प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा वृहत शक्ति प्रदर्शन गर्दैछ । वागमती प्रदेश कमिटीको आयोजना हुन लागेको जनसभा अगाडि काठमाडौंका विभिन्न स्थानबाट जुलुसहरु निस्कने क्रम जारी छ ।
Tag: ओली पक्ष
-

तस्बिरमा हेर्नुस् ओली पक्षको जनसभाको लागि ‘वार्मअप’
काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले शुक्रवार आयोजना गर्न लागेको वृहत जनप्रदर्शन र सभामा अत्यधिक सहभागिता जुटाउन युवा विद्यार्थी संगठनहरु खटिएका छन् । बुधवार हजारौंको मोटरसाइकल र्याली आयोजना गरेका युवा संघ र अनेरास्ववियूले विहीवार स्वयंसेवकका लागि अभिमुखीकरणका साथै मार्चपास गरेका छन् । अभिमुखीकरणअघि युवा र विद्यार्थीले रातो टोपी लगाएर मार्चपास गरेका थिए ।
महेश बस्नेत,निरु पाल,माधव ढुंगेल,ऐन महर लगायतका नेताले मार्चपासको अगुवाई गरेका थिए । उनीहरुले आम हड्ताल असफल पारिएको दावी समेत गरेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रवारको जनसभाबाट मुलुकलाई प्रधानमन्त्रीले प्रष्ट सन्देश दिने र नेकपाको मूलधार आफूहरु रहेको स्थापित हुने दावी गरे । उनले जनता कसको पक्षमा छन् भनेर देखाउन शुक्रवारको सभा आयोजना गरिएको बताए । शुक्रवारको सभामा २ लाख भन्दा बढी जनता उतार्ने दावी ओली पक्षले गरेको छ ।

-

ओली पक्षद्धारा ओनसरीलाई लुम्विनी प्रदेशको अध्यक्षबाट हटाएर लिला गिरी चयन
काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले लुम्विनी प्रदेश कमिटी अध्यक्षबाट पूर्व सभामुख ओनसरी घर्तीलाई हटाएर लिला गिरीलाई चयन गरेको छ ।
प्रदेश कमिटीको बैठकले प्रचण्ड–माधव पक्षमा लागेकी घर्तीलाई हटाएर प्रदेशसभा सदस्य समेत रहेका गिरीलाई प्रदेश अध्यक्ष चयन गरेको हो ।
उनी रुपन्देहीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व जिल्ला इन्चार्ज हुन् । यसअघि प्रचण्ड माधव पक्षले लुम्विनी इन्चार्जबाट शंकर पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई नियुक्त गरेको थियो ।
ओली पक्षले प्रदेश कमिटी सचिव जगप्रसाद शर्मालाई भने यथावत राखेको छ । विहीवार बसेको प्रदेश कमिटी बैठकले ओनसरीलाई हटाए पनि पूर्व माओवादीकै नेता शर्मालाई भने हटाएन । उनी राष्ट्रियसभा सदस्य हुन् ।
-

जनसभाका लागि ओली पक्षले बनायो १,१११ सदस्यीय समिति, १७ जिल्लामा कार्यकर्ता परिचालन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले २३ गते आयोजना गर्ने जनसभाका लागि कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा १ हजार १ सय ११ सदस्यीय समिति बनाएको छ ।
बाग्मति प्रदेश संगठन कमिटीको आयोजना हुन लागेको जनसभाबारे आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जनसभा बागमति प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलका अनुसार बागमति प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा कार्यकता परिचालन गरिने छ ।
जनसभा परिचालन कार्यक्रमको सचिवालय बागमती प्रदेश संगठन कमिटीको कार्यालय बालकुमारी ललितपुरमा रहने उनले जानकारी दिए ।
पोखरेलकै अध्यक्षतामा २५ सदस्यीय सचिवालय गठन गरिएको छ । २३ माघको जनसभा सम्पन्न गर्न आवश्यक सबै व्यवस्थापन सचिवालयको कार्यालयले गर्ने जारी विज्ञप्तीमा उल्लेख छ ।
जनसभामा स्वास्थ्य स्वयमसेवकका साथै विशेष घुम्ती स्वास्थ्य टोली र औषधिको समेत व्यवस्था गरिने भएको छ । ११ बजेदेखि मञ्चमा जनसभा सुरु हुनुपुर्व विभिन्न सांस्कृतिक कार्यक्रम गरिने छ ।
-

