Tag: कर्ण थापा

  • भीम रावललाई कर्ण थापाको आरोप- बैठकमा नआउने, सामाजिक सञ्जालमा नानाथरी लेख्ने ? (भिडिओ)

    भीम रावललाई कर्ण थापाको आरोप- बैठकमा नआउने, सामाजिक सञ्जालमा नानाथरी लेख्ने ? (भिडिओ)

    धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भीम रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाएका छन् ।

    आफूले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका रावलले सामाजिक सन्जालबाट पार्टीविरुद्धका गतिविधि पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खोजेको उनको टिप्पणी छ ।

    ‘फोन गरेर प्रदेशस्तरीय बैठकमा आउन आग्रह गर्दा आउँदिन भन्ने रावलले सामाजिक सञ्जालको दुरुपयोग गरेर पार्टीमा विवाद निम्त्यान खोजेका छन्,’ प्रदेश कमिटीको पूर्ण बैठकमा थापाले भने, ‘तर अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्तो मानसिकता त्यागे हुन्छ ।’ उनले एमाले २ जेठ २०७५ अघिको अवस्थामा फर्कन नसक्ने पनि बताए । ‘रावल कामरेडले २ जेठअघिको संरचनाअनुसार पार्टी चल्नु पर्छ भन्ने माग राख्नु भएको छ,’ उनले भने, ‘त्यो सम्भव छैन, सबै मिलेर गए कुनै समस्या हुँदैन ।’

    उनले सामाजिक सन्जालमार्फत नभइ बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि आग्रह गरेका छन् । एमाले लोकतान्त्रिक पार्टी भएको र बैठकमा सबैले आफ्ना धारणा राखन पाउने उनले बताए । ‘तर, पार्टीका गतिविधि मान्दिन भन्ने अनि सामाजिक सन्जालमा नानाथरी लेख्ने काम राम्रो हैन,’ उनले भने,‘त्यो पार्टीविरोधी गतिविधि हो ।’

    एमाले उपाध्यक्ष रावलले समाजिक सञ्जालमा मंगलबार बिहान धनगढीमा बसेको बैठक प्रदेशस्तरीय नभइ गुटको भेला भएको आरोप लगाएका थिए ।

    बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह-इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायतको उपस्थिति छ ।

  • माधव नेपाललाई कर्ण थापाको सुझाव- बलियो एमाले बनाउन अब अलमल नगरौं

    माधव नेपाललाई कर्ण थापाको सुझाव- बलियो एमाले बनाउन अब अलमल नगरौं

    कैलाली । नेकपा एमाले सुदूरपश्चिमका नेता कर्ण थापाले माधव समूहलाई पार्टीमै रहन आग्रह गर्दै यसैमा हितकर हुने सुझाव दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले बुधबारको बैठकले पार्टीभित्रको सबै तिक्तता हटाएको बताएका छन् ।

    ‘नेकपा एमालेको एकताको बारेमा धेरै चर्चापरिचर्चा भए, छलफल र बहसहरू भए । थुप्रै सर्तहरू राखिए र आधारहरू पनि तयार पारिए ’उनले लेखेका छन् ‘हिजोको बैठकले अहिलेसम्मका सबै छलफल र प्रयासहरूको निचोड निकालेको छ ।’

    बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ । सो बैठकलाई एमाले एकताको ‘डेडलाइन’ भनिएको छ ।

    अब अलमल गर्न नहुने थापाको तर्क छ । उनले भनेका छन् , ‘नियतमा खोट छैन भने अब अलमल गर्नु वुद्धिमत्तापूर्ण हुँदैन । एमालेमा रहने, एमालेभित्रै स्वस्थ्यताका साथ सही मूल्य र मान्यताका लागि सङ्घर्ष गर्ने बाटो नै सुगम, सहज, देश, जनता र पार्टीको लागि हितकर हुनेछ । प्रतिशोध र पूर्वाग्रहलाई त्यागौँ । देश र जनताको लागि अझै बलियो नेकपा एमाले बनाउन अग्रसरता लिऔँ ।’

  • कर्ण थापाको दाबी- एमाले एकता हुन्छ तर माधव नेपाल र भीम रावल रहँदैनन् (अन्तर्वार्ता)

    कर्ण थापाको दाबी- एमाले एकता हुन्छ तर माधव नेपाल र भीम रावल रहँदैनन् (अन्तर्वार्ता)

    कैलाली । नेकपा एमाले फुटको संघारमा छ । पहिलो तहका नेताहरूबीच ‘शीतयुद्ध’ चलिरहेको छ । तर, दोस्रो तहका नेताहरू भने विभाजन रोक्न निरन्तर वार्ता र संवादमा छन् । उनीहरुबीच भइरहेको संवादले एकताको आकार लिइसकेको छैन ।

    नेकपा एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच ठोस सहमति नभई एमाले एक हुने सम्भावना कम रहेका नेपाल पक्षका अधिकांश नेता बताउँछन् । तर, एमाले एक भए पनि माधव नेपाल लगायतका केही नेता एमालेमा नरहन सक्ने संकेत एमाले नेता कर्ण थापाले दिएका छन् ।

    नयाँ पार्टी गठन गर्ने योजनामा रहेको बताउँदै थापाले पार्टीको नीति र विधि नमान्नेहरूलाई एमालेमा ठाउँ नरहेको समेत बताए ।

    एमालेका सुदूरपश्चिम अध्यक्ष थापासँग नेपालप्रेसकर्मी भानुभक्त आचार्यले एमालेको पछिल्लो घटनाक्रमबारे गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

    पछिल्लो पटक मन्त्रिमण्डल बिस्तारमा नपरेपछि तपाइ पनि असन्तुष्ट हुनुभएको हो ?

