Tag: ओलीविरुद्ध

  • विपक्षी गठबन्धनको सन्देश : माधव नेपाललाई जोगाउँछौं, ओलीविरुद्ध चुनावसम्मै सहकार्य

    विपक्षी गठबन्धनको सन्देश : माधव नेपाललाई जोगाउँछौं, ओलीविरुद्ध चुनावसम्मै सहकार्य

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध संगठित भएको विपक्षी गठनबन्धनले यो सहकार्य ओलीलाई सत्ताबाट हटाउनमात्र सिमित नहुने प्रष्ट पारेको छ । गठबन्धनका शीर्ष नेताले सम्पादकहरुसँगको छलफलमा गठबन्धन अरु केही वर्ष सँगै जाने संकेत गरे ।

    बिहीबार संसद भवन नयाँ बानेश्वरमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड),उपेन्द्र यादव र माधवकुमार नेपालले आफूहरु ओलीविरुद्ध कम्तिमा आउने चुनावसम्म सहकार्यमा रहने स्पष्ट सन्देश दिए ।

    वाम-लोकतान्त्रिक गठबन्धन भनिएको विपक्षी गठबन्धनमा कांग्रेसबाहेक अन्य चारवटै दल (एमालेको एउटा समूह र जसपाको एउटा समूहसहित) वैचारिक रुपमा वामपन्थी हुन् । किनकी जसपाका बाबुराम र उपेन्द्र यादवले कम्युनिस्ट संगठन छाडे पनि त्यो बिचार छाडिसकेको छैनन् ।

    बिगतका आन्दोलनहरुमा जस्तै यसपटक पनि गठबन्धनको नेतृत्व कांग्रेसले नै गरेको छ । २०४६ सालको जनआन्दोलनको नेतृत्व कांग्रेसका गणेशमान सिंहले गरेका थिए भने २०६२/६२ को जनआन्दोलनको नेतृत्व कांग्रेसकै गिरिजाप्रसाद कोइरालाले गरे ।

    यसपटक विपक्षी गठबन्धनले केपी ओलीविरुद्धको आन्दोलनलाई पनि बिगतमा राजाका शासनविरुद्ध गरिएको आन्दोलनकै रुपमा ब्याख्या गरेको छ । यसको नेतृत्व फेरि कांग्रेसकै सभापति शेरबहादुर देउवाले गरेका छन् । सम्पादकसँगको अन्तरक्रियामा देउवाले नै आफ्ना धारणा राखेर गठबन्धनलाई सत्ता प्राप्तिसँगमात्र सिमित नराखिने बताए ।

    गठबन्धनको प्राविधिक नेतृत्व देउवाले गरेपनि राजनीतिक नेतृत्व भने प्रचण्डले लिएको छनक बिहीबारै दिए । उनी सम्पादकहरुसँगको अन्तरक्रियामा लगभग एकल रुपमा हाबी भए । कांग्रेसको बैचारिक बचाउदेखि माधव नेपाल र उपेन्द्र यादवहरुको राजनीतिक भविष्य जोगाउने जिम्मेवारी समेत प्रचण्डले देखाए ।

    उनले गठबन्धनमा आबद्ध एमालेको माधव नेपाल समूह कानूनी लगायत धेरै झमेलामा रहेको भन्दै माधव नेपाल र उपेन्द्र यादवहरुलाई अड्डा अदालतको कारवाहीबाट जोगाउन गठबन्धनले सक्दो पहल गरिरहेको र गर्ने बताए ।

    पछिल्लो पटक अदालतले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको कारवाहीलाई मान्यता नदिएको आदेशभित्र पनि विपक्षी गठबन्धनको भूमिका रहेको चर्चा चलेका बेला प्रचण्डले माधव र उपेन्द्रको अप्ठ्यारोमा आफूहरुको साथ रहने बताए ।

    प्रचण्डले हालै २० जना मन्त्री पदमुक्ति सम्बन्धी अदालतको आदेश आउनु अघिल्लै दिन सर्वोच्चले मन्त्रीहरुलाई मुक्त गर्ने बताएका थिए । यद्यपी उनले आफूले पछिल्लो अदालती आदेशहरु हेरेर अनुमानका भरमा भनेको र त्यसमा आफूहरुको सेटिङ नरहेको प्रष्टीकरण दिए ।

