Tag: एमाले

  • ६ महिला उपमेयर, जसले रुपन्देहीमा एमालेको साख जोगाए

    ६ महिला उपमेयर, जसले रुपन्देहीमा एमालेको साख जोगाए

    रुपन्देही । एमालेको प्रभाव क्षेत्र मानिने रुपन्देहीमा यसपटकको स्थानीय तह निर्वाचन परिणाम भने सुखद हुन सकेन । अधिकांश पालिकाको प्रमुखमा एमालेका उम्मेदवार पराजित भए । तर, एक उपमहानगरसहित ६ नगरपालिकाको उपमेयर जितेर महिला नेतृत्वले एमालेको साख जोगाइदिएका छन् ।

    एमालेका मेयर उम्मेदवार पराजित भएका ठाउँमा समेत फराकिलो मतान्तरसहित उपमेयरमा एमालेकै महिला नेतृ आएका छन् । अहिलेसम्म कुनै पनि वडा जित्न नसकेको दक्षिणी क्षेत्रमा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकामा समेत योपटक एमाले नेतृले उपमेयर जितेका छन् ।

    हालसम्म मतगणना भएर नतिजा घोषणा भएका देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर नगरपालिकामा एमालेका महिला उम्मेदादरले उपमेयर जितिसकेका छन् भने मतगणना जारी रहेका बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकामा पनि एमालेका उपमेयरले जित्ने निश्चितजस्तै छ । बुटवलमा निकै फराकिलो मतान्तरले एमालेबाट उम्मेदवर बनेकी सावित्रा अर्याल र तिलोत्तमामा जागेश्वरीदेवी चौधरीले पनि उस्तै मतान्तर बनाएर आफ्नो जित निश्चित बनाएका छन् ।

    बुटवलमा एमालेका उपप्रमुखका उम्मेदवार सावित्रा अर्याल अगाडि छन् । गठबन्धन दलका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका भगवती पाण्डे तेस्रो स्थानमा छन् ।

    बुटवलमा नेकपा एमालेबाट मेयरका उम्मेदवर बाबुराम भट्टराई फराकिलो मतान्तरमा पराजित हुँदा र यसअघि जितेका अधिकांश वडाहरुको नेतृत्व गुमाउँदासमेत अर्यालले फराकिलो मतान्तरले उपमेयरमा आफ्नो जित दर्ता गराउने निश्चित देखिएको छ ।

    यस्तै तिलोत्तमा नगरपालिकामा पनि जागेश्वरीदेवी चौधरी फराकिलो मतान्तरले अगाडि बढेकी छन् । यसअघि पनि उपमेयर बनेर राम्रो काम गरेको छवि बनाएकी उनले ०७४ सालमा एमालेले जितेका वडाहरुमा नेतृत्व गुमाउँदा गठबन्धनका उम्मेदवार हेमलाल पाण्डेलाई धेरै मतले पछाडि पारेकी छन् ।

    देवदह नगरपालिकाको उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ फराकिलो मतान्तरसहित विजयी बनिन् । अघिल्लो निर्वाचनमा पनि उपमेयर बनेर अनुभव संगालेकी उनी अहिले दोहोरिएर फराकिलो मतान्तरले विजय बनेकी हुन् । यहाँबाट एमालेबाट निर्वाचित मेयर धु्रव खरेलको भन्दा धेरै मतान्तरले उनले जित निकालेकी हुन् ।

    सैनामैना नगरपालिकामा एमालेले मेयर गुमाउँदा पनि उपमेयर जितेको छ । यसअघि पनि उपमेयर बनेर अनुभव संगालेकी बिना रानाले उपमेयरमा जितेर आफ्नो बर्चश्व देखाएकी छन् ।

    त्यसैगरी सिद्धार्थनगर नगरपालिकामा पनि एमालेले मेयर गुमाएको छ तर उपमेयर जितेको छ । उपमेयरमा एमालेकी उमा अधिकारीले जित निकालेर पार्टीको उपस्थिति नगरपालिकामा बनाएकी छन् । यसअघि मेयर उपमेयरसहित बहुमतमा रहेको एमालेले अहिले उपमेयरसहित केही वडामा खुम्चेको छ ।

    अहिलेसम्म कुनै वडामा जित निकाल्न नसकेको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एमालेका उम्मेदार कल्पना हरिजनले उपमेयरमा जितेकी छन् ।

    मेयर र उपमेयर दुवै महिला उठाएको एमालेले यहाँबाट मेयर जित्न नसके पनि उपमेयर र ४ वडाध्यक्षमा जितेको हो । रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने यो नगरपालिकामा अहिलेसम्म एमालेले कुनै वडामा जित्न सकेको थिएन ।

     

  • रूपन्देहीमा एमालेले टुंगो लगायो १६ पालिकाका उम्मेदवार (सूचीसहित)

    रूपन्देहीमा एमालेले टुंगो लगायो १६ पालिकाका उम्मेदवार (सूचीसहित)

    रूपन्देही । रुपन्देहीमा नेकपा एमालेका १६ पालिकाका प्रमुख उपप्रमुखहरुको टुंगो लगाएको छ ।

    १. बुटवल उपमहानगरपालिका मेयर बाबुराम भट्टराई उपमेयर सावित्रा अर्याल

    २. देवदह नगरपालिकामेयर ध्रुवप्रसाद खरेल उपमेयर बिद्यालक्ष्मी गुरुङ्ग

    ३. तिलोत्तमा नगरपालिका मेयर मोहन चापागाई उपमेयर जागेश्वरीदेवी चौधरी

    ४. सैनामैना नगरपालिका मेयर चित्रवहादुर कार्की उपमेयर विना राना

    ५. ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव उपाध्यक्ष निर्मलाकुमारी निषाद

    ६. रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव उपाध्यक्ष बसन्ती पाण्डे

    ७. सिद्धार्थनगर नगरपालिका मेयर डा।रामप्रसाद बश्याल उपमेयर उमा अधिकारी

    ८. मायादेवी गाउँपालिका अध्यक्ष लाला लोध उपाध्यक्ष सन्नु चाई

    ९. मर्चवारीमाई गाउँपालिका अध्यक्ष कमलेस यादव उपाध्यक्ष बिन्द्रावती गौड

    १०. सम्मरीमाई गाउँपालिका अध्यक्ष मुस्लिम खान उपाध्यक्ष पिंकला लोध

    ११. कोटहीमाई गाउँपालिका अध्यक्ष श्यामसुन्दर यादव उपाध्यक्ष मायाँ साहनी

    १२. लुम्बिनी साँस्कृतिक नगरपालिका मेयर रमावती यादव उपमेयर कल्पना हरिजन

    १३. गैडहवा गाउँपालिका अध्यक्ष पशुपति यादव उपाध्यक्ष मन्जु रिजाल

    १४. कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णवहादुर क्षेत्री उपाध्यक्ष गोमा तरामु

    १५. शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरी उपाध्यक्ष शान्तादेवी ज्ञवाली

    १६. सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु उपाध्यक्ष अमृता गुरुङ्ग

  • एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, पार्टी स्थापना दिवस पारेर कार्यालय पनि सारिँदै

    एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, पार्टी स्थापना दिवस पारेर कार्यालय पनि सारिँदै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । त्यस्तै सोही अवसरमा थापाथलीमा रहेको पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा स्थानान्तरण हुनेछ । आज नेकपा एमालेको ७४ औं स्थापना दिवस हो ।

    पार्टी कार्यालय स्थानान्तरण र घोषणापत्र सार्वजनिकसँगै एमालेले १७ जना कम्युनिस्ट योद्धाहरुलाई सम्मान पनि गर्ने कार्यक्रम तय गरेको छ ।

    भव्य समारोहबीच हुने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

  • विभाजनपछि झन् तन्किएको एमाले

    विभाजनपछि झन् तन्किएको एमाले

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला देशव्यापी चुनावी दौडाहामा छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ओली विगत एक महिनामा पूर्वको इलामदेखि पश्चिमको बझाङसम्मका २५ भन्दा बढी जिल्ला पुगेका छन् ।

    मुलुकका विभिन्न स्थानहरुमा गइरहँदा उनले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले बहुमत स्थानमा जित्ने दाबी गरिरहेका छन् ।

    पार्टीको बेइज्जत गर्नेहरु र गुटबन्दी गर्नेहरु बाहिरिएर पार्टीमा शुद्धीकरण आएकोले पार्टी थप बलियो भएको उनको भनाइ छ । पार्टीका संगठित सदस्य सङ्ख्या ११ लाख पुगेको र एमालेप्रति जनआकर्षण बढेकाले पार्टी फुटपछि झनै बलियो र शक्तिशाली भएको पुष्टि विभिन्न आधारमा गर्न सकिन्छ ।

    संगठित सदस्य ११ लाखभन्दा बढी

    एमाले केन्द्रीय कार्यालयका अनुसार २०७८ चैत मसान्तसम्ममा एमालेको संगठित सदस्यको संख्या ११ लाख नाघेको छ । गत वर्ष मंसिरमा सम्पन्न १० औँ महाधिवेशनमा नेकपा एमालेको सङ्गठित सदस्य ८ लाख ५५ हजार थियो । यसबीचमा २ लाख ५० हजारभन्दा बढी एमालेका सदस्य थपिएका छन् ।

    चुनाव नजिकिएसँगै कांग्रेस, माओवादी, जसपा, लोसपालगायतका पार्टी परित्याग गरी दिनप्रतिदिन एमालेमा प्रवेश गर्नेहरुको संख्या बढ्दैछ । पछिल्लो समयमा अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने नेतादेखि कार्यकर्ताहरुको संख्या जोड्दा एमालेमा संगठित सदस्य १३ लाख नाघ्ने अनुमान गर्न सकिन्छ । यस आधारमा एमाले विगतभन्दा झनै बलियो र शक्तिशाली देखिन्छ ।

    २०७४ को चुनावी परिणाम

    अघिल्लो निर्वाचन अर्थात् २०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा चुनाव भएको थियो । त्यसबेला एमाले सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको थियो ।

    निर्वाचन आयोगका अनुसार पाँच वर्षअघि ३५ हजार २१८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । उक्त चुनावमा एमाले एक्लैले झण्डै ४२ प्रतिशत जनप्रतिनिधि जितेको थियो ।

    एमालेबाट १४ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमा स्थानीय तहको प्रमुख वा अध्यक्ष २९४, उपप्रमुख वा उपाध्यक्ष ३३१, वडा अध्यक्ष २,५६० र वडा सदस्य १० हजार ९१२ जना एमालेबाट निर्वाचित भएका थिए ।

    त्यस्तै माओवादी केन्द्रसँग स्थानीय तहमा गठबन्धन गरेको कांग्रेसबाट ११ हजार ४५४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । कांग्रेसले २६६ प्रमुख, २२३ उपप्रमुख वा उपाध्यक्ष, २,२८६ वडा अध्यक्ष र ८ हजार ६७९ वडा सदस्य जितेको थियो । कांग्रेस स्थानीय तहको ३२.५ प्रतिशत जनप्रतिनिधि आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

    कांग्रेससँग मिलेर चुनाव लडेको माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा स्थापित भएको थियो । जुन १५.४ प्रतिशतमात्रै हो । उक्त चुनावमा कांग्रेस–माओवादीले सहकार्य गरे पनि सोचेअनुसार परिणाम हासिल गर्न सकेका थिएनन् । यतिखेर पनि परिस्थिति उस्तै देखिन्छ । गठबन्धन असफल भएको त्यतिबेलाको परिणामका आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ ।

    मनोवैज्ञानिक त्रासमा नेपाली काङ्ग्रेस

    यतिबेला नेपाली काङ्ग्रेस एमालेसँग एक्लै चुनावमा जान डराइरहेको छ । विगतमा माओवादीसँग एकता गरेर चुनाव लडेको काङ्ग्रेसले निराशा हात पारेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँग कति त्रस्त देखिन्छन् भन्ने कुरा केन्द्रीय समितिको बैठकमा गठबन्धनविना चुनाव जित्न सकिँदैन भन्ने दिएको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

    विगतको निर्वाचनले काङ्ग्रेसभित्र एक खालको मनोवैज्ञानिक त्रास सृजना गरिदिएको छ ।

    अदालतको परमादेशबाट ९ महिनादेखि सरकारमा रहेको गठबन्धनका दलहरु एमालेविरुद्ध एक भएका छन् । दलीय आधारमा एक्लाएक्लै चुनाव लड्ने हिम्मत र सामथ्र्य देखाउन भने सकेका छैनन् । उनीहरुको उद्देश्य, ध्येय र चिन्ता आफूले चुनाव जित्नेभन्दा एमालेलाई कसरी हराउने भन्ने देखिन्छ ।

