Tag: कविता

  • कविता: असल नेताको खाँचो

    कविता: असल नेताको खाँचो

    युगीन बँच्ने अनि बचाउने
    असल नेताको छ खाँचो ।

    स्वधीन अनि गौरवमय बनाउने
    असल नेताको छ खाँचो ।

    नेपाल भूमिमा नेपालीपन जगाउने
    असल नेताको छ खाँचो ।

    मनमा सधैं राष्ट्र जोगाउने
    असल नेताको छ खाँचो ।

    पूर्खाको वीरतालाई गाँसिरहने
    असल नेताको छ खाँचो ।

    मेरो होइन हाम्रो बोली बोल्ने
    असल नेताको छ खाँचो ।

    गङ्गाको मुहान रसाइ रहन दिने (नसुकाउने )
    असल नेताको छ खाँचो ।

    फलदायी, दूरदृष्टि बाटो लम्काइरहने
    असल नेताको छ खाँचो ।

    समृद्धि पुस्तौपुस्ता डोहोर्याइने
    असल नेताको छ खाँचो ।

    जीवनदृष्टि साक्षात बनाउने
    असल नेताको छ खाँचो ।

    यो देशको भूमिलाई चिनाइरहने
    असल नेताको छ खाँचो ।

    चन्द्र र सूर्यको त्रिकोणात्मक झण्डा फहराउने
    असल नेताको छ खाँचो ।

    सुनौला अक्षर शिलामा चम्काइरहने
    असल नेताको छ खाँचो ।

    देश, देशबासीको सारथि बन्ने
    असल नेताको छ खाँचो ।

    रणभुल्लमा दास बनाउने होइन, रक्षक बन्ने
    असल नेताको छ खाँचो ।

    इतिहासको डोबमा नयाँ डोब बनाउने
    असल नेताको छ खाँचो ।

  • सीमापारीका ५ कविका ५ कविता

    सीमापारीका ५ कविका ५ कविता

    भनिन्छ, कविताको कुनै भूगोल हुँदैन । तर, भाषा एकै भएर पनि राष्ट्रको नाममा ठडाइएका पर्खालले मानिसहरुलाई फरक मुलुकको नागरिक बनाइदिन्छ । फरक मुलुकको नागरिकता बोकेर पनि भाषा, संस्कृति र भावनाले एक ठाउँमा जोडिनु, त्यसमा पनि कविताको माध्यमबाट एकै अनुभूतिसँग बाँच्नु गज्जबको विषय हो । साथै दुवै मुलुकमा राज्यको दलनबाट खोजिने मुक्तिको लडाइँ युगौँदेखि लडिरहिएकै छ । यो निरन्तर लडिनै नै छ ।

    नेपाली संगीत, साहित्यमा दार्जिलिङ, सिक्किमले कला मार्फत् नेपाली भाषालाई समृद्ध मात्रै होइन, परिवर्तनको लडाइँमा पनि ठूलो योगदान दिएका छन् । इन्द्रबहादुर राईदेखि अम्बर गुरुङजस्ता महान् सर्जकहरु हुँदै पछिल्लो छिमलका नवप्रतीभाहरु आइरहेका छन् । नेपाली साहित्य, संगीतलाई अझ समृद्ध बनाइरहेकै छन् ।

    यसपटक हामीले ‘सीमा पारीका पाँच कविका पाँच कविता’ भनेर दार्जिलिङ, सिक्किमका नवोदित कविका कविताहरु प्रकाशित गरेका छौं । तर, सवाल उठ्न सक्छ, हामीले ‘सीमा पारी’ भनेर किन भन्ने ? उताबाट हेर्दा यता सीमा पारी, यताबाट हेर्दा उता सीमा पारी, ‘सीमा पारी’ले यत्ति मात्रै अर्थ बोकोस् !

    १.

    स्मिता सोताङ राई

    बुद्ध उपक्रम

    कुनै क्षण
    या त कुनै मौसम
    निस्कन सक्छौ तिमी,
    संघार, आँगन नाघ्दै फराकिलो सडकतिर
    तिमीलाई रोक्न भनेर बनाइएको कुनै बाँध छैन
    थुनेर राख्ने तिम्रो पाइलालाई
    कुनै साँध सीमाना कोरिएको छैन
    तिमीलाई बन्देज लगाउने
    घडीका काँटाहरु छैनन्
    छैनन्, तिमीलाई औंला ठहर्याउने
    कुनै मूल ढोकाहरु

    तिमी जहिल्यै, जहाँ जान सक्छौ
    तिमी जहिल्यै, जहाँबाट फिर्न पनि सक्छौ
    र प्रमाणित गर्न सक्छौ आफूलाई
    एक आदर्श बाबु
    एक चरित्रवान लोग्ने
    तिमीलाई प्रश्न सोध्ने आँट कोसँग छ ?
    तिम्रो पत्नीव्रता जोख्ने आगोको भुंग्रोे कहाँ छ ?
    तिम्रो विरुद्धमा उठ्ने औंला कोसँग छ ?
    तिमीलाई हरथोक सहज छ,
    तिम्रा लागि हरथोक सामान्य छ

    जस्तो कि मध्यरातमा
    दुधे छोरा र निदाइरहेकी स्वास्नी छोडेर
    शान्तिको खोजीमा कतै लुप्त हुन सजिलो थियो बुद्धलाई
    जस्तो कि, आगोको भंग्रोेअघि सीताको पतिव्रता जोख्न सहज थियो रामलाई

    अप्ठ्यारो त,
    छात्तीभित्र उर्लिएको दुख्दो ज्वारभाटाहरु
    आफूभित्रै लुकाएर केही, केही, केही नभए जस्तो
    चुपचाप, चुपचाप बस्नुमा हुन्छ

    जहिल्यै आफूतिर तेर्सिएको प्रश्नतिर
    मौनता साँधेर बस्नु जोखिम हुन्छ
    हरेक रात वेग अभिप्साको भंग्रोेमा पग्लिएर
    फेरि चीसै कोल्टे फेर्नु गाह्रो हुन्छ

    असहज त,
    काँडै काँडाबीच उनिएर पनि
    दुख्दै नदुख्नुमा हुन्छ
    आत्मसम्मानको लडाइँ
    आफ्नैसँग लडिरहनु, हारिरहनु र बचाइराख्नु
    पो स्वाभिमान असहज हुन्छ

    तर, दुख्नुको अनुभाव नै कहाँ छ र तिमीलाई ?
    आफैसँग परास्त हुनुको पीडा कहाँ छ तिमीसँग ?
    जान्दैनौं यी सब,
    बारको घोचा न हौ तिमी
    म त उहिले उहिलेदेखि नै सियोको टुप्पोमै
    उनिएर सिलाउदै सिलाउदै आइरहेकी छु आफ्नै ओंठ
    मानौं, असहज केही छैन मेरा लागि
    अप्ठ्यारो कहीँ छैन मेरा लागि
    शान्त छु, साम्य छु
    ध्यानमा लीन थमथमाइरहेछु
    आफ्नै अन्तरध्वानीहरुलाई

    प्रिय !
    मेरो मौनताको परीक्षा नलेऊ यस्तरी,
    ध्यान भङ्ग भएको दिन म पनि बुद्धै हुनेछु ।

