाइँ त्यस्तो प्रश्न गर्दैनन् । किनभने राष्ट्रियसभाको निर्वाचन जित्नको लागि पनि गठबन्धन आवश्यक छ । मिलेनौँ भने हामी जित्दैनौँ ।

    – यो त तपाईंहरूको स्वार्थका लागि मात्रै गठबन्धन बनाउन खोजेको स्पष्ट भयो नि ?

    स्वार्थको गठबन्धन होइन । राजनीति नै यसरी चल्छ । राष्ट्रियसभाको निर्वाचनमा जित्ने विकल्पलाई छोडेर हार्ने विकल्पतिर जानु भनेको त्यो मूर्खता हो ।

    अहिले शेरबहादुर देउवाले प्रतिनिधि सभामा कसैको पनि साथ लिँदैनौं भन्नुभयो भने त सरकार भर्खरै ढल्छ । त्यो त मूर्खता भयो नि त ।

    – जनताले तपाईंहरूलाई सरकार सञ्चालनको म्यान्डेट दिएका हुन् र ? जनताको म्यान्डेटविरुद्ध गएर सरकार सञ्चालन गर्ने आँट गर्नुलाई पनि त केहीले लाभका लागि खुट्टा उचालेको भनेका छन् नि ?

    जसले म्यान्डेट पाए तिनले काम गरे त ? म्यान्डेट पाएकाले खण्डित गरेपछि हाम्रोतिर म्यान्डेट सुरू भएको हो । हामीले खोजेको र खोसेको त होइन नि ।

    – किस्तीमा सरकार पाएपछि किन पछि हट्नु भनेर लालसा पनि पलाएको होला ?

    लालसाको कुरा होइन यो जिम्मेवारीको कुरा हो ।

    – तपाईंहरूको दलको नेतृत्वमा गठबन्धनको सरकार छ । के सरकारको कामप्रति तपाईं स्वयम् सन्तुष्ट हुनुहुन्छ ?

    छैन । म सन्तुष्ट छैन । हाम्रो सभापति, प्रधानमन्त्री उहाँले अधिवेशन सम्पन्न गर्नुपर्ने, उहाँ फेरि सभापतिमा निर्वाचित हुनुपर्ने । हाम्रा मन्त्रीहरू पनि महाधिवेशनमा सक्रिय हुनुपर्नेलगायतका कारणले सरकारले भनेजस्तो समय दिन नसकेको हो कि भनेर म शंकाको सुविधा दिन्छु ।

    अब पार्टी आफ्नो गतिमा अगाडि बढ्नु पर्छ । सरकार आफ्नो गतिमा आफ्नो ढंगले चल्नुपर्छ । अब सरकारले जनतालाई सरकारको अनुभूति दिनुपर्छ ।

    – हिजो महाधिवेशनको चटारोका कारण सरकारले काम गर्न सकेन भन्नुभयो । फेरि निर्वाचन आउँदै छ । त्यही ताकेताले काम गर्न सकिएन भन्नुहोला यस्ता कुरा गरेर बस्न छुट छ कांग्रेसलाई ?

    हामीले योग्यता देखाउन सकेपछि मात्रै पो निर्वाचनमा सकारात्मक प्रभाव पर्ला । हामीले त निर्वाचन जित्ने स्वार्थको लागि पनि केही गरेर देखाउनु पर्छ ।

    – अघिल्लो सरकारले बनाएको भूमि आयोगले जिल्ला-जिल्लामा अझै भनौँ पालिका स्तरमा तीब्र गतिमा काम गरिरहेको थियो । सरकारले खारेज गर्‍यो, तर काम सुरू गर्न सकेन । राजदूतहरू फिर्ता बोलाउनु भयो, गठबन्धनमै कुरा नमिल्दा होला नयाँ पठाउन सक्नुभएन । यी कुराहरूले सरकारको असफलता अझै स्पष्ट हुन्छ नि होइन ?

    मैले स्वीकार गरेँ । अव रफ्तारका साथ अगाडि बढ्नुपर्छ ।

    – जनतालाई सरकारको आभास होस् या नहोस् जनताको जीवनस्तरमा केही परिवर्तन होस् या नहोस् तर निर्वाचन जित्नकै लागि भए पनि केही गर्नुपर्ने बाध्यता छ है कांग्रेसलाई ?

    (हाँस्दै) मैले तपाईंसँग अतिरिक्त इमानदार भएर कुरा गरेँ । निर्वाचन सम्पन्न गर्नुपर्ने हाम्रो प्राथमिकता हो । पार्टीको प्राथमिकता निर्वाचन जित्नु पनि हो । त्यसको लागि सरकारलाई हामी पनि बढीभन्दा बढी राम्रो काम गर भन्दै सुझाव दिइरहेका हुन्छौँ ।

    – त्यो किन अहिलेसम्म हुन सकेको छैन ?

