Tag: कमलपोखरी

  • कमलपोखरी पुनर्निर्माणको काम पाँच प्रतिशत बाँकी

    कमलपोखरी पुनर्निर्माणको काम पाँच प्रतिशत बाँकी

    काठमाडौँ । कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । पुनर्निर्माणपछि पोखरीमा पानी भरिएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आज कमलपोखरीको अवलोकन गर्दै करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

    पोखरी पुननिर्माणका क्रममा केही समय विवाद र अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण भएको देख्दा आफूलाई खुसी लागेको मेयर शाक्यको भनाइ छ । कमलपोखरीको निर्माण सम्पन्न गरी छिट्टै उद्घाटन गर्ने र सबैका लागि खुला गर्ने समेत उनले बताए ।

    कमलपोखरीलाई रानीपोखरीभन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेको शाक्यको भनाइ छ । ‘एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण अघि बढाएका छौँ,’ उनले भने । कमलपोखरीमा पानी पुनर्भरण र पानी शुद्धीकरण गर्ने योजनासमेत रहेको छ ।

    वर्षौंदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुनर्निर्माण गर्दै पुनर्जीवन दिइएको मेयर शाक्यले बतए । उनले पोखरी अवलोकन गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरूको प्रवर्द्धन र संरक्षण गर्ने महानगरपालिकाको अभियान रहेको भन्दै त्यही अभियानअन्तर्गत कमलपोखरीको पुनर्निर्माणको काम संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएको बताए ।

    पोखरी पुननिर्माणको पहिलो चरणको काम सम्पन्न गर्ने वित्तिकै अब दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात पहिला कमलपोखरी प्रहरी बीट रहेको करीब पाँच रोपनी क्षेत्रलाई विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्ने समेत शाक्यले जानकारी दिए ।

    उनले महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरूप काम अघि बढेकोसमेत बताए । करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको छ ।

    ‘पोखरी निर्माणमा नेपाली इटा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्थासमेत गरिएको छ । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहने छन् । काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्थासमेत गरेको जानकारी दिए । श्रेष्ठकाअनुसार पोखरी निर्माणमा शौचालयको निर्माण र रंगरोगनलगायतको मात्रै काम बाँकी छ ।

  • कमलपोखरीको पुनःनिर्माण ८५ प्रतिशत सम्पन्न, पानी भर्न शुरु

    कमलपोखरीको पुनःनिर्माण ८५ प्रतिशत सम्पन्न, पानी भर्न शुरु

    काठमाडौं । पुनःनिर्माण भइरहेको कमलपोखरीको ८५ प्रतिशत काम सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको कामसँगै पोखरीमा पानी भर्ने काम भइरहेको छ । आगामी दुई हप्ताभित्र काम सबै सक्ने गरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ ।

    सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको काठमाडौँ महानगरपालिका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए । उनका अनुसार अबको केही दिनभित्र पोखरीमा पानी राख्ने काम पनि सकिन्छ । पुनःनिर्माणपछिको शुरवाती चरणमा एक करोड ५० लाख लिटर पानी भर्ने तयारी काठमाडौं महानगरपालिकाको रहेको छ ।

    केही दिनअघि नै पोखरीमा पानी भर्न शुरु गरे पनि भर्ने काम सकिएको छैन । अहिलेसम्ममा २० लाख लिटर पानी मात्र पोखरीमा राखिएको छ । काठमाडौं महानगरपालिकले सम्पदा पुनःनिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा काठमाडौं महानगर पालिकको ध्यान केन्द्रित भएकाले अनावश्यक भ्रम सिर्जना नगर्न सबैमा आग्रह गरेको छ । यस पोखरी निर्माणको काम एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते पुनःनिर्माणका लागि शिलान्यास भएको थियो ।

    पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । उद्यान अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना-साना पोखरी बनाइनेछन् । आगन्तुक बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन् । वरिपरि बिजुली जडान गरेर झिलिमिली पारिनेछ । त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ ।

    पूर्वतिर मूलद्वार हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ । काठमाडौं महानगरपालिकले यसअघि नै कमलपोखरी विस्तार योजनाअनुरुप महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे-राधेको सत्सङ्ग रहेको स्थानलाई पनि खुला गरिसकेको छ ।

    काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार पोखरीको चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने काम भइरहेको छ । त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौँ । उनले बाहिर चर्चा गरेजस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग नगरिएको पनि दाबी गरे । काठमाडौं महानगर पालिकले करीब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट शुरु गरेको हो । त्यसका लागि रु ६ करोड ३६ लाखको ठेक्का रहेको छ ।

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मूर्त-अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मतसम्भार तथा जीर्णोद्धारको काम कामपाको दायित्व रहेकाले सोही अनुरुप यस पोखरी पुनःनिर्माण अघि बढाइएको बताउछन् । प्रमुख शाक्यले भने, ‘अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस् भन्दा पुरातत्व विभाग आफूलाई थाहा छैन भन्छ । कमलपोखरी पुनःनिर्माण गर्दा त्यहाँको वातावरण कसरी बिग्रियो भन्दा त्यसको तथ्यमा उत्तर कसैले दिँदैन । यस प्रकारको विरोधलाई कसरी बुझ्नु ? यो त विरोधका लागि विरोधमात्र हो ।’

