Tag: एमिकस क्युरी

  • प्रतिनिधिसभा विघटन: के राय दियो एमिकस क्युरीले ?

    प्रतिनिधिसभा विघटन: के राय दियो एमिकस क्युरीले ?

    काठमाडौं । प्रतिनिधिसभा विटघनको पक्ष र विपक्षका दर्जनौं वकिलको धारणा सुनिसकेपछि मुद्दाको टुंग्याउनीका रूपमा मंगलबारदेखि अदालतले ‘एमिकस क्युरी’ को राय लियो ।

    नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट पाँच अधिवक्ता एमिकस क्युरीका लागि चुनिएका थिए । ‘अदालतको साथी’ समेत भनिने एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, पूर्णमान शाक्य, विजयकान्त मैनाली र गीता पाठक थिए ।

    शुरूमै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो राय दिएका थिए । आफ्नो भनाइको शुरूआतमा कार्कीेले प्रतिनिधिसभा विघटनबारे संविधानमा अस्पष्टता रहेकाले अदालतले व्याख्या गर्नुपर्ने राय राखेका थिए । संविधान बनाएकाहरूले नै संविधान दुर्घटनामा परेको भनेको भन्दै उनले अदालतले संविधान बचाउने गम्भीर जिम्मेवारी लिनुपरेको बताएका थिए ।

    लामो भनाइ राखेका कार्कीले संसदप्रति सरकार उत्तरदायी बन्नुपर्ने मत राखेका थिए । ‘संसद्को विश्वास हुँदासम्म काम गर्ने र नहुनासाथ विश्वासको मत लिने, जसले हटाउन चाहन्छ उसले अविश्वासको मत पारित गर्नुपर्ने हुन्छ’ कार्कीको भनाइ थियो, ‘त्यो विश्वासको मत संसदमा नै लिने हो अन्त परीक्षण गर्न भएन ।’

    कार्कीले ‘क्लोजिङ स्टेटमेन्ट’ मा भने विघटनको विपक्षमा आफूलाई उभ्याएका थिए । पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद विघटन गर्नु ‘बदनियत’ र ‘असंवैधानिक’ भएको उनको तर्क थियो। ‘पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु ‘मालाफाइड’ र असंवैधानिक हो’ कार्कीको भनाइ थियो, ‘त्यो आधारमा विघटनको अधिकार प्रयोग गर्ने होइन । त्यो अधिकार प्रयोग गर्न पाइँदैन।’

    दोस्रो दिन वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसद विघटन संवैधानिक नभएको राय दिए । हामीले मानेको प्रणाली संसदीय प्रणाली भए पनि सर्वोच्चता भने संविधानको रहने उनको तर्क थियो ।

    । प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक हो भन्ने धारणा राखेका खरेलको ‘संसदीय व्यवस्था हुनेबित्तिकै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछन् भन्नु सही होइन’ भन्ने रायले दिएका थिए।

    ‘मलाई द्विविधा छैन, सर्वोच्चबाट संसद विघटन असंवैधानिक भनेर घोषणा गर्नुपर्ने हुन्छ’ उनको भनाइ थियो, ‘होइन भने यो प्रणाली ध्वस्त हुने सँघारमा छ र एउटा कम्पन हामी पनि दिउँ भन्नु हुन्छ भने विकल्प श्रीमान्हरूको सामु छ ।’

    खरेलपछि विजयकान्त मैनालीले धारणा राखेका थिए। संविधानको धारा ७६ (७) अनुसार सबै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार रहेको उनको भनाइ थियो । मैनालीले राय राख्दै गर्दा न्यायाधीश सपना मल्ल प्रधानले उनलाई संविधानको व्याख्या गर्दा ‘देश विदेशको अभ्यास हेर्ने कि हाम्रो संविधानको भाषा’ भन्ने जिज्ञासा राखेकी थिइन् । यसमा मैनालीले ‘दुवै महत्त्वपूर्ण हुन्छ’ भन्ने जवाफ दिएका थिए ।

    मैनालीले बिहीबार पनि आफ्नो भनाइ राखेका थिए । मैनालीले दोस्रो दिन पनि संविधानले नै प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको जिकिर गरेका थिए ।

