कञ्चनपुर । मंसीर १०-१२ गते चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनको लागि कञ्चनपुरको क्षेत्र नम्बर १ मा निर्वाचनमार्फत प्रतिनिधिको टुंगो लागेको छ ।
खुलातर्फ ४ र महिलातर्फ १ जना गरी ५ प्रतिनिधि छनोटका लागि १० जनाले दाबी गरेका थिए । अन्तिम समयसम्म सहमति नभेटेपछि निर्वाचन गरिएको हो ।
खुलातर्फ निर्वाचित हुनेमा जिल्ला कमिटी अध्यक्ष बीरबहादुर थापा (पातल), सहसचिव पल्लबराज भट्ट, भक्तबहादुर अधिकारी, हिरासिंह विष्ट र महिलातर्फ भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी पूर्व अध्यक्ष कमला बोहरा रहेका छन् ।
निर्वाचित यी ५ जनासँग रोशन खड्का, खेम सुवेदी, रामचन्द्र नेपाल, खेमराज ओझा र चित्रादेवी चौधरीले प्रतिस्पर्धा गरेका थिए ।
तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा निर्वाचन क्षेत्र नम्बर २ मा पनि अझै प्रतिनिधि छनोट भएको छैन । त्यहा आकांक्षीहरुले प्रतिनिधिको टुंगो लगाउने जिम्मा जिल्ला नेतृत्वलाई नै दिएका छन् ।
क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिका लागि संघीय सांसद नरबहादुर धामी, पूर्व सांसद कृपाराम राना, बेदकोट नगरका प्रमुख अशोककुमार चन्द, जिल्ला सहसचिव रणबहादुर महरा, युवा संघ नेपालका निवर्तमान अध्यक्ष बचनबहादुर सिंह र जिल्ला उपाध्यक्ष लक्ष्मी बुढालगायत १५ जना प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर ३ मा भने सर्वसम्मत ढंगले महाधिवेशन प्रतिनिधिको छनोट भइसकेको छ । १२ जना उम्मेदबारबाट ४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।
संघीय सांसद दीपकप्रकाश भट्ट, भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदेव पन्त र जिल्ला कमिटी सल्लाहकार खिमा चन्दलाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो ।
कैलाली । कन्चनपुरमा जंगली हात्तीले कुल्चेर २ जनाको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका-१२ कलागौडी मा ५५ वर्षका ध्वज बहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको हात्तीले कुल्चिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाउँमा हात्ती पसेको होहल्ला भएपछि भाग्ने क्रममा कार्की दम्पतीलाई उनीहरुको घरको आगनमै हात्तीले कुल्चेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्दराज न्यौपानेले जानकारी दिए ।
यी क्षेत्रमा प्रत्येक वर्ष हात्तीले आतंक मच्चाउने गरेको छ ।
कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिका-६ हात्तिबोझाका आश्रय बडायकले ७ कठ्ठा जमिनमा धान खेती गरेका छन् । त्यसो त यो क्षेत्रका सबैको मुख्य बाली धान नै हो । तर बढायकले भने खेतमा धानबाहेक आम्दानीको अरु क्षेत्र पनि समेटेका छन् । उनले धान खेतभित्र माछा पालेका छन् र हाँस पनि पालेका छन् ।
