Tag: ऐन महर

  • ऐन महर अनेरास्ववियूबाट बिदा हुँदै- अध्यक्षमा चारजनाको दाबेदारी, समिक महासचिव

    ऐन महर अनेरास्ववियूबाट बिदा हुँदै- अध्यक्षमा चारजनाको दाबेदारी, समिक महासचिव

    काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन हुने भएको छ । राष्ट्रिय सम्मेलनबिनै अनेरास्ववियूको नेतृत्व फेरिन लागेको हो ।

    अनेरास्ववियूका वर्तमान अध्यक्ष ऐन महर पार्टीको एमालेको प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा लैजाने आश्वासन नेतृत्वबाट पाएपछि अखिल छाड्न तयार भएका छन् ।

    महर अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलनबाट महासचिव निर्वाचित भएका थिए । ५ वर्षअघि भएको सम्मेलनबाट अध्यक्षमा निर्वाचित नविना लामा नेकपा एकीकरणसँगै अखिलबाट बिदा भएकी थिइन् ।

    एकीकृत अखिलको संयोजक महर र सहसंयोजक रन्जित तामाङ थिए । नेकपा एकता बदरपछि पनि महर अध्यक्ष निरन्तर रहे । सम्मेलनको हिसाबले ऐन महरले आफ्नो कार्यकाल पूरा गरिसकेकाले उनलाई बिदा गरेर जाम हुन लागेको नेतृत्व खुलाउन खोजिएको एमाले स्रोतले जनाएको छ ।

    अनेरास्ववियूका पूर्वअध्यक्ष तथा हालका इन्चार्ज खिमलाल भट्टराईले शनिबार बस्ने सचिवालय बैठकले नयाँ नेतृत्व चयन गर्ने नेपाल प्रेसलाई बताए । उनका अनुसार नेतृत्वका आकांक्षीहरूबीच छलफल चलिरहेको छ ।

    आज महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा अखिलको स्थायी कमिटी बैठक बसिरहेको छ । शनिबारको सचिवालय बैठकले अध्यक्षसहित पदाधिकारी र केन्द्रीय कमिटी टुंगो लगाउने भट्टराईले जानकारी दिए ।

    अखिल अध्यक्षका लागि हालका उपाध्यक्षमध्ये शैलेस लामाबाहेक अन्यले आ-आफ्नो दावी छाडेका छैनन् । उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र सुनिता बराल अध्यक्षका दाबेदार हुन् ।

    त्यस्तै २२ औं सम्मेलनबाट निर्वाचित सचिव तथा प्रवक्ता आरसी लामिछाने पनि अध्यक्षको प्रतिस्पर्धामा छन् । एमालेका विद्यार्थी इन्चार्ज भट्टराईले यी चारजनामध्येबाट एकजना अध्यक्ष हुने र बाँकी उपाध्यक्षहरू संगठनबाट बिदा हुने बताए ।

    अध्यक्षका अर्का दाबेदार समिक बडाललाई भने महासचिव बनाइने भएको छ । २३ औं राष्ट्रिय सम्मेलनबाट निर्विकल्प अध्यक्षका रूपमा बडाललाई खडा गर्न लागिएको अखिल स्रोतले जनाएको छ ।

    अध्यक्षका दाबेदारमध्ये रश्मी आचार्य देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति हुन् । २०६५ सालमा उनी निर्वाचित भएपछि पिएनमा स्ववियू चुनाव भएको छैन ।

    त्यस्तै महेश बर्तौला मकवानपुर बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति हुन् भने सुनिता बराल एमालेको विद्यार्थी विशेष जिल्ला कमिटीकी सचिव पनि हुन् ।

    पार्टी नेतृत्वको ग्रिन सिग्नल सुनितालाई रहेको चर्चा अखिलमा चलेको छ । यद्यपी उपाध्यक्षहरुबीच सहमतिको लागि छलफल भइरहेको भट्टराईले बताए ।

    आरसी लामिछाने लामो समय विद्यार्थी आन्दोलनमा छन् । उनलाई अध्यक्ष बनाउन नसकिए वरिष्ठ उपाध्यक्ष बनाउनेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

    अखिलका निर्वाचित सचिवमध्ये सुदेश पराजुली, आरती लामा र वसिम आलम नेकपा एसमा लागेका छन् । नयाँ पदाधिकारी चयनसँगै स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा केही सदस्य थपिने भएका छन् ।