    संयोग- त्यसबेला पनि कांग्रेस–माओवादीको सत्ता गठबन्धन थियो र प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै थिए । अहिले पनि एमाले विपक्षमा छ । कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नभइसकेकोले यो चुनाव काङ्ग्रेसका लागि त्यति सहज देखिँदैन । यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ ।

    विभाजनको क्षतिपूर्ति पूर्वमाओवादीबाट

    गत स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेका १४ हजार ९७ जनप्रतिनिधिमध्ये गत असोजमा पार्टी विभाजित भएपछि एक हजार ५०१ जना (करिब १० प्रतिशत) ले एकीकृत समाजवादी रोजेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । कार्यकर्ता तहमा जम्मा ४ प्रतिशत संगठित सदस्य माधव नेपालसँग गएको एमालेको हिसाब छ ।

    यसको क्षतिपूर्ति एमालेमा पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतका वरिष्ठ नेताहरू र हालै प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म माओवादीको ठूलो पंक्तिसहित करिब ७ प्रतिशत एमालेमा समाहित भएको सङ्ख्यालाई हेर्ने हो भने एमाले पहिलेभन्दा शक्तिशाली र मजबुत भएको आँकलन गर्न सकिन्छ । माधव नेपालले लिएर गएका नेता कार्यकर्ताको पुर्ताल पूर्वमाओवादीबाट भइसकेकोे छ । यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली छ भन्ने देखिन्छ ।

    मधेसमा एमालेप्रतिको आकर्षण बढ्दो

    २०७४ को स्थानीय तह निर्वाचनका बेला केपी शर्मा ओलीलाई मधेसविरोधी नेता र एमालेलाई मधेसविरोधी पार्टीको विम्बको रूपमा प्रयोग गरिएको थियो ।
    त्यसबेला एमाले खुलेर मधेस पस्ने सम्भावना नै थिएन । मधेसमा एमालेविरुद्धको जनमतको बिगबिगी थियो । त्यति बेला देशका विभिन्न ठाउँमा भएका सयौं आमसभामा अध्यक्ष ओलीले सम्बोधन गरे पनि मधेसका दुईवटा आमसभामा मुस्किलले पुग्ने वातावरण बनेको थियो ।

    राजमार्ग छेउका क्षेत्रहरू बर्दिबास र चन्द्रनिगाहपुरमा मधेसवादी दलको अवरोधका बीच अध्यक्षले आफ्नो उपस्थिति देखाएका थिए । यतिखेर दैनिक हजारौंको संख्यामा मधेसका नेता–कार्यकर्ताहरु अन्य पार्टी त्यागेर एमाले प्रवेश गरिरहेका छन् । मधेस एमालेमय बनिरहेको छ । यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ ।

    ओलीप्रति युवापुस्ताको आकर्षण

    यतिखेर विशेष गरी युवापुस्ता नेकपा एमाले र केपी शर्मा ओलीप्रति आकर्षित देखिन्छ । अहिलेको चुनावमा अत्यधिक ठूलो संख्यामा युवा र नयाँ मतदाता छन् । त्यसमा पनि ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अत्यधिक छ । एमालेका संगठित सदस्यमध्ये झन्डै ५० प्रतिशत युवा छन् ।

    उनीहरुको मनोविज्ञान नेकपा एमाले नजिक छ । गतिशील संगठन, जनतामा घुलनशील नेता कार्यकर्ता एमालेमै छन् । ओली सरकारले गरेका दूरगामी कामहरूको प्रभाव युवा जगतमा परेको छ । रेल, इन्धन पाइपलाइन, सुरुङ, भत्किएका संरचना पुनर्निर्माण, खानी उत्खनन्, उद्योग स्थापना, रोजगारीको सृजना सबैतर्फ हेर्दा देख्नेगरी काम भएको छ । विकास र समृद्धिको पहल अन्य दलले भन्दा बढी एमालेले नै गरेको छ । एमालेले नै सुरु गरेको वृद्ध भत्ता आज एक जना वृद्धलाई जिविको चलाउन सक्ने माध्यम बनेको छ । यिनै कुराले गर्दा एमालेप्रति आम जनताको विश्वास र भरोसा अझ बढ्दै छ ।

    त्यसो त चुनावी परिणाम सीधा हिसाब गरेजस्तो आउँदैन । एमालेले लिने चुनावी रणनीति कस्तो हुन्छ, कस्ता उम्मेदवार छान्छ भन्ने कुरा प्रमुख हो । एमाले विभाजन हुँदाको क्षतिपूर्ति अन्य दलबाट भइसकेकाले स्थानीय तह निर्वाचनमा एमाले नै पहिलो दल बन्ने सम्भावना झन् बलियो बन्दै गएको छ । समग्रमा भन्दा फुटपछिको एमाले विगतभन्दा बलियो र थप शक्तिशाली भएको देख्न सकिन्छ ।

    (ज्ञवाली रुपन्देहीका शैक्षिक अगुवा हुन्।)

     

  • ‘प्रचण्ड-माधवरहित वामएकताको पक्षमा एमाले’

    ‘प्रचण्ड-माधवरहित वामएकताको पक्षमा एमाले’

    दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने भन्दै प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा एमाले रहेको बताएका छन् ।

    प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने– माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी तालमेल गर्दैन । तर उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्छौ ।

    उनले प्रचण्ड र माधवकुमार नेपाल बाहेकका अरू सबैलाई एमालेले स्वीकार्ने बताए । भने– प्रचण्ड र माधवरहित वामएकताको पक्षमा एमाले छ । कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् ।

  • प्रधानमन्त्रीको भारत भ्रमणप्रति एमालेको आपत्ति

    प्रधानमन्त्रीको भारत भ्रमणप्रति एमालेको आपत्ति

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएको छ । प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका छन् ।

    तर, मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।’

    देउवाको भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । ‘स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ’ उनले प्रश्न गरेका छन् ।

     

     

  • एमाले स्थायी कमिटी बैठक बस्दै, चुनावलक्षित ठोस कार्ययोजना तय गरिने

    एमाले स्थायी कमिटी बैठक बस्दै, चुनावलक्षित ठोस कार्ययोजना तय गरिने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटीको प्रथम बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    बैठकले चुनावलक्षित ठोस कार्ययोजना तय गर्ने उनले बताए । ‘बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइनेछ’, रिजालले भने ।

    स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् भने चारजना पदेन सदस्य छन् ।

  • एमालेले चुनावकेन्द्रित मोबाइल एप ल्याउने

    एमालेले चुनावकेन्द्रित मोबाइल एप ल्याउने

    काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरी मोबाइल एप ल्याउने भएको छ । एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोलि उक्त एप सार्वजनिक हुने जानकारी दिए ।

    ‘चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले सीपिएन यूएमएल ल्याउने छ’, अध्यक्ष ओलीले भने ।

    नवौं महाधिवेशनमा ८ लाख ५५ हजार संगठित सदस्य भएको र त्यो संख्या बढेर अहिले ११ लाख पुगेको पनि ओलीले बताए । ‘एमालेप्रति जनआकर्षण बढेको छ, एमाले प्रवेशको लहर देशभर चलेको छ’, उनले भने, ‘प्रचारलाई व्यवस्थित र सबैलाई एमालेको नीतिबारे जानकारी दिन मोबाइल एम प्रभावकारी हुनेछ ।’

    समृद्धि र खुसीका लागि एमालेले बहुमत ल्याउनुपर्ने उनको भनाइ थियो ।

  • एमालेको सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने

    एमालेको सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

    एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ ।

    एमालेले स्थानीय तह चुनावकेन्द्रित तयारी गरिरहेको छ । अहिले पार्टीको सम्पूर्ण ध्यन चुनावकेन्द्रित भएको एमाले नेताहरुले बताइरहेका छन् ।

  • यसकारण संसदमा एमालेको अवरोध कायम राखौं

    यसकारण संसदमा एमालेको अवरोध कायम राखौं

    नेपालको राजनीति मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण उच्च तापक्रममा पुगेको छ । एमसीसी संसदमा औपचारिक दर्ज भएसँगै आजदेखि यसबारे सदनमा सघन छलफल हुनेछ । यस्तो बेला नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्यहरु भने संसद अवरोध गरिरहेका छन् । नेपाली कांग्रेस एमसीसीको पक्षमा स्पष्ट रुपमा उभिएको छ ।

    हालसम्म सरकारसँग स्पष्ट बहुमत छ तर सरकारले प्रस्तुत गरेको विधेयकमा धक फुलाएर मतदान गर्ने अवस्था नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई छैन । कारण, नेकपा (माओवादी) र नेकपा (एस) का सांसदहरुलाई एमसीसीको विपक्षमा भोट हाल्दा सरकारबाट निकालिनुपर्ने र विगतमा आफैले एमसीसीलाई ‘राष्ट्रघाती’ भनेर जनता सामु प्रस्तुत भइसकेको हुँदा पक्षमा भोट हाल्न गाह्रो अवस्था छ । यस्तो परिस्थितिमा नेकपा (एमाले)ले विपक्षमा भोट हालेर एमसीसीलाई विफल बनाइदिओस् भन्ने चाहना साधारण जनताको देखिन्छ ।

    देशलाई एमसीसीले गाँजेको बेला एमाले भने संसदमा एक ईन्च तल–माथि नभइ आफ्नो संसद अवरोध नीतिमा डटिरहेको छ । ‘एमसीसी जस्तो विषयमा पनि आफ्नो धारणा नबनाउने ?’ भनेर एमालेको खेदो खन्ने काम र कतै कतै त लिङ्ग नछुटेको पार्टी पनि भन्ने गरेको सुनिन्छ । वास्तवमा एमालेले संसदमा जुन विषयलाई स्थापित गर्न निरन्तर महिनौसम्म संसद अवरोध गरिरहेको छ, यसको अर्थ एमसीसीभन्दा सयौं गुणा महत्वपूर्ण छ । तर, न त प्रेस मिडिया, न नागरिक समाज, न अन्य राजनीतिक दल, न त जनताले यसको बारेमा बहस गरेको पाइन्छ । यो नेपाली राजनीतिको अत्यन्तै दुःखद पक्ष हो । यसको महत्वको बारेमा यस आलेखमा संक्षिप्त छलफल गरिनेछ ।

    नेकपा (एमाले)ले पार्टी संसदीय दलको ह्वीपविपरीत नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदका लागि मतदान गरेका १४ जना प्रतिनिधिसभा सदस्यहरुलाई गत भादौ १ गते दलको औपचारिक बैठकबाट कारबाहीको निर्णय गरी संघीय प्रतिनिधिसभा र निर्वाचन आयोगलाई औपचारिक पत्राचार गरेको थियो । तर, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले यो पत्रलाई योजनाबद्ध रुपमा अड्काउनु भयो । यसअघि यही व्यहोराको नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका ४ जना संघीय प्रतिनिधिसभा सदस्यहरुको कारबाहीको पत्र भने भटाभट तोक लगाएर सूचना टाँस गरी उहाँहरुलाई कारबाही गर्नुभएको थियो ।

    यति मात्र नभइ सर्वोच्च अदालतबाट ‘माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नू’ भनी परमादेश जारी भएपछि प्रतिनिधिसभामा विश्वासको मत लिने बेला एमाले संसदीय दलको ह्वीपविपरीत प्रधानमन्त्री देउवाको पक्षमा भोट हाले । के यो दुर्भाग्यपूर्ण मात्र थियो ? कि कमजोरी ? कि दुस्प्रयास ? या राजनीतिक अपराध ?

