Tag: कांग्रेस महाधिवेशन

  • प्रचण्ड-माधवलाई ओलीको जवाफ- केही साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर छ (भिडिओ)

    प्रचण्ड-माधवलाई ओलीको जवाफ- केही साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर छ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रचण्ड-माधवलाई व्यंग्यात्मक कटाक्ष गरेका छन् । आफूलाई लक्षित गर्दै प्रचण्ड र माधव नेपालले दिएका अभिव्यक्तिको एकैपटक जवाफ दिँदै ओलीले कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्पणी गरे ।

    ओलीले भने, ‘केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ । केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ, सँगै जानुपर्छ भनेको त्यहि डर हो । सँगै जान भनेको सरकारमा मात्र होइन चुनावमा पनि । सँगै जाने भनेको सरकारको लागि कि विकास र सम्मृद्धिको लागि । सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला तर एमालेलाई छैन । हामी सँगै छैनौ र ? एमाले एक्लै हिड्न रहर गर्दैन र अरुको भरमा राजनीति पनि गर्दैन ।’

    ओलीले कांग्रेसलाई अरुको नीतिको पछाडि हिँड्ने होइन आफ्नो नीतिमा अरुलाई हिँडाओस् भन्ने शुभकामना दिँदै देउवालाई प्रधानमन्त्री होइन सरकारको नेता बन्न सुझाव दिए ।

  • ओलीको भाषण नसुनी उठेर हिँडे माधव नेपाल

    ओलीको भाषण नसुनी उठेर हिँडे माधव नेपाल

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकसाथ मञ्चमा देखिए । तर, ओलीको भाषण नसुनिकन नेपाल उठेर हिँडेका छन् ।

    करिब पाँच महिनापछि पहिलोपटक आली र नेपालले मञ्च सेयर गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एक वर्षपछि ओलीसँगै देखिए । नेपाल र प्रचण्ड ओलीभन्दा पहिल्यै कार्यक्रमस्थलमा उपस्थित भएका थिए । ओली आउँदा कांग्रेस अध्यक्ष शेरबहादुर देउवाले उठेर स्वागत गरेका थिए भने नेपाल र प्रचण्डले बसीबसी नमस्कार गरेका थिए ।

    नेपाल र प्रचण्डले गरेको भाषण ओलीले सुने । उनीहरू दुवैले आलीप्रति परोक्ष कटाक्ष गरेका थिए । ओलीले बोल्ने पालोमा भने नेपाल उठेर हिँडिसकेका थिए । प्रचण्डले भने ओलीको भाषण सुन्ने धैर्यता देखाए ।

  • उपेन्द्रको प्रस्ताव- निर्वाचन प्रणाली र शासकीय स्वरूप फेरौं (भिडिओ)

    उपेन्द्रको प्रस्ताव- निर्वाचन प्रणाली र शासकीय स्वरूप फेरौं (भिडिओ)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणाली र शासकीय स्वरूप फेर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकाना दिँदै यादवले यस्तो प्रस्ताव राखेका हुन् । उनले भने, ‘लोकतन्त्रका लागि फेरि जनताले आन्दोलन नगर्न संधिवानलाई अविलम्ब्न संशोधन गर्नुपर्छ । निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्छ ।’

    विगतमा मधेश आन्दोलनका बेला भएका सहमति कार्यान्वयन गर्न अब ढिला गर्न नहुनेमा उनको जोड छ ।

     

  • सीपी मैनालीको आरोप- सरकारले न्यायपालिकासँग भागबण्डा गरेर शासन चलाइरहेको छ (भिडिओ)

    सीपी मैनालीको आरोप- सरकारले न्यायपालिकासँग भागबण्डा गरेर शासन चलाइरहेको छ (भिडिओ)

    काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले वर्तमान सरकारले न्यायापालिकासँग भागबण्डा गरेर शासन चलाइरहेको आरोप लगाइरहेका छन् । कार्यकारीसँग भागबण्डा गरेर न्यायपालिकाले दिने न्याय कति निस्पक्ष होला भन्ने प्रश्न उनले तेर्स्याए ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रूपमा सम्बोधन गर्दै मैनालीले भने, ‘संसदीय व्यवस्थामा सत्तापक्षले प्रमुख प्रतिपक्षसँग अनि न्यायपालिकासँग भागबण्डा गरेर शासन चलाइरहेको छ । यो व्यवस्था अप्ठेरोमा परेको छ ।’

    मैनालीले देशको व्यवस्थापिका पनि गतिरोधमा फसेको बताए । प्रमुख प्रतिपक्ष सभामुखले न्याय नदिएको भनेर अवरोध गरिरहेको र त्यसको कारण पनि जायज नै रहेको उनको टिप्पणी छ ।

    मैनालीले भने, ‘सभामुख जघन्य मुद्दामा फस्नुभएको छ । प्रमुख प्रतिपक्ष सभामुखले न्याय दिएनन् भनेर अवरोध गरिरहेको छ । कारण ठीकै हो । कारबाही गर्ने ठाउँछ । त्यो सम्वन्धित पार्टीको कुरा हो । तर, संसदीय व्यवस्था गतिरोधमा फस्नु चिन्ताको विषय हो ।’

  • रुख चढेर कांग्रेस महाधिवेशन चियाइरहेका अनुहार (तस्बिरहरु)

    रुख चढेर कांग्रेस महाधिवेशन चियाइरहेका अनुहार (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंस्थित भृकुटीमण्डमा जारी १४ औं महाधिवेशनको उद्घाटन समारोहमा देशभरबाट हजारौं नेता, कार्यकर्तासँगै शुभेच्छुक सहभागी भएका छन् । महाधिवेशन उद्घाटनस्थल साँघुरो भएका कारण सहभागीलाई समारोह गर्न कठिन भइरहेको छ ।

    कतिपय सहभागीहरुले रुख चढेर समारोह हेरिरहेका छन् । विभिन्न जिल्लाबाट महाधिवेशनको उद्घाटनसत्र हेर्न आएकाहरु भृकुटीमण्डका रुखहरुमा भेटिएका छन् । उनीहरुले मञ्च देख्नै नपाएकाले रुख चढेर हेरेको बताएका छन् ।

    महाधिवेशन उद्घाटन समारोहमा अहिले विभिन्न दलका नेताहरुले शुभकामना दिइरहेका छन् ।

  • कांग्रेस महाधिवेशनमा ओलीको इन्ट्री, प्रचण्डसँग एक वर्ष र नेपालसँग ५ महिनापछि एकै मञ्चमा

    कांग्रेस महाधिवेशनमा ओलीको इन्ट्री, प्रचण्डसँग एक वर्ष र नेपालसँग ५ महिनापछि एकै मञ्चमा

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘इन्ट्री’ गरेका छन् । आमन्त्रित अतिथि नेताहरूमध्ये सबैभन्दा ढिला गरी उनी उद्घाटनस्थलमा उपस्थित भएका हुन् ।

    ओली कार्यक्रमस्थलमा आउँदा कांग्रेस कार्यकर्ताहरूले हुटिङ गरेका थिए । ओलीलाई मञ्चमा आसिन नेताहरूले नमस्कार गर्दै स्वागत गरे । मञ्चमा प्रचण्ड र माधव नेपाल कांग्रेस सभापति देउवाको दायाँतर्फ र ओली बायाँतर्फ बसेका छन् । ओलीका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुर्सि छाडिदिएका थिए ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु भने यसअघि नै कार्यक्रम स्थलमा आइपुगेका थिए । यसअघि एउटै पार्टी नेकपामा रहेका ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा रहेको यो पहिलोपटक हो । पार्टी विभाजनपछि एकअर्काको अस्तित्व अस्वीकार गरिरहेका उनी एउटै मञ्चमा देखिन कांग्रेस महाधिवेशन कुर्नुपरेको हो ।

    गत पुस ५ मा ओलीले संसद विघटन गरेपछि तत्कालीन नेकपाको विभाजन उत्कर्षमा पुगेको थियो । संसद विघटनयता ओली र प्रचण्ड एउटै मञ्चमा देखिएका थिएनन् । यद्यपि उनीहरुबीच एक/दुई पटक टेलिफोन संवाद भने भएको छ। त्यस्तै गत असार २३ यता ओली र नेपालबीच पनि प्रत्यक्ष भेट भएको छैन। एमाले विभाजन रोक्न गत २३ असारमा ओली र नेपालबीच संवाद भएको थियो ।

    तर, एमाले विभाजन रोकिएन । त्यसयता ओली र नेपालले एउटै मञ्च सेयर गरेका छैनन् । ओली र नेपालले एकअर्का लक्षित वक्तव्य दिने गरेका छन् । त्यस्तै कटाक्ष पनि गर्दै आएका छन् ।

  • कांग्रेस महाधिवेशन : १३ तस्बिरमा हेर्नुस् भृकुटीमण्डपको रौनक

    कांग्रेस महाधिवेशन : १३ तस्बिरमा हेर्नुस् भृकुटीमण्डपको रौनक

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह भृकुटीमण्डमा जारी छ । उद्घाटन समारोहमा भाग लिन हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता भृकुटीमण्डमा भेला भएका छन् ।

    दिउँसो १ बजेबाट उद्घाटन सुरू भएको उद्घाटन समारोहको सुरूआतमा कलाकारहरूले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरे । अहिले पार्टीका शीर्ष नेताहरू मञ्चमा उपस्थित भइसकेका छन् ।

    महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेतले सम्बोधन गर्दैछन् । राजनीतिक विवादका कारण दूरी बढाएका नेताहरू लामो समयपछि स्टेज सेयर गर्न लागेका हुन् ।

    महाधिवेशनमा विभिन्न देशबाट आएका विदेशी पाहुनारुको पनि उपस्थिति रहने छ । चार दिनसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ । सभापतिमा संस्थापन पक्षबाट शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गरेका छन् भने संस्थापनइतर समूहको साझा उम्मेदवार तय हुन सकेको छैन ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • उपसभापति वा महामन्त्री मध्ये एकमा मेरो दाबी छ : एनपी साउँद (अन्तरवार्ता)

    उपसभापति वा महामन्त्री मध्ये एकमा मेरो दाबी छ : एनपी साउँद (अन्तरवार्ता)

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य एनपी साउँद प्रमुख पदाधिकारीका दाबेदार हुन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका साउँदले सभापतिबाहेक प्रमुख पदाधिकारी अर्थात् उपसभापति वा महामन्त्रीमध्ये एक पदमा आफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । यद्यपि उम्मेदवारी छनोट गर्ने जिम्मा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै रहेको उनको भनाइ छ ।

    उनको सम्पर्क कार्यालय भने महामन्त्रीका उम्मेदवार भनेर खुलेको छ । उनका शुभेच्छुक नेता कार्यकर्ता, महाधिनेशन प्रतिनिधिले पनि महामन्त्रीमै जोड गरिरहेका छन् । तर संस्थापन पक्षमा महामन्त्रीका आकांक्षी धेरै हुँदा सभापति देउवालाई छनोट गर्न सकस परेको छ । यद्यपि साउँदले महामन्त्रीमा आफ्नो प्रचार प्रसारलाई तीव्र बनाएका छन् । प्रस्तुत छ साउँदसँग गरिएको कुराकानी

    आजदेखि नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ, कस्तो छ तयारी ?

