Tag: कर्णाली प्रदेश अस्पताल

  • कोभिडका बिरामी नलिने कर्णाली प्रदेश अस्पतालको सूचना, जोखिममा सयौं संक्रमितको ज्यान

    कोभिडका बिरामी नलिने कर्णाली प्रदेश अस्पतालको सूचना, जोखिममा सयौं संक्रमितको ज्यान

    सुर्खेत । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने सार्वजनिक सूचना जारी गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका विरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ ।

    अस्पतालको सूचनाबाट नागरिकहरू आक्रोशित बनेका छन् ।

    प्रदेश सरकारबाट हरेक वर्ष पर्याप्त बजेट पाउँदा पाउँदै पनि बिरामी नलिने सूचना जारी गर्नु उचित नभएको उनीहरूको भनाइ छ । ‘प्रदेश सरकारले करोडौं बजेट दिइरहेको छ । कर्मचारी पनि भर्ना गरेकै छ । अहिले अक्सिजन नपाएको भन्ने बहानामा बिरामी नराख्ने भनेपछि हामीमा थप त्रास बढेको छ,’ वीरेन्द्रनगर नगरपालिका-४ कालागाउँका कोभिड बिरामी राजेश आचार्यले नेपालप्रेसलाई भने, ‘सरकारी अस्पतालले नै कोभिड विरामीलाई नराख्ने भन्न पाउँछ कि पाउँदैन भनेर बुझिदिनुपर्‍ यो ।’

    उनले महामारीको समयमा अस्पतालमा कोरोना संक्रमितको उपचार नहुने भए अस्पताल बन्द गर्न माग गरे ।

    ‘कर्णालीमा अन्यत्र यतिको सूविधासम्पन्न अस्पताल छैनन् । यस्तो अवस्थामा यहाँका नागरिक कहाँ गएर उपचार गर्ने ?’ उनी गुनासो गर्छन्, ‘सरकारको ध्यान सरकार जोगाउनतिरै छ । आपसमा को मन्त्री बनाउने भन्ने तिरै केन्द्रित भएका छन् । हामी निमुखा जनताको अवस्था कस्तो छ भन्ने कुरामा कुनै चासो देखाएका छैनन् ।’

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले प्रदेश सरकारको असक्षमताको पराकाष्ठा अस्पतालमा देखिएको आरोप लगाए । उनले प्रदेश सरकारसँग स्रोतको अभाव नभएको बताउँदै आफूसँग भएको स्रोतको परिचालन गर्न नसक्ने सरकार कर्णालीमा भएको बताउँदै यो भन्दा लज्जित हुने कार्य अरु नभएको बताए ।

    सामाजिक सञ्जालमा शनिबार एक विज्ञप्ति जारी गर्दै नेता कंडेलले सरकारको ध्यान नागरिकलाई महामारीबाट बचाउनेतर्फ केन्द्रित नभएको आरोप लगाएका छन् । ‘अहिलेको महामारीको बीचमा अस्पताललाई यस्तो सूचना सार्वजनिक गर्नु पर्ने स्थितिमा पु¥याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताको पराकाष्ठा नै हो । प्रदेश सरकारसँग श्रोतको अभाव छैन ।

    संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो,’ उनले लेखेका छन् ।

  • कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

    कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि सञ्चालनमा आएको छ ।

    मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाली कांग्रेस प्रदेशसभा दल नेता जीवनबहादुर शाहीसहितको टोलीले आइतबार त्यहाँ पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो । तीन दिनअघि मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले प्रदेश अस्पतालको स्थलगत अनुगमन गर्नुका साथै कोरोना संक्रमितको अवस्था अध्ययन, आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनका बारेमा अस्पताल निर्देशक प्रा. डा. डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा. केएन पौडेलसँग जानकारी लिएका थिए ।

    खासगरी पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले संक्रमितको सङ्ख्या बढ्दै गएको र त्यसमा श्वासप्रश्वासका बिरामीको जीवन बढी खतरामा रहेको भन्दै मुख्यमन्त्री शाही आफैँ प्रदेश अस्पताल पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा सघाए । सामाजिक विकासमन्त्रीसमेत भएका मुख्यमन्त्री, नेपाली सेनाका पृतनापति, सामाजिक विकास सचिव, सशस्त्र तथा नेपाल प्रहरी कर्णाली प्रदेश प्रमुखसहितको टोलीले स्थलगत गर्नुका साथै प्लान्ट सञ्चालनमा सहजीकरण गरेको थियो ।

    आइतबारदेखि नै कोभिड अस्पतालको आइसोलेसन कक्षमा अक्सिजन आपूर्ति गरिएको बताइएको छ । अस्पताल निर्देशक प्रा. डा. खड्काका अनुसारका अक्सिजन उत्पादनका साथै अबको केही दिनमा सिलिण्डर नै रिफिलिङ हुने गरी काम भइरहेको छ । यसो हुन सकेमात्र श्वासप्रश्वासका बिरामीलाई राहत हुने अस्पतालले जनाएको छ ।