    होइन । त्यसमा म असन्तुष्ट हुनुपर्ने कुरा नै छैन । शुभचिन्तकहरूले चर्चा गर्नुभएको होला तर मैले पहिलेदेखिनै प्रतिनिधिसभाको अवधिभरि मेरो कुनै पनि माग छैन भन्दै आइरहेकै छु । मैले त्यस्तो माग गरेको पनि छैन चाहना पनि थिएन ।

    फेरी मन्त्रीपरिषद् गठनको विषय माग गरेको हुने कुरा पनि होइन। यो प्रधानमन्त्रीको स्वविवेक अधिकार हो । उहाँले जे गर्नुहुन्छ त्यो नै सबै भन्दा उचित मान्नु पर्छ ।

    अब एमालेको पछिल्लो घटनाक्रमतर्फ केन्द्रित बनौं । दोस्रो तहका नेताहरू छलफलमा जुट्न थालेपछि फेरि एमाले एक बन्ने दिशामा गएको हो ?

    नेकपा एमालेमा रहनको लागि र एमालेलाई बलियो बनाएर लैजानको लागि कसैलाई बाधा अवरोध पनि छैन। एमालेमा रहन चाहने मान्छेहरू एमालेमा रहनु हुन्छ । केही मान्छेहरूमा नेकपा एमालेको नाममा एमालेलाई समाप्त पार्न चाहनेहरूको एउटा चिन्तन र प्रवृत्ति छ ।

    तिनीहरूको बारेमा बहस जति गरे पनि छलफल जति गरे पनि कोसिस जति गरे पनि त्यो धेरै काम लाग्छ भन्ने मलाई लागेको छैन ।

    नेतृत्व नमान्ने, नीति नमान्ने, विचार नमान्ने, निर्णय नमान्ने र आफूलाई केन्द्र बिन्दुमा राखेर आफ्नो स्वार्थ पूरा हुँदा समर्थन गर्ने र आफ्नो स्वार्थ पूरा नहुँदा पार्टी, नीति, विधि, निर्णय नमान्ने भएपछि हरेक व्यक्तिका सबै स्वार्थ त पार्टीले पुरा गर्न सक्दैन ।

    त्यस कारणले जो जो मान्नेहरू बसेर जति छलफल गरे पनि सकारात्मक परिणाम निस्कन्छ भन्ने मलाई लाग्दैन ।

    नीति विधि निर्णय नमान्ने भनेर कसलाई भन्न खोज्नु भएको हो ?

    मैले कुनै व्यक्तिलाई भनेको होइन प्रवृत्तिको कुरा हो । एमाले र माओवादीकोबीचमा एकता भयो । त्यो एकता त त्यत्तिकै भएको होइन नि । त्यो धेरै ठूलो उपलब्धिको कुरा थियो । त्यसलाई टुटाउने र जुनसुकै अवस्थामा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई समाप्त पार्ने कसम खाएर हिँडेका मान्छेहरू देख्नु नै भएको छ नि।

    केपी ओली त जनताबाट निर्वाचित हुनुहुन्छ । संविधानले ,कानूनले जनताको मतले प्रधानमन्त्रीमा निर्वाचित व्यक्तिलाई उल्टाउन रात दिन प्रयास गर्नेहरु को को थिए भन्ने कुरा त देश दुनियालाई थाहा छ नि । त्यहाँबाट उत्पत्ति भएको विषय हो यो । अनि यहाँ के अनेकता छन् र ? केपी ओली हटाउने मोर्चाबन्दीमा रहेकाहरूले त्यो मोर्चाबन्दी छोडे भइहाल्छ नि । त्यसपछि एकता त स्वतः भइहाल्छ नि ।

    अहिले जेठ २ मै एमालेको मिलन र बिछोडको भविष्य देखिएको छ । एमाले जेठ २ मा फकिन्छ त ?

    यी सबै प्राविधिक कुरा हुन् । त्यस सम्बन्धमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि जतिसुकै बेइमानी गरे पनि माफ गर्छौं । एमालेमा आएर आफ्नो जिम्मेवारी लिएर काम गर्नुस् भनेर सबैलाई भन्नुभएकै छ ।

    मुख्य कुरा भनेको पार्टीलाई मान्ने हो । पार्टी मान्ने भनेको पार्टीका निर्णयहरू मान्नु पर्‍यो । नेतृत्वलाई मान्नु पर्‍यो । जसले मानेको छैन तिनले मान्न सुरु गरेपछि त पार्टी एकता भइहाल्छ नि त ।

    त्यसो गर्दा त पार्टीमा विवाद हुँदैन । पार्टी विभाजनको कुरै हुँदैन। वैधानिक रुपमा भन्ने हो भने केन्द्रीय कमिटीको ४० प्रतिशत र संसद्‌को ४० प्रतिशत लिएर छुट्टै नहुँदा सम्म त पार्टी विभाजन त हुँदैन नि ।

    अहिले एमाले फुट्न पनि सकेको छैन । जुट्न पनि सकेको छैन । यस्तै अवस्थामा रहन्छ त एमाले ? एमालेको भविष्य यहि हो ?