    (एक छिन रोकिँदै) मतलब धेरै नराम्रो नहुनु पनि राम्रो हुनको लागि एउटा आधार हो । कम्तीमा केपी ओलीका बेलाका जस्ता काण्डहरू त हामीले सुन्नुपरेको छैन । काण्डहरू नहुनु पनि देशको लागि र हामी सबैको लागि राम्रो हो । राम्रो कामको लागि हामीले सल्लाह-सुझाव दिइरहेका छौँ, अझै पनि दिन्छौँ पनि ।

    – तर, तपाईंले बोलेको कुरा पार्टीभित्र लागू हुन्छ त ?

    केन्द्रीय कार्यसमितिमा पनि हामी छौँ । कार्यसम्पादन समिति हुन्छ त्यहाँ पनि हामी हुन्छौँ । मन्त्री, प्रधानमन्त्रीसँग सम्पर्कमा पनि हामी हुन्छौँ । सकेसम्म हामीले भनेको राम्रो कुरा लागु लगाउन कोसिस गर्छौं नि ।

    – हिजो ६०/४० हुँदा त सभापतिले मनमौजी गरेको आरोप नसुनिएको होइन । अहिले तपाईँहरूको समूहको हैसियत त विरोध गर्न पुग्ने पनि छैन भन्छन् । यस्तोबेला कसरी पार्टीमा आफ्नो कुरा लागू गराउनु हुन्छ भन्ने मेरो जिज्ञासा ?

    यसमा अल्पमत बहुमतभन्दा पनि हामी विवेकले चल्ने हो । सबै मिलेर हामीले विधिको सर्वोच्चतालाई स्थापित गर्ने हो पार्टीभित्र ।

    – गुटकै नामबाट तपाईं सहमहामन्त्री बनेको आरोप छ । तपाईंभन्दा सिनियर नेताहरू पनि केन्द्रीय सदस्यमा चित्त वुझाउनुपर्‍यो । गुटबाटै आएको व्यक्तिले म पार्टी सुधार गर्छु भन्दा कार्यकर्ताहरूले पत्याउँछन् ?

    संगठन शुद्धीकरण र शुद्धीकरणको मेरो अभियान छ । कुनै न कुनै टिममा आबद्धता पार्टी आन्तरिक राजनीतिभित्रको बाध्यता हो । टिमले मात्रै बनाएको भन्ने हो भने त हाम्रो टिम त हारिरहेको अवस्था हो नि । तर, म राम्रो बहूमतले जितेको छु । पार्टी भित्रै यिनीहरूले केही गर्न सक्छन् भन्ने आशा छ । त्यही आशाले यो टिम र त्यो टिम भनेर भोट हाल्ने र नहाल्ने काम भएको छैन ।

    हाम्रा साथीहरूलाई हेर्दा टिमको नजरले हेर्दैनौं हामी । त्यो क्षणसम्म हामी टिम थियौँ होला । अब निर्वाचन सकिएको छ । अब हामी पार्टी भएका छौँ । अब हामीले एकता निर्माण गरेर अर्को कसैसँग प्रतिस्पर्धा गर्नुपर्छ हामीले । अर्को कसैलाई परास्त गर्नुपर्छ ।

    हाम्रा साथीहरूले पनि हामीलाई यी टिमका मान्छे होइनन् पार्टीमा मान्छे हुन् र यिनीहरूले टिम निर्माण गर्ने होइनन् पार्टी निर्माण गर्ने हुन् भन्ने बुझेका छन् ।

  • ‘अर्को सरकार बन्ने अवस्था भइसकेको छैन, कांग्रेस फुर्सदमा पछुताउने काम गर्दैन’

    ‘अर्को सरकार बन्ने अवस्था भइसकेको छैन, कांग्रेस फुर्सदमा पछुताउने काम गर्दैन’

    धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत । संसद पुनःस्थापना सक्दै नयाँ सत्ता समीकरणका लागि अग्रसर हुन सभापति देउवालाई पार्टीभित्र ‘ग्रीन सिग्नल’ प्राप्त भइसकेको छ । यद्यपि सभापति देउवा स्वयंले सत्ता समीकरणका लागि पर्याप्त पहल गरिसकेका छैनन् । सम्भावित सत्ता समीकरण, कांग्रेस र सभापति देउवाको रणनीतिबारे सहमहामन्त्री महतसँग नेपाल प्रेसका लागि भानुभक्त आचार्यले गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा–

    वर्तमान सरकारको विकल्प खोजेर सरकारको नेतृत्व गर्ने अवस्थामा कांग्रेस पुगिसकेको हो ?