आफूसँग भएको जग्गालाई भिन्न ढंगबाट प्रयोगमा ल्याए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, बडायक । धान खेलमा माछा र हाँस पनि पाल्न थालेपछि उनीसँग यो विधि सिक्न आउने किसानहरूको पनि संख्या बढिरहेको छ ।
‘धान मात्रै लगाएर पनि फाइदा भइरहेको थियो । त्यहिँ माछा र हाँस पनि पालेपछि तेब्बर फाइदा भइरहेको छ,’ उनले भने, ‘सानो क्षेत्रबाट पनि धेरै फाइदा लिन सकिन्छ भन्ने कुरा मैले अरू किसानलाई पनि सिकाउँदै आइरहेको छु ।’
गत वर्ष उनले धान र हाँस पालेका थिए । ७ कठ्ठामा २२ हजारको धान हुँदा ४८ हजारको हाँस बेचेको उनको अनुभव छ । यस बर्ष माछा पनि थप भएपछि थप फाइदा हुने भन्दै उनी उत्साहित छन् ।
‘गत वर्ष सात कट्ठामा धान भित्र हाँस पालेको निकै राम्रो भयो । यस बर्ष त्यसमा माछा पनि थपेको छु’ उनले भने ‘अर्काे बर्ष देखि अझै धेरै जग्गामा उत्पादन गर्ने लक्ष्य छ ।’
साढे छ बिगा आफ्नो जग्गा र थप साढे ३ बिगा जग्गा लिजमा लिएर कृषि पेसा गरिरहेका छन् । घर ननिकै ७ कट्ठामा धान भित्र माछा र हाँस पालेको भएपनि अन्य क्षेत्रमा धान र उखु लगाएका छन् ।
प्रविधिको प्रयोग
बिहानै खेतबारी जाने आफ्नो उत्पादनको अवस्था हेर्ने र फर्किने । बडायकको दैनिक अहिले यसरी नै बितिरहेको छ । उनी आफू मात्रै होइन घरका अरू सदस्यलाई पनि कृषि पेसा तर्फ आकर्षित गरिरहेका छन् ।
९ बर्ष पहिले बाट कृषि पेसामा रहेका रानाले पछिल्लो ६ बर्ष यता भने प्रविधिको माध्यमबाट उत्पादन बढाइरहेका छन् ।
‘कृषि पेसा मात्रै गर्न लागेको त १० वर्ष हुन थाल्यो’ उनी भन्छन् ‘तर पछिल्लो ६ वर्ष देखि प्रविधिको माध्यमबाट उत्पादन गरिरहेको छु ।’
उनले प्रविधिको माध्यमबाट उत्पादन गर्न थालेपछि मनग्गे आम्दानी समेत हुन थालेको सुनाए । उनी मौसम अनुसार धन ,गहुँ, आलु, तोरी मसुरो, उखु र मकै उत्पादन गर्ने गरेका छन् ।
बडायकले वार्षिक रुपमा २५ लाख भन्दा बढी आम्दानी गरिरहेको छन् ।
उनी धान रोप्ने देखि काट्ने सम्म प्रविधिकै माध्यबाट गर्छन् । यसले लागत कम हुने र आम्दानी बढि हुने गरेको उनी बताउँछन् । छरुवा धान प्रविधिबाट खेती गर्दा लागत कम हुने र उत्पादन बढ्ने गरेको उनले बताए ।
‘सिमिटको सिसा परियोजनाले हामीलाई प्रविधि सम्वन्धी धेरै कुराको ज्ञान दिएको छ । त्यहि ज्ञान र सिपको माध्यमबाट हामीले कृषिमा कम लगानी बढि उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘अहिले क्रमिक रुपमा सबै किसान प्रविधिसँग जोडिँदै गएका छन् ।’
सिसा परियोजनाका सुदूरपश्चिम प्रमुख लोकेन्द्र खड्काले उनलाई प्राविधिक ज्ञान दिएको बताए । उनले भने, ‘हामीले उत्पादन बढाउन र कृषिमा लाग्ने रोगहरूको बारेमा जानकारी दिने गरेका छौँ । अहिले उहाँ जस्ता अरू किसानहरूले पनि प्रविधिको माध्यमबाट कम लगानीमा मनग्य आम्दानी गरिरहनु भएको छ ।’
