Tag: एनपी साउद

  • उपसभापति वा महामन्त्री मध्ये एकमा मेरो दाबी छ : एनपी साउँद (अन्तरवार्ता)

    उपसभापति वा महामन्त्री मध्ये एकमा मेरो दाबी छ : एनपी साउँद (अन्तरवार्ता)

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य एनपी साउँद प्रमुख पदाधिकारीका दाबेदार हुन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका साउँदले सभापतिबाहेक प्रमुख पदाधिकारी अर्थात् उपसभापति वा महामन्त्रीमध्ये एक पदमा आफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । यद्यपि उम्मेदवारी छनोट गर्ने जिम्मा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै रहेको उनको भनाइ छ ।

    उनको सम्पर्क कार्यालय भने महामन्त्रीका उम्मेदवार भनेर खुलेको छ । उनका शुभेच्छुक नेता कार्यकर्ता, महाधिनेशन प्रतिनिधिले पनि महामन्त्रीमै जोड गरिरहेका छन् । तर संस्थापन पक्षमा महामन्त्रीका आकांक्षी धेरै हुँदा सभापति देउवालाई छनोट गर्न सकस परेको छ । यद्यपि साउँदले महामन्त्रीमा आफ्नो प्रचार प्रसारलाई तीव्र बनाएका छन् । प्रस्तुत छ साउँदसँग गरिएको कुराकानी

    आजदेखि नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ, कस्तो छ तयारी ?

    पार्टी महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । लगभग सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइसक्नुभएको छ । उनीहरूको भोजन आवासको व्यवस्था गरिएको छ । कार्ड, झोलाजस्ता निर्वाचनका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराइएको छ । चारैतिर उत्साहको वातावरण छ । आज उद्घाटन समारोह छ । त्यसपछि संक्षिप्त बन्दसत्र भइसकेपछि भोलिदेखि नोमिनेसन छ । निर्वाचन कार्यक्रम अगाडि बढ्छ ।

    नेतृत्व चयनमा केन्द्रित महाधिवेशनमा तपाईंको दाबी कुन पदमा हो ?

    मैले सभापतिबाहेक प्रमुख पदाधिकारीमा आफ्नो इच्छा अभिव्यक्त गरेको छु । त्यसको सम्बन्धमा निर्णय गर्ने दायित्व, अधिकार र सुविधा पार्टीका सभापति शेरबहादुर देउवाजीकै हो । तर अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । आज साँझ वा भोलि बिहानसम्म टुंगो लाग्छ ।

    प्रमुख पदाधिकारी भन्नाले उपसभापति वा महामन्त्री हो । महामन्त्रीमा तपाईंको ज्यादा चर्चा छ । प्रमुख पदाधिकारीमा तपाईंको दाबेदारी किन ?

    पार्टीलाई प्रविधिमैत्री बनाउन, अत्यन्त ध्रुवीकृत गुटबन्दीबाट मध्यमार्गमा ल्याएर पार्टीलाई अगाडि बढाउन, पार्टीको संगठनमा भएको अनुशासनहीनता अन्त्य गरेर अनुशासित पार्टीको रूपमा विकसित गर्ने, पार्टी युवा, महिला, समावेशी तप्कासँग राम्रोसँग जोडिन सकेको छैन, जसले पार्टीको जीवनमा पनि राम्रोसँग रक्तसञ्चार हुन सकेको छैन ।

    त्यसकारण समावेशी तप्कालाई पनि साथमा लिएर यदि गाउँबस्तीसम्म कांग्रेसको संगठन विस्तार गर्न सक्यौं, पहिलो पार्टीको रुपमा विकसित गर्न सक्यौं भने भोलि निर्वाचनमा यसको प्रतिफल कांग्रेसले पाउन सक्छ र लोकतन्त्र संस्थागत हुने बाटोमा जान्छ ।