    जसलाई फुट्न परेको छ । फुट परस्त गतिविधि गरेका छन् र एमालेलाई समाप्त पार्नको लागि सम्पूर्ण शक्ति लगाएका छन् । तिनले त्यो छोड्नासाथ यहाँ फुटको त केहि सम्भावना नै छैन ।

    पटक पटक तपाई फुटाउन चाहनेहरू भन्दै हुनुहुन्छ । को हुन् त एमालेलाई फुटाउन चाहनेहरु ?

    फुटाउन चाहनेहरु त देखिएकै छन् त माधव नेपाल,भीम रावल लगायतका मान्छेहरू । अहिले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्नेहरू । आफ्नै पार्टीविरुद्ध अविश्वासको प्रस्ताव राख्नेहरू । छुट्टै समूहको बैठक राखेर केपी ओली, हामी लगायतलाई कारबाही गरेर पार्टीको साधारण सदस्यबाट समेत निकाल्नेहरू । यी नै त हुन् नि फुट परस्त भनेका ।

    एमालेले पहिलो चरणमा १२ जनालाई कारबाही गरे पनि त्यसपछि कारबाहीको शृङ्खला रोकेको छ । यता दोस्रो तहका नेताहरू पनि घनिभूत छलफलमा छन् । पछिल्लो गतिविधिले त एमाले एक हुन्छ कि भन्ने पनि छन् । त्यो सम्भव छ ?

    प्रवृत्तिमा परिवर्तन आउनु पर्‍यो मुख्य कुरा । केपी ओलीले मान्नु भएन भन्ने कतिपय आरोप छन् । हामीलाई पेल्नुभयो,कारबाही गर्नुभयो भन्ने गरिएको थियो ।

    कारबाही के सामान्य अवस्थामा गरिन्छ ? पार्टीको विरुद्धमा दुस्मनीपूर्ण व्यवहार गरेपछि कारबाही हुन्छ । नत्र विधानमा व्यवस्था किन राखेको त ? अनुशासनहीन काम गर्नेहरूलाई कारबाही गर्ने कुरा त विधानमा राखिएकै त छ । जसले अपराधपूर्ण काम गर्‍यो, विधान विपरीतको काम गर्‍यो, निर्णय मानेन त्यसपछि कारबाही त हुन्छ ।

    अहिले पार्टीलाई एकताबद्ध बनाउन मुख्य नेता भएको हुनाले केपी ओलीले ६ बुँदे प्रस्ताव अगाडि त सार्नुभएको छ । त्यसमा पनि निहुँ खोज्नुको त केहि पनि अर्थ छैन । मैले भनेको जस्तो भए पार्टीमा बस्छु नत्र फुट हुन्छ, विभाजन हुन्छ भनेर कसैले भन्छ भने त्यो मानेर हुने एकता नामको षडयन्त्रले आन्दोलनलाई नोक्सान गर्छ ।

    पछिल्लो केहि छलफलले एकताको बाटो फराकिलो बनाउँदै लगेको पनि भनिन्छ नि ?

    छलफल भइरहेको छ । केहि सकारात्मकतर्फ नै छलफल भइरहेको छ भन्ने मेरो अनुमान छ । त्यसमा भित्र भयङ्करै केही भइरहेको छ भन्ने मलाई लाग्दैन । त्यहाँ ठूलो सकस छ भन्ने पनि मलाई लाग्दैन ।

    मैले भनिसके नि सरल कुरा छ । जसले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई कुनै पनि हालतमा समाप्त पार्ने भन्ने कसम खाएका छन् नि त्यो व्यवहार छोडे भइहाल्छ नि । अरू यहाँ रस्साकस्सी गर्नुपर्ने कुनै कुरै छैन ।

    ढिलो चाँडो जेठ २ फर्किने कुरा लगभग तय भयो । अब माओवादीबाट एमाले आएका नेताहरूको त बिचल्ली हुने भयो है ?

    त्यो सम्भव नै छैन । एमाले र माओवादीको एकता पछि भएको नेकपा, त्यसपछिको एमाले र केपी ओलीको नेतृत्वको निरन्तरतामा हिँडेका मान्छेहरू कसैको कुनै प्रकारको मागले त्यहाँ अन्यथा हुन सक्दैन ।

    त्यही नेकपा एमालेको हो । कसैको पनि त्यहाँ भविष्य अन्धकार हुन सक्दैन । किनकि पार्टी एकता भयो त्यही एकता पक्षमै उभिएका हिजो माओवादी केन्द्रको नेताका रुपमा रहेका मान्छेहरू कसरी अलपत्र पर्छन् ? त्यो हुनै सक्दैन, हुँदै हुँदैन ।

    अब अरू सच्चिनु पर्छ । एमालेको ढोका बन्द भएको छैन ।

    दुवै पक्षबाट हुने आरोप प्रत्यारोप कम हुँदा एकताको मिलन बिन्दु नजिक भएको बुझ्न सकिन्छ ?

    जुनसुकै अवस्थामा,जसले केपी ओलीलाई समाप्त पार्ने र उहाँलाई गलहत्याउने षडयन्त्र गरेका थिए । तिनले हामीले हिजो गल्ती गर्‍यौं, अब हामी नेकपा एमालेमै आउँदै काम गर्छौ भन्ने बित्तिकै स्वतः एकता हुन्छ ।

    त्यो सम्भावना कति जगाएको छ पछिल्लो राजनैतिक घटनाक्रमले ?