    कमलपोखरी पुनःनिर्माणका क्रममा पोखरीको माटो निकालेर आधुनिक निर्माण सामग्री प्रयोग गरी ऐतिहासिक सम्पदाको अस्तित्व विलीन गर्न खोजिएको भन्दै रानीपोखरीमा जस्तै पुरानै शैलीमा निर्माण गर्नुपर्ने सम्पदाप्रेमी आलोक तुलाधारको धारणा छ । आधुनिक निर्माण सामग्री प्रयोग नगर्न र पोखरीको अतिक्रमित जमीन फिर्ता ल्याउने विषयमा कामपालाई पटक-पटक लिखितरूपमा ध्यानाकर्षण गराउँदासम्म सुनुवाइ नगरेको आरोप उनले लगाए ।

  • कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न, पोखरीमा २० लाख लिटर पानी भरियो

    कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न, पोखरीमा २० लाख लिटर पानी भरियो

    काठमाडौँ । कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । अब फिनिसिङ र बत्तीलगायतको काम मात्र बाँकी रहेकोले त्यो पनि दुई हप्ता भित्र सम्पन्न हुने निर्माण कम्पनी जय धनञ्जय कडेँल निर्माण सेवा जेभीले जनाएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको निरिक्षणका क्रममा निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ता भित्र पुननिर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

    सिटौलाले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरी काम भैरहेको भए पनि भक्तपुर र ललितपुरको बुङमतीका कामदारले काम गरिरहेको र उनीहरु पछिल्लो समय नेवार संस्कृतिका चाडका कारण विदामा बसेकाले केही दिन ढिलाई भएको पनि जानकारी गराएका छन् ।

    निरिक्षणका क्रममा प्रमुख शाक्यले सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन पनि दिएका छन् । उनले भने ‘चैत मसान्तसम्म काम सक्ने गरी हामीले ठकेकेदार कम्पनीलाई अन्तिम मौका दिएका हौँ,’ शाक्यले पोखरीतिर देखाउँदै भने, ‘केही दिन भित्रै यो पोखरीमा पानी टनाटन बनाउने तयारीमा छौँ । हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ ।’

    प्रमुख शाक्यसँगै रहेका काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले कमलपोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी गराए । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ । हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’ उनले भने ।

    करीब एक घण्टा कमलपोखरीको निरीक्षण गरेका प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गरे । शाक्यले निरीक्षणकै क्रममा कमलपोखरीमा ४ ओटा कुनामा आकर्षक र संस्कृति झल्किने ४ वटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी ५ वटा मण्डप रहने जानकारी गराए ।

    उनले पहिला बेबारिसे र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको भन्दै डिजाइनमा पनि ती सबै कुरालाई ध्यान दिएको प्रष्ट पारे ।

    ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान रहेको भन्दै प्रमुख शाक्यले त्यहि अभियान अन्तरगत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको पनि स्मरण गराए । ‘यो अभियान अघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ, दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’ उनले भने ।

    काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ । करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि महानगरपालिकाले जनाएको छ । पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ ।

    निरीक्षणका क्रममा प्रमुख शाक्यले निर्माण कम्पनीका प्रतिनिधिसँग पुननिर्माणको काममा ढिलासुस्ती भएको भन्दै पटक–पटक सयमसिमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको स्पष्ट पारे । उनले भने । ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार भैरहेको छैन, पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ । त्यो सबै विवरण मलाई तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहियो ।’ शाक्यले निरीक्षणका क्रममा डिजाइन अनुसार तलमाथि नहुने गरी काम पनि निर्देशन दिएका छन् ।

  • कमलपोखरीमा साढे दुई करोड लिटर पानी हाल्दै काठमाडौँ महानगर

    कमलपोखरीमा साढे दुई करोड लिटर पानी हाल्दै काठमाडौँ महानगर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुननिर्माण चैत मसान्तासम्ममा सम्पन्न गर्ने गरी तिव्र गतिमा कार्य भैरहेको जनाएको छ। पोखरीमा केही दिनमै पानी भर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिएका हुन् ।

    ‘पोखरी पुननिर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । केही दिनमै हामी कमलपोखरीमा साढे दुई करोड लिटर पानी भर्ने तयारीमा छौँ,’ प्रमुख शाक्यले भने ‘हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ । अब केही दिनमै पहिलो चरणमा पोखरीमा टनाटन पानी भर्छौ ।’

    काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने जानकारी दिए । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरी करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको भन्दै काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेम श्रेष्ठले उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई द्रुतरुमा अघि बढाएको बताए ।

    करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने महानगरपालिकाको दाबी छ । कमलपोखरी नौ वटा चैत्य रहने छन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ । पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाको तयारी छ ।

  • काठमाडौं महानगरअघि अभियन्ताको धर्ना

    काठमाडौं महानगरअघि अभियन्ताको धर्ना

    ‘विकासको नाममा प्रतिगमन’ भन्दै आन्दोलन गरिरहेका अभियन्ताहरूले आज काठमाडौं महानगरपालिका कार्यालयअघि धर्ना दिएका छन् ।

    बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा भइरहेको प्रदर्शनअन्तर्गत आइतबार महानगरपालिकाअघि विरोध प्रदर्शन गरिएको हो ।

