काठमाडौं । दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको छ । परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् ।
एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ ।
दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा बोर्ड परीक्षा हुन सकेको थिएन । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो । दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई पास गराइएको थियो ।
काठमाडौं । दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदैछ । परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् ।
एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ ।
दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा बोर्ड परीक्षा हुन सकेको थिएन । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो । दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई पास गराइएको थियो ।
‘परीक्षाविनाको सिकाइ हुँदै हुँदैन,’ नेपालको शिक्षा प्रणालीमा यो सोच ठूलो समस्याको रुपमा विकास भएको छ । यसकारण सिकाइ र मूल्यांकनलाई छुट्याएर हेर्ने चलन छ । यो कमजोर शैक्षिक चेतनाका उपज हो । यो समस्या आधुनिक शिक्षाको नाममा एसएलसी बोर्डको स्थापना गरेदेखि सुरु भयो ।
एसएलसी बोर्डको परिकल्पना तत्कालीन अवस्थामा इस्ट इण्डिया कम्पनीले चलाएको शिक्षा प्रणालीसँग मिल्दो थियो । त्यही शिक्षा प्रणालीको नक्कलमा यो परीक्षा बोर्ड स्थापना भयो । त्यसले मूल्यांकनलाई अत्यन्तै साँघुरो रुपमा लियो । बोर्डले ‘तीन घण्टा परीक्षा लिए पुग्छ’ भन्ने मान्यता राख्यो ।
यसैको निरन्तरता हो एसईई पनि । दुर्भाग्य त विसं १९९० मा परीक्षा लिने विधि जुन छ, अहिले पनि त्यही छ । यदि महामारी नहुने हो भने यसपाली पनि एसईई त्यसरी नै लिइन्थ्यो । प्रश्नहरूमा १९९० र अहिलेको अवस्थामा ठूलो फरक छैन । परीक्षा बोर्डको क्षमता पनि रेस्टिक्टेड भयो । त्यहाँ भएका मान्छे, ब्यूरोक्रेसी र उनीहरूले सल्लाह दिने सबै क्षेत्रमा परीक्षा सर्वेसर्वा भइदियो ।
विसं २०२८ सालपछि राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रको विकास भयो । त्यसपछि सरकारका दुई काम देखिए । एउटा पाठ्यक्रम र पाठ्यपुस्तक बनाएर पठाउने र अर्कोचाहिँ परीक्षा लिनुपर्छ भन्नेमा जोड दिने । यो मान्यताले विद्यालयलाई सिकाइ गर्ने थलो भन्दा पनि पढाएर कोर्स सिध्याउने, सूचना दिने र जाँच लिने ठाउँको रुपमा स्थापित ग¥यो । यही सोचाइबाट सञ्चालित विद्यालयमा सिकाइमा विविधीकरण भएन ।
विविधीकरणको अर्थ सिकाइलाई विभिन्न ढंगमा बाँड्न सकिन्थ्यो । निश्चित उमेर समूहपछि विदेशमा वर्किङ स्टडी टिम हुन्छ । हाम्रोमा
वर्क र स्टडी छुट्याइयो ।
विद्यार्थीले शारीरिक कामको परिश्रम गर्नुहुँदैन, हातै चलाउनुहुँदैन । बढी भन्दा बढी कलम, किताब, कपी, कलम सिकाइको दायरा यही मात्र हो भन्ने बुझाइयो ।
यस्तो बुझाइ तीन घण्टे जाँचबाट भयो ।
अहिले हामी जुन अवस्थामा आइपुगेका छौं, यो बेलामा पश्चाताप भएको हुनुपर्छ । यतिका वर्षसम्म हामी यति रेस्टेक्डड भएका रहेछौं, यति गाह्रो भएको रहेछ । आफूले चिनेजानेको विद्यार्थीलाई पनि मूल्यांकन गर्न सक्ने परिपाटी रहेनछ । यो परिपाटीमा न हामी शिक्षकलाई विश्वास गर्छौं । न त राष्ट्रिय परीक्षा बोर्डलाई नै । यतिका वर्षसम्म परीक्षा चलाउँदै आइयो, क्षमता बढाउन सकिएन ।
मूल्यांकनका विधि
दास्रो लहरको महामारी आउनुअघि हामी एउटा स्कुल भ्रमण गर्न गयौं । त्यहाँको गणित शिक्षकले एउटा प्रश्न उठाउनुभयो, ‘सर, बच्चाहरूले कोठा नाप्न जानेका छन् । तर त्यसलाई भनेर कसरी मूल्यांकन गर्ने ?