    यसरी नेकपा (एमाले) संसदीय दलले कारबाही सिफारिस गरेका संसद सदस्यहरुका सम्बन्धमा कुनै कारबाही अगाडि नबढाइ देउवा सरकारले पार्टी फोड्न ‘२० प्रतिशत सांसद संख्या भए पुग्ने’ विधेयक ल्याएर सोबमोजिम माधव नेपाल नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेर सो नयाँ पार्टीले प्रमाण पात्र पाएर ती सांसदहरुलाई नयाँ पार्टीमा सामेल गर्दासम्म पनि सभामुखले त्यो पत्रलाई वास्ता गर्नुभएन । सभामुखको यो असंवैधानिक र अराजनीतिक चरित्रको विरोधमा नेकपा (एमाले) भदौदेखि निरन्तर संसद अवरोध गर्दै यो असंवैधानिक कदम सच्याउन दबाब सिर्जना गरिरहेको छ ।

    तर एमालेको यो एजेण्डालाई मिडिया, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारण जनताले त्यति चासो दिएको देखिएन । झन् अहिले एमसीसीले नेपाली राजनीति धपक्कै छोपेको बेला यो एजेण्डाका बारेमा कसैको चासो र चिन्तन हुने कुरै भएन । वास्वतमा यो एजेण्डा एमसीसीभन्दा सयौं गुणा महत्वपूर्ण एजेण्डा हो भन्ने लाग्दछ ।

    जनताले एउटा सिद्धान्त र पार्टीका लागि भोट दिएका हुन्छन् । एउटा राजनीतिक दलले प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेका दलको नेतालाई जनताले निर्वाचित गरिसकेपछि उनको मूल्यांकन पूरै कार्यकालबाट गर्नुपर्ने हुन्छ, र कार्यकाल सकिएपछि उनको कामको समीक्षा र आगामी बाटो जनताले अर्को निर्वाचतमार्फत तय गर्छ ।

    तर विडम्बना, एउटा दिशा र गतिमा हिंडिरहेको सरकारका विरुद्ध दिग्भ्रमित हुँदै केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन नै भोट मागेर जितेका माननीयहरु गत वर्ष जेठ–असारमा संसदीय दलको निर्णय विरुद्ध आफ्ना दलको नेताको पक्षमा मतदान नगर्ने, विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाई पाउँ भनेर निवेदन बोक्दै सम्माननीय राष्ट्रपतिकोमा प्रस्ताव लिएर जाने र त्यसबाट पनि सम्भव नभएपछि सर्वोच्च अदातलमा लामबद्ध भइ विपक्षी दललाई प्रधानमन्त्री बनाइ पाउँ भनेर निवेदन गर्न जानेसम्म देखियो ।

    यति मात्र नभइ सर्वोच्च अदालतबाट ‘माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नू’ भनी परमादेश जारी भएपछि प्रतिनिधिसभामा विश्वासको मत लिने बेला एमाले संसदीय दलको ह्वीपविपरीत प्रधानमन्त्री देउवाको पक्षमा भोट हाले । के यो दुर्भाग्यपूर्ण मात्र थियो ? कि कमजोरी ? कि दुस्प्रयास ? या राजनीतिक अपराध ?

    वास्तवमा एउटा राजनीतिक दर्शन र चुनाव चिह्नको आधारमा जनताले निर्वाचित गरेका सांसदहरु संसदीय अनुशासनको घेरामा रहन जरुरी छ । उनीहरु नै सहभागी भएर गठन हुने संसदीय दलको निर्णय मान्न उनीहरु बाध्यकारी हुन्छन् । दलको निर्णय भनेको सामूहिक निर्णय हो, यसको निर्णय अन्यथा नहोस् भन्नका लागि निर्णय प्रक्रिया सदस्यहरुले घनिभूत छलफल गर्न सक्छन् । तर, दलले सामूहिक छलफलबाट एउटा निष्कर्षमा पुगेपछि त्यो निर्णय मान्नु दलका सदस्यहरुको बाध्यता हो, चित्त बुझोस् या नबुझोस् ।

    सांसदहरुले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय पहिचान, राष्ट्रिय सद्भाव जस्ता जनताका प्रिय विषयहरुका विरुद्धमा कहिल्यै पनि पक्ष लिने आँट नगरोस् भन्नका लागि सांसदहरुमा दलीय आचरण र नियन्त्रण हुन जरुरी छ । यही माग उठाएर एमाले निरन्तर संसद अवरुद्ध गरी आन्दोलनमा छ ।

    यसरी दलको निर्णयविरुद्ध सांसदहरु गैरदलीय आचरण देखाउँदै जाने हो भने भविष्यमा कोही पनि प्रतिनिधिसभा सदस्य दलको विधान र निर्णयबाट निर्देशित हुन रुचाउने छैन । एकपटक निर्वाचित भएपछि पाँच वर्ष उनीहरु ‘छाडेको साँढेझै’ देश र दलको स्वार्थ भन्दा पनि आफ्नो स्वार्थ खोज्दै, अवसर खोज्दै हिड्ने भए । डरलाग्दो विषय, भविष्यमा एकजना भिमकाय, देशी विदेशी पहुँचवाल, पैसावाल मानिसले सबैको भोट किनेर प्रधानमन्त्री बन्ने र प्रायोजित दिशामा अन्त्यन्तै राष्ट्रघाती प्रस्ताव प्रतिनिधिसभामा लगेर निर्णय गराउने दिन आउन सक्छ । त्यो बेलामा जनतम यस्तो थिएन भनेर जनता रुनु बाहेक विकल्प अरु हुन्न ।

    स्मरण रहोस्, भारतले बनाएको विधान स्वीकार्ने र सिक्किम भारतमा गाभिने भन्ने कुरा सिक्किसको सन् १९७५ को निर्णय संसदबाट औपचारिक रुपमै भएको थियो । यस्ता अनेकौं विषय संसदमा छलफलका लागि कुनै अमुक व्यक्तिले प्रस्तुत गर्ने र सांसदहरु प्रलोभनमा परेर सोही प्रस्ताव समर्थन गर्यो भने ३ करोड जनता एकातिर भएर केही हुन्न ।

    तसर्थ, सांसदहरुले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय पहिचान, राष्ट्रिय सद्भाव जस्ता जनताका प्रिय विषयहरुका विरुद्धमा कहिल्यै पनि पक्ष लिने आँट नगरोस् भन्नका लागि सांसदहरुमा दलीय आचरण र नियन्त्रण हुन जरुरी छ । यही माग उठाएर एमाले निरन्तर संसद अवरुद्ध गरी आन्दोलनमा छ ।

    हामी नेपाली जनतालाई भने आन्दोलनको फरक शैलीप्रति विश्वास र अभ्यस्तता छ । बाटोमा टायर बालेर, पुलिसलाई ढुंगामुढा गरेर, सडक अबरुद्ध गरी चर्का चर्का नारा लगाएपछि मात्रै आन्दोलनको झल्को आउँछ । एमालेको संसद अबरुद्ध मार्फतको यो आन्दोलन विषयका हिसाबले धेरै गहकिलो र देशलाई दुरगामी असर पार्ने खालको एजेण्डामा आधारित छ । तर, यो आन्दोलनको प्रभाव (दुस्प्रभाव) जनतामा नपरेको हुँदा यो आन्दोलनले मिडिया, नागरिक समाज, र जनतालाई आकर्षित गर्न सकेको छैन ।

    एमसीसी त वास्तवमा नेपालका लागि एउटा गलपासो नै बनिसक्यो, अथवा बनाइसकियो । सन् २०११ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीको तर्फबाट प्रधानमन्त्री हुनुभएका बाबुराम भट्टराईले औपचारिक रुपमा अमेरिकासँग यो सहायताका लागि प्रस्ताव गर्नु भएको हो । अमेरिकाले नेपालको सबै प्रस्ताव अध्ययन गरेपछि नेपाललाई यो सहायत दिन्छौं भनेर निर्णय गरी नेपालसँग सम्झौता गर्दा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी समर्थनमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो ।

    यी आधारभूत प्रक्रियामा प्रचण्ड कहिल्यै बाहिर हुनुहुन्थेन र विरोध कहिल्यै भएन । वास्तवमा यो प्रक्रियामा कतै सामेल नभएको केपी ओली नेतृत्वको सरकारले पहिलाको सरकारबाट विरासतमा पाएको यो विषयको छिनोफानो गर्न संसदमा दर्ज गर्ने बेला केपी ओलीलाई आक्रमण गर्ने निहुँ नपाएर बसेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको तत्कालीन नेकपा भित्रको गुटहरुले यो सम्झौता राष्ट्रघाती हो भन्ने कोणबाट व्याख्या गर्दै केपी ओलीलाई राष्ट्रघाती दर्ज गर्न यो तर्क उचाले ।

    त्यतिबेला नेपाली कांग्रेस डिलमा बसेर नेकपाको तमासा हेर्दै ताली पड्काइरहे । अहिले एमसीसीको म्याद सकिनै लाग्दा प्रचण्ड र माधव नेपाललाई जनताको अगाडि ‘एमसीसी राष्ट्रघाती हो’ भनिसकेको आफ्नो पूर्ववत भनाइबाट पछाडि हट्न अप्ठ्यारो परेको हो ।

    जनता एमसीसीको विरुद्धमा पूर्णरुपमा लागिसकेको अवस्थाले गर्दा निकट भविष्यमा आइरहेको चुनावबाट पार्टीको सास थाम्न एमसीसीको विरोध गर्न प्रचण्ड माधव नेपाललाई बाध्यता एकातिर छ भने सरकारबाट निकालिने बित्तिकै सडकमा पछारिंदा घर र घातको हुने डर अर्कोतिर छ । यी दुई पार्टीको द्वैध चरित्रका कारण विपक्षी एमालेको धारणा आम चासो बनेको छ ।

    एमालेको समर्थनमा एमसीसी पास गरेर प्रचण्ड माधव नेपाल समूहलाई सरकारबाट गलहत्याउने दाउ कांग्रेसको छ भने एमाले एमसीसीको पक्षमा उभिंदा विपक्षीमा रहेका जनता एमालेसँग पनि तर्कने हुँदा भावी राजनीति सहज हुने प्रचण्ड माधव नेपालको ठहर छ । तसर्थ, दवै सरकार पक्षीय समूह एमालेले एमसीसीको पक्षमा उभियोस् भन्ने चाहन्छन् । अझ गहन मनन गरौं, एमाले विपक्षमा रहोस् र एमसीसीलाई फेल गरौं भन्ने पक्षमा प्रचण्ड माधव नेपाल समूह देखिएका छैनन् ।

    तर, एमालेले संसदमा जुन मुद्दा उठाइरहेको छ, यो मुद्दा हाम्रो जस्तो ‘भूराजनीतिक अवस्था’ भएको मुलुकका लागि एमसीसीभन्दा सयौं गुणा महत्वपूर्ण एजेण्डा हो । एमसीसीलाई पास या फेल गर्न सरकारमा सहभागी १७५ जना सांसदले निर्णय गर्न सकिहाल्छ । एमाले एमसीसीको पक्ष या विपक्षमा मतदान गर्ने ठाउँमा पुग्यो भने उसले उठाएको दरिलो एजेण्डा तुहिन पुग्छ ।

    किनभने संसदीय अभ्यासलाई विधिसम्मत गर्न निरन्तर संसद अवरोध गरिरहेको एमाले एकपटक संसदीय प्रक्रियामा प्रवेश गरेपछि फेरि त्यही एजेण्डामा फर्केर संसद अवरुद्ध गर्न उसलाई अप्ठ्यारो हुन्छ । तसर्थ, भविष्यमा सांसदहरुलाई दलीय आचरण र निर्देशनमा बस्न बाध्यकारी बनाउनका लागि एमालले आफ्नो एजेण्डालाई निरन्तर लानु पर्दछ, अथवा भनौं संसद अवरुद्ध गरिरहनु पर्छ ।

    एमसीसीले त पास गर्दा पनि समस्या बनाउने र फेल गर्दा झन् समस्या बनाउने ठाउँमा सरकारमा सहभागी दलहरुले पुर्याइ नै सक्यो ।

    (श्रेष्ठ नेकपा एमाले विदेश मामिला विभागका पूर्वसदस्य तथा बुद्धिजिवी परिषद्का केन्द्रीय सदस्य हुन्)

  • सराप्ने मात्रै कि एमालेबाट सिक्ने पनि ?

    सराप्ने मात्रै कि एमालेबाट सिक्ने पनि ?

