Tag: ऋण

  • कोरोना प्रभावित उद्योगी-व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने, राष्ट्रबैंकले निकाल्यो सूचना

    कोरोना प्रभावित उद्योगी-व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने, राष्ट्रबैंकले निकाल्यो सूचना

    काठमाडौं । कोरोनाका कारणले समस्यामा पारेका उद्योगी र व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंक तथा वित्तीय संस्थाहरुलाई पुन:कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ ।

    निजी क्षेत्रले राहत नपाए धेरै उद्योग-व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको भन्दै लामो समयदेखि सरकारलायृ घच्घच्याएको थियो । त्यसलाई मध्यनजर गर्दै राष्ट्रबैंकले कोरोनाबाट अति प्रभावित र मध्ये प्रभावित व्यवसायीहरूलाई पुनःकर्जाको नीति लिएको हो ।
    कोरोनाका कारण समस्यामा परेका उद्योगी र व्यवसायीले आफूले कारोबार गरेको बैंकमा पुनःकर्जाको लागि आवेदन दिन सक्ने छन् ।

    राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कोरोनाबाट प्रभावित भएका व्यवसायले ५ करोडसम्म पुन:कर्जा लिन पाउने बताए ।

    ढकालले भने, ‘पुनःकर्जाको सीमाभित्र रहेर व्यवसायीले ५ करोडसम्म पुनःकर्जा लिन पाउने छन् । पुनःकर्जा लिन चाहने व्यवसायीले आफुले कारोबार गरेको बैंकको शाखामा मंसिर १९ गतेभित्र निवेदन दिनुपर्छ ।’

    सरकारले यातायात, पर्यटन, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपन्क्षी, हवाई तथा पर्यटकीय मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय पार्टी प्यालेस, मत्स्यपालन लगायतका व्यवसायलाई कोरोना प्रभावितको सूचीमा राखेको छ ।

    सीपमुलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, विद्यालय, निर्माण व्यवसाय, औषधि उत्पादक, छपाइ प्रकाशन तथा सञ्चार गृह, फलामजन्य व्यवसाय र अस्पताल पनि प्रभावित सूचीमा छन् । उनीहरू सबैले पुनःकर्जा प्राप्त गर्न सक्नेछन् ।

  • चर्को ब्याजदर असुली बाहिरिएपछि ऋणी थुमथुम्याउँदै एनआईसी एसिया बैंक

    चर्को ब्याजदर असुली बाहिरिएपछि ऋणी थुमथुम्याउँदै एनआईसी एसिया बैंक

    काठमाडौं । चर्को ब्याजदर असुल गरिरहेको सार्वजनिक भएपछि आनआईसी एसिया बैंकले ऋणीलाई थुमथुम्याउन थालेको छ ।

    एनआईसी एसिया बैंकले व्यवसायी दिनेश सुवेदीसँग १५.७ प्रतिशत सम्म कर्जाको ब्याजदर लिइरहेको समाचार नेपाल प्रेस डटकमले सबैभन्दा शुरूमा प्रकाशित गरेको थियो ।

    त्यसपश्चात बैंकका कर्मचारीले सुवेदीलाई प्रत्यक्ष भेटेरै ब्याजदर घटाउने आश्वासन दिइरहेका छन् । बैंकले ८.५ प्रतिशत ब्याजमा कर्जा दिने आश्वासन दिँदै थप अगाडि नबढ्न आग्रह गरेको सुवेदीको भनाइ छ ।

    तर , उनी कुनै पनि हालतमा एनआईसी एसियासँग सम्झौता गर्ने मुडमा नरहेको बताउँछ । एनआईसी एसिया बैंकको ठगी धन्दा नरोकिएसम्म आफू चुप लागेर नबस्ने र बैंकको कुनै पनि सर्त नमान्ने उनको भनाइ छ ।

    ‘पत्रिकामा सूचना प्रकासित गरेर नै यस बैंकबाट ठगिएकाहरूको सूची तयार पार्न काममा लागेको छु ।’ उनले भने ‘कोभिड-१९ का कारण भेट्ने अवस्था नभएर मात्रै हो नभए प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंक सबैंसँग गुनासो लिएर न्याय माग्ने पक्षमा छु ।’

    नेपाल राष्ट्र बैंकले बैंकको आधार दर ६.७७ मा ८.९३ प्रतिशत प्रिमियम जोडर १५.७० प्रतिशत ब्याजदर लिएको थाहा पाएपछि बैंकलाई ब्याजदर घटाउनका लागि निर्देशन दिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

    ‘हामीले एनआईसी एसिया बैंकलाई ब्याजदर घटाउनका लागि निर्देशन दिइसकेका छौं र बैंकले ब्याजदर पनि घटाइसकेको जानकारी प्राप्त भएको छ’, उनले भने ।

    झुक्किएर ब्याजदर बढेको हुनसक्ने प्रतिकृया दिएको बैंकप्रति गुनासो आएको भन्दै नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन निर्देशन दिएको थियो । केन्द्रीय बैंकको निर्देशनपछि ब्याजदर घटाउन बैंक बाध्य भएको छ । एनआईसी एसिया बैंकका एक कर्मचारीले नाम नखुलाउने सर्तमा ब्याजदर घटिसकेको बताए । राष्ट्र बैंकले दबाब दिएका कारण बैंकले ब्याजदर घटाएको हो , उनले भने ।