    २.
    कृतिका दाहाल

    शरद

    ओंठमा चाहिएको भन्दा बढी लाली
    गालामा बढी फाउन्डेशन
    आँखामा लाइनर,
    परेलीमा नक्कली परेली थपिएको
    जमानाले सुन्दर करार गरिएको भन्दा ्
    सुन्दर ढाँचामा भेटेकी हुँ मैले
    मेरो शरदलाई
    उसलाई भेट्दा
    बाहिर हावा बगिरहेको थियो
    बौलाहा धूलो भूइँमा बस्न मानेको थिएन
    रूखहरू निर्लज्ज भएर नाङ्गो भइरहेका थिए
    एक पछि अर्को गर्दै पातहरू कहिले
    हावाको गीत कहिले मायाको रीत त कहिले सिपैसिप बनेर
    भुइँ भरी र आकाश–धर्ती बीचको ठाउँमा नाचिरहेका थिए
    उसलाई भेट्दा यही दृश्य वरपर छरिएका थिए
    यसैले ऊ मेरो शरद भएको हो

    शरदलाई पहिलो पटक यत्ति नजिकबाट देखेकी हुँ मैले
    शरदलाई पहिलो पटक यत्ति ध्यान दिएर हेरेकी हुँ
    उसका लोलाएका आँखाहरुले अटोको बाहिर हेरिरहेको देख्दा आहँ
    उसको नजरबाट यो संसार मलाई पनि हेर्न मन लागेको हो
    के खोजेको, सायद हराएका उसका भावना पो हो कि
    के कोरेको, भन्न न सकेका चाहना पो हो
    के केलाएको, गन्न न सकेका ताराहरूको गुनासो पो हो कि
    के चाहेको, धान्न न सकेको काम तमाम पो हो कि
    के मन पराएको, फूलहरू, घाम, बादल, रूख, कुनै बच्चाको कलिलो हाँसो
    जस्ता हजार प्रश्नहरूले मलाई
    बारबार झकझक्काएर
    ‘शरद तेरो हो’ ‘शरद तेरो हो’
    भनेर जिस्काइरहेको थियो
    म ठीक उसको अघि बसेको थिएँ
    ऊ मेरो अघि
    हाम्रो अनुहार
    आँखा
    नजर सबै जुधेका थिए
    यहाँसम्म कि उसका दुई गोडा मेरा गोडासंँ अटोको ब्रेकको साथ ठोक्किरहेका थिए
    उसका हातमा लागेको आल्ता
    उसको चुरा, झुम्का शिरबन्दी, गजरा
    संसारले मान्ने देवी झैं देखिएकी ऊ
    शायद मलाई बुझ्ने
    मेरा भावनाको बौलाहा छालमा
    मसँगै बगिदिने साथी पो भेट्टाए मैले

    मैले खोजी हिँडेको एफ्रोदेटी नै पो भेट्टाएँ
    मलाई मेरो प्रतिबिम्बअघि उभिएको झैं आभाष हुँदाहुँदै पनि
    एक शब्द बोल्ने आँट गरिनँ

    ‌ओठमा चाहिएको भन्दा बढी लाली
    गालामा बढी फाउन्डेशन
    आँखामा लाइनर
    परेलीमा नक्कली परेली थपिएको
    जमानाले सुन्दर करार गरिएको भन्दा
    सुन्दर ढाँचामा भेटेकी हुँ मैले
    मेरो शरदलाई
    अब
    मसँग उसको नाम, ठहर, अत्तोपत्तो नभएकी शरद !
    उसलाई माया गर्ने चाह हुँदाहुँदै अलमलिएकी म
    आफुलाई खोज्नु कि उसलाई
    उसलाई भेटेँ भने के भन्नु
    मैंले आफैंलाई भेटे भने के गर्नु
    मेरो पहिचान पनि त आफैं अन्योलमा छ
    मेरो आमाको भाषामा मेरो समलैंगिक पहिचान छैन

    के भनेर चिनाउँ म आफूलाई,
    के भनेर बोलाओस उसले मलाई
    मायालाई भाषा चाहिँदैन
    भावनालाई भाषा चाहिँदैन
    तर मायालाई मायाको दर्जा दिन
    मायालाई समाजमा ठाउँ दिन भाषा चाहिन्छ
    बोली चाहिन्छ
    व्यक्त गर्न लवज चाहिन्छ
    संसारले बनाएको लिङ्ग र योनीको नियमबीच
    लिङ्ग र योनीको भित्ताबीच
    लिङ्ग र योनीको भिन्नताबीच
    लिङ्ग र योनीको भिढान्तबीच
    युद्ध क्रन्दन आक्रोशबीच
    शरद र मेरो जस्तो मिठो भावना हराएर जान्छन्
    बिलाएर जान्छन्
    लाखौं लाखौं रहरलाग्दो मायाका कथाहरू सुरु हुनुअघि यसरी नै
    कि त डरले
    किज्ञ त करले
    कि त मौनताले मर्छन् हगी ?
    शरद… अनि म
    म अनि शरद !

    ओठमा चाहिएको भन्दा बढी लाली
    गालामा बढी फाउन्डेशन
    आँखामा लाइनर
    परेलीमा नक्कली परेली थपिएको
    जमानाले सुन्दर करार गरिएको भन्दा
    सुन्दर ढाँचामा भेटेकी हुँ मैले मेरो शरदलाई ।

    ३.
    विशाल नाल्बो

    मिस्त्रीको मृत्यु

    पाँच तल्ला माथिको
    बिल्डिङको छतमा बेल्चाको डोरी तानिरहेको
    उसको हात अचानक फुस्कियो
    र झर्यो भूइँमा थुपारिएको इँटाको थाकमाथि उसको जीउ
    त्यो बेला उसले अन्तिम पटक
    बेस्मारी हेर्यो पृथ्वीलाई र फेर्यो अलिकति सास

    मान्छेहरु अनदेखा गरिरहेका थिए उसलाई
    थियो त गहिरो शोकपीडामा उसले चलाउने गरेको मार्तोल

    उसको वरिपरि थिए मलामीको नाउँमा
    इँटाको चोइटा, हम्मरको हतासो
    खिया लागेर आधा भएको बेल्चाको बिँड

    छेउमा गरिरहेका थिए
    कामदारलाई जस्तो दुवर्््यवहार
    उसको लासलाई पनि उसको मालिक

    उसको मृत्युभन्दा ठूलो
    हानी नोक्सानीको सुर्ता थियो उसको मालिकलाई

    उसले चलाउँदा चलाउँदै छोडिराखेको
    आधाबोरा सिमेन्ट
    इँटा जोड्दा हातको सुरक्षाको निम्ति लगाउने
    उसको एक जोड् पञ्जा
    पसिना बेचेर उसले किनेको पुरानो मोडलको गम्बुट
    र सधै गाउँको सम्झना बोकी ल्याउने
    उसको सादा मोबाइल फोन

    उसको मृत्युशोकमा अलापबिलाप गरिरहेका थिए

    आधा बिल्डिङको पोस बुनेर छोडेको रिङसुल
    आधा बुन्न बाँकी रडको टुक्रा
    प्लास्टर गर्नलाई छोडिराखेको रुसा कर्नी
    र चौकटको निम्ति सोज्याउँदै गरेको काटी मार्तोल

    सबका सब अचम्मित थिए उसको मृत्युमा

    तर उसको मालिक सोधिरहेथ्यो
    कल्ले गर्छ मेरो नोक्सानीको पुर्ती ?
    कल्ले गर्छ येल्ले आधाकल्चो छोडेको काम ?