    माधव नेपाल समूह छाडेका र पूर्वमाओवादीबाट एकता प्रक्रियामा आएकासहितलाई समेटेर केन्द्रीय कमिटी बनाउन लागिएको हो । अध्यक्षमा सहमति जुटाउन नेताहरू अनौपचारिक छलफलमा छन् ।

    २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित कोषाध्यक्ष झपिन्द्र खत्रीसहित स्थायी कमिटीमा रहेका यमराज पाण्डे, नरेश रोकाय, कल्पना वाइबा, नारायण घर्ती, उमेश आचार्य, मर्यादा विष्टलगायतलाई उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षसहितका पदाधिकारीमा व्यवस्थापन गरिने भएको छ ।

  • बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त गर्न अखिलको माग

    बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त गर्न अखिलको माग

    सुर्खेत । नेकपा एमाले निकट अनेरास्ववियुले एक महिलामाथी भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले बलात्कार जस्तो जघन्य अपराध गरेको भिडियो सार्बजनिक भएको बताउदै उनलाइ तत्काल बर्खास्त गर्न माग गरेको छ । अध्यक्ष ऐन महरद्वारा जारी विज्ञप्तीमा प्रदेशका मन्त्री जस्तो जिम्मेवार व्यक्ति आफै बलत्कार जस्तो जघन्य अपराधमा संलग्न भई घटनाको भिडियो समेत बाहिरिएको विषयले अनेरास्ववियु स्तब्ध र लज्जीत भएको बताएका छन ।

    ‘स्वतन्त्र र सम्मानका साथ बाच्न पाउँने नागरिकका मौलिक हकका विरुदमा प्रदेश सरकारका मन्त्री स्वमले विवाहित महिलालाई जबरजस्ती रुपम नियन्त्रण गरी बलात्कार गर्ने र त्यसका विरुद्ध पीडित पक्षले आफुमाथी भएको ज्याजती र अन्यायको विरुद्ध प्रहरीमा जाहेरी दिँदा पीडित महिलाका श्रीमानलाई मध्यराती ज्याममार्ने उद्देश्यसहित हमला गर्ने, मुद्दा फितां लिन धम्की दिने, घटनाका सम्बन्धमा समाचार लेख्ने पत्रकारलाई धम्की दिने जस्ता अपराध माथि अपराध आफ्नो मन्त्रीले गरिरहँदा अपराध र अपराधिका विरुद्धमा कुनै पनि काम कारबाही अगाडी नबढनुले जनताप्रति उत्तरदायी हुनेपर्ने प्रदेश सरकार र सरकारका मुख्यमन्त्री समेत मन्त्रीको संरक्षणमा क्रियाशील रहेको महशुस भएको छ र सत्ता र शक्तिको दुरुपयोग गरी दलाली गठबन्धको सरकार र यसका मतियारहरु बलात्कार जस्तो जघन्य अपराधरालाई लुकाउन लागि परेको प्रष्ट हुन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।

    उनले भनेका छन, ‘सरकारमा सहभागी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादीका नेतासमेत बलात्कारको घटना लुकाउन र पीडितका विपक्षमा लाग्नुने पीडितले न्याय प्राप्त गर्नेमा शंका प्रकट भएको छ, तसर्थ बलात्कारको आरोपी मन्त्रीलाई तत्काल बर्खास्त गरि पीडितलाई न्याय र दोषिलाई कारबाहीको पक्षमा लाग्न समेत कर्णाली प्रदेशका मुख्यन्त्रीलाई अनेरास्ववियु अनुरोध गर्दै यो जघन्य अपराधका सम्बन्धमा देउवा नेतृत्वको विदेशी कम्फटेवल सरकारलाई समेत ध्यानाकर्षण गराउँदछौं ।’

    अनेरास्ववियुले पिडीतले न्याय प्राप्त नगरेसम्म निरन्तर आन्दोलन गर्ने उनले चेतावनी दिए ।

  • अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन अनेरास्ववियूको आह्वान

    अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन अनेरास्ववियूको आह्वान

    काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरुद्धमा आन्दोलनमा उत्रिन आह्वान गरेको छ ।