उखुको विउमा आफ्नै प्रविधि
उखुको बिउ पनि उनी आफै तयार गर्ने गरेका छन् । परम्परागत शैलीमा उखु लगाउँदा एक बिघा क्षेत्रफलका लागि ८० क्वीन्टल उखु चाहिन्छ । तर, उनले उत्पादन गरेको नर्सरी विधिबाट उखु लगाउँदा एक बिघाको लागि २० क्वीन्टल उखु भए पुग्ने उनको दाबी छ ।
‘३० क्वीन्टल उखुको मूल्यले त सिंचाइ खर्च र लगाउँदाको लगानी पनि उठाउँछ’ उनी भन्छन् ‘यो विधिबाट लगाएको उखुको उत्पादन पनि निकै राम्रो छ ।’
उनका अनुसार परम्परागत शैलीले लगाएको उखुबाट प्रति बिघा ५ सय क्वीन्टल उखु उत्पादन हुने गरेको छ । उनले तयार गरेको नर्सरी
विउबाट प्रति बिघा १५ सय क्वीन्टल उखु उत्पादन हुने गरेको उनी बताउँछन् ।
‘यस वर्ष विउ अझै राम्रो भएको छ । त्यसैले एक बिघामा २ हजार क्वीन्टल उखु उत्पादन गर्ने मेरो लक्ष्य छ,’ उनी भन्छन् ‘कृषिबाट पनि धेरै आम्दानी गर्न सकिने रहेछ भनेर अरूलाई पनि सिकाउँदै आइरहेको छु ।’
कैलाली । कञ्चनपुर भीमदत्त नगरपालिका १३ का रामबहादुर बोहोरा महाकाली नदी किनार नजिकै व्यापार गरी बस्छन् । तर, उनी राति अबेरसम्म पसलमा बस्न सक्दैनन् । अहिले कोरोना संक्रमण भन्दा बढी उनलाई महाकालीको त्रास छ । उनले २०७० सालमा आएको बाढीको त्रास भुलेका छैनन् । फेरि त्यस्तै नियती दोहोरिने हो कि भन्ने चिन्तामा छन् ।
‘त्यो बेला पसलको पुरै सामान बगायो । मान्छे कसरी जोगिने भन्ने भयो,’ ८ बर्ष पहिलेको पीडा सम्झँदै उनले भने ‘फेरि त्यो दिन सम्झन चाहन्न ।’ बोहोरोमात्र होइन भीमदत्त नगरपालिकाका ३ वडाका हजारौं नागरिक हरेक वर्ष मनसुन सुरु भएपछि त्रासमै बाँच्न बाध्य छन् ।
‘ठुलो पानी परेपछि राति निद्रा लाग्दैन,’ डुबान क्षेत्रका स्थानीय पदमनाथ भन्छन्, ‘७० सालको जस्तो बाढी आयो भने त खै के बाँचिएला र १’
२०७० सालमा विना सूचना भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदीमा बाढी आउँदा दार्चुला सदरमुकामका सयौँ घरबार तथा दर्जन सरकारी कार्यालय बगाउँदा अर्बौंको क्षति पुगेको थियो । उता महाकालीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका सयौं परिवार विस्थापित भए ।
‘त्यो बेला जस्तो बाढी त अहिलेसम्म कहिल्यै आएको छैन’ स्थानीय सुरेन्द्र बोहोराले भने ‘हामीलाई त्यही चिन्ताले निद्रा लाग्दैन ।’ उनले तटबन्ध बलियो नबन्दा बाढीले बितन्डा मच्चाएको बताए ।
‘०७० को बाढी पनि यही ठाउँबाट बस्तीमा पसेको हो,’ उनले भँगालो देखाउँदै भने, ‘त्यति बेला खेतमा भरिएका बालुवा अझै हटाउन सकेको छैन ।’
भीमदत्त नगरपालिका वडा नम्बर १३ का अध्यक्ष लाल बहादुर शाहीले विगतको जस्तो अवस्था आए त्यो भन्दा धेरै क्षति पुग्ने बताए । ‘८ वर्ष पहिलेको जस्तो बाढी आयो भन्दा त्यो भन्दा धेरै ठूलो धन जनको क्षति हुन्छ,’ उनले अनुमान गरे ‘अहिले धेरै ठाउँमा तटबन्ध गरिएको छ । त्यस्तो नहोला कि ?’