    पछिल्लो समय देशका ठूला राजनीतिक दलको महाधिवेशन एवं राष्ट्रिय सम्मेलनले माहोल गार्माएको छ । देशको ठूलो दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ भने दोस्रो ठूलो दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा जारी छ । त्यस्तो अर्को ठूलो दल माओवादी केन्द्रको प्रदेश सम्मेलन भर्खर सकिएको छ । माओवादी पनि राष्ट्रिय सम्मेलनको तयारीमा छ । यसबीचमा राप्रपाको पनि अधिवेशन सम्पन्न भएको छ । एमाले र राप्रपाले नयाँ नेतृत्व पाइसकेको छ भने कांग्रेसले पनि केही दिनभित्रै नयाँ नेतृत्व पाउने निश्चित छ ।

    चाहे आफू नेतृत्वमा स्थापित हुन होस् वा आफूले चाहेको नेतृत्व स्थापित गर्न, सबै दलका नेता कार्यकर्ता छलफल, बहसमा केन्द्रित भएका छन् । यसले कार्यकर्तामा राजनीतिक जागरुकता बढाएको छ ।

    नेपालको ठूलो राजनीतिक दल नेकपा एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरमा विधान महाधिवेशन गरी यहीं मंसिर १० देखि नेतृत्व निर्माणका निम्ति दसौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ ।

    उक्त महाधिवेशनबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा १९ जना पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी र्निवाचित गरेको छ । त्यस्तै केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी, पोलिट्ब्युरोसँगै केन्द्रीय कमिटीमा थप सदस्य मनोनित पनि गरिसकेको छ ।

    एमालेले महाधिवेशन सम्पन्न गर्दैगर्दा थुप्रै नकारात्मक र थोरै सकारात्मक टिप्पणी भए । एमालेको महाधिवेशन कर्मकाण्डमा मात्र सीमित हुन्छ भन्दै अनुमान र ठोकुवा गर्ने व्यक्ति नै महाधिवेशनको अवधिमा केही मिडियाका आकर्षक पात्र बने । अनगिन्ती चुनौतीका बाबजुद नेकपा एमालेले विस्तारित र व्यापक लोकतान्त्रिक प्रणालीको अभ्यास अनुसरण गरी नेपालको इतिहासमा पहिलोपटक शतप्रतिशत समावेशी कमिटी निर्माण गरेको छ ।

    नेकपा(एमाले)ले नेपालका राजनितिक दलहरुको इतिहासमा पहिलोपटक प्रथम राष्ट्रिय विधान महाधिवेशन असोज १५ देखि १७ मा ललितपुरमा सम्पन्न गरेको थियो । एमालेले अंगीकार गर्ने नीति, विधि, विचार र पद्धतिका बारेमा छुट्टै छलफल गरी राजनीतिक प्रस्ताव, सांगाठानिक प्रस्ताव र विधान संसोधन प्रस्ताव पारित गर्दै पार्टी नेतृत्व निर्माणका निम्ति राष्ट्रिय महाधिवेशन तोकेको थियो ।

    राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा गरेका वडा र पालिका अधिवेशनहरुको मितिमा एकरुपता गर्ने कुरा पनि एमालेका निम्ति पहिलो अभ्यास थियो र हो ।

    तत्कालीन माले र माक्र्सवादी पार्टीको एकीकरणपश्चात् २०४७ मा बनेको नेकपा(एमाले)ले सधैं आफूलाई समयानुकुल समीक्षा र नवीकरण गरेको पाइन्छ । जसको निरन्तरता बरकरार राख्न वर्तमान पार्टी नेतृत्व पनि सफल भयो ।

    २०४९ साल अघिसम्म चीन, सोभियत संघ, भारत, उत्तर कोरिया, भियतनाम, पेरुलगायत देशका कम्युनिष्ट पार्टीहरुको सिको सिक्दै नेपालका कम्युनिष्ट पार्टीले काम गरेको आरोप थियो । उक्त आरोप सत्यनिकट थियो ।

    तर पछि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको अगुवाइमा २०४९ सालमा ‘जनताको बहुदलीय जनवाद’ नामक लोकतान्त्रिक कम्युनिष्ट विचारको नयाँ धारको विकासले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँपन थपिएको थियो । त्यस्तै सरकार संचालनको सन्र्दभमा पनि नेकपा एमाले २०५१ सालको आम निर्वाचनपश्चात तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा नौ महिना सरकार संचालन गर्दा र उक्त सरकारले सामाजिक न्यायका निम्ति उल्लेखनीय, उदारणीय काम गरी कम्युनिष्टलाई हेर्ने आम दृष्टिमा सकारात्मक बदल आएको थियो ।

    त्यही अल्पमतको सरकारका राम्रा कामका कारण परम्परागत शैलीमा सरकार संचालन गर्दै आएका तत्कालीन शासक नयाँ तरिकाले सोच्न बाध्य भएका थिए । र त्यसपछि बनेका नेपाली कांग्रेसलगायतका दक्षिणपंथी पार्टीका सरकारले जनपक्षीय काम गर्न नसके पनि कुरा जनपक्ष्सय गर्न थाले ।

    नेकपा एमालेको विगतदेखि वर्तमानसम्मका कामको समीक्षा गर्दा माधव नेपाल र झलनाथ खनालबाहेक तत्कालीन महासचिव मदन भण्डारी, मनमोहन अधिकारी र वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको पालामा केही नयाँ आयाम पार्टीमा स्थापित गरेको पाइन्छ । कमरेड मदन भण्डरीले विचारको क्षेत्रमा, कमरेड मनमोहनले सामाजिक न्यायको क्षेत्रमा र कमरेड केपी ओलीले राष्ट्रियता, विकास निर्माण र पार्टीको संगठनात्मक संरचना पूर्णसमावेशी बनाउने क्षेत्रमा अतुलनीय योगदान गरेको देखिन्छ ।

    व्यवहारिक सफलताका कारण नवौं राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेकपा एमालेले आफ्नो मार्गदशर्न सिद्धान्त बनाएको थियो । जबजको मार्गदर्शनमा समाजवादका आधार तयार गर्ने लक्ष्य बोकेको एमालेले आफ्नो राजनीतिक इतिहासमा कहिले वैचारिक र कहिले सांगठानिक स्वरुपहरुमा नयाँपन दिँदै आएको छ ।

    प्रथम विधान महाधिवेशनमा जबजको जगमा विद्यमान समाजका चरित्रकाबारेमा व्यापक छलफल गरी जबजको मार्गदर्शनमा समाजवादका आधार तयार गर्ने सर्वसम्मत निष्कर्ष निकालेको थियो । त्यस्तै भर्खरै चितवनमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनले जबजको कार्यन्वयनका निम्ति प्रतिस्पर्धा र सर्वसम्मति दुवै प्रणालीको व्यापक व्यवहारिक अभ्यासमार्फत कमरेड केपी ओलिको नेतृत्वमा पार्टीको संगठनात्मक संरचनामा नयाँपन दिन एमाले सफल भएको छ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम संविधानको कार्यान्वयन गर्ने नेपालको पहिलो राजनीतिक दल एमाले भएको छ ।

    स्वाभाविकरुपले नेकपा एमाले लोकतान्त्रिक कम्युनिष्ट पार्टी हो । यसले अभ्यास गर्ने लोकतन्त्र पनि प्रगतिशील लोकतान्त्रिक प्रणालीअन्र्तगत हुन्छ, जुन बुर्जुवा लोकतान्त्रिक शक्तिहरुले अभ्यास गर्नेभन्दा फरक, क्रान्तिकारी, व्यापक, विस्तारित र उन्नतस्तरको हो ।

    नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक प्रणालीको व्यवहारिक अभ्यास वडा, पालिका अधिवेशन हुँदै राष्ट्रिय महाविधेशनसम्म गरेको छ । सर्वसम्मपति एउटा उन्नत समझदारपूर्ण लोकतान्त्रिक अभ्यास हो । सर्वसम्मति नभए निर्वाचन हुनु लोकतन्त्रको अर्को विशेषता हो ।

    कोहीकोहीले एमालेमा आन्तरिक लोकतन्त्र नभएको भन्दै आलोचना पनि गरे । त्यो एउटा अराजनीतिक आरोप थियो, त्यसलाई व्यवहारले नै प्रतिवाद गरेको छ । बरु एमालेभित्रको आन्तरिक प्रतिस्पर्धाले एकतालाई झन् शक्तिशाली बनाएको छ । बुर्जुवा आरोपीहरुको मुखमा एमालेले बुजो लगाइदिएको छ ।

    यसले एमालेलाई उदाहरणीय दलको रुपमा प्रस्तुत गरेको छ । समावेशीतासँगै आन्तरिक लोकतन्त्र र एकताका लागि अरु दलले पनि एमालेबाट सिक्न जरुरी छ । एमालेलाई उछितो काड्ने होइन । अझ खासगरी कांग्रेस, माओवादी जस्ता दलले एमालेको विचार, व्यवहारबाट सिक्दै अघि बढे उनीहरुकै लागि श्रेयस्कर हुनेछ ।

    (लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)

  • स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न नेकपा (एमाले)को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्दैछ । यससँगै केन्द्रीय सदस्य पनि मनोनित गर्ने बैठकको एजेण्डा छ ।

    त्यस्तै बैठकले जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समयसीमा निर्धारण गर्नेछ । त्यस्तै नेताहरुको कार्य विभाजन पनि बैठकको एजेन्डा छ ।

    केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस रोजेको बताए। बैठक दुई दिनसम्म चल्ने बताइएको छ ।

    केन्द्रीय कमिटीको पहिलो बैठक भने महाविधेशनस्थल चितवनको सौराहामै बसेको थियो।

    केन्द्रीय कमिटी बैठक बस्नुअघि सचिवालय बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सचिवालयमा केन्द्रीय कमिटीमा पेश हुने एजेण्डाबारे छलफल हुनेछ ।

  • एमाले नेतृत्व प्रक्षेपण, को कति बलिया ?

    एमाले नेतृत्व प्रक्षेपण, को कति बलिया ?

    काठमाडौं । आसन्न नेकपा एमालेको १० औं महाधिवेशनबाट चुनिने केन्द्रीय नेतृत्वबारे चासोसँगै चर्चा बढ्दो छ । पार्टीभित्र नेतृत्वमा पुग्न रस्सकस्सी सुरु भइसकेको छ ।

    पदाधिकारी चयनमा निर्वाचन नहुने निश्चितप्रायः छ । अध्यक्षमा केपी शर्मा ओलीलाई टक्करको सामना गर्नु नपर्ने देखिन्छ । अहिलेका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले अध्यक्षका लागि उम्मेदवारी दिने चर्चा भए पनि उनीहरुले प्रष्टसँग मुख खोलेका छैनन् ।

    केही दिनअघि एक कार्यक्रममा रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । तर उनले ‘बार्गेनिङ’का लागि मात्र त्यसो भनेको धेरैको अनुमान छ । उनले अध्यक्षको दाबेदारी छाडेको भन्दै वरिष्ठ उपाध्यक्षमा दाबी गर्न सक्छन् । तर, रावल बढीमा उपाध्यक्ष पद जोगाउन चाहन्छन् । त्यसैले अध्यक्षमा ओली निर्विकल्प जस्तै बनेका छन् ।

    सकेसम्म अध्यक्ष नै हुने चाहना राखेका ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा चित्त बुझाइसकेका छन् । अहिलेसम्म पोखरेललाई कसैले पनि चुनौती दिने आँट गरेका छैनन् । यद्यपि, सुवास नेम्वाङ पनि ओलीपछिका उत्तराधिकारी हुन चाहन्छन् । तर उनी उपाध्यक्षमै भए पनि चित्त बुझाउने मनस्थितिमा छन् । यसैले वरिष्ठ उपाध्यक्षमा पोखरेल सुनिश्चित जस्तै छन् ।

    तुलनात्मक रुपमा महासचिव चयन भने सकसपूर्ण हुने देखिन्छ । अहिलेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल र सुरेन्द्र पाण्डेले महासचिव हुने आश गरिरहेका छन् ।

    कम्युनिष्ट पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण मानिने यो पदका लागि ओलीले पाण्डेलाई भन्दा पौडेल या पोखरेलमध्ये एक रोज्ने सम्भावना धेरै छ ।

    विगतदेखि ओली पक्षका पौडेल र पोखरेल दुवैले महासचिवका लागि लबिङ गरिरहेका छन् । अहिले उपमहासचिव, माओवादीसँग एकता भएपछि बनेको नेकपामा महासचिव र संगठनमा पनि बलियो पकड भएका कारण ओलीले महासचिवमा पौडेल नै रोज्ने सम्भावना धेरै छ । पोखरेल पनि ओलीका विश्वासपात्र हुन् । अघिल्लोपल्ट उपमहासचिवमा पराजित उनी यसपटक महासचिव बन्न चाहन्छन् । ओलीले पौडेललाई महासचिव रोजेको खण्डमा पोखरेल पनि विश्वासपात्र भएकाले उपाध्यक्षमा व्यवस्थापन गर्ने सम्भावना पनि छ ।

    त्यस्तै चार उपाध्यक्षका लागि ठूलै रस्साकस्सी छ । माओवादीबाट आएका, १० बुँदे सम्झौता गरेर एमालेमै फर्किएका १० भाइ र अरुलाई पनि मिलाउनपर्ने भएकाले उपाध्यक्ष छनोटमा तनाव हुने देखिन्छ ।

    वरिष्ठ उपाध्यक्ष र महासचिव छाडेका सुवास नेम्वाङलाई उपाध्यक्ष बनाउनैपर्ने दबाब छ, ओलीलाई । त्यस्तै, सम्झौतापछि एमालेमा फर्किएकी अष्टलक्ष्मी शाक्य र भीम रावल पनि उपाध्यक्षकै लाइनका हुन् ।