खोटाङ र मकवानपुरमा ओली पक्षले बनायो नयाँ अध्यक्ष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले खोटाङ र मकवानपुरमा नयाँ नेतृत्व चयन गरेको छ । पार्टी विभाजनपछि जिल्ला अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्षमा लागेकाले कमिटी पुनर्गठन गरिएको हो ।
नेकपाका अनुसार खोटाङ जिल्ला कमिटीको अध्यक्षमा राम दंगाल चयन भएका छन् । साबिक जिल्ला कमिटीका अध्यक्ष रामकुमार राई प्रचण्ड–माधव नेपाल पक्षमा लागेकाले उनलाई सचिव बनाइएको हो ।
राई पूर्व माओवादीका नेता हुन् भने दंगाल पूर्व एमालेका हुन् । त्यस्तै नेकपा नेता ईश्वर पोखरेलको उपस्थितिमा शनिबार भएको भेलाले मकवानपुरमा पनि जिल्ला कमिटीको नेतृत्व परिवर्तन गरिएको छ ।
पार्टी विभाजनसँगै जिल्ला अध्यक्ष मुनु सिग्देल प्रचण्ड–माधव नेपाल पक्षमा लागेपछि उनको ठाउँमा एकालाल श्रेष्ठलाई ओली पक्षले जिल्ला अध्यक्ष चयन गरेको छ ।
-

प्रचण्ड–माधव पक्षको भ्रम चिर्न रुपन्देहीमा ओली पक्षको निर्देशन
बुटवल । रुपन्देहीका केपी ओली नेतृत्वमा रहेका नेकपा नेताहरुले प्रचण्ड–माधव नेपाल पक्षको भ्रमबाट जनता र कार्यकर्तालाई मुक्त गर्न अभियान थाल्ने भएका छन् ।
सरकारले गरेका काम, प्रयास गरेका योजना, अवरोध भएका फेहरिस्त र संसदमा बन्धक बनाइएका जरुरी महत्वका विषयहरुको सूचि बनाएर जनतामा प्रष्ट पार्न उनीहरुले कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनीहरुले अरु (प्रचण्ड–माधव) पक्षले जतिसुकै तुच्छ, अस्लिल र अमर्यादित गालीगलौजमा उत्रिएपनि सोही प्रवृत्तिले प्रतिवादन नगरि संयमित रहन निर्देशन दिए । यो कामका लागि अगुवा स्तरका कार्यकर्ताहरुलाई समुदाय स्तरमा खटाउने ओली पक्षका यहाँका नेताहरुको तयारी छ ।
रुपन्देहीका १६ वटै पालिकाहरुमा विस्तारित बैठक बस्दै रणनीतिक योजना बनाउने काम भइहरेको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाइँले बताए । उनले प्रारम्भमा बैठक बस्ने, हालसम्म भएका कामको सूचि बनाउने र जनस्तरमा प्रष्ट पार्न अगुवा कार्यकर्ता भेला गर्नेलगायतका विषयमा छलफल भएको बताए ।
सोही क्रममा मंगलबार नेकपाको बुटवल उपमहानगर कमिटीको विस्तारिक बैठक बसेको छ । उक्त बैठकमा सहभागी पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र पालिका तहका नेताहरुले भ्रामक प्रचारबाजीलाई चिरेर अगाडि बढ्ने गरि योजना बनाइरहेको बताएका थिए ।
बैठकमा सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज एवम् लुम्बिनी प्रदेश सरकारका मन्त्री लिला गिरीले गलत काम नगर्न र अरुले गर्ने गलत कामलाई पनि अब सहेर बस्न नहुने बताए ।उनले अहिले पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका कामका बारेमा भन्दा विपक्षीले लगाएका भ्रामक आरोपका आधारमा धारणा बनाएर विरोध भइरहेको भन्दै त्यसैलाई चिरेर सत्य स्थापित गर्न अगुवा कार्यकर्तालाई आग्रह गरे ।
लुम्बिनी प्रदेश सभाका संसदीय समितिका सभाति भोजप्रसाद श्रेष्ठले सत्तास्वार्थ, भागबण्डा र तिकडम सफल हुन नसकेपछि पार्टीलाई विभाजनको अवस्थामा पुर्याएर अहिले सडकमा तमासा देखाउने काम भइरहेको बताए ।
१९ गते अगुवा कार्यकर्ता भेला
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले यही पुस १९ गते बृहत अगुवा कार्यकर्ता भेलाको आयोजन गर्ने भएको छ ।
नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको जिल्ला कार्यालयको बिस्तारित बैठकले पुस १९ गते बिहान ११ बजे बुटवलमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । उक्त अगुवा भेलामा नेकपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
-