    एकदम त्यही दिशातर्फ अगाडी बढिरहेको छ । किनकि २ वर्ष अगाडिको घटनाक्रम सम्झनुस् न,त्यो बेला आज बेलुकी केपी ओलीलाई हटाउने बिहानै केपी ओलीलाई अटाउने योजना सुन्ने गरिएको थियो । अहिले त्यस्तो योजना त सुन्नमा आएको छैन । अब हामीलाई त्यहाँ भित्र स्पेस चाहियो भनेका छन् ।

    इमानदारितापूर्वक लागेका सबैले यहाँ भित्र त ठाउँ त पाइहाल्छन् नि । शेरबहादुर तामाङ केहि दिन अघि कस्तो हुनुहुुन्थ्यो, अहिले हेर्नुहोस् त मन्त्री हुनु भएको छ । गणेश पहाडी अहिले मन्त्री हुनु भएको छ । पार्टीको पक्षमा उभिएकाहरूलाई त जिम्मा त दिने रहेछ नि पार्टीले ।

    हिजो लेखराज भट्टले, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीले के को आधारमा जिम्मेवारी पाउनु भयो त ? पार्टीको पक्षमा उभिएका मान्छेहरूले जिम्मेवारी पाउँछन् ।

    अब एमाले एकता भएमा त्यसको स्वरूप कस्तो हुन्छ ? हुबहु जेठ २ गतेको जस्तो ? वा केहि थपिने वा केहि घट्ने ?

    केही मान्छेहरू जो हिजो नेकपा एमालेको विभिन्न समयमा विभिन्न तहका नेतहरू थिए ती सबै मान्छे नेकपा एमालेमा रहन्छन् भन्ने कुरामा मलाई विश्वास छैन ।

    को को रहँदैनन् त अब एमालेमा ?

    हिजैदेखि फुट परस्त आत्मकेन्द्रित सोच भएका बहुमतको आधारमा पार्टी भित्र हालीमुहाली गरी आएका त्यो सम्भावना यहाँभित्र नदेखेपछि एउटा सानो पार्टी बनाएपछि त्यहाँको संस्थापन हुन पाइने भो नि त । त्यो सोच भएकाहरू यो पार्टीमा नरहन सक्छन् ।

    नेपाल समूहभित्र पनि त एकता जोगाउनुपर्छ, एमाले बनाउनुपर्छ भन्नेहरू पनि त छ नि। सबै फुट बादी त होइनन् होला नि ?

    हो । हिजो माधव नेपालको गुटमा रहेर केहि समयसम्म उहाँको पछि लागेका तमाम मान्छेहरूले पनि अर्काे पार्टी बनाउन सकिँदैन भनिरहेका छन् । अर्काे पार्टी बनाउँदा जनताले मान्दैनन् कार्यकर्ताले मान्दैनन् एमाले भित्रै रहेर बरु सैद्धान्तिक वैचारिक संघर्ष गरौं र केपी ओलीकै नेतृत्वमा हामी अघि बढ्नु पर्छ भन्नेहरूको संख्या अहिले एकदमै बढेर गएको छ ।

    अर्काे कुरा केपी ओली ले त सबै कुरा मिलाउँछु भन्नु भएकै छ नि बाँकी के कुरा रह्यो र ? यति धेरै लचिलो ढंगले अगाडि बढ्दा पनि नमान्ने भएपछि जो फुटमा जान्छ त्यो फुटको पक्षमा हामी जाँदैनौँ भन्नेहरू बढेका छन् ।

    त्यसैले पार्टीमै रहनेहरूको संख्या अधिकतम हुन्छ । पार्टी फोडेर जानेको संख्या अत्यधिक सानो हुन्छ । त्यो संख्या पनि भोलि विलीन भएर जान्छ । समाप्त भएर जान्छ । त्यसको कुनै पनि भविश्य देखिँदैन ।

    तपाईंको निश्कर्षमा जे भएपनि एमाले पार्टी फुट्छ भन्ने नै हो ?

    मैले त्यो प्रवृत्ति पनि देख्छु । त्यस्ता पात्र पनि देख्छु । त्यस्ता पात्र र प्रवृत्तिमा कुनै परिवर्तन नआएको हुनाले त्यो पात्र र प्रवृत्तिको लागि नेकपा एमालेका खासै स्थान पनि छैन ।

    पार्टी फुटाउने अवस्थामा त संसदीय दल र पार्टीमा ४० प्रतिशत पुग्छ त ?

