Tag: एम्बुलेन्स खरिद

  • वडाध्यक्ष फुयालको अगुवाइमा एम्बुलेन्स खरिदः सुत्केरीलाई निशुल्क सेवा, वडाबासीलाई आधा छुट

    वडाध्यक्ष फुयालको अगुवाइमा एम्बुलेन्स खरिदः सुत्केरीलाई निशुल्क सेवा, वडाबासीलाई आधा छुट

    इटहरी । सुनसरीका इटहरी, धरान र इनरुवाको लगभग केन्द्रमा पर्ने रामधुनी नगरपालिकामा राम्रा स्वाथ्य संस्था छैनन् । विरामीलाई जिल्ला अस्पताल लैजान इनरुवा पुग्नुपर्छ, राम्रो चेकजाँच गर्न इटहरी । गम्भीर रोग लागे धरान वा विराटगर । एम्बुलेन्स सेवा अनिवार्य छ ।

    समस्यालाई चिर्न रामधुनी नगरपालिका वडा नम्बर ५ का अध्यक्षको अगुवाइमा नयाँ एम्बुलेन्स खरिद् गरिएको छ । वडाको बजेट र स्थानीयहरुको सहयोगमा एम्बुलेन्स खरिद गरिएको हो ।

    राजधुनीमा सरकारीस्तरमा खरिद गरिएको यो पहिलो एम्बुलेन्स हो । १३ लाख ४३ हजार लागतमा खरिद गरिएको एम्बुलेन्सले सुत्केरीलाई निशुल्क बोक्नेछ भने अन्य बिरामी भएका वडाबासीलाइ आधा छुट हुनेछ । एम्बुलेन्स संचालन सहज बनाउन स्थानीय गुणराज काफ्लेको नेतृत्वमा एम्बुलेन्स संचालन तथा व्यवस्थापन समिति बनेको अध्यक्ष फुयालले बताए । उनले भने, ‘वडा तहबाट आफ्नै पहलमा किनिएको यो सुनसरीकै पहिलो एम्बुलेन्स सेवा हो । हामीले दिर्घकालीन सोच लिएर यसको तयारी गरेका छौँ ।’ एम्बुलेन्स सेवाग्राही कार्ड वितरण गरेर सेवा दिइने तयारी अगाडि बढेको फुयालले बताए ।

    कोभिड संक्रमित बोक्न एम्बुलेन्स नपाएपछि खरिद

    कोडिभ लहरको पिकमा रामधुनी ५ का धेरै जना संक्रमित भए । बजार क्षेत्र पर्ने भएकोले संक्रमितलाई उपचार गर्न एम्बुलेन्सको आवश्यकता धेरै भयो । नगरपालिकाका विभिन्न संस्थाको नाममा ६ एम्बुलेन्स थिए । भएका एम्बुलेन्स सबै ठेक्कामा लागेका थिए । एम्बुलेन्स माग्न छिमेकी स्थानीय तह इटहरी र जिल्लामा गुहार गर्नुपर्ने अवस्था आयो ।

    समस्याले हैरान भएपछि वडाध्यक्ष फुयालले २०७७ मंसिरमा वडाका टोल विकास प्रतिनिधिहरुसँग छलफल गरे । २५ टोल विसका संस्थाका अध्यक्ष र सचिव सहभागी बैठकमा सबैले सहयोग गर्ने बचन दिए । बचनअनुसार पुषमा संघीय मन्त्रालयमा कर छुटको लागि पत्र बुझाए ।

    तत्कालीन मन्त्री भानुभक्त ढकालको समयमा बुझाएको पत्रमाथि हृदयश त्रिपाठी मन्त्री आएपछि काम भयो । एम्बुलेन्स किन्न वडा कार्यलय, २५ टोल विकास संस्थादेखि ७६ स्थानीयले आर्थिक सहयोग गरे । र, हालसालै एम्बुलेन्स आयो ।

    ‘हामी सबै लागेर खट्दा पनि एम्बुलेन्स आउन ८ महिना लाग्यो’, एम्बुलेन्स आएपछि बिहीबार साँझ नेपालप्रेसँग बोल्दै वडा अध्यक्ष फुयालले भने, ‘लामो प्रक्रियाले धेरै तनाव दियो ।’

    २०६६ सालमा अनेरास्यवियु सुनसरी अध्यक्षदेखि जनकपुर महाधिवेशनपछि केन्द्रीय सदस्य भएर स्थानीय तहमा आएका फुयालले विद्यार्थी राजनीतिको व्यवस्थापकीय अनुभवले वडामा काम गर्न सजिलो भएको बताए ।

  • एम्बुलेन्स खरिद गर्न प्रवासीको सहयोग

    एम्बुलेन्स खरिद गर्न प्रवासीको सहयोग

    काठमाडौं । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ ।

    बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् ।

    उनीहरूले कोरोना संक्रमण अथवा कुनै पनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिदका लागि आर्थिक सङ्कलन अभियान चलाएको र पहिलो चरणमा १० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

    सुविधासम्पन्न एम्बुलेन्स अभावमा कतिपय बिरामीको अस्पताल पुर्‍याउँदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको बागलुङ घर भई अष्ट्रेलियामा रहेर एम्बुलेन्स खरिदका लागि सहयोग सङ्कलन अभियान चलाएका सुमन विष्टले जानकारी दिए ।

    भन्सार छुटसहित करिब २८ लाख ५० हजार रुपैयाँमा खरिद गरिने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा फरक र सुविधासम्पन्न हुनेछ । नयाँ एम्बुलेन्समा दुई बिरामी, स्वास्थ्यकर्मी र आवश्यक उपकरण राख्न सकिनेछ । एम्बुलेन्स खरिदका लागि बाँकी रकम एक हप्तामै आउने र एक महिनाभित्रै अस्पतालमा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने धवलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले बताए ।

    पहिलो चरणको १० लाख रुपैयाँको चेक सुमन विष्टका बुवा तिलक विष्टले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरलाई हस्तान्तरण गरेका थिए । उनले अस्पतालको सिङ्गो टिम र सहयोगीको साथका कारण अस्पतालले मुहार फेरेको बताउँदै अस्तालमा आधुनिक एम्बुलेन्स आउँदा दुःखी तथा गरिबका लागि सहयोगी बन्ने बताए ।

    -रासस