    अनेरास्ववियूका अध्यक्ष ऐन महरले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले ७० वर्षदेखिको संघर्षबाट निर्मित संविधान र बहुदलीय व्यवस्थाको विरुद्धमा देशलाई द्वन्द, अराजकता र अस्थितरतामा धकेल्ने मनोसाय राखेकोसमेत बताएका छन् ।

    ‘यसअघि पार्टीको केन्द्रीय समिति र संसदीय दलमा अनिवार्य ४० प्रतिशतको संख्या पुर्‍याए मात्रै दल विभाजनले पाउँदै आएको मान्यातालाई यो सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मात्रै संख्या पुर्‍याए पनि दल विभाजनको मान्यता पाउने र प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल रोज्न पाउने गरी नेपालको लोकतान्त्रिक प्रणालीलाई नै ध्वस्त बनाउने, पुरानै देउवा प्रवृत्तिबाट सांसदलाई खसीबोका जस्तै खरिदबिक्री गर्ने कुन्सित मनसायका साथ विगतामा भएका आन्दोलनका उपलब्धीहरूलाई समाप्त पार्ने गरी यो व्यव्थानको विरुद्ध जनविरोधी देउवा सरकारले ल्याएको कथित अध्यादेश नेपाल र नेपाली जनताको अग्रगमन र सुशासनको चाहना विपरीत रहेको छ’ उनले भनेका छन् ।

  • उद्धार तथा राहतको लागि अनेरास्ववियूको टोली मेलम्चीतर्फ

    उद्धार तथा राहतको लागि अनेरास्ववियूको टोली मेलम्चीतर्फ

    काठमाडौं । बाढीपहिरोपीडितको उद्धार तथा राहतको लागि नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूको टोली सिन्धुपाल्चोकतिर हिँडेको छ ।

    अनेरास्ववियूका अध्यक्ष ऐन महरको नेतृत्वमा मेलम्ची गएको टोलीमा ८ जना स्वास्थ्यकर्मी पनि छन् । उनीहरूले सिन्धुपाल्चोकको बाढीपीडित परिवारका लागि २/२ सय बोरा चामल, तेल, त्रिपाल, टेण्ट लिएर गएका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा बिदाई गर्दै एमाले महासचिव ईश्वर पोखरेलले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग गर्न आव्हान गरेका छन् ।

  • ऐन महर भन्छन्- पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको फिर्ता हुन्न

    ऐन महर भन्छन्- पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको फिर्ता हुन्न

    काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले पार्टीका नेताहरूको कारवाही फिर्ता भए पनि अखिलका नेताहरूमाथिको कारवाही फिर्ता नहुने दावी गरेका छन् ।

    महरले सामाजिक सञ्जालमै अनेरास्ववियूका नेताहरूमथिको कारवाही फिर्ताको कुनै सम्भावना नरहेको घोषणा गरेका छन् । अनेरास्ववियूले संगठनका सचिवहरू सुदेश पराजुली, आरती लामा र ओसिम आलमलाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको थियो ।

    महरले भनेका छन्, ‘पार्टीको कारवाही फिर्ता भए पनि अनेरास्ववियूको कारवाही फिर्ताको कुनै सम्भावना छैन ।’

    एमालेले बिहीबार माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गरेको थियो ।

    यसबीचमा माधव नेपाल पक्षले अनेरास्ववियूको भेला गरी पराजुली अध्यक्ष, आलाम सहअध्यक्ष र आरती लामालाई महासचिव चयन गरेको थियो । लामाले पनि सामाजिक सन्जालमार्फत नै ऐन महरलाई अध्यक्ष स्वीकार नगर्ने र एमाले मिले पनि अनेरास्ववियूको अध्यक्ष नविना लामा हुनुपर्ने बताएकी छन् ।

    तत्कालीन एमालेका पालामा लामा अध्यक्ष थिइन् । नेकपा एकीकरणपछि अनेरास्ववियूको अध्यक्ष महर भएका थिए । लामा र महर दुवैजना अहिले एमालेको संस्थापन पक्षमा छन् ।