    चक्रपथ विस्तारमा आफूहरूलाई उठिबास लगाएको प्रदर्शनकारीहरूको गुनासो छ । त्यस्तै कमलपोखरीमा कंक्रिटको कमल फूल राख्ने कार्यप्रति पनि आपत्ति जनाइएको छ ।

    
    
  • भूमाफियाबाट कमलपोखरी जोगाउन नगरप्रमुखकै नेतृत्वमा सयौँ मध्यपुर बासिन्दा उर्लिए

    भूमाफियाबाट कमलपोखरी जोगाउन नगरप्रमुखकै नेतृत्वमा सयौँ मध्यपुर बासिन्दा उर्लिए

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका सयौँ बासिन्दा उर्लिएका छन् ।

    भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा आज मध्यपुरथिमिका बासिन्दा, जनप्रतिनिधि एवं कमलपोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना दिएका छन् ।

    मध्यपुरथिमि बोडे, नगदेशलगायत बासिन्दा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधि र संरक्षण समितिका संयोजक गणेशमान चक्रधरको नेतृत्वमा स्थानीय बासिन्दासहित सयौँले अदालत अगाडि कमलपोखरी जोगाउन माग गर्दै प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

    स्थानीय बासिन्दाले परापूर्वकालदेखि सार्वजनिकरुपमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको उक्त पोखरीको अवैध दर्ता एवं किनबेच भएपछि यसलाई सार्वजनिकरुपमा नै कायम गर्दै जोगाउन सयौ नगरवासी उर्लिएको समितिका संयोजक चक्रधरले बताए ।

    मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफूहरु सानो छँदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको आफूले थाहा पाएको बताए ।

    भक्तपुर जिल्ला अदालतले सार्वजनिक पोखरी नै रहने फैसला गरेलगत्तै मध्यपुरथिमि नगरपालिकाले पोखरीको संरक्षण गर्दै बोट चलाएर आन्तरिक पर्यटकको गन्तव्य स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ ७५ लाख बजेट विनियोजन गरी पोखरीको संरक्षण शुरु गरिसकेको नगरप्रमुख श्रेष्ठले बताए ।

    फैसला भएको भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले पोखरीमा डोजर लगाएर सम्याउने र सफा गर्ने काम गरेको थियो । उनले भने, ‘यो धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पोखरीको संरक्षण गर्दै बोट सञ्चालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने गरी गुरुयोजनासहित काम अगाडि बढाएका छौँ।’

    तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते उक्त पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारिसनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौँको ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको हो ।

    जसमध्ये १३ रोपनी नौ आना ग्ल्याल्पोको नाममा, एक रोपनी तेन्जी शेर्पेनीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ ।

    सार्वजनिक पोखरीलाई व्यक्तिको नाउँमा दर्ता गरी विभिन्न व्यक्तिलाई बिक्री गरेपछि स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन् ।

    त्यसपछि बोडे, नगदेशका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर व्यक्तिको नाममा गएको सो पोखरी सार्वजनिकरुपमै फर्काउन माग गर्दै दायर गरेको रिटको भक्तपुर जिल्ला अदालतले २०७५ साल असार १९ गते मङ्गलबार न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले बोडे क्षेत्रको उक्त कमलपोखरी ‘पलेस्वाँ पुखु’ सार्वजनिक सम्पत्ति रहेको फैसला सुनाएको थियो ।

    बोडेको यो कमलपोखरीमा फुलेको फूलले स्थानीय लायकू दरबारमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने र साउनमा हुने नीलबाराही नाचमा सोही पोखरीमा फुलेको कमलको फूल चढाएर जात्रा चलाउने परम्परा सयौँ वर्षदेखि रहेको स्थानीय बासिन्दा एवं वडा नं ९ का वडाध्यक्ष रामकाजी चक्रधरले जानकारी दिए ।

    पोखरी किनबेच भएपछि केही व्यक्तिले पोखरी पुरेर भवन बनाउन माटो ल्याउँदा स्थानीयवासीले थाहा पाएर लखेटेको बताउँदै उनले ऐतिहासिक पोखरीलाई पोखरीकै रुपमा कायम गर्ने बताए ।

    संरक्षण समितिका संयोजक चक्रधरले भूमाफियाले सार्वजनिक पोखरी नै दर्ता गरेर बिक्री गरेको बताउँदै यसलाई सार्वजनिक पोखरीकै रुपमा फर्काइनुपर्ने बताए । जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालतले सदर गर्नुपर्ने स्थानीयवासीको माग रहेको उनले बताए ।

    सार्वजनिक पोखरीलाई व्यक्तिका नाममा दर्ता गरेर ऐतिहासिक पोखरीमा कुनै पनि संरचना बनाउने सपना नदेख्न पोखरी खरीदकर्तालाई आग्रह गर्दै स्थानीयवासी वीरेन्द्र जयनाले कमलपोखरीलाई कुनै पनि हालतमा स्थानीयवासीले पोखरीकै रुपमा कायम गर्ने बताए । रासस

  • कमलपोखरीमा विद्यासुन्दर र गगन थापा किन भए आमनेसामने ?

    कमलपोखरीमा विद्यासुन्दर र गगन थापा किन भए आमनेसामने ?