    विपक्षी गठबन्धन अदालतका पछिल्ला आदेशहरुबाट बढी नै उत्साहित भएको छ । विगतमा सडक आन्दोलनबाट दबाब दिएका कारण प्रतिनिधिसभा पुनःस्थापना भएको आँकलन गरेको गठबन्धनले अदालतमा सुनुवाइ चलिरहदा जनपरिचालन भनेर सडक आन्दोलन पनि गर्न थालिसकेको छ ।

    अहिलेको गठबन्धन देउवाका लागि भन्दा पनि प्रचण्डका लागि आवश्यकता थियो । देउवाको चाहिँ बाध्यता बन्यो । उनी अघिल्लो विघटनको बेला चुनावको पक्षमा थिए । पुनःस्थापनापछि पनि उनले अविश्वास प्रस्ताव ल्याउन वा आफू प्रधानमन्त्री बन्न हतार गरेका थिएनन् ।

    तर धारा ७६ (५)को प्रक्रियामा पुगेपछि उनले अग्रसरता लिए । अझ भन्ने हो भने पार्टीभित्रकै दबाब र प्रचण्ड-माधवको बलियो साथ पाएपछिमात्र अग्रसर भएका हुन् । प्रचण्डलाई भने खुम्चिएको राजनीतिक स्पेसमा एकपटक पुनः आफूलाई स्थापित गर्नुपर्ने बाध्यता थियो ।

    सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिए पनि नेकपाकालीन तुष बाँकी रहेकाले ओली र माधव समूह मिल्न नसक्नु र मिल्न नदिन आफ्नो योगदान रहनु उनका लागि पुनः एकपटक सत्ता राजनीतिमा निर्णायक बन्न सकिने आधार बन्यो ।

    यसबीचमा कांग्रेसलाई अघि सारेपछि अदालत लगायतका निकायमा पनि प्रभाव पार्न सकिने उनको अनुमान एक हदमसम्म सफल हुँदै गयो । माधव नेपाललाई एमालेमा कुनै पनि हालतमा मिल्न नदिन देउवा र प्रचण्डले आगामी निर्वाचनसम्मकै लिखित समझदारी गरेको स्रोतहरु बताउछन् ।

    विपक्षी गठबन्धन केपी ओलीविरुद्ध सबैतिरबाट निर्णायक आक्रमणको तयारीमा छ । सर्वोच्च अदालतका पछिल्ला आदेशहरु आफू अनुकुल भएपछि गठबन्धनले अब ओलीलाई अदालतले नै पाखा लगाइदिने आशा पनि गरेको छ ।

    फागुन २३ को फैसलापछि एमाले मिलाउन नसक्नु ओलीको कमजोरी रह्यो । माधव नेपाल ओलीसँग कुनै पनि हालतमा सँगै जान नसकिनेमा पहिले नै तयार थिए । तर उनको पक्षका दोस्रो तहका नेताहरुको एमाले एकताको प्रयासका कारण उनी एमाले कै नाममा अलग पार्टीको अभ्यास गरिरहेका थिए ।

    विपक्षी गठबन्धनले अदालतबाट मुद्दा जिते पनि त्यसपछिको राजनीतिक कोर्ष कता जान्छ ? अहिले नै भन्न सकिन्न । किनकी फागुन ११ गते पुनःस्थापित भएको प्रतिनिधिसभाले नयाँ सरकार दिन नसकेपछि जेठ ७ गते पुनः विघटन भयो ।

    अहिले पनि अदालतको फैसलाले के भन्छ ? यसमा केही सिमित विकल्पहरु छन् । प्रतिनिधिसभा विघटन सदर गर्ने, धारा ७६ (४) र ५ को अभ्यास गर भन्ने वा देउवालाई प्रधानमन्त्री घोषित गर्ने ।

    मुख्यगरि अदालतले यसपटक संविधानको धारा ७६ (५)को राजनीतिक ब्याख्या गर्नुपर्नेछ । त्यो धारामा पुगेपछि सांसदहरु दलको अनुशासन र ह्वीपमा रहनु नपर्ने फैसला गरेमा राजनीति अर्को दिशामा जान्छ । नत्र अझै पनि विपक्षी गठबन्धनले सोचे जस्तो कोर्षमा राजनीति नजान सक्छ ।

  • ओलीविरुद्ध कर्णालीबाट महागठबन्धनको अभ्यास, माधव पक्षले अन्यत्र पनि एमालेलाई मत नदिने