    नेपाली कांग्रेस एक जिम्मेवार राजनीतिक दल हो । सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आइपर्‍यो भने कांग्रेस जिम्मेवारीबाट भाग्दैन । सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प र कांग्रेसको नेतृत्व आवश्यक महसुस गरे भने कांग्रेसले सरकारको नेतृत्व गरेर मुलुकलाई निकास दिने छ । तर, अहिले त्यस्तो अवस्था बनिसकेको छैन । अर्को कुरा नेपाली कांग्रेस सरकारमा जानकै लागि धेरै चलखेल गर्ने पक्षमा छैन । संसद भनेको अंकगणितले चल्छ । कांग्रेससंग सरकार ढाल्ने र बनाउने अंकगणित छैन । त्यसैले हामी जोड घटाउमा छैनौं ।

    माओवादी र जसपासँग गठबन्धन भयो भने त कांग्रेसको पक्षमा बहुमत पुग्न सक्छ नि ?

    पुग्छ तर त्यसका लागि कुरा मिल्नुपर्‍यो । माओवादी केन्द्रले मान्नुपर्‍यो । सिंगो जसपा सहमत हुनुपर्‍यो । त्यतिबेला बल्ल कांग्रेसले संसदको अंकगणितमा ध्यान दिन्छ । अहिले त्यस्तो अवस्था बनिसकेको छैन । त्यस्तो अवस्था बन्नैपर्छ भन्नेमा पनि कांग्रेस छैन । जेसुकै गरेरपनि सरकारमा जाने कांग्रेसको लक्ष्य होइन । हामी त आम निर्वाचनबाट बहुमत ल्याएर सरकार चलाउन चाहन्छौं ।

    हाम्रो लक्ष्य अल्पकालीनभन्दा पूर्णकालीन सरकार चलाउने हो । हुन त अहिले पनि विकल्प दिनुपर्ने अवस्था छ । विकल्पबारे छलफल भइरहेको छ तर निष्कर्षमा पुगिसकेको छैन ।

    माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार बनाउन तयार देखिएको छ । जसपाले पनि बूढानीलकण्ठ पुगेर छलफल गरिसकेको छ । यति हुँदा पनि कांग्रेसले किन हिम्मत गर्न नसकेको ?

    माओवादीले भन्दैमा, जसपाले वार्ता गर्दैमा सबै कुरा हुदैन नि । छलफलमा म पनि थिएँ । उहाँहरुले कांग्रेसको नेतृत्वमा सरकार बनाउने भन्नुभएको छैन । आफ्ना राजनीतिक एजेण्डा राख्नुभएको छ । वर्तमान सरकारको अराजकताबाट मुलुकले निकास पाउनु राम्रो कुरा हो ।

    सहज रुपमा कांग्रेस नेतृत्वमा सरकार बन्छ भने स्वागतयोग्य कुरा हो । तर हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था छैन । राजनीतिमा परिपक्व निर्णय गर्नुपर्छ । कांग्रेसले यसमा परिपक्वता प्रस्तुत गर्छ, हतार गर्दैन ।

    जसपा र कांग्रेसको बैठकमा तपाई पनि सहभागी हुनुहुन्थ्यो । जसपाकै नेताहरुमा पनि दुई धार देखिएको महसुस गर्नुभएको त हैन ?

    जसपाको कुरा जसपाले नै जान्ने हो । उहाँहरूमा कति धार हुने भन्नेमा कांग्रेसले आँकलन गर्दैन । तर, कुरा बुझ्दा केही न केही अन्तर भएजस्तो देखिन्छ । ओलीको विकल्प खोज्ने संस्थागत निर्णय जसपाले गरिसकेको छैन । त्यसैले अहिले नै सबैकुरा प्रष्ट भइसकेको मान्न सकिदैन ।

    जसपा र माओवादी मिल्दा पनि किन कांग्रेसले किन खुट्टा कमाउँदै छ ?