ओली पक्षीय नेकपाका १५ निर्णय, प्रचण्डलाई कारबाहीदेखि विप्लवको निन्दासम्म
काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी ओली पक्षको केन्द्रीय कमिटीको बैठकले विभिन्न १५ निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुस ७ गते र ९ गते बसेको बैठकले गरेका निर्णयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाहीदेखि विप्लव समूहले गरेको शिक्षक हत्याको निन्दासम्म छन्।
यस्ता छन् १५ निर्णयः
१ यो बैठक नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता मदन भण्डारी तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी, कमरेड तुलसीलाल अमात्य, कमरेड निर्मल लामा, अग्रणी महिला नेतृ कमरेड साहना प्रधानलगायत कम्युनिष्ट आन्दोलनका सबै अग्रजहरुप्रति उच्च सम्मानभाव प्रकट गर्दछ। देश र जनताको हितका लागि शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागी हुने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सबै ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ तथा उहाँहरुको आदर्शलाई सधैंभरि दृढतासाथ अनुसरण गरिरहने संकल्प गर्दछ।
२ यो बैठक केन्द्रीय कमिटीको दोस्रो बैठकपछि दिवंगत हुनुभएका केन्द्रीय सदस्य कमरेड कमानसिंह लामा, केन्द्रीय अनुशासन आयोगका सदस्य कमरेड वीरबहादुर ठगुन्ना, गुल्मी जिल्ला कमिटीका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश कमिटी सदस्य कमरेड बोमबहादुर खड्का, प्रतिनिधिसभा सदस्य माननीय सानु शिवा पहाडी, दांग जिल्ला कमिटीका संस्थापक सदस्य माणिकलाल गौतम, संविधानसभा सदस्य कमरेड मानपुर चौधरी, १ नं प्रदेश कमिटी सदस्य हंश राजवंशी, नेकपा सर्लाहीका नेता कमरेड ध्रुव गौतम, भारत प्रवास समन्वय कमिटीका सदस्य वसन्त अधिकारीलगायत कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ।
३ यो बैठक सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा यही २०७७ साल पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णयलाई पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको बाध्यात्मक कदमका रुपमा ग्रहण गर्दछ। जननिर्वाचित सरकारलाई कामै गर्न नदिने, मुलुकको नेतृत्व गर्न प्राप्त ऐतिहासिक अवसरलाई आत्मसात नै गर्न नचाहने र अवसरवादी एवं स्वार्थकेन्द्रित गठबन्धनका बलमा मुलुकलाई अगाडि बढ्नै नदिने क्रियाकलापहरु लोकतन्त्रको मूल्यमान्यता विपरीत, जनआकांक्षा विपरीत तथा मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने केही नेताहरुको क्रियाकलापहरुकै कारण यो स्थिति उत्पन्न भएको ठहर गर्दछ। नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको कुरा स्पष्ट गरेको छ। त्यसैले सदनमा बहुमत प्राप्त दलबाट सर्वसम्मत रुपमा निर्वाचित दलको नेता र त्यसै हैसियतमा निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयहरुको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहर गर्दछ।