    आफूले प्राप्त गरेको पद जोगाउनको लागि पो ४० प्रतिशत चाहिने हो । एउटा छुट्टै पार्टी बनाउनको लागि ४० प्रतिशत चाहिँदैन । तर त्यो गर्न सक्ने आँट पनि त छैन नि ।

    त्यो गर्न सक्ने आँट नभएको हुँदा उहाँहरूले नेकपा एमाले भित्र कुनै घटनाहरू घटाएर, बबन्डर गरेर, मुद्दा बनाएर मान्छेलाई यहाँभित्र तिक्तता सृजना गर्ने त्यो हुँदा केहि मान्छे पक्षधर हुने उहाँहरूको बुझाइ छ ।

    तिनै मान्छेहरूलाई लगेर हामी माथि अन्याय भयो भनेर केही समयमा लागि केही सजिलो हुन्छ भन्ने यहाँबाट मान्छे टुटाउन फुटाउन भन्ने ध्याउन्नमा हुनुहुन्छ उहाँहरू ।

    तर, यसो गर्दा पनि उहाँहरूको पछाडि रहेका ८०/८५ प्रतिशत मान्छेहरू माधव नेपालसँग रहँदैनन् । भीम रावलहरु केही रहनसक्छन् ।

  • कर्ण थापाको चेतावनी- माधव नेपालसँग लाग्नेहरू अब एमालेको सदस्य रहँदैनन्

    कर्ण थापाको चेतावनी- माधव नेपालसँग लाग्नेहरू अब एमालेको सदस्य रहँदैनन्

    कैलाली । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले माधव नेपाल समूहका केही नेताहरूले पार्टी भित्र गम्भीर अपराध गरेको आरोप लगाएका छन् ।

    पार्टी विरोधी काम गर्ने व्यक्तिहरूलाई विधानको व्यवस्था अनुसार कारबाही गरिने समेत स्पष्ट पारे ।

    ‘माधव समूहका केही नेताहरूले पार्टीभित्र ठूलो अपराध गर्नु भएको छ,’ थापाले नेपाल प्रेससँग भने, ‘उहाँहरूलाई विधानअनुसार कारबाही हुन्छ ।’

    उनले कस्तो प्रकारको कारबाही गर्ने भन्ने विषयमा पार्टी भित्र छलफल भइरहेको बताए । उनले एमाले एकता जोगाउन पार्टी अध्यक्षले हदै सम्मको लचकता देखाएको बताए ।

    ‘मूल नेतृत्वले पार्टीको एकता बनाउन ठूलो लचकता देखाएको थियो । तर, उनीहरूले पार्टी विरोधी काम रोकेनन् । पार्टीलाई नै समाप्त गर्ने सम्मको काम गरे । त्यो प्रमाणित भइसक्यो,’ थापाले आरोप लगाए ।

    पार्टीको तर्फबाट उठाइएको उम्मेदवारको विरुद्धमा भोट हाल्ने, पराजित गर्न भूमिका खेल्ने, आफ्नै पार्टीको विरुद्धमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भन्दै हस्ताक्षर गर्ने सबैलाई साधारण सदस्य समेत नरहने गरी कारबाही हुने उनले बताए ।

    ‘पहिला पनि पार्टी विरोधी काम गर्नेहरूलाई कारबाही गर्नुपर्छ भन्ने दबाब थियो । तर, नेतृत्व लचिलो भयो,’ थापाले भने , ‘अहिले पार्टीको विरुद्धमा दुश्मनी पूर्ण व्यवहार गरेका छन् । उनीहरूलाई पार्टीको सदस्यबाट निस्काशन हुन्छ। ’

    माधव समूहका केही नेता पार्टी समाप्त गर्ने अभियानका लागेको थापाको आरोप छ । गल्ती महसुस गर्ने नेताहरूलाई अझै पनि स्थान दिइने उनी बताउँछन् ।

    ‘उनीहरू पार्टी समाप्त गर्न आएका हुन् । उनीहरूलाई निस्काशन हुन्छ,’ थापाले भने, ‘जसले गल्ती गरेको महसुस गर्छ उनीहरूलाई पार्टीले समेट्न खोजेको छ। पार्टीमा बस्न नचाहने र पार्टीको विरुद्धमा दुस्मनीपूर्ण व्यवहार गर्ने सङ्ख्या जति भए पनि सबै माथि कारबाही हुन्छ ।’

    प्रदेश सरकारबाट फिर्ता नहुने मन्त्रीलाई पनि कारबाही

    सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने मन्त्रीलाई एमालेले कारबाही गर्ने जनाएको छ ।

    गत चैत्र १५ गते सम्पन्न नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो । निर्णय भएको २ महिना सम्म पनि प्रदेशमा एमाले र माओवादीले संयुक्त रुपम सरकार चलाइरहेका छन् ।

    माओवादी केन्द्रले नेतृत्व गरेको सरकारमा एमालेका ३ जना मन्त्री रहेका छन् ।

    एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छिन् । मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।

    पहिलो उक्त मन्त्रालय माओवादी केन्द्रबाट निर्वाचित झपट बोहराले सम्हालिरहेका थिए । उनले माओवादीबाट एमालेमा प्रवेश गर्नु अघि नै राजीनामा दिएपछि मन्त्रालय मन्त्रीविहीन भएको थियो ।

    ४ मन्त्रालयको जिम्मेवारी पाएका तीन मन्त्री तत्काल सरकारबाट नआए कारबाही गर्ने एमाले प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

    ‘हामीले सरकारबाट बाहिर आउने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छौँ,’ उनले भने, ‘माओवादीको सरकारबाट बाहिर नआउने मन्त्रीलाई पनि कारबाही हुन्छ ।’

    प्रदेश सरकारमा रहेको तीनै जना मन्त्री माधव समूहका हुन् ।

    पार्टी केन्द्रलाई तत्काल फिर्ता बोलाउन सिफारिस गरेको र केन्द्रीय नेतृत्वले नै मन्त्रीलाई फिर्ता बेलाउने पत्र लेख्ने छ । त्यसपछि पनि अटेरी गरे कारबाही हुने उनले बताए ।