    ओलीविरुद्ध कर्णालीबाट महागठबन्धनको अभ्यास, माधव पक्षले अन्यत्र पनि एमालेलाई मत नदिने

    काठमाडौं । आफ्नै नेतृत्वमा संघीय सरकार बनाउन जुटेको नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उभिएको नेकपा माओवादी केन्द्रबीच कर्णालीबाट गठबन्धनको सुरुवात भएको छ । जुन गठबन्धनमा नेकपा एमालेकै माधव नेपाल समूह समेत सहभागि छ ।

    कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाउनुले नेपाली राजनीतिमा नयाँ गठबन्धन उदयको संकेत गरेको छ । शाहीलाई नेपाली कांग्रेसका ६ र एमालेबाट फ्लोर क्रस गरी ४ जना सांसदले विश्वासको मत दिए ।

    प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने- निमुखालाई न्याय दिन’ कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने बताएका थिए । ‘हामी तटस्थ बस्ने मनस्थितिमा थियौं तर अन्तिममा हामीलाई लाग्यो कुनै निर्णय दिनैपर्छ । एमालेलाई साथ दिनुभन्दा कमजोर रहेको माओवादीलाई साथ दिनु उपयुक्त हो भनेर दिएका हौं । हाम्रो मतले पनि सरकार जोगिन्छ भन्ने लागेको छैन ।

    विश्वासको मत दिनुअघि शाहीले दिएको अभिव्यक्ति चलाखीपूर्ण थियो । त्यसअघिनै शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालबीच केन्द्रमा सहमति भइसकेको थियो । एमालेका सांसदले फ्लोर क्रस गर्ने र कांग्रेसको समर्थन भए माओवादी सरकार जोगिने निश्चित भएपछि नै कर्णालीमा कांग्रेसले विश्वासको मत दिएको हो ।

    नयाँ वर्षको पूर्वसन्ध्यामा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच ब्यापारी प्रमोद राणाको घरमा भेटवार्ता भएको थियो । सोही भेटमा प्रदेशदेखि केन्द्रसम्म राजनीतिक सहकार्य गर्ने सहमति जुटेको बताइन्छ । त्यसमा माधव नेपाल पक्षलाई पनि साथमै लिएर जाने प्रचण्डको चाहनामा देउवा पनि सहमत भएका थिए ।

    देउवा-दाहाल सहमतिकै फलस्वरुप बिहीबार गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाले संयुक्त अविश्वास प्रस्ताव दर्ता गराएका थिए । ‘गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने, लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउने र कर्णालीमा अहिलेकै सरकार निरन्तर राख्ने सहमति बनेकै हो । त्यसबाहेक कांग्रेस नेतृत्वमा संघीय सरकार बनाउन पनि माओवादी तयार छ’, सभापति देउवानिकट एक नेताले नेपाल प्रेससंग भने । ती नेताका अनुसार देउवा-दाहाल सहमतिको राजनीतिक परिणाम क्रमशः देखिदै जानेछ ।

    कर्णालीमा एमालेबाट आर्थिक मामिला मन्त्री बनेका प्रकाश ज्वालाकै नेतृत्वमा फ्लोर क्रस भएको छ । यसलाई राजनीतिक रुपमा बुझ्नुपर्ने विश्लेषकहरु बताउँछन् । ‘कर्णालीमा जे भयो त्यो नयाँ गठबन्धनकै संकेत हो । अब केन्द्रमा पनि हिम्मत गर्ने हो भने जसपाबिनै ओली सरकार हट्छ’, विश्लेषक पुरञ्जन आचार्यको दावी छ ।

    उनका अनुसार कांग्रेस र माओवादी मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेमा एमाले र जसपाबाट फ्लोर क्रस हुने सम्भावना बढी छ । उनले प्रदेशहरुमा देखिएको राजनीतिक सहमतिको परिणाम संघीय संसदमा पनि देखिनुपर्ने बताए ।

    ‘शेरबहादुरजी, प्रचण्डजी र माधवजीको बीचमा साझा सहमति बनेकै हुनुपर्छ । त्यही सहमति कायम राख्ने हो भने संघीय सरकारपनि हट्छ’, आचार्यले नेपाल प्रेससंग भने ।

    कर्णालीमा माओवादी र कांग्रेसबीच सहकार्य हुनु र एमालेभित्र फ्लोर क्रस हुनुले ओलीविरुद्ध सबैतिर गठबन्धन हुने सम्भावना बढाएको छ । माओवादीले समर्थन फिर्ता लिएमा जसपाको समर्थन लिएर संसदमा बहुमत सिद्ध गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । यद्यपि कर्णालीमा भएको फ्लोर क्रसबाट प्रतिनिधिसभामा पनि फ्लोर क्रस हुने सम्भावना बढेको छ ।

    के होला एमालेको फ्लोर क्रस अभियान ?