‘जाने भन्ने कुरा कसरी थाहा भयो तपाईंलाई,’ मैले सोधेँ । ‘उनीहरूले कोठाको लम्बाइ चौडाई नापेर देखाए,’ उहाँले भन्नुभयो । मैले सुझाएँ, ‘त्यसोभए त्यही लेख्नुस् न । एउटा फाराम बनाउनुस् । डायरी बनाउनुस् र नोट गर्नुस् । यो दिनमा यो विद्यार्थीले यति नाप्यो भनेर । तपाईंसँग मोबाइल छ उसले नाप्दै गरेको फोटो खिच्नुस् । त्यो भन्दा ठूलो उसको सिकाइको प्रमाण अरु के हुन्छ ? उसलाई प्रस्तुत गर्न लगाउनुस् । मैले कसरी नाप्न सिकेँ भनेर लेख्न लगाउनुस् । चित्र कोर्न लगाउनुस्, त्यसलाई पनि स्केच बनाएर रेकर्डमा राख्नुस् ।’
मूल्यांकनमा आफ्नै विधिहरू हुन्छन् । यो विधिले मुल्यांकन गर्नु अथेन्टिक एससमेन्ट हो । यो कुरामा प्रणाली लैजाने हो भने सिकाइ र मूल्यांकन सँगसँगै हुन्छ ।
तर हाम्रो चिन्तन, मेसिनरी लगायत सारा कुराले जाँच नै बुझेको छ । केही दिनअघि एकजना साथीले भन्नुभयो, ‘त्यो एसईईकोचाहिँ अनलाइन भए पनि परीक्षा नै गर्नुपर्छ ।’
बालचन्द्र लुइँटेल
परीक्षाप्रतिको यो बुझाइमा १९९० कै लिगेसी छ । यो लिगेसी छाडिएन भने खतरनाक हुन्छ । शिक्षाले खराब लिगेसीहरूलाई छाड्न सिकाउनुपर्ने, झन्झन् बोकेर हिँड्न सिकाउने हो कि ! त्यसैले हाम्रो शिक्षा बढी भन्दा बढी ट्रान्जेक्सनल भयो । जे चाहिएको छ त्यति दिने, तर ट्रान्सफर्मेन्नल भएन ।
एसईईप्रतिको तर्क पनि परीक्षा नहुँदा विद्यार्थीले पढ्दैनन् भन्ने छ । पढ्न त हिजो पनि कहाँ पढ्थे र ! उनीहरूले सर्टिफिकेट प्राप्त गर्नलाई कण्ठ गर्थे । फर्मुलाहरू दुई चार ओटा कण्ठ गर्थे । यस्तो शिक्षा प्रणाली त बनाउनु भन्दा नबनाइकै बेस लाग्छ ।
मेमोरीको क्रियटिभ युज गर्ने र कण्ठ गर्ने कुरा फरक हो । मेमोरी सबैलाई चाहिन्छ । सम्झनु कण्ठ गर्नु फरक कुरा हो । अब यो परिस्थितिमा तर्क कस्ता उठ्न सक्छन् भने एसईई भएन, विद्यार्थीले पढ्दैनन् भन्ने कुराचाहिँ तीन घण्टे जाँचसँग जोडिने हो भने त्यो समाजको जमात, त्यो शिक्षा प्रणाली बन्द गरे हुन्छ ।
हामीले शिक्षालाई इनोभसनतिर पौ लैजानुपर्ने हो । तर यो नगरिकन विद्यार्थीलाई रटाएर, थर्काएर पढाउनु राम्रो होइन । त्यसरी गर्ने हो भने कस्तो समाज बनिरहेछ त ?