    लोकतन्त्र संस्था भयो भने मुलुकमा शान्ति आउँछ, शान्ति सँगसँगै विकास समृद्धिको नेपाली जनताको यात्रा सुरु हुन्छ । अहिलेको कांग्रेस सशक्त, सबल हुन जरुरी छ । यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी छ । यहीँ ध्येयले मैले पार्टी जिम्मेवारीमा दाबा गरेको हुँ ।

    पदाधिकारीमा दाबी गर्दै गर्दा नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, शुभेच्छुकबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

    हाम्रो पिँढीले प्रजातन्त्रका लागि धेरै संघर्ष गरेको छ । म पनि कलिलो विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रिक आन्दोलनमा जोडिएको छु । देशभर हाम्रा साथीहरुको प्रभावशाली सञ्जाल छ । हामीसँग संघर्षको अनुभव छ ।

    पार्टी र भ्रातृसंस्था सञ्चालन गरेको, सरकारमा समेत जिम्मेवारी बोकेको अनुभव छ । यो आधारमा पार्टीका साथीहरूले यसलाई स्वाभाविक रूपमा लिएको र उत्साहजनक प्रतिक्रिया व्यक्त गरेको मैले महसुस गरेको छु ।

    अहिले कांग्रेसमा हिन्दु राष्ट्रको बहस छ, तपाईंले पनि धर्म निरपेक्षता परिमार्जन गर्नुपर्छ भन्नुभएको छ ?

    नेपाल सनातनकालदेखि नै धार्मिक स्वतन्त्रता भएको मुलुक हो । यहाँ कुनै पनि धर्मका बीचमा अन्तरविरोध र द्वन्द्व छैन । सनातन हिन्दू मूल्य पद्धतीको संरक्षण र सम्वर्द्धन गर्दै सबै धर्मलाई स्वतन्त्रताको प्रत्याभूति दिने खालको कानुनी संवैधानिक व्यवस्था हुनुपर्छ । धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ ।

    महाधिवेशन उद्घाटनको दिन आइसक्दा पनि पदाधिकारीमा उम्मेदवार छान्न किन ढिलाइ ?

    प्रजातान्त्रिक पार्टीभित्र सक्षम व्यक्तिले कुनै पनि जिम्मेवारीको चाहना राख्नु स्वाभाविक हो । पार्टीमा लगानी भएका थुप्रै साथीहरूले जिम्मेवारीमा दाबा गर्नु स्वाभाविक हो । यो प्रतिस्पर्धामा पार्टीभित्र थुप्रै साथीहरू हुनुहुन्छ, सबैको चित्त बुझाउन सम्भव हुँदैन । तर न्यायसंगत ढंगले जिम्मेवारीको बाँडफाँट भयो भने साथीहरूको व्यवस्था हुनसक्छ जस्तो लाग्छ ।

    नेतृत्वकोमात्रै महाधिवेशन गरिरहेको कांग्रेसमा नीतिमा बहस नै भएन भन्ने गुनासो छ नि ?

    पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर सर्वसम्मतले यो महाधिवेशनलाई निर्वाचनमुखी बनाएर नीति र विधानका बारेमा छलफल गर्न अर्को महाधिवेशन बोलाउने भन्ने किसिमको सहमति भएको रहेछ ।

    यसले यो महाधिवेशनमा हुने बहसलाई अलिकति साँघुर्‍याएको जस्तो देखिएको छ । वास्तवमा नेतृत्व, नीति, विचार र कार्यक्रमलाई एकअर्काबाट छुट्याउन गाह्रो छ । यो संयुक्त बहसलाई महाधिवेशनबाट छुट्याउन झन् गाह्रो छ । तर मलाई व्यक्तिगत रूपमा यो चित्त बुझेको छैन । तर यसलाई केन्द्रीय समितिले कसरी भविष्यमा व्यवस्थित गर्दै जान्छ, पर्खिनै पर्छ ।

    कांग्रेसमा वैचारिक स्पष्टता भएन भन्ने टिप्पणी पनि सुनिन्छ । विचारै नभएपछि कांग्रेस कहाँ पुग्ला ?