    ‘अहिले नै उहाँहरू फिर्ता हुनुपर्ने हो उहाँहरू हुनुभएको छैन ’थापाले भने ‘यस विषयमा केन्द्रमा सिफारिस गरेका छौं ।’

  • पार्टीको ३० लाख व्यक्तिको खातामा, भीम रावलसहित तीनजना विरुद्ध मुद्दा दर्ता गर्ने कर्ण थापाको तयारी

    पार्टीको ३० लाख व्यक्तिको खातामा, भीम रावलसहित तीनजना विरुद्ध मुद्दा दर्ता गर्ने कर्ण थापाको तयारी

    धनगढी । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम व्यक्तिको खातामा रकमान्तर गरेको खुलेको छ ।

    प्रदेश पार्टी कार्यालयका सचिव दिनेश चन्द्र सुबेदीको खातामा पार्टीको ३० लाख रकम रहेको खुलेको हो ।

    प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेको बेला नेकपामा विवाद बढेपछि पार्टी अध्यक्ष कर्ण थापालाई जानकारी नगराई १३ पुसमा कृषि विकास बैंकबाट ३० लाख रकम झिकिएको थियो । उक्त रकम सुबेदीको खातामा भेटिएको छ ।

    साबिक नेकपा प्रदेश अध्यक्ष कर्ण थापा,सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्था गरिएको थियो । चौधरी र सुवेदी मिलेर सो रकम निकालेका थिए ।

    नेकपामा विवाद बढेपछि प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा चौधरी र सुबेदीको हस्ताक्षरले पार्टीको रकम निकालिएको थापाको आरोप छ ।

    कृषि विकास बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट ३० लाख रकम सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरिएको कृषि विकास बैङ्क धनगढी शाखाले नै पुष्टि गरेको छ।

    भीम रावललाई मुद्दाको तयारी

    पार्टीको रकम व्यक्तिको खातामा राख्न लगाएको भन्दै एमाले नेता भीम रावल लगायतलाई मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

    वित्तीय अपराध अन्तर्गत मुद्दा दायर गरिने थापाले बताए । उनले रावल सहित नेपवहादुर चौधरी, दिनेश चन्द्र सुबेदी र केशव रावल विरुद्ध मुद्दा दायरको तयारी अन्तिम चरणमा रहेको बताए ।

    रावलकै निर्देशनमा माग फारम बिना केशव रावललाई पनि ५ लाखको चेक काटिएको थापाको आरोप छ ।

    ‘पार्टीको खातामा ३८ लाख थियो । त्यसबाट ५ लाखको चेक केशव रावलको नाममा काटिएको छ । प्रयोजन नखुलाई चेक काट्नु पनि अवैधानिक हो,’ थापाले भने ‘सबै विरुद्ध हामी मुद्दा दायर गर्दै छौँ ।’

    पार्टीको रकम व्यक्तिको खातमा पठाउने बैंकलाई पनि मुद्धा दायर गरिने उनको भनाइ छ ।

    माओवादी भागबन्डा खोज्दै

    नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव नेप बहादुर चौधरीले भने उक्त रकम भागबन्डा हुने बताए । उनले रकम सुरक्षित रहेको बताउँदै पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि दुवैको हक रहेको दाबी गरे।

    ‘पार्टीको सम्पत्ति हिनामिना हुने देखेपछि, हामीले झिकेर राखेका हौँ,’उनले भने,‘रकम सुरक्षित छ,अहिले पार्टी फुटिसकेको छ। अब रकम भागबन्डा हुन्छ।’

    एमाले अध्यक्ष थापाले भने उक्त रकम एमालेको नै रहेको बताए ।

    ‘हामीले जोगाएर राख्दै आएको रकम हो त्यो,’ अध्यक्ष थापाले भने, ‘पार्टी एक हुँदा नेकपाको नामबाट खाता खोलेर रकम राखेका थियौं, त्यसमा माओवादी केन्द्रको कुनै हिस्सा छैन,सबै रकम एमालेकै हो।’

  • ‘छिटै समर्थन फिर्ता लिन्छौं, सुदूरपश्चिममा एमालेकै सरकार बन्छ’

    ‘छिटै समर्थन फिर्ता लिन्छौं, सुदूरपश्चिममा एमालेकै सरकार बन्छ’

    सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने गृहकार्य थालेको छ । पछिल्लो समय एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र इन्चार्ज लेखराज भट्ट अहिलेको सरकार ढालेर एमालेको नेतृत्वमा सरकार बनाउने कसरतमा जुटेका छन् ।

    अहिले प्रदेशसभामा एमालेका २५ जना सांसद छन् । दुई जना सांसद आफ्नो पक्षमा तान्न सके एमालेको नेतृत्वमा सरकार बन्ने स्थिति छ । तर एमालेकै केही सांसद मावध नेपाल समूहका छन् । उनीहरुले एमालेको नेतृत्वमा सरकार बनाउन साथ दिन्छन् कि दिँदैनन् भन्ने अनिश्चित छ ।

    एमालेले सरकार बनाउन अन्य दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ । प्रस्तुत छ, यसै परिवेशबीच एमालेका प्रदेश अध्यक्ष कर्ण थापासँग भानुभक्त आचार्यले गरेको कुराकानी-

    अहिलेको सुदूरपश्चिम प्रदेश सरकार ढालेर एमालेको नेतृत्वमा बनाउने चर्चा चुलिएको छ । खासमा के हो ?