४. २०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकृत भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी र अन्य नेतृत्वदायी कमिटीहरुको मूल दायित्व दुई वर्षभित्र एकता महाधिवेशन सम्पन्न गरी निर्वाचित कमिटीलाई नेतृत्व हस्तान्तरण गर्नु थियो। तर केही नेताहरुका पदीय आकांक्षा र स्वार्थकेन्द्रित गतिविधिका कारण कमिटीहरुले उक्त दायित्व पूरा गर्न नसकेको पृष्ठभूमिमा पार्टीका प्रथम अध्यक्षको हैसियतले केन्द्रीय कमिटी विस्तार गरी पार्टीमा नयाँ गति र जीवन दिन गर्नुभएको कमिटी विस्तारलाई यो बैठक अनुमोदन गर्दछ। नवनियुक्त सबै कमरेडहरुलाई बधाइ ज्ञापन गर्दै आफ्नो काँधमा आएको दायित्व पूरा गर्न सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछ। साथै केन्द्रीय कमिटीका सबै पदाधिकारी एवं सदस्य कमरेडहरुलाई कुनै पनि अन्याेल र भ्रममा नपरी, कुनै पनि विभाजनकारी गतिविधिबाट टाढा रही एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ।
५. यो बैठक प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचन उन्मुख भइसकेको परिप्रेक्ष्यमा सबै मातहत कमिटीहरु, जनवर्गीय र सरोकार संगठनहरु, पार्टी सदस्यहरु, जनप्रतिनिधिहरु एवं सम्पूर्ण पार्टी पंक्तिलाई एकढिक्का भएर निर्वाचनको तयारीको मुख्य एजेण्डामा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दछ।
६. यो बैठक करिब तीन वर्षको अवधिमा दूरगामी महत्वका विकास कार्य, रणनीतिक पूर्वाधारहरुको निर्माण, सामाजिक न्याय र सुरक्षाको विस्तार, संविधान एवं संघीयताको कार्यान्वयन, रास्ट्रियताको सुदृढीकरण एवं नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका क्षेत्रमा सरकारले गरेका महत्वपूर्ण कामहरुलाई उच्च मूल्यांकन गर्दछ। ती कार्यहरुलाई जनताबीच स्थापित गर्ने, शुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्यहरु गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने संकल्प गर्दछ।
७. यो बैठक हालै सम्पन्न निर्वाचनमा नेपाल संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा पुनर्निर्वाचित भएकोमा खुशी तथा सन्तोष व्यक्त गर्दछ। त्यसै गरी संयुक्त राष्ट्रसंघको महिलामाथि हुने विभेद उन्मूलन सम्बन्धी कमिटी (सिड कमिटी) मा नेपालका तर्फबाट प्रस्तुत उम्मेदवार दोस्रो पटक उच्च मतका साथ निर्वाचित भएकोमा बधाइ ज्ञापन गर्दछ।
८. यो बैठक कोभिड संक्रमणका कारण ज्यान गुमाउनु हुने सबैमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उपचार गराइरहनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। कोभिड १९ को विश्वव्यापी महामारीबाट सिर्जित चुनौतीलाई सामना गर्ने सम्बन्धमा सरकारले चालिरहेका कदमहरुलाई समर्थन गर्दै कोभिड भ्याक्सिनको यथाशीघ्र आपूर्ति गर्न र सबै नेपालीलाई प्राथमिकताका आधारमा र निशुल्क रुपमा खोप उपलव्ध हुने गराउन सरकारसँग आग्रह गर्दछ। कोभिड १९ को महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनर्स्थापनाका प्याकेजहरु उपलव्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाई फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारी उपलव्ध गराउन र महामारीका कारण जनतामा गरीबी र अभावको थप मार पर्न नदिन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ। खोप उपलव्ध नहुँदासम्म स्वास्थ्य सुरक्षा मापदण्डको सबैले पालना गरी महामारी विरुद्धको यस लडाइँमा निर्णायक विजय हासिल गर्न सबैलाई आवश्यक सहयोगका लागि आह्वान गर्दछ।
९. यो बैठक चिनी उद्योगसँग उखु बिक्री गरेबापत प्राप्त गर्नुपर्ने वक्यौता रकम प्राप्त गर्न तराई मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आई शान्तिपूर्ण धर्नामा बस्नुभएका उखु किसानहरुको सबै रकम उद्योगीहरुबाट अविलम्ब चुक्ता गराउने प्रबन्धका लागि सरकारलाई थप प्रभावकारी पहल गर्न माग गर्दछ।