उनले भीमदत्त नगरपालिका वडा नम्बर ११, १२ र १३ पूरै वडा डुबान क्षेत्र रहेको बताए । भिमदत्त नगरपालिकाका ३ वडा डुबान क्षेत्रमा पर्छ भने महाकाली नगरपालिका सबै वडा डुबान क्षेत्रमा पर्छन् ।
त्यसैमाथि खैराडीमा करिब १८ मिटर तटबन्ध भत्किएपछि स्थानीय थप त्रसित भएका छन् ।
तीन तहका निर्वाचनमा यहाँका स्थानीयको पहिलो मुद्दा नै महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण गर्ने थियो । उम्मेदवारहरूले पनि यसैलाई आफ्नो घोषणापत्र र चुनावी प्रचारको मुख्य एजेन्डा बनाएका थिए । तर उनीहरूले चासो नदिएकै कारण समस्या उस्तै रहेको स्थानीयको आरोप छ ।
वडा नम्बर १ का अध्यक्ष अर्जुनदत्त भट्ट पनि प्रदेश र संघीय सरकारले चासो नदिएको आरोप लगाउँछन् । ‘हामी सबै भन्दा जोखिम क्षेत्रमा छौँ । यस बर्ष गतिलो तटबन्ध गरिएको छैन,’ उनले भने ‘सबै डराएका छन् ।’ अहिले सुदूरपश्चिमका तराईका २ जिल्लामा बाढी र पहाडका ७ जिल्लामा पहिरोको जोखिम बढेको छ ।
फाइल तस्बिर ।
सन्धीबाटै समस्या
२९ माघ २०५२ मा भएको महाकाली सन्धीअनुसार नेपालले टनकपुर र शारदा ब्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र बर्र्खायाममा दुई हजार तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो । तर, अहिले शारदा ब्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायाममा ६५० क्युसेक पानी मात्र पाइरहेको छ ।
टनकपुर ब्यारेजबाट पानी ल्याउन नेपाल र भारत दुवैले नहरको संरचना नै बनाएका छैनन् । जसले गर्दा सन्धी भएको झन्डै २६ वर्ष पुग्न लाग्दा पनि नेपालले सम्झौताअनुसार पानी पाउन सकेको छैन । उल्टै वर्षायाममा करोडौं जनधनको क्षति हुने गरेको छ ।
हिउँदमा वनबासा पुलका सबै ढोका बन्द गरेर शारदा ब्यारेजबाट पूरै पानी लैजाँदा महाकाली नदी सुक्खा हुन्छ । वर्षायाममा भने सबै ढोका खोलिदिन्छ । जसले गर्दा महाकाली नदीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२ र १३ तथा महाकाली नगरपालिका वडा नम्बर ९ र १० का बस्तीहरू डुबानमा पर्छन् ।
‘हिउँदमा पुरै पानी लैजान्छन्,’ महाकाली नगरपालिका–१ का अध्यक्ष अर्जुनदत्त भट्टले भने ‘वर्षामा धेरै पानी आउँदा महाकालीका ढोका खेल्दिन्छन् । हामी डुब्छौं ।’
छैन पूर्व तयारी
सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्नसक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
महाशाखा अन्तर्गतको नेपाल बाढी सूचनाले सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्य पहाडी भूभाग भएर बहने केही स–साना सहायक नदीहरूमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्न सक्ने बताएको छ ।
साथै केही साना नदीमा आकस्मिक बहाव पनि हुनसक्ने पूर्वानुमान रहेकोले स्थानका स–साना नदी जलाधारमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।
नेपालमा मनसुनको आगमन भइसकेको छ । तर, पश्चिम नेपालमा भने अहिले पनि बाढी र पहिरोको क्षति नियन्त्रण गर्न खासै पहल भएको पाइएको छैन ।
‘कोरोना संक्रमणका कारण यस पटक तयारी केहि ढिलो भइरहेको छ,’ रेडक्रस कैलालीका सभापति उत्तम जोशीले भने, ‘हामी भोलि÷पर्सीबाटै यसमा लाग्छौँ ।’
कैलालीको मोहना, कान्ध्रा र कर्णालीमा आउने बाढीले जिल्लाको दक्षिणी क्षेत्र डुबानमा पर्ने गरेको छ । यस बर्ष समस्या हुन नदिन जिल्ला प्रशासन कार्यालयले तयारी सुरु गरेको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
‘आज पनि हामीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अनुगमन गरेर फर्किंदै छौं,’ उनले भने, ‘मनसुन सुरु हुँदैछ हामीले पनि तयारी प्रारम्भ गरेका छौं । ’ अहिले प्रशासनले आन्तरिक तयारी सुरु गरेको जनाए पनि नीतिगत रुपमा भने तयारी भएकै छैन ।
सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप तयारी हुने उनले बताए । उता कञ्चनपुरमा महाकाली र दोदा नदीले प्रत्येक बर्ष स्थानीयलाई उठिबास लगाउने गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर १२ भुजेला र १८ सालघारीमा सामान्य वर्षामा समेत डुबान हुने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।
‘ती क्षेत्रमा अहिले उद्धारका समाग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं,’ उनले भने ‘हामीसँग सामग्री कम छ । भएकाहरूबाटै काम चलाइरहेका छौं ।’