    प्रिमियम दर तोक्ने तयारीमा नेपाल राष्ट्र बैंक

    आधार दरमा सामान्यता २ प्रतिशत प्रिमियम जोडेर बैंकहरूले कर्जा प्रदान गर्नुपर्ने भएपनि एनआईसी एसिया बैंकले करिब ९ प्रतिशतसम्म प्रिमियम लिएको देखिएको छ ।

    एनआईसी एसियाले कमजोरी गरेपछि राष्ट्र बैंकले प्रिमियमको दर समेत तोक्ने आन्तरिक तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । बैंकहरूले शुरूमा ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने बताएपनि ऋणीसँग १० प्रतिशतसम्म प्रिमियम लिन पाउने भनेर सम्झौता गराएका हुन्छन् । त्यसमा ऋणीले हुँदैन भन्ने अवस्था हुँदैन ।

    सेवाग्राहीको बाध्यताका कारण बैंकले तयार पारेको उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । सम्झौता पत्रको उक्त व्यवस्थालाई आधार बनाएर बैंकहरुले चर्को ब्याजदर असुलिरहेका छन् । बैंकहरूले आधार दरमा १० प्रतिशतसम्म प्रिमियम जोडेर उच्च ब्याजदरमा मोटो रकम ऋणीसँग असुल्ने गरेका छन् ।

    स्थिर ब्याजदरको प्रयोग गर्न केन्द्रीय बैंकको आग्रह

    बैंकहरूको ब्याजदर आतंकबाट जोगिन नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदर मार्फत कर्जा लिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले रिटेल कर्जामा बैंकले मनोमानी ढङ्गबाट ब्याजदर असुल गर्ने सक्ने भएकाले स्थिर ब्याजदर मार्फत कर्जा लिन आग्रह गरेको छ । राष्ट्र बैंकले ब्याजदर सम्वन्धी कार्यविधि परिवर्तन गर्दै रिटेल कर्जाका प्रोडक्टमा स्थिर ब्याजदर निर्धारण गर्न गत वर्ष नै निर्देशन जारी गरिसकेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मार्फत पनि स्थिर ब्याजदर सम्वन्धी आवश्यक व्यवस्थाका लागि बैंकलाई निर्देशन जारी भइसकेको छ ।

    तर , परिवर्तनशील ब्याजदर नीतिमा जस्तो स्थिर ब्याजदर नीतिमा अल्पकालमा ब्याजदर बढाउन नपाउने भएकाले उक्त नीति कार्यान्वयनमा बैंकहरूले अनाकानी गरिरहेका छन् । राष्ट्र बैंकका प्रवक्ता ढकाल सेवाग्राहीले बैंकहरूको ब्याजदरबाट ठगिनबाट स्थिर ब्याजदर मार्फत कर्जा लिन आग्रह गर्छन् ।

    ‘स्थिर ब्याजदरबाट कर्जा लिदा बैंकहरुले अल्पकालमा ब्याजदर बढाउन पाउदैन र ठगिनबाट बचिन्छ ’ उनले भने ‘बैकहरूले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नैपर्छ गर्न मानेन भने राष्ट्र बैंकमा उजुरी गर्न सक्नुहुन्छ ।’

  • नेपालको ऋण १५ खर्ब ३५ अर्ब पुग्यो, तीन वर्षमै थपियो ६ खर्ब

    नेपालको ऋण १५ खर्ब ३५ अर्ब पुग्यो, तीन वर्षमै थपियो ६ खर्ब

    काठमाडौं । सरकारले प्रत्येक वर्ष ल्याउने गरेको घाटा बजेटले राष्ट्रको ऋणभार बढ्दै गएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयताका तीन वर्षमामात्रै ६ खर्ब १८ अर्ब २६ करोड रूपैयाँ ऋण थपिएको नयाँ तथ्यांकले देखाएको छ ।

    सार्वजनिक ऋण ब्यवस्थापनको कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म नेपालको कुल ऋण ९ खर्ब १७ अर्ब ३० करोड रूपैयाँ थियो । त्यसमध्ये ५ खर्ब २६ अर्ब २० करोड रूपैयाँ वैदेशिक ऋण थियो भने आन्तरिक ऋणको हिस्सा ३ खर्ब ९१ अर्ब २० करोड रूपैयाँ थियो । अहिले कुल ऋण १५ खर्ब ३५ करोड ५६ रूपैयाँ पुगेको छ ।

    आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६७.३९ प्रतिशत अर्थात ६ खर्ब १८ अर्ब २६ करोड रूपैयाँले थप भएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा आन्तरिक ऋण २ खर्ब ७३ अर्ब ५३ करोड अर्थात ६९.९२ प्रतिशतले बढेर ६ खर्ब ६४ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ । त्यस्तै वैदेशिक ऋण ३ खर्ब ४४ अर्ब ८२ करोड अर्थात् ६५.९४ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब ८२ करोड रूपैयाँ पुगेको छ । राष्ट्रको ऋणभारलाई देशको जनसंख्याको अनुपातमा हिसाब गर्दा प्रत्येक नेपालीको भागमा करिब ५१ हजार १ सय रूपैयाँभन्दा बढी ऋण थोपरिएको छ ।

    चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै वैदेशिक ऋण ६४ अर्ब ६८ करोड रूपैयाँ र आन्तरिक ऋण ५१ अर्ब रूपैयाँ गरी १ खर्ब १५ अर्ब ६८ करोड रूपैयाँ ऋण परिचालन