    पार्टी महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । लगभग सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइसक्नुभएको छ । उनीहरूको भोजन आवासको व्यवस्था गरिएको छ । कार्ड, झोलाजस्ता निर्वाचनका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराइएको छ । चारैतिर उत्साहको वातावरण छ । आज उद्घाटन समारोह छ । त्यसपछि संक्षिप्त बन्दसत्र भइसकेपछि भोलिदेखि नोमिनेसन छ । निर्वाचन कार्यक्रम अगाडि बढ्छ ।

    नेतृत्व चयनमा केन्द्रित महाधिवेशनमा तपाईंको दाबी कुन पदमा हो ?

    मैले सभापतिबाहेक प्रमुख पदाधिकारीमा आफ्नो इच्छा अभिव्यक्त गरेको छु । त्यसको सम्बन्धमा निर्णय गर्ने दायित्व, अधिकार र सुविधा पार्टीका सभापति शेरबहादुर देउवाजीकै हो । तर अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । आज साँझ वा भोलि बिहानसम्म टुंगो लाग्छ ।

    प्रमुख पदाधिकारी भन्नाले उपसभापति वा महामन्त्री हो । महामन्त्रीमा तपाईंको ज्यादा चर्चा छ । प्रमुख पदाधिकारीमा तपाईंको दाबेदारी किन ?

    पार्टीलाई प्रविधिमैत्री बनाउन, अत्यन्त ध्रुवीकृत गुटबन्दीबाट मध्यमार्गमा ल्याएर पार्टीलाई अगाडि बढाउन, पार्टीको संगठनमा भएको अनुशासनहीनता अन्त्य गरेर अनुशासित पार्टीको रूपमा विकसित गर्ने, पार्टी युवा, महिला, समावेशी तप्कासँग राम्रोसँग जोडिन सकेको छैन, जसले पार्टीको जीवनमा पनि राम्रोसँग रक्तसञ्चार हुन सकेको छैन ।

    त्यसकारण समावेशी तप्कालाई पनि साथमा लिएर यदि गाउँबस्तीसम्म कांग्रेसको संगठन विस्तार गर्न सक्यौं, पहिलो पार्टीको रुपमा विकसित गर्न सक्यौं भने भोलि निर्वाचनमा यसको प्रतिफल कांग्रेसले पाउन सक्छ र लोकतन्त्र संस्थागत हुने बाटोमा जान्छ ।

    लोकतन्त्र संस्था भयो भने मुलुकमा शान्ति आउँछ, शान्ति सँगसँगै विकास समृद्धिको नेपाली जनताको यात्रा सुरु हुन्छ । अहिलेको कांग्रेस सशक्त, सबल हुन जरुरी छ । यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी छ । यहीँ ध्येयले मैले पार्टी जिम्मेवारीमा दाबा गरेको हुँ ।

    पदाधिकारीमा दाबी गर्दै गर्दा नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, शुभेच्छुकबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

    हाम्रो पिँढीले प्रजातन्त्रका लागि धेरै संघर्ष गरेको छ । म पनि कलिलो विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रिक आन्दोलनमा जोडिएको छु । देशभर हाम्रा साथीहरुको प्रभावशाली सञ्जाल छ । हामीसँग संघर्षको अनुभव छ ।

    पार्टी र भ्रातृसंस्था सञ्चालन गरेको, सरकारमा समेत जिम्मेवारी बोकेको अनुभव छ । यो आधारमा पार्टीका साथीहरूले यसलाई स्वाभाविक रूपमा लिएको र उत्साहजनक प्रतिक्रिया व्यक्त गरेको मैले महसुस गरेको छु ।

    अहिले कांग्रेसमा हिन्दु राष्ट्रको बहस छ, तपाईंले पनि धर्म निरपेक्षता परिमार्जन गर्नुपर्छ भन्नुभएको छ ?

    नेपाल सनातनकालदेखि नै धार्मिक स्वतन्त्रता भएको मुलुक हो । यहाँ कुनै पनि धर्मका बीचमा अन्तरविरोध र द्वन्द्व छैन । सनातन हिन्दू मूल्य पद्धतीको संरक्षण र सम्वर्द्धन गर्दै सबै धर्मलाई स्वतन्त्रताको प्रत्याभूति दिने खालको कानुनी संवैधानिक व्यवस्था हुनुपर्छ । धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ ।

    महाधिवेशन उद्घाटनको दिन आइसक्दा पनि पदाधिकारीमा उम्मेदवार छान्न किन ढिलाइ ?

    प्रजातान्त्रिक पार्टीभित्र सक्षम व्यक्तिले कुनै पनि जिम्मेवारीको चाहना राख्नु स्वाभाविक हो । पार्टीमा लगानी भएका थुप्रै साथीहरूले जिम्मेवारीमा दाबा गर्नु स्वाभाविक हो । यो प्रतिस्पर्धामा पार्टीभित्र थुप्रै साथीहरू हुनुहुन्छ, सबैको चित्त बुझाउन सम्भव हुँदैन । तर न्यायसंगत ढंगले जिम्मेवारीको बाँडफाँट भयो भने साथीहरूको व्यवस्था हुनसक्छ जस्तो लाग्छ ।

    नेतृत्वकोमात्रै महाधिवेशन गरिरहेको कांग्रेसमा नीतिमा बहस नै भएन भन्ने गुनासो छ नि ?

    पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर सर्वसम्मतले यो महाधिवेशनलाई निर्वाचनमुखी बनाएर नीति र विधानका बारेमा छलफल गर्न अर्को महाधिवेशन बोलाउने भन्ने किसिमको सहमति भएको रहेछ ।

    यसले यो महाधिवेशनमा हुने बहसलाई अलिकति साँघुर्‍याएको जस्तो देखिएको छ । वास्तवमा नेतृत्व, नीति, विचार र कार्यक्रमलाई एकअर्काबाट छुट्याउन गाह्रो छ । यो संयुक्त बहसलाई महाधिवेशनबाट छुट्याउन झन् गाह्रो छ । तर मलाई व्यक्तिगत रूपमा यो चित्त बुझेको छैन । तर यसलाई केन्द्रीय समितिले कसरी भविष्यमा व्यवस्थित गर्दै जान्छ, पर्खिनै पर्छ ।

    कांग्रेसमा वैचारिक स्पष्टता भएन भन्ने टिप्पणी पनि सुनिन्छ । विचारै नभएपछि कांग्रेस कहाँ पुग्ला ?

    कांग्रेसमा मुलभूत विचारहरू कालजयी छन् । हामी बहुलवाद, संसदीय अभ्यास, लोकतन्त्र, बहुदलीयतामा विश्वास गर्छौं । निरन्तर आवधिक निर्वाचनमा, राज्यका अंगका बीचमा शक्तिपृथकीकरण सिद्धान्त र सन्तुलनको मान्यतामा विश्वास गर्छौं । यसअनुसार कांग्रेसका नीति कालजयी छन् । तर परिस्थितिअनुसार आर्थिक, सामाजिक नीतिहरू, राजनीतिक रणनीतिहरू परिमार्जन र समायोजन गर्नुपर्ने हुन्छ ।

    कांग्रेसको समय र परिस्थितिको चापलाई बुझेर मात्रै सात दशकसम्म आफूलाई जीवित राख्न सकेको छ । नेपालमा खुलेका राजनीतिक पार्टीहरू इतिहासको भग्नावशेषमा पुगेर हराएका छन् । त्यसको ठेगाना छैन ।

    कांग्रेस समयको चाप, जनता र युवाहरुको चाहनाअनुसार हिँड्दा नेपालीको मन मस्तिष्कमा बस्न सफल भएको छ । विचारको स्पष्टताको अभाव कांग्रेसलाई छैन । कांग्रेस आफ्नो विचारलाई निरन्तर अद्यावधिक गरिरहन्छ ।

    कांग्रेसको नेतृत्वमा विकल्प खोज्नुपर्छ भन्ने आवाज चर्को सुनिन्छ । देउवाले पार्टी चलाउन सकेनन् भन्ने विश्लेषण छ । तपाईं संस्थापन पक्षको नेता हुनुहुन्छ । देउवा नै नेतृत्वमा फेरि किन ?

    यो पार्टीका महाधिवेशन प्रतिनिधिले निर्णय गर्ने कुरा हो । मूलत: शेरबहादुर देउवा प्रजातन्त्रका लागि लगानी गरेको, जेलनेल, सुखदु:ख परेको नेता हुनुहुन्छ । उहाँजस्तै अरु नेता पनि छैनन् भन्ने कुरा होइन । उहाँसँग राज्यसंयन्त्र चलाएको प्रशासनिक अनुभव छ । पार्टी चलाएको राजनीतिक अनुभव पनि छ । यो अनुभवको पार्टीले अधिकतम प्रयोग गर्नुपर्छ । बाहिर मानिसहरूले आ-आफ्नो धारणा बनाउन सक्छन् । तर पार्टी महाधिवेशनले गर्ने निर्णय नै आधिकारिक हुन्छ ।

    अन्तिममा महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ?