सर्टिफिकेटको लागि १२ मा परीक्षा लिँदा हुन्छ । १२ कक्षाअघि आफूले पढाएको विद्यार्थीलाई राम्रोसँग आफूले नै मूल्यांकन गर्नुपर्छ । मूल्यांकन गर्नु भनेको के त ? एउटा विद्यार्थीले वर्षभरि पढ्यो भने ऊ कहाँ छ भनेर ग्रेड दिने आधारहरू प्रस्तुत गर्नुपर्यो । जस्तो उसले यो यो काम गरेको छ, यो-यो प्रोजेक्ट गरेको छ । एउटा एभिडेन्स हुनुपर्छ ।
मेरो कम्प्युटरमा मैले पढाउने विद्यार्थीहरूको कमसेकम उनीहरूले एउटा सेमेस्टरमा ६ महिना उनीहरूले गरेको कामको फेहरिस्त छ । उनीहरूलाई पठाउँछु कि तिमीहरूको यति ग्रेड आयो, फाइनल ग्रेड यति हुन्छ भनेर । सबै जोडेर यति आयो भनेर भन्छौं । यो प्रक्रियाबाट नै हो हामीले मूल्यांकन गर्ने ।
परीक्षा खारेज गरौं
अहिले स्थानीय निकायमा पनि एउटा लहर आएको देख्छु- परीक्षा लिने । उनीहरूले केवल जानेकै त्यतिमात्र छ । सिकाइकेन्द्रित सोच भएन । मैले पटक-पटक भनिरहेको छु कि अब परीक्षा बन्द गरौं । सिकाइ र मूल्यांकनमा जोड दिऔं ।
बरु राम्रो गरिरहेका देशका शिक्षा प्रणालीबाट सिकौं । नयाँ-नयाँ मुलुकले जसरी शिक्षामा ग्रोथ गरिरहेका छन्, त्यो ग्रोथ परीक्षा लिएर भएको छैन । धेरै भन्दा धेरै बच्चालाई सिकाइमा जोडेर, धेरैभन्दा धेरै खुला सिकाइमा लगेर भएको छ ।
फाइल तस्बिर
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा होइन, बरु शिक्षकलाई तालिम दिने सिकाइलाई जतिसक्दो राम्रो बनाउने काम गर्र्नुपर्यो । खाली प्रश्नपत्र मात्र बनाउने काम गर्ने होइन । एउटा विद्यार्थीले प्रस्तुति दियो, प्रस्तुति दिएको कुराको मूल्यांकन कसरी गर्ने त ? त्यसबारे केही गरेको छ बोर्डले ? एउटा विद्यार्थीले राम्रो प्रोजेक्ट वर्क गर्यो, त्यसको मूल्यांकन कसरी गर्ने ? त्यो कसले दिन्छ त ? त्यो म्यानुअल कसले बनाइदिन्छ ? कार्यविधि पनि प्रश्न गर्नुपर्ने भएको छ ।
सिकाइउन्मुख बनाउने हो भने मूल्यांकन कसरी व्यवस्थित पार्ने, छलफल गर्न भन्ने बारेमा छलफल चलाउनुपर्छ । शिक्षकहरूलाई सहकार्य गर्दै विद्यालयलाई नै बढी भन्दा बढी उत्तरदायी बनाउँदै जानुपर्छ । अहिले बजेटमा जुन परिणाममुखी भनिएको छ, त्यो दिनका लागि पनि विद्यालयलाई सिकाइनेन्द्रित गराउनैपर्छ । सिकाइकेन्द्रित विद्यालयको मात्रै भविष्य छ ।
अभिभावकले पनि यसमा ख्याल गर्नुपर्ने कुरा छ । शिक्षकहरूको अभिभावकप्रति पनि गुनासो छ, ‘सधैं ग्रेड खोज्ने । आफ्ना सन्तानलाई टर्चर दिने ।’
भोलि इन्जिनियर डाक्टर भएर मात्रै भविष्य बन्ने होइन ।
यसरी दबाब दियो भने पनि शिक्षा प्रणाली राम्रोसँग बन्दैन । हामीले १५ वर्षयता हेरौं । एसएलसीको ग्रेड र हाइयर एजुकेशनको फेल पास हेरौं । कति कम छ । पहिल्यैदेखि नै पास प्रतिशत न्यून छ ।
किन यस्तो भयो त ? सिकाइलाई प्राथमिकता दिएको थियो भने विद्यार्थी सफल हुन्थे । सिकाइलाई प्राथमिकता दिएनौं, जाँचमा लेख्ने कुरालाई प्राथमिकता दियौं । जेमा प्राथमिकता दियौं यसले गर्दा विद्यार्थीको करिअर बिग्रियो ।
एसएलसी र र १२ मा राम्रा गरेका विद्यार्थीको १५ वर्षयता डाटा हेर्ने हो भने उनीहरूको स्नातक लेभलमा राम्रो छैन । यो विषयमा घोत्लिएर हेर्नुपर्ने हुन्छ ।
हामी हाम्रै छिमेकीको अगाडि पनि ७० वर्ष पछाडि परिसकेका छौं । यो सन्दर्भमा परीक्षा, एसइई जस्ता साना तिना स्वार्थले विद्यार्थीको भविष्य अन्योल नपारौं ।