    संविधानको धारा ७६ को उपधारा ७ ले नै प्रधानमन्त्रीलाई सो अधिकार दिएको उनको तर्क थियो । उनको भनाइ थियो, ‘संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो । यो बहुमत प्राप्त सरकार हो। यसमा कुनै शंका छैन । अदालतले अहिले अनुमान गर्दा नेकपा एक ठाउँमै छ भन्ने बुझ्छ। संविधानअनुसार नै सबै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ।

    कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका आ-आफ्ना अधिकार रहेको भन्दै उनले यो नियन्त्रण र सन्तुलनको क्रमलाई भत्काउन नहुने उनले बताए । मैनालीले कार्यकारीलाई संसद विघटन गर्ने अधिकार अन्य संसदीय अभ्यासमा पनि रहेको तर्क गरे ।

    त्यसपछि बोलेका पूर्णमान शाक्यले प्रधानमन्त्रीले संविधानको धारा ७६ (७) अनुसार मात्रै संसद विघटन गर्न पाउने भए पनि त्यो शर्तविहीन नभएको तर्क गरे। प्रधानमन्त्री ओलीले संविधानले राखेका शर्त पूरा नगरी संसद विघटन गरेकाले त्यो असंवैधानिक भएको उनको जिकिर थियो। ‘प्रधानमन्त्री नियुक्त नभएर ७६ (७) अनुसार विघटन गर्न पाउँछ’ शाक्यको मत छ, ‘तर प्रधानमन्त्रीले संविधानले तय गरेका शर्त पालना गर्ने कोर्स पूरा नगरी संसद विघटन गरेकोले यो असंवैधानिक हो।’

    आन्तरिक पार्टी विवादको समाधान पार्टी विधान र संसदीय दलको विधानबाट खोज्नुपर्ने भन्दै त्यसमा संविधानको धारा प्रयोग गर्नु गलत भएको तर्क उनको थियो। ‘आन्तरिक पार्टी विवादको समाधान पार्टीको विधान र संसदीय दलको विधान अनुसार खोज्ने हो’ शाक्यले भने, ‘पार्टीको विवादको कुरा ल्याएर संसद विघटन गर्न मिल्दैन। पार्टीको विवाद समाधान गर्न संविधानको धारा प्रयोग गर्न कसरी पाइयो ?’

    न्यायाधीश सपना मल्ल प्रधानले अहिलेको कतिपय विवादको प्रकृति राजनीतिक पनि रहेको भन्दै अदालतले त्यसलाई पनि हेर्ने कि संवैधानिकता पनि हेर्ने ? भनेर जिज्ञासा राखेकी थिइन् । त्यसको जवाफ दिंदै शाक्यले देशको राजनीतिको ठेक्का लिएर नहुने भन्दै अदालतले कानूनी शासन र संवैधानिकता हेर्नुपर्ने धारणा राखे ।

    ‘हामीले देशको राजनीतिको ठेक्का लिएर बसेर हुँदैन’ उनको भनाइ छ, ‘हामीले हेर्ने भनेको कानूनी शासन र संवैधानिकता हो । संसद पुन:स्थापना भएपछि कोर्स लिएर संसद अधिवेशन बोलाउने कुरा होला । नयाँ प्रधानमन्त्री चुन्ने कुरा होला । त्यसमा हामीले टाउको दुखाएर किन बस्ने ?’

    राजनीतिक विषयमा टाउको दुखाउने जिम्मा ‘पार्लामेन्टेरियन’ लाई नै छाडिदिनुपर्ने भन्दै शाक्यले भने, ‘हामीले संवैधानिकता मात्रै हेर्ने हो । हामीले संसद पुनःस्थापना गरिदिने हो । पुनःस्थापना गरेपछि देशको राजनीति कसरी अगाडि बढ्छ भन्ने कुरा ‘पार्लामेन्टेरियन’ हरूको टाउको दुखाइको विषय हो ।’

    अन्तिम वक्ताको रूपमा अधिवक्ता गीता पाठकले शुक्रबार आफ्नो धरणा राखेकी थिइन् । कि त विश्वासको मत प्राप्त गर्न नसकेको, कि त कामचलाउ भएको प्रधानमन्त्रीले मात्र संसद विघटन गर्न पाउने तर्क खरेलको थियो ।