    गुमान गरी गरी बलिरहेको थियो आगो
    आगैमाथि थियो उसको लास भैसकेको शरीर

    जुगौं हिँडी आएर जीवनदेखि
    कहिले नथाकेको पहिला उसको खुट्टा जल्यो
    त्यसपछि जल्यो दुःखको पाहाडै उचाल्न सक्ने उसको हात
    र जल्यो अभागी नाउँको टाउको
    तर कस्सै कस्सै कस्सै गरी जल्न मानेन उसको छाती
    जहाँ उसको अदृश्य रहरहरुले
    बनाएको थियो सिंगो एउटा ब्रामण्ड ।

    उ मिस्त्री थियो

    कुनै मिस्त्रीको मृत्यु यति लापरबाही किन हुन्छ ?

    ४.

    मिलन थुलुङ

    सपना

    सधैँ रहरहरू मर्ने आँखामा
    जति उमेर पाक्दै जान्छ
    सपना पनि काँडा बन्दोरहेछ

    तरै पनि कति लोभ लागेको
    उमेर खाएका औँलाहरूलाई

    मलाई सपनाको लोभ छैन
    भनौँ भने
    सधैँ हिँडी नै रहेको छु
    पखेटा फिँजाएर उडेका सपनाहरू समेट्न

    सपना मर्नु भनेको
    जीवनले बाँच्नुको अर्थ गुमाउनु हो

    संसारमा मानचित्र पाइसकेका जीवनहरूको
    आत्मकथा पल्टाएर हेर
    त्यहाँ सपना फुलेको हुन्छ

    त्यसर्थ,
    सफलतालाई आफ्नो बनाउन चाहने आँखाहरुले
    सपना रोप्नु पर्छ
    सपना उमार्नु पर्छ
    सपना फुलाउनु पर्छ

    किनभने जीवन हाँस्नु
    सपना फल्नु पर्छ ।

    ५.
    आरती ठकुरी

    युद्ध

    डरको भारी बोकाएर
    घिसार्दै पछ्याउन लगाउने
    समयले आफ्नो रफ्तार बिर्सेको छ

    समय अनि डरको म्याराथनमा
    अहिले समय डरसँग हारेको छ

    काँडहरू आएर रोपिए
    कोमल छातीहरूमा
    न रगत बग्यो न पसिना
    निर्देशक मौन छ

    दिशाहरू अलमल परेर
    अलपत्र छरिएका छन्

    पानी उम्रन्छ, खोला बन्छ
    दुईवटा आकारलाई स्वतन्त्र गराउन
    खोला अखबारमा चर्चित भएर बगेपछि
    कतिले दूध मानेर पिउँछन्,
    कतिले पानी त कतिले रगत

    विचारका स्वादहरू नमिलेपछि
    काटिए
    टुक्रिए
    चोइटिए
    कति बने धारिलो हतियार
    कति बने घरको देवल
    बने बालुवा कति
    कति बने बन्न नसकेका आकार
    अनि फालिए बगरछेउ
    सायद
    पानीसँग बग्नलाई स्वतन्त्रता

    मृत्युहरू अहिले काल पर्खेर बसेका छन्
    सडक लम्पसार परेर भाग्दै गरेका खुट्टाहरूलाई लंकी थापिरहेको छ
    नालाहरू, डिलहरू चिच्च्याइरहेका छन् आर्तनाद बोकेर
    घरका भित्ताहरू, झ्याल ढोकाहरू चिच्च्याउँदै गुहारिरहेका छन्
    तर
    मन्दिर/ गिर्जा/ मस्जिद सबै निस्तब्ध छन्

    हारका गाढा घाउहरूमा
    मलम लगाइरहेछ समयले
    मानसिक युद्धले दिएको यातनाबाट मुक्ति पाउन
    समयले समयलाई नै पर्खिरहेको छ ।

  • ५ कविका ५ प्रेममय कविता

    ५ कविका ५ प्रेममय कविता

    कविहरू नै हुन्, जसले शब्दलाई कोमल तरिकाले स्पर्श गर्छन्, महसुस गर्छन् र शब्दको सामर्थ मानिसलाई अवगत गराउँछन् ।

    कविहरू नै हुन्, जसले शब्दको शक्ति प्रयोग गरेर सम्बन्धहरूलाई जोड्छन्, हाँसो/आँसुहरूलाई अर्थ्याउँछन् ।

    आज प्रणय दिवसको अवसर पारेर प्रेमानुभूतिको गहिरो प्रतिध्वनी महसुस गराउने पाँच कविका पाँच प्रेम कवितालाई प्रस्तुत गरेका छौं :

     

    १.

    दिपा मेवावहाङ राई

     

     

     

     

     

    आगमन

    एक साँझ

    दूर-दूरबाट यसरी आयौ
    अग्लो सपनाको पहाडमाथि उभ्याएर
    सुस्त-सुस्त बतास भई स्पर्श गर्‍यौ
    मन-मस्तिष्क विभोर बन्यो
    तर,
    पुनः गयौ उसैगरी दूर-दूर….

    चढ्नुजतिको सजिलो
    सायद झर्नुमा कदापी थिएन
    नत्र सदियौंबाट लगातार-लगातार
    तलतिर बगिरहेको त्यो खोलालाई पनि
    फर्किएर मुल भेट्ने चाहना कसो थिएन होला ?
    जसरी म राख्छु
    तिमीसँग सुन्दर भेटको चाहना

    तिमीले छोडिगएपछि
    तिम्रा पैतालाका डोबहरुलाई
    कहिले बादलसँग बर्सिएर
    कहिले चिसो हिउँ भई पग्लिएर
    कहिले उजाड मरुभूमि भई उजाड बनेर
    पछयाइरहेँ,
    पछ्याइरहेँ निरन्तर-निरन्तर…

    पदचापका गन्तव्यहरूमा
    केही आशा-भरोसाका
    मिठो अठोट लिएर अगाडि बढेका थिए
    अचानक,
    यात्राहरूको घुमाउरो घुम्तीमा पुग्दा नपुग्दै
    पाइलाहरु अन्तै मोडिन खोजेपछि
    टुङ्गिनु स्वभाविक थियो
    एक निश्चित गन्तव्यको यात्रा…

    एक साँझ
    तिमी यसरी आयौ
    खुशी बोकेर आउनु पर्ने तिमी
    बादलमाझ उग्र बतास लिएर आयौ

    प्रिय मानव !
    मलाई तिम्रो खुशीको आगमन मन पर्छ ।

    २.

    अन्जान प्रदीप

    चिठ्ठीभित्र…

    बाफिला सम्झनाहरूले
    सिसाजस्तो हृदयमा
    म यौटा चिठ्ठी लेखिरहेछु

    म स्वर हुँ –
    तिम्रो विद्रोहको

    म संगीत हुँ –
    तिम्रो ढुकढुकीको

    म निद्रा हुँ –
    तिम्रो छटपटीको

    म शब्द हुँ –
    तिम्रो अनुभूतिको

    म रहस्य हुँ –
    तिम्रो हृदयको

    म पर्दा हुँ –
    तिम्रो झूठको

    म ताप हुँ –
    तिम्रो चिस्याहटको

    म दाग हुँ –
    तिम्रो शुष्क घाउको

    म परिपूर्णता हुँ –
    तिम्रो शून्यताको

    म आवाज हुँ –
    तिम्रो मौनताको

    म अन्त्य हुँ –
    तिम्रो आरम्भको

    म छाती हुँ –
    तिम्रो दरिलो दम्भको

    म विरह हुँ –
    तिम्रो आँखाको

    म मुस्कान हुँ –
    तिम्रो कुटिलताको

    म आकार हुँ –
    तिम्रो अनुहारको

    प्रिय अपरिचित !
    तिम्रो बेठेगान ठेगानामा
    पुगेको यो बेबारिसे चिठ्ठीभित्र
    मैले आफ्नो परिचय पठाएको छु

    जसलाई तिमीले –
    अक्षरहरु पग्लिएर नसकिँदै पढेर च्यातिदिनु छ ।

    ३.

