Tag: ऋषि कट्टेल

  • फैसलाको तीन दिनपछि ऋषि कट्टेलको विज्ञप्तिः अधिनायकवाद लाद्ने गुरुयोजना असफल

    फैसलाको तीन दिनपछि ऋषि कट्टेलको विज्ञप्तिः अधिनायकवाद लाद्ने गुरुयोजना असफल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिताबारे सर्वोच्च अदालतले फैसला सुनाएको तीन दिनपछि आधिकारिक नेकपाका अध्यक्ष ऋषि कट्टेलले विज्ञप्ति जारी गरेका छन् । उनले फैसलाको स्वागत गर्दै ‘दुइदलीय अधिनायकवाद लाद्ने प्रतिक्रियावादीको गुरुयोजना असफल भएको’ टिप्पणी गरेका छन् ।

    ‘विसर्जनवादमा पतन भएका एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीले कथित शक्तिको उन्मादमा उनीहरू आफैंले बनाएको संविधान र कानुनविपरीत निरंकुश सर्वसत्तावाद लाद्न खोजेका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरूयोजना अन्तर्गत एकतावद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ ।’

    यसले समाजमा रहेको वर्गीय लगायतका शोषण र विभेदका विरूद्ध संघर्ष गरिरहेका वर्ग समुदाय तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएका देशभक्तहरूमा उत्साह थपेको पनि कट्टेलले बताएका छन् ।

    पार्टीको साखमा वृद्धि भएको तथा नीति, विचार, सिद्धान्त थप प्रचारित हुने मौका पाएको उनका संस्लेषण छ ।

    ‘सारमा इमान्दार जनताका असली प्रतिनिधि र पार्टीको विजय भएको छ,’ कट्टेलले भनेका छन् ।

  • ऋषि कट्टेलले मुद्दा जिते, ओली-प्रचण्डको नेकपा खारेज

    ऋषि कट्टेलले मुद्दा जिते, ओली-प्रचण्डको नेकपा खारेज

    काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

    न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

    यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

    निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ ।

    सर्वोच्च अदालतले नेकपाको आधिकारिकता दिएसँगै ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

    दुवै अध्यक्ष रहेको नेकपा प्राविधिक रुपमा फुटे पनि कानूनी रुपमा फुटेको छैन । यदि ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर नाम नदिए नेकपा विवाद अर्को झमेलमा फस्नेछ र दलको दर्ता खारेजसम्म हुनसक्छ ।

  • ऋषि कट्टेलको मुद्दामा आइतबार फैसला, नेकपाको आधिकारिकता कसले पाउला ?

    ऋषि कट्टेलको मुद्दामा आइतबार फैसला, नेकपाको आधिकारिकता कसले पाउला ?

    काठमाडौं । अदालतमा सार्वजनिक बिदाका कारण बिहीबार हुन नसकेको नेपाल कम्युनिष्‍ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आइतवार हुने भएको छ । नेकपा अध्यक्ष ऋषि कट्टेलले २ वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ सकिएपछि बिहीबार निर्णय सुनुवाइको मिति तोकिएको थियो ।

    तर, यसबीचमा पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण बिहीबार अदालतहरूमा बिदा दिइएका कारण निर्णय सुनुवाइ सरेको थियो । सो मुद्दाको फैसला अब आइतबर हुने भएको छ ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्‍ट पार्टी नामाकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेल आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

    निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

    दुवै अध्यक्ष रहेको नेकपा प्राविधिकरूपमा फुटे पनि कानुनी रूपमा फुटेको छैन । यदि ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर नाम नदिए आयोगले नै नेकपाको अर्को नाम राखिदिन सक्छ ।