१०. यो बैठक प्रतिनिधिसभा विघटन भई मुलुक निर्वाचनतिर उन्मुख भइसकेको परिप्रेक्ष्यमा राज्यका सबै अंगहरुलाई शान्तिसुरक्षा, अमन चयन र सुशासनका क्षेत्रमा पूर्ववत् र अझ प्रभावकारी काम गर्न आह्वान गर्दै शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर गर्ने कुनै पनि कदमप्रति सजग हुन आह्वान गर्दछ।
११. यो बैठक नेपालको वास्तविक भूभाग समेटेर नयाँ प्रशासनिक राजनीतिक नक्शा प्रकाशन गरेको र त्यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा प्रतिविम्बित गर्न अभूतपूर्व राष्ट्रिय एकता कायम गर्दै संविधान संशोधन गर्न सफल भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ। यस प्रक्रियामा सहभागी भई योगदान गर्नु हुने सबै राजनीतिक दल, संघीय संसदका माननीय सदस्यहरु, अभियन्ताहरु, सञ्चारमाध्यम र सबै देशभक्त नेपालीहरुलाई धन्यवाद ज्ञापन गर्दछ। नेपालको भूभागमा नेपालको स्वामित्व सुनिश्चित हुने गरी सीमा समस्याको समाधान गर्न थप प्रभावकारी कूटनीतिक पहलका लागि सरकारलाई अनुरोध गर्दै सरकारलाई यस दिशामा सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछ।
१२. यो बैठक एसिड आक्रमण जस्तो जघन्य अपराध एवं महिलामाथि हुने यौनजन्य हिंसा र बलात्कारको रोकथाम तथा त्यस्ता अपराधमा संलग्न दोषीहरुलाई कडा कार्बाही गर्न सरकारले हालै जारी गरेका अध्यादेशहरुको समर्थन गर्दै यस्ता अपराध रोकथामका लागि प्रशासनलाई थप कडाइ गर्न आह्वान गर्दछ।
१३. यो बैठक सबै राजनीतिक दलहरुलाई आम निर्वाचनको यस अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदुढ गर्न आह्वान गर्दछ। राज्यका सबै संस्थाहरु, निजामती र सुरक्षा अंगहरु, प्रदेश सरकार र प्रदेशसभा एवं स्थानीय तहहरु आआफ्ना क्षेत्रमा कर्तव्य निर्वाह गर्दै क्रियाशील भइरहेको, जनतामा उन्नत लोकतान्त्रिक चेतना रहेको वर्तमान परिवेशमा लोकतान्त्रिक प्रणाली कमजोर हुन्छ कि भन्ने कुनै पनि आशंका निराधार रहेको कुरामा विश्वस्त हुन आग्रह गर्दछ। परिवर्तनका पक्षधर सबै वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई आपसी संवाद, समझदारी कायम गर्दै अगाडि बढ्न आग्रह गर्दछ। हाम्रो पार्टी र सरकार नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनका उपलव्धिहरुको रक्षा एवं विकासका लागि कृतसंकल्पित रहेको विश्वास दिलाउन चाहन्छ।
१४. यो बैठक नेपालको विकास र समृद्धिमा छिमेकीलगायत सबै मित्र राष्ट्रहरुबाट प्राप्त निरन्तरको सद्भाव र सहयोगका लागि आभार र कृतज्ञता ज्ञापन गर्दै नेपाल राजनीतिक स्थायित्व, सामाजिक आर्थिक रुपान्तरण र समृद्धिका दिशामा अविचलित ढंगले अगाडि बढ्ने र मित्र रास्ट्रहरुबाट आगामी दिनमा पनि नेपालप्रति यस्तै सद्भाव र सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दछ।
१५. यो बैठक विप्लव समूहद्वारा मोरंगको मिक्लाजुंग गाउँपालिकामा शिक्षक राजेन्द्र श्रेष्ठको अत्यन्त निर्ममतापूर्वक गरिएको हत्याको निन्दा र भ्रर्तसना गर्दै दिवंगत राजेन्द्र श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ। यो बैठक केन्द्रीय कमिटीको यस बैठकलाई सहजतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै स्वयंसेवकहरु, सुरक्षाकर्मीहरु तथा हाम्रा समाचार र विचारलाई महत्वका साथ जनताबीच सम्प्रेषित गर्ने सबै सञ्चारकर्मी साथीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
-