    संविधानमा विघटन भन्ने शब्द रहे पनि त्यसले विघटनका पूर्वशर्त तोकेको उनको तर्क थियो। ‘संविधानमा विघटन शब्द परेर मात्र हुन्न त्यसले कसरी विघटन गर्ने भन्ने पूर्वशर्त तोकेको छ भने ती शर्त पूरा गर्नुपर्ने हुन्छ’  पाठकको मत थियो, ‘यसअघिको संविधानको धारा ५३ मा विघटनको अधिकार प्रधानमन्त्रीलाई भए पनि अब पछि फर्किने कुरा हुँदैन। अहिलेको हाम्रो संविधानको मनसाय पनि त्यस्तो होइन। हामीले दुःख पायौं भनेर विशेषाधिकार हटाएको हो ।’

    एमिकसर क्युरीका पाँच सदस्यमध्ये गीता पाठकले बहस टुंग्याएपछि फागुन ११ गतेपछि कुनै पनि दिन फैसला आउने भएको छ । एमिकस क्युरीको राय अदालतलाई सहयोग पुर्‍याउने मात्रै हुन्छ । फैसलाको लागि भने बाध्यकारी मानिंदैन ।  एमिकस क्युरीको राय सकिएपछि फागुन १० गतेसम्म बहस नोट पेश गर्न समय दिइएको छ । ११ गतेपछि फैसलाको प्रक्रिया शुरू हुने र त्यसपछि जति बेला पनि अदालतको फैसला आउने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलासमा जानकारी दिए ।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा पुस ७ गते नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरू र अन्य विभिन्न व्यक्तिले रिट दायर गरेका थिए ।

    ठीक दुई महिनापछि संवैधानिक इजलासमा बहस सकिएको हो । प्रधानन्यायाधीश राणा अध्यक्षताको संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी न्यायाधीश सदस्य छन् ।

  • एमिकस क्युरीका शाक्यको राय- हामीले राजनीतिको ठेक्का लिएर हुँदैन, संसद पुनर्स्थापना गरिदिउँ

    एमिकस क्युरीका शाक्यको राय- हामीले राजनीतिको ठेक्का लिएर हुँदैन, संसद पुनर्स्थापना गरिदिउँ

    काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले देशको राजनीतिका बारेमा धेरै टाउको नदुखाई अदालतले संसद पुन:स्थापना गरिदिनुपर्ने राय राखेका छन् । बिहीबार एमिकस क्युरीका तर्फबाट आफ्नो राय राख्दै शाक्यले संविधानको धारा ७६ले राखेका शर्त पूरा नगरी प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै त्यो असंवैधानिक भएको तर्क गरे ।

    न्यायाधीश सपना मल्ल प्रधानले अहिलेको कतिपय विवादको प्रकृति राजनीतिक पनि रहेको भन्दै अदालतले त्यसलाई पनि हेर्ने कि संवैधानिकता पनि हेर्ने भनेर जिज्ञासा राखेकी थिइन् । त्यसको जवाफ दिंदै शाक्यले देशको राजनीतिको ठेक्का लिएर नहुने भन्दै अदालतले कानूनी शासन र संवैधानिकता हेर्नुपर्ने धारणा राखे ।

    ‘हामीले देशको राजनीतिको ठेक्का लिएर बसेर हुँदैन’ उनको भनाइ छ, ‘हामीले हेर्ने भनेको कानूनी शासन र संवैधानिकता हाे । संसद पुनर्स्थापना भएपछि कोर्स लिएर संसद अधिवेशन बोलाउने कुरा होला । नयाँ प्रधानमन्त्री चुन्ने कुरा होला । त्यसमा हामीले टाउको दुखाएर किन बस्ने ?’

    राजनीतिक विषयमा टाउको दुखाउने जिम्मा ‘पार्लामेन्टेरियन’लाई नै छाडिदिनुपर्ने भन्दै शाक्यले भने, ‘हामीले संवैधानिकता मात्रै हेर्ने हो । हामीले संसद पुन:स्थापना गरिदिने हो । पुन:स्थापना गरेपछि देशको राजनीति कसरी अगाडि बढ्छ भन्ने कुरा ‘पार्लामेन्टेरियन’हरूको टाउको दुखाइको विषय हो ।’