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तत्कालीन सभासद गगन थापाले कमलपोखरीको पुनर्निमाण तत्काल रोक्न माग गर्दै गत पुस २९ गते काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेखे । तर, शाक्यले कुनै सुनवाइ नगरेपछि उनी अहिले विभिन्न अभियन्ताको साथ लिएर महानगरपालिकालाई दवाव दिइरहेका छन् ।

    कमलपोखरी काठामाडौंको निर्वाचन क्षेत्र ४ मा पर्छ, जहाँबाट निर्वाचित सभासद हुन् गगन । आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको विकासको काममा उनको चासो स्वभाविक पनि हो । कमलपोखरीको पुनर्निमाण गर्दा यसको प्राकृतिक स्वरूप मास्न लागिएको उनको दावी छ । वास्तविक पोखरी साँघुरो बनाइएको र कंक्रिटको प्रयोग गरिएको विषयमा पनि उनले आपत्ति जनाएका छन् ।

    यता मेयर शाक्यले भने कमलपोखरीको डिजाइन गर्दा गगन पनि संलग्न रहेको बताएका छन् । तीन दिनअघि काठमाडौं नगरसभाको अधिवेशनलाई सम्वोधन गर्दै उनले कमलपोखरीको एक इन्च पनि जमिन अतिक्रमण नभएको पनि दावी गरे । गगनले पठाएको पत्रका सन्दर्भमा उनले अनभिज्ञता दर्शाए ।

    ‘उहाँले पत्र पठाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ, मैले पढ्न पाएको छैन,’ शाक्यले भने, ‘समाचारहरुमा आएका अरु कुरामा पनि सत्यता छैन ।’

    कांग्रेसबाट निर्वाचित उपमेयर हरिप्रभा खड्गीले पनि आफू निर्माण रोक्नुपर्ने पक्षमा नरहेको बताएकी छन् ।

    निर्माणमा ढिलाइ र विवादको चुरो

    काठमाडौंका ९ पोखरीमध्ये एक कमलपोखरी लिच्छविकालीन हो । सो पोखरीमा एक वृद्धले टौदहबाट कमलको फूल ल्याएर रोपेको ऐतिहासिक कथन छ ।

    पोखरीमा कमलको फूलले ढाकेपछि यसको नामै कमलपोखरी राखिएको किंवदन्ति छ । यसैलाई आधार मान्ने हो भने यो पोखरी शताब्दी पुरानो रहेको सम्पदाविद्हरू बताउँछन् ।

    काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकै वर्ष छठ पर्वका दिन कमलपोखरी पुगेका विद्यासुन्दर शाक्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘पोखरी’ लाई व्यवस्थित र आकर्षक बनाउन निर्देशन दिइन् । लगत्तै मेयर शाक्यले कमलपोखरी पुनर्निर्माणको योजना बनाए ।

    मेयर तातेपछि पुनर्निर्माणका लागि करीब ९ करोड ४७ लाख रुपैयाँको लागत इष्टिमेट तयार भयो । महानगरले जय धनञ्जय कँडेल जेभी कम्पनीलाई ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँमा ठेक्का दियो ।

    २०७७ साल असार १५ गतेसम्म पुनर्निर्माण सम्पन्न हुने गरी २०७६ असार १९ गते पोखरीको शिलान्यास भएको थियो । तर शिलान्यास भएको एक वर्षसम्म पनि पुनर्निर्माणको काम शुरू नभएपछि सम्पदा बचाउ अभियन्ता र स्थानीयवासीले चिन्ता व्यक्त गर्न थाले ।

    एक वर्षसम्म पनि काम शुरू नभएपछि अभियन्ताहरूले महानगरलाई दबाब दिन शुरु गरे । फलस्वरुप दशैंअघि निर्माण कम्पनीले पोखरीमा भएका माछा बिक्री गरी पानी सुकायो । सम्पदा बचाउ अभियन्ताहरू रानीपोखरीको जस्तै कमलपोखरीमा पनि ज्यादती हुनसक्ने भन्दै सचेत भए ।

    प्राकृतिक पोखरीमा एकाएक कंक्रिटको कमल फुलाउन लागिएको भन्दै अभियन्ताहरू जुर्मुराएका छन् । कमलपोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाई पोखरीको आकारसमेत घटाइएको अभियन्ता आलोकसिद्धि तुलाधरको दावी छ । सोमबार मध्यरातमा पोखरीभित्रै डोजर लगेर माटो अन्यत्र लगिएको उनले बताए ।

    पछिल्लो समय महानगरले कमलपोखरीमा एकपछि अर्को गर्दै कंक्रिट प्रयोग गरी पुनर्निर्माण शुरू गर्न थालेको छ । यो एक हप्तामा कमलपोखरीमा ठूलै उथलपुथल भएको छ । अभियन्ताको ज्ञापन, पुरातत्व विभागको पत्र, स्थानीय सांसदको पत्र समेतलाई महानगरले लत्याएपछि कुनै उपाय नलागेर कानूनी बाटोमा पुगेको अभियन्ता तुलाधर बताउँछन् ।

    ‘हामीले ज्ञापनपत्र बुझाएका हौं । मेयर सा’ब अफिसमा नभएपछि सचिवलाई बुझाएका थियौं । पुरातत्व विभागको पत्र पनि छ । पत्र हातैमा परेन भन्ने बच्चा पाराको कुरा गरेर त हुँदैन नि ! मुख्य कुरा मुद्दा हो कि पत्र हो ? पत्र अनुसार काम गर्ने हो नि त ! नियत नै खराब छ । अदालतको आदेश नै नमान्ने महानगर छ’, अभियन्ता तुलाधरले भने ।