पुष्पलाल र मदन भण्डारीको फोटोमुनि ओली पक्षको बैठक शुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
आजको बैठकबाटै पूर्व माओवादीका प्रचण्डपछिका प्रभावशाली नेता रामबहादुर थापा बादल ओली पक्षमा लागेका छन् । उनी केपी ओलीको दायाँतर्फको कुर्सीमा बसेका छन् भने बायाँतर्फ अर्का नेता ईश्वर पोखरेल छन् ।

पहिलो लहरमा पूर्व माओवादीका टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि सँगै बसेका छन् । यसअघि बालुवाटारमा पार्टीको झण्डा र ब्यानर विनाको बैठक बस्ने गरेकोमा आजको बैठकमा कम्युनिष्ट पार्टीको झण्डा र सूर्य चिन्ह अंकित लोगोसहितको ब्यानर राखिएको छ ।
त्यस्तै बैठकको ब्यानरमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र तत्कालीन नेकपा एमालेका महासचिव जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको तस्वीर राखिएको छ । प्रचण्ड माधव नेपाल पक्षको बैठकमा भने राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका कुनै पनि नेताहरुको फोटो राखिएको छैन ।

-

ओली पक्षको बैठक सम्पन्न, भोलि सातै प्रदेशमा भेला
काठमाडौं । पार्टी एकता कायम राख्ने र कसैलाई पनि कारबाही नगर्ने रणनीतिअनुरुप महाधिवेशनको नयाँ मिति घोषणा गर्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।
बैठकले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।
त्यस्तै कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेता खटिएका छन् भने लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ ।
गण्डकीमा वक्ताका रुपमा टोपबहादुर रायमाझी तोकिएका छन् भने वागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने केन्द्रीय कमिटीमा प्रस्ताव पारित भएको छ ।
बैठकले अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने पनि निर्णय गरेको छ ।
-

ओली पक्षका सांसदहरुको बैठक भोलि बिहान बस्ने
काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले सांसदहरुको भेला बोलाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएको छ । बालुवाटार स्रोतका अनुसार भोलि विहान ९ बजे विघटित प्रतिनिधिसभाका सांसद र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठक बोलाइएको छ ।
प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुको बैठक पनि भोलिनै संसद भवनमा बोलाइएको छ । केपी ओली पक्षले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे भने कुनै निर्णय गरेको छैन ।
पार्टी फुटाएको सन्देश जान नदिन प्रधानमन्त्री आफ्नो तर्फबाट एकपक्षीय बैठक बोलाउन आतूर नरहेको तर अर्को पक्षको कदम हेरेर थप निर्णय लिने पक्षमा रहेको निकट स्रोतले जनाएको छ ।