    शकुन आँसु

    हजुरसँग

    आफैंलाई हराइरहेको थिएँछु
    बेठेगान बतासहरूमा
    हजुर आउनुभयो
    र फेरि भेट्टाएको छु आफूलाई

    हजुरको उपस्थिति भएदेखि हो
    बगिरहने यी आँखाहरु ओभानो भएको
    एक थुंगो रातो गुलाब ओंठमा आई फुलेको
    हृदयमा प्रेमाङकुर उम्रिन थालेको
    र बाँचिरहनका लागि लोभ जागेको

    बिस्तारै हिँड्दै जाउँला
    हतारले पुग्न कहिँ मन लागेको छैन
    जसरी कुलोहरू कुदेर खेतमा पुगिजान्छन्
    र भरिएर पोखिँदै-पोखिँदै सकिन्छन्
    त्यसै पनि दौडिँदा-दौडिँदा थाकेको यायावर म
    हजुर चौतारो भई बसिदिनु एकछिन
    जीवनका कैयौँ थकानहरू यहीँ मेट्न चाहन्छु
    संसारका स्वर्णिम सुखहरू यसैमा समेट्न चाहन्छु

    आँखा चिम्म गर्दा
    देखिने प्रतिबिम्ब पनि हजुरकै छ
    सपनामा बर्बराउने नाम पनि हजुरकै छ
    दुख्दा रुने पनि हजुरसँगै हो
    खुसी हुँदा उफ्रिने पनि हजुरसँगै हो
    आफैंलाई त बिर्सेको बेला मैले
    कसरी सम्झिन सक्छु र मेरा वरिपरिकालाई !
    र उनीहरूका सवाललाई
    ‘प्रेम अन्धो हुन्छ’को कथन
    ठीक यतिबेला यहिँनेर घुमिरहेको छ सायद
    हेरिरहन्छु दुनियाँ
    तर, देख्दिनँ केही, अन्धो छु म

    बोकेर हिँडौला अब
    एक ब्रहमाण्ड माया
    पृथ्वी भई घुमिरहने दुश्मनहरू घुमिरहुन्
    खुल्ला आकाश भई आफ्नाले हेरिरहुन्
    पर्खिनेहरूले चुपचाप धरती भई पर्खिरहुन्
    जित्नु कसैलाई छैन
    हार्नु कसैसँग छैन
    बस् हामी भएर एकजोर यात्रा हिँड्नु छ
    हिँड्दाहिड्दै पुग्नु त कहिँ न कहिँ छँदैछ ।

    ४.

    देव व्रत

    संसारबाहिर

    खचाखच थिए उदासी, तडप र छटपटीहरू
    अटाइनँ म आफ्नै कोठामा
    सडकमा निस्किएँ
    हिँडिरहेका थिए केही एक्लाएक्लै मान्छेहरू
    टाढा गैजाने विलाप गरिरहेका थिए बच्चु कैलाश
    अँध्यारा कोठाबाट भित्ता चर्किनेगरि
    सुनिन्थ्यो बब डिलनको रोदन
    अन/अफ/अनको तालमा नाचिरहेका थिए बत्तीहरू
    सुनसान थियो चोक
    बन्द थिए किराना पसल र कफी सपहरू
    पर मधूरो बत्ती बालेर
    स्वगातार्थ उभिएको थियो भट्टी
    त्यहाँ केही नयाँ मान्छेसित परिचय भयो
    हामीले देशका कुरा गर्‍यौं
    प्रेमका कुरा गर्‍यौं
    सराप्यौं युनिभर्सिटीका प्रोफ्रेसरहरूलाई
    एकअर्कालाई गाली गर्‍यौं
    जौन एलिया गुन्गुनायो कसैले
    अंकमाल गर्दै रोयौं पनि
    निस्किने बेला
    पुगेन अलिकति दाम
    साहूले सोधेन ठेगाना
    पुर्ख्यौली थलो
    उठायो खाता र चढाइदियो नाम
    (उहिल्यै खै कुन्नि कता भेट भएथ्यो एकपल्ट)
    गल्लीका कुकुरहरूसँग बसेर
    खाएँ टुटफुट बिस्कुट
    केही प्रोस्टिच्युटहरू आए,- जो तिमी जत्तिकै राम्रा थिए
    हामीले सम्बन्धका कुरा गर्‍यौं
    सपनाका कुरा गर्‍यौं
    जिन्दगीका कुरा गर्‍यौं
    पुगें गजल साँझ
    पुछिदिएँ जगजित सिंहका आँसु
    गल्लीहरूले गरे वार्ता मसित
    बागमतीले गाइरह्यो गीत
    चुरोटको धुवाँसँगै बुकावस्कीहरू
    ओझेल पर्दै गए अँध्यारोमा
    तिम्रो वियोगमा
    निस्किएँ कोठाबाट
    र थाहा पाएँ मैले
    संसार त दुःखीहरूको पनि सुन्दर हुँदो रहेछ ।

    ५.

    पुष्कर विष्ट

    यादहरुको कारागार

    उडेर गएपछि केही थान हावाका फूलहरू
    तिमी हिँडेको बाटो
    फर्किएका हुन् मेरा आँखाहरु
    क्षित्तिजको धूमिल धूमिल दृश्य हेर्न

    कयौं पथिकका पैतालाले मेट्दै गए होलान्
    हाम्रो मुटुका छापहरू
    जहाँ हामीले जोडी हातले लेखेका थियौं हाम्रो नाम
    म यसरी हेरिरहेछु तिमी गएको अन्तिम दृश्य !

    कुन्नी खेै कताबाट आएको छ एउटा विरह धून
    ठिक यही बखत मेरो कानसम्म
    यस्तो लाग्छ मुटु रेटिएर आएको छ आवाज
    आँखा बर्सिएर बजेको छ सरगम
    तिमीले छोडेर गएदेखि त हो !
    मेरा आँखाहरुले कुनै करुण संगीतको साधना गर्न थालेको
    र त हाम्रा जोडी पैतालाका डोबहरूमा आज पनि प्रेमिल गीत बज्ने गर्छ तिम्रा पाउजुका झंकारसँगै

    ओ मान्छे !
    मलाई यसरी नै हेरिरहनु छ तिमी गएको अन्तिम दृश्य र लेखिरहनु छ दिल टुटेका शब्दहरु
    बनाउनु छ यादहरुको एउटा कारागर
    जहाँ थुन्न सकुँ म हाम्रो सम्बन्धको अनौठो रहस्य ।