    पुरातत्व विभाग र अभियन्ताले बुझाएको पत्रअनुसार महानगरले काम गर्न नरोकेपछि अभियानकर्मीले सर्वोच्च अदालतमा तत्काल काम रोक्न अन्तरिम आदेशका लागि रिट दायर गरेका छन् । अभियन्ताहरूले अतिक्रमित भएको जग्गा फिर्ता हुनुपर्ने, मिचिएको जग्गा सार्वजनिकीकरण हुनुपर्ने माग राखेका छन् ।

    सर्वोच्चले अन्य मिचिएका, व्यक्तिका नाममा दर्ता भएका पोखरीहरू ‘पोखरी’ नै कायम गरिदिएको आशमा अभियन्ताहरू अदालत पुगेका हुन् । तुलाधर महानगरको अहिलेको काम रोक्ने ठूलो आश भनेकै सर्वोच्चको आदेश भएको बताउँछन् ।

    सरकारको रेकर्डमा ४८ रोपनी भए पनि हाल २२ रोपनी जग्गा मात्रै कमलपोखरीको रहेको छ । हाल महानगरको डिजाइनमा कंक्रिट पोखरी बनाउने र चारैतिर डिल बनाउने भनिएको छ । तर यसअघिको पोखरीमा भने डिल नभएको दाबी गर्छन् अभियन्ता ।

    महानगरले बनाएको डिजाइनमा पोखरीको बीचमा ठूलो ढलानको कमल रहेको छ जसमा बत्ती र फोहोरा हुन्छ । प्राकृतिक रूपमा फुल्ने फूलहरू हटाएर, पानी सुकाएर, माटो रातारात निकालेर मानवनिर्मित पानी राखेर, कंक्रिट ढलान गरेर कमल बनाउनुको अर्थ नहुने भन्दै सम्पदाप्रेमीहरू आन्दोलनमै उत्रिएका छन् ।

    अभियानकर्मीले पोखरीको माटो अनुहारमा दलेर सम्पदा जोगाउने ‘प्ले कार्ड’सहित प्रदर्शन गरेका थिए । यो अभियानलाई गगन थापाको साथ छ । कमलपोखरी पुनर्निर्माणको क्रममा भइरहेको कमजोरीका सम्बन्धमा उनले कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पोर्टस् क्लब र स्थानीय बासिन्दासँग छलफल गरेका थिए ।

    महानगरले अविलम्ब सबै पक्षसँग एकसाथ छलफल गरी पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी सौन्दर्यीकरणको कामलाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । यो सुनिश्चित नहुँदासम्म हाल भइरहेको निर्माणको काम स्थगत गर्नुपर्ने उनको माग छ ।

    ‘महानगरपालिकाले यसलाई प्रतिष्ठाको विषय नबनाई, सरोकारवालाले उठाएका यथार्थ मुद्दा र पुरातत्व विभागको चासोलाई सम्बोधन गरेर मात्र अघि बढ्ने आशा छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

    महानगर भन्छ– कंक्रिटले फरक पर्दैन

    काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ कंक्रिटले कमलपोखरीमा असर नपर्ने दाबी गर्छन् ।

    श्रेष्ठले भने, ‘यो पोखरीमा कंक्रिट प्रयोग गर्दा असर पर्दैन । पोखरी पुरानो होइन । पुरातत्वले ऐतिहासिक सम्पदा हो भनेर भनेको छैन । पहिला पनि कंक्रिट नै थियो । कसैलाई केही भएन । बिग्रेको पोखरीलाई राम्रो पोखरी बनाउने सवालमा महानगरले रोजेको हो ।’

    उनले अहिले भइरहेको विरोधलाई अभियन्ताको नियत गलत भएको टिप्पणी गरेका छन् । भने, ‘स्थानीयको विरोध छैन । अभियन्ताहरूलाई खानु परेकाले यो विवाद निकालिएको हो ।’

    महानगरका मेयर शाक्य भने कमलपोखरीमा लागेका अभियन्ताहरू नै कांगे्रस भएको र विवाद निकाल्न खोजेको बताउँछन् । सो क्षेत्रका निवर्तमान सांसद गगन थापाले अनावश्यक मिडियाबाजी गरेको भन्दै यथार्थ चाँडै सार्वजनिक गरिने उनले बताएका छन् ।

    रोक्न पत्र पठाएका छौंः पुरातत्व विभाग

    पुरातत्व विभागले भने कमलपोखरीको काम तत्काल रोक्न अनुरोध गरेको बताएको छ ।कमलपोखरीमा भएको काम रोक्न मंगलबार नै महानगरलाई पत्र पठाएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

    उनले भने, ‘पत्र पठाएर पनि काम नरोके स्थलगत निरीक्षण गर्छौं । महानगरले पुनर्निर्माण गर्न लागेको कमलपोखरीमा कंक्रिट हो/होइन भनेर छलफल गर्छौं ।’

    महानगरले ऐतिहासिक होइन भन्नु गलत भन्दै कमलपोखरी ऐतिहासिक सरंचना भएको कुँवरले बताए । उनी भन्छन्, ‘काठमाडौंमा कुनै पनि नयाँ पोखरी छैनन् । त्यो पोखरी पनि पुरानै हो ।’

