Tag: कर्फ्यू

  • सनिज श्रेष्ठ मृत्यु प्रकरणः लमजुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

    सनिज श्रेष्ठ मृत्यु प्रकरणः लमजुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

    लमजुङ । स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

    सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

    छात्राबासका वार्डेनले मंगलबार विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए । तर, पौडी खेल्ने क्रममा कक्षा १० मा अध्ययन श्रेष्ठको निधन भएपछि आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका थिए । उनीहरूले २ वटा स्कुल बस , गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गर्नुपरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ– कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका ७ को पूर्वदक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङदी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका ९ को मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको विद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।

    मृतकका आफन्तले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थीलाई पौडी खेल्न लैजाने शिक्षकलाई कारबाहीको माग गरेका छन् । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए ।

  • अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि देशभरि कर्फ्यू लागू

    अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि देशभरि कर्फ्यू लागू

    काबुल । अफगानिस्तानले तालिवान आक्रमण नियन्त्रणका लागि देशभरि कर्फ्यू लागू गरिदिएको छ । अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा कर्फ्यू जारी गरेकोे यहाँको आन्तरिक मन्त्रालयले जानकारी गराएको छ ।

    मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ ।

    ‘हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    कर्फ्यू आदेश स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका लागि प्रभावकारी हुने आन्तरिक मन्त्रालयका नायब प्रवक्ता अहमद जिया जियाले  बताए ।

    अमेरिकी नेतृत्वमा रहेका विदेशी सेनाहरूको पूर्ण वापसीपछि पुनः शक्ति आर्जन गर्दै तालिबानले अफगानिस्तानका झण्डै ४०० जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको उक्त समूहले दाबी गरेको छ । अमेरिकी सेना फिर्ता तयारीसँगै तालिवान समूहले देशभर आफ्ना हिंसात्मक गतिविधिलाई बढाएको छ ।

    यस हप्ताको ईद अल–अधाको मुस्लिम बिदाको समयमा हिंसा केही हदसम्म कम भएपनि सरकारी सुरक्षा फौजलाई लक्षित गरी आक्रमण बढाएका छन् । जवाफी कारबाहीमा विगत २४ घण्टामा विभिन्न प्रान्तमा २६० भन्दा बढी तालिवान लडाकूहरू मारिएको दाबी सरकारी अधिकारीले गरेका छन् ।

    सरकारी अधिकारी तथा तालिबान समूहले उनीहरूको दावीलाई बढाइचढाइ गरीरहेको तर यसको स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिएको स्थानीय अधिकारकर्मीले बताएका छन् ।