  • जय अग्रगमन

    जय अग्रगमन

    छोड्नु हुन्न

    ओलीको गन्ध आउने

    अवशेष पनि छोड्नु हुन्न

    मेट्नुपर्छ

    नक्सामा थपिएको लिम्पियाधुराको चुच्चो

    ढाल्नुपर्छ

    स्वाभिमानका साथ उभिएको धरहरा

    पुर्नुपर्छ

    निशानी नरहनेगरि रानीपोखरी

    थुन्नुपर्छ

    देशैभर सुरूङ्ग मार्गका मुखहरू

    भत्काउनुपर्छ

    देशैभरका रङ्गशालाहरू

    काट्नुपर्छ

    पेट्रोलको पाइपलाइन

    उधार्नुपर्छ

    सिउँदै गरेको रेलको लिग

    चुँडाउनुपर्छ

    सयौं पुलका लाठा र बाँध्नुपर्छ तुइनका डोरीहरू

    फुटाल्नुपर्छ

    अयोध्यापुरी को राम मूर्ति

    बेच्नुपर्छ

    फेरि पशुपतिनाथको गजुर

    चलाउँ डोजर

    हजारौं किलोमिटर पिच बाटाहरूमा

    बन्द गरौँ

    चलिरहेको महिला उद्यमी कर्जा

    खुल्ला गरौँ

    बन्द भएका व्यवसायहरूमा सिन्डिकेट

    अझै गरौँ खारेज्

    कुनकुन बाँकी छन् संस्थाहरू

    र, बोकौँ

    संविधानको किताब

    र भनौं

    जय अग्रगमन ।

    विवेक देवकोटा – पोखरा

  • महेश बस्नेतको व्यंग्य कविता : मन्त्री बनाउन पनि परमादेश जारी गराऊ (भिडियो)

    महेश बस्नेतको व्यंग्य कविता : मन्त्री बनाउन पनि परमादेश जारी गराऊ (भिडियो)

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधामन्त्री शरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न नसकेको विषयलाई लिएर व्यंग्य कसेका छन् । उनले सरकार बनाउन जस्तै मन्त्री बनाउन पनि सर्वोच्च अदालतको परमादेश माग गर्न सुझाव दिए ।

    आजको संसद बैठकमा शून्य समय लिएर बोल्दै सांसद बस्नेतले कवितात्मक शैलीमा आफ्नो भनाइ राखेका थिए । उनको ‘व्यंग्य कविता’ यस्तो थियो :

    एसएसबीले तुइन काटे
    जयसिंह धामी महाकालीमा डुबे
    सरकार भन्छ मौन बस, समाचार नबनाउ
    प्रधानमन्त्री भन्नुहुन्छ खोप खोप खोप…
    कांग्रेसका मेयरको घरमा खोप
    उपसभापतिको घरमा खोप
    होटलमा सत्तापक्षका कार्यकर्तालाई खोपैखोप
    जनता दिनभरि लाइनमा खोप न सोप
    विचरा सरकार व्यापारी मन्त्री बनाउँछ
    दक्ष सचिव फेर्छ
    देशभर बाढीपिडित जनता राहत नपाएर कराउँछन्
    कांग्रेसका विपक्षी मन्त्री नपाए सत्तामा जान्न भन्दैछन्
    कांग्रेसका वडाध्यक्ष नगरपालिकाको कार्यालय फोड्दैछन्
    माओवादी जसपा भन्दैछन्- मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए
    दिमागमा आतंक ल्याए, भुकम्प ल्याए
    परमादेशबाट बनेको सरकार
    तीन हप्ता भइसक्यो मन्त्रीपरिषद् बनेन
    न्यूनतम सझा कार्यक्रम आएन
    प्रधानमन्त्रीज्यू, अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुस्
    फलानो पार्टीका फलानो सांसदलाई मन्त्री बनाइपाउँ भनेर परमादेश जारी गराउनुस्
    नत्र जनादेशबिनाको सरकार चल्लाजस्तो देखिएन
    अब जनता भन्दैछन्
    केपी बा आइलभ यू…

    उनको व्यंग्यं कविता पुरा नभइकन सभामुखले माइक काटिदिएका थिए ।

  • कविता: धर्तीमा स्वर्गको बास

    कविता: धर्तीमा स्वर्गको बास

    धर्तीमा स्वर्गको बास हुन्छ
    यदि तिमी माटो प्रेमी भए
    धर्तीमा स्वर्गको राज हुन्छ
    यदि तिमी देशभक्त भए ।

    मातृभूमीको नदी नशा–नशामा सल्बलाउँछ
    यदि तिमी कञ्चन हृदयको भए
    रगत रगतमा इतिहास बग्छ
    यदि वीरताको गाथा भिरे ।

    चट्टान सरी शीर उँचो हुन्छ
    यदि हार नखाए
    तेजदृष्टि राख्नु पर्छ
    यदि पाइला भूमिमै अडिग रहे ।

    पालो अर्को सपूतहरुको हुन्छ
    यदि गर्वसाथ आँटिलो बने
    रक्षक तिमी यो देशको हुन्छ
    यदि राष्ट्रघातको हतियार नबोके ।

    फडानी आफ्नो आफ्नै हुन्छ
    यदि मार्ग सही नचाले
    माटो हो देशको चिन्नु पर्छ
    यदि मनमा अहंकार नभिरे ।।

  • राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत ५ कविता

    राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत ५ कविता

    नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष गर्दै आइरहेको ‘राष्ट्रिय कविता महोत्सव’मा यसपालि पाँच कविका कविता पुरस्कृत भए । भोजपुरकी कवि कविता राईको कविता ‘देशको नक्सा’ प्रथम भएको थियो । धादिङकी  कवि अमृता स्मृतिको कविता ‘डढेलोपछि पनि वसन्त आउँछ’ दोस्रो, ताप्लेजुङकी कवि सविता बरालको  ‘आमा म आएँ अब’, बर्दियाकी कवि निरञ्जनाकुमारी चन्दको ‘युगिन प्रतिध्वनि ‘र नुवाकोटका कवि प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ तृतीय भए । महोत्सवमा पुरस्कृत भएका कविहरूको पाँच वटा कविता : 

    देशको नक्सा
    कविता राई

    म कोरिरहेकी छु
    देशको सग्लो नक्सा ।

    खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
    जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
    आफ्नी आमाको मुहारचित्र ।

    अनायस करेसाको डिल भत्किन्छ
    पर्खाल उठाउँछु
    सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
    कुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छु
    र मेट्छु धाँजाहरू !

    विषाक्त हावा बोकिआउने आँधी
    उडाउनै खोज्छ मलाई
    बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
    बगाउन खोज्छ मलाई
    छानाबाट झरेका पानीका तप्कनाले समेत
    शिरदेखि पैतालासम्मै भिजाउँछ
    तर पनि म उभिइरहन्छु पहाडजसरी
    घरको मूल खाँबो समातेर
    र कोरिरहन्छु सहस्र रेखाहरू !

    ओ ! सिमाना काटिजाने चराहरू
    पहाड भत्काएर बगिजाने खोलाहरू
    देवल उठाइरहेका पौरखी धमिराहरू
    माटोको दरबार उठाइरहेका कमिलाहरू
    सुन,
    भूगोलका यिनै मसिना रेखाहरूले त
    जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
    जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
    र लटरम्म खुसीको घाम फल्छ !