    ‘कमलपोखरीमा गरिएको डिजाइन नै गलत छ’

    • आलोकसिद्धि तुलाधर, सम्पदाप्रेमी

    कमलपोखरीको काम तत्काल रोक्नुपर्छ भनेर अन्तरिम आदेशका लागि हामीले सर्वोच्चमा रिट दायर गर्यौं । अरू पनि माग राखेका छौं । जस्तै त्यहाँ अतिक्रमित पोखरी वरिपरिको जग्गा सबै सार्वजनिकीकरण र फिर्ता हुनुपर्छ । पोखरीको पोखरी नै हुनुपर्छ भन्नेछ ।

    अहिले सर्वोच्चबाट नै ठूलो आश छ । केही वर्षअघि मिचिएका, व्यक्तिका नाममा दर्ता भएका, स्कूलको नाममा दर्ता भएका सार्वजनिक पोखरी सर्वोच्चले ‘पोखरी’ नै कायम गरिदिएको छ । जस्तै लगनखेलको सप्तपाताल पोखरी, भक्तपुर बोडेमा रहेको पोखरीलाई पनि सर्वोच्चले ‘पोखरी’ नै कायम गरिदिएको छ ।

    त्यही नजिरबाट त्यस्तै हुन्छ भन्ने आश छ । किनभने कमलपोखरी ४८ रोपनीसम्मको भएको सरकारी रेकर्ड छ । केही वर्षअघि रावल आयोग बनेको थियो ।

    सरकारी सार्वजनिक जग्गाहरू मिचेर को–को व्यक्तिले हड्पेका छन् भनेर त्यसमा डिटेल अध्ययन थियो । जुन त्यतिबेला सार्वजनिक नै गरेन । त्यो अहिले पनि सार्वजनिक त भएको छैन तर हामीले पायौं । कमलपोखरीमा पनि यति जग्गा यो–यो व्यक्तिले मिचेको छ भन्ने डाटा त्यसमा छ ।

    अहिले झण्डै २२ रोपनी छ । कमलपोखरीको काम अझै रोकेको छैन । तर, आपत्तिजनक कुरा जुन अस्ति सोमबार १२ बजे राति भयो । त्यो त एकदमै चोर काम भयो । अर्को कुरा डोजर पोखरी भित्रै हुलेको थियो । पोखरीभित्रको पींधको माटो झिकेर ट्रकमा लोड गरिंदै थियो ।

    त्यो पींधको माटो झिकेपछि पोखरी नै सकिन्छ । जति पानी हाले पनि त्यसलाई रिभाइभ गर्न सकिंदैन । आखिरमा त्यहाँ ढलान हाल्नुपर्ने हुन्छ । ढलान गरेपछि त त्यो स्वीमिङ पुल भयो, पोखरी त रहेन नि !

    महानगरको नियत नै त्यही हो कि रानीपोखरीमा काठमाडौं महानगरपालिकाले ढलान गर्न शुरू गरिसकेको थियो नि ! पछि पब्लिक दबाबमा ढलान निकालियो । त्यहाँ गर्न नपाएको रिसमा यिनीहरूले यहाँ गर्न खोजेको हो कि ? रातिराति चोर बाटो गर्न खोजेपछि नियत छर्लङ्ग भयो ।

    महानगरको नियत नै खराब छ । सर्वोच्चको आदेश पनि नमान्ने भन्ने उनीहरूको नियत हो । अहिले कमलपोखरीमा उहाँहरूको डिजाइन नै गलत छ । डिजाइनमा नै कंक्रिट पोखरी बनाउने छ । जस्तो चारैतिर पोखरीको डिल हुन्छ ।

    यो पोखरीमा पहिले नै शायद डिल थिएन होला । किनभने यो सिमसार क्षेत्र हुनसक्छ । भनेपछि प्राकृतिक रूपमा पानी जमेर बसेको हुनसक्छ । त्यो प्राकृतिक पोखरी हो । त्यो भयो भने डिल पनि हुँदैन । डिल थिएन भने त्यसलाई त्यसरी नै राखौं । केही बिग्रिंदैन ।

    मानवनिर्मित पोखरी पहिला थियो भने त्यो डिललाई त स्टेप चाहिन्छ । मान्छे हिंड्दा भत्किन्छ । त्यो नहोस् भनेर त्यसलाई बलियो बनाउने उपाय भनेको जति पनि काठमाडौं उपत्यकामा परम्परागत पुरानो पोखरी छ त्यो डिल चाहिं इँटाको बनाउँछ । सबैभन्दा बाहिरी लेयरमा इँटा हुन्छ । त्यसले भत्किन दिंदैन । इँटाको पछाडि चाहिं कालोमाटोको लेयर राख्छ ।

    इँटा र कालोमाटोको कम्बिनेसनले पोखरीमा पानी भरिसकेपछि त्यसले रिचार्जको काम गर्छ । त्यो पानी रसाएर छेउछाउका हिटी, इनारहरूमा पानी आपूर्ति गर्छ जुन नजिकको बस्तीमा भएका मान्छेले पानी पिउन पाउँछन् । जब त्यहाँ ढुंगा चलाइन्छ, सिमेन्ट प्रयोग गरिन्छ, त्यो पानीको बहाव ठ्याक्कै रोकिन्छ । प्राकृतिक पानीको इकोसिस्टम मर्छ ।