    शाक्यले प्रधानमन्त्रीले संविधानको धारा ७६ (७) अनुसार मात्रै संसद विघटन गर्न पाउने भए पनि त्यो शर्तविहीन नभएको तर्क गरे। प्रधानमन्त्री ओलीले संविधानले राखेका शर्त पूरा नगरी संसद विघटन गरेकाले त्यो असंवैधानिक भएको उनको जिकिर थियो। ‘प्रधानमन्त्री नियुक्त नभएर ७६ (७) अनुसार विघटन गर्न पाउँछ’ शाक्यको मत छ, ‘तर प्रधानमन्त्रीले संविधानले तय गरेका शर्त पालना गर्ने कोर्स पूरा नगरी संसद विघटन गरेकोले यो असंवैधानिक हो।’

    निशर्त संसद् विघटन गर्ने अधिकार दिंदा त्यसको दुरुपयोग हुने ठानेरै अहिलेको संविधानमा केही शर्त राखिएको उनले बताए। उनको भनाइ छ, ‘विघटनको अधिकार निशर्त दिनुहुँदैन । त्यो दियो भने दुरुपयोग हुन्छ भनेर नै हाम्रो संविधानमा केही शर्त राखिएको हो ।’

    शाक्यले आन्तरिक पार्टी विवादको समाधान पार्टी विधान र संसदीय दलको विधानबाट खोज्नुपर्ने भन्दै त्यसमा संविधानको धारा प्रयोग गर्नु गलत भएको तर्क गरे। ‘आन्तरिक पार्टी विवादको समाधान पार्टीको विधान र संसदीय दलको विधान अनुसार खोज्ने हो’ उनले भने, ‘पार्टीको विवादको कुरा ल्याएर संसद विघटन गर्न मिल्दैन। पार्टीको विवाद समाधान गर्न संविधानको धारा प्रयोग गर्न कसरी पाइयो ?’

    संविधानको धारा ७६ (१) बमोजिम नियुक्त प्रधानमन्त्रीलाई हटाउन सत्तारुढ दलले संसदीय दलको नेता छान्न नसकेको अव्यवस्था भने संसद विघटनको सिफारिश गर्न सक्ने उनको भनाइ छ । शाक्यले आफ्नै दलको नेताविरुद्ध दलभित्र अविश्वासको प्रस्ताव ल्याउन सकिंदैन भन्नु पनि गलत भएको बताए।

    लिखित संविधानले नदिएको कुरामा प्रधानमन्त्रीले विशेष अधिकार दाबी गर्न नमिल्ने तर्क पेश गर्दै उनले भने, ‘लिखित संविधानले नदिएको कुरामा मेरो विशेष अधिकार हो भनेर भन्न मिल्दैन। विघटन गर्ने कुरा पनि विशेष अधिकार होइन । संविधानको कुनै न कुनै धारा टेक्नुपर्छ।

    उनले संविधान निर्माताको आशय पनि अदालतले नै व्याख्या गर्नुपर्ने तर्क गरे । शाक्यको तर्क छ, ‘संविधान निर्माताको आशय के थियो भन्ने कुरा अदालतले व्याख्या गर्ने हो। अदालतले व्याख्या गर्दा संविधानको अक्षर हेर्ने हो ।’

    संविधानको धारा ८५ ले संसद विघटन गर्ने अधिकार नदिएको भन्दै उक्त धाराले पनि ७६ (७)लाई नै इंगित गरेको शाक्यको भनाइ छ। ‘धारा ८५ विघटनको आधार बन्नै सक्दैन’ उनको भनाइ छ, ‘त्यसले संविधानको धारा बमोजिम ७६(७) अनुसार मात्रै भनेको छ। संविधान बमोजिम अगावै विघटन भनेको पनि धारा ७६ (७) अनुसार नै हो।’

  • विजयकान्त मैनालीको जिकिर-संविधानले प्रतिनिधिसभा विघटनको अधिकार दिएको छ

    विजयकान्त मैनालीको जिकिर-संविधानले प्रतिनिधिसभा विघटनको अधिकार दिएको छ

    काठमाडौं । वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संविधानको धारा ७६ ले प्रतिनिधिसभा विघटनको अधिकार दिएको जिकिर गरेका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइको क्रममा एमिकस क्युरीको तर्फबाट सुझाव दिँदै मैनालीले राष्ट्र विभाजित भएको मुद्दामा जनतामा जाने निर्णय नै उत्तम भएको दाबी गरे ।