    छामिहेर त
    आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
    हो, धड्किरहेको छ त्यहाँ
    छुटेका भूगोलसँगै छुटेका मनहरू
    एकाकार भएको
    स्वाधीन देशको सग्लो नक्सा ।

    000

    डढेलोपछि पनि वसन्त आउँछ
    -अमृता स्मृति

    हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे
    मगमगाउँथे हार्दिक भावहरू
    झमझमाउँथे प्रेयसीका पाउजु
    र घिस्रिरहन्थ्यो बुढो लौरी
    आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी
    घन्किरहन्थ्यो आदिवासी धुन
    ती सबै–सबै कहाँ गए ?
    विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रिएको
    पिँढीको गुन्द्री बिर्सिएर
    कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?
    भोलि यही बाटोमा भेटिएला÷नभेटिएला
    आमाका पैतालाका डोबहरू !

    न कुनै आहत
    न कुनै पदचाप
    समय आफैं मलामी आफैं मुर्दा बनेर लम्पसार छ
    ए ! छिरिङ
    ए ! खान
    चित्र प्रर्दशन गर्न
    किलोको आड चाहिए जस्तै
    देशलाई चाहिएको छ
    हाम्रा पाखुराहरूको आड
    हाम्रा चेतनाहरूको आड
    मौरीहरू मुर्झाउन नखोज भर्नै बाँकी छ
    यो देशको घारमा महको चमक !

    झुल्किन्छ-झुल्किन्छ
    हामीले जीवनभर खोजिरहेको उज्यालो घाम
    पर्दा बनेको यो कैदी समयमा पनि
    तराई, भावर, चुरे र पहाडमा
    महाभारत, हिमाल र भोटमा
    कुन–कुन जातका फुल फक्रिसके होलान् ?
    जङ्गलमा डढेलोपछि पनि रुख/विरुवा पलाउँछन् ।
    जङ्गलमा डढेलोपछि पनि वसन्त आउँछ ।

    000

    युगीन प्रतिध्वनि
    -निरन्जना कुमारी चन्द ‘निरू’
    अणु र परमाणुका मुटु थर्काउने हाँकहरूसँगै
    भस्मासुर र भाइरसका पटकपटकका विश्वयुद्घहरू
    र सिमानाका रक्तरञ्जित कथाहरूले निम्त्याएका
    युगीन त्रासदीहरूमा
    छातीमा अड्याएर जीवन
    पिइदिऊँ घामका लप्काहरू
    छाइदिऊँ शीतलता
    सँगालेर जूनका टुक्राहरू
    लाइदिऊँ माला
    उनेर गुराँसका थुँगाहरू।

    विशाल हृदयहरूको खानी
    विश्वभूगोलको एक टुक्रा मेरो देश
    धावा दिएर गाउँछ गीत वीरताको
    र उचालेर चन्द्रसूर्य
    म लगाउँछु सिँदुर
    भुइँको एक चिम्टी माटो उठाइ
    गाउँछु गीत सगरमाथा उचाइको।

    छोडेर विध्वंसका अस्त्रहरू
    आत्मज्ञान विस्फोट गराई कोहिनुर उज्यालामा
    गरिदिऊँ बीजारोपण शान्तिका सम्बोधी आँखाहरूको
    विश्वब्रह्माण्डभर गुन्जाएर बुद्घका मन्त्रध्वनिहरू
    उडाइदिऊँ सेता परेवाका जोडीहरू
    रोग भोग शोक अनेक सन्नाटाहरू मेटाएर
    छरिदिऊँ मानवताका सम्यक् बीजहरू।

    आऊ श्रमका पुजारीहरू!
    पौरखी जिजीविषा फुलाएर
    फिजाइदिऊँ दायित्वका नवरङ्ग आकाशभरि
    समृद्घिका आशातीत रङ्गहरू इन्द्रेणीमा
    पोतिदिऊँ धर्तीमा झिकाएर
    चिहानबाटै जुरमुराएर
    बिहानबाटै ब्यँुझिएर
    रोपिदिऊँ समानताका सुन्दर बोटहरू।

    जीवनका अफ्ठ्यारा आँधीहुरीहरूमा
    मैदानबाट दौडिँदै चुचुराबाट गर्जिँदै
    खेलिदिऊँ पौँठेजोरी सतिसाल भएर।

    उठ ए झुपडीका ताता मान्छेहरू!
    सल्काइदिऊँ चिराक मूच्र्छना जगाएर
    जाग ए किनारीकृत निन्याउरा मान्छेहरू!
    बुलन्द गराइदिऊँ दबाइएका आवाज
    पुरिदिऊँ गहिरा खाडलहरू।

    000

    आमा म आएँ अब
    -सविता बराल

    हाँस्छन् शैल,मनुष्यपल्लवित छन्,बोल्छन् शिलागौरव
    इन्द्रेनीमयजात,धर्म, थरलेछर्छन् सुधा सौरभ
    यस्तो सृष्टिकला अमूल्यनिधिको बोकीमहासागर
    थोपो खोज्न कतै म जान्नँजननीआएँ म आएँअब

    मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर
    मेरो वैदिक ज्ञान तर्छ जगमा विज्ञानको सागर
    रोदी,मादल,धाननाच, जितियाबन्धुत्वका रक्षक
    गाऔँगान‘सयौँ थुँगा…’ सँगसँगै आमा मआएँअब

    टोपी, बक्खु तयार छन्, सडकमा नाङ्गा नरोउन् कतै
    किंकर्तव्यविमूढ बन्ननपरोस्भोकाहरूले अझै
    यार्चागुम्बु,चिराइतो कलुषतानिर्मूल पार्दै सब
    बाँच्ने विश्वबचाउने रहरले आऊ, मआएँअब

    मेरा पाउ समृद्ध छन्,शिर उँचो, छाती खुलानिर्मल
    सीमामाबलभद्रकाकलमले गर्दैछु हस्ताक्षर
    साझालक्ष्यविकासकोमुलुकमा मेची र कालीसँग
    नौलाद्वार सुशान्तिका,प्रगतिकाखोलेरआएँअब

    बोकीमाथ म विश्वसाथ नउठे के काम यो शैलको
    कोसीझैँ अविश्रान्तबग्ननसके के अर्थ यो सैरको
    मेरा शैलशिखा, सुरम्य सरिता साँचेर राखूँ सब
    आफ्नै आँगनमानिचोर्न पसिनाआमा म आएँ अब

    000

    बोधिसत्व खोप
    -प्रकाश सिलवाल

    कुनै जादुगरले
    कागजका पानाहरूलाई
    चपाई चपाई स्वाट्ट निलेर
    ह्वालह्वाल्ती पानी निकाले झैँ
    किन चटक हेर्न
    विवश छन्
    स्वयम्भूका आँखाहरू ?

    घरी कर्ममौरीहरुलाई
    डकैतीले झैँ घेर्न खोज्छ
    घरी आफँैलाई
    जिउँदै जलाएको सपना देख्छ
    र आफ्नै मलामीको जुलुसलाई
    घन्टौँ कर्कश सम्बोधन गर्छ !

    यो कस्तो सङ्क्रमण हो
    जसले,
    लालीगुराँसको सुगन्धमा बाँचिरहेको
    डाँफे चरीको
    श्वासथैलीलाई
    चलमलाउन दिँदैन
    प्राणवायु प्रवाह हुने
    कोषिकापत्रलाई नै
    कुनै समय नेपालको मानचित्रबाट
    कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई
    अलप गराइए झैँ
    क्षणभरमै अलप गराइदिनसक्छ
    रक्तनलीभित्रको होमोग्लोबिन तत्वलाई
    चैतमासको खहरे झैँ सुकाइदिएर
    आनन्द लिन चाहन्छ
    अशान्ति र पृथकतावादका सूत्रधारहरुलाई
    रानीमहलका जोडीले झैँ
    असीम प्रेमको आलिङ्गन सुम्पन छोड्दैन !