    यो महाधिवेशन नेपाली कांग्रेसका लागि ठूलो पर्वका रूपमा आएको छ । देशका कुनाकन्दराबाट तपाईंहरू आउनुभएको छ । समावेशी तप्का पनि आएको छ । खुला प्रतिस्पर्धाबाट पनि थुप्रै साथी आउनुभएको छ । सबैलाई राजधानीमा स्वागत गर्दछु ।

    तपाईंहरूको निर्णय कांग्रेसको भविष्यको रूपरेखा कसरी कोर्ने भन्ने सन्दर्भमा मात्रै होइन कि बलियो कांग्रेस बनाएर राष्ट्रलाई कता लैजाने, देशलाई कुन बाटोतिर लैजाने भन्ने कुराका लागि पनि महत्वपूर्ण छ ।

    तपाईंको मतले व्यक्ति चयन होइन मुलुकको भविष्य निर्धारण गर्ने काम गर्दछ । त्यसकारण तपाईंहरूले उपयुक्त किसिमले मतदान गर्नुहुनेछ । विवेकसम्मत किसिमले मतदान गर्नुहुनेछ । सानातिना, साँघुरा संकिर्णता र दायराहरू, गुटगत दायराहरूभन्दा बाहिर रहेर विवेकको मत प्रयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।

  • खुमबहादुर खड्काकी पत्नी शिलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    खुमबहादुर खड्काकी पत्नी शिलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    दाङ । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद शिला गौतम खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

    कांग्रेसको १४औँ महाधिवेशनमा नेतृ खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएकी हुन् । उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर कांग्रेसको संगठन निर्माणमा काम गर्ने बताएकी छिन् ।

    कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ खड्काले पुनः केन्द्रीय कार्यसमितिमा रहेर कांग्रेस र कार्यकर्ताको पक्षमा काम गर्ने योजना रहेको बताएकी छिन् ।

    ‘सबैको सरसल्लाहमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु’, उनले भनेकी छिन्, ‘कांग्रेसलाई ठूलो पार्टी बनाएर एकलौटी सरकार बनाउन सबैले पहल गर्नुपर्छ ।’

    कांग्रेसका नेता स्व.खुमबहादुर खड्काकी धर्मपत्नी समेत रहेकी नेतृ खड्काले आफूलाई कांग्रेसको राजनीतिमा सक्रिय बनाउँदै आएकी छिन् ।

    कांग्रेस नेतृ खड्का सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् । उनले सभापति पदमा देउवालाई साथ दिनेछिन् ।

    नेता स्व. खुमबहादुर खड्काका छोरा अनुराग खड्का पनि कांग्रेसको राजनीतिमा सक्रिय छन् । गृहजिल्ला दाङबाट युवा नेता खड्का महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए ।

    दाङ कांग्रेसको अधिवेशनमा नेतृ खड्का दाङको देउखुरीस्थित सतबरीयामा रहेको निवासमा बसेर सक्रियता जनाएकी थिइन् । नेतृ खड्कालाई दाङ कांग्रेसका नेता कार्यकर्ताले साथ दिएका छन् ।

  • कांग्रेस महाधिवेशन सुरू (तस्बिरहरु)

    कांग्रेस महाधिवेशन सुरू (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह सुरू भएको छ । उद्घाटन समारोहमा भाग लिन हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता भृकुटीमण्डमा भेला भएका छन् ।

    दिउँसो १ बजेबाट सुरू भएको उद्घाटन समारोहमा अहिले कलाकारहरूले सांस्कृति कार्यक्रमहरु प्रस्तुत गरिरहेका छन् । शीर्ष नेताहरु भने आइसकेका छैनन् ।

    महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेतले सम्बोधन गर्दैछन् । राजनीतिक विवादका कारण दूरी बढाएका नेताहरू लामो समयपछि स्टेज सेयर गर्न लागेका हुन् ।

    महाधिवेशनमा विभिन्न देशबाट आएका विदेशी पाहुनारुको पनि उपस्थिति रहने छ । चार दिनसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ । सभापतिमा संस्थापन पक्षबाट शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गरेका छन् भने संस्थापनइतर समूहको साझा उम्मेदवार तय हुन सकेको छैन ।

  • कांग्रेस महाधिवेशनस्थलमा झाँकी आउन सुरू (तस्बिरहरु)

    कांग्रेस महाधिवेशनस्थलमा झाँकी आउन सुरू (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घटानस्थल भृकुटीमण्डमा विभिन्न झाँकीहरू आउनेक्रम सुरू भएको छ।

    औपचारिक कार्यक्रम शुरु हुनुअघि विभिन्न समुदायका सांस्कृतिक झाँकीहरू आमसभास्थलमा आएका हुन् ।

    हेरौं तस्बिरहरू :

    तस्बिरहरू : उमेश कार्की/गौरव पौडेल । 

  • रामचन्द्रलाई निधिको फोन, उद्घाटनमा आउने जवाफ

    रामचन्द्रलाई निधिको फोन, उद्घाटनमा आउने जवाफ

    काठमाडौं । कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने भएका छन् । हिजो केन्द्रीय कमिटीको अन्तिम वैठकमा अनुपस्थित रहेका उनी महाधिवेशन उद्घाटनमा भने जाने भएका हुन् ।

    यो पनि पढ्नुहोस् : कांग्रेसमा ट्वीस्टः रामचन्द्रलाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव

    कांग्रेस उपसभापति तथा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले पौडेललाई फोन गरेका थिए । जवाफमा पौडेलले आफू उद्घाटनमा आउने जानकारी गराएका छन् । पौडेल अहिले आफूनिकट नेताहरुसँग भेटघाटमा व्यस्त छन् ।

    निधिले आजै एक कार्यक्रममा रामचन्द्रलाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका थिए । उनको नाममा सर्वसम्मति नभएको खण्डमा भने आफूले प्यानलसहित उम्मेदवारी दने निधिले बताएका छन् ।
  • महाधिवेशन सुरू हुनुअघि पौडेल निवासमा नेताहरूको जमघट

    महाधिवेशन सुरू हुनुअघि पौडेल निवासमा नेताहरूको जमघट

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन सुरू हुने अन्तिम समयसम्म संस्थापनइतर समूह साझा उम्मेदवारका लागि कसरत जारी राखेको छ । महाधिवेशन उद्घाटन समारोह सुरू हुनुअघि केही नेताहरू बोहराटारस्थित वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भेला भएका छन् ।

    पौडेल निवासमा अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू छलफलमा जुटेका हुन् ।

    संस्थापनइतर समूहबाट पौडेलसहित प्रकाशमान सिंह र शेखर कोइरालाको दाबी रहेको छ । पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा केही नेताहरूले प्रयास जारी राखेका छन् । यद्यपि, प्रकाशमान सिंहले आफू उम्मेदवारीबाट पछि नहट्ने बताइरहेका छन् ।

    आजै संस्थापनबाट अलग भएर उम्मेदवारी दिएका विमलेन्द्र निधिले पौडेलको नाममा सर्वसम्मत भए आफूले स्वीकार्ने बताएका छन् ।

  • कांग्रेस महाधिवेशन उद्घाटनअघिको भृकुटीमण्डप (तस्बिरहरू)

    कांग्रेस महाधिवेशन उद्घाटनअघिको भृकुटीमण्डप (तस्बिरहरू)

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ ।

    महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधिहरू आउनेक्रम सुरू भएको छ । भृकुटीमण्डपवरपर सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति छ । कांग्रेसले करिव १ सय ५० जना अट्ने मूख्य मञ्च निर्माण गरेको छ । ३५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।

    ट्राफिक व्यवस्थापन सहज पार्न बिहानैदेखि प्रदर्शनीमार्गमा सवारी प्रवेश निषेध गरेको छ । राष्ट्रिय सभागृहतर्फ र पद्मोदयमोड तर्फबाट अत्यावश्यकबाहेकका सवारीलाई प्रदर्शनी मार्गमा प्रवेश दिइएको छैन ।

  • देउवाका ज्योतिषले जुराए कांग्रेस महाधिवेशन उद्घाटनको शुभसाइत

    देउवाका ज्योतिषले जुराए कांग्रेस महाधिवेशन उद्घाटनको शुभसाइत

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभयोगको संयोग पारेर उद्घाटन समय निर्धारण गरिएको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन् ।

    रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका ज्योतिष पनि हुन् । उनले नै देउवालाई सातपटकसम्म प्रधानमन्त्री हुने योग रहेको भविष्यवाणी गरेका थिए । ज्योतिषीलाई साइत हेराएरै कांग्रेस महाधिवेशन शुक्रबार ठीक १ बजे उद्घाटन गर्न लागिएको छ ।

    पञ्चांगअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशी तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको छ । यो महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग रहेको रिजालले जानकारी दिए ।

  • विश्वकर्मा र परियारः दलिततर्फका दुई सहमहान्त्रीका दाबेदार, कस्ता छन् एजेण्डा ?

    विश्वकर्मा र परियारः दलिततर्फका दुई सहमहान्त्रीका दाबेदार, कस्ता छन् एजेण्डा ?

    काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनबाट चुनिने नेतृत्वप्रति धेरेको चासो छ ।

    यसपालि कांग्रेसले केन्द्रीय समितिलाई समावेशी बनाउनका लागि सहमहामन्त्री मात्रै ८ जनाको व्यवस्था गरेको छ । महाधिवेशनले यो सङ्ख्या अझै बढाउनसक्ने बताइएको छ ।

    ंकांग्रेसले सहमहामन्त्रीका लागि खसआर्य, महिला, मधेसी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्रअन्तरगत अपांगता भएका व्यक्ति तथा अल्पसंख्यक र दलित गरी आठ वटा समावेशी क्लस्टर छुट्याएको छ ।

    यसमध्ये दलित कोटामा शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य मीन विश्वकर्मा र रामचन्द्र पौडेल पक्षबाट केन्द्रीय सदस्य नै रहेको जीवन परियारले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीहरु दुवैले आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् ।

    के छन् त उनीहरुको चुनाव जित्ने एजेण्डा ?