    ‘नेकपा विवादको सिकार प्रतिनिधिसभा किन हुने ? जनताले किन सास्ती बेहोर्नुपर्ने ?’ भन्‍ने न्यायाधीश अनिलकुमार सिन्हाको प्रश्‍नमा मैनालीको जवाफ थियो, ‘पार्टीभित्रको विवाद भएपनि त्यो विवादले औपचारिकता पाएन । एकचोटी दलको नेता भइसकेपछि बारम्बार दलको नेता चुनिनु पर्दन । दलभित्र विवाद थियो भने औपचारिक रूपमा आउनुपर्थ्यो । संसदीय दलको नेता परिवर्तन भएको छैन । अविश्वास प्रस्ताव पनि आएको छैन । जुन मुद्दामा राष्ट्र विभाजित भएको छ त्यो मुद्दा लिएर जनतामा जाने निर्णय नै उत्तम हो ।’

  • एमिकस क्युरीका मैनालीको राय– संविधानले नै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिएको छ

    एमिकस क्युरीका मैनालीको राय– संविधानले नै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिएको छ

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीको तर्फबाट राय दिने क्रममा वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संविधानले नै प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको जिकिर गरेका छन् ।

    संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट राय दिन उभिएका तेस्रो वक्ता मैनालीले संविधानको धारा ७६ को उपधारा ७ ले नै प्रधानमन्त्रीलाई सो अधिकार दिएको बताए ।

    उनले भने– संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो। यो बहुमत प्राप्त सरकार हो। यसमा कुनै शंका छैन । अदालतले अहिले अनुमान गर्दा नेकपा एक ठाउँमै छ भन्ने बुझ्छ। संविधानअनुसार नै सबै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ।

    कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका आ–आफ्ना अधिकार रहेको भन्दै उनले यो नियन्त्रण र संतुलनको क्रमलाई भत्काउन नहुने बताए । उनले कार्यकारीलाई संसद विघटन गर्ने अधिकार अन्य संसदीय अभ्यासमा पनि रहेको बताए ।

    मैनालीले राय दिइरहँदा न्यायाधीश सपना प्रधान मल्लले देश विदेशको अभ्यास हेर्ने कि हाम्रो संविधान ? भन्ने प्रश्न गरेकी थिइन् । मैनालीले जवाफमा दुवै महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन संवैधानिक हिसाबले र अन्य अभ्यासका हिसाबले पनि अधिकार क्षेत्रभित्रको रहेको बताए ।

    मैनालीको वहस बुधबार नसकिएकाले बिहीबार पनि निरन्तर रहने छ । यसअघि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले विघटनको पक्ष वा विपक्षमा नरही बीचमा बसेर राय दिएका थिए भने शतिसकृष्ण खरेलले विघटन असंवैधानिक रहेको बताएका थिए ।

  • अधिवक्ता खरेलले भने– प्रतिनिधिसभा विघटन असंवैधानिक नै हो

    अधिवक्ता खरेलले भने– प्रतिनिधिसभा विघटन असंवैधानिक नै हो

    काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी बहसमा एमिकस क्युरीका तर्फबाट बोल्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम भएको जिकिर गरेका छन् ।

    उनले सर्वोच्च अदालतले प्रतिनिधि विघटन असंवैधानिक नै भएको घोषणा गर्नुपर्नेमा जोड दिए । उनले भने– हामीले मानेको प्रणाली भनेको संसदीय सर्वोच्चता नभएर संविधानको सर्वोच्चता हो। संसदीय व्यवस्था हुनेबित्तिकै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछन् भन्नु सही होइन।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संवैधानिक नभई राजनीतिक भएको जवाफ पेश गरेका थिए ।

  • एमिकस क्युरीका वरिष्ठ अधिवक्ताले भने-संसद विघटनबारे संविधान अस्पष्ट, थप व्याख्या होस्

    एमिकस क्युरीका वरिष्ठ अधिवक्ताले भने-संसद विघटनबारे संविधान अस्पष्ट, थप व्याख्या होस्

    काठमाडौं । अदालतको सहयोगका लागि गठित एमिकस क्युरीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आफ्नो राय दिने क्रम शुरू भएको छ ।