    कांग्रेसमा मुलभूत विचारहरू कालजयी छन् । हामी बहुलवाद, संसदीय अभ्यास, लोकतन्त्र, बहुदलीयतामा विश्वास गर्छौं । निरन्तर आवधिक निर्वाचनमा, राज्यका अंगका बीचमा शक्तिपृथकीकरण सिद्धान्त र सन्तुलनको मान्यतामा विश्वास गर्छौं । यसअनुसार कांग्रेसका नीति कालजयी छन् । तर परिस्थितिअनुसार आर्थिक, सामाजिक नीतिहरू, राजनीतिक रणनीतिहरू परिमार्जन र समायोजन गर्नुपर्ने हुन्छ ।

    कांग्रेसको समय र परिस्थितिको चापलाई बुझेर मात्रै सात दशकसम्म आफूलाई जीवित राख्न सकेको छ । नेपालमा खुलेका राजनीतिक पार्टीहरू इतिहासको भग्नावशेषमा पुगेर हराएका छन् । त्यसको ठेगाना छैन ।

    कांग्रेस समयको चाप, जनता र युवाहरुको चाहनाअनुसार हिँड्दा नेपालीको मन मस्तिष्कमा बस्न सफल भएको छ । विचारको स्पष्टताको अभाव कांग्रेसलाई छैन । कांग्रेस आफ्नो विचारलाई निरन्तर अद्यावधिक गरिरहन्छ ।

    कांग्रेसको नेतृत्वमा विकल्प खोज्नुपर्छ भन्ने आवाज चर्को सुनिन्छ । देउवाले पार्टी चलाउन सकेनन् भन्ने विश्लेषण छ । तपाईं संस्थापन पक्षको नेता हुनुहुन्छ । देउवा नै नेतृत्वमा फेरि किन ?

    यो पार्टीका महाधिवेशन प्रतिनिधिले निर्णय गर्ने कुरा हो । मूलत: शेरबहादुर देउवा प्रजातन्त्रका लागि लगानी गरेको, जेलनेल, सुखदु:ख परेको नेता हुनुहुन्छ । उहाँजस्तै अरु नेता पनि छैनन् भन्ने कुरा होइन । उहाँसँग राज्यसंयन्त्र चलाएको प्रशासनिक अनुभव छ । पार्टी चलाएको राजनीतिक अनुभव पनि छ । यो अनुभवको पार्टीले अधिकतम प्रयोग गर्नुपर्छ । बाहिर मानिसहरूले आ-आफ्नो धारणा बनाउन सक्छन् । तर पार्टी महाधिवेशनले गर्ने निर्णय नै आधिकारिक हुन्छ ।

    अन्तिममा महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ?

    यो महाधिवेशन नेपाली कांग्रेसका लागि ठूलो पर्वका रूपमा आएको छ । देशका कुनाकन्दराबाट तपाईंहरू आउनुभएको छ । समावेशी तप्का पनि आएको छ । खुला प्रतिस्पर्धाबाट पनि थुप्रै साथी आउनुभएको छ । सबैलाई राजधानीमा स्वागत गर्दछु ।

    तपाईंहरूको निर्णय कांग्रेसको भविष्यको रूपरेखा कसरी कोर्ने भन्ने सन्दर्भमा मात्रै होइन कि बलियो कांग्रेस बनाएर राष्ट्रलाई कता लैजाने, देशलाई कुन बाटोतिर लैजाने भन्ने कुराका लागि पनि महत्वपूर्ण छ ।

    तपाईंको मतले व्यक्ति चयन होइन मुलुकको भविष्य निर्धारण गर्ने काम गर्दछ । त्यसकारण तपाईंहरूले उपयुक्त किसिमले मतदान गर्नुहुनेछ । विवेकसम्मत किसिमले मतदान गर्नुहुनेछ । सानातिना, साँघुरा संकिर्णता र दायराहरू, गुटगत दायराहरूभन्दा बाहिर रहेर विवेकको मत प्रयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।