    वर्तमान प्रदेश सरकार अत्यन्त अलोकप्रिय छ । यसले जनताको कुनै पनि भावना समेट्न सकेन । कार्यकर्ताको भावना पनि समेट्न सकेन । चुनावी घोषणापत्र अनुसार पनि काम गर्न सकेन ।

    सरकारको नीति पनि प्रस्ट छैन । क्रियाकलापमा पनि सुस्त छ । स्वार्थ केन्द्रित भएर भष्ट्ररुपमा सरकार अघि बढेको छ । यसकारण यो सरकारलाई हामीले परिवर्तन गर्नुपर्छ । त्यसका लागि हामीले सबै राजनैतिक दलसँग छलफल गर्न एउटा कार्यदल बनाएका छौं ।

    कार्यदलको संयोजक पार्टीको सुदूरपश्चिम प्रदेशको सह–इन्चार्ज महेश्वर पाठक र सदस्यहरूमा कैलाली अध्यक्ष रतन थापा र एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री झपट बोहरा हुनुहुन्छ । हामीले अहिले हरेक सम्भावनालाई हेर्छौं ।

    सबैसँग खुला छलफल र बहस गर्छाै । त्यसमा हामीसँग मिल्न आउने जुनसुकै राजनैतिक पार्टीसँग मिलेर हामी अगाडि बढ्छौं । हाम्रो पक्षमा बहुमत पुग्नेभएपछि अहिलेको सरकार ढालेर हाम्रो नेतृत्वमा बनाउने नै हो ।

    सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनुहुन्न । अनि सरकारको आलोचना गर्न नि छाड्नुहुन्न । यो त दोहोरो चरित्र भएन र ?

    हामी छिटै समर्थन फिर्ता लिने तयारीमा छौं । यो सरकारलाई हाम्रो समर्थन व्यवहारिक रूपमा नभएको कुरा सिद्ध भइसकेको छ ।

    हामीले औपचारिक रूपमा फिर्ता लिनको लागि केही प्राविधिक पक्ष छन् । सबै प्रक्रियाहरू हेरेर हामीले औपचारिक रूपमा नै छिटै समर्थन फिर्ता लिन्छौं ।

    संघीय सरकारमा माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको भएर यता नि अड्किएको हो कि ?

    संयोग र समय कुन बेला पर्छ भन्ने ठ्याक्कै भएन । राजनैतिक हिसाबले हामीले समर्थन फिर्ता लिइनै सकेका छौं ।

    संघीय सरकारमा माओवादी केन्द्रले गुन लगाउनको लागि समर्थन फिर्ता नलिएको होइन । समर्थन फिर्ता लिएपछि अर्काे विकल्पमा जान सक्ने स्थिति नभएर हो ।

    समय र संयोग कहिले हुन्छ, बेग्लै कुरा हो । हामी छिटै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।

    सुदूरपश्चिम प्रदेशसभामा एमालेभित्र ओली पक्ष अल्पमतमा छ भनिन्छ । दलको नेता र प्रमुख सचेतक पनि माधव नेपाल पक्षमा छन् । यस्तो अवस्थामा सरकार परिवर्तन गर्न सहज छ र ?

    उहाँहरूसँग कुराकानी भइरहेको छ । नेकपा एमालेको नीति निर्देशन मानेर एमालेमै रहन्छौ भन्नुभयो भने उहाँहरूलाई हामीले केही अन्यथा गर्ने कुरा छैन ।

    पार्टीको नेतृत्व पनि नमान्ने, नीति, निर्देशन पनि नमान्नेलाई विधानबमोजिम काराबाही हुन्छ । हामी जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छौं ।

    छिटै संसदीय दलको बैठक बस्ने कुरा छ । दलको बैठकमा नआउनेलाई के गर्नु हुन्छ ?

    सांसद साथीहरूसँग छलफल गरिरहेका छौं । अब पार्टीको नीति नेतृत्व र निर्णय स्वीकार नगर्नेहरू माथि विधान बमोजिमको कारबाही प्रक्रिया अघि बढ्छ ।

    यस्तो स्थितिमा एमालेको नेतृत्वमा कसरी सरकार बन्न सम्भव छ ? चुनौती त धेरै देखियो नि !

    कुनै चुनौती छैन, बरु स्पष्ट पार्न आवश्यक छ । मूल नेतृत्वबाट छुटेर जानेहरुका लागि चुनौती हुने हो । हामीमा केही समस्या छैन ।

    माधव नेपाल र भीम रावलहरुले फागुन २८ गतेको केन्द्रीय कमिटीले गरेको निर्णय मान्दिनँ भन्नु भएको छ । अब के हुन्छ ?

    उहाँहरुमाथि कारबाही प्रक्रिया अघि बढिसकेको छ । कारबाहीका विभिन्न चरण हुन्छन् । स्पष्टीकरण सोध्नु आफैंमा कारबाही हो । जुन विधानबमोजिम नै भएको छ ।

    उहाँहरूले स्पष्टीकरण पनि नकारात्मक छ । पार्टीको हितमा छैन । उहाँहरूले गल्तीको महसुस गर्नुभएको छैन । यो पार्टीमा नबस्ने, पार्टीलाई ध्वस्त पार्ने र अर्काे कुनै पार्टी निर्माण गर्ने उहाँहरूको खेल हो ।

    प्रचण्डसँग उहाँहरूको अवैध सम्बन्ध अहिले पनि छ । त्यो अवैध सम्बन्धलाई वैध बनाउनुको लागि उहाँहरू प्रयत्नमा हुनुहुन्छ । अहिले जति पनि खेल भइरहेको छ, यो अवैध सम्बन्धको परिणति हो ।

    बढीमा कतिसम्मको कारबाही हुनसक्छ ?