पर्याप्त पूर्व तयारी नहुँदा सुदूरपश्चिम प्रदेशमा वर्सेनी विपद्बाट करोडौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो, बाढीका साथै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट ठूलो मानवीय क्षति तथा अन्नबालीको नोक्सानी हुँदै आएको छ ।
कैलाली । कञ्चनपुरमा नशालु पदार्थ खुवाएर एक किशोरीको सामूहिक बलात्कार भएको छ ।
बेदकोट नगरपालिका-५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।
बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेकाे थापाले बताए।
एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने, ‘अर्का आरोपी फरार छन् । खोजी भइरहेको छ।’ नशालु पदार्थ खुवाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
कैलाली । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । बिहीबार एकै दिन १७ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै उच्च हो ।
बिहीबार कञ्चनपुरमा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । कैलालीमा ६ जनाको मृत्यु भएको छ । बझाङ, अछाम र दार्चुलामा १–१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो एक सातामा सुदूरपश्चिम प्रदेशमा ७९ को मृत्यु भएको । मृत्यु हुनेमा कन्चनपुर र कैलाली जिल्लाका धेरै छन् ।
बिहीबार १७ जनाको मृत्यु भएको प्रदेशमा बुधवार ११ जनाको मृत्यु भएको थियो । मंगलवार ८ जना, सोमबार १४ जना, आइतबार १२ जना, शनिवार १० जना र शुक्रवार ७ जनाको मृत्यु भएको हो ।
कञ्चनपुरमा मात्रै एक सातामा २९ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । कैलालीमा २५ जनाको ज्यान गएको छ ।
एक सातामा बाजुरामा १ जना, अछाम ४ ,डोटीमा १ जना, डडेल्धुरा २ बैतडी २ बझाङ ४ र दार्चुलाका २ जनाको मृत्यु भएको छ ।
२ हजार बढी संक्रमित थपिए
पछिल्लो एक सातामा सुदूरपश्चिम प्रदेशमा २ हजार बढी संक्रमित थपिएका छन् । प्रदेशमा ९ जिल्लामा २ हजार २ सय ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबै भन्दा धेरै संक्रमित बिहीबार फेला परेका थिए । बिहीबार परीक्षण गरिएका ५० प्रतिशत भन्दा बढीमा संक्रमण देखिएको हो । १ हजार २ सय ४५ जनाको परीक्षण गर्दा ६ सय २३ जनाम संक्रमण पुष्टि भएको थियो ।
बुधवार २ सय ५२ जना, मंगलबार ४ सय ४६ जना, सोमबार २ सय १ जना, आइतबार २ सय ६० जना, शनिवार ३ सय १७ जना र शुक्रवार १ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो एक सातामा प्रदेशमा २ सय ५५ जना निको भएका छन् ।
कैलाली । कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा गएराति निधन भएको छ ।
महाकाली अस्पतालमा उपचाररत जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
वैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए ।
धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। भारतीय सीमावर्ती पुनर्वास नगरपालिका ९ ख गाउँकी ६२ वर्षीया धना देवी थापाको हात्ती आक्रमणबाट मृत्यु भएको हो।
भारतको दुदुवा राष्ट्रिय निकुञ्जमा दाउरा काट्न गएको बेला जङ्गली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।
रासस । कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपतकालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ । दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन । अति आवश्यक सेवाबाहेकका सेवाहरु बन्द हुने र भारतबाट आयात हुने माछा, मासु अण्डालगायतका सामान ओहोर दोहर पूर्णरूपमा बन्द गरिएको छ ।
जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले जानकारी दिए ।
‘नगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको छ’, उनले भने, ‘आवश्यक काम भए मात्रै घरबाहिर निस्कन नगरबासीलाई अनुरोध गरेका छौं ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले कोरोना सङ्क्रमण बढेपछि एक साताका लागि नगरपालिका क्षेत्र लकडाउन गर्नुपरेको बताए । कोरोनाको सङ्क्रमणको दर बढ्न थालेसँगै भिडभाड नियन्त्रण नगरी नहुने अवस्था आएपछि यस्तो निर्णय लिनु परेको हो।
नगरपालिकाका वडा नं १ र ३ का वडाध्यक्षमा कोरोनाको सङ्क्रमण देखिएको छ । दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसमेत कोरोनाबाट सङ्क्रमित भएका छन् । नगरपालिका क्षेत्रको खुला क्षेत्रमा हुने अवैध आवतजावत गर्नेहरुका कारण कोरोनाको सङ्क्रमण फैलिएको आशंका गरिएको छ ।