    संवैधानिक इजलासमा पहिलो राय प्रस्तुतकर्ताका रूपमा उभिएका वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्याधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा प्रतिनिधिसभा विघटनबारे अष्पष्टता रहेकाले अदालतले व्याख्या गर्नुपर्ने बताए ।

    संविधानका विभिन्न धारामा विघटन भन्ने शब्द उल्लेख रहेपनि कसले विघटन गर्ने गराउने भन्नेबारेमा व्याख्या आवश्यक रहेको उनको भनाइ थियो ।

    कार्कीले २ वर्षसम्म अविश्वास प्रस्ताव नल्याउने संवैधानिक व्यवस्था रहेको भन्दै संसदीय व्यवस्थामा सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने जिकिर गरे ।

    वरिष्ठ अधिवक्ता कार्कीले संविधान लेख्दा संसद विघटनको सन्दर्भमा केही कुरा छुटेको भन्दै अब अदालतले व्याख्या गर्नुपर्ने बताए । अलिकति पनि तलमाथि व्याख्या गर्दा संवैधानिक बाधा आउन सक्ने जिकिरसमेत उनले गरेका छन् ।

    कार्कीले प्रतिनिधिसभा विघटनपछि गम्भीर संवैधानिक विवाद आएको र संविधान जसले बनाएर अभ्यास गरेर उनीहरूले नै संविधान समाप्त हुन लाग्यो भनेर आन्दोलनमा उत्रिएको स्मरणसमेत इजलासलाई गराए ।

    उनले भने, ‘यस इजलासबाट हुने फैसलाको गाम्भिर्यता म विशाल देख्छु ।’

    म आफू पनि स्वीकार गर्छु । हामी पनि संविधान बचाउने भएकाले कोर्टको सहारा लिनुपरेको छ । प्रधानमन्त्रीले संसदको विश्वास हुँदासम्म काम गर्ने र नहुनासाथ विश्वासको मत लिने संसदीय मान्यता हो ।

    कार्कीले संसदमा गर्नुपर्ने परीक्षण अन्त गरेर नहुने समेत बताए । उनले संविधान लेख्नेहरुको समेत राय बुझ्न उपयुक्त हुने सुझाव इजलासलाई दिए । नत्र अहिले सबैले आ-आफ्ना अनुकुलमा संविधानको धाराको प्रयोग गरिरहेको उनको भनाइ थियो ।

    कार्कीले भने, ‘हाम्रो व्याख्या विषय र प्रसंगले अर्को अर्थ नलागेमा भन्ने हो । सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको अरुले बुझेको अर्को किसिमको आयो । संविधान बनाउने क्रममा संसद विघटनबारे छलफल भएको यो भने त्यो लिखित छ भने त्यो पनि हेरौं ।’

    कार्कीलाई न्यायाधीश सपना प्रधान मल्लले यसबारेमा अझ प्रष्ट पार्न आग्रह गरेपछि उनले संसदमा परीक्षण नै नभइ अर्को सरकार बन्ने अवस्था थियो कि थिएन भन्न नसकिने बताए ।

    उनले भने, ‘सरकार बनाउन सकेन भने यसको अर्को पुष्टि हुन्न,त्यो अवस्थामा विकल्प विघटन हो । त्यो स्वतः विघटन हुने अवस्था हो । तर, सरकार बनायो र सरकार फेल भयो भने अर्को सरकार बनाउन पाउनुपर्‍यो । यो दुईवटा सिद्धान्तलाई आधार मानेर धारा ७६ लेखिएको हो ।

    कार्कीले प्रतिनिधिसभा विघटन गर्ने र गराउने को हो भन्ने पनि संविधानमा ब्याख्या गर्नुपर्ने भएको बताए । उनले धारा ८५ ले प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले विघटन गर्ने भन्ने नदेखिने जिकिर गरे ।

    संसद विघटन हुने कुरा सिद्धान्ततः संविधानले माने पनि विघटन रोक्ने व्यवस्थाबारे मौन रहेको उनले बताए ।