    जसपा पूरै कहाँ आएको छ र ? उनीहरू त सबैसँग गइरहेका छन् । ओली जी कहाँ पनि त गइरहेका छन् । भेट्दैमा समर्थन गर्न आएको र समर्थन प्राप्त भइसक्यो भन्ने त छैन नि । मैले भने स्वभाविक रूपमा नेपाली काँग्रेसको नेतृत्वमा माओवादी र जसपा दुवैले सहज रूपमा समर्थन गर्ने अवस्था आयो भने वैकल्पिक सरकार बन्छ । अहिलेसम्म त्यो अवस्था आइसकेको छैन । त्यो परिस्थिति बनिसकेको छैन । त्यो समझदारी बनिसकेको छैन । अहिलेसम्म विकल्पमा सुनिश्चित अङ्कगणित बनिसकेको छैन ।

    सुनिश्चित अङ्कगणित बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

    ओली सरकारबाट लोकतन्त्र र संविधान सुरक्षित छैन भन्ने महसुस सबैले गरिरहेका छन् । तर, संसदमा भएका अन्य दलहरुले ओलीको विकल्पमा उपयुक्त प्रस्ताव ल्याइसकेको अवस्था छैन । कांग्रेस एक्लैले संसदको अंकगणित मिलाउन सक्दैन । यदि माओवादी र जसपा तयार हो भने मूर्त रुपमा कुरा आउनुपर्‍यो । अहिले राजनीतिक भेटघाट भएपनि सत्ता समीकरणबारे ठोस प्रस्ताव आएको छैन । त्यसैले यही हुन्छ भन्ने अवस्था बनिसकेको छैन ।

    सबैले कांग्रेसको नेतृत्व स्वीकार गरेर भूमिका खेल्ने हो भने मात्रै हामी तयार छौं । कांग्रेस आफ्नै नेतृत्वको सरकारमा मात्रै जान्छ, अरु सरकारमा जाँदैन ।

    कांग्रेस त अनिर्णयको बन्दी भयो भन्छन् नि ?

    अहिले कांग्रेस अनिर्णयको बन्दी बनेको होइन । मैले भने अङ्कगणितले निर्धारण गर्छ सत्ता कसको हुने भन्ने । नेपाली कांग्रेसले निर्णय गर्दैमा त्यो प्राप्त हुने हो र ? निर्णय गर्नु ठूलो कुरा होइन परिणाम ल्याउनु पो ठूलो कुरा हो । उपयुक्त बेलामा कांग्रेसले उचित निर्णय लिने नै छ ।

    विगतमा केन्द्रीय समितिको बैठकले ‘ओली सरकार असफल भएको र शासन गर्ने अधिकार नभएको’ ठहर गरेको थियो । यता संवैधानिक नियुक्तिमा भागबन्डा गरेकाले देउवाले केपी ओलीलाई नै साथ दिने मूडमा छन् पनि भनिन्छ । यही कारणले कांग्रेस अहिलेसम्म द्विविधामा हो ?

    यो नियुक्तिमा पार्टी सभापति सहभागी नै हुनुभएको छैन । हामीले विरोध गरेका छौँ । सबै बसेको बैठकमा त सहजरूपमा निर्णय गर्ने भनेर नै बसेको हो । त्यो नहुँदा अध्यादेशको बाटोमा ओली जाँदा त्यसमा भाग नलिएर यो स्वीकार्य छैन भनेर हामीले विरोध गरेका छौँ । त्यस कारण हामीलाई त्योसँग जोड्नुको कुनै अर्थ नै छैन ।

    वैकल्पिक सरकारको चर्चा चुलिएको छ तर वैकल्पिक सरकार चै कसको नेतृत्वमा बन्ला त ?

    नेपाली कांग्रेस आफ्नो नेतृत्व बाहेक सरकारमा जाँदैन । हामीले कम्युनिस्ट पार्टीको ३ वर्षको अवस्थाको विरोध गरेका छौँ । त्यसैले अर्काे कुनै कम्युनिष्ट घटकको नेतृत्वमा सरकारमा जाने कुरा छैन । अरूको नेतृत्वमा पनि सायद अहिले जाने कुरा छैन । सबैले कांग्रेसको नेतृत्व स्वीकार गरेर भूमिका खेल्ने हो भने मात्रै हामी तयार छौं । कांग्रेस आफ्नै नेतृत्वको सरकारमा मात्रै जान्छ, अरु सरकारमा जाँदैन ।

    एमालेको समर्थनमा देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा कांग्रेसले के गर्छ ?

    प्रस्ताव नै नआउँदा यस्तो होला भन्न सकिने अवस्था छैन । पहिले भनेका थिए । तर, प्रधानमन्त्री ओलीले सहजरुपमा सत्ता छोड्नुहोला जस्तो मलाई लाग्दैन । त्यस कारण हामीलाई त्यो अपेक्षा पनि छैन । त्यसैले सरकारको विकल्प नै आवश्यक छ अहिले ।

    त्यसो भए जसपाभित्र एक मत नभएसम्म देउवा प्रधानमन्त्री बन्न हतार गर्नुहुन्न ?