    कर्णालीमा एमालेका सांसदले फ्लोर क्रस गर्ने जानकारी मतदानको केहीबेरअघिमात्र ठाउँ ठाउँमा पुगेको थियो । यद्यपी प्रचण्ड र माधव नेपालबीचका छलफलपछि प्रकाश ज्वालामार्फत सो निर्णय कार्यन्वयन गरिएको थियो । यो प्रक्रिया अब सबै प्रदेश हुँदै संघीय संसदमा जाने माधव नेपाल पक्षले जनाएको छ ।

    फ्लोर क्रस गरेका कर्णालीको एमाले नेताहरुले आफूहरुको व्यक्तिगत नभई माथिबाटै निर्देशन अनुसार माओवादीलाई साथ दिएको प्रष्ट पारेका छन् । सांसद अम्बरवहादुर थापाले पद जान्छ भन्ने जान्दा जान्दै फ्लोर क्रस गरिएको र माधव नेपालकै निर्देशनमा आफूहरु अघि बढेको बताएका छन् ।

    कर्णालीमा माधव नेपाल पक्षले माओवादी सरकार जोगाइदिएकै बेला सुदूरपश्चिम प्रदेशमा पनि माधव नेपाल पक्षले संसदीय दलको बैठक राखेको थियो । दलको बैठकमा केपी ओली पक्षका सांसद सहभागी थिएनन् ।

    नेपाल पक्षको संसदीय दलमा बहुमत रहेको सुदूरपश्चिम प्रदेश हो । गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । त्यहाँ एमालेका २९ सांसदमध्ये माधव नेपाल पक्षका एकजना इन्द्रलाल सापकोटामात्र छन् । उनकै कारण पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने अवस्था आएमा उनलाई पनि फ्लोर क्रस गराउने तयारी नेपाल पक्षको छ ।

    लुम्बिनीमा पनि शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी छ । त्यहाँ एमालेका कुल सांसदमध्ये दुईजनामात्र माधव नेपाल पक्षका छन् । उनीहरु पनि आवश्यकता परेमा फ्लवोर क्रस गर्न तयार छन् ।

    यो सबै रणनीति बुझेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई थप मौका नदिने रणनीति पनि बनाउँदैछन् । माधव नेपालसहित केही सांसदको पद निलम्बनको प्रक्रियाबाट ओली अघि बढ्ने सम्भावना पनि छ ।

    एमालेका संशोधित विधानले तत्कालै कुनै निर्णय नलिदा पार्टी र संसदीय दललाई गम्भीर क्षति हुने महशुस भएमा ठाउँको ठाउँ संसदीय दलको नेताले सांसदलाई निलम्बनको कारवाही गर्न सक्ने व्यवस्था गरेको छ । संघीय संसदमा कर्णालीको अभ्यास दोहोरिन नदिन ओलीले विधानको सोही अस्त्र प्रयोग गर्ने सम्भावना रहेको नेताहरु बताउछन् ।

    माधव नेपाल पक्ष एमालेमा बस्न भन्दा पनि एमालेमा फर्केर ओलीलाई कमजोर बनाउने र नसके माओवादीमै फर्किने गरि आएकाले नेपाल पक्षसँग सम्झौताको कुनै सम्भावना नरहेको सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापा बताउछन् ।

    के छ विधानको व्यवस्था

    सदस्यहरूलाई कारबाही गर्ने मामिलमा पछिल्लो पटक संशोधित दलको विधानमा कारबाहीका नियमित प्रक्रिया पूरा नगरी दलका नेताले तल्काल ६ महिनाका लागि दलको सदस्यताबाट निलम्बन गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।