  • गुटगत भेलामा सहभागि भए कारबाही गर्ने अनेरास्ववियूको चेतावनी

    गुटगत भेलामा सहभागि भए कारबाही गर्ने अनेरास्ववियूको चेतावनी

    काठमाडौं। नेकपा (एमाले) निकट अनेरास्ववियूले भोलि कनै पनि किसिमको भेला, सम्मेलन आयोजना नगरेको भन्दै त्यस्ता गतिविधिमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएको छ। साेमबार संयोजक ऐन महरले एक विज्ञप्ती जारी गर्दै त्यस्ता भेलामा संलग्न भए विधान अनुसार कारबाही हुने चेतावनी दिएका हुन् ।

    ‘अनेरास्ववियू, विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने, पार्टीको अस्तित्व समाप्त पार्ने, कम्यूनिष्ट आन्दोलनलाई कमजोर पार्ने जस्ता गुटबन्दी र अराजकताको पक्षमा भएको सबैखाले गतिविधिको घोर विरोध गर्दछ। तर्सथ भोली २०७७ चैत्र १० गते कनै पनि किसिमको भेला, सम्मेलन आयोजना नगरेको अनेरास्ववियूका आम नेता कार्यकर्तालाई जानकारी गराउदछु,’ जारी विज्ञप्तिमा भनिएको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले संगठनमा घुसपैठ गरी संगठनको विधान विपरितको कुनै भेला, सम्मेलन आयोजना गरेको भएमा अनेरास्ववियु त्यस्ता कुनै पनि भेलामा उपस्थित नहुन अपिल गर्दछ, अन्यथा सगठनका विधान अनुसारको कारबाही हुने जानकारी गराउँदछु।’

  • ओलीपक्षीय अनेरास्ववियूको टिप्पणी-अदालतको फैसलासँगै फोहोरी राजनीति खेलको हर्कत बढ्यो

    ओलीपक्षीय अनेरास्ववियूको टिप्पणी-अदालतको फैसलासँगै फोहोरी राजनीति खेलको हर्कत बढ्यो

    काठमाडौं । केपी ओलीपक्षीय नेकपानिकट अनेरास्वियूले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलासँगै संसदलाई राजनीतिको फोहोरी खेलको अखडा बनाउने हर्कतहरू देखा पर्न थालेको बताएका छन् ।

    संयोजक ऐन महरले विज्ञप्तिमार्फत अदालतले मंगलबार गरेको संसद विघटन बदर गर्ने फैसलाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

    ६४ प्रतिशत जनमत बोकेको नागरिक सरकारले सार्वभौम जनताको दैलोमा जाने गरी संसद विघटन गर्ने निर्णय मुलुकको विकास, स्थिरता, सुशासन र सुखी नेपाली, समृद्ध नेपाल निर्माणको लागि अत्यन्तै अग्रगामी, लोकतान्त्रिक, संवैधानिक र बहुदलीय संसदीय व्यवस्थाको स्थापित परम्परा र मान्यताबमोजिम नै रहेको विज्ञप्तिमा दाबी गरिएको छ ।

    ‘यदि गत पुस ५ गते सरकारले संसद विघटन गर्ने निर्णय नगरेको हुन्थ्यो भने हाम्रो संसदलाई प्रयोग गरेर देशी, विदेशी प्रतिक्रियावादीहरूले नेपाल र नेपालीहरूको विरुद्ध गम्भीर षडयन्त्र गर्ने, सांसदहरूलाई खरिदबिक्री गर्दै विदेशीहरूको इशाराको निर्देशित सरकार बनाउने, संसदलाइ बिगतको जस्तै फोहोरी खेलको अखडा बनाउनेजस्ता गम्भीर र खतरनाक हर्कतहरू गर्ने सुनिश्चित थियो’, विज्ञप्तिमा लेखिएको छ, ‘तर, दुर्भाग्य सर्वोच्चको फैसला सँगसँगै यी यस्ता षड्यन्त्रमुलक हर्कतहरुको पुनरावृत्ति हुने लक्षण देखापरिसकेको छ ।’

    वैशाख १७ र २७ गते तोकिएको निर्वाचनबाट प्रधानमन्त्री ओली फेरि पनि अत्यधिक जनमतसहित सरकारको नेतृत्वमा पुग्दैछन भन्ने सन्देश रास्ट्रब्यापी मात्रै नभई विश्वव्यापी रूपमा गइरहेको र यी दृश्यले सत्ता र शक्तिका लागी लालायित व्यक्तिहरू अत्तालिएको टिप्पणी विज्ञप्तिमा गरिएको छ ।