  • कमलपोखरी पुनर्निर्माणमा गगन थापाले अनावश्यक प्रचारबाजी गरेको मेयर शाक्यको आरोप

    कमलपोखरी पुनर्निर्माणमा गगन थापाले अनावश्यक प्रचारबाजी गरेको मेयर शाक्यको आरोप

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा सो क्षेत्रका निवर्तमान सांसद गगन थापाले अनावश्यक मिडियाबाजी गरेको भन्दै यथार्थ चाँडै सार्वजनिक गरिने बताएका छन् ।

    बुधवार काठमाडौं महानगरपालिका नगरसभाको आठौँ अधिवेशनलाई सम्बाेधन गर्दै प्रमुख शाक्यले सांसद थापाले मेयरलाई पत्र पठाएको भन्दै सञ्चारमाध्यममा अनावश्यक प्रचार गरेको आरोप लगाए ।

    उनले भने–मैले उहाँले पठाएको पत्र अहिलेसम्म प्राप्त गरेको छैन । मलाई पठाएको भनेको पत्र बारेको समाचार पढेर र सुनेर मात्रै थाहा पाएँ । पुरातत्वले काम रोक्नु भन्दा–भन्दै रातारात पोखरीमा डोजर चलाएको भनेर पनि समाचार आएका छन् । मैले ठेकेदारहरुसँग त्यो विषयमा जानकारी लिएको छु । उहाँहरुले प्रचार गरे जस्तो होइन रहेछ ।

    प्रमुख शाक्यले सबै वस्तुस्थितिबारे छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी गराउने भन्दै काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि त्यसको सत्यतथ्य जानकारी दिन तयार रहेको बताए ।

    शाक्यले कमलपोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, ज्येष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुनर्निर्माणको काम अघि बढाएको बताए ।

    पुरातत्व विभागले निर्माण कार्य रोक्नु भनेर आदेश दिए पनि महानगरपालिकाले पालना नगरेको प्रचारबाजी पनि गलत रहेको उनले बताए ।

    शाक्यले भने–पुरातत्वले हामीलाई काम रोक्नु भनेर आदेश नदिएको जानकारी गराउन चाहन्छु । एउटा सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वय नै नगरी सञ्चारमाध्यममा प्रचार गर्ने कुरा गलत छ । पुरातत्वले हामीलाई पत्र पठाएर हामीसँग समन्वय गर्ने हो । हामीलाई भन्दा पहिला सञ्चारमाध्ययमलाई जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत छ । त्यसैले हामी उहाँहरुलाई त्यो बारेमा पनि ध्यानाकर्षण गराउँदैछौं ।

    शाक्यले सञ्चारमाध्यममा आए जस्तो कमलपोखरीको जमीन एक इन्च पनि नमिचिएको दावी गरे । बरु पुनर्निर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको दावी गरे ।

    पहिला पनि त्यहाँ सांसद थापालगायतको पहलमा विभिन्न चरणमा ढुंगा छाप्ने, सिंढी बनाउनेलगायतका काम भएको भन्दै त्यहाँ महानगरपालिकाले काम गर्नु भन्दा अघि नै कंक्रिट संरचना निर्माण भएको शाक्यको दावी छ ।

    उनले भने–स्थानीयको अहिले पनि अवरोध छैन । उनीहरु बाहिरका मान्छे आएर चाहिने भन्दा बढी प्रचार गरी अवरोध गर्ने काम भएकोमा बरु असन्तुष्ट बनेका छन् । हामी अहिले पनि काम गर्ने सन्दर्भमा केही कमजोरी भएको रहेछ भने छलफल गरेर अघि बढ्न तयार छौं । अहिले एकतर्फी रुपमा समाचार आउँदा त्यसले भ्रम पैदा भएको छ ।

    उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि आफू काम रोक्नुपर्छ भन्ने पक्षमा नरहेको भन्दै समाधानको उपाय खोजी अघि बढ्नुपर्ने बताइन् ।

  • कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागेको भन्दै सम्पदाप्रेमीको आपत्ति

    कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागेको भन्दै सम्पदाप्रेमीको आपत्ति

    काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित ऐतिहासिक कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागिएको भन्दै सम्पदा बचाउ अभियानले बिरोध जनाएको छ ।

    महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेतले निर्माण गर्नुअघि प्रस्तुत गरेको योजनाभन्दा उल्टो गरी कमलपोखरी बनाउन लागिएकामा अभियानले आज स्थलगतरुपमै बिरोध जनाएको हाे ।

    अभियानका युवाले सिमेन्ट र कङ्क्रिटको कमल जताततै फुलाउन सकिने भएकाले कमलपोखरी प्राकृतिकरुपमै विभिन्न प्रजातिका कमल फुलाउनुपर्नेमा जोड दिएको हो ।

    कमलपोखरी निर्माणका लागि दशैँअघि नै पानी सुकाएकामा अझै काम अघि बढ्न सकेको छैन । लामो समयदेखि पानी निकाल्दा पोखरीमा चिरा–चिरा परेको छ ।