  • सुदूरपश्चिममा कांग्रेस महाधिवेशनको सरगर्मी- यी हुन् जिल्लादेखि केन्द्रसम्मका आकांक्षी

    कैलाली । नेपाली कांग्रेसको महाअधिवेशन मिति नजिकिँदै जाँदा वडादेखि प्रदेशसम्म चुनावी सरगर्मी बढिरहेको छ । उनीहरु अहिले टिकटका लागि दौडधुपमा छन् ।

    केन्द्रीय पदाधिकारीमा सभापति शेरबहादुर देउवासहित सुदूरपश्चिम प्रदेशका ६ जनाले दावी पेस गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः उम्मेदवारी दिने योजनामा देखिन्छन् ।

    नेताहरु रमेश लेखक, एनपी साउद, दिलेन्द्र बडू, बद्री पाण्डे र ईश्वरी न्यौपाने पदाधिकारीका लागि टिकटको दौडमा छन् ।

    रमेश लेखक, एनपी साउद र दिलेन्द्र बडू महामन्त्रीको लबिङमा छन् । उनीहरू निकटका नेताका अनुसार महामन्त्रीको दौडमा रहेको तीनै जना अन्तिममा सह-महामन्त्रीसम्म भएपनि दावी गर्ने बताउँछन् ।

    आरक्षण कोटा (पिछडिएको क्षेत्र)बाट पाण्डेले सह-महामन्त्री र महिला कोटाबाट न्यौपाने सह-महामन्त्रीमा दावी गरेका छन् ।

    प्रदेशका आकांक्षी

    सुदूरपश्चिम प्रदेश अध्यक्षमा आधा दर्जनले इच्छा व्यक्त गरेका छन् । वर्तमान कैलाली सभापति नरनारायण शाह (मनु) पनि प्रदेश सभापतिको दौडमा छन् । उनी कैलालीमा दुई पटक सभापति भइसकेका छन् । विधान अनुसार जिल्लामा २ पटक भन्दा बढी सभापति हुन नपाइने भएपछि उनी प्रदेश अध्यक्षको दौडमा छन् ।

    बझाङका अर्जुन बहादुर सिह, कञ्चनपुरका बहादुरसिंह थापा, अछामका बलबहादुर कँुवर र गोविन्द शाह पनि प्रदेश सभापतिको दौडमा छन्।

    यी हुन् जिल्लाका आकांक्षी

    नेपाली कांग्रेसको जिल्लाको अधिवेशन २६ साउनमा हुँदैछ । सुदूरपश्चिम प्रदेशमा जिल्ला सभापतिका आकांक्षीले आआफ्नो दावी प्रस्तुत गर्न थालेका छन् । १३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरू निर्वाचित भएका थिए ।

    प्रदेशको राजधानी कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन् । प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवालगायतको नाम चर्चामा छ ।

    कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भइसकेको छ । जिल्लामा वर्तमान सभापति हरि बोहरा, गत अधिवेशनमा बोहरासँग पराजित पदम बोगटी, गोपाल गुरुङ लगायतको नाम चर्चामा छ ।

    सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापतिका लागि हरिप्रसाद भट्ट र परशुराम नगरपालिका मेयर भीमबहादुर साउदले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    बाजुरामा पूर्व सभापति मनबहादुर रावल र वर्तमान सभापति कविराज पण्डित दोस्रो पटक जिल्ला सभापतिमा भिड्ने तयारीमा देखिन्छन् ।

    बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लबिङमा छन् । यस्तै, पूर्व सभापति शिवराज भट्ट पनि पुनः सभापति भन्ने दौडमा छन् । चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसमेत हुन् ।

    अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, नेता गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ ।