    कानूनको सर्वोच्चताको पैरवी गरिररहने संगठन भएको अनेरास्ववियूले अदालतले गरेको फैसलालाई स्वीकार गर्ने महरले जनाएका छन् ।

  • ट्याक्सी जलाउने व्यक्ति भनेर थपलियाको चरित्रहत्या गर्नेमाथि कारवाही गर्न अनेरास्ववियूको माग

    ट्याक्सी जलाउने व्यक्ति भनेर थपलियाको चरित्रहत्या गर्नेमाथि कारवाही गर्न अनेरास्ववियूको माग

    काठमाडौँ । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रचण्ड–माधव पक्षीय नेकपाले आह्वान गरेको आम हड्तालको क्रममा ट्याक्सी जलाउने व्यक्तिलाई कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेको छ ।

    सो संगठनले आफ्ना अपराध लुकाउन अनेरास्ववियूका त्रिचन्द्र क्याम्पस कमिटी अध्यक्ष गोविन्द थपलियाको संलग्नता रहेको भनेर सामाजिक संजालबाट चरित्रहत्या गर्ने व्यक्तिलाई समेत कानुनी कारवाहीको माग गरेको छ ।

    अखिल अध्यक्ष ऐन महरले शनिवार विज्ञप्ति जारी गरि उक्त घटनाको सत्यतथ्य छानबिन गरि बाहिर ल्याउन र दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका छन् । उनले आफ्नो संगठनका नेता थपलियाविरुद्ध मिथ्या आरोप लाउनेमाथि कानुन बमोजिम उपचारको माग गरेका छ्न ।

    प्रचण्ड माधव नेपाल पक्षधर कतिपय नेता कार्यकर्ता र पूर्व सचिव भीम उपाध्यायले ट्याक्सी जलाउने व्यक्ति थपिलया रहेको र उनलाई प्रहरीले अनुसन्धानमा लिएको भन्दै सामाजिक संजालमा लेखेका थिए ।

    यसैबीच थपलियाले आफूले त्यस्तो प्रचार गर्नेविरुद्ध साइबर अपराधमा मुद्दा हाल्न खोज्दा नलिइएको भन्दै गाली बेइज्जती गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गर्ने बताएका छन् ।

     

  • ऐन महरको चेतावनी–प्रचण्ड पक्षले जनसभामा आउनेलाई अवरोध गरे ठाउँको ठाउँ प्रतिवाद

    ऐन महरको चेतावनी–प्रचण्ड पक्षले जनसभामा आउनेलाई अवरोध गरे ठाउँको ठाउँ प्रतिवाद

    काठमाडौं । अनेरास्ववियूका संयोजक ऐन महरले २३ गते केपी ओली नेतृत्वको नेकपाले आयोजना गर्ने जनसभा र त्यसमाा सहभागी हुने जनतालाई अवरोध गर्ने उद्देश्यले प्रचण्ड माधव नेपाल पक्षले आम हड्ता घोषणा गरेको आरोप लगाएका छन् ।

    महरले जनतालाई तर्साउने र अवरोध गर्ने हर्कत जारी राखिए त्यसको प्रतिवाद हुने बताएका छन् । महरले २३ गतेको जनसभामा सहभागी हुन आउनेलाई कहिँ कतै अवरोध भए सैह्य नहुने चेतावनी दिएका छन् ।

    महरले भने– हिम्मत भए जनताका माझ आउन म मार्चण्ड गुटलाई चुनौती दिन चाहन्छु । २३ गतेको जनसभामा सहभागी हुन आउनुभएका जनतालाई यदि कुनै पनि ठाउँमा अवरोध गरिए अनेरास्ववियूले त्यसको ठाउँको ठाउँ प्रतिवाद गरिने जानकारी गराउन चाहन्छु । त्यसैले जनसभामा ढुक्कका साथ सहभागी हुन सम्पुर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछु । साथै देशै भरिका अनेरास्ववियूका सम्पुर्ण कार्यकर्ता साथिहरुलाई आ आफ्नो जिल्लामा काठमाडौको जनसभामा आउनुहुने जनताको सुरक्षार्थ खटिन निर्देशन गर्दछु ।