    नेपाली काँग्रेसको नेतृत्वमा सहज रूपले सरकार बन्नुपर्छ । ओलीले धेरै क्षति पुर्‍याए देशलाई, लोकतन्त्रलाई भन्ने कुरा महसुस गरेर नेपाली काँग्रेसको नेतृत्वमा बैकल्पिक सरकार बनाऊ भन्ने निष्कर्षमा उहाँहरू पुग्नु भयो भने त्यो सम्भव हुन्छ । अन्यथा मैले अघि पनि भने कांग्रेसलाई यत्तिकै नपुग्दै सरकारमा जान हतार छैन ।

    ओली नेतृत्वको सरकारलाई माओवादीले लिएको समर्थन अहिले सम्म कायम छ । माओवादीले यही सरकारलाई समर्थन गर्ने अवस्था आउन सक्छ भनेर कांग्रेसले अहिले पर्ख र हेर को रणनीति अपनाएको हो ?

    (हाँस्दै) प्राविधिक रूपमा पनि धेरै नभनेका कुरा पछि हुन सक्छन् । जे भएपनि तीन दलको बिचमा आम सहमति नबनाई बैकल्पिक सरकार बन्ने अवस्था छैन । एमाले भित्र पनि विद्रोह छ । असन्तुष्टि छ । त्यहाँबाट पनि केही निस्कन सम्भव छ कि छैन त्यो पनि थाहा छैन । त्यसो हुँदा पनि तीन दल एक ठाउँमा आउन आवश्यक हुन्छ ।

    प्रसङ्ग बदलौँ । नेपाली कांग्रेसको महाधिवेशनको नयाँ तिथि घोषणा भएको छ । तर, यो पनि फेरि सर्ने नै त होला नि ?

    सर्ने कुरा कसले गरेको छ र ?

    फागुनबाट पनि तपाईंहरू सर्दै सर्दैन भन्नुहुन्थ्यो ?

    त्यो बेलाको फरक कुरा हो । तपाईंलाई थाहा छ एक वर्षसम्म कोभिडबाट पुरै देश आक्रान्त भयो । ५ महिना सम्म त लकडाउन नै थियो । घरबाट कोही पनि निस्किन नपाउने अवस्थामा पार्टीका नेता कार्यकर्ताहरू निस्केर अधिवेशनको तयारी गर्न सक्ने अवस्था थिएन । ५ महिना जुन हामीले गुमायौँ त्यो कारणले यो फागुनमा हुन नसकेको हो । त्यस कारणले यो भाद्रमा हुने सुनिश्चित छ । त्यसको तयारी अगाडी बढिरहेको छ । त्यसमा कुनै द्विविधा छैन ।

    नेतृत्वको लागि गुटबन्दी शुरू भइसकेको छ । पुरानै नेतृत्वले कांग्रेस हाँक्छ कि नयाँले अवसर पाउँछन् ?

    यति ठूलो पार्टीमा आकांक्षीहरू धेरै हुनु अस्वाभाविक होइन । वैधानिक प्रक्रिया छ । लोकतान्त्रिक प्रक्रिया छ । प्रक्रियाले जसलाई नेतृत्व ल्याउँछ त्यही हुन्छ । अहिले उठ्छु भन्नेहरू पछि नउठ्न सक्छन् । अहिले घोषणा नगर्नेहरू पछि आउन सक्छन् । समय अझै बाँकी छ । अधिवेशनको छेउमा पुग्दा धेरै कुरा हुन्छ । हेरौँ ।

    युवाले नेतृत्व पाउने सम्भावना यसपटक पनि देखिएन है ?

    यहाँ युवा बुढा को कुरा छैन । कुरा पार्टीको आवश्यकताको कुरा हो । युवा हुँदैमा त्यसले पार्टी हाँक्ने भन्ने कुरा पनि छैन । हामीलाई अघिल्लो पुस्ताको अनुभवको पनि आवश्यकता छ । युवाको जाँगरको पनि आवश्यकता छ । युवा देखि बुढा सम्म सबै केन्द्रीय समितिमा छन् । त्यसैले अहिले युवा भर्सेस बुढा, बुढा भर्सेस युवा भन्ने बहस नै गलत बहस हो ।

  • अदालतले निर्वाचनको बाटो तय गर्‍यो भने कांग्रेसले अवज्ञा गर्न सक्दैन- सहमहामन्त्री महत (भिडियो)

    अदालतले निर्वाचनको बाटो तय गर्‍यो भने कांग्रेसले अवज्ञा गर्न सक्दैन- सहमहामन्त्री महत (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ ।

    यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महाधिवेसनको मिति तय गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग कुराकानी गरेको छ । कुराकानीमा सहमहामन्त्री महतले कांग्रेसले आन्तरिक राजनीति र संगठनको लागि महाधिवेसनमा केन्द्रीत हुने र प्रतिनिधि सभाको आवधिक निर्वाचनको लागि तयार हुनेगरी तयारी थाल्ने बताए । प्रस्तुत छ कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग गरिएको संक्षिप्त कुराकानी:

    नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न सकेन । के अब कांग्रेस संवैधानिक संकटतर्फ उन्मुख हुँदै गएको हो ?