    डोटीमा जिल्ला सभापतिका लागि वर्तमान सभापति प्रदीप देउवा, शिखर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरू रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ ।

    बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्व सभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्व सभापति देवराज शर्मा, नेता जगत जोशी, खडग बहादुर बोहरा र रमेश भण्डारीको नाम चर्चामा छ ।

    पौडेल पक्षीय नेता दिलेन्द्र बडूको गृह जिल्ला दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्व सभापति जगदीश पाल, उपसभापति अमर धामी, सचिव हर्क बिस्टलगायतका नेताहरूको नाम जिल्ला सभापतिका लागि चर्चामा छ ।

    कांग्रेस महाधिवेशनको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनेछ । १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेशसभा क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।

    एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ ।

  • ‘चुनावमा जानु नै अहिलेको उत्तम राजनीतिक निकास हो’

    ‘चुनावमा जानु नै अहिलेको उत्तम राजनीतिक निकास हो’

    संसद पुनःस्थापना भएदेखि नै नयाँ सरकार बनाउने चलखेल सुरु भयो । अदालतले एमाले–माओवादी एकता भंग गरेपछि माओवादी केन्द्र जसरी पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिपरेको छ । एमालेकै पनि माधव नेपाल पक्ष यो सरकारको विकल्प खोजिरहेको छ । तर, न माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ, न प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको प्रक्रिया नै अघि बढेको छ । माओवादीले सरकारको नेतृत्व गर्न आग्रह गर्दा पनि नेपाली कांग्रेसले आनाकानी गरिरहेको छ । सबैलाई सरकार ढाल्नै परेको छ, तर नयाँ सरकारबारे विकल्प नहुँदा सरकारविरोधी दलहरु नै अन्योलमा परेमा छन् । यसै परिवेशबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसँग नेपाल प्रेसकर्मी भानुभक्त आचार्यले गरेको कुराकानी, नेपाल टकमा ।

    प्रमुख प्रतिपक्षी दल भएर पनि राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कमजोर भएको टिप्पणी भइरहेको छ । किन यस्तो भएको होला ?

    अहिले नेपाली कांग्रेसको भूमिका कमजोर छैन । कांग्रेसले जिम्मेवार ढंगमा प्रतिपक्षीको भूमिका निर्बाह गरिरहेकै छ । सत्तामा जान नहतारिनु भनेको भूमिका कमजोर हुनु होइन ।

    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भित्री साँठगाँठका कारण सरकार ढाल्न कांग्रेसले माओवादीलाई साथ नदिएको भनिन्छ नि !

    माओवादी र जनता समाजवादी पार्टीले हाम्रो नेतृत्वलाई सघाउने ग्यारेण्टी भए अहिले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकिन्छ । पहिला त उहाँहरुले पारदर्शी रुपमा संस्थागत निर्णय गरेर आउनुपर्यो नि । अहिले बिँड तात्ने, ताप्के नतात्ने जस्तो भएको छ । पहिले सरकारविरुद्ध बहुमत सङ्ख्या नपुर्याइ भाबुक कुरा गरेर मात्रै त भएन ।

    माओवादीले त औपचारिक रूपमै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गरेको होइन र ? जसपाको एउटा समूह पनि काँग्रेसको नेतृत्व स्वीकार गर्न तयार भएको कुरा छ । यति हुँदा पनि किन कांग्रेसले आँट गर्न नसकेको ?

    जसपाले एकजुट भएर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छैन । उनीहरूको अहिलेकै सरकारसँग वार्ता भइरहेको छ । यस्तो स्थितिमा हामीले कसरी विश्वास गर्न सक्छौ र !

    भनेपछि जसपाकै कारण तपाईंहरु पनि अड्किनु भयो ?

