Tag: एमिकस क्यूरी

  • एमिकस क्यूरीका कारण संवैधानिक इजलाससम्बन्धी विवादको सुनुवाइ स्थगित

    एमिकस क्यूरीका कारण संवैधानिक इजलाससम्बन्धी विवादको सुनुवाइ स्थगित

    काठमाडौं । नेपाल बार एशोसियनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाएका कारण प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ स्थगित भएको छ ।

    न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेसी तोकिएको सो मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज सुनुवाइ नभएको हो ।

    सर्वोच्च बारले पूर्णमान शाक्य र रविनारायण खनाल तथा नेपाल बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष शेरबहादुर केसीको नाम टुंगो लगाए पनि आधिकारिकरूपमा नाम नदिएको बताइएको छ ।  एमिकस क्युरी पठाउन आदेश भएको सर्वोच्च प्रशासनले बताएको छ ।

    न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिएको थियो । संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि यो प्रकरण अदालतमा मुद्दाका रूपमा छ ।

    प्रधानन्यायाधीशले सो मुद्दाको सुरू र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरीत भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गराएका थिए ।

    सर्वोच्च अदालतले भने लिखित जवाफमा संविधानबमोजिम प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन नसक्ने र रिक्युजलको निर्णय न्यायाधीशको विवेकको कुरा भएको भनेको छ ।

    प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछिमात्र संवैधानिक नियुक्तिहरूविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्नेछ ।

  • संवैधानिक इजालसमा ४ घण्टा २ मिनेटको बहस बाँकी

    संवैधानिक इजालसमा ४ घण्टा २ मिनेटको बहस बाँकी

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाईमा अब ४ घण्टा २ मिनेटको बहस बाँकी छ ।

    इजलासले तय गरेको समय व्यवस्थापन अनुसार जवाफी बहसका लागि रिट निवेदक तर्फका कानून व्यवसायीसँग बहसका लागि २ घण्टा २ मिनेट समय छ । त्यस्तै एमिकस क्यूरीका ४ जना सदस्यहरुलाई राय दिनका लागि २ घण्टाको समय छ ।

    आइतबारदेखि सुरु भएको जवाफी बहसका क्रममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् । रिट निवेदकका तर्फबाट श्रेष्ठबाहेक वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले पनि जवाफी बहस गर्दैछन् ।

    जवाफी बहस आज चिया सत्रअघि सकिएमा आजै एमिकस क्यूरीले राय दिने क्रम सुरु हुनेछ । आज सुनुवाई सकिएको अवस्थामा मंगलबार वा बुधबारसम्म आदेश आउने सम्भावना छ ।

    प्रतिनिधिसभा विघटन बारे सर्वोच्च अदालतमा ३० रिट निवेदन दर्ता भएका थिए । ती सबैलाई संवैधानिक इजलासमा राखिएकोमा शेरबहादुर देउवासहित १ सय ४६ जना निवेदक रहेको रिटलाई अग्राधिकार दिदै बहस थालिएको थियो ।

    सो मुद्दामा प्रतिनिधिसभा विघटन बदर गर्न, निर्वाचन रोक्न र देउवालाई संविधानको धारा ७६ को ५ बमोजिमको प्रधानमन्त्रीमा नियुक्त गर्न मागदावी गरिएको छ ।

  • न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा, देलान् त तटस्थ राय ?

    न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा, देलान् त तटस्थ राय ?

    काठमाडौं । सर्वोच्च अदालतलाई ‘तटस्थ राय’ दिन झिकाइएका ‘अदालतको साथी’ अर्थात् ‘एमिकस क्यूरी’ नै विवादमा परेको छ ।

    नेपाल बार एशोसियसनले एमिकस क्यूरीमा पठाउने निर्णय गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्य रिट निवेदक समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । रिट निवेदकको कानूनी सल्लाहकारका रूपमा काम गरिसकेका व्यक्तिले एमिकस क्यूरीका रूपमा ‘तटस्थ’ भूमिका निर्वाह गर्न नसक्ने भन्दै अधिकांश कानून व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् ।

    न्यायसेवामा रहेका वैद्यलाई सुवासचन्द्र नेम्वाङ कानूनमन्त्री रहेको बेला तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश बनाइएको थियो । पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्ड प्रधनमन्त्री बनेपछि पुनरावेदनको न्यायाधीशबाट राजीनामा दिएर वैद्य महान्यायाधिवक्ता बनेका थिए ।