    केही संकटमा गएको छैन । संविधानले नै दिएको व्यवस्था हो । त्यो व्यवस्थालाई हामीले सहजरूपमा उपयोग गर्न सक्छौं । हामीले के कुरा बिर्सन हुन्न भने फागुन ७ गतेको कार्यतालिका थियो त्यो सम्पन्न गर्नको लागि देश एक वर्ष नै कोभिडमय रहयो । त्यसमा पनि करिब ५ महिना त लकडाउन र निषेधाज्ञाको अवस्थाबाट देश गुज्रियो । लकडाउनको समयमा सम्पूर्ण जनता नै घरमा बन्दी भएको अवस्थामा नेपाली कांग्रेसको विभिन्न निकायहरु सक्रिय हुने अवस्था थिएन । त्यो समय हामीले गुमायौं । त्यसैले फागुन ७ गते महाधिवेशन सम्पन्न गर्नको लागि कठिनाई उत्पन्न भयो । त्यसैले हामीले थप ६ महिनामा अधिवेसन सम्पन्न गर्नको लागि उपयोग गर्नुपर्ने आवश्यकता पर्‍यो । त्यसमा पनि संसद विघटन पछि जुन हाम्रो विरोधको निरन्तर श्रृङ्खला पार्टीले सञ्चालन गर्‍यो त्यो कारणले हामीले माघ भित्र सक्रिय सदस्यता पार्टीलाई बुझाउने समयावधि जुन जिल्लाहरुलाई दिएका थियौं आन्दोलनको कारणले पनि सबै जिल्लाबाट सक्रिय सदस्यता आइसकेन । त्यसकारणले पनि सक्रिय सदस्यता बुझ्ने थप समयको आवश्यकता पर्‍यो । त्यसपछि छानबिनको प्रक्रिया आउँछ । छानबिनको प्रक्रिया सम्पन्न भएर पार्टी सभापतिले हस्ताक्षर गरेर क्रियाशील सदस्यता सार्वजनिक गरेपछि अधिवेशन अगाडि बढ्ने अवस्था भएको हुनाले आगामी भदौ ७ गते अधिवेसनको श्रृङ्खला शुरु हुन्छ । महाधिवेशनको समय भदौ ७ गतेलाई निर्धारित गरेका छौं ।

    त्यसो भए भदौ ७ गते नेपाली कांग्रेसको महाधिवेसनको अन्तिम डेडलाइन हो ?

    होइन हाम्रो समय सकिने भन्दा केही अगाडि नै महाधिवेसनको मिति तोकेका छौं ।

    कोभिड लगत्तै प्रतिनिधि सभाको विघटनमा जानुपर्‍यो भन्नुभयो । तर कांग्रेस आन्दोलनमा हो की चुनाव प्रचारमा हो ?

    नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनताबाट अनुमोदित नभइकन सत्तामा जाने कुरालाई कहिलेपनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त, विचार हो । जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वभाविक हुनसक्छ तर नेपाली कांग्रेसको लागि स्वभाविक हुँदैन । त्यसो हुनाले जनतामा जाने, देशको बस्तुस्थितिको बारेमा जनतालाई सुशुचित गर्ने कुराहरु महत्वपूर्ण हुन । नेपाली कांग्रेसले यस अर्थमा विकेन्द्रीकृत आन्दोलन ग¥यो । हामीले जनतालाई खर्च गरेर काठमाडौंमा आउ भन्नुको सट्टा हामी जिल्ला जिल्लामा वडा वडामा आन्दोलन गर्दा अहिलेको समसामयिक राष्ट्रिय विषय, संसद विघटनको विषय, तीन वर्षको कुशासनको विषयलाई हामीले आम जनतामा पु¥याउन सफल भयौं । त्यसैले हामीले सञ्चालन गरेको विरोधको कार्यक्रम जनताको सहभागितालाई प्राथमिकता दिने तर खर्च गरेर ओहोरदोहोर गर्ने विकृति अरु दलले गरेको जस्तो खासगरी कम्युनिष्ट पार्टीको दुवै घटकले समर्थन र विरोधमा गरेको देखियो त्यस अर्थमा हामी स्वस्फुर्त रुपमा विरोधका कार्यक्रमहरु गर्‍यौं । यद्यपि यसमै हामी रोकिन्छौं भन्ने होइन । विरोधका ठूला कार्यक्रमहरु पनि हामी गर्न सक्छौं । त्यो गर्दा पनि जनताको स्वस्फूर्त सहभागितालाई प्राथमिकतामा राख्छौं ।