    मीन विश्वकर्मा भन्छन्– मैले जति समावेशीता अरुले बुझेको छैन

    पार्टी सभापति शेरबहादुर देउवा पक्षका मीन विश्वकर्मा सहमहामन्त्रीका बलिया उम्मेदवार हुन् । उनी नेपाली कांग्रेसको निरन्तर दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् । प्रतिनिधिसभाका सदस्य तथा संविधानसभाका सदस्यसमेत भएको विश्वकर्मासँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएर सरकारमा काम गरेको अनुभव पनि छ ।

    आफ्नै इच्छाले मात्रै नभएर आमनेता तथा कार्यकर्ताको अनुरोधमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको विश्वकर्मा बताउँछन् । नेपाली कांग्रेसमा समावेशीतर्फको सहमहामन्त्री पद नयाँ भएकाले पनि त्यसका लागि आफू समक्ष र उपयुक्त पात्र भएको उनको दाबी छ । यसै पदमा रहेर पार्टीभित्र समावेशितालाई मूल मुद्दा बनाउने योजना उनले बनाएका छन् ।

    विश्वकर्मा नेपाली काँग्रेस र सिंगो राज्यका संयन्त्रलाई समावेशी गराउन, मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका गर्नका लागि निर्णायक मोडमा पुर्याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताउछन् । अरुले भन्दा समावेशीको मुद्दा आफूले राम्ररी बुझेको उनको भनाइ छ ।

    सह–महामन्त्रीमा खुला पद नभएका कारणले नै आफूले सहमहामन्त्रीमै उम्मेदवारी दिएको उनी बताउँछन् । यसअघि केन्द्रीय सदस्य भएकाले पनि अब सहमहामन्त्रीको उम्मेदवार बन्ने बेला भएको उनको भनाइ छ ।

    शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेका विश्वकर्मा राजनीति गर्न थालेदेखि नै देउवाले समावेशीताको मुद्दालाई उठाइरहेको दाबी गर्छन् । आफूहरुले उठाउने मुद्धा नै देउवाले उठाएकाले उनलाई नेताको रुपमा साथ दिएको उनको भनाइ छ ।

    केन्द्रीय समितिमा बसेर काम गर्दा पदाधिकारीमा समावेशिताको कोटाका लागि गरेको आफ्नो पहल निर्णायक भएर कार्यान्वयनमा गएको उनको दाबी छ । विश्वकर्मा संसदमा कांग्रेसलाई जिम्मेवार बनाउन, नागरिकका आवाज संसदसम्म पुर्याउन, प्रतिपक्षमा रहँदा प्रभावकारी भूमिका निर्वाह गरेको बताउँछन् । संविधान कार्यान्वयन गर्ने पक्षमा र कांग्रेसलाई संसदभित्र बलियो पार्टीका रुपमा स्थापित गर्नमा पनि आफ्नो योगदान महत्वपूर्ण रहेको उनी बताउँछन् ।

    आफुले सहमहामन्त्रीमा जितेपछि पार्टीलाई अझ परिमार्जित गर्ने, अहिलेको भन्दा अझै समावेशी बनाउने र अन्य पार्टीका तुलनामा आमनेपालीले गौरवको अनुभूति गर्ने वातावरण बनाउने उनको एजेण्डा छ ।

    जीवन परियार विश्वासः पक्कै पनि मेरो योगदानको कदर हुनेछ

    रामचन्द्र पौडेल पक्षबाट सहमहामन्त्रीका उम्मेदवारी घोषणा गरेका जीवन परियार पनि दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् । पार्टीले विधान संशोधन गरेर सहमहामन्त्री पदमा दलित कोटा निर्धारण गरेपछि उक्त पदमा आफूलाई योग्य ठानेर उम्मेदवारी दिने तयारी गरेको उनको भनाइ छ ।

    ११ वर्षसम्म केन्द्रीय सदस्य भएको नाताले पनि पदाधिकारीमा अनुभव भएको व्यक्ति जानुपर्ने भन्दै उनले आफूलाई उक्त पद उपयुक्त ठानेका छन् । सहमहामन्त्री पदमा बसेर दलित समुदायका साथै पार्टी हितमा काम गर्ने तीव्र इच्छा भएकाले उम्मेदवारी घोषणा गरेको उनी बताउँछन् ।

    समावेशीतर्फ दलितबाटै दुईपटक केन्द्रीय सदस्य निर्वाचित भइसककाले पनि दलित समुदायका समस्याबारे आफूलाई धेरै जानकारी भएको उनको दाबी छ । अहिले पनि नेपाली समाजमा जातीय विभेद र छुवाछुतको समस्या कायमै रहेकाले राज्यको १३ प्रतिशत हिस्सा ओगट्ने दलित समुदाय सबै दृष्टिकोणबाट पछाडि भन्दै उनले उक्त समुदायका लागि राजनीतिक तहबाट लड्नुपर्ने बताए । नेपाली काँग्रेसको नेतृत्वमार्फत नै समस्या समाधान गर्नुपर्ने भएकाले आफू नेतृत्वमा जानुपर्ने उनी बताउँछन् ।

    सहमहामन्त्रीमा खुला पद नभएको र त्यसभन्दा माथि उम्मेदवारी दिने आफ्नो हैसियत नभएको स्वीकार्दै उनले भने– योग्यताअनुसार समावेशीतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको हुँ ।

    नेपाल विद्यार्थी संघहुँदै अहिलेसम्मका पार्टीका सबै भूमिका रामचन्द्र पौडेल पक्षबाटै निर्बाह गरेको हुनाले र पहिले पार्टी विभाजन हुँदासमेत रामचन्द्र पौडेल पक्षबाटै अघि बढेकाले पौडेल पक्षको उम्मेदवार हुने उनको भनाइ छ । उनले गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहुँदै रामचन्द्र पौडेलसम्म आइपुग्दा एउटै लाइन समातिरहेका छन् ।

    परियार २०६७ सालमा काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । केन्द्रीय सदस्य भएलगत्तै दोस्रो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य भइसकेका छन् । आफूले संविधानसभामा दलित समुदायको हक अधिकारका लागि निरन्तर आवाज उठाएको उनको दाबी छ । संविधानको मौलिक हकमा लेख्नुपर्ने विषयदेखि शिक्षा, स्वास्थ्य, रोजगारीमा सहुलियतलगायतका विषयमा पनि आफ्नो योगदान महत्वपूर्ण रहेको उनी बताउँछन् ।

    प्रत्येक वडामा दुई महिला वडा सदस्य हुने व्यवस्था भएको ठाउँमा आफैं सक्रिय भएर दुईमध्ये एक दलित महिला हुनुपर्छ भनेर संशोधन प्रस्ताव पनि आफंैले गरेको र त्यो सफल भएको उनको दाबी छ ।

    लोकतान्त्रिक समाजवादको विचारलाई तल्लो तहसम्म पुर्याउन, लोकतान्त्रिक समाजवादकै आधारमा संविधानको जगेर्ना गर्न र कुरीति एवं कुसंस्कार अहिले पनि विद्यमान रहेकाले त्यसलाई अन्त्य आफूले उम्मेदवारी दिने उनले बताए ।

  • प्रकाशमानको उद्घोष- सभापतिबाट ब्याक हुन्नँ

    प्रकाशमानको उद्घोष- सभापतिबाट ब्याक हुन्नँ

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको दाबीबाट आफू ब्याक नहुने बताएका छन् । १४औं महाधिवेशनमा सभापतिका प्रत्यासीमध्येका एक सिंहले सहमतिका लागि पटकपटक छलफल गरेपनि कसैले कसैलाई नछाड्ने भएपछि निर्णयका लागि महाधिवेशन प्रतिनिको बीचमा जाने बताएका छन् ।

    कांग्रेस संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला र सिंह सभापतिको दाबेदार छन् ।

    ‘वान टू वान छलफलमा पनि कसैले कसैलाई नछाड्ने भनेपछि मैले ठीक छ प्रतिनिधिमाझ नै जाउँ भनेको छु ।’

    संस्थापनइतरबाट साझा उम्मेदवार खोज्न तपाईं बाधक हुनुभयो भन्न थाले नि त भन्ने नेपाल प्रेसको जिज्ञासामा सिंहले भने, ‘उहाँहरूले भनेअनुसार म चल्दा चाहिँ सहमति भएको हुने । मलाई न्याय दिनुस् भन्दा चाहिँ म सहमतिअनुसार नचलेको भन्ने यो कुरा त होइन नि ।’

    आफूले १३औं महाधिवेशनमा पनि दाबी छाडेको भन्दै सिंहले यसपाली आफू सभापतिका लागि नोमिनेसन गर्ने तयारीमा जुटिसकेको बताए ।

  • ओली अस्वस्थ, तर पनि महतलाई दिए कांग्रेस महाधिवेशनमा उपस्थित हुने आश्वासन

    ओली अस्वस्थ, तर पनि महतलाई दिए कांग्रेस महाधिवेशनमा उपस्थित हुने आश्वासन

    काठमाडौं । अस्वस्थ भएर प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कारमा सहभागी नभएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार उद्घाटन हुने कांग्रेस महाधिवेशनलाई शुभकामना दिन जालान् ? विहीबार ओली अस्वस्थ भएको समाचारपछि संशय उत्पन्न भएको छ ।

    यद्यपि बुधबार विहान महाधिवेशनमा आइदिनका लागि अनुरोध गर्न बालकोट पुगेका कांग्रेस सहमहामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिनिधि डा. प्रकाशशरण महतलाई भने ओलीले आफू भृकुटीमण्डपको उद्घाटन समारोहमा आउने आश्वासन दिएका थिए ।

    यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने बताएका थिए । ओलीको आतिथ्य निश्चित गर्न गएका महतले पनि एमाले अध्यक्ष सहभागी हुने बताएका छन् ।

    एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएर शुभकामना दिएका थिए । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड-माधव समूहले निर्णायक कदम चालेदेखि यी तीन नेता एकै मञ्चमा उपस्थित भएका छैनन् ।

    शुक्रबार कांग्रेस महाधिवेशनमा ओली उपस्थित भए भने प्रचण्ड-माधवसँग पहिलोपटक एकै मञ्चमा भेटिनेछन् । ओलीको स्वास्थ्यमा रुघाका कारण समस्या भए पनि कांग्रेस महाधिवेशनमा जाने निर्णय रद्द नभएको सचिवालयले जनाएको छ ।