    यतिबेला म
    आधुनिक धन्वन्तरी भएर
    समृद्धिको धरहरालाई सम्झिएर
    एउटा त्यस्तो मेसिन बनाउँदैछु
    जसले तुरुन्तै पत्ता लगाउनेछ–
    यो भयानक भाइरसका कारण र असरहरु
    प्रिय बुद्धभूमिविरुद्धका
    घातक कुण्ठा
    र तुच्छ स्वार्थका बीजहरु…

    सुन !
    म एउटा त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
    जसले पहिलो मात्रामै
    परास्त गर्नेछ–
    सगरमाथा हाँस्दा रमाउन नसक्ने
    विकृत स्नायुग्रन्थीका तमाम सङ्क्रमणहरु !

    000

  • कविता : रुवाइ

    कविता : रुवाइ

    मसँग फूलले भन्यो-

    म तिम्रै लागि फुलेको

    खोलाले भन्यो –

    म तिम्रै लागि बगेको

    हावाले भन्यो-

    म तिम्रै लागि उडेको

    पहाडले भन्यो-

    म तिम्रै लागि उभिएको

    गहिराइले भन्यो-

    म तिम्रै लागि बसेको।

    मैले फूललाई भनेँ-

    ए फूल !

    तिमी एकपटक

    मेरो चुल्ठोमा आएर बसिदेऊ

    केवल मेरा लागि

    मैले खोलालाई भनेँ-

    ए खोला !

    तिमी एकपटक पहाड चढिदेऊ

    केवल मेरा लागि

    मैले हावालाई भनेँ-

    ए हावा !

    तिमी एकफेरा रोकिइदेऊ

    मेरा लागि

    मैले पहाडलाई भनेँ-

    ए पहाड !

    तिमी एकपटक झुकिदेऊ

    केवल मेरा लागि

    मैले गहिराइलाई भनेँ-

    गहिराइ ! तिमी उठिदेऊ

    एकपटक मेरा लागि

    अपसोच !

    फूलले बैँश छ झर्दिन भन्यो

    खोलाले खोलैसँग बग्न भन्यो

    हावाले हावासँगै उड्न भन्यो

    पहाडले उसैसँग उभिन भन्यो

    गहिराइले उसैसँग डुब्न भन्यो

    म रोएँ

    फूलले झुक्याएर रोएँ

    खोलासँग बग्न नसकेर रोएँ

    हावासँग उड्न नसकेर रोएँ

    पहाडसँग थिग्रिन नसकेर रोएँ

    गहिराइसँग भासिन नसकेर रोएँ

    रोएँ अनि रोइरहेँ।।

    मलाई मनले भन्यो

    किन रुन्छौ ? म छु नि !

    मलाई पाइतलाले भन्यो

    कहाँ जाने ? म पुर्‍याउछु नि !

    मलाई हत्केलाले भन्यो

    के गर्ने ? म समाउँछु नि !

    वा ! मेरा लागि

    मेरा लागि मजस्तै भइदिने मनसँग रोएँ

    आफैँसँग हिँडिदिने पाइतलासँग रोएँ

    आफ्नै गन्ध ओकल्ने निश्वाससँग रोएँ

    अनि आफैँसँग रोएँ

    रोएँ अनि रोइरहेँ ।।

     

    लेखर्क, भोजपुर

  • संसदमा विमला विकको कविता–प्रधानमन्त्री अझै अर्को प्रतिगमन गरिदेऊ (भिडियो)

    संसदमा विमला विकको कविता–प्रधानमन्त्री अझै अर्को प्रतिगमन गरिदेऊ (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयको तेस्रो वक्ता थिइन् एमाले सांसद विमल विश्वकर्मा । एक मिनेटभित्र आफ्ना कुरा राख्ने समय पाएकी उनले भाषण होइन कविता सुनाइन् ।

    उनको कविता प्रधानमन्त्रीलाई अझै अर्को प्रतिगमन गर्न आग्रहले प्रेरित थियो । एक मिनेट सकिनासाथ उनको माइकको आवाज काटिदै गर्दा उनले अन्तिम हरफ सुनाउँदै थिइन्–सम्मानीय प्रधानमन्त्री अर्को एउटा अपराध र प्रतिगमन गरिदेऊ,लिम्पियाधुरामा २०७८ को जनगणना गरिदेऊ ।

    सांसद विकको कविता यस्तो थियो:

    वर्षौंपछि मेलम्चीको पानी काठमाडौं आए पनि
    अतिक्रमित भू-भाग समेटी नक्सा ल्याए पनि
    देशैभरि विकासका लहर छरे पनि
    ऐतिहासिक सम्झौता र सन्धी गरे पनि
    रेल,तेल,पुनर्निर्माण जे जे गरे पनि
    केही देख्न नसक्ने दोषी चस्माधारी नजरलाई म के भनौं ?

    राष्ट्र र जनभावनामाथि ठेस पुर्याउँदै कम्फरटेबल सरकार बनाउँछौ भन्नेहरुलाई म के भनौं ?
    पद र प्रतिष्ठालाई प्राथमिकतामा राख्दै अपमान भयो भन्नेहरुलाई म के भनौं ?

    राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई जोगाउँदै ताजा जनादेशमा जाँदा प्रतिगमन हुन्छ भने
    म सम्माननीय प्रधानमन्त्रीलाई अर्को अपराध प्रतिगमन गर्न आग्रह गर्न चाहान्छु
    लिम्पियुधारा, कालापानी नक्सामा मात्र होइन यथाशिघ्र फिर्ता ल्याई २०६८ सालको जनगणना गरिदेऊ

  • प्रिय बादल !

    प्रिय बादल !

    ऊ बेला
    रेडियो जनगणतन्त्र नेपालले
    ‘पूर्वी कमाण्ड ईञ्चार्ज’ भनेर नाम फुक्दा
    म बबुरो बादल हेर्न
    कि ट्याम्केतिर फर्केको हुन्थें
    कि त नुम्मुरको फेदितिर
    आकाश हेर्दा
    निश्छल पवित्र निलो रङ्ग पाउँथे
    र, तुलना गर्थे
    तिमीलाई निलो आकाशसँग
    तिमीप्रतिको मेरो बिम्ब
    यसरी बनेको थियो ।
    हो, त्यो आकासँगै घुम्ने बादल
    जसले निलो आकाशलाई
    जसरी निष्पट्ट कालो बनाउँछ
    त्यसरी नै प्रिय बादल !
    तिमी सत्तामा पुगेपछि
    न्यायको निलो आकाशमा
    बादल लागेको लाग्यै छ,
    तिमी समेत लडेर ल्याएको गणतन्त्रमा
    निर्मला पन्त वा भागरथी भट्ट हुन्
    उनीहरूले न्याय नपाइरहने
    तिमीले सत्ता पाइरहने
    प्रिय बादल,
    के भएको हो यस्तो ???

     

     

  • कवितामा युवा गर्जन : ओ आवाजहरु, बाहिर निस्क !

    कवितामा युवा गर्जन : ओ आवाजहरु, बाहिर निस्क !