    सभापति शेरबहादुर देउवाले विरोध सभामा अथवा सञ्चार माध्यममा बारम्बार अदालतको निर्णयलाई कुरौं तर तपाईहरु चुनावको तयारीमा लाग्नुहोस भन्ने अभिव्यक्ति दिनुभएको छ । यसले त कसरी आन्दोलन गरेको भयो ?

    होइन अदालतले विघटनलाई सदर गरेर निर्वाचनमा जाउ भन्यो भने हामी तयारीबिनाको अवस्थामा रहने कुरा हुँदैन । जुनसुकै बाटो आदालतले निर्देश गर्छ त्यसको लागि हामी तयार हुनुपर्छ भन्नेपनि हामीलाई लागेको छ । यस अर्थमा पनि सभापतिले पुनस्थापना होस त्यसलाई पनि सहज रुपमा हामी स्वीकार गर्छौं र निर्वाचनमा जाने स्थिति आयो भने अदालतले त्यो किसिमको बाटो तय गर्‍यो भने त्यो निर्णयलाई हामी अवज्ञा गर्न सक्दैनौं । जनतामा गएर फेरि नयाँ जनादेश लिएर संसद स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौं भन्ने सभापतिको भनाई उपयुक्त नै हो ।

    बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्थापनामा मात्रै जोड दिनुभएको छ चुनावमा कम छ तर सभापति देउवाले चुनावलाई जोड दिनुभएको छ ।

    व्यक्तिगत रुपमा कुनै नेताले के भन्नुभयो त्यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा के हो भने नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मतिले के पारित गरेको छ त्यो महत्वपूर्ण हो । केन्द्रीय समितिले के पारित गरेको छ भने यो असंवैधानिक हो र असंवैधानिक निर्णयको विरुद्धमा हामी विरोधका कार्यक्रमहरु गर्छौं । जनताको तहसम्म पुग्छौं भनेर भनेको कुरा महत्वपूर्ण हो । त्यसैमा पार्टी हिडेको छ । सभापतिले अदालतको निर्णय जसरी आउँछ दुईवटै परिस्थितिको लागि हामी तयार हुनुपर्छ र पुनस्थापना नै भएपनि ढिलो चाँडो जनतामै जानुपर्छ अव डेढ वर्ष पछाडि हामी निर्वाचनमै जानुपर्छ भनेपछि त जनताको नयाँ जनादेश त महत्वपूर्ण कुरा हो । किन भने यो तीन वर्षे सरकार असफल भइसक्यो, फेल भइसक्यो । जनतालाई हिजो गरेको बाचा बन्धन उहाँहरुले पुरा गर्न सक्नु भएन । उल्टो दिशामा हिंडनु भयो । भन्नेकुरा जनताले महसुस गरिराखेका छन र जनता नयाँ जनादेश दिनको लागि आतुर छन् । त्यो अवस्थामा त्यस्तो परिस्थिति आयो भने अहिले त हामी निर्वाचनमा जान्नौं भन्ने कुरा जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले नकार्न सक्दैन तर कथमकदाचित सत्तामा बस्नेहरुले त्यसलाई नकार्ने, आलटाल गर्ने काम गर्न खोज्यो भने त्यसकै विरुद्ध फेरी नेपाली कांग्रेस खनिन्छ । त्यो कुरा पार्टी सभापतिले आमसभामा र पार्टी बैठकहरुमा भन्नुभएकै छ ।

    संवैधानिक सर्वोच्चतालाई कांग्रेसले स्वीकार गर्दैगर्दा सर्वोच्चको निर्णयलाई सडकबाट दबाब दिन हुन्छ कि हुँदैन ?