    महान्यायाधिवक्ताबाट पदमुक्त भएपनि न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधिवबाट राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भए । चार वर्षे कार्यकाल सकिएपछि वकालतमै फर्किएका वैद्यलाई एमिकस क्यूरीमा नराखेको भए उपयुक्त हुने कानून व्यवसायीहरूको राय छ ।

    ‘विगतमा प्रचण्डजीको महान्यायाधिवक्ता भएको व्यक्ति भएकाले तटस्थ राय दिने अपेक्षा गर्न गार्‍हो हुन्छ । एमिकस क्यूरीले स्वतन्त्र राय दिने भनिएपनि पात्रका विषयमा प्रश्न उठ्नु बारका लागि राम्रो होइन’, बार एशोसियसनका पूर्वपदाधिकारीले नेपाल प्रेससँग भने ।

    बार एशोसियसनले भने न्यायाधीश हुनु र एमिकस क्यूरीमा रहनु फरक विषय भएको बताएको छ । बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ एमिकस क्यूरीमा रहने कानून व्यवसायीले मुद्दाबारे स्वतन्त्र राय दिन विगतको भूमिकाले असर नपर्ने बताए । पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा विगतमा केपी शर्मा ओलीको महान्यायाधिवक्ता रहेको भन्दै आलोचना भएपछि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलास छोडेको घोषणा गरेका थिए ।

    ‘न्यायाधीशले न्याय दिने भएकोले प्रभावित हुन्छ की भन्ने हो । एमिकस क्यूरीमा जो भएपनि राय दिने भएकोले तटस्थ राय दिन राघवजीलाई समस्या नहोला’, बार अध्यक्ष श्रेष्ठले नेपाल प्रेससँग भने । कानून व्यवसायीहरूले चासो राख्नु स्वभाविक भएपनि वैद्यलाई एमिकस क्यूरीबाट अलग गर्नुपर्ने अवस्था नरहेको श्रेष्ठको दावी छ ।

    बार एशोसियसनले एमिकस क्यूरीमा वैद्यसहित वरिष्ठ अधिवक्ता उषा मल्ल ठकुरीलाई पनि पठाउने निर्णय गरेको छ । सर्वोच्च अदालत बार एशोसियसनले भने वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्यूरीमा पठाउने निर्णय गरेको छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र धारा ७६ को ५ अनुसारको सरकार गठन लगायतका विषयमा जारी मुद्दामा सर्वोच्च र नेपाल बारबाट २-२ जना एमिकस क्यूरी झिकाउने आदेश गरेको थियो ।

  • एमिकस क्यूरीमा घिमिरे र केसीलाई पठाउने सर्वोच्च बारको निर्णय

    एमिकस क्यूरीमा घिमिरे र केसीलाई पठाउने सर्वोच्च बारको निर्णय

    काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा सिफारिस गरेको छ ।

    सर्वोच्च अदालत बार एशोसिएशन कार्य समितिको मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगीका रुपमा रहने एमिकस क्यूरीमा सिफारिस गरेको हो ।

    प्रतिनिधिसभा विघटनको रिटमा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृतवको संवैधानिक इजलासले शेरबहादुर देउवाको निवेदनमा सुनुवाइ गर्दै जेठ २६ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो भने नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको थियो ।

  • ‘एमिकस क्युरी’ नै कुहिरोको काग ! राय दिनेहरूकै राय बाझियो

    ‘एमिकस क्युरी’ नै कुहिरोको काग ! राय दिनेहरूकै राय बाझियो

    काठमाडौं । प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा दर्जनौं वकिलको बहसपछि मुद्दाको अन्तिम छिनोफानोका लागि सर्वोच्च अदालतमा ‘एमिकस क्युरी’ को राय लिने काम भइरहेको छ । एमिकस क्युरीका पाँच सदस्यमध्ये तीन जनाले धारणा राखिसकेका छन् ।

    नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट पाँच अधिवक्ता एमिकस क्युरीका लागि चुनिएका थिए । बुधबारसम्म एमिकस क्युरीका तीन सदस्यहरू बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले धारणा राखेका छन् । बाँकी दुई सदस्यले बोल्न बाँकी छ । सबैले राय दिइसकेपछि अदालतले फैसला सुनाउनेछ ।