  • आजबाट एमिकस क्युरीले राय दिने, फैसला फागुन दोस्रो साताभित्रै

    आजबाट एमिकस क्युरीले राय दिने, फैसला फागुन दोस्रो साताभित्रै

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई अन्तिम चरणमा पुगेको छ । संवैधानिक इजलासमा पक्ष र विपक्षका वकिलहरुको वहस तथा रिट निवेदक पक्षको जवाफी बहस सकिएपछि आजबाट एमिकस क्युरीका तर्फबाट राय दिने क्रम शुरु हुँदैछ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासलाई राय दिन ५ सदस्यीय एमिकस क्युरी मागेको थियो । जस अनुसार नेपाल बार एशोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसियसनबाट २ जना वकिल एमिकस क्युरीमा छन्

    बार एशोसियसनबाट गएका बद्रीवहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च बारबाट गएका पूर्णमान शाक्य र गीता संग्रौलाको एमिकस क्युयरीले राय दिएपछि फैसलाको चरणमा पुग्नेछ ।

    एमिकस क्युरी इजलासको सहयोगी हो तर उसले दिएको राय अनुसार फैसला हुनुपर्छ भन्ने चाहिँ छैन । संवैधानिक इजलासमा एमिकस क्युरीको बहसपछि ढिलोमा फागुन दोस्रो सातासम्म फैसला आउने सम्भावना छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजवहादुर केसी सदस्य छन् ।

    प्रतिनिधिसभा विघटन भएको भोलि फागुन ५ गते २ महिना पुग्दैछ । सरकारले निर्वाचनको मिति वैशाख १७ र २७ गतेलाई तोकेको हुनाले फैसला गर्न अदालतले अब बढीमा डेढ साता लगाउने अनुमान गरिएको छ ।

    याे पनि पढ्नुस्

    के हो एमिकस क्युरी ?

  • संवैधानिक इजलासमै न्यायाधीश थप्न एमिकस क्युरीको सुझाव

    संवैधानिक इजलासमै न्यायाधीश थप्न एमिकस क्युरीको सुझाव

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई राय दिन गठित एमिकस क्युरीले संवैधानिक इजलासमै न्यायाधीश थपेर सुनुवाइ गर्न सुझाव दिएको छ ।

    मुद्दाको सुनुवाई बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमै भन्ने बहस चलिरहेको बेला एमिकस क्युरीको राय मागिएको थियो ।

    बहसमा भाग लिँदै एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीश थप्न सुझाव दिएका हुन् । तर उनलाई प्रतिप्रश्न गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले भने संविधानमै संवैधानिक इजलासमा ५ जना रहने व्यवस्था रहेको स्मरण गराएका छन् ।

    एमिकस क्युरीमा नेपाल बार एशोसियसनबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र बिजयकान्त मैनालीले प्रतिनिधित्व गरेका छन् भने सर्वोच्च बारबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।

  • बहसमा प्रतिनिधिसभा विघटन : के हो एमिकस क्युरी ?

    बहसमा प्रतिनिधिसभा विघटन : के हो एमिकस क्युरी ?

    काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका एक दर्जन रिटमाथिको प्रारम्भिक सुनुवाइसँगै संवैधानिक इजलासले एमिकस क्युरी गठनको आदेश जारी गर्दै नेपाल बार एशोसिएसन र सर्वाेच्च बारसँग नाम माग्यो ।

    बुधबारदेखि संवैधानिक इजलासमा सो मुद्दाको निरन्तर सुनुवाइ हुँदैछ र राष्ट्रपति, प्रधानमन्त्रीलगायतका विपक्षीले लिखित जवाफ दिइसकेका छन् । यसबीचमा सर्वसाधारणलाई एमिकस क्युरीको बारेमा जिज्ञासा उत्पन्न भएको पाइएको छ ।

    कानूनका विद्यार्थीबीच ‘एमिकस क्युरी’ अदालतको साथीका रुपमा परिचित छ । कुनै पनि अदालतमा विचाराधीन मुद्दामा न्यायाधीशले विज्ञसँग सल्लाह लिनुपरेको अवस्थामा ‘एमिकस क्युरी’ गठन गर्ने प्रचलन रहिआएको छ । एमिकस क्युरीले अदालतलाई आफ्नो राय, सल्लाह र सुझाव दिई न्याय निरुपणमा सहयोग गर्ने हुँदा यसलाई ‘अदालतको साथी’ भन्ने गरिन्छ ।