    शीर्ष नेतृत्वमा महिला पनि समेटिने भएकाले शाक्य उपाध्यक्ष हुने सम्भावना प्रबल छ । १० बुँदेपछि एमालेमा फर्किएका रावललाई ओलीले उपाध्यक्ष दिने सम्भावना भने कम छ ।

    त्यस्तै माओवादीबाट आएका रामबहादुर थापा बादल उपाध्यक्ष हुनसक्छन् । संकटको बेलामा आफूलाई साथ दिएकाले ओलीले बादललाई उचित स्थानमा व्यवस्थापन गर्ने देखिन्छ । नवौं महाधिवेशनबाट उपाध्यक्ष भएका युवराज ज्ञवालीलाई पनि ब्याक हटाउन कठिन छ । यद्यपि, उनलाई अनुशासन आयोगतिर व्यवस्थापन गर्ने चर्चा छ । त्यस्तै नेता पृथ्वीसब्बा गुरुङको ध्यान पनि उपाध्यक्षतिरै छ ।

    अहिलेका उपहासचिव घनश्यम भुसाल महासचिव बन्न चाहन्छन् । तर रावललाई जस्तै उनीलाई ओलीले महासचिवमा विश्वास गर्ने सम्भावना छैन । अहिलेका सचिव प्रदीप ज्ञवाली पनि ओलीका निकट सहयोगी हुन् । उनी सचिवमा निश्चित भए पनि बढुवा गरेर उपमहासचिव बनाउने सम्भावना धेरै छ ।

    त्यस्तै सात सचिवका लागि पनि ठूलै रस्साकस्सी छ । पाँच सचिवबाट बढाएर सात सचिवको व्यवस्था गरे पनि आकांक्षी धेरै भएकाले भाग मिलाउन ओलीलाई मुस्किल पर्ने देखिन्छ ।

    योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य सचिवमा दोहोरिन चाहन्छन् । त्यस्तै उपमहासचिव नपाए प्रदीप ज्ञवालीले पनि सचिवमै चित्त बुझाउनुपर्ने छ । शेरबहादुर तामाङ पनि सचिवका बलिया दाबेदार हुन् ।

    त्यस्तै माओवादीबाट आएका टोपबहादुर रायमाझी र लेखराज भट्टलाई पनि सचिवमा आटाउनैपर्ने दबाबमा छन्, ओली । पृथ्वीसब्बा उपाध्यक्ष नभए सचिवमै बस्नुपर्ने स्थितिमा छन् ।

    पदाधिकारी समावेशी बनाउनुपर्ने भएकाले रघुवीर महासेठ, किरण गुरुङलगायतलाई पनि सचिवमा अघि सार्न सक्छन् ।

    ४५ सदस्यीय स्थायी कमिटीका लागि थुप्रैको अकांक्षा छ । सचिवमा नपरेकाहरु स्थायी कमिटीमा अटाउन सक्छन् ।

  • दैलेख एमाले क्षेत्र नम्बर एकले टुंग्यायो महाधिवेशन प्रतिनिधि

    दैलेख एमाले क्षेत्र नम्बर एकले टुंग्यायो महाधिवेशन प्रतिनिधि

    सुर्खेत । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर एकले नौ जना महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ । नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माका अनुसार महाधिवेशन प्रतिनिधि छनौट हुनेमा खुला तर्फ रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा र टोपबहादुर बिसी छन् ।

    यस्तै महिलाबाट मिनासिंह रखाल र सुर्यकुमारी श्रेष्ठ, दलितबाट अमर नेपाली र गोपाल नेपाली महाधिवेशन प्रतिनिधि छनौट भएको अध्यक्ष शर्माले नेपाल प्रेसलाई बताए ।

    उता, निर्वाचन क्षेत्र नम्बर दुइमा पनि आजै प्रतिनिधि टुंगो लगाउने मतदान नगर्ने उनको भनाई छ । यसकालागि पार्टीको उच्च स्तरी कमिटि बसिरहेको र सोही कमिटिले छानेकाले मान्ने उम्मेदवारहरुले प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

  • कर्णालीमा एमालेका ६२ हजार बढी संगठित सदस्य, सबैभन्दा धेरै दैलेखमा

    कर्णालीमा एमालेका ६२ हजार बढी संगठित सदस्य, सबैभन्दा धेरै दैलेखमा

    सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा गरी ६२ हजार १ सय ४२ पार्टी सदस्यता नवीकरण भएको छ । जसमा कालिकोटमा ७३२७, सल्यानमा ३००७, हुम्लामा ४८२७ पार्टी सदस्यता नवीकरण भएको एमाले नेता गोरख बोगटीले जनाकारी दिए ।

    उनका अनुसार डोल्पामा ५५८६, जाजरकोट ४८८८, जुम्लामा ३१९६, सुर्खेतमा १२०९०, मुगुमा ४८८९, रुकुमपश्चिममा ३१२१ र दैलेखमा १३,२१४ जनाले सदस्यता नवीकरण गरेका छन् ।

  • दैलेखमा एमालेको पालिका अधिवेशन आज

    दैलेखमा एमालेको पालिका अधिवेशन आज

    दैलेख । नेकपा एमाले दैलेखले आज ११ पालिकामा अधिवेशन सम्पन्न गर्ने जनाएको छ । नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जिल्लाका ११ ओटै पालिकामा अधिवेशनको तयारी पूरा भएको जानकारी दिए ।

    उनले सकेसम्म सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिने बताए । देशका अरु जिल्लामाहरुमा भने यसअघि नै अधिवेशन भइसकेका छन् । केही पालिकामा भने विवादका कारण अधिवेशन स्थागित भएका छन् ।

  • माओवादी प्रभाव क्षेत्र थवाङमा एमालेको संगठन निर्माण (तस्बिरहरु)

    माओवादी प्रभाव क्षेत्र थवाङमा एमालेको संगठन निर्माण (तस्बिरहरु)

    रोल्पा । जिल्लाको अधिकांश पालिकामा ९ गते नै अधिवेशन गराएको नेकपा (एमाले) ले माओवादीको प्रभाव क्षेत्र मानिने थवाङ गाउँपालिकामा भने थाती राखेको थियो । अन्तका सबै पालिका अधिवेशन सकाएर नेताहरू थवाङमा जम्मा भएका छन् ।

    थवाङमा र्‍याली निकालेर एमाले पालिका अधिवेशन शुरु भएको छ । एमालेले थवाङमा अधिवेशन गराउन जिल्लाभरकै शक्ति केन्द्रित गरेको छ । एमाले जिल्ला नेता ईश्वरी जिएमका अनुसार केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवीन रोका, चार प्रदेश सदस्यलगायत थवाङमा पुगेको बताइन् ।

    त्यस्तै एमाले जिल्ला कमिटीमा रहेका अरु धेरै नेताहरू पनि थवाङ पुगेका छन् । अहिले बन्द सत्र जारी छ। आजै नेतृत्व चयन गरिने बताइएको छ। थवाङलाई तत्कालीन नेकपा माओवादीको सबैभन्दा धेरै प्रभाव रहेको क्षेत्रका रूपमा लिइन्थ्यो । माओवादीहरू त्यसलाई आफ्नो आधार इलाका भन्थे ।

    माओवादी शान्ति प्रक्रियामा आएपछि पनि धेरै समयसम्म त्यहाँ माओवादीबाहेकका पार्टीले आफ्नो संगठन निर्माण गर्न सकेका थिएनन् ।प्रतिनिधिसभाको २०७४ सालको चुनावमा साविकको थवाङमा शून्य मतदान भएको थियो ।

  • एमाले अधिवेशन : काठमाडौं महानगर अध्यक्षमा देउला, ललितपुरमा शाक्य

    एमाले अधिवेशन : काठमाडौं महानगर अध्यक्षमा देउला, ललितपुरमा शाक्य

    काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन् । एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो ।

    अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ । काठमाडौं महानगरको कमिटी १०१ सदस्सीय छ ।

    यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १०औँ महाधिवेशन अन्तर्गत मंगलबार भएको पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

    एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन भएकी छन् । गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष भएका छन् । बागमतीमा नवराज सञ्जेल, महांकालमा पुरुषोत्तम हुमागाईं
    र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष बनेका छन् ।

  • एमाले वडाध्यक्षलाई माओवादीमै फर्काउने प्रयास, रुद्र सापकोटाको भिडियो आधिकारिक कि विज्ञिप्ति ?

    एमाले वडाध्यक्षलाई माओवादीमै फर्काउने प्रयास, रुद्र सापकोटाको भिडियो आधिकारिक कि विज्ञिप्ति ?

    सिन्धुपाल्चोक । गाउँ तहका अधिकांश सक्रिय कार्यकर्ता एमालेमा लागेपछि सिन्धुपाल्चोक माओवादी आत्तिएको छ ।

    अहिले माओवादीले एमालेमा लागेका कार्यकर्तालाई ‘जसरी पनि’ माओवादीमै फर्काउने अनेक प्रयास गरिरहेको छ ।

    शनिबार भएको वडा अधिवेशनमा चौतारा–साँगाचोकगढी नगरपालिका– ४ मा यसअघि माओवादी केन्द्रमा रहेका रुद्रप्रसाद सापकोटा राजिखुसीमै एमालेको वडाध्यक्ष बने । एमालेको वडा अध्यक्ष भएपछि उनले ‘सानो रुखभन्दा ठूलो रुखकै ओत लाग्नु राम्रो’ भएको प्रतिक्रिया दिएका थिए ।

    उनले वडाध्यक्षको जिम्मेवारी दिलाउन सहयोग गरेका एमाले नेता कार्यकर्ताप्रति आभार प्रकट गरेका थिए । तर उनले अध्यक्ष निर्वाचित भएको केही समयपछि विज्ञप्ति जारी गर्दै आफू माओवादीमै रहेको बताए ।

    वडाध्यक्ष निर्वाचित भएपछि सापकोटा दिएको मन्तव्य सुन्नुहोस्

    त्यसपछि उनले निकालेको विज्ञप्ति यस्तो छ–

    यसले माओवादीले जबरजस्त एमालेबाट छुटाएको जिल्लाका एमाले नेताहरुले बताइरहेका छन् । वडा अधिवेशनमा गएका एमाले नेता एवम् प्रदेशसभा सदस्य सरेश नेपालले भने, ‘एमालेप्रति माओवादी कार्यकर्ताको आकर्षण बढेका कारण सिन्धुपाल्चोकमा माओवादी आत्तिएको छ, एमालेमा आएका नेता कार्यकर्तालाई जबरजस्ती माओवादीमै रहेको भन्न लगाइएको छ ।’

    चौतारा–साँगाचोक गढीसँगै जिल्लाका धेरै वडामा माओवादी परित्याग गरी एमाले प्रवेश गरेकाहरुले विभिन्नखाले जिम्मेवारी पाएको उनले बताए । केही दिनअघि मात्रै बलेफी गाउँपालिकाको एक बस्तीका सबै एमालेमा प्रवेश गरेका थिए ।

    माओवादीका नेता दावा तामाङसँगै प्रदेश कमिटी र जिल्ला कमिटीमा पनि थुप्रै पूर्वमाओवादी नेता, कार्यकर्ता समेटिएको नेता नेपालले बताए ।

    माओवादी गढ भत्कँदैछ– नेता नेपाल

    माओवादीको मुकाम मानिएको सभामुख अग्निप्रसाद सापकोटाको गाउँमा वडा अधिवेशन सम्पन्न गराउन पुगेका नृेता नेपालले क्रमशः माओवादीको असली चरित्र उदाङ्गो हुँदै गएको बताएका थिए ।

    माओवादी कांग्रेसपरस्त भएको भन्दै उनले भने– माओवादीको कांग्रेसपरस्त विसर्जनवादी चरित्रको चिरफार भएको छ ।

    प्रचण्डले एमाले अध्यक्ष ओलीविरुद्ध हानेको भनिएको १९ बुँदे बम प्रचण्डका लागि सुसाइड नोट जस्तै भएको छ । त्यसैले उनी अचेल मर्ने कुरा गरिरहन्छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको आक्रोश पोख्दै उनले भने– सभामुखले संसदीय अभ्यासमा नै कलंक लगाएका छन्, यो क्षम्य हुँदैन ।

  • प्रचण्डको विश्लेषण- ओलीलाई मदन भण्डारी बनाउन खोजिँदैछ, १० भाइले एमाले ब्राण्डसँग आत्मसमर्पण गरे (भिडिओ)