    पार्टी वा संसदीय दललाई ठूलो हानी हुने अवस्था महसुस दलका नेताले गरेमा मात्रै पनि त्यस्तो कारबाही गर्न सक्ने छन्। संसदीय दलको विधानको दफा २५को उपदफा ६ मा भनिएको छ, ‘पर्खिएर कारबाहीको नियमित प्रक्रियातर्फ जाँदा तत्काल पार्टी वा संसदीय दललाई ठूलो हानी हुने अवस्था महसुस भएमा दलको नेताले कुनै पनि सदस्यलाई ६ महिनामा नबढ्ने गरी तत्काल दलको सदस्यताबाट निलम्बन गर्न सक्नेछ ।’

    दलको नेताले गरेको त्यस्तो कारबाहीको निर्णय संसदीय बोर्ड वा संसदीय दलको बैठकबाट भने अनुमोदन गर्नुपर्ने छ। विधानमा भनिएको छ । ‘तर दलको नेताको यस्तो निर्णय त्यसपछि बस्ने बोर्ड वा संसदीय दलको बैठक जुन पहिला बस्छ, त्यसमा अनुमोदनका लागि पेश गर्नु पर्नेछ।’

    विधानको यही व्यवस्था माधव नेपाल पक्षमाथि लगाएर संघीय संसदमा आफूविरुद्ध कुनै मौका नदिने रणनीति ओलीले बनाउन सक्ने आँकलन छ ।

  • ओलीविरुद्ध अदालत जानेबारे माधव पक्षमा छलफल, अवहेलना मुद्दा दायर गर्न सुझाव

    ओलीविरुद्ध अदालत जानेबारे माधव पक्षमा छलफल, अवहेलना मुद्दा दायर गर्न सुझाव

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष सर्वोच्च अदालतको फागुन २३ को फैसला कार्यन्वयन नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर लिएर फेरि सर्वोच्च जाने तयारीमा जुटेको छ ।

    अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि सबै संरचना २०७५ जेठ २ बाटमा फर्काउनुपर्ने विषयलाई माधव नेपाल पक्षले राजनीतिक र कानुनी लडाइको विषय बनाएको छ । कानुन व्यवसायी र निकट नेताहरुले पनि माधव नेपाललाई ओलीविरुद्ध अवहेलना मुद्दामा जान सुझाव दिएका छन् ।

    अदालतको फैसलालाई ओलीले नमानी फागुन २८ गते एकपक्षीय बैठकका नाममा विधान नै संशोधन गरेको विषयलाई न्यायिक निरुपणमा लैजान नेपालमाथि दबाब बढेको छ । नेपाल निकट एक अधिवक्ताले आइतबार वा सोमबारसम्म अवहेलना मुद्दा दर्ता हुनसक्ने बताए ।

    शुक्रबार कलंकीको मेगा पार्टी प्यालेसमा बसेको माधव पक्षधर नेताहरुको बैठकमा पनि अवहेलना मुद्दामा जानेबारे छलफल भएको थियो । तर कहिले जाने भन्नेबारेमा टुंगो नलागेको बैठकमा सहभागी एक नेताले बताए ।

    ती नेताले भने–अदालतले एमालेलाई २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्क भनेपछि सबै संरचना पूरानै अवस्थामा लैजाऊ भनेको हो । त्यसको कार्यन्वयन केपी ओलीबाट नहुनु अदालतको अवहेलना हो, त्यसैले न्यायिक लडाइमा पनि जानुपर्छ भन्ने सुझाव आएकाले छलफल भएको छ ।

    माधव नेपाल पक्ष फागुन २८ गतेको निर्णयविरुद्ध निर्वाचन आयोगमा गइसकेको छ । तर निर्वाचन आयोगबाट नेपाल पक्षको निवेदनमाथि सुनुवाई नभएकाले अदालतमै जानुपर्ने सुझाव आएको नेपाल पक्षका नेताहरु बताउछन् ।

    सर्वोच्च अदालतले फागुन २३ को फैसलाविरुद्ध प्रचण्डको न्यायिक पुनरावलोकनको निवेदनलाई निस्सा दिन अस्वीकार गरेपछि माधव नेपाल निराश बनेका छन् । प्रचण्डले कतिपय ठाउँमा न्यायिक पुनरावलोकन आफ्नो इच्छाले भन्दा पनि माधव नेपालको आग्रहमा गरिएको भनेपछि नेपाल अशन्तुष्ट बनेका छन् ।