    आज बिहानै फोन गरेर

    जुठबहादुर दमैले भन्यो

    कति सिउनु-आँशुको धागोले अर्काको मुलुक

    अब सिउँछु- उध्रेको आफ्नै देशको नक्सा

    अनि पूरा गर्छु

    कहिल्यै नसकिएको अभावको महाआख्यान

    साथी !

    घर फर्कने टिकट पठाइदेऊ न

    कवि राजु स्याङ्तान वसन्तपुर डबलीमा ‘गुमनाम ताराहरू’ पढिरहेका थिए । उभिएर कविता सुन्नेहरूको जमातमा थिए नागरिक अगुवा र युवा अभियन्ताहरू । लेखक नारायण वाग्ले, सञ्जीव उप्रेती, अर्चना थापा एकाग्र भई कविता सुनिरहेका थिए । ‘ऊ को हो त्यो’ भन्दै कविता प्रारम्भ गरेकी कवि अन्शु खनाल राज्य सत्तालाई प्रश्न गरिरहेकी थिइन् ।

    जसको दायाँ हातमा छ तिम्रो रहरकोल पाण्डुलिपी

    जसको बायाँ हातमा छ तिम्रो एक तले घरको लालजूपर्जा

    ऊ को हो त्यो

    आङ तताउने गरी मासमा कविता संकल्पमार्फत् कवि बच्चु हिंमासु गर्जिरहेका थिए-

    अब म उठाउँछु चेतनाको कलम

    त्यसको नीबले घोच्छु शासकको मुटुमा

    निकालेर रगत तानाशाहको

    कोर्छु भुइँमान्छेले गाउने गीतको धुन

    यसपटक मेरो हात लर्बराउने छैन।

    दृश्य थियो वसन्तपुर डबलीमा आयोजित युवा कविहरूको कवितावाचन । अन्य कवितावाचन कार्यक्रमभन्दा भिन्न थियो यो । अरु बेला अग्रजहरू कविता पढ्थे, युवाहरू सुन्थे । तर, यसपाली युवाहरूले कविता पढे, अग्रजहरूले सुने । बृहत् नागरिक आन्दोलन अन्तर्गत युवाहरूले सत्ता र शासक विरुद्धका कविताहरू पढे । प्रत्येक कविका कविताले शासकको स्वेच्छाचारितामाथि प्रश्न गर्दै नयाँ व्यवस्थाको माग गरिरहेका थिए । कवि विवश बाबुले कविता मार्फत् भन्दै थिए–

    आवाजहरू, ओ आवाजहरू

    अनुहारको कुन तप्काभित्र बसिरहेछौ

    बाहिर निस्क

    ओ आवाजहरू

    बाहिर तिम्रो मुखुण्डोलाई नैतिक शिक्षा पढाउने गुरु

    तिम्रै आमाको तिघ्रा कल्पिरहन्छ

    युवा कविहरूका कवितामा यौनिक हिंसा र बलात्कारविरुद्धका आवाज मुखरित भएका देखिन्थे । डबलीमा ‘मलाई रातो रङ मन पर्दैन’ कवितामार्फत् कवि स्मृति रानाभाटले भनिन्–

    आज त्यही छट्पटाएको छ मेरो आत्मा

    जहाँ म सर्वश्व गुमाएर सक्किएको थिए

    त्यहीँ नजिक पिपलको हाँगामा

    झुण्डिएको छ देशको झण्डा जस्तै रातो कपडा

    जसमा अझै देख्छु

    मेरो शरिरबाट अन्तिम थोपा बगेको

    रातो रगतको निसानी जस्तै

    रगतको रातो टाटो ।

    सडकमा कविता किन ?

    युवाहरूकै नेतृत्वमा भएको कार्यक्रममा कवि नवीन प्यासीले भने, ‘यो प्रतिगमन विरुद्ध युवा स्रष्टाहरूको बुलन्द आवाज हो ।’ उनले प्रतिगमन अहिले मात्र नभई धेरै अघिदेखि नागरिकहरूमाथि शासकले गरिरहेको बताए ।

    हिजोको जनआन्दोनमा नागरिक अगुवाहरूले जसरी नेतृत्व गरिरहेका थिए, अब अग्रगमनका निम्ति युवाहरू नै जाग्नुपर्ने उनको मत थियो । अहिले प्रेम दिवसको सप्ताह चलिरहेको बेला आफूहरू शासकको स्वेच्छाचारिताविरुद्ध सडकमा आउन बाध्य भएको उनले बताए ।

    ‘यो डबलीमा कोही साथीहरू डेटिङ पनि आउनुभएको छ । तर, यतिबेला हामी युवाहरू प्रतिगमनविरुद्ध सडकमा ओर्लिरहेका छौं । यो जरुरी पनि छ, प्यासीले भने ।

    अर्का युवा लेखक तथा अभियन्ता सागर चन्दले युवा पुस्ताहरूको सिंगो भविष्य बाँकी भएकाले यतिबेला सडकमा आउनु अपरिहार्य भएको बताए ।

    केही दिनअघि बानेश्वरको सडकबाट लेखक खगेन्द्र संग्रौलाले भनेका थिए, ‘मैले मेरो जीवन सारा सडकलाई दिइसकेँ । अब मसँग सडकलाई दिनका लागि जीवन बाँकी छैन ।’ उनको भनाइलाई उदृत गर्दै चन्दले भने, ‘त्यसोभए सडकलाई दिने जीवन बाँकी कोसँग छ त ? त्यो जीवन तपाईं हामीसँग छ । हामी जुनसुकै पेसामा भए पनि आवाज उठाऔं ।’

    डबलीमा अन्शु खनाल, कपिल चौलागाईं, निर्भीकजंग रायमाझी, पवन ढुंगाना, प्रभात तिमल्सिना, प्रेमिला राई, बच्चु हिमांशु, महावीर विश्वकर्मा, रसिक राज, राजु झल्लु प्रसाद, लक्ष्मी रुम्बा, विवश बाबु, समर्पण श्री, सुनिल आङ्बो, सरस चरी, स्मृति रानाभाट लगायतका कविले कविता सुनाएका थिए ।

  • वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (भिडियो)

    वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (भिडियो)

    काठमाडौं । समाजिक न्यायका निम्ति युवा कविहरूले वसन्तपुर डबलीमा कविता सुनाएका छन् । बृहत् नागरिक आन्दोलनमा जोडिएका नयाँ पुस्ताका कविहरूले सत्ताको गलत प्रवृत्तिविरुद्धका कविता सुनाए । राजु स्याङतान, बिवश बाबु, निर्भीकजंग रायमाझी, अन्शु खनाल, स्मृति रानाभाट लगायत एक दर्जन भन्दा बढी कविले कविता सुनाएका हुन् ।

  • वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (फोटो फिचर)

    वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (फोटो फिचर)

    काठमाडौं । समाजिक न्यायका निम्ति युवा कविहरूले वसन्तपुर डबलीमा कविता सुनाएका छन् । बृहत् नागरिक आन्दोलनमा जोडिएका नयाँ पुस्ताका कविहरूले सत्ताको गलत प्रवृत्तिविरुद्धका कविता सुनाए । राजु स्याङतान, बिवश बाबु, निर्भीकजंग रायमाझी, अन्शु खनाल, स्मृति रानाभाट लगायत एक दर्जन भन्दा बढी कविले कविता सुनाएका हुन् ।