    लामो समयसम्म पानी नहाल्ने हो भने पोखरीको अस्तित्व नै सङ्कटमा पर्ने भएकाले बिरोधमा उत्रनुपरेको अभियानकर्मी सुसन वैद्यले बताए । अभियानकर्मीले पोखरीको माटो अनुहारमा दलेर सम्पदा जोगाउने ‘प्ले कार्ड’सहित प्रदर्शन गरेका थिए ।

    पोखरी निर्माणका लागि विसं २०७६ असार १९ गते शिलान्यास गरिएको थियो । शिलान्यास असार १९ गते गरिए पनि कार्यादेश भने असार ६ गते नै दिइएको थियो ।

    विसं २०७७ असार १५ गते नै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकामा कमलपोखरी निर्माण अझै अलपत्र छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर बस्नेतले ढुङ्गाको अभाव भएर काममा ढिलाइ भएको जिकिर गरे।

    लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीमा अध्ययन विना नै सिमेन्ट र कङ्क्रिटको प्रयोग गरिएकामा पनि सम्पदाप्रेमी एवं स्थानीयवासीले बिरोध जनाएका छन् ।

    गहनापोखरी, बच्चापोखरी, नागपोखरी, हिटीपोखरी, हाँडीगाउँपोखरी पनि नौ पोखरीमध्येमा पर्ने बुढापाकाको मुखबाट सुन्दै आएको सामाजिक अभियानकर्मी दिवस ढुङ्गेल बताए ।

    कमलपोखरीका सम्बन्धमा अर्को भनाइ पनि स्थानीयवासीमाझ प्रचलनमा छ । यहाँका लालदरबार र सीता दरबार निर्माणका क्रममा कमलपोखरीको माटो निकालिएको थियो । माटो निकालेपछि वर्षाद्मा परेको पानी जम्मा भएर पोखरी बन्यो । पोखरीमा एक वृद्धले टौदहबाट कमलको फूल ल्याएर रोपे ।

    अर्को वर्ष कमलले पोखरी ढाकिएकाले पोखरीको नाम कमलपोखरीमा परिणत भएको भन्ने भनाइ यहाँ सुन्न पाइन्छ । यसलाई नै आधार मान्ने हो भने पोखरीको इतिहास १०० वर्षभन्दा पुरानो हुने भएकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।

    एक वर्षअघिसम्म प्राकृतिकरुपमा रहेको कमलपोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाइ पोखरीको आकारसमेत घटाइएको स्थानीयवासी रोशन श्रेष्ठको गुनासो छ । निर्माण गर्दा पुरातात्विक तरिकाले प्राचीन निर्माण सामग्री नै प्रयोग गरेर गर्नुपर्नेमा त्यसो हुन नसकेको सम्पदा बचाउ अभियानका वैद्य बताउँछन् ।

    “कमलपोखरीमा सबै प्रजातिका कमल फुलाउने योजना हुनुपथ्र्यो, सिमेन्ट र कङ्क्रिटको कमल राखेर यसको महत्व कम गर्न खोजिएको छ, कङ्क्रिटको कमल जताततै फुलाउन सकिन्छ, यसैले यो निकृष्ट डिजाइन हो, यसको बिरोधमा हामी लागेका छौँ”, उनले भने ।

    कमलपोखरी सिमसार क्षेत्र भएकैले वर्षामा जमेको पानी वर्षभर बसेर प्राकृतिक सौन्दर्य कायम गरेकामा यसको महत्व योजनाकर्ताले बुझ्न नसकेको अभियानकर्मी दिवस ढुङ्गेल बताउँछन् । निर्माण व्यवसायीले चाइनिज इँटा ल्याएर दचि इँटा भनेकामा पनि उनको आपत्ति छ । यसको गुणस्तर परीक्षण गर्न स्थानीयवासी र सम्पदा बचाउ अभियानले माग गरेको छ ।

    कमलपोखरी निर्माणका लागि २०७६ फागुनमै महानगरीय प्रहरी वृत्त कमलपोखरी मालीगाउँमा सरेको हो । वृत्त सरेको एक वर्ष हुन लाग्दा पनि काम भने अझै अलपत्र छ ।

    महानगर प्रमुखको ‘ड्रिम प्रोजेक्ट’ कमलपोखरी

    महानगरपालिकामा २०७४ मा जनप्रतिनिधि निर्वाचित भएपछि त्यसै वर्ष छठ पर्वमा नगर प्रमुख विद्यासुन्दर शाक्य कमलपोखरी पुगेका थिए ।

    छठमा अव्यवस्थित कमलपोखरी देखेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आकर्षक बनाउन निर्देशन दिए । सोअनुसार महानगर प्रमुख शाक्यले ‘ड्रिम प्रोजेक्ट’का रुपमा अघि बढाउन काम शुरु गरेअनुसार  नौ करोड ४६ लाख ९९ हजार ५०२ को लागत स्टमेट तयार भयो ।

    निर्माण कम्पनी जय धनञ्जय÷कँडेल जेभीले छ करोड ३६ लाख ५९ हजार ६०४ मा ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले लिएको रकममा महानगरका प्रमुख इञ्जिनीयर बस्नेतले सम्पदाप्रेमीसहित सरोकार भएका निकायका अधिकारी राखेर गरेको प्रस्तुति अनुसारको कमलपोखरी बन्न नसक्ने स्थानीयवासीको भनाइ छ । रासस