Tag: कपन

  • कपनमा श्रीमानले तारपिन खन्याएर आगो लगाएकी अस्मिता एक महिनापछि वितिन् !

    काठमाडौं । राजधानीको कपनमा चैत ११ गते श्रीमानले आगो लगाएर सख्त घाइते भएकी अस्मिता चौधरीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको छ।

    साँखुस्थित सुश्मा मेमोरियल अस्पतालमा उपचार भइरहेकी ३० वर्षीया अस्मिताको एक महिनापछि आइतबार मृत्यु भएको बौद्ध प्रहरी वृत्त प्रमुख ढुण्डिराज न्यौपानेले जानकारी दिए।

    चैत ११ गते साँझ कोठा थुनेर ४२ वर्षीय प्रविन चौधरीले अस्मितालाई तारपिन तेल खन्याएर आगो लगाएका थिए। स्थानीयले थाहा पाएपछि तत्कालै अस्मितालाई अस्पताल पुर्‍याइएको थियो।

    प्रहरीका अनुसार अस्पतालले त्यतिबेला अस्मिताको २५ प्रतिशत भाग मात्र जलेको बताएको थियो। घटनापछि प्रहरीले प्रविनलाई पक्राउ गरि ज्यान मार्ने उधोगमा मुद्धा चलाएको थियो। बैशाख ५ गते जिल्ला अदालत काठमाडौंको आदेशले प्रविन कारागार चलान भएका थिए।

    अस्मिताको मृत्यु भएपछि अब प्रविनमाथिको मुद्धा परिवर्तन गरि कर्तव्य ज्यान बनाउने तयारी प्रहरीको छ। रङ पेन्टिङको काम गर्ने सिराहाको लहान नगरपालिका-७ स्थायी ठेगाना भएका प्रविन र अस्मिताबीच दुई वर्षअघि विवाह भएको थियो।

    के थियो आगो लगाउने कारण

    प्रहरीले अनुसन्धानका क्रममा मृतक अस्मिता र प्रविन दुवैको बयान लिएको थियो।

    अस्मिताका अनुसार प्रविनले घटना भएको दिन मदिरा सेवन गरि घर आएर तरकारी मिठो नबनाएको भन्दै स्टोभमा प्रयोग गर्ने गरेको तारपिन तेल उनीमाथी खन्याएका थिए। दिनभर घर बसेर आलु र सागको मिसाएर तरकारी बनाउने भन्दै प्रविनले आक्रमण गरेको दावी अस्मिताको थियो।

    यता प्रविनले घटना भएको दिन अस्मिताले पनि मदिरा सेवन गरेको बयान दिएका थिए।आफु घर आउँदा मदिरा सेवन गरेर आएको र श्रीमतीलाई पनि मदिरा ल्याउन लगाएर फेरी दुवै जनाले सेवन गरेको उनले बयान दिएका थिए। आपसी विवादमा आफुले तारपिन खन्याएर आगो लगाएको प्रविनले बताएका थिए।

  • काठमाडौंको कपनमा मिथेन ग्यास निस्कियो, अनुसन्धान गर्दै विज्ञ (तस्बिरहरू)

    काठमाडौंको कपनमा मिथेन ग्यास निस्कियो, अनुसन्धान गर्दै विज्ञ (तस्बिरहरू)

    काठमाडौं । कपनको पञ्चकन्यानजिकै घर निर्माण गर्नका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । ग्यास निस्किएपछि स्थानीय अचम्भित र त्रसित बनेका छन् ।

    मंगलबार बिहान घर बनाउनका लागि बोरिङ खन्दै गर्दा एक्कासी ग्यास निस्किएको स्थानीय नारायण कार्कीले बताए । ‘यस्तो कहिल्यै देखेका थिएनौं,’ उनले भने ।

    ग्यास निस्किएको जानकारीपछि कपनस्थित प्रहरी र खानी तथा भूगर्भ विभागका प्राकृतिक ग्यास विभागका प्रमुख पृथ्वीनारायण श्रेष्ठ सम्बन्धित ठाउँमा पुगेका थिए । विभागका प्रमुख श्रेष्ठका अनुसार काठमाडौंमा विभिन्न भागको जमिनमुनी मिथेन ग्यास भएकाले यहाँ पनि त्यही ग्यास निस्किएको बताए ।

    ‘मिथेन ग्याँस प्रज्वलनशील भएकाले स्थानीयले केही सतर्कता भने अपनाउनु पर्छ तर, आत्तिहाल्नुपर्ने अवस्था भने होइन्,’ उनले नेपाल प्रेससँग भने ।

    अहिले ग्यास निस्केको ठाउँको भीड सामान्य भइसकेको आइसकेको कपन प्रहरी बिटका प्रहरी निरीक्षक भगवती तिम्सिनाले जानकारी दिइन् ।

    तस्बिरहरू : सरोज बैजु ।