    त्यसैले त हामी आफ्नो दृष्टिकोण सार्वजनिक गर्न पाउने हाम्रो अधिकार छ । हाम्रो बुझाईमा संविधानका सबै स्टेप पुरा नगरिकन विघटन भयो । तर त्यसको अन्तिम निक्र्यौल गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको छ । यदि हामी संविधानको कुरा गछौं भने फेरी अर्को पाटो संविधानले नै गरेको व्यवस्थालाई पनि हामीले नकार्न सक्दैनौं । त्यसो हुनाले हामीले सर्वोच्च अदालतको फैसलालाई पनि अस्वीकार गर्न सक्दैनौं । हाम्रो मतभिन्नता हुनसक्छ । सर्वोच्चको निर्णय यस्तो नहुनुपर्ने भन्ने लाग्न सक्छ । तर त्यो निर्णयलाई हामी मान्दैमान्दैनो भन्न चाहिं हामी सक्दैनौं । त्यसो हुनाले हाम्रो दृष्टिकोण स्पष्ट छ । त्यो दृष्टिकोण भनेको केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको दृष्टिकोण हो त्यसमा हामी कडा हुन्छौं । त्यसैले कुनै नेताले यसो भए हुन्थ्यो भन्नेमा हाम्रो झुकाव होला तर पार्टीको मूल निर्णयलाई हामीले आधिकारिक दृष्टिकोण मान्नुपर्छ ।

    राजनीतिक दलहरुले सत्तामा जानेकुरालाई आफ्नो लाभको रुपमा स्वभाविक रुपमा हेरिनै हाल्छन । अहिले कांग्रेस दुवै हातमा लड्डुको अवस्थामा भएको हो ?

    यो लड्डुको कुरै होइन । यो कसले भन्यो मलाई थाहा छैन । दुवै हातमा लड्डु भन्ने कुरालाई म खारेज गर्छु । मूल कुरा जनताको हातमा लड्डु हुनुपर्छ । भनेको मतलब जनता लाभांवित हुनुपर्छ । जनताप्रति प्रतिवद्ध लोकतान्त्रिक व्यवस्था, संवैधानिक व्यवस्था हो । जनताको आवश्यकता पीरमर्का, जनताको भावनालाई हामीले बेवास्ता गर्न मिल्दैन । त्यसकारण पार्टीको हातमा लड्डु हुन्छ की हुँदैन कुन पार्टीको हातमा लड्डु हुन्छ कसको हातमा लड्डु हुन्छ त्यो महत्वपूर्ण कुरा होइन । मूल कुरा जनता मजबुत हुन्छन की हुँदैनन, जनता अधिकार समपन्न हुन्छ की हुँदैन जनताको आवश्यकता, पीरमर्का प्रति सत्ता संवेदन छ की छैन त्यो महत्वपूर्ण कुरा हो । त्यसकारण अहिले हाम्रो निष्कर्ष के हो भने तीन वर्षको कम्युनिष्ट साशनकाल गफमय भयो कुरामय भयो काममा पटक्कै ध्यान दिनुभएन । राज्यको साधन स्रोत संयन्त्रलाई व्यापक चरम दुरुपयोग र सत्तालाई मात्रै केन्द्रमा राख्ने काम उहाँहरुले गर्नुभयो । त्यस अर्थमा यसको हामीले विरोध गरेका छौं । त्यसकारण तपाईले हेर्नुभयो भने हाम्रो विरोधको प्रकृति र कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षकोमा के फरक छ भने हामीले संसदको विघटन सहित तीन वर्षको कुशासनको विरोध गर्ने निर्णयमै छ । भ्रष्ट्राचार लगायतका चरम दुरुपयोगका कुराहरु पनि हाम्रो विरोध कार्यक्रमको अंग हो । संसद विघटन मात्रै होइन । उहाँहरुको एकबुँदे संसद विघटनको विषय मात्रै छ भने हाम्रो समग्रमा त्यो विषय सहितको आन्दोलन हो ।

    संसद विघटन भएपछि फुटेको नेकपाको दुवै पक्षले कांग्रेस सभापतिलाई प्रतिनिधि सभाको पुनस्थापना भएपनि वा चुनावमा गएपनि विभिन्न खालका आश्वासन र आग्रहहरु गरिराख्नु भएको छ । त्यस सन्दर्भमा के भन्नुहुन्छ ?

    कुनैपनि पार्टीगत वा व्यक्तिगत लाभका अफरलाई उहाँले सिधै अस्वीकार गरिसक्नुभएको छ । त्यो मेरो सरोकारको विषय होइन हामीले जे भनिराखेका छौं भनिरहेका छौं भन्नुभएको छ । नेपाली कांग्रेस मुलभुतरुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ । जनताबाटै अनुमोदिन भएर कुनै क्षणिक रुपमा कोहीसँग जोडिएर तात्कालीन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन ।

    कार्यकर्ताहरु अलमल भइरहेका छन नी ?

    पटक्कै अलमल हुनुपर्ने अवस्था छैन । अलमलिने आवश्यकता पनि छैन । अब ढिलो चाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ ।