Tag: कमल थापा

  • गाई चुनावचिन्ह माग्दै राप्रपा नेपालद्वारा रिट दायर, कमल थापा आफैंले बहस गर्ने

    गाई चुनावचिन्ह माग्दै राप्रपा नेपालद्वारा रिट दायर, कमल थापा आफैंले बहस गर्ने

    काठमाडौं । राप्रपा नेपालले चुनाव चिन्ह ‘गाई’ माग्दै सर्वोच्च अदालतमा आज रिट दायर गरेको छ । रिट निवेदनमाथि मुद्दाको पेसी भोलीलाई तोकिएको छ । पार्टीको मुद्दामा अध्यक्ष कमल थापा आफैंले बहस गर्ने भएका छन् ।

    यसको जानकारी दिदै थापाले ट्विट गर्दै भनेका छन्, ‘संविधान र कानुनले ‘गाई’ चिन्ह निषेध गरेको छैन । विगतमा राप्रपा नेपालले ‘गाई’ लिएर जनतामा गएको सर्वविदित छ । राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ ।’ यससम्बन्धि मुद्दाको भोलि पेशीमा आफैं बहस गर्न जाने थापाले बताएका छन् । ‘सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ,’ उनले लेखेका छन् ।

  • राप्रपा नेपालका उपाध्यक्ष पौडेल र केन्द्रीय सदस्य उर्मिलाले छाडे कमल थापाको साथ

    राप्रपा नेपालका उपाध्यक्ष पौडेल र केन्द्रीय सदस्य उर्मिलाले छाडे कमल थापाको साथ

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेल र केन्द्रीय सदस्य उर्मिला अधिकारीले एकै दिन पार्टी छाडेका छन् ।

    दुवैजनाले अध्यक्ष थापालाई सम्बोधन गरेर राजीनामा बुझाएका हुन् । राप्रपाबाट अलग भएर कमल थापाले राप्रपा नेपाल गठन गर्दा साथ दिएका नेताले किन उनलाई छाडे भन्ने खुलेको छैन ।

    स्थानीय तह निर्वाचनको मुखैमा गरिएको राजीनामाले थापालाई धक्का लागेको छ ।

  • यसरी बनाउँदैछन् कमल थापाले नयाँ दल, ‘राष्ट्रिय एकता पार्टी’ नाम रहन सक्ने

    यसरी बनाउँदैछन् कमल थापाले नयाँ दल, ‘राष्ट्रिय एकता पार्टी’ नाम रहन सक्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेसँगै कमल थापाले नयाँ पार्टी निर्माणको गृहकार्यलाई तिव्रता दिएका छन् । सबै तयारी पूरा गरेर यसै साता दल दर्ता गर्ने उनको योजना छ ।

    स्रोतका अनुसार थापाले पार्टीको नामलगायतका विषयमा आज आफू निकटस्थहरुसँग छलफल गर्दैछन् । अहिलेसम्म प्रस्तावित विभिन्न नाममध्ये ‘राष्ट्रिय एकता पार्टी’ रोज्न सक्ने प्रवल सम्भावना रहेको स्रोतले बतायो ।

    ‘उहाँले पार्टी विभाजन गरेको सन्देश नजाओस् भनेर ‘राप्रपा’ भन्दा पृथक नयाँ नाम राख्न चाहनुभएको छ,’ निकट स्रोतले भन्यो, ‘सम्भवतः राष्ट्रिय एकता पार्टी नाम रहन सक्छ ।’

    थापा पक्षधर नेता राजाराम श्रेष्ठले भने पार्टीको नामबारे भर्खर छलफल सुरू भएको बताए ।

    ‘उहाँले नामबारे सुझाव दिन सबैलाई भन्नुभएको छ, यो विषयमा आज विस्तृत छलफल हुन्छ,’ उनले भने ।

    थापाले गठन गर्ने पार्टीको मुल नीति संवर्द्धनवाद तथा मुख्य कार्यनीति ‘हिन्दू राष्ट्रको पुन:स्थापना’ हुनेछ । सैद्धान्तिकरूपमा आफूलाई राजसंस्था पक्षधर नै बताए पनि राजतन्त्रको पुन:स्थापनाको एजेन्डालाई उनको पार्टीले बोक्ने छैन ।

    नयाँ पार्टीको नेतृत्व आफैं गर्ने वा अरु कसैलाई अघि सार्ने भन्नेमा पनि थापा अहिलेसम्म द्विविधामा छन् ।

    ‘विगतमा गीता छोएर पार्टी विभाजन नगर्ने कसम खाएको हुँदा उहाँ सकभर अरु कसैलाई नेतृत्वमा अघि सार्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो ।

    थापा राप्रपाका केही पुराना नेताहरूसँग सम्वादमा छन् । जसमध्ये पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले आफूलाई साथ दिने झिनो आशा उनको छ । नयाँ पार्टीको अध्यक्ष राणालाई नै बनाउन पनि उनी तत्पर रहेको स्रोतले बतायो ।

    नेता बर्तौलाले नेतृत्व कसले गर्ने भन्ने विषयमा विकल्प खुल्ला राखिएको भए पनि थापा आफैं अध्यक्ष बन्ने सम्भावना बढी रहेको बताए ।

    थापाको पार्टीमा राप्रपाको नेतृत्वमा रहेकाहरू न्यून संख्यामा आउने देखिएको छ । महाधिवेशनबाट थापा पक्षधर नेताहरू उल्लेख्य संख्यामा केन्द्रीय सदस्य र पदाधिकारीमा निर्वाचित भएका थिए । तर, नयाँ पार्टी गठनमा उनीहरुको साथ मिल्ने आशा थापा स्वयंले राखेका छैनन् । अहिलेसम्म पदाधिकारी कोही पनि थापाको पक्षमा खुलेका छैनन् भने केन्द्रीय सदस्य पनि थोरै संख्यामा उनीतिर छन् ।

    अस्ति थापाले बोलाएको भेलामा चार पदाधिकारीसहित केन्द्रीय समितिका ६० जना उपस्थित भएको बताइएको थियो । तर, उनीहरूमध्ये अधिकांश राप्रपा छोडेर थापाको नयाँ पार्टीमा जाने सम्भावना न्यून छ । थापा स्वयम्ले भेलामा कसैलाई करकाप नगर्ने बताएका थिए ।

    ‘तपाईंहरू आफ्नो अन्तरआत्मालाई सुनेर आफैं निर्णय लिन सक्नुहुन्छ, म कसैलाई करकाप गर्दिन,’ थापाले भनेका थिए ।

    राप्रपा महाधिवेशनमा पराजयपछि असन्तुष्ट बनेका थापाले निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउँदै आएका छन् । यस विषयमा छानबिन गर्न उनले पार्टीको नेतृत्वलाई दबाब दिएका थिए । तर, थापा पक्षकै नेताहरूले पनि उनको मागमा त्यति चासो दिएका थिएनन् ।

    थापाले बहिर्गमनको तयारी गरेपछि हिजो राप्रपाले पदाधिकारीको वैठक बसेर उनको मागलाई कुनै तरिकाले सम्बोधन गर्ने तयारी गरेको थियो । तर, पार्टीको निर्णय नपर्खी थापाले विज्ञप्ति जारी गरे । स्रोतका अनुसार उनी राप्रपा छोड्नेमा पहिल्यै प्रतिबद्ध थिए ।

    ‘राजतन्त्रको एजेन्डा बोकेर राजनीति नगर्ने निष्कर्षमा पुग्नुभएकाले राप्रपा छोड्नुभएको हो,’ स्रोतले भन्यो, ‘महाधिवेशनमा पराजयपछि नै उहाँले नयाँ पार्टी बनाएर अगाडि बढ्ने निधो गरिसक्नुभएको थियो ।’

  • नयाँ पार्टी बनाएर चुनाव लड्ने कमल थापाको सन्देश, बहिर्गमनको यस्तो छ तयारी

    नयाँ पार्टी बनाएर चुनाव लड्ने कमल थापाको सन्देश, बहिर्गमनको यस्तो छ तयारी

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट बहिर्गमनको अन्तिम तयारी गरेका छन् । आज एक पार्टी प्यालेसमा आफू पक्षधरको भेला आयोजना गर्दै उनले स्थानीय चुनावको घोषणासम्म माग सम्बोधन नभए नयाँ पार्टी गठन गर्ने स्पष्ट सन्देश दिए ।

    भेलामा राप्रपाका थापा पक्षधर पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता थियो । उपाध्यक्षहरू ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही भेलामा उपस्थित भएका थिए । थापाले एकतर्फीरुपमा आफ्ना कुरा राखेर भेला टुंग्याएका थिए । उनले अरुलाई बोल्ने मौका दिएनन् ।

    थापाले आफ्नो तयारीबारे अन्तिमपटक जानकारी गराउन भेला आयोजना गरेको बताएका थिए ।

    उनले भने, ‘यदि मैले उठाउँदै आएका विषयवस्तुहरु सम्बोधन भएनन् भने म यत्तिकै निरीह भएर बसिरहन सक्दिनँ, अर्को विकल्पमा जानैपर्छ । त्यो भनेको नयाँ पार्टी बनाएर जाने नै हो । मलाई साथ दिने वा नदिने विषयमा तपाईंहरु आफ्नो निर्णय लिन स्वतन्त्र हुनुहुन्छ । म कसैलाई पनि करकाप गर्दिनँ ।’

    स्रोतका अनुसार नयाँ पार्टी गठन गर्दा थापाले दुई विकल्प सोचेका छन् । पहिलो विकल्प भनेको राप्रपाबाट अलग भएर आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने । यो तरिका अपनाउँदा विगतमा आफूले राप्रपा नफुटाउने भनेर खाएको कसम नतोडिने उनको तर्क छ ।

    आफू अझै पनि राप्रपा फुटाउने पक्षमा नभएको थापाले बताए । ‘मेरो ९९ प्रतिशत चाहना राप्रपामै रहेर काम गरौं भन्ने नै हो । तर, अब सबै अध्यक्ष र केन्द्रीय समितिको हातमा छ । म अध्यक्षको निर्णयको प्रतीक्षामा छु ।’

    आफू नयाँ पार्टीको गृहकार्यमा रहेको थापाले जानकारी गराए । तर, आफ्नो माग सुनवाइ भयो भने सबै तयारी स्थगित गर्ने उनको भनाइ थियो । ‘तपाईंहरु राजेन्द्र लिङदेनलाई भन्नुस्, यदि मेरो सक्रियता राप्रपामा नै रहोस् भन्ने उहाँ चाहनुहुन्छ भने माग सम्बोधन हुनुपर्छ,’ थापाले भने ।

    उनले राप्रपा अध्यक्ष लिङ्देन अस्ति आफूलाई भेट्न आएको र भावुक कुराकानी गरेको जानकारी दिए । ‘उहाँलाई मैले पार्टी आजै फुटाइहाल्छ कि भन्ने लागेको रहेछ । तर, मैले चुनाव घोषणासम्म पर्खिन्छु भनेको छु,’ थापाले भने ।

    थापाका दुई विकल्प

    थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै त्यसको छानबिन हुनुपर्ने माग पार्टीका राखेका छन् । तर, उनको माग राप्रपाले सुनवाइ गर्ने सम्भावना न्यून देखिएका छ । त्यो बुझेका थापाले नयाँ पार्टी गठनको आन्तरिक गृहकार्य गरिरहेका छन् ।

    थापाले गठन गर्ने नयाँ पार्टी सैद्धान्तिकरुपमा राजसंस्था पक्षधर नै रहे पनि कार्यनीतिक रुपमा राजसंस्थाबारे ‘साइलेन्ट’ रहने छ । हिन्दूराष्ट्रको पुनःस्थापनालाई प्रमुख एजेन्डा बनाएर चुनाव लड्ने तयारी थापाले गरेका छन् । पार्टीको नाम, चुनाव चिह्नलगायतका विषयमा भने टुंगो लागेको छैन ।

    स्रोतका अनुसार नयाँ पार्टी गठन गर्दा थापाले दुई विकल्प सोचेका छन् । पहिलो विकल्प भनेको राप्रपाबाट अलग भएर आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने । यो तरिका अपनाउँदा विगतमा आफूले राप्रपा नफुटाउने भनेर खाएको कसम नतोडिने उनको तर्क छ ।

    ‘अहिलेको अवस्थामा हेर्दा ४० प्रतिशत पुर्याउन सक्ने देखिन्छ । तर, विगतमा कसम खाएकाले आफ्नै नेतृत्वमा उहाँले पार्टी फुटाउनुहुन्न । आफ्नो पक्षका पदाधिकारीमध्येबाट वा अर्को कोही पुरानो नेतालाई अध्यक्ष दिएर पार्टी दर्ता गर्ने सोच छ,’ स्रोतले भन्यो ।

    यद्यपि, आफूलाई ४० प्रतिशतले साथ दिने अवस्था भयो भने पार्टीलाई औपचारिक विभाजन गर्न पनि थापा पछि पर्ने छैनन् । तर, त्यो अवस्थामा अर्को कुनै नेतालाई अघि सारेर अध्यक्ष बनाउने उनको योजना रहेको स्रोतले बतायो ।

    ‘अहिलेको अवस्थामा हेर्दा ४० प्रतिशत पुर्याउन सक्ने देखिन्छ । तर, विगतमा कसम खाएकाले आफ्नै नेतृत्वमा उहाँले पार्टी फुटाउनुहुन्न । आफ्नो पक्षका पदाधिकारीमध्येबाट वा अर्को कोही पुरानो नेतालाई अध्यक्ष दिएर पार्टी दर्ता गर्ने सोच छ,’ स्रोतले भन्यो ।

    तर, थापाले अहिलेसम्म अध्यक्षमा अघि सार्ने उपयुक्त पात्र भेटिसकेका छैनन् । राप्रपाका अर्का पूर्वअध्यक्ष पशुपतिशम्शेर राणासँग उनलाई केही आशा छ । राप्रपाको चुनावमा राणाले थापाको पक्षमा सदासयता देखाएका थिए । त्यसैले पार्टी विभाजन गर्न तयार भए थापाले राणालाई नै अध्यक्ष मान्नसक्ने स्रोतले बतायो ।

    हाल राप्रपाको नेतृत्वमा थापा पक्षधरहरु उल्लेख्य संख्यामा छन् । तर पार्टी फुटाउने सवालमा भने उनलाई कमैको साथ मिल्ने देखिएको छ । अहिलेसम्म कोही पनि पदाधिकारी थापाको पक्षमा खुलेर आएका छैनन् । आजको भेलामा सहभागी भएका पदाधिकारी र केन्द्रीय सदस्यहरु पनि अधिकांश नयाँ पार्टी गठनको सवालमा थापासँग असहमत छन् ।

    थापानिकट स्रोतले भने हालको केन्द्रीय समितिमा आफ्नो पक्षबाट निर्वाचित भएकामध्ये आधाउधिले साथ दिनसक्ने आशा व्यक्त गर्यो ।

  • राप्रपामा कमल थापा पक्षको छुट्टै भेला,  महामन्त्रीसहित वरिष्ठ नेता सहभागी

    राप्रपामा कमल थापा पक्षको छुट्टै भेला,  महामन्त्रीसहित वरिष्ठ नेता सहभागी

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला काठमाडौंमा सुरु भएको छ ।

    चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।

    महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ । थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । यो विषयमा पार्टीमा छलफल गर्ने लिङ्देनले प्रतिवद्धता जनाएका छन् ।

  • संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

    संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले कुनै पनि बहानामा चुनाव सार्न नहुने बताएका छन् । संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने उनको भनाइ छ ।

    नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको भन्दै सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘संविधानमा तिनतहको सरकारको व्यवस्था छ । कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन । यही मान्यताअनुसार पदावधि समाप्त हुनुअगावै नयाँ चुनाव गर्ने कानून बनेको हो । कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुनेछ ।’

    सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने गरी कानून संशोधन गर्ने तयारीमा लागिरहेको बेला नेता थापाले खबरदारी गरेका हुन् ।

  • टेनिसको सेमिफाइनल हारेपछि कमल थापाले भने- स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य हो

    टेनिसको सेमिफाइनल हारेपछि कमल थापाले भने- स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य हो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा लनटेनिसका दिग्गज खेलाडी कमज थापाको राजनीतिमा दिन राम्रो चलिरहेको छैन । राप्रपाको अध्यक्ष प्रतिस्पर्धामा पराजित भएका उनले परिणामलाई सहजरुपमा स्वीकारेका पनि छैनन् ।

    थापा अहिले राजनीतिक प्रतिस्पर्धाबाट निस्केर खेलकुदको प्रतिस्पर्धामा व्यस्त छन् । पोखरामा जारी लन टेनिस प्रतियोगितामा भिडिरहेका उनी आज सेमिफाइनलमा पुगेर रोकिए । पोखरा रंगशालामा जारी १८ औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत ५५ वर्ष उमेर समूहको सेमिफाइनलमा उनलाई पूर्वराष्ट्रिय च्याम्पियन कृष्ण राईले हराएका हुन् ।

    यसअघि उनले एकैदिन दोहोरो जित निकालेका थिए । सिंगल्स र डबल्स दुवै इभेन्टमा जित हासिल गरेपछि उनको सेमिफाइनलमा स्थान सुरक्षित भएको थियो । सिंगल्सको सेमिफाइनलमा हारेका थापा आजै डबल्सको सेमिफाइनलमा भिड्दैछन् ।

    सेमिफाइनल हारेपछि थापाले फेसबुकमा ‘लाक्षणिक’ अभिव्यक्ति दिएका छन् । आफूलाई हराएका राईलाई बधाई दिँदै उनले लेखेका छन्, ‘स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वभाविक हो ।’

    राप्रपा अध्यक्षको चुनावमा हारेयता आक्रोशित प्रतिक्रियाहरू दिइरहेका थापामाथि प्रतिस्पर्धाको परिणामलाई सहजरूपमा ग्रहण गर्न नसकेको आरोप लाग्दै आएको छ । सम्भवतः त्यसैलाई ईंगित गर्दै थापाले ‘स्वस्थ प्रतिस्पर्धा’ को कुरा गरेका हुन् ।

    निर्मल निवासको हस्तक्षेपका कारण राप्रपा चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन नसकेको उनले दाबी गर्दै आएका छन् ।

  • कमल थापाको टिप्पणी- विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन

    कमल थापाको टिप्पणी- विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको टिप्पणी गरेका छन् ।

    राप्रपा महाधिवेशनमा आफूविरुद्ध पूर्वराजा ज्ञानेन्द्रसहित निर्मल निवासबाट अवाञ्छित गतिविधि भएको भन्दै छानबिनको माग गरिरहेका थापाले दलको आन्तरिक मामिलामा राजसंस्थाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

    राजासहितको हिन्दू राज्यको पक्षमा सडक र सदनमा आवाज उठाउन अग्रमणी भूमिका खेलेका पूर्वउपप्रधानमन्त्री थापाले विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने बताएका छन् ।

    थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’

  • राप्रपा विवादः कमल थापाको माग सुनवाइ नहुने

    राप्रपा विवादः कमल थापाको माग सुनवाइ नहुने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राजसंस्थामाथि छानविन गर्नका लागि पार्टीमा राखेको माग सुनवाइ नहुने भएको छ । राप्रपा स्रोतका अनुसार अध्यक्ष राजेन्द्र लिङदेन राजसंस्थालाई विवादमा पार्ने गरी कुनै पनि कदम चाल्ने पक्षमा छैनन् ।

    पूर्वअध्यक्ष थापाले दुई दिनअघि अध्यक्ष लिङदेनलाई तीनपाने पत्र लेख्दै पार्टीको महाधिवेशनमा राजसंस्थाले हस्तक्षेप गरेकाले यसबारे एउटा समिति नै बनाएर छानविन गर्नुपर्ने माग राखेका थिए । उनले यो विषयको निरुपण नभएसम्म पार्टीले गति लिन नसक्ने थापाको भनाइ छ । साथै, उनले राजालाई बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको समेत बताएका छन् ।

    थापाको पत्रमा लिङदेनले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । पार्टीको चुनावपछि थापा र लिङदेनबीच पूर्णरुपमा संवादहिनताको अवस्था छ । नयाँ नेतृत्वको सपथग्रहण समारोह थापाले बहिष्कार गरेका थिए । लिङदेनले बोलाएको केन्द्रीय समिति बैठकमा पनि उपस्थित भएनन् ।

    लिङदेन थापासँग सहकार्य गरेरै पार्टी चलाउन पक्षमा भए पनि राजसंस्थाप्रति छानविन गर्न भने तयार नभएको स्रोत बताउँछ ।
    राप्रपा स्रोतले भन्यो, ‘अध्यक्ष लिङदेन थापालाई उचित सम्मान दिएर पार्टी हाँक्ने पक्षमा हुनुहुन्छ । तर, अनुचित माग पूरा गर्न तयार हुनुहुन्न ।’

    अघिल्लो साता राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो । उक्त बैठकमा समेत लिङदेनले यो विषयमा छलफल हुन नसक्ने स्पष्ट पारेका थिए । थापानिकट केन्द्रीय सदस्य राजाराम श्रेष्ठले फेसबुकमा राजसंस्थामाथि छानविन गर्नुपर्ने भन्दै स्टाटस लेखेपछि केन्द्रीय समितिमा लिङदेनले सो जवाफ दिएका हुन् ।

    अध्यक्षमा हारे पनि राप्रपा नेतृत्वमा अहिले कमल थापा पक्षको वर्चश्व छ । तर, राजसंस्थामाथि छानविन गर्नुपर्ने थापाको मागमा उनकै पक्षका धेरै नेता सहमत नरहेको बुझिएको छ ।

    राप्रपा केन्द्रीय समितिको बैठकले अघिल्लो साता विभिन्न निर्णय लिएको थियो । पार्टीको अर्को बैठक डाकिएको छैन ।

  • कमल थापा पक्षको माग- निर्मल निवासको हस्तक्षेपबारे छानबिन समिति बनाइयोस्

    कमल थापा पक्षको माग- निर्मल निवासको हस्तक्षेपबारे छानबिन समिति बनाइयोस्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै कमल थापा पक्षधरले पार्टीले त्यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।

    केन्द्रीय सदस्य राजाराम बर्तौलाले निर्मल निवासले नांगो हस्तक्षेप गरेको जिकिर गरेका छन् । उनले भने, ‘राप्रपा महाधिवेशनको क्रममा निर्मल निवासको नांगो हस्तक्षेपको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्दछ । यसबारे स्पष्ट पार्नको निमित्त तत्काल पार्टीले छानबिन समिति बनाओस् ।’

    अध्यक्षमा पराजित कमल थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेतृत्व चयनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

    ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ-कामना’, उनको भनाइ थियो ।

    नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले भने राप्रपाको आन्तरिक निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण कुरा भएको बताएका छन् ।

    अध्यक्ष निर्वाचित भएपछि आज पदभार ग्रहण गर्ने क्रममा लिङदेनले भने, ‘यो एकदमै दुर्भाग्यपूर्ण कुरा हो । यसले महाधिवेशन प्रतिनिधिहरूप्रति अविश्वास भएको छ ।’

  • पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत रहन्छः लिङदेन

    पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत रहन्छः लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको पदभारग्रहण अघि कार्यकक्षको विषयमा केहीबेर विवाद भयो । यसअघि प्रमुख अध्यक्षका रूपमा कमल थापाले प्रयोग गरेको कार्यकक्ष नदिइएकोमा लिङदेन समर्थक असन्तुष्ट बनेका थिए ।

    तर, अध्यक्ष लिङदेनले भने आफ्नै इच्छामा नयाँ कार्यकक्ष बनाएको बताएका छन् । पूर्वअध्यक्षहरूको सम्मानका लागि उनीहरूको कार्यकक्ष यथावत राखिने उनको भनाइ छ ।

    यो पनि पढ्नुहोस् : कमल थापाको कार्यकक्ष यथावत राखेर लिङदेनलाई अस्थायी प्रबन्ध (तस्बिरहरू)

    ‘उहाँहरूलाई आउँदा-जाँदा बस्न र भेटघाट गर्न सहज होस् भनेर पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत राख्न भनेको छु,’ उनले भने, ‘अभिभावकका रूपमा उहाँहरूको मार्गदर्शन हामीलाई चाहिन्छ ।’

    राप्रपामा यसअघि तीन अध्यक्ष थिए, जसमध्ये कमल थापाले चुनाव हारे भने पशुपतिसम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी चुनावमा भाग लिएनन् । पार्टीको कार्यकारी पदमा अब नरहे पनि कार्यालयमा उनीहरूको कार्यकक्ष यथावत रहने लिङदेनले प्रत्याभूत गरेका हुन् ।

  • लिङदेनले भने- राप्रपाको निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण (भिडिओ)

    लिङदेनले भने- राप्रपाको निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप गलत रहेको बताएका छन् । राप्रपाको आन्तरिक निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण कुरा भएको उनले टिप्पणी गरे ।

    अध्यक्ष निर्वाचित भएपछि आज पदभार ग्रहण गर्ने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै लिङदेनले यस्तो बताएका हुन् । अध्यक्षमा पराजित उम्मेदवार कमल थापाले राप्रपाको प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

     लिङदेनले पत्रकारहरुसँग भने, ‘यो एकदमै दुर्भाग्यपूर्ण कुरा हो । यसले महाधिवेशन प्रतिनिधिहरूप्रति अविश्वास भएको छ । उहाँहरूले गरेको निर्णयको अपमान भएको छ ।’ यस विषयमा आफूले धेरै टिकाटिप्पणी गर्न नचाहेको पनि उनले बताए ।

    लिङदेनले व्यस्तताका कारण आफूले सामाजिक सञ्जाल भने हेर्न नपाएको बताए । चुनावी परिणामपछि विभिन्न खाले प्रतिक्रिया आउनुलाई भने आफूले सामान्यरुपमा लिने उनको भनाइ छ ।

    उनले अबका दिनमा पार्टीलाई मिलाएर लैजाने बताए । को कुन प्यानलबाट जितेका हुन् भन्ने स्मरणमा नराखिकन पार्टीलाई एकजुट तुल्याइने उनको दाबी छ ।

     

  • कमल थापाको कार्यकक्ष यथावत राखेर लिङदेनलाई अस्थायी प्रबन्ध (तस्बिरहरू)

    कमल थापाको कार्यकक्ष यथावत राखेर लिङदेनलाई अस्थायी प्रबन्ध (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त अध्यक्ष राजेन्द्र लिङदेनले आज पदभार ग्रहण गर्दैछन् । धुम्बाराहीस्थित राप्रपाको कार्यालयमा उनलाई नयाँ कार्यकक्ष तयार गरिएको छ ।

    यसअघि मुख्य अध्यक्षका रूपमा कमल थापाले प्रयोग गरिएको कार्यकक्ष लिङदेनले पाउने अपेक्षा गरिएको थियो । तर, पार्टीको सचिवालयले भने थापाको कार्यकक्ष यथावत राखेर लिङदेनका लागि कामचलाउ कार्यकक्ष बनाएको छ ।

    पदभार ग्रहण कार्यक्रमअघि कार्यकक्षको विषयमा असन्तुष्टि जनाएर लिङदेन पक्षधरले केहीबेर विवाद गरेका थिए । लिङदेनले भने पछि आफैं व्यवस्थापन गर्ने भन्दै अहिले विवाद नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

    राप्रपामा यसअघि तीन अध्यक्ष थिए । तर, अब लिङदेन मात्रै अध्यक्ष छन् । अघिल्ला अध्यक्षहरूमा थापाले चुनाव हारे भने पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव लडेनन् ।

  • कमल थापाको अर्को स्टाटसः यसपाली त मनै फाट्यो

    कमल थापाको अर्को स्टाटसः यसपाली त मनै फाट्यो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएदेखि कमल थापा पूरै सामाजिक सञ्जालमा सक्रिय भएका छन् । फेसबुक र ट्विटरमा उनका आधिकारिक पेजहरुबाट एकपछि अर्को उत्तेजक र भावुक पोष्टहरु भइरहेको छ ।

    पछिल्लो पोष्टमा चाहिँ थापा भावुक बनेका छन् । आफ्नो अन्तरमनभित्रको मान्यतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएका टिप्पणीसहित उनले राजेन्द्र थापाको चर्चित गीत ‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेँ।।’ का पंतिहरु सेयर गरेका छन् ।

    थापाले आज पार्टीको मतगणना सकिएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहका विरुद्ध सामाजिक सञ्जालमा आक्रोशित टिप्पणी गरेका थिए । त्यसपछि फेरि पूर्वयुवराज्ञी हिमानी शाहको नक्कली ट्विटर अकाउन्टबाट आएको ट्विटलाई कटाक्ष गरेका थिए ।

    थापाका धाराप्रवाह स्टाटसहरुले उनलाई पराजयको चोट सहत गाह्रो परिरहेको प्रतित हुन्छ ।

     

  • कमल थापाकी छोरी केन्द्रीय सदस्य निर्वाचित, गणेश थापाका छोराले पनि जिते

    कमल थापाकी छोरी केन्द्रीय सदस्य निर्वाचित, गणेश थापाका छोराले पनि जिते

    काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापाकी छोरी प्रतिष्ठा थापा केन्द्रीय सदस्यमा विजयी भएकी छन् । महिला खुल्लातर्फ उम्मेदवारी दिएकी उनले २३ औं स्थानमा रहँदै जित हासिल गरेकी हुन् ।

    आज सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रतिष्ठाले १५३० भोट ल्याएकी छन् । महिला खुल्लातर्फ सर्वाधिक भोट भने कुन्तीदेवी पोखरेललाई प्राप्त भएको छ ।

    यसअघि पार्टीको कुनै कमिटीमा नरहेकी प्रतिष्ठा एकैपटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी कमल थापाकी कान्छी छोरी हुन् । थापाका दुई सन्तानमध्ये जेठी छोरी प्रलिता पनि राजनीतिमा सक्रिय थिइन् । यद्यपि, यो महाधिवेशनमा उनले उम्मेदवारी दिइनन् । उनी मतदाता मात्र थिइन् ।

    गणेश थापाका छोरा निर्वाचित

    कमल थापाका भाइ तथा नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाका गणेश थापाका कान्छा छोरा अभिषेक थापा पनि केन्द्रीय सदस्य विजयी भएका छन् ।अभिषेकले १३२७ भोट ल्याएका छन् ।

    (यसअघि प्रकाशित समाचारमा तथ्यगत त्रुटी देखिएकाले सच्याइएको)

  • राप्रपामा कमल थापाको प्रस्तावः गणतन्त्रवादी पनि अटाउने राजतन्त्र !

    राप्रपामा कमल थापाको प्रस्तावः गणतन्त्रवादी पनि अटाउने राजतन्त्र !

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्रबारेको नयाँ प्रस्ताव पार्टीमा अघि सारेका छन् । भृकुटीमण्डपमा जारी पार्टीको महाधिवेशनमा उनले पेश गरेको राजनीतिक दस्तावेजमा संसदको नियन्त्रणमा हुने गरी राजतन्त्र स्थान गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

    हिजो महाधिवेशन उद्घाटन समारोहमा थापाले नेपालमा राजादेखि विप्लवसम्मलाई स्पेस दिने गरी मौलिक खालको प्रजातन्त्र कायम राख्नुपर्ने बताएका थिए । उनको कार्यपत्रमा पनि राजतन्त्रदेखि गणतन्त्र पक्षधरहरु पनि अटाउने नयाँ मोडलको संवैधानिक राजतन्त्र जरुरी रहेको उल्लेख छ ।

    ‘सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रनितिनिधिहरूले गर्ने तथा संसदको परिधि र नियन्त्रणअन्तर्गत राष्ट्रियता र साँस्कृतिक एकताको प्रतीकका रुपमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसात गर्नेछ,’ कार्यपत्रमा भनिएको छ ।

    यो कार्यपत्रमाथि राप्रपाको बन्दसत्रमा छलफल जारी छ । थापाले राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था आवश्यक रहेको भन्दै सबैलाई अटाउन संसदको नियन्त्रणमा राजसंस्था जरूरी रहेको बताएका छन् ।

    पार्टीको सिद्धान्त सम्वद्र्धनवाद भएको उल्लेख गर्दै थापाले पेस गरेको कार्यपत्रमा भनिएको छ, ‘राप्रपा सम्वद्र्धनवादमा विश्वास गर्ने पार्टी भएकोले एक प्राचीन संस्थाको रुपमा राजसंस्थालाई समयानुकुल परिमार्जन गर्दै कायम राख्नुपर्छ भन्ने दृढ मान्यता राख्छ ।’

    विगत १२ वर्षको राजनीतिक घटनाक्रम तथा राजनीतिक अभ्यासले समेत राजसंस्थाको औचित्य पुष्टि हुँदै गएको कार्यपत्रमा उल्लेख छ । ‘प्राचीन संस्था भएको कारणले मात्र होइन नेपालको भू–राजनीतिक स्थिति, धार्मिक सामाजिक परिवेश एवं वर्तमान राजनीतिक अवस्थाको पृष्ठभूमिमा राजासहितको प्रजातन्त्रको सान्दर्भिकता पुष्टि हुन्छ,’ थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा उल्लेख छ ।

    राप्रपाले कुनै पनि शक्तिलाई निषेध गरेर दीगो शान्ति र स्थायित्व कायम हुन नसक्ने भन्दै कार्यपत्रमार्फत भनेको छ, ‘त्यसर्थ, राजादेखि माओवादीलगायतका सबै पक्ष, वर्ग र समुदाय अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास नै वर्तमान समयको आवश्यकता हो र त्यो सम्भव छ भन्ने राप्रपाको दृढ विश्वास छ ।’

    नेपालको संविधान जारी भएपछि नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यलाई स्वीकार गरिएको कार्यपत्रमा भनिएको छ ।

    ‘२०६२/६३ को जनआन्दोलनपछिको परिवर्तन एवं नेपालको संविधान २०७२ जारी भएपश्चात नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यप्रति पनि राप्रपा सचेत रहेको छ । त्यसर्थ, अबको राजसंस्था परिवर्तनका पक्षधरहरूलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुनेछ ।’

    राप्रपाले पार्टीको मुल सिद्धान्त र कार्यदिशा सम्वद्र्धनवाद भएको बताएको छ । थापाले सम्वद्र्धनवादलाई कार्यपत्रमा यसरी व्याख्या गरेका छन्ः
    सनातन धर्म, संस्कृति, मर्यादा, परम्परा, संस्थाहरूको संरक्षण र सम्वद्र्धन गर्दै तथा राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ तुल्याउँदै सबल र समृद्ध राष्ट्रनिर्माण गर्ने अवधारणालाई सम्वद्र्धनवाद भन्न खोजिएको हो ।

  • कमल थापाले भने- दुईतिहाइ पर्खेर बस्दैनौं, सडकको बलमा राजा फर्काइँन्छ (भिडिओ)

    कमल थापाले भने- दुईतिहाइ पर्खेर बस्दैनौं, सडकको बलमा राजा फर्काइँन्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद र सडकको बलमा राजसंस्था पुन:स्थापित गर्ने बताएका छन् । आफूहरूले सडकको शक्ति आर्जन गरिसकेपछि संविधानअनुसार दुईतिहाइ पर्खेर नबस्ने उनको भनाइ छ ।

    राप्रपा महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस उतारेर राजा फर्काउनले बताए ।

    थापाले भने, ‘अब हाम्रो नारा राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजा ल्याऊ हो । जुन दिन राप्रपाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस निरन्तर उतार्न सक्छ, त्यो अवस्थामा दुईतिहाइ धारा पर्खेर राप्रपा बस्दैन । संसदको शक्ति र सडकको शक्तिबाट राजालाई नागार्जुनबाट नारायणहिटीमा राख्ने काम जनताले गर्छन् ।’

    थापाले हिन्दू राष्ट्रको स्थापनाका लागि पनि संविधानको दुईतिहाइ पर्खेर नबस्ने बताए ।

    ‘जून दिन सडकको र संसदको शक्ति आर्जन गर्छौं, उपयुक्त बाटोबाट आफ्ना मान्यता स्थापित गर्नेछौं,’ थापाले भने ।

     

  • राजादेखि विप्लवसम्म अटाउने प्रणाली चाहियोः कमल थापा (भिडिओ)

    राजादेखि विप्लवसम्म अटाउने प्रणाली चाहियोः कमल थापा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी परिवर्तनको विरोधी नभएको दाबी गरेका छन् । तर, अहिलेको व्यवस्थाको समीक्षा हुनुपर्ने भन्दै उनले राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली देशलाई आवश्यक परेको बताए ।

    राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले राजसंस्थाको अस्तित्व नेपालको भूराजनीतिक वाध्यता भएको उल्लेख गरे । यदि यो वाध्यतालाई बिर्सिएमा नेपालको अस्तित्व खतरामा पर्ने उनको चेतावनी थियो ।

    ‘नेपालको राष्ट्रियता र एकताको प्रतिकका रुपमा, साझा संस्थाका रुपमा राजसंस्था हुनुपर्छ,’ थापाले भने । राजासंस्थाको कुरा गर्दा आफूहरूले ६३ सालभन्दा अगाडिको अवस्थामा फर्कन नखोजेको उनले बताए ।

    ‘हामी पुरानो व्यवस्थामा फर्किन खोजेको होइन । सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको कुरा गरेका हौं । राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणालीको निर्माण गरौं,’ थापाले भने ।

    उनले देशको राष्ट्रियता तथा राष्ट्रिय अस्मिता संकटपूर्ण अवस्थामा रहेको बताए । बाह्य शक्तिको प्रभाव बढेको र विदेशीको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा भएको उनको भनाइ थियो । वीपी कोइरालाले भनेजस्तै अहिले पनि देशलाई राष्ट्रिय मेलमिलापको आवश्यकता भएकोमा उनले जोड दिए ।

    ‘परिवर्तनकारी शक्ति र विचार तथा परम्परागत शक्ति र विचारका बीचमा सामञ्जस्यता अहिलेको आवश्यकता हो,’ उनले भने ।

  • समयको पदचाप बुझेर नेतृत्व छाड्न कमल थापालाई लिङदेनको आग्रह (भिडिओ)

    समयको पदचाप बुझेर नेतृत्व छाड्न कमल थापालाई लिङदेनको आग्रह (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं अध्यक्षका उम्मेदवार राजेन्द्र लिङदेनले समयको पदचाप बुझेर मार्गप्रशस्त गर्न अध्यक्ष कमल थापालाई आग्रह गरेका छन् ।

    भृकुटीमण्डपमा सुरू भएको राप्रपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङदेनले पार्टीका ३ अध्यक्षमध्ये पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले पुनः अध्यक्ष नबन्ने घोषणा गरेकोमा धन्यवाद दिए ।

    ‘हाम्रा अध्यक्षहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले महत्वपूर्ण कदम लिनुभएको छ । अहिलेका अध्यक्षलाई पनि आग्रह गर्दछु, समयको पदचाप बुझ्नुहोस् । राप्रपालाई अगाडि बढाउने बाटो खोलिदिनुहोस्’, लिङदेनले भने ।

    उनले पछिल्लो एकीकरणयता पार्टी निष्क्रिय बनेको भन्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा रहेका जनतालाई नेतृत्व गर्नपनि राप्रपाको कार्यकारी पदमा नयाँ नेतृत्व चाहिने बताए ।

    ‘हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा हजारौं जनता सडकमा छन् । तर, राप्रपा किन बेपत्ता अवस्थामा छ ? राप्रपाको गतिविधि २ वर्षदेखि शून्य भएको छ । यही शैलीबाट यो पार्टी अगाडि बढ्न सक्दैन । एकपटक कार्यकारी नेतृत्व फेरेरै हेर्नुपर्छ’, उनले भने ।

  • राप्रपाको एकता महाधिवेशन: यस्तो छ भृकुटीमण्डपमा राैनक (तस्बिरहरू)

    राप्रपाको एकता महाधिवेशन: यस्तो छ भृकुटीमण्डपमा राैनक (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भृकुटीमण्डमा सुरू भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले आगामी पाँच वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

    महाधिवेशन हलमा राप्रपा कार्यकर्ताहरू भरिभराउ छन् । अन्य पार्टीका नेताहरूलाई पनि निमन्त्रण गरिएको भए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाहेक अरु शीर्ष नेताहरूको उपस्थिति देखिएको छैन । मञ्चपछाडि राखिएको ब्यानरमा पार्टीका तीन अध्यक्षहरु पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाको तस्बिर राखिएको छ ।

    यस महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनको भिडन्त हुँदैछ । हाल तीन अध्यक्ष रहेको राप्रपा महाधिवेशनपछि एकल अध्यक्ष प्रणालीमा जानेछ ।

    हेर्नुस् उद्घाटन समारोहका केही तस्बिर :

     

     

  • राप्रपा महाधिवेशन : पदाधिकारीको दौडमा को-को छन् ?

    राप्रपा महाधिवेशन : पदाधिकारीको दौडमा को-को छन् ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘एकता महाधिवेशन’ आज काठमाडौंमा सुरू हुँदैछ । हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ ।

    हालका एक अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले भावी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । साविक तीन अध्यक्षमध्ये पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव नलड्ने घोषणा गरिसकेकाले अध्यक्षमा थापा र लिङदेनको द्विपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ । लोहनीले लिङदेनलाई समर्थन गर्ने बताएका छन् भने राणा अहिलेसम्म खुलेका छैनन् । यद्यपि राणाका पनि धेरै मानिसहरू लिङदेनकै समर्थनमा उभिएका छन् ।

    राप्रपामा अध्यक्षपछि उपाध्यक्ष र महामन्त्रीमा पनि चुनाव हुने व्यवस्था छ । पार्टीको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ । राप्रपाको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको हो ।

    अध्यक्षका दुवै दाबेदारले पदाधिकारीमा आ-आफ्नो प्यानल अघि सार्ने तयारी गरेका छन् । लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशम्शेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणा अध्यक्षकै आकांक्षी थिए । तर, पछि अध्यक्षमा लिङदेनलाई समर्थन गर्दै आफू महामन्त्री उठ्न तयार भएका हुन् । महामन्त्रीका लागि उनलाई सबैभन्दा बलिया आकांक्षीका रूपमा हेरिएको छ । आफ्नो पक्षबाट चार उपाध्यक्ष र तीन महामन्त्री उम्मेदवारहरूको सूची लिङदेन पक्षले आज साँझसम्ममा टुंगो लगाउने बताएको छ ।

    कमल थापा पक्षबाट उपाध्यक्षमा बुद्धिमान तामाङले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै महानमन्त्रीमा कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन् । बाँकी पदहरूमा भने थापा पक्षले पनि टुंगा लगाइसकेको छैन ।

    राप्रपामा अध्यक्षपछि उपाध्यक्ष र महामन्त्रीमा पनि चुनाव हुने व्यवस्था छ । पार्टीको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ । राप्रपाको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको हो ।

    पदाधिकारीका अन्य आकांक्षीहरूमा लिङदेन पक्षबाट श्याम तिमल्सिना गोविन्दराज खनिया, मुकुन्दश्याम गिरी, विन्दु पौडेल, दुर्गा श्रेष्ठ, रेखा थापा लगायतले पदाधिकारीको आशा गरेका छन् ।

    कमल थापा पक्षबाट भाष्कर गहतराज, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, भीम प्रसाद गौतन, अर्जुन राई, बसन्त मानसिंह अधिकारी, गीता बस्नेत, रोशन कार्कीलगायत नेताहरू उपाध्यक्ष र महामन्त्रीका आकांक्षी हुन् ।

    राप्रपामा उपाध्यक्ष र महामन्त्रीपछि सहमहामन्त्री, सहायक महामन्त्री, प्रवक्ताहरू रहने व्यवस्था छ । यद्यपि, तिनीहरू प्रतिनिधिको भोटबाट नभइ अध्यक्षबाट मनोनित हुन्छन् । विधानअनुसार ७ जना सहमहामन्त्री र ७ जना सहायक महामन्त्री मनोनीत हुनेछन् ।

    राप्रपाको १९९ सदस्यीय केन्द्रीय समिति रहने छ । जसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित भएर आउनेछन् भने बाँकी मनोनीत हुने व्यवस्था छ ।

  • भविष्यमा पार्टी फुट्न नदिने संकल्पका साथ राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा (भिडिओ)

    भविष्यमा पार्टी फुट्न नदिने संकल्पका साथ राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । मंसिर १५ देखि १९ गतेसम्म राप्रपाको महाधिवेशन हुँदैछ ।

    राजधानीमा आयोजित एक कार्यक्रममा थापाले पार्टी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले उम्मेदवारी घोषणा गर्दै भविष्यमा राप्रपालाई विभाजन हुन नदिने संकल्प व्यक्त गरे । पार्टीका वयोवृद्ध नेता लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापालगायतको आफूलाई आशीर्वाद रहेको थापाले बताए ।

    केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्ष लड्ने घोषणा गरेका थिए ।

  • कमल थापाले भने- यी दुई कामका लागि ओली र एमालेलाई मुलुकले सम्झिरहनेछ (भिडिओ)

    कमल थापाले भने- यी दुई कामका लागि ओली र एमालेलाई मुलुकले सम्झिरहनेछ (भिडिओ)

    चितवन । राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण २ कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई स्मरण गरिरहने बताएका छन् ।

    एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै थापाले सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको बताए । त्यस्तै लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताए ।

    ‘२ वटा प्रमुख कामका निम्ती केपी ओली र यो देशले सम्झिराख्नेछ । पहिलो काम मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो । दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ’, थापाले भने ।

    उनले २०६३ सालको राजनीतिक परिवर्तनबारे एमालेले समीक्षा गर्नुपर्ने सुझाव पनि दिए ।

  • परमादेश लेनदेनको आधारमा थियो, गठबन्धन नांगो भयो- कमल थापा

    परमादेश लेनदेनको आधारमा थियो, गठबन्धन नांगो भयो- कमल थापा

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले मन्त्रिपरिषद्मा निर्दलीय व्यक्तिको सहभागिताले असार २८ को परमादेश लेनदेनको आधारमा भएको प्रमाणित गरेको बताएका छन् ।

    मन्त्रिपरिषद्मा गजेन्द्र हमालको नियुक्तिलाई लिएर टिप्पणी गर्दै थापाले यसले कानूनी राज्यको अवधारण र लोकतन्त्रको चिरहरण भएको बताएका छन् ।

    थापाले गठबन्धन नांगो भएको भन्दै प्रधान न्यायाधीले पदमा रहनै नैतिकता गुमाएको दावी गरेका छन् ।

  • ब्रम्हलुट गर्ने व्यवस्था टिक्दैन, धर्मनिरपेक्षता र संघीयता खारेज गरौं– कमल थापा ।

    ब्रम्हलुट गर्ने व्यवस्था टिक्दैन, धर्मनिरपेक्षता र संघीयता खारेज गरौं– कमल थापा ।

    मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्ष र संघीयता खारेजीको माग गरेका छन् । नयाँ व्यवस्थाले ब्रह्मलूटलाई प्रश्रय दिने गरेको आरोप उनको थियो ।

    ‘शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने विकल्पसहित अहिलेको व्यवस्था खारेजीको माग उनको छ । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए ।

    मुलुकमा ब्रम्हलुटको अबस्था रहेको, महालेखा परिक्षकको प्रतिबेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने टिप्पणी गरे ।

    राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रस्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउनेतर्फ सजग हुनुपर्ने उनको भनाई छ ।

    करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनितिलाई कमाई खाने माध्यम बनाउन दिन नहुनेतर्फ मतदाता सजग हुनुपर्ने बताए ।

    दार्चुलाका जय सिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको भन्दै थापाले राष्ट्रियता सर्बोपरी बन्नुपर्नेमा जोड दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी कार्यसम्पादन समिती सदस्य राजाराम बर्तौलाले सिद्धान्त ,नीति बिचार कमजोर बनाउने षड्यन्त्र प्रती कार्यकर्ता चनाखो हुनुपर्ने भन्दै भ्रमलाई चिरेर पार्टी र बिचार स्थापना गर्ने अभियानमा सक्रियतापुर्बक कृयाशिल हुन आग्रह गरे।

  • कमल थापाको टिप्पणी- सत्तामा पुग्न नेताहरुमा आत्मसमर्पणवादी प्रवृत्ति मौलायो

    कमल थापाको टिप्पणी- सत्तामा पुग्न नेताहरुमा आत्मसमर्पणवादी प्रवृत्ति मौलायो

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणबादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताएका छन् ।

    मकवानपुरको बकैया गाउँ पालिका–३ हात्तीसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउँछ भन्ने आशा गर्न नसकिने दावी गरे । उनले भने ‘जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ ।’

    धर्म, संस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भव नहुने भन्दै थापाले राष्ट्रियता , स्वाधीनतासँगै धर्म ,संस्कृती र पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

    लोभ, लालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै उनले कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोवलसहित स्थानीय तहको निर्वाचनको तयारीमा अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा , बद्री कुँवर ,दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ ,अर्जुन तिमल्सिना ,भरत लामिछाने , राजाराम अर्याल, भृगु कार्कीलगायतको उपस्थिति थियो।

  • कमल थापाले त्यागे स्थानीय तह निर्वाचन परिचालन समितिको नेतृत्व

    कमल थापाले त्यागे स्थानीय तह निर्वाचन परिचालन समितिको नेतृत्व

    काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीद्वारा गठित स्थानीय तह निर्वाचन परचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । थापाले अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकलाई सो जिम्मेवारी लिन वा अन्य वरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह समेत गरेका छन् । आफूले जिम्मेवारी त्याग्नुको कारण उनले खुलाएका छैनन् ।

    राप्रपाले अध्यक्ष थापाको नेतृत्वमा गत साउन ८ गते मात्रै स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको थियो । गठन भएको एक महिना नपुग्दै थापाले जिम्मेवारी त्यागेका हुन् । पार्टीमा तीन अध्यक्षहरुबीच विभिन्न विषयमा मतभेद रहँदै आएको छ ।

  • कमल थापाले भने- संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्न, अब बाटो बदलौं

    कमल थापाले भने- संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्न, अब बाटो बदलौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनितिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि पुन: प्रश्न चिन्ह खडा भएको बताएका छन् ।