    प्रचण्डको विश्लेषण- ओलीलाई मदन भण्डारी बनाउन खोजिँदैछ, १० भाइले एमाले ब्राण्डसँग आत्मसमर्पण गरे (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपयले आफूलाई रुँदै हिँडेको र सक्किएको प्रचारवाजी गरे पनि आफू कुनै आवेगमा नभएको बताएका छन् ।

    सोमबार पार्टीनिकट नेपाल बुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू नआत्तिएको पनि बताए । ‘बाहिर अहिले एकथरी लौ प्रचण्ड सकियो, रुँदै हिँड्यो भनेका छन्, त्यो गलत हो,’ उनले भने, ‘म आवेगमा पनि छैन । म आत्तिएको पनि होइन ।’

    आफूले माओवादी विघटन गरे पनि हुन्छ भन्ने कुरा पार्टी थप बलियो बनाउने अर्थमा भनेको पनि प्रचण्डको भनाइ छ। ‘नत्र माओवादी विघटन गरे हुन्छ भन्छु नि कहिलेकाँही, त्यो सशक्त पार्टी गठन गर्नुपर्छ भनेको हो,’ उनको भनाइ छ, ‘मैले कहिलेकाँही एक्लै भइन्छ कि क्या हो भन्छु नि । म एक्लै भएँ भनेको होइन । गुट बन्नु हुँदैन भनेको हो । गुट बने त पार्टी सकिहाल्छ नि ।’

    आउने चुनावमा माओवादी एक नम्बर पार्टीमा स्थापित हुने दावी गर्दै प्रचण्डले केही ठूला नेता माओवादीमा फर्किनँ लागेको दावी गरे । र, केही पार्टीसँग एकीकरणको पनि कुरा चलेको बताए । ‘माओवादीमा ठूला-ठूला मान्छे फर्किँदै छन् तर म अहिले नाम भन्दिनँ,’ प्रचण्डले भने, ‘अहिले एउटा पार्टीसँग एकताको कुरा चलिरहेको छ । म त्यसका लागि अहिले वार्ता गर्न जाँदैछु ।’

    उनले अहिले एमालेमा विचार नभएको समेत दावी गरे । मदन भण्डारीको ठाउँमा ओलीलाई स्थापित गर्न लागेको आरोप उनको छ । ‘एमालेमा अहिले विचार छैन्, सूर्य चिन्ह छ, जबज छ,’ प्रचण्डले भने, ‘मदन भण्डारी छन् । अहिले मदनभण्डारीको ठाउँमा ओलीलाई बनाउन खोजेका छन् ।’

    अबको मुख्य प्रतिस्पर्धा ओलीसँगै हुन बताउँदै उनले ओलीलाई माक्र्सवाद विरोधी करार गर्ने व्यवस्थित योजना ल्याउन पनि पार्टीनिकट बुद्धिजिवीहरुलाई आग्रह गरे। ‘ओलीको विचार के कति कारणले मार्क्सवादविरोधी छ भन्ने कुरा हामीले प्रष्ट पारेर तलसम्म जानुपर्ने छ,’ उनको आग्रह छ, ‘माओवादीले लिएको विचार सही छ भन्ने कुरा तथ्य तथ्यांकसहित, विचार, अन्तरक्रियासहित स्थापित गर्नुपर्‍यो ।’

    एमालेभित्र विचारशील भनेर चिनिएका ‘१० भाइ’ अहिले एमाले ब्रान्ड र सूर्य चिन्हमा गएर आत्मसर्मपण गरेको पनि प्रचडले आरोप लगाए ।

  • एकता प्रक्रियासहितको एमाले जेठ २ मा सीमित हुँदैन: महासचिव पोखरेल (भिडिओ)

    एकता प्रक्रियासहितको एमाले जेठ २ मा सीमित हुँदैन: महासचिव पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जेठ २ मा फर्किने कुरालाई यान्त्रिक ढंगले नबुझ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आजको एमाले माओवादीसँगको एकता प्रक्रियासहितको पार्टी हो भनेर बुझ्नुपर्ने बताए ।

    महासचिव पोखरेलले भने, ‘जेठ २ लाई राजनीतिक र कानूनी मर्मका आधारमा बुझ्नुपर्छ । आजको एमाले २०७५ जेठ २ अघिको एमालेमात्र होइन, विकसित एमाले हो । एकता प्रक्रियासहितको एमाले हो । जेठ २ लाई हामीले सिर्जनात्मक प्रयोग गर्ने हो ।’

    पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने र भइरहेको भन्दै माओवादीसहितको एकताको एमाले हो भनेर नबुझ्ने हो भने पार्टी बलियो नहुने प्रष्ट पारे ।

    महासचिव पोखरेलले आजको मुलुक एमाले र एमाले विरोधी दुई ध्रुवमा विभाजित भएकाले सुदृढ एमाले आवश्यक रहेको बताए ।

  • औपचारिकताको लागि मात्र बोलाएको सभामुखको बैठकमा जानुको अर्थ छैन: सुवास नेम्वाङ(भिडिओ)

    औपचारिकताको लागि मात्र बोलाएको सभामुखको बैठकमा जानुको अर्थ छैन: सुवास नेम्वाङ(भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बतााएका हुन् ।

    नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए । सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए ।

    उनले भने,‘हामीसँग भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आउ बैठक भनेर औपचारिकता पुरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईहरु पुछ्नुस् ।’

    उनले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गरे । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्ने उनको भनाइ छ ।

     

  • बजेट प्रतिस्थापन विधेयक आजै पेस हुँदै, नियम निलम्बन गरेर फास्ट ट्रयाकमा पारित गर्ने तयारी

    बजेट प्रतिस्थापन विधेयक आजै पेस हुँदै, नियम निलम्बन गरेर फास्ट ट्रयाकमा पारित गर्ने तयारी

    काठमाडौं । सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने भएको छ । एमालेको अवरोध र नारावाजीका बीच सभामुखले सदनको कारवाही अघि बढाएपछि आजै संसद सचिवालयमा आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दर्ता भएका छन् ।

    १५ मिनेटको लागि स्थगित भएको प्रतिनिधिसभा बैठक भर्खर शुरू भएको छ । संसद सचिवालयले जारी गरेको कार्यसूचीमा तीनवटै विधेयक अर्थमन्त्रीले पेस गर्ने उल्लेख छ ।

    नियम निलम्बन गरेर यसै महिनाभित्र बजेट पारित गर्ने प्रक्रियामा सभामुख जाने भएका छन् ।

  • एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ सम्मको सीमा

    एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ सम्मको सीमा

    काठमाडौं । निर्वाचन आयोगले नवगठित दल रोज्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि भदौ २२ सम्मको समय दिएको छ ।

    निर्वाचन आयोगको बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेशअनुसार जनप्रतिनिधिलाई एमाले र जसपा छोड्न २२ भदौसम्मको म्याद दिने निर्णय गरेको हो ।

    अब एमाले र जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्न पाउने भएका छन् र त्यसवापत एमाले र जसपाले कसैलाई कारवाही गर्न पाउने छैन ।

    एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले नयाँ गठन भएको दलमा प्रवेश गर्न चाहेमा प्रदेशसभा सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका सदस्यले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र स्वयं उपस्थित भइ सनाखत गर्नुपर्ने उल्लेख गरिएको छ।

    आयोगले भदौ ९ मा एकीकृत समाजवादी र लोसपालाई नयाँ दलको मान्यता दिँदै दर्ता प्रमाणपत्र उपलब्ध गराएको थियो ।

  • माधव नेपालको गढ सिन्धुपाल्चोकका सबै जनप्रतिनिधि एमालेमै रहने

    माधव नेपालको गढ सिन्धुपाल्चोकका सबै जनप्रतिनिधि एमालेमै रहने

    काठमाडौं । वागमती प्रदेशभित्रका १३ जिल्लामा नेकपा एमालेभित्रको गुटबन्दीमा माधव नेपाल पक्षको बर्चश्व रहेको जिल्ला सिन्धुपाल्चोक मानिन्थ्यो । जिल्ला नेतृत्वदेखि स्थानीय तह र केन्द्रसम्म प्रतिनिधित्व गर्ने प्रायः सबै नेता कार्यकर्ता नेपाल पक्षमा थिए ।

    नेकपा विभाजनसँगै शेरबहादुर तामाङ केपी ओली पक्षमा लागे पनि अन्य नेताहरु नेपाल पक्षमै थिए । नेपाल एमालेमै रहँदा सबैभन्दा बढी प्रभाव रहेको सिन्धुपाल्चोकबाट भने माधव नेपालको नयाँ दलमा जानेको संख्या न्यून देखिएको छ ।

    स्थानीय र प्रदेश सरकारका सबै जनप्रतिनिधिहरुले अहिलेसम्म नेकपा एमालेमा नै रहेको बताएका छन् । संघीय संसदमा रहेका शेरबहादुर तामाङ यसअघि नै नेकपा एमालेमा छन् भने वागमती प्रदेशका सांसद सरेश नेपाल एमालेमै छन् ।

    एमालेका दोस्रो पुस्ताका नेताहरु एमालेमा नै रहने भएपछि अर्का प्रदेश सांसद अरुण नेपाल पनि एमालेमा नै रहने भएका छन् । लामो समयदेखि एमालेलाई एकताबद्ध गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका नेपाल अब एमालेमा नै रहने भएका हुन् ।

    राष्ट्रियसभाका सांसद सिंहबहादुर विक भने एकीकृत समाजवादीमा लागेका छन् । अर्का प्रदेश सांसद इन्द्रमाया गुरुङले चाहिँ कुन दल रोज्ने भन्ने स्थिति आएपछि मात्रै दल रोज्ने बताइन् ।

    सिन्धुपाल्चोकका नेपाल पक्षका नेता कार्यकर्ताको भेला शुक्रबार काठमाडौंमा भएको छ । सोही भेलाले सबैको लाइन प्रष्ट पार्नेछ ।

    जिल्ला समन्वय समिति सिन्धुपाल्चोककी उपप्रमुख बालकुमारी सापकोटा सुरुदेखि नै एमालेमा भएपनि प्रमुख कृष्णगोपाल तामाङसँग भने सम्र्पक हुन सकेन ।

    स्थानीय सरकार के गर्छन् ?

    सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये एमालेले सातवटामा जितेको थियो । एमालेबाट जितेका सबै जनप्रतिनिधिले पनि एमालेमा नै रहने बताएका छन् । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ र लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगंगा मोक्तान यसअघि नै केपी ओली समूहमा थिए ।

    सिन्धुपाल्चोकका केन्द्रीय नेताहरु एमालेमा नै रहने भएपछि प्राय सबै जनप्रतिनिधिहरु एमालेमा नै रहने एमालेनिकट स्रोतले जानकारी दिएको छ । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र उपप्रमुख सुशीला पाख्रिन दुवै एमालेमा नै रहने भएका छन् ।

    ‘एकताबद्ध एमालेका पक्षमा छु, चोइटिएर गएको पार्टीमा म जादिनँ’, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने । उनी नेपाल पक्षका सबैभन्दा प्रभावशाली र जनाधार भएका नेता हुन् ।

    शेर्पाले नेपाल प्रेससँग भने– ‘गाउँमा अहिले पनि वृद्धवृद्धा सूर्य चिह्न खोजेर नै भोट हाल्ने छन्, तिनीहरुको सम्मानका लागि पनि एमाले र सूर्य चिह्नबाहेक अन्यत्र जाने कल्पना पनि गर्न सक्दिनँ’, मेयर शेर्पाले भने ‘बरु पार्टी भित्र नै बसेर बसेर संघर्ष गरिन्छ, अन्यत्र जादिनँ।

    फुटेर जानेहरुको राजनीतिक भबिष्य कहिले पनि राम्रो नभएको बताउँदै मेयर शेर्पाले बाह्रबिसे नगरपालिका सिंगो एकतावद्ध एमालेको पक्षमा रहेको बताए ।

    लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल पनि एमालेमा नै रहने बताएका छन् । माधव नेपाल एमालेमा नै रहँदा आफूहरु नेपाल विचार समूहमा भएपनि विभाजन भएको पार्टीमा भने नजाने नेपालले बताए । उनी जेठ २ अघिको एमालेका जिल्ला सचिव पनि हुन् ।

    बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री भने अहिलेसम्म आफू एमालेमा नै रहेपनि सिन्धुपाल्चोकका सबै नेताहरुसँगको छलफलपछि सामूहिक निर्णय गरिने बताउँछन् । ‘हामी यसअघि माधव समूहमा रहेका सबै नेताहरु छलफल गछौं अनि त्यसपछि मात्रै निर्णय हुन्छ’ क्षेत्रीले भने ।