  • ‘एकपटक, यसैपटक’ भन्दै शेखरले सुरू गरे सभापतिको प्रचार

    ‘एकपटक, यसैपटक’ भन्दै शेखरले सुरू गरे सभापतिको प्रचार

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार थालेका छन् । संस्थापनइतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला विहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एकपटक, यसैपटक’ भन्दै प्रचार अभियान छेडेका छन् ।

    संस्थापनइतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी छन् । साझा उम्मेदवार तय गर्ने विषयमा पटकपटक बसिरहेको उनीहरूको बैठकले अहिलेसम्म निकास निस्केको छैन ।

    प्रकाशमानले सभापतिमा आफ्नो दाबेदारी कायमै रहेको बताएका छन् । शेखरले पनि सभापतिको प्रचार थालेका हुन् ।

  • उम्मेदवारीबारे कृष्ण सिटौलाले भने- मनोनयनअगाडि मात्रै निर्णय सुनाउँछु

    उम्मेदवारीबारे कृष्ण सिटौलाले भने- मनोनयनअगाडि मात्रै निर्णय सुनाउँछु

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू पार्टीको सम्पूर्ण एकताको पक्षमा रहेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा आफूनिकटका कार्यकर्तासँग उनले अध्यक्षमा उम्मदेवारी दिने वा नदिने विषयमा केही बोलेनन् ।

    सिटौलाले कांग्रेस चुनावको मनोनयनअघि मात्रै आफू खुल्ने जानकारी दिए । आफूलाई अभाव, संकट र जोखिममा निरन्तर साथ दिनेहरूलाई आफूले कहिल्यै साथ नछोड्ने उनले बताए ।

    सिटौलाले भने, ‘मसँग जोडिएका साथीहरूलाई स्थापित गर्ने मेरो रणनीति रहन्छ । हामी अब उमेरका हिसाबले बुढा भयौं । अब पालो हाम्रा छोराछोरी र भाइबहिनीको हो । म अब युवाहरूलाई अघि बढाउन चाहन्छु ।’

    सिटौलाले आफ्नोतर्फबाट युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिने घोषणा गरे । भाषणको अन्त्यमा उनले भने, ‘म जहाँ छु, कांग्रेस त्यहीँ रहन्छ ।’

  • पूर्णबहादुर खड्का : ६ महिने मेयरदेखि महामन्त्रीको यात्रा, अबको गन्तव्य उपसभापति

    पूर्णबहादुर खड्का : ६ महिने मेयरदेखि महामन्त्रीको यात्रा, अबको गन्तव्य उपसभापति

    सुर्खेत । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन् । कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् उनी ।

    कर्णाली कांग्रेसकै एक बलिया खम्बा मानिने नेता खड्का हाल पार्टीको महामन्त्री छन् । उनी आसन्न महाधिवेशनमा उपसभापति पदका आकांक्षी हुन् । देउवा समूहले आफ्नो प्यानललाई अन्तिम रूप दिइनसकेको भए पनि उपसभापतिमा उनको बलियो दाबेदारी छ ।

    खड्का विगतमा पाँचपटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भइसकेका छन् । उनी संसदको राज्य व्यवस्था समितिको सभापतिसमेत बनेका थिए ।

    २०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उनी निरन्तर राजनीतिमा सक्रिय रहे ।

    २०३६ सालमा बहुदल र निर्दलबीचको चुनावमा कांग्रेसले भाग लिने निर्णय गर्दा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए, तर उनलाई पञ्चायतको समर्थन गर्न राजाले दबाब दिए । राजाले दिएको दबाब अस्वीकार गर्दा जिल्ला अदालत सुर्खेतले मेयर भएको ६ महिनामै उनलाई अपदस्थ गरिदिएको थियो ।

    विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचपटक सांसदमा विजयी बने भने एकपटक पराजित भए ।

    २०४८, २०५१, २०५६ मा उनी प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए ।

    खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् । यस्तै, उनीसँग युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ । सुर्खेत १ का जनतामा उनले आफूलाई ‘विकासप्रेमी नेता’ का रूपमा चिनाएका छन् ।

    खड्काले १० औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जना मात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो । सो महाधिवेशनमा सुशील कोइराला विजयी हुँदा खड्का पराजित भए । त्यसपछि ११ औं महाधिवेशनमा कांग्रेस फुटेर बनेको प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्यमा उनी निर्वाचित भए । १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य जितेर उनी सहमहामन्त्रीमा मनोनित भएका थिए । पछिल्लो १३ औं महाधिवेशनमा महामन्त्री बनेका हुन् ।

    तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्ट भन्छन्, ‘चुनाव प्रचारको समयमा पनि उहाँ गाउँमा जनताकै घरमा बस्नुहुन्छ । कुनै अभियानको समयमा होस या कार्यक्रममा, कहिल्यै होटलमा बसेको मलाई थाहा छैन ।’

    देउवालाई संकटको बेलामा जहिल्यै काँध थाप्ने नेता हुन् खड्का । अब महाधिवेशनमा खड्कालाई कांग्रेस प्रतिनिधिले काँध थाप्छन् या थाप्दैनन् हेर्न बाँकी छ ।

  • कांग्रेस महाधिवेशन प्रतिनिधिको झोलामा के छ ?

    कांग्रेस महाधिवेशन प्रतिनिधिको झोलामा के छ ?

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलिदेखि सुरू हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनका लागि देशभरबाट अधिकांश प्रतिनिधि आइसकेका छन् । कोही आउने क्रममा छन् ।

    पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार महाधिवेशनमा ४ हजार ३ सय १९ जना प्रतिनिधि सहभागी हुँदैछन् । उनीहरूका लागि सुन्धारा, गौशाला, गोंगबुलगायतका ठाउँमा होटल बुक गरिएको छ ।

    प्रदेश १ का नवनिर्वाचित महामन्त्री भूपेन्द्र राई ।

    महाधिवेशन प्रतिनिधिका लागि एक थान झोला, १० थान मास्क, एउटा स्यानिटाइजर, विधान, नियमावली, डायरी र खानाको कुपन बाँडिएको छ ।

  • कांग्रेस बैठक : महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित

    कांग्रेस बैठक : महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

    सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्रीद्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सांगठानिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदन केही रायसहित पारित गरेको शर्माले जानकारी दिए ।

    त्यस्तै कोषाध्यक्षका तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेस भएर पारित भएको छ । प्रतिवेदनअनुसार कांग्रेससँग हालसम्म १० करोडभन्दा बढी रकम कोषमा संचित रहेको उल्लेख गरिएको बताइएको छ । नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेस भएर पारित भएको छ।

    विभिन्न समयमा आवश्यकता अनुसार गरिएको विधानको परिमार्जन, संशोधन लगायतका विषय पनि बैठकबाट अनुमोदन भएको छ।

    बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य थप्न प्रस्ताव भने नआएको प्रवक्ता शर्माले बताए ।

  • तस्बिरमा कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक

    तस्बिरमा कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठक जारी छ ।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा भोलिदेखि सुरू हुने महाधिवेशनमा पेस गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषय एजेण्डा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल भने बैठकमा उपस्थित छैनन् । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई टेलिफोन गरेर उनले आफू बैठकमा नआउने जानकारी गराएका हुन् ।

    केही सहमहामन्त्रीसहित केन्द्रीय सदस्यको संख्या थप गर्ने प्रस्ताव पनि ल्याउने तयारी भइरहेको बताइएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति हाल १६७ सदस्यीय छ ।

     

  • सहमहामन्त्री थप्‍ने तयारीमा देउवा, रामचन्द्रको असहमति

    सहमहामन्त्री थप्‍ने तयारीमा देउवा, रामचन्द्रको असहमति

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी गरिएको छ । भोलिबाट सुरू हुन लागेको १४औँ महाधिवेशनमा नेताहरूको व्यवस्थापन हेरेर प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले खुला सहमहामन्त्री थप्ने तयारी गरेका हुन् ।

    अहिले कांग्रेसमा ८ जना सहमहामन्त्री छ । खुला २ जना सहमहामन्त्री थपेर १० बनाउन लागिएको हो ।

    १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको आज बस्ने अन्तिम बैठकमा देउवाले पदाधिकारी संख्या थप गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ ।

    विधान संशोधन गरेर सहमहामन्त्री थप गर्ने देउवाको तयारीमा असहमति जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा नजाने भएका बताइएको छ ।

  • प्रतिस्पर्धालाई लिएर महाधिवेशनमा कटुता र मनोमालिन्य प्रदर्शन नहोस् : देउवा (भिडिओ)

    प्रतिस्पर्धालाई लिएर महाधिवेशनमा कटुता र मनोमालिन्य प्रदर्शन नहोस् : देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमतिका लागि गरिएको प्रयास असफल भएमात्र निर्वाचन हुने उनले बताए ।

    सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको विमोचन गर्दै देउवाले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटुता, मनोमालिन्य र असहिष्णुता प्रदर्शन नगर्न आग्रह गरे ।

    महाधिवेशनलाई सफलताका साथ सकेर गाउँघर फर्की कांग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुट्न पनि नेता, कार्यकर्तालाई उनले आह्वान गरे । देउवाले भने, ‘नेपालको प्रजातान्त्रिक भविष्यका लागि यो महाधिवेशन अत्यन्तै महत्वपूर्ण हो । सबै मानिस उत्साहित भएर आएका छन । मलाई विश्वास छ- यस उत्साहपूर्ण घडीमा यसलाई सफल पारेर फर्किँदा साथीहरू अत्यन्तै उत्साहका साथ गाउँघरमा फर्केर पार्टीलाई बलियो बनाएर भोलिको आमचुनावमा नेपाली कांग्रेसलाई फष्ट पार्टी बनाउने काममा लाग्नुहोला ।’

    ‘हामीहरू भरसक सहमतिका साथ अगाडि जान्छौं । केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला । तर, प्रतिस्पर्धामा जितहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने’, देउवाले भने, ‘यसलाई सामान्य प्रक्रियाको रूपमा लिने, कुनै पनि किसिमको कटुता, मनोमालिन्य, एकअर्कामा असहिष्णुता नआओस् । यी कुराहरूबाट अगाडि बढनुपर्छ ।’

  • दुई महामन्त्रीका लागि १० नेताको दाबी, कसरी होला व्यवस्थापन ?