    स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभइ व्यवस्था, नेता नभइ नीति र चालक नभइ बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

    संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार हुनुपर्ने उनको माग छ । थापाले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रकरणले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने काम गरेको भन्दै सरकारको पछिल्लो कदमको आलोचना गरे । सत्तारूढ दल कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको थापाको भनाइ थियो ।

    बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका पदाधिकारी सदस्य, सचिवालय प्रमुख , नगर अध्यक्षहरू, स्थानीय निर्वाचनका प्रत्यासीहरू, जनप्रतिनिधिहरू सहभागी रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

  • कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिड्यो– कमल थापा

    कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिड्यो– कमल थापा

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले दल विभाजन सहज हुने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोको हिँडेको आरोप लगाएका छन् ।

    सामाजिक सन्जालमार्फत उनले संविधानको धारा ७६ (५)को प्रयोग गर्दा निर्दशीय हुन पाउने सर्वोच्च अदालतको व्याख्यालाई पनि शुभ संकेन मान्न नसकिने बताएका छन् ।

    अपवित्र गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणालीलाई कमजोर पार्ने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ,’ उनले ट्वीटमा भनेका छन् ।

  • स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन खोज्नु आपत्तिजनक : कमल थापा

    स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन खोज्नु आपत्तिजनक : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश तह खारेज गर्नुपर्ने बताएका छन् ।

    संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउने उल्लेख गरेकोमा आपत्ति जनाउँदै थापाले प्रदेश तह राष्ट्रका लागि बोझ बनेको टिप्पणी गरेका हुन् ।

    ‘राष्ट्रको लागि बोझ बनेको प्रदेश तह खारेज गरी स्थानीय तहलाइृ अझ बढी साधन स्रोत र अधिकार सम्पन्न तुल्याउनुपर्छ । सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो’, थापाले ट्वीट गरेका छन् ।

    थापा नेतृत्वको राप्रपाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता खारेज हुनुपर्ने राजनीतिक अडान राख्दै आएको छ ।

  • विप्लवले भेटे कमल थापा, तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा

    विप्लवले भेटे कमल थापा, तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा

    काठमाडौं । राजनीतिक भेटघाटलाई पछिल्लो समय तीव्र पारिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राप्रपा अध्यक्ष कमल थापासँग भेट गरेका छन् ।

    विप्लव आफ्ना केही नेता लिएर थापालाई भेट्न गएका थिए । भेटमा समसामयिक राजनीतिक परिवेशबारे छलफल भएको बताइएको छ ।

    सोक्रममा राप्रपा अध्यक्ष थापाले केपी ओलीसरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको प्रष्ट्याएका छन् ।

    विप्लवले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता बाबुराम भट्टराईलगायतसँग भेट गरिसकेका छन् ।

  • रावलको राजीनामाप्रति कमल थापाले भने – उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन

    रावलको राजीनामाप्रति कमल थापाले भने – उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सांसद पदबाट राजीनामा दिएर एमाले नेता भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन् ।

    रावलको राजीनामा बारे ट्वीटरमा आफ्नो धारणा व्यक्त गर्दै थापाले राष्ट्रियता र प्रजातन्त्रको सवालमा पनि रावलको अडान प्रशंसनीय रहेको टिप्पणी गरेका छन्।

    ‘विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजीनामा दिएर उहाँले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ,’ उनको भनाइ छ, ‘विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा. रावलको अडान प्रशंसनीय रहेको छ। राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना।’

    शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले राजीनामाको घोषणा गरेका थिए ।

  • माधव नेपालमाथि कमल थापाको लघुकथा-आफ्नो सेनापतिलाई हराएर जित्यौं भन्दै सगौरव घर फर्केछन्

    माधव नेपालमाथि कमल थापाको लघुकथा-आफ्नो सेनापतिलाई हराएर जित्यौं भन्दै सगौरव घर फर्केछन्

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले एमालेको माधव नेपाल पक्षका २३ सांसदप्रति लघुकथामार्फत व्यंग्य गर्दै विरोधीलाई जिताएर सगौरव घर फर्केका सेनानीको संज्ञा दिएका छन् ।

    थापाले को जित्यो को हार्‍याे ? भन्दै एउटा देशको सेनापतिसँग असन्तुष्ट भएका २३ सेनानी विदेशी फौजसँग मिल्न गएको र सबैको सहयोग लिएर सेनपातिलाई पराजित गरेपछि सगौरव घर फर्केको विम्व प्रयोग गरेर लघुकथा लेखेका छन् ।

    थापाको लघुकथा यस्तो छ, ‘एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्।ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए।अनि ‘पञ्च भलादमी’समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ,जित्यौँ’ भन्दै सगौरव घर फर्केछन्

    राप्रपा अध्यक्ष थापाले ताजा जनादेशले मात्र मुलुकलाई निकास दिने धारणा निरन्तर व्यक्त गर्दै आएका छन् । उनले सर्वोच्चको सोमवारको फैसलालाई ‘गोरु व्याएको’ भन्दै व्यंग्य गरेका थिए ।

  • राजेश्वरलाई सम्झिँदै कमल थापाले भने- सर्वोच्चमा गोरु ब्यायो

    राजेश्वरलाई सम्झिँदै कमल थापाले भने- सर्वोच्चमा गोरु ब्यायो

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलाप्रति टिप्पणी गर्दै यसलाई राजनीतिक फैसला भनेका छन् ।

    उनले राप्रपाका संस्थापक नेता तथा वरिष्ठ राजनीतिज्ञ स्वर्गीय राजेश्वर देवकोटाको शब्द सापटी लिँदै ‘सर्वोच्चमा गोरु ब्यायो’ भनेका छन् । देवकोटाले २०५२ भदौ १२ को फैसलाप्रति टिप्पणी गर्दै सर्वोच्चमा ‘गोरु ब्यायो’ भनेका थिए ।

    त्यसबेला सर्वोच्चले एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीको संसद विघटनलाई बदर गरेको थियो ।

    थापाले भनेका छन्, ‘वरिष्ठ राजनितिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ (सर्वोच्च अदालतमा आज गोरू ब्यायो) राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’

  • चुनावको विरोध गर्नेहरू विदेशीलाई कम्फरटेबल सरकार बनाउन चाहन्छन् : कमल थापा

    चुनावको विरोध गर्नेहरू विदेशीलाई कम्फरटेबल सरकार बनाउन चाहन्छन् : कमल थापा

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाइने नजिर सर्वोच्च अदालतबाट कायम भएमा भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन र अस्थिरताले वैधानिकता पाउने जिकिर गरेका छन् ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको रिट निवेदकले धारा ७६(५)मा सांसदलाई दलीय ह्वीप नलाग्ने दावी गरिरहेका बेला थापाले संविधानको आशयमाथि समेत प्रश्न उठाएका छन् ।

    उनले भनेका छन्, ‘विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम छ । त्यस अवस्थामा संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ । के संविधानको आशय त्यही हो ?’

    अध्यक्ष थापाले हालको अस्थिरता र संकट समाधानको संवैधानिक बाटो चुनाव नै हो भन्दै प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले विदेशीलाई कम्फरटेबल सरकार बनाइ भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृंखला चलाउन खोजिरहेको आरोप लगाएका छन् ।