    स्रोतले भन्यो–प्रचण्डले पुनरावलोकनमा जान मेरो इच्छा भन्दा पनि माधवजीको दबाब रह्यो । उहाँकै आग्रहमा शम्भु थापाजीहरुले दबाब दिनुभयो भन्ने कुरा केही ठाउँमा भनेको सुनियो । यो कुरा सुनेपछि माधव नेपाल प्रचण्डसँग पनि झस्किनुभएको छ, सम्भवत अबका भाषणमा उहाँले नेकपाकालीन अवस्थामा ओली र प्रचण्ड दुबैको भूमिकालाई आलोचनाको विषय बनाउनु हुनेछ ।

    नेपाललाई कतिपय उनी निकट नेताहरुले प्रचण्डसँग हिमचिम छाड्न सुझाव समेत दिएका छन् । पुनरावलोकनमा जानुअघि प्रचण्डसँग माधव नेपालका घण्टौंसम्मका बैठकहरुले राम्रो सन्देश नदिएको ती नेताहरुको भनाइ छ । पार्टी अलग भएपनि तत्कालै प्रचण्डसँग एकताको सम्भावना समेत नरहेको नेपाल निकट नेताहरु बताउछन् ।

    सुरेन्द्र पाण्डेले फागुन २३ को फैसला कार्यन्वयन नभएको विषयलाई कानुनी लडाइमा लैजाने खालका सुझावहरु आइरहेको बताए । त्यसबारेमा निर्णय भने भइनसकेको उनको भनाइ छ ।

  • ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने देउवाको प्रस्ताव, पौडेलले भने- हतार नगरौं

    ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने देउवाको प्रस्ताव, पौडेलले भने- हतार नगरौं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक मत राखेका छन् ।

    बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको बैठकमा सभापति देउवाको प्रस्तावमा पौडेलले ‘कांग्रेस प्रतिपक्षको भूमिकामा रहनु नै पार्टीका लागि हितकर हुने’ बताएका हुन् ।

    चितवनबाट फर्कने क्रममा भएको ढिलाइका कारण अबेर मात्रै बैठकमा पुगेका पौडेल केहीबेरमै बैठकबाट बाहिरिएका थिए । पौडेलले पार्टीमा पहिले नै निर्णय गरेर बैठक बोलाइएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

    बैठकमा कांग्रेस सभापति देउवाले आफूलाई नेकपाको दुवै समूहले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको जानकारी गराएका थिए । नेकपाको वैधानिक विभाजनका लागि समय लाग्ने भएकोले राजनीतिक विभाजन गराउन प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुपर्ने देउवाको भनाइ थियो ।

    पौडेलले भने ओलीको असंवैधानिक कदमलाई अदालतले नै तह लगाइसकेको र वैधानिक विभाजन बाँकी रहेकोले सत्तामा जान हतार गर्न नहुने बताएका थिए । नेता पौडेलले ओलीसँग राजनीतिक सहकार्य नहुने निश्चित भए पनि पार्टीभित्र पर्याप्त छलफल नभई अविश्वासको प्रस्ताव ल्याउनु प्रत्युत्पादक हुनसक्ने बताए । बाहिरिने क्रममा नेता पौडेलले बैठक नटुंगिएको र थप छलफल आवश्यक रहेको बताए ।

    पौडेलले असहमति राखेपछि बैठकले कुनै निष्कर्ष लिन सकेन । अन्य नेताहरुले संसदीय दलको बैठक शुक्रबार बस्ने भएकोले त्यसअगावै निष्कर्ष निकाल्नु उपयुक्त नहुने सुझाव राखेका थिए । ‘संसदीय दलमा पनि छलफल गर्छौ । सांसदहरुको धारणा समेत बुझेर उपयुक्त समयमा निर्णय लिनेछौ’,कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंहले अविश्वास प्रस्तावको विषयमा पार्टीले निर्णय नगरिसकेको बताए । ‘बैठकमा कुरा आएको छ तर छलफल गर्न बाँकी नै छ । पार्टीभित्र गम्भीर छलफल नगरी राजनीतिक कदम चाल्नुहुँदैन भनेका छौं’, सिंहले नेपाल प्रेससँग भने । वरिष्ठ नेता पौडेल बाहिरिएपछि पूर्वमहामन्त्री सिंह र डा.रामशरण महतले देउवासँग छुट्टै छलफल गरेका थिए । सो क्रममा देउवाले पौडेललाई सम्झाउन आग्रह गरेका थिए । पौडेल पक्षका नेताहरुले भने थप छलफल गरेर निष्कर्षमा पुग्न सकिने बताएका छन् ।