( प्रा.डा. लुइँटेलसँग नेपाल प्रेसका लागि समर्पण श्रीले गरेको कुराकानीमा आधारित)
काठमाडौं । गत वर्ष कोरोना महामारीका कारण अन्तिम समयमा एसईई परीक्षा स्थगित भयो । विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनका आधारमा भदौमा प्रकाशित गरेको नतिजामा व्यापक असन्तुष्टिहरू देखिए ।
विद्यालयले आफ्नै तजविजमा अंक दिँदा विगतका वर्षहरूमा भन्दा निकै फरक नतिजा आएको थियो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको भनाइमा विद्यार्थीले पाउने ग्रेडमा आकाशपातल फरक परेको थियो ।
‘हामीले तथ्यांकमा हेर्दा गत वर्ष थोरै ग्रेड पाउने विद्यार्थी संख्या थोरै र ठूलो ग्रेड पाउने विद्यार्थी संख्या धेरै देखियो, जुन अघिल्ला वर्षहरुको ट्रेन्डभन्दा उल्टो हो,’ उनले भने, ‘अघिल्ला वर्षहरूमा धेरै ग्रेड पाउने विद्यार्थी थोरै र थोरै ग्रेड पाउने विद्यार्थी धेरै हुन्थे ।’
अर्यालका अनुसार एसईईमा ७५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तिर्ण हुने गरेकोमा गत वर्ष त सयमा सय नै उत्तिर्ण भए । त्यसमा पनि अत्यधिकले ‘ए प्लस’ पाए । यसले नतिजाको विश्वसनीयतामै प्रश्न उब्जियो ।
परीक्षाका लागि राम्रो तयारी गरेका जेहेन्दार विद्यार्थीलाई यसले नकारात्मक प्रभाव परेको थियो ।
गत वर्षका एक परीक्षार्थी भन्छन्, ‘परीक्षा दिएको भए पनि ए प्लस नै ल्याउँछु भन्ने थियो । तर, बिनापरीक्षा ए प्लस आउँदा धेरैले खिसिट्यूरी गरे । स्कलरसीप पाउन पनि समस्या भयो ।’
अर्कोतर्फ कतिपय विद्यालयले गरेको मूल्यांकनमा अन्याय परेको भनेर अभिभावक र विद्यार्थीको गुनासो पनि सुनियो । सिन्धुलीमा एक विद्यार्थीले कम अंक दिएको भनेर शिक्षकलाई हातपात गरेको घटना समेत सार्वजनिक भएको थियो ।
०००
प्रत्येक वर्ष राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा लिने गरेको छ । तर, कोरोना महामारीका कारण अघिल्लो वर्ष विद्यालयहरूले नै आन्तरिक मूल्यांकन गर्ने निर्णय सरकारले गरेको थियो । यस वर्ष पनि कोरोनाको दोस्रो लहरका कारण एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
मन्त्रिपरिषद्ले दुई दिनअघि गरेको निर्णयबारे परीक्षाबोर्डका अध्यक्ष चन्द्रमणि पौडेल भने बेखबर छन् । आन्तरिक मूल्यांकनका विषयमा अघिल्लो वर्षदेखि पनि सकारात्मक नरहेका उनी भन्छन्, ‘सरकारको निर्णय पाएको छैन । के रहेछ अफिस गएर हेर्नुपर्ला ।’
आधिकारिक निर्णय पाएपछि आन्तरिक मूल्यांकनका लागि कार्यविधि बनाउने उनले बताए ।
बोर्डका सदस्यसचिव अर्याल अघिल्ला वर्षका कमजोरी सुधार्ने गरी कार्यविधि निर्माण गरिने बताउँछन् ।
उनले भने, ‘गत वर्षको मूल्यांकनमा मनपरी भएको भनेर गुनासोहरु आए । अहिले त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर हामी सोचिरहेका छौं । कार्यविधिमा यी कुराहरू आउँछन् ।’
शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा कमजोरी औंल्याउँदै भन्छन्, ‘केही विद्यालयमा मार्कलाई फरक ढंगले चढाएर ग्रेडिङ धेरै आयो । मुलुकभरि अनुमगन गर्दा ग्रेडिङमा तलमाथि परेको थियो । उपयुक्त कार्यविधि नभएर पनि यस्तो भएको हुनसक्छ ।’
शिक्षाविद् विद्यानाथ कोइराला आन्तरिक मूल्यांकन उपयुक्त प्रणाली भए पनि सिकाइ प्रणालीकै दोषका कारण विवाद आएको बताउँछन् ।
‘पूरानै ढर्राबाट पढाइ गरेर यस्तो मूल्यांकन कहाँ हुन्छ ? विद्यार्थीको सिकाइमा ध्यान नै गएन,’ उनले भने ।
एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा पोहोर जिम्मेवार व्यक्तिहरूले आचारसंहिता पालना नगरेका कारण जथाभावी ग्रेड आएको बताउँछन् ।
शिक्षाविद् कोइराला एसइईका विषयमा अघिल्लो वर्षको अभ्यासबाट मन्त्रालय र परीक्षा बोर्ड दुवैले पाठ नसिकेको बताउँछन् ।
‘मन्त्रालय र परीक्षा बोर्डमा परिवर्तन नचाहनेहरू छन् । उनीहरूले विद्यार्थीको भविष्य अन्धकार बनाउने काम मात्र गरे,’ कोइराला भन्छन् ।
कोइराला महामारीमा मात्र नभई आन्तरिक मूल्यांकनलाई सँधैका लागि स्थापित गराउनुपर्नेमा जोड दिन्छन् । अन्यथा महामारीमा एसइई दिएका विद्यार्थीलाई सधैँभरि ट्यागलाग्ने उनको तर्क छ ।
‘अघिल्लो वर्ष पनि उनीहरूको मनोविज्ञानमा असर पारियो । चिट चोराएर पास गरे भन्ने कुरा आयो । एसइईलाई कक्षा १० को परीक्षाका रुपमा मात्रै लिएको भए यस्तो हुन्थेन,’ उनले भने ।
मन्त्रालयका प्रवक्ता शर्मा भने ‘फेस टू फेस’ पढाइ नभएपछि कम प्रभावकरी हुने बताउँछन् । त्यसमाथि अघिल्लो वर्षको प्रभावकारितालार्ई अहिल्यै जाँच्न नमिल्ने उनको तर्क छ ।
‘गत वर्षको रिजल्ट र अहिलेको रिजल्टलाई हामीले हेर्ने हो । त्यसलाई विश्लेषण गरेर भन्न सक्छौं कति प्रभावकारी भयो भन्न सक्छौं । नेसनल एजुकेसन रिभ्यु अफ स्कुलले पनि त्यसको पुनरावलोकन गर्छ,’ उनी भन्छन् ।
एनप्याब्सनका अध्यक्ष सापकोटा अघिल्लो वर्षभन्दा यस वर्ष झनै जोखिम रहेको देख्छन् ।
‘अघिल्लो वर्ष पढाइ भएको थियो । यो वर्ष त कुनै पनि न्यूनतम सिकाइ पनि भएन । यस्तो बेलामा परीक्षा भएर के गर्ने ? मूल्यांकन गरेर पठाउँदा ११ पढ्न समस्या हुन्न र ?’ उनको प्रश्न छ ।
यो वर्ष मूल्यांकनभन्दा बढी ध्यान सिकाइको सुनिश्चिततामा दिनु पर्ने उनको बुझाइ छ ।
‘तीन महिना पढेर कसरी १ वर्षमा कोर्स सिद्धिन्थ्यो ? सिकाइ संवेदनशील विषय हो । अहिले त पढ्ने विद्यार्थी र पढाइमा नजोडिएका विद्यार्थीबीच तात्विक भिन्नता नै हुन्न । अघिल्लो वर्षबाट केही पाठ सिकेको देखिएन,’ उनी भन्छन् ।
यस वर्ष पनि नपढेका विद्याथलाई हाइसन्चो हुने उनको ठहर छ । मूल्यांकन हुने नै भए पनि कक्षा ११ को सत्र सुरु नहुन्जेल विद्यार्थीलाई तयारी पार्न सकिने उनले बताए ।
‘कक्षा ११ को पढाइ त भदौमा हुने हो । हामीसँग असार र साउन दुई महिना छ । यसलाई पूर्ति गर्ने किसिमको कुनै कार्यक्रम ल्याऊँ । १० कक्षामा सिकाउन नपाएका कुरा पुनः लिएर जाऊँ,’ सापकोटाले भने ।
नेपाल शिक्षक महासंघका अध्यक्ष थापा मूल्यांकनका लागि पुनः निर्देशन गर्ने संरचना बनाए अघिल्लो पटकको समस्या नदोहोरिने सुझाव दिन्छन् ।
यसपालि ५ लाख १७ हजार विद्यार्थीले एसईईको फाराम भरेका छन् ।
काठमाडौं । शिक्षा मन्त्रालयले यसपालिको कोरोना महामारीले आइपरेको संकटका कारण रोकिएको एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न मन्त्रिपरिषद्मा प्रस्तावका लैजाने तयारी थालेको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वर ढकालले वैकल्पिक विधिबारे अहिले छलफल भइरहेको र छिट्टै प्रस्ताव लैजाने नेपाल प्रेसलाई बताए ।
राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकन विधिबाट परीक्षा गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो । यसकारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट गर्नेबारे छलफल भइरहेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । ‘विभिन्न विकल्पमध्ये सो विकल्पमा माथि छलफल भइरहेको छ । आन्तरिक मूल्यांकनबाट गर्ने कि भन्ने कुरामा जोड दिइएको छ,’ उनले भने ।