    ‘अदालतको साथी’ समेत भनिने एमिकस क्युरीले तटस्थ र स्पष्ट राय–सुझाव दिएर संवैधानिक विवाद निरुपणमा सहयोग गर्ने अपेक्षा गरिन्छ । तर, तीन जनाले बोलिसक्दा एमिकस क्युरीभित्रै यो विषयमा स्पष्टता र मतैक्यता नरहेको देखियो । मंगलबार आफ्नो राय दिएका कार्कीले संविधानमा प्रतिनिधिसभा विघटनबारे अस्पष्टता रहेको भन्दै अदालतले व्याख्या गर्नुपर्ने बताएका थिए ।

    संविधान बनाएकाहरूले नै यसलाई दुर्घटनामा परेको भनेको भन्दै उनले अदालतले संविधान बचाउने गम्भीर जिम्मेवारी लिनुपरेको बताए ।
    ‘संविधान बचाउन अदालतको सहारा लिनुपरेको छ’ वरिष्ठ अधिवक्ता कार्कीको भनाइ थियो, ‘हामीले पनि यसको यति गम्भीर जिम्मेवारी सम्हाल्नुपरेको छ ।’

    स्थायित्व बचाउन उत्तरदायी सरकार हुनुपर्ने भन्दै उनले संसदप्रति सरकार त्यस्तै बन्नुपर्ने आशयको विचार राखे ।

    ‘संसदको विश्वास हुँदासम्म काम गर्ने र नहुनासाथ विश्वासको मत लिने हो । जसले हटाउन चाहन्छ उसले अविश्वासको प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । त्यो विश्वासको मत संसदमा नै लिने हो, अन्त परीक्षण गरेर भएन’, कार्कीले भने ।

    कार्कीको लामो अभिव्यक्ति गोलमटोल थियो । प्रधानमन्त्रीले चालेको कदमलाई न उनले स्पष्ट रूपमा असंवैधानिक भने न संवैधानिक ।

    संविधानका ज्ञाताहरूबाट धारा–उपधारामा टेकेर स्पष्ट धारणा आउनुपर्नेमा सांकेतिक रूपमा बोलिएका कुराले अदालतलाई झनै उल्झनमा पार्न सक्छ । सरकार र सत्तारुढ दलभित्रकै विपक्षीले संविधान मानेनन् भने के होला भन्दै चिन्ता दर्शाए ।

    ‘संविधानको व्यवस्था प्रधानमन्त्री वा राष्ट्रपति र सत्तारुढ पार्टीका विपक्षीले मानेनन् भने यसको पीडा र परिणाम कति भोग्नुपर्ने हो थाहा छैन’ उनले राजनीतिक लवजमा भने, ‘सातवटा संविधान लेखे पनि चल्दो रहेनछ श्रीमान् !’

    ‘क्लोजिङ स्टेटमेन्ट’ मा भने कार्की संसद पुनस्र्थापनाको पक्षमा अलिकति खुले । पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद विघटन गर्नु ‘बदनियत’ र ‘असंवैधानिक’ भएको उनको तर्क थियो ।

    उनले भने, ‘त्यो आधारमा विघटनको अधिकार प्रयोग गर्ने होइन । त्यो अधिकार प्रयोग गर्न पाइँदैन ।’

    संसद विघटनको कदमलाई बदनियतपूर्ण र असंवैधानिक भन्दै गर्दा अदालतलाई सहज हुने गरी संविधानका कुनै पनि धारा उनले ‘कोट’ गरेनन् ।

    दोस्रो दिनको शुरुआतमै आफ्नो राय राखे वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले । उनी संसद विघटन असंवैधानिक हो भन्नेमा अलि प्रष्ट देखिए । प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय हो भन्ने उनको धारणा थियो ।

    ‘संसदीय व्यवस्था हुने वित्तिकै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछन् भन्नु सही होइन’ खरेलले भने । अहिलेको पुस्ता केन्द्रमा रहेसम्म राजनीति सुध्रिंदैन भन्दै चिन्ता जाहेर गरेका खरेलले संसद पुनस्र्थापना गर्न न्यायाधीशहरूसँग अपील गरे ।

    ‘मलाई द्विविधा छैन, सर्वोच्चबाट संसद विघटन असंवैधानिक भनेर घोषणा गर्नुपर्ने हुन्छ’ उनको भनाइ थियो, ‘होइन भने यो प्रणाली ध्वस्त हुने सँघारमा छ र एउटा कम्पन हामी पनि दिऊँ भन्नुहुन्छ भने विकल्प श्रीमान्हरूको सामु छ ।’