    हो । हाम्रो पक्षमा अहिले बहुमत पुग्दैन । हामी राष्ट्रिय सहमतिले निर्धारण गर्नुपर्ने विषयमा कुनै क्षेत्रीय, जातीय दलको गठबन्धनमा गएर सम्झौता गर्न चाहन्नौँ । हामी एउटा स्थिर र लोकतान्त्रिक गठबन्धनबाट वर्तमान सरकारलाई विस्थापित गर्न चाहन्छौँ ।

    विगतमा केन्द्रीय समितिको बैठकले ‘ओली सरकार असफल भएको र शासन गर्ने अधिकार नभएको’ ठहर गरेको थियो । असफल भयो भनिएको सरकारलाई तपाईंहरूबाटै सहयोग भइरहेको आरोप छ नि ?

    यो सरकार योग्य छैन । यो सरकार संवैधानिक पनि छैन । यो सरकारले विश्वासको मत पनि लिएको छैन ।

    सरकारले संसद् विघटनको निर्णय गरेको थियो त्यो अदालतले उल्ट्याइ दिएको छ । यो सबै कुरा त हामी प्रतिपक्षमा बसेर भन्दैछौं । यो सरकारलाई सहयोग गर्ने कुरा त हुँदै हुँदैन । तर, सरकार बदल्न हामीसँग बहुमत छैन ।

    जसपासँग कांग्रेसको कुरानकानी भएको छैन र ?

    उहाँहरूका केही सर्त छन् । रेशम चौधरीको रिहाई हुनुपर्ने माग छ । जुन निकै गम्भीर मुद्दा हो । प्रहरी प्रशासनका मान्छेसँग बालबालिकाको हत्याको अभियोग छ । त्यो मुद्दाको न्यायिक निरुपण नभइ हामी रिहाइको पक्षमा जान सक्दैनौं ।

    रेशम चौधरीलाई छोड्दा पनि कानुनी प्रक्रिया पूरा गरेर मात्रै छाड्न मिल्छ । हामी लगातार भनिरहेका छौँ र अदालतले कुनै मान्छेलाई कुनै कुराको आरोप लगाएको छ वा कुनै अपराधको बारेमा फैसला गरेको छ भने त्यसको कानुनी निरूपण त हुनुपर्यो । त्यस्ता मुद्दालाई न्यायिक नभइ राजनीतिक विषय मात्रै बनाउने कुरामा कांग्रेस सहमत छैन ।

    मुलुक अब छिटै मध्यावधि निर्वाचनमा जाने चर्चा पनि छ । यसमा तपाईंको तर्क के हो ?

    माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्रीले विश्वासको मत लिएनन् भने नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्छ ।

    हाम्रो नेतृत्वमा सरकार गठन हुन सकेन भने चुनावमा जाने स्थिति बन्नसक्छ ।

    दुई तिहाइ बहुमत पाएको पार्टीले सरकार चलाउन सक्दैनौँ, हामी सक्षम छैनौं भनेर संसद नै विघटन गरेको हो । अदालतले संसद पुनःस्थापना गरिदियो । त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हो । तर यस्तो अन्योलको स्थिति लामो समय रहनु भन्दा चुनावमा जानु नै उत्तम विकल्प हुनसक्छ ।

    अब सुदूरपश्चिम प्रदेश सरकार तर्फ लागौं, एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने गृहकार्य गरिरहेको छ । तर, एमाले एक्लैको सरकार बन्ने स्थिति छैन । के कांग्रेसले एमालेसँग सत्ता साझेदारी गर्छ ?

    सुदूरपश्चिम प्रदेशमा पनि जसपाकै हातमा सत्ताको चाबी छ । जसपासँग २ वटा सांसद छन् । हामीसँग १२ जना सांसद छन्, २५ जना सांसद एमालेसँग छन् र १४ सांसद माओवादीसँग छन् ।

    माओवादी र हामी मिल्दा पनि सङ्ख्या पुग्दैन । अहिले एमालेसित मिल्ने सम्भावना छैन । अब जसपाका २ सांसदले जसलाई सहयोग गर्छन् उसकै सरकार बन्छ ।