    हालै प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटका सन्दर्भमा सर्वोच्च अदालतको संवैधानिक इजलासले एमिकस क्युरीसँग राय लिने निर्णय गरेको छ । सर्वोच्चको आदेश अनुसार नेपाल बार एशाेसिएसनले तीन जना र सर्वोच्च अदालत बार एशाेसिएसनले दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीमा पठाउने निर्णय गरेका छन् ।

    कानूनका विद्यार्थीबीच ‘एमिकस क्युरी’ अदालतको साथीका रुपमा परिचित छ । कुनै पनि अदालतमा विचाराधीन मुद्दामा न्यायाधीशले विज्ञसँग सल्लाह लिनुपरेको अवस्थामा ‘एमिकस क्युरी’ गठन गर्ने प्रचलन रही आएको छ ।

    नेपाल बारले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम पठाएको छ भने सर्वोच्च बारले पूर्णमान शाक्य र गीता पाठकको नाम पठाएको छ ।

    लामो समयदेखि न्याय क्षेत्रमा क्रियाशील उनीहरुले प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्चमा परेको रिटका सन्दर्भमा न्याय निरुपणमा सहज हुने गरी तटस्थ रुपमा आफ्नो सुझाव राख्नेछन् ।

    एमिकस क्युरीको काम जुन मुद्दाका सन्दर्भमा अदालतले राय मागेको हो, सोही मुद्दाका विषयमा आफ्नो राय दिनु हो । सामान्यतया एमिकस क्युरीले दिने सुझावले अदालतलाई उपयुक्त निर्णयमा पुग्न मद्दत पुग्ने विश्वास गरिन्छ । एमिकस क्युरीले दिने राय ग्रहणका लागि अदालत बाध्य भने हुँदैन ।

    सर्वोच्च अदालत संवैधानिक इजलास सञ्चालनसम्बन्धी निर्देशिका, २०७२ मा एमिकस क्युरीसम्बन्धी व्यवस्था गरिएको छ । परिच्छेद ५ को दफा १३ को १ मा ‘इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानूनको प्राध्यापक, कानून व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी) को रुपमा झिकाई निजको राय लिन सक्ने’ व्यवस्था छ ।

    ‘एमिकस क्युरी भनेको अदालतमा विचाराधीन विषयको पक्ष वा विपक्षमा आफ्नो धारणा नदिइसकेका कानून व्यवसायीलाई आफ्नो सहयोगीका रुपमा स्वीकार गर्नु’ हो ।

    नेपाल बार एशाेसिएसनका पूर्व महासचिव सुनिल पोखरेलको बुझाइमा ‘एमिकस क्युरी भनेको अदालतमा विचाराधीन विषयको पक्ष वा विपक्षमा आफ्नो धारणा नदिइसकेका कानून व्यवसायीलाई आफ्नो सहयोगीका रुपमा स्वीकार गर्नु’ हो ।

    एमिकस क्युरीमा रहेका कानूनविदहरुले दिने राय ‘स्वतन्त्र विवेकपूर्ण विचार’ का रुपमा रहने पोखरेलको भनाइ छ । ‘एमिकस क्युरीमा रहेका कानूनविद्हरु बारे वैचारिक झुकावको दृष्टिकोणले टिप्पणी गर्ने चलन छ । तर जुनसुकै विचारको नजिक भए पनि एमिकस क्युरीमा रहेको कानूनविदले संविधान, कानून र न्यायलाई प्राथमिकता दिएर काम गर्छ भन्ने मान्यता हुन्छ । यहीकारण एमिकस क्युरीलाई विश्वास गर्नुपर्छ’, पोखरेलले नेपाल प्रेससँग भने ।

    उनीहरुले संवैधानिक इजलासमा रहेका मुद्दामाथि पक्ष/विपक्षका कानूनविदहरुको बहस सकिएपछि इजलासमा उपस्थित भएर आफ्नो राय प्रस्तुत गर्नेछन् । अदालतले यसअघि पनि पटक पटक यस्तो अभ्यास गरिसकेको छ ।

    यसैबीच प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासमा चलिरहेका बेला रिट निवेदकहरुले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् । उनीहरुले बुधबारको इजलासमा आफ्नो माग राख्ने तयारी गरेका हुन् ।

    संवैधानिक इजलासमा सुनुवाइ भइरहेको र फैसला भएको मुद्दामाथि कतै पुनरावलोकन लाग्दैन ।