    दोस्रो दिनको अन्तिममा आफ्नो भनाइ राखेका तर नटुंग्याइसकेका अधिवक्ता विजयकान्त मैनालीलाई विषय प्रवेश गर्न नै निकै समय लाग्यो । संसदीय प्रणाली, संसद विघटनका सैद्धान्तिक कारण र संसद विघटनबारे देश–विशेषका कानूनी प्रबन्धबारे सन्दर्भ सामग्री पस्कनमै उनले लामो समय खर्चे ।

    मैनालीको अभिव्यक्तिमा आइसकेका विषय नै धेरै परेपछि न्यायाधीशहरूले उनलाई ‘ट्रयाक’मा ल्याउन खोजे । न्यायाधीशहरूको प्रश्नको पेलानले केही दबाबमा परेका जस्ता देखिएका मैनालीले अन्तिममा ‘संविधानको धारा ७६ (७) अनुसार सबै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार’ रहेको भनाइ राखे । उनको भनाइले प्रधानमन्त्रीले चालेको कदम संवैधानिक हो भन्ने आशय झल्कियो । तर, स्पष्ट रूपमा होइन ।
    मैनालीले उल्लेख गरेको धारा ७६ का उपधारा १, २, ३, ४, ५ र ६ पार गर्दा पनि संसदले सरकार दिन अक्षम रहेको अवस्थामा मात्रै संसद विघटनको सिफारिश गर्नुपर्ने उल्लेख गरिएको छ । उनले प्रधानमन्त्रीको कदमलाई जायज ठह¥याएका हुन् भने अन्य उपदफाको प्रयोग भएको छैन । यस्तोमा उनको धारणाबाट अदालत कसरी थप स्पष्ट होला ? यसबारेमा उनले भोलि प्रष्ट पार्लान् भन्ने आशा मात्रै अहिले गर्न सकिन्छ ।

    मैनालीले राय राख्दै गर्दा न्यायाधीश सपना मल्ल प्रधानले उनलाई दुइटा प्रश्न गरेकी थिइन् । संविधानको व्याख्या गर्दा ‘देश विदेशको अभ्यास हेर्ने कि हाम्रो संविधानको भाषा’ भन्ने उनको पहिलो प्रश्न थियो । यसमा मैलालीले ‘दुवै महत्वपूर्ण हुन्छ’ भन्ने जवाफ दिए तर व्याख्या गरेनन् । पहिलो जवाफबाट खासै सन्तुष्ट जस्तो नसुनिएकी मल्लले दोस्रो प्रश्न सोधिन्– अदालतले हेर्ने के हो ? अहिलेको राजनीतिक संकट कि अन्य केही ? यसमा पनि मैनालीले खासै स्पष्ट जवाफ दिन सकेनन् ।

    मैनालीले आजका लागि आफ्नो भनाइ टुंग्याउँदै गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कूटनीतिक भनाइ थियो– भोलि अझै राम्रो तयारी गरेर आउनुहोला ।

    एमिकस क्युरीका अब दुई जना सदस्यले राय राख्न बाँकी छ । मैनालीले बाँकी भनाइ सकाएपछि पूर्णमान शाक्य र गीता पाठकले आफ्नो राय दिने छन् । उनीहरूले अदालतलाई स्पष्ट पार्ने गरी कुन हदसम्मको भनाइ राख्न सक्लान् ? यो थाहा पाउन भने बहस कुर्नै पर्ने हुन्छ । तर, अहिलेसम्म तीन जनाको रायले सर्वोच्चलाई झनै रनभुल्लमा पार्ने खतरा छ ।

  • संवैधानिक इजलास : जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्यूरीले सुझाव दिने

    संवैधानिक इजलास : जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्यूरीले सुझाव दिने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आजदेखि जवाफी बहस सकिएको छ ।

    रिटको पक्ष र विपक्षका वकिलहरूले बहस सकेपछि आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको थियो ।

    भोलि (मंगलबार) देखि एमिकस क्यूरीले सुझाव दिने अदालतले जनाएको छ ।

    एमिकस क्यूरीको सुझावपश्‍चात फैसलाको प्रक्रिया शुरू हुनेछ ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए ।

    सबै रिटमाथि माघ ४ देखि बहस शुरू भएको थियो ।