    त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ र उपाध्यक्ष दुर्गादेवी नेपाल पनि एमालेमा नै रहने भएका छन् । ‘हामी एकतावद्ध एमालेको पक्षमा छौ, त्यसैले एमाले छाडेर अन्य पार्टीमा जाने भन्ने नै हुँदैन’ त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले भने ।

    पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो र उपाध्यक्ष सुनिता अधिकारी पनि एमालेमा नै रहने भएका छन् । ‘हामी अहिले (आजको दिनसम्म) एमाले मा नै छौ,अब गाउँपालिका भित्रका अगुवाहरु सँग छलफल गरेर निर्णय गछा’ै अध्यक्ष लामाले भने ।

    सिन्धुपाल्चोक एमालेका पुराना नेता एवम् मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल भने आफूहरु छलफल गरेर निर्णय गर्ने बताउँछन् । ‘सबै साथीभाइको भनाइ सुन्नुपर्छ, सबैलाई चित्त बुझाएर मात्रै निर्णय गर्छौ’, मेयर अर्यालले भने ।

    जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ, मेलम्चीकी उपमेयर भगवती नेपाल, बलेफीकी उपाध्यक्ष कमला कायस्थ पनि एमालेमै रहने भएका छन् ।

  • सुदूरपश्चिमबाट एमालेका पाँच केन्द्रीय सदस्य र छ सांसद एकीकृत समाजवादीमा

    सुदूरपश्चिमबाट एमालेका पाँच केन्द्रीय सदस्य र छ सांसद एकीकृत समाजवादीमा

    कैलाली । नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशबाट एमालेका पाँच केन्द्रीय सदस्य र छ सांसद लागेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा एमालेका २३ केन्द्रीय सदस्य छन् । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि पेश भएको नामावलीको सनाखतमा चारजना परेका हुन् ।

    कैलालीकी मदनकुमारी शाह ‘गरिमा’, कञ्चनपुरका रामकुमार ज्ञवाली, डडेल्धुराकी निरादेवी जैरु,विक्रम शाही, र डोटीका प्रेमबहादुर आलेले सनाखतमा गरेका हुन् ।

    यसअघि माधव पक्षमै रहेका केन्द्रीय सदस्य भीम रावल, झपट रावल, र प्रकाश शाहले माधव नेपालको साथ छाडेका छन् ।

    चारजना बाहेक लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह एमालेमै रहेका छन् ।

    यद्यपी भानुभक्त जोशी,लिला भण्डारी,लेखराज भट्ट,दिपक देवकोटा,गौरी ओली,लालवहादुर विक,राजेन्द्रसिंह रावललगायत केही सदस्य २०३ सदस्यीय केन्द्रीय कमिटीका सदस्य होइनन् । उनीहरु नेकपाकालको निरन्तरता हुन् ।

    रावल तारा लामा तामाङसँग जिल्ला अध्यक्षमा पराजित भएका हुन् । महाधिवेशन प्रतिनिधि हारेका रावललाइ एमाले माओवादी एकीकरणका बेला केन्द्रीय सदस्य नियुक्त गरिएको थियो ।

    २० मध्ये छ सांसद एकीकृत समाजवादीमा

    सुदूरपश्चिम प्रदेशका एमालेका ११ प्रत्यक्ष र समानुपातिकका ५ सांसद छन् भने राष्ट्रियसभामा चारजना सहभागी छन् ।

    कुल २० सांसदमध्ये एकीकृत समाजवादीमा ६ जना सांसद लागेका छन् । तीमध्ये ५ जनाले मात्रै सनाखत गरेका छन् ।

    निरा देवी जैरु, प्रेम बहादुर आले, लक्ष्मी चौधरी, विना बुढाथोकी र शेरबहादुर कुँवरले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । नेकपा एकीकृत समाजवादीमा रहेर पनि पहिलोपटक दल दर्ताको बेला हस्ताक्षर नभएकाले शारदा भट्टको सनाखत हुन सकेन ।

    राष्ट्रियसभामा चारमध्ये भट्ट र कुँवर नेकपा एकीकृत समाजवादीतर्फ लागे पनि कञ्चनपुरका इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही एमालेमै रहेका छन् ।

    प्रत्यक्ष निर्वाचित ११ जनामध्ये आले एक्लैले नेपाललाई साथ दिएका छन् । त्यसबाहेक कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरवसिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी एमालेमै छन् ।

    यसअघि नेपाल पक्षमा रहेका अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एकीकृत समाजवादीमा गएनन् ।

    समानुपातिकमा प्रदेशका ५ जनामध्ये कैलालीकी लक्ष्मी चौधरी, डडेल्धुराकी निरादेवी जैरु र कञ्चनपुरकी विना बुढाथोकी नयाँ पार्टीमा गए ।

    कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक एमालेका छन् ।

  • विधान संशोधनका लागि एमालेले सुझाव संकलन थाल्यो, बुटवलबाट सुरु

    विधान संशोधनका लागि एमालेले सुझाव संकलन थाल्यो, बुटवलबाट सुरु

    रुपन्देही । नेकपा एमालेले आसन्न विधान महाधिवेशनका लागि मस्यौदामा सुझाव लिन थालेको छ । यसको सुरुवात बुधबार बुटवलबाट गरिएको हो ।

    भदौ २७ र २८ गते काठमाडौंमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा पार्टीका विभिन्न कमिटीहरुसँग एमालेले सुझाव माग गरेको हो ।

    बुटवल उपमहानगर कमिटीले आयोजना गरेको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा अगुवास्तरको छलफल कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले छलफल गरेका छन् ।

    कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरल, केन्द्रीय सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, एकराज विश्वकर्मा, जिल्ला अध्यक्ष शिवराज सुवेदी, सहसंयोजक तेजेन्द्र केसी, अनेमसंघकी नेत्री सावित्रा अर्याललगायतले मस्यौदाका बारेमा अगुवा कार्यकर्ताहरुसँग छलफल सुरु गराएर नौलो सुरुआत भएको बताएका थिए ।

    यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन २५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले उक्त विधानको मस्यौदा तयार गरेको थियो । सोही मस्यौदामा बुटवल उपमहानगर कमिटीले अगुवा कार्यकर्ता भेला राखेर सुझाव लिन सुरु गरिएको हो ।

    एमालेले हालको संघीयताअनुकुल हुनेगरी संशोधनको मस्यौदा तयार पारेको छ । यसमा पार्टीमा केन्द्रीय कमिटीको संख्या समावेशिताका आधारमा दुई सय २५ कायम गर्ने, अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने, निर्वाचन चिन्हलाई सूर्यभित्र हँसिया–हथौडा रहने गरी परिमार्जन गर्ने प्रस्ताव गरिएको छ ।

    यस्तै जिल्ला कमिटीलाई समन्वयको भूमिका मात्र दिने, पार्टीका कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग र राष्ट्रिय धुन बजाउनेलगायत प्रावधान राखिएको छ । विधानलाई अन्तिम रुप दिने सन्दर्भमा पार्टी केन्द्रको निर्देशनबमोजिम सुझाव संकलनका लागि प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गरिएको छ ।

    पार्टीका उपल्ला कमिटीका सर्कुलरबमोजिम बुटवलबाट अगुवास्तरको छलफल कार्यक्रम सुरु गरिएको कमिटीका अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए । उपमहानगर मातहतका अगुवा कार्यकर्ता र यहाँ रहेका उपल्ला कमिटीका अगुवाहरुका बीचमा विशेष छलफलसहितको कार्यक्रममार्फत सुझाव संकलन सुरु गरिएको अध्यक्ष पन्थीको भनाइ छ ।

    यस्तै सुझावका लागि स्थानीय कमिटीका पदाधिकारी–सदस्य, जनसङ्गठनका केन्द्रीय सदस्य–जिल्ला पदाधिकारी–सदस्यलगायत इच्छुक पार्टी सदस्यलाई सम्बन्धित कमिटीले आग्रह गरिएको केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज दधिराम न्यौपानेले जानकारी दिए ।

    एमालेले विधान महाधिवेशनका लागि विभिन्न समिति गठन गरेर कामलाई तीब्रता दिएको जनाएको छ ।

  • बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेला, विधान संशोधन मस्यौदाबारे छलफल

    बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेला, विधान संशोधन मस्यौदाबारे छलफल

    रूपन्देही । नेकपा एमालेको आसन्न विधान अधिवेशनमा प्रस्तुत हुने संशोधन मस्यौदामा अगुवास्तरका कार्यकर्ताका बीचमा छलफल सुरु भएको छ ।

    नेकपा एमाले बुटवल उपमहानगरपालिका कमिटीको आयोजनामा बुधबार बुटवलमा विधान संशोधन मस्यौदामा छलफल तथा अगुवा कार्यकर्ता भेला भइरहेको छ ।

    भेलालाई पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले सम्बोधन गर्दै छन् ।

  • माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित)

    माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

    उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

    कारवाहीमा पर्ने सांसद यसप्रकार छन् ।

    १. माधव नेपाल
    २. जीवनराम श्रेष्ठ
    ३. मुकुन्द न्यौपाने
    ४. रामकुमारी झाँक्री
    ५. कल्याणी खड्का
    ६. लक्ष्मीकुमारी चौधरी
    ७. निरादेवी जैरु
    ८. पुष्पाकुमारी कर्ण
    ९. सरला यादव
    १०. कलिला खातुन
    ११. विरोध खतिवडा
    १२. कृष्णलाल महर्जन
    १३. भवानी खापुङ
    १४. मेटमणी चौधरी

  • एमालेका संगठनात्मक गतिविधि नरोकिने, महाधिवेशनबाट निर्वाचित पदमा क्रियाशील हुन सबैलाई खुला

    एमालेका संगठनात्मक गतिविधि नरोकिने, महाधिवेशनबाट निर्वाचित पदमा क्रियाशील हुन सबैलाई खुला

    काठमाडौं । नेकपा एमालेले संगठनात्मक गतिविधिहरु र पार्टीका विधान तथा स्थानीय तहका अधिवेशनहरुको काम नरोक्ने भएको छ । माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले अधिवेशन, सदस्यता नवीकरण लगायतका संगठनात्मक गतिविधिहरु रोक्न आग्रह गरेलगत्तै पार्टीको तर्फबाट यस्तो जवाफ आएको हो ।

    एमाले केन्द्रीय कार्यालय सचिव तथा वागमती प्रदेशका सहइन्चार्ज शेरबहादुर तामाङले पार्टी निष्क्रिय भएर बस्न नसक्ने भन्दै संगठनात्मक क्रियाकलाप र सदस्यता नवीकरण जस्ता कुरा नरोकिने बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै तामाङले भने– संगठनात्मक गतिविधि रोक्ने भनेको पार्टी भंग गर्ने वा निष्क्रिय बनाउने हो ? एमाले जस्तो पार्टी निष्क्रिय रहन सक्दैन, पार्टीका सबै कमिटी र गतिविधिहरु निरन्तर क्रियाशील हुन्छन् । उहाँहरु जुन दिन पार्टीमा फर्किनुहन्छ त्यहीं दिनबाट पूर्ववत जिम्मेवारी हुन्छ ।

    तामाङले १० बुँदे सहमति नै पार्टी एकताको आधार भन्ने कुरा माधव नेपालले समेत मानिसकेपछि अब एकताका लागि अन्य शर्त स्वीकार्य नहुने बताए । पार्टीले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हैसियतमा सबैले काम गर्नुपर्ने बताए ।

    उनले भने–१० बुँदे सहमति उहाँहरुले पनि अनुमोदन गर्नुभएछ । अब पार्टीमा फर्केर नवौं राष्ट्रिय महाधिवेशनबाट जो जुन पदमा निर्वाचित भएको हो त्यहीं जिम्मेवारीमा फर्किन कसैले रोकेको छैन । जस्तो कि, नवौं महाधिवेशनबाट झलनाथ खनाल वरिष्ठ नेता हो, माधव नेपाल पार्टी नेता हो । स्थायी कमिटी सदस्यका रुपमा उहाँ क्रियाशील हुनुपर्छ ।

    पार्टी विधानले नचिन्ने दोस्रो अध्यक्ष वा बराबरी हस्ताक्षरसहितको पावर शेयरिङ भन्ने कुरा असान्दर्भिक भइसकेको तामाङले बताए । उनले पार्टीका निर्धारित अधिवेशनहरु नरोकिने र आइतबारको केन्द्रीयक कमिटी बैठकले विधान अधिवेशनमा प्रस्तुत गरिने प्रस्तावलाई अनुमोदन गर्ने बताए ।

    एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना गरेको छ । विधान महाधिवेशनले पार्टीको विधानमा संशोधन र परिमार्जन गर्नेछ । त्यसका लागि शुक्रबार प्रस्तावमाथि अनौपचारिक छलफल भएको थियो ।

    असोज ९ गतेभित्र एमालेले सबै स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने भएको छ ।

  • एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू)

    एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू)

    ललितपुर । नेकपा एमाले स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा शुरू हुँदैछ । अपरान्ह ३ बजे बोलाइएको बैठक केही ढिला शुरू भएको छ ।

    बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि गएका छन् । अध्यक्ष केपी शर्मा अ‍ोली पुगेपछि बैठक शुरू हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    एमाले बैठक विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नविकरणमा केन्द्रित । शनिबारको बैठक माधव नेपाल पक्षधर नेताहरूको आग्रहमा रोकिएको थियो ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
     
    

     

  • एमालेका चार निर्णय : फैसलाविरुद्ध जनतामा जानेदेखि संविधान संसोधनसम्म

    एमालेका चार निर्णय : फैसलाविरुद्ध जनतामा जानेदेखि संविधान संसोधनसम्म

    काठमाडौं । नेकपा एमालेको केन्द्रिय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे आफ्नो विमति जनतासम्म पुर्याउने निर्णय गरेको छ । साथै, नेपालको संविधानको धारा ७६(५) लाई संसोधन गर्न पहल गर्ने समेत निर्णय भएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

    लगातार तेस्रो दिन जारी बैठकले विविध विषयमा चार वटा प्रस्ताव पारित गरको छ । ज्ञवालीका अनुसार सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको तथा दलीय प्रणाली खल्बल्याएकाले भन्दै यससँगका असहमतिहरु जनतामा पुर्याउने पहिलो प्रस्ताव छ ।

    सर्वोच्चको फैसलाले पार्ने साइड इफेक्टलाई संवैधानिक माध्यमबाट समाधान गर्न प्रयास गर्ने निर्णय भएको ज्ञवालीले बताए । सर्वोच्च अदालतले संविधानको निर्दलीय व्याख्या गरेको भन्दै धारा ७६(५) लाई संसोधन गर्न पार्टीले प्रयत्न गर्ने निर्णय गरेको उनको भनाइ छ ।

    दोस्रो प्रस्तावका रुपमा ओली नेतृत्वको सरकार अनेकन प्रतिकुलताका वावजुद एतिहासिक कामहरु गर्न सफल भएको ठहर गरिएको छ ।

    तेस्रो प्रस्तावमा एमालेले प्रतिपक्षका रुपमा प्रभावकारी भूमिका खेल्ने तथा संविधान, राष्ट्रियता र लोकतन्त्रका विषयलाई अग्रपंतिमा रहेर उठाउने उल्लेख छ ।

    चौंथो प्रस्ताव कार्यकर्ताहरुलाई विद्यमान परिस्थितिबाट निराश नहुन आह्वान गर्दै छिट्टै पार्टील कमब्याक गर्ने भनिएको छ ।

    कमब्याकको अर्थ के हो भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले भने, ‘यो भनेको फेरि चुनाव जितेर सरकारमा आउँछौं भनेको हो ।’

    बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रत्यत्न गर्ने बताएका थिए ।

  • एमालेका दुई निर्णय : एउटै बैठकबाट एकता र विभाजनको सन्देश

    एमालेका दुई निर्णय : एउटै बैठकबाट एकता र विभाजनको सन्देश

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठकले पार्टीको आन्तरिक विवाद सम्बन्धमा दुई निर्णय गर्‍यो । पहिलो, पार्टी कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने र दोस्रो शेरबहादुर देउवाको समर्थनमा भोट हाल्ने सांसदहरुलाई कारवाही गर्ने ।

    ‘परस्परविरोधि’ जस्तो देखिने यी दुई निर्णयलाई एमाले नेतृत्वभित्रको विरोधाभासका द्योतकको रुपमा हेरिएको छ । पार्टीका दुवै समुह मुखले एकताको रटान लगाइरहेका छन् तर व्यवहारले दुरी बढाइरहेका छन् । फलतः सिंगो पार्टी अन्योलको भूमरीमा फँसिरहेको छ ।

    एकताका लागि १० बुँदे सहमति गरिसकेको माधव नेपाल पक्षका २२ जना सांसद (८ नवआगन्तुकसहित) ले पार्टीको ह्वीपविपरित देउवा सरकारलाई विश्वासको मत दिएका थिए । उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय आजको केन्द्रिय समिति वैठकले गरेको छ ।

    बैठकका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको १० औं बैठक राखेर १० बुँदे सहमति प्रस्तावको भावनालाई २०७५ जेठ २ को शिलशिलामा जोडेको बताए ।

    १० बुँदेको अनुमोदन र कारवाही प्रस्ताव परस्परविरोधी भएनन् भन्ने प्रश्नमा ज्ञवाली भन्छन्, ‘१० बुँदेले पार्टीको निर्णय अवज्ञा गर भन्छ र ? त्यसले त पार्टीलाई एकतावद्ध बनाउने न हो । उहाँहरुले जे गर्नृुभयो त्यो गलत हो ।’

    १० बुँदे अनुमोदन गरेको भए पनि एमालेको संस्थापन पक्षले अब माधव नेपाल पार्टीमा नफर्किने निष्कर्ष निकालेको छ । ज्ञवालीले आजको बैठकका निर्णय सुनाउँदा यसबारे पनि उल्लेख गरे ।

    ‘उहाँहरुलाई सहमतिमा ल्याउन हामीले अथक प्रयास गरेका हौं, हिजो बिहान पनि हामी माधव नेपालकोमा थियौं,’ उनले भने, ‘त्यहाँ उपस्थित हामी सबैले १० बुँदे सहमतिको स्प्रिट स्वीकार गर्दै अघि बढ्नका लागि आग्रह ग¥यौं । तर, उहाँले तीनवटा कुरामा ठाडो जवाफ दिनुभयो । पहिलो, १० बुँदे सहमतिका कयौं बुँदामा म सहमत छैन । दोस्रो, म कांग्रेसलाई विश्वासको मत दिने वचनबाट पछि हट्न सक्दिनँ । र, तेस्रो, जुन कमिटीमा म अल्पमतमा छु, त्यो कमिटीमा गएर त्यसको निर्णय मान्दिनँ ।’

    यसै आधारमा नेपाल पार्टीमा फर्किदैनन् भन्ने निष्कर्ष संस्थापन पक्षले निकालेको हो । नेपाल पक्ष भने अध्यक्ष ओलीले एकता नचाहेको र यो निर्णयबाट एकताको सम्भावना झन् टाढा पुगेको बताउँछ ।

    ‘उहाँले पार्टीको जिम्मेवारीबाट त हामीलाई पहिल्यै निकालिसक्नु भएको छ,’ नेपाल पक्षकी सांसद कल्याणीकुमारी खड्का भन्छिन्, यसको कुनै अर्थ छैन, उहाँ जे मन लाग्यो त्यही गर्नुहुन्छ ।’

    खड्काको प्रश्न छ, ‘यस्तो गरेर पार्टी एकताको वातावरण बन्छ त ? हामीले एकता चाहेर मात्रै भएन । हामीलाई कारवाही गर्दा पनि हामी चुप लागेर बस्यौं, तब पनि एकता हुन सकेन । अनि अस्ति कार्यदलका नेता कमरेडहरु स्थायी कमिटी बैठकमा जानुभयो । हाम्रा कुरा राख्छौं भन्दा पनि पार्टीबाट लखेटेर पठाइदिनुभयो ।’

    नेपाल पक्षकै आर्का सांसद विरोध खतिवडा अध्यक्ष ओलीले पहिल्यैदेखि पार्टी फुटाउने कामको शुरुवात गरेको र आजको निर्णयले त्यसलाई झन् अगाडि लैजाने बताउँछन् ।

    उनले भने, ‘पार्टी फोर्ने कामको शुरुवात त केपी ओलीले पहिल्यै गरेको हो, यो त अन्तिम-अन्तिम मात्रै हो ।’

    २४ घण्टाको समय पुग्नेगरि भोलि ३ बजे फेरि केन्द्रीय कमिटीको बैठक डाकिएकाले संस्थापन पक्षले कुनै न कुनै कारवाही गर्ने निश्चित देखिन्छ ।

    कस्तो कारवाही भन्नेबारे आज छलफल नभएको प्रवक्ता ज्ञवालीले बताए । त्यसबारे अध्यक्ष ओली निवास बालकोटमा बस्ने स्थायी कमिटी बैठकले तय गर्ने बताइएको छ।

    स्रोतका अनुसार माधव नेपालसहित २२ जनालाई कारवाही गर्ने र अरुलाई महत्वपूर्ण जिम्मेवारी दिने रणनीति संस्थापन पक्षको छ । नेता नेपालले कार्यदलको रिपोर्ट स्वीकार नगरेकाले अब कार्यदलमा रहेका नेताहरुले पनि सोच्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने ओली पक्षको तर्क छ ।

    आइतबार नेपालसहित २२ जना एमाले सांसदले पार्टीको निर्णयविपरीत देउवालाई विश्वासको मत दिएका थिए । त्यसमा यसअघि केपी ओली पक्षमा रहेका ८ जना सांसद छन् भने बाँकी १४ जना माधव नेपाल समूहका हुन् ।

    माधव नेपाललाई सधैँ साथ दिँदै आएका १० जना सांसदले विश्वासको मतको बेला संसद बैठक छाडेका थिए भने भीम रावलले राजीनामा दिएको घोषणा गरेका छन् ।

  • एमाले र महन्थपक्षीय जसपाबीचको सहकार्य जारी रहने, बालकोटमा शीर्ष नेताबीच छलफल

    एमाले र महन्थपक्षीय जसपाबीचको सहकार्य जारी रहने, बालकोटमा शीर्ष नेताबीच छलफल

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल भएको छ ।

    ओलीनिवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताए । ओलीलाई जसपा अध्यक्ष महन्थ ठाकुर,राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुगेका हुन् ।

    जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । ओलीसँग छोटो समयमात्र सत्ता सहकार्य गरेको जसपाको महन्थ पक्षले पनि शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ ।

    सर्वोच्च अदालतको फैसलालाई हेर्ने दृष्टिकोणमा पनि दुवै पक्षबीच समानता रहेको जसपा नेताहरुले बताएका छन् । एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षले देउवालाई साथ दिएका छन् ।

  • एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी मिलाउन अनौपचारिक छलफलमा

    एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी मिलाउन अनौपचारिक छलफलमा

    काठमाडौं । नेकपा एमालेको दोस्रो तहका नेताहरु पार्टी एकताको लागि छलफल गर्न आज पनि सामूहिक रुपमा जुटेका छन् । विघटित एकता कार्यदलका नेताहरुबीच सिंहदरवारमा छलफल चलिरहेको छ ।

    एमाले स्थायी कमिटीको शुक्रबारको बैठकले दश सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सम्झौता अनुमोदन गर्दै वार्ता टोली विघटन गरेको थियो । विघटित वार्ता टोलीका नेताहरु अनौपचारिक वार्तामा जुटेका हुन् ।

    एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका नेताहरुबीच पार्टी र संसदीय दलको बैठक माधव नेपाल पक्षसहित बस्ने उपायको बारेमा कुराकानी भइरहेको स्रोतले जनाएको छ । शुक्रबारको बैठकमा कार्यदलका माधवपक्षीय नेताहरु उपस्थित भएर माधव नेपालसहितको बैठक बोलाउन अध्यक्ष केपी शर्मा अ‍ोली समक्ष माग गरेका थिए ।

    नेपाल पक्षको सहयोगले शेरबहादुर देउवाको सरकार बनेर एमालेको सरकार ढलेपछि पार्टीभित्र थप संकट बढेको छ । एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने माधव नेपालले विश्वासको मत दिएर संसद जोगाउने बताउँदै आएका छन् ।

    वार्ताटोली औपचारिक रुपमा भंग भए पनि पार्टी एकता जोगाउने उपायका बारेमा नेताहरुबीच अनौपचारिक छलफल चलिरहने उनीहरुले बताएका छन् ।

    अब यो दायरमा स्थायी कमिटीका अन्य नेताहरुलाई समेत समेटेर दबाब दिने तयारी भइरहेको छ ।

    विश्वासको मतको सन्दर्भमा संस्थागत निर्णयबिना देउवालाई साथ दिन नहुने धारणा वार्ता टोलीमा रहेका माधव पक्षकै नेताहरुको पनि छ ।

    एकताको लागि दबाब दिन पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरु समेत छलफलमा थपिएका छन् ।