अघिल्लो वर्षको मोडालिटीमा स्कूलले पहिलो र दास्रो परीक्षाको मूल्यांकन गरेर प्राप्त अंक राष्ट्रिय परीक्षा बोर्डलाई पठाएको थियो ।
यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । कोरोना महामारीले गर्दा सबै परीक्षा स्थगित भएपछि एसइई परीक्षा पनि स्थगित भएको थियो ।
जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई परीक्षा दिने तयारीमा छन् ।
भौतिक उपस्थितिमा देशभरका २ हजार १९ केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले यसअघि निष्कर्ष निकालेपछि रोकिएको थियो ।
त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन गर्ने कार्यतालिका थियो । कक्षा १२ मा करिब ४ लाख विद्यार्थी छन् ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ भेरियन्टसहितको कोरोना महामारीले आइपरेको संकटका कारण रोकिएको एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।
कोभिडको महामारी लम्बिँदै गएकाले एसईई परीक्षा वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि यस्तो आग्रह गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।
यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । कोरोना महामारीले गर्दा सबै परीक्षा स्थगित भएपछि एसइई परीक्षा पनि स्थगित भएको थियो ।
जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा छन् । भौतिक उपस्थितिमा देशभरका २ हजार १९ केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले यसअघि निष्कर्ष निकालेपछि रोकिएको थियो ।
त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन गर्ने कार्यतालिका थियो । कक्षा १२ मा करिब ४ लाख विद्यार्थी छन् ।
काठमाडौं । कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै एसईईबारे एकदुई हप्ताभित्र निर्णय गरिने बताए ।
‘गल्लीगल्ली डटइन्फो’ले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा प्रवक्ता शर्माले शिक्षक र अभिभावक तम्तयार र उनीहरुबीचको जीवन्त सम्पर्क नभएकाले सिकाइ तथा मूल्याङ्कन सफल नहुने भएकाले विभिन्न माध्यमको प्रयोग गरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
उनले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सक्ने स्पष्ट पारे । कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्नेछ ।
बालबालिका विज्ञ डा मीनाक्षी दाहालले विषम स्थितिमा बालबालिकालाई समग्र मनोवैज्ञानिक पक्षमा नकारात्मक असर पार्न नहुने बताउनुभयो । अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई सहजरुपमा सूचना प्रविधिका साधनमा जोड्नका लागि तीनै तहका सरकारले प्रभावकारी काम नगरेको गुनासो गरे ।
काठमाडौं । यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेकाे बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे ।
यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।
स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ-आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षामन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले नेपाल प्रेसलाई जानकारी दिए ।