    दुई महामन्त्रीका लागि १० नेताको दाबी, कसरी होला व्यवस्थापन ?

    काठमाडौं । शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिने नेतृत्वबारे आमचर्चा छ । वडादेखि नै प्रष्ट दुईधारबीच प्रतिस्पर्धा भएकाले केन्द्रीय नेतृत्व चयनका लागि पनि प्यानलै बनाएर चुनाव हुने निश्चित छ ।

    अहिले नेपाली कांग्रेसको संस्थापन, संस्थापनइतर र कृष्ण सिटौला पक्ष आफ्नो प्यानल बनाउने गृहकार्यमा जुटिरहेको छ । तीनै समूहलाई प्यानल बनाउन सकस परिरहेको छ । सिटौला पक्षलाई आफ्नो पक्षमा पार्न संस्थापन र संस्थापनइतर पक्षले भरसक प्रयास गरिरहेको छ ।

    सभापतिसँगै पदाधिकारी र सदस्यहरुमा तीनै पक्ष प्यानल बनाएर चुनावमा जाने सम्भावना भने कम छ । सिटौला पक्षले लिने निर्णयले समीकरण फेरबदल हुनसक्ने सम्भावना छ । यद्यपि, त्यसबाहेक पनि पदाधिकारीको प्यानल बनाउन सकसै पर्ने देखिन्छ ।

    संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवा निश्चित भए पनि पदाधिकारीको टिम बनाउन उनले छलफललाई तीव्रता दिएका छन् । संस्थापनइतर पक्षले अझैसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । उपसभापति रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालाबीच सभापति उम्मेदवारको विषयमा सहमति भइसकेको छैन । उनीहरु सकेसम्म साझा उम्मेदवार बनाउने कसरतमा लागेका छन् ।

    त्यस्तै उपसभापतिका लागि पनि तीनै पक्षका नेताहरुले अकांक्षा व्यक्त गरिरहेका छन् । सभापतिपछि ठूलो र प्रभावशाली मानिने महामन्त्रीका लागि अरु पदाधिकारीमाभन्दा बढी आकांक्षी देखिएका छन् । र, महामन्त्रीको रेस पेचिलो बनेको छ ।

    संस्थापन पक्षबाट मात्रै आधा दर्जन आकांक्षी

    अहिलेसम्म संस्थापन पक्षबाट छ नेताले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अहिले सहमहान्त्री भएकाले महामन्त्रीमा प्रकाशरण महतको स्वभाविक दाबी छ । त्यस्तै देउवाका विश्वासपात्र मानिने हालका गृहमन्त्री बालकृष्ण खाँडले पनि महामन्त्रीमा सशक्त दाबी गरिरहेका छन् ।

    संस्थापन पक्षबाटै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यहरु एनपी साउद र रमेश लेखकले पनि महामन्त्रीका लागि लबिङ गरिरहेका छन् ।

    संस्थापन पक्षको प्यानलमा पर्न सबैले दौडधुप गरिरहेका छन् । यसबाट उपसभापतिमा उचाल्ने सम्भावना कम छ । तर, कसैले पनि सहमहान्त्रीमा झर्ने सम्भावना पनि नभएको बताइरहेका छ । अझ सिटौला पक्षको साथ लिँदा देउवा पक्षलाई झन् कठिन हुने देखिन्छ । देउवा–सिटौला पक्ष मिल्ने हो भने सिटौला पक्षले महामन्त्रीमा दाबी गर्ने देखिन्छ ।

    सिटौला पक्षबाट महामन्त्रीमा युवा नेता प्रदिप पौडेलले दाबी गरिरहेका छन् ।

    संस्थापनइतर पक्षबाट तीनजनाको दाबी

    सभापतिका लागि साझा उम्मेदवार तय गर्न सकस परिरहेको कांग्रेस संस्थापनइतर पक्षमा महामन्त्रीका दाबेदार संस्थापन पक्षका भन्दा कम छन् । यद्यपि, उनीहरुबीच पनि भागबण्डा मिलाउन कठिन नै हुने देखिन्छ ।

    अहिलेका रक्षामन्त्री मीनेन्द्र रिजाल उक्त पक्षका शक्तिशाली दाबेदार हुन् । त्यस्तै यसअघि कृष्ण सिटौला प्यानलबाटै महामन्त्री उठेर हारेका गगन थापा पनि अहिले उक्त पक्षबाट महामन्त्री हुन चाहिरहेका छन् । त्यस्तै नेता धनराज गुरुङले पनि महामन्त्री हुने आकांक्षा व्यक्त गरेका छन् ।

    सिटौला पक्षलाई आफूतिर तान्न पनि संस्थापनइतर पक्षले प्रयास गरिरहेको छ । त्यसोहुँदा प्रदिप पौडेललाई व्यवस्थापन गर्ने विषय कठिन देखिन्छ ।

  • देउवा पक्षका आकांक्षीको व्यवस्थापन गर्न ९ नेतालाई जिम्मा

    देउवा पक्षका आकांक्षीको व्यवस्थापन गर्न ९ नेतालाई जिम्मा

    काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा संस्थापन समूहबाट विभिन्न पदका आकांक्षीहरू धेरै भएपछि व्यवस्थापनका लागि ९ नेताहरूलाई जिम्मेवारी तोकिएको छ । आज बसेको संस्थापन पक्षको वैठकले सात प्रदेशमा संस्थापन पक्षबाट साझा उम्मेदवार तय गर्ने उद्देश्यले उनीहरुलाई जिम्मेवारी दिइएको हो ।

    सुदूरपश्चिममा एनपी साउद र रमेश लेखक, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाहीले आकांक्षी मिलाउने जिम्मा पाएका छन् । यस्तै, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बाग्मतिमा प्रकाशशरण महत, प्रदेश २ मा रमेश रिजाल तथा प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्कीले जिम्मेवारी पाएका छन् ।

    कांग्रेस महाधिवेशन शुक्रबारबाट सुरू हुँदैछ । महाधिवेशनमा संस्थापन पक्षबाट शेरबहादुर देउवा अध्यक्षमा लड्दैछन् भने संस्थापनइतर समूह साझा उम्मेदवार तय गर्ने कसरतमा छ ।

  • गणेशमानले वीपीलाई गाली गरेकै थिए कि प्रदीप गिरीले ढाँटे ?

    गणेशमानले वीपीलाई गाली गरेकै थिए कि प्रदीप गिरीले ढाँटे ?

    इटहरी । कांग्रेसको महाधिवेशनलाई लिएर एउटा आरोप लाग्ने गर्छ कि त्यहाँ कहिल्यै विचारले स्थान पाउँदैन । हुन्छ त केवल कुर्सीको लडाइँ । आसन्न १४ औं महाधिवेशनमा पनि विचारको कतै चर्चा छैन । नेताहरू केवल पदको संघर्षमा छन् ।

    तर, विगतलाई फर्केर हेर्दा केही अपवादहरू पनि भेटिन्छन् । जस्तो कि छैटौं महाधिवेशन । ६६ वर्षअघि भएको कांग्रेसको छैटौं महाधिवेशन धेरै अर्थमा ऐतिहासिक छ । उक्त महाधिवेशनमा नेतृत्वको पेचिलो प्रतिस्पर्धा थियो नै, वैचारिक हिसाबले पनि यसले कांग्रेसलाई नयाँदिशा निर्देश गरेको थियो ।

    वीरगञ्जमा २०१२ माघ ९ गते भएको छैटौं महाधिवेशनबाटै नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई अंगिकार गरेको हो । त्यसको अर्को वर्ष २०१३ सालमा नेपाली कांग्रेस एसियन सोसलिस्ट कन्फ्रेन्सको सदस्य र २०१४ मा आएर सोसलिस्ट इन्टरनेशनलको सदस्यसमेत भयो ।

    चुनाव हारेपछि वीपीलाई गणेशमानको गाली !

    प्रजातन्त्र आएपछि २००७ फागुन ७ मा गठित मोहनशमशेर नेतृत्वको राणा-कांग्रेस सरकार तथा २००८ मंसिर १ गते मात्रिकाप्रसाद कोइराला नेतृत्वको सरकारमा सँगै सहभागी भएका शुवर्णशमशेर र गणेशमान छैटौं महाधिवेशनमा सभापतिका प्रत्याशी थिए । वीपीले सभापति नबनेर नेतृत्व परिवर्तन गर्ने भनेपनि दुई नेतामा सहमति नजुट्दा चुनाव भएको थियो ।

    डा. बद्रीनारायण गौतमले लेखेको पुस्तक ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ का अनुसार ६४ मतले गणेशमानले चुनाव हारेका थिए । शुवर्णशमशेरको २३६ मत आउँदा गणेशमान सिंहको १७२ मत आएको थियो ।

    नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरीको अनुमानमा वीपीले गणेशमान सिंहलाई चुनावमा हराउन चाहेका थिए तर ‘प्रचण्ड बहुमत’ ले सुवर्णलाई जिताउन भने चाहेका थिएनन् । छैटौं महाधिवेशनमा नोना कोइरालाले गणेशमान सिंहलाई र गिरिजाप्रसाद कोइरालाले सुवर्णशमशेरलाई सहयोग गरेको गिरी बताउँछन् । सुवर्ण शमशेरको स्मृतिमा ललितपुरको मानभवनमा रहेको सुवर्ण स्मृति परिषद्ले प्रकाशन गरेको ‘सुवर्ण स्मृति ग्रन्थ’ मा गिरीले यस्तो उल्लेख गरेका छन् ।

    गिरीको दाबीअनुसार चुनाव हारेपछि वीपीलाई गणेशमान सिंहले तथानाम गाली गरेका थिए । भारतको नेहरू स्मारक एवं पुस्तकालयमा २००७ सालदेखि २०१३ सम्मको वीपी कोइरालाको डायरीमा उल्लेख भएको भन्दै गिरीले लेखेका छन्, ‘गणेशमानजीले मलाई तथानाम गाली गर्नुभयो । गणेशमानजीको बानी त्यस्तै हो, त्यो त सहन्छु । उहाँले अरु केही गर्न सक्नुहुने होइन ।’