  • ऐन महरको चेतावनी : प्रचण्ड–माधव सदनबाट सडक पुगे, अब जेलमा पुग्छन्

    ऐन महरको चेतावनी : प्रचण्ड–माधव सदनबाट सडक पुगे, अब जेलमा पुग्छन्

    काठमाडौं । नेकपा निकट अनेरास्ववियूका संयोजक ऐन महरले प्रचण्ड र माधव नेपालहरु सदनबाट सडकमा पुगेको भन्दै अब जेलको बास हुने चेतावनी दिएका छन् ।

    कार्की पार्टी पार्टी प्यालेसमा आयोजित ओली पक्षधर नेकपाको सुदूरपश्चिम प्रादेशिक भेलाको उद्घोषक रहेका महरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्चमा बोलाउँदै प्रचण्ड–माधव नेपालविरुद्ध कटाक्ष गरेका हुन् ।

    ओलीलाई राजनेताको सम्बोधन गर्दै महरले भने,‘प्रचण्ड र माधव नेपालहरु आज सदनबाट सडकमा पुगेका छन् । उनीहरु आफ्नै कर्मले त्यहाँ पुगेका हुन् । केपी ओलीको नेतृत्वमा मुलुक अघि बढ्दै जाँदा उनीहरुको बास अब जेलका कोठरीमा हुनेछ । हामी उनीहरुलाई जेलमा पुर्‍याउँछौ ।’

    प्रचण्डपथले नेकपा सिध्याएको र मुलुक सिध्याउन लागेको भन्दै महरले प्रचण्डले अहिले नेकपामा महाविपत्ति ल्याएको बताए ।

    उनले भने, ‘प्रचण्डपथको सिद्धान्त भनेकै धक्का, महाविपत्ति अनि छलाङ हो । त्यो कुरा लेखराज भट्टहरुले बुझेर उहाँहरु आज हामीसँग हुनुहुन्छ । प्रचण्डले अहिले महाविपत्ति ल्याएका छन् तर छलाङ हान्न दिइदैन,जेलका काला कोठरीमा पुर्याउछौं ।प्रचण्ड पथले नेकपा सिध्याएको छ । हामी केपी विरुद्धका कुनै पनि अरोप सहन सक्दैनौं ।’

     

     

  • ओलीविरुद्धका गतिविधि बहिष्कार गरौं : ऐन महर

    ओलीविरुद्धका गतिविधि बहिष्कार गरौं : ऐन महर

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरी चालेको कदममाथि नेकपा निकट अखिल अनेरास्ववियुका संयोजक ऐन महरले समर्थन जनाएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत् नयाँ जनादेशका लागि प्रधानमन्त्रीले चालेको कदम बाध्यात्मक भएको भन्दै यसलाई समर्थन गरी ताजा जनादेशका दागि तयार रहन आग्रह गरेका छन् ।

    राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्तावव दर्ता गर्ने निर्णय अघि सारेपछि प्रम ओलीले उक्त कदम चालेको महरले दाबी गरेका छन् ।

    ‘२०७४ सालमा प्राप्त जनमतको सम्मान नगरी राजनीतिक अस्थिरताका पुजारीहरू मार्चण्ड गुटले राष्ट्रपतिका विरुद्ध महाभियोग र प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेर अगाडि बढेपछि नयाँ जनादेशका लागि प्रधानमन्त्रीले चाल्नुभएको बाध्यात्मक कदम हो संसद बिघटन। सबैले समर्थन गरौं र हिम्मत हुनेहरूले ताजा जनादेशका लागि तयार बनौं,’ संयोजक महरले लेखेका छन् ।

    उनले ओलीवविरुद्ध गरिएका मार्चण्ड गुटका गतिविधि र कदमहरूलाई जनमत, संविधान र राष्ट्रविरोधी संज्ञा दिँदै त्यसलाई खबरदारी गर्न आग्रह गरेका छन् ।

    संयोजक महरले नेकपाको कुनै पनि जनवर्गीय संगठनको प्रदर्शन नभएको जानकारी गराउँदै हुल्लडवाजको हुलमा सहभागी नहुन समेत आग्रह गरेका छन् ।

    उनले लेखेका छन्, ‘आज पुस ५ गते नेकपा को कुनै पनि जनवर्गीय संगठनको प्रदर्शन नभएको जानकारी गराउँदै हुल्लडवाजहरुको हुल्लोमा सहभागी नहुन सम्पुर्णमा हार्दिक अनुरोध छ ।’