    पार्टी सदस्यबाट निस्कासनसम्मको कारबाही पनि हुन सक्छ ।

    पार्टीको जिम्मेवारी निलम्बन गर्ने कारबाही पनि हुन सक्छ । अब उहाँहरू यो पार्टीमा रहनुहुन्न । रहने मनस्थिति नै छैन । घटना घटाउने, यहाँ भित्र केही मान्छेलाई आफ्नो पक्षमा पार्ने र ती आफ्नो पक्षका केही मान्छे लिएर कतै जाने उहाँहरूको रणनीति छ ।

    माधव नेपाल र उहाँको गुट नै नेकपाको एकता हुन नदिने निर्णायक हुन् । अहिले एमालेको एकता भाँड्न उहाँहरु लागिरहनु भएको छ । हाम्रो भीम रावलको भूमिका बढी नकारात्मक छ ।

    उहाँहरु त पार्टीभित्रै अन्तरसंघर्ष गर्ने भनिरहनु भएको नि !

    यस्तोलाई अन्तरसंघर्ष भनिँदैन । यो अराजकता र अनुशासनहीनताको पराकाष्ठा हो । अन्तरसंर्घष भनेको त पार्टीको कमिटी भित्र हुन्छ । विचारमा हुन्छ । लक्ष्य र उद्देश्यमा हुन्छ । उहाँहरू त्यसमा हुनुहुँदैन ।

  • एमालेको सुदूरपश्चिम संयोजक स्वतः म हुँ, कर्ण थापाले गुण्डागर्दी गरेः भीम रावल

    एमालेको सुदूरपश्चिम संयोजक स्वतः म हुँ, कर्ण थापाले गुण्डागर्दी गरेः भीम रावल

    काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीम रावलले प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् । कर्ण थापाको निर्देशनमा केही कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भएको उनको दाबी छ ।

    राजधानीमा आयोजित एक कार्यक्रममा रावलले घटनामा संलग्नलाई कारबाही नगरिए उक्त घटना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने बताए । घटनाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पंक्तिलाई पनि सूचित गराएको उनले जानकारी दिए ।

    ‘सरकारी पक्ष भनौं वा हामी बाहेकको अर्को गुटको पक्ष भनौं कि आज बिहान साढे ११ बजे, अकस्मात्, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट आफ्ना पक्षका मान्छेलाई बोलाएर, जबरजस्ती कार्यालयमा पसेर तोडफोड गर्ने काम भयो । हाम्रो भानुभक्त जोशीजीको कार्यालयमा ताला लगाइएको थियो । पाँचवटा कुर्सी भाँचेका छन्’, रावलले भने ।

    उनले थपे, ‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको अर्का व्यक्तिले पनि हाम्रा साथीलाई आक्रमण गरे । म यो घटनाको निन्दा गर्छु । आज गुण्डागर्दी कर्ण थापाबाट भएको हो । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।’

    कर्ण थापाले स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको टिप्पणी रावलले गरे ।

    उनले भने, ‘तर, आज त्यहाँ उनी गुण्डागर्दी शैलीमा प्रस्तुत भए । यसो नगर्नुहोस् भनिएको थियो । अदालतको फैसलाअनुसार मैले नै नेकपा एमालेको साइनबोर्ड राख्न निर्देशन दिएको थिएँ । सोहीअनुसार राखिएको थियो ।’

    उनले यसरी नै गुण्डागर्दी, अराजकता, मनपरीतन्त्र गर्ने हो भने आफूहरुले पनि सशक्त प्रतिवाद गर्ने चेतावनी दिए । सबैले हिजोको नकारात्मक कुराबाट शिक्षा लिनुपर्ने पनि उनले बताए ।

    ‘अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग–अलग भएको अवस्थामा लेखराज भट्टलाई इन्चार्ज बनाएर मेरो बोर्ड हटाउने हो त ?’ रावलले प्रश्न गर्दै भने, ‘कसैको साइनबोर्ड तोडेर आफ्नो मान हुन्छ त ? गृह प्रशासनलाई खबर गरेको छु । हाम्रो सुरक्षा हामी आफैं गर्छौं भनेको छु । हाम्रो पार्टीका महासचिवलाई पनि जानकारी गराएको छु । कम्युनिष्ट आन्दोलनलाई जोगाउने उद्देश्य छ भने यस्तो काम बन्द गर्नुपर्छ । एमालेलाई पनि चकनाचुर गर्छौं भन्ने हो भने बेग्लै कुरा। यसमा प्रधानमन्त्रीको पनि ध्यान जानुपर्छ ।’

    उनले आफू सुदूरपश्चिम संयोजक भएको बताए ।

    ‘हिजो सुदूरपश्चिम प्रदेशको म नै संयोजक थिएँ । मलाई नेतृत्व गर्ने अधिकार दिइएको थियो । म स्वतः संयोजक हुँ । एमालेले सुदूरपश्चिम प्रदेशमा मेरो नेतृत्वमा अभूतपूर्व सफलता हासिल गरेको हो ।’