    रोचक कुरा चाहीँ २०७४ कात्तिक २४ गते प्रकाशन भएको पुस्तकमा गिरीले साभार गरेको र प्रकाशन हुन बाँकी भनेको त्यही डायरी २०७६ भदौमा काठमाडौको शिखा बुक्सले प्रकाशन गरेको छ । सम्पादक पदमबहादुर थापा र अनुवादक महेश पौड्याल भएको ‘वीपी कोइरालाको डायरी’ नामक पुस्तकमा भने गिरीले भनेजस्तो गणेशमान सिंहले गाली गरेको उल्लेख छैन ।

    बरु उल्टै गणेशमान सिंह बारेको आफ्नो आशंका गलत भएको भन्दै वीपी कोइरालाले माघ १५ को डायरीमा लेखेका छन्, ‘वीरगञ्जः सम्मेलन सकुशल सम्पन्न भएकोमा म अत्यन्तै प्रसन्न थिएँ । सबैमा परिपक्वता र जिम्मेवारीवोध स्पष्टै देखिन्थ्यो । पार्टी संगठनहरूमा देशकै हाम्रो पार्टी सबैभन्दा श्रेष्ठ देखियो । गणेशमानजीको भूमिका पनि अत्यन्तै सकारात्मक रह्यो । मेरो आशंका गलतसिद्ध भयो । अध्यक्षको रूपमा सुवर्णजीको निर्वाचन सफल भयो । साँझ हामी पटनातर्फ लाग्यौं ।’

    अब प्रश्न उठ्छ- गणेशमानले चुनाव हारेर गाली गरेको भन्ने कुरामा गल्ती प्रदीप गिरीको हो कि अनुवाद गरेर प्रकाशन गर्ने सम्पादक र प्रकाशक को हो ?

    भान्जाको नामको नगरमा मामाको जित

    वीरगंजलाई २००७ सालको क्रान्तिका प्रथम शहीदको सम्मानमा थिरबम मल्ल नगर भनेर नामाकरण भएको समयमा छैटौं महाधिवेशन भएको थियो । थिरवम मल्ल नाताले गलकोटे राजा भरतबम मल्लका छोरा हुन् । यस्तै उनी शुवर्णशमशेरका भान्जा थिए ।

    थिरबमले भारतको देहरादुनमा सैनिक कलेजमा पढेका थिए । उनी भारतीय सेनाको कमिसन अफिसरको जागिर छोडेर नेपाली कांग्रेसको मुक्ति सेनामा आबद्ध भएर राणाविरोधी सशस्त्र आन्दोलनमा सरिक भएका थिए । उनकै नेतृत्वको एक सय जनाको फौजले वीरगञ्जको बडाहाकिम गारत र गोस्वारामाथि हमला गरेको थियो ।

    २००७ कात्तिक २५ गते राति ३:४५ को हमलाले वीरगञ्ज कब्जा सफल भएको थियो । सागरशमशेरद्वारा लिखित अंग्रेजी भाषाको पुस्तक ‘सिंहदरबार’मा उल्लेख भए अनुसार १३० जनाको राणाको दस्ता भएको वीरगञ्जमा तीनवटा खिया परेको मेसिनगन, चार वटा रिभल्भर र एक दर्जन हाते ग्रिनेडको सहायताले कब्जा गरिएको थियो ।

    कब्जा गरेको भोलिपल्ट २००७ कात्र्तिक २६ गते बिहान ढिस्कोमा बसेर सम्बोधन गर्ने क्रममा मल्ललाई काठमाडौंबाट आएको दस्ताका हवलदार पूर्णबहादुर महतले टाउको, छाती र पेटमा गोली हानेको २०५५ मा स्थापित शहिद थिरवम मल्ल मोमोरियल फाउन्डेसनले तयार गरेको ‘शहिद थिरवम मल्लः गलकोट देखी वीरगंजसम्म’ लेखमा उल्लेख छ । तीन गोली लागेका मल्ललाई वीरगञ्ज सीमापारी रक्सौलको डंकन अस्पतालमा उपचार गर्दा मृत्यु भएको थियो । २६ वर्षको उमेरमा भाइटीकाको दिन मल्लको मृत्यु भएको थियो ।

    थीरबम मल्ल २००७ सालको नेपाली कांग्रेसले छेडेको शशस्त्र क्रान्तिका प्रथम शहीदमात्रै हैनन्, २००७ साल फागुन ४ गते भारतबाट प्रजातन्त्र घोषण गर्न त्रिभुवनसँगै काठमाडौ ओर्लिएका वीपीलगायतका नेताहरू पहिलो दिन थिरबम मल्लकै पिता भरतबम मल्लको निवास टक्सालमा आएर बसेका थिए । यो जानकारी डा. बद्री गौतमको पुस्तक ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकमा छ ।

    उनै थिरबम मल्लको कथा र व्यथा जोडिएको नगरमा भएको महाधिवेसनमा सुवर्णशमशेर पहिलोपटक नेपाली कांग्रेसको सभापति भए । आफ्नै अगुवाइमा गठन गरेको नेपाली प्रजातन्त्र कांग्रेसको समेत सभापति नभएका सुवर्णशमशेर वीरगञ्ज महाधिवेशनमा भने प्रजातान्त्रिक कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको एकीकरणबाट बनेको नेपाली कांग्रेसको नै सभापति बने ।

  • कांग्रेस नेतृत्वमा हिस्सिएको चितवन यसपाली डेब्यूको आशामा, यी हुन् ७ आकांक्षी

    कांग्रेस नेतृत्वमा हिस्सिएको चितवन यसपाली डेब्यूको आशामा, यी हुन् ७ आकांक्षी

    चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चितवनका ७ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

    हालसम्म केन्द्रीय नेतृत्व पाउन नसकेको चितवनबाट यसपटक देखिएका दाबेदारप्रति धेरैको चासो छ । विगतका महाधिवेशनमा जिल्लाबाट धेरै आकांक्षी हुँदा चितवन केन्द्रीय नेतृत्वमा आउनबाट चुकेको नेताहरूले बताएका छन् । मंसिर २४-२६ मा काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको महाधिवेशनमा केन्द्रीय सदस्य दाबी गर्नेमा जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापतिहरू टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे, पूर्वसहसचिव प्रकाश अधिकारी, युवा नेता दिनेश कोइराला, दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार, पूर्वजिल्ला सदस्य भरत गुरुङ छन् ।

    केन्द्रीय सदस्य पदमा आदीवासी, जनजाति तर्फका उम्मेदवार जीतनारायण श्रेष्ठ विद्यार्थी आन्दोलनहुदै पार्टी जिल्ला सभापतिको नेतृत्व सम्हालेका व्यक्ति हुन् । नेविसंघ चितवनका पूर्वअध्यक्ष, कांग्रेस चितवनको जिल्ला सदस्य, जिल्ला सचिव समेत भएर काम गरिसकेका श्रेष्ठ २०७४ को चुनावमा चितवन २(ख) बाट प्रदेश सांसदका उम्मेदवार पनि थिए ।

    ५ पटक चितवन कांग्रेस सभापति भइसकेका टेकप्रसाद गुरुङ पनि आदीवासी, जनजाति तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार हुन् । २०१८ सालदेखि राजनीतिमा सक्रिय टेकप्रसादले २०७० को चुनावमा चितवन क्षेत्र नम्बर ४ मा आँफुले पाएको टिकट त्यागेर तत्कालिन पार्टी सभापति स्वर्गीय शुशिल कोइरालालाई प्रस्ताव गरी जिताउने अभियानमा लागेका थिए । त्यो बेला चितवन क्षेत्र नम्बर ४ बाट भारी मतान्तरले चुनाव जितेपछि कोइराला देशको प्रधानमन्त्री समेत भएका थिए । कांग्रेस विभाजन पहिले, विभाजनपछि र समायोजनका बेला र त्यसपछि पनि टेकप्रसादले चितवन कांग्रेसको नेतृत्व लिएका थिए । श्रेष्ठ गत महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए ।

    चितवन क्षेत्र नम्बर ४ बाट निर्वाचित पार्टी सभापति शुशिल कोइरालाले छाडेपछि भएको उपनिर्वाचनबाट संविधानसभा सदस्यमा निर्वाचित रामकृष्ण घिमिरेपनि केन्द्रीय सदस्य पदका उम्मेदवार छन् । खसआर्य तर्फबाट उनले उम्मेदवारी दिदैछन् । २०२६ सालदेखि राजनीतिमा सक्रिय घिमिरे जिल्ला सदस्य, उपसभापति हुदै जिल्ला सभापति भएका थिए । उनले ३ वर्ष जेलजीवन भोगेका छन् । वीपी कोइरालालाई विमानस्थलमा स्वागत गर्नेक्रममा उनी पहिलोपटक गिरफ्तारीमा परेका थिए । २०४६ सालको जनआन्दोलन परिचालन समिति चितवनको सदस्य रहेका उनी २०६२-६३ को जनआन्दोलन परिचालन समिति चितवनको संयोजक थिए ।

    खुल्लातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार प्रकाश अधिकारी चितवनको पहिलो निर्वाचित नेविसंघ जिल्ला अध्यक्ष हुन् । २०७४ को चुनावमा चितवन २ (क) बाट प्रदेश सांसदका उम्मेदवार थिए । नेपाल प्राध्यापक संघको केन्द्रीय महासचिव, प्रजातन्त्रबादी प्राध्यापक संघको केन्द्रीय सदस्य थिए । १३ औं महाधिवेशनमा जिल्ला सभापतिका प्रत्यासी रहेका उनले सहसचिवमा निर्वाचित भएर काम गरिसकेका थिए ।

    युवा नेता दिनेश कोइराला स्थानीय तहको चुनावमा निकै चर्चामा थिए । भरतपुर महानगरको मेयर पदको उम्मेदवारी दर्ता गरेर चुनावी अभियान थालेका उनको उम्मेदवारी केन्द्रबाटै उम्मेदवारी फिर्ता गरेर माओवादी नेतृ रेणु दाहाललाई कांग्रेसले समर्थन गरेको थियो । उनी २०७४ को प्रदेशसभाको निर्वाचनमा चितवन ३ (क) का उम्मेदवार बने । २००८ मा जेसीजको केन्द्रीय अध्यक्ष रहेका कोइराला विद्यार्थी राजनीतिबाटै आएका नेता हुन् । २०५७ मा नेविसंघको केन्द्रीय सदस्य, २०५८ मा कांग्रेस चितवनको प्रवक्ता तथा जिल्ला सदस्य, २०५९ मा कांग्रेस चितवन-काठमाडौं सम्पर्क समितिको अध्यक्ष थिए ।

    २ कार्यकाल दलित संघ चितवनकी अध्यक्ष रहेकी शान्ती परियाले दलित महिला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार हुन् । कांग्रेस चितवनकी जिल्ला सदस्य भएर काम गरिसकेकी उनी महिला तथा दलित समुदायको अधिकारको वकालतमा सक्रिय छिन् । तरुण दलको विदेश विभाग प्रमुख भएर काम गरिसकेका भरत गुरुङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिँदैछन् ।

    २०४८ मा अमृत साइन्स क्याम्पसको नेविसंघ अध्यक्ष रहेका उनी टेकप्रसाद गुरुङ जिल्ला सभापति भएका बेला चितवन कांग्रेसको जिल्ला सदस्यमा धेरै मत ल्याएर विजयी भएका नेता हुन् । सातै जना उम्मेदवारले यसपाली चितवनले केन्द्रीय सदस्यमा जित्ने दाबी गरेका छन् । हालसम्म कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न नसकेको चितवन जिल्लाका उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।

  • कांग्रेस केन्द्रीय सदस्यमा श्याम घिमिरेको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा श्याम घिमिरेको उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरे पुनः केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने भएका छन् । घिमिरेले १४ औं महाधिवेशनमा खस आर्यतर्फबाट केन्द्रीय सदस्य बन्ने घोषणा गरेका छन् ।

    १२ औैं महाधिवेशनपछि तत्कालीन सभापति सुशिल कोइरालाद्वारा केन्द्रीय सदस्यमा मनोनीत भएका घिमिरे १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाद्वारा केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । घिमिरेले यसपटक आफू प्रतिस्पर्धाबाटै केन्द्रीय समितिमा रहन चाहेको बताए ।

    आफू सधैँ पार्टीभित्र एकता र संस्थागत निर्णयको पक्षमा रहेको बताउँदै घिमिरेले १४ औं महाधिवेशनपछि गुटगत तिक्तता समाप्त गर्नुपर्ने बताए । ‘म सधैं पार्टीभित्र संस्थागत निर्णय हुनुपर्छ र निर्वाचित सभापतिको भिजनमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु । महाधिवेशनमा प्रतिस्पर्धा त हुन्छ तर महाधिवेशनपछि तिक्तता बिर्सेर कांग्रेसको पक्षमा काम गर्न सबै सक्रिय हुनुपर्छ’, घिमिरेले भने ।

    कांग्रेस केन्द्रीय सदस्यका रुपमा आफू पाएको जिम्मेवारी कुशलताका साथ निर्वाह गर्दै आएकोले महाधिवेशन प्रतिनिधिले मूल्यांकन गर्ने अपेक्षा रहेको घिमिरेले बताए । उनी कांग्रेसको केन्द्रीय लेखा समितिको संयोजक तथा क्रियाशील सदस्यता छानबिन समितिको सदस्यसमेत हुन् ।

  • बूढानीलकण्ठ बैठकको निष्कर्ष- देउवाको नेतृत्व नै अपरिहार्य

    बूढानीलकण्ठ बैठकको निष्कर्ष- देउवाको नेतृत्व नै अपरिहार्य

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीमा अझै एक कार्यकाल सभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य भएको ठहर गरेको छ ।

    सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको संस्थापन पक्षको बैठकले देउवाकै नेतृत्वमा महाधिवेशनमा होमिने निर्णय गरेको छ । बैठकले पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरूको व्यवस्थापनका लागि पुनः शीर्ष तहमा छलफल गर्ने निर्णयसमेत गरेको छ ।

    बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउदलगायतले महामन्त्री लड्ने आकांक्षा व्यक्त गरेका छन् । केही केन्द्रीय सदस्यहरूले सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।

    बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री महतले महाधिवेशनमा संस्थापन पक्षलाई एकताबद्ध र अझ बलियो बनाउने विषयमा छलफल भएको बताए । बैठकले नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको ठहरसमेत गरेको छ ।

    ‘राष्ट्रिय राजनीतिमै हाम्रो सभापति शेरबहादुर देउवाजीको नेतृत्व स्थापित भएको बेला उहाँकै नेतृत्वमा कांग्रेस अगाडि बढ्नुको विकल्प छैन भन्ने निष्कर्ष रह्यो । पार्टीभित्र उहाँले बहुमतको प्रयोग नगरी सहमतिका लागि प्रयास गर्दै आउनुभएको हो । फेरि पनि उहाँकै नेतृत्वमा हामी गोलबन्द हुने भयौ’, महतले भने ।

    उनले पदाधिकारीका उम्मेदवारबारे पर्याप्त छलफल गरेर सहमतिमै टुंगो लगाइने जानकारी समेत दिए ।

  • संस्थापनइतरको भेला : प्रकाशमान र शेखरको पक्षमा एक-एकजना, अरुले कसैको नाम लिएनन्

    संस्थापनइतरको भेला : प्रकाशमान र शेखरको पक्षमा एक-एकजना, अरुले कसैको नाम लिएनन्

    काठमाडौं । संस्थापनइतर पक्षबाट कसलाई सभापति उम्मेदवार बनाउने भनेर राय लिन आयोजित भेलामा दुई जिल्ला सभापतिबाहेक अरु कसैले पनि व्यक्तिको नाम लिन अश्वीकार गरेका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित भेलामा कुनै एउटाको नाम लिन फ्लोर खुला गर्ने कुरा राजनीतिक नहुने भन्दै सहभागीले अश्वीकार गरेका हुन् ।

    जिल्लाका निवर्तमान र नवनिर्वाचित सभापति तथा प्रदेशका निर्वाचित सभापति र सभापतिको प्रत्यासी बनेका नेतासहित केन्द्रीय सदस्यहरूको भेलामा केहीबेर बसेर रामचन्द्र पौडेल निस्किएका थिए भने सभापतिका दाबेदार अन्य नेता सहभागी थिएनन् ।

    भेलामा मोरङका सभापति डिगबहादुर लिम्बुले आफू शेरवहादुर देउवा गुट छाडेर आएको भन्द्यै जिल्लाको नेता भएका कारण शेखर कोइरालाको पक्ष लिने बताएका थिए । त्यस्तै काठमाडौंका सभापति कृष्ण सबुज बानियाले पनि काठमाडौंकै भएका कारण प्रकाशमान सिंहको नाम लिने बताएका थिए ।

    अन्य सहभागीले भने कुनै एक नेताका नाम नलिने भन्दै यो विषय चार नेता रामचन्द्र,शेखर,शशांक र प्रकाशमान बसेर सहमतिमा टुंग्याउनुपर्ने बताएका छन् । आजै चार नेता बसेर सभापतिको उम्मेदवार तय गर्दैछन् । यसअघि नै शशांकले रामचन्द्रलाई समर्थन गरेका छन् ।

  • सिटौला निवास पुगेर रामचन्द्रको प्रस्ताव- मिलेर जाउँ, कांग्रेसमा नेतृत्व परिवर्तन गरौं

    सिटौला निवास पुगेर रामचन्द्रको प्रस्ताव- मिलेर जाउँ, कांग्रेसमा नेतृत्व परिवर्तन गरौं

    काठमाडौं । संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास भइरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् ।

    बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डको भेलाबाट निस्किएर सीधै विशालनगरस्थित कृष्णप्रसाद सिटौलाको निवासमा पुगेका पौडेलले कांग्रेसका नेतृत्व परिवर्तनका लागि मिलेर जाने प्रस्ताव राखेको बताइएको छ ।

    छोटो भेटमा सिटौलाले आफू छलफलमै रहेको भन्दै पौडेलको प्रस्तावमाथि थप जवाफ नदिएको एक नेताले बताए । दुवै पक्षले भेटलाई गोप्य राख्न खोजेका छन् । पछिल्लो समय प्रदेश र जिल्ला अधिवेशनमा देउवा र सिटौला पक्षबीच गठबन्धन भएको थियो ।

  • सभापतिका दाबेदारबिनै पौडेल पक्षको बैठक (तस्बिर/भिडिओ)

    सभापतिका दाबेदारबिनै पौडेल पक्षको बैठक (तस्बिर/भिडिओ)

    काठमाडौं । महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको प्यानल बनाउन कांग्रेस संस्थापन र पौडेल समूह छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

    सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नो निवासमा आफूपक्षीय केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई बोलाएका हुन् । सो बैठकमा उपसभापति विमलेन्द्र निधिलाई भने बोलाइएको छैन ।

    बूढानीलकण्ठमा संस्थापन पक्षको बैठक चलिरहँदा अनुपम फुडल्याण्डमा रामचन्द्र पौडेल पक्षको बैठक जारी छ । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल मिलेर जानुको विकल्प नभएकोले के गर्दा उपयुक्त हुन्छ सहभागीको सुझावको आधारमा आफूहरू अघि बढ्ने भन्दै छलफलका लागि ‘फ्लोर ओपन’ गरेर बाहिरिएका छन् ।

    पार्टीका निवर्तमान र नवनिर्वाचित जिल्ला सभापति, प्रदेश सभापति र प्रत्यासी तथा केन्द्रीय सदस्यहरूसहितको भेलामा पौडेलबाहेक सभापतिका अन्य दाबेदार प्रकाशमान सिंह र शेखर कोइराला सहभागी नहुने र भेलाको सुझाव अनुसार नेताहरू फेरि बस्ने हिजै समझदारी भएको थियो ।

    तस्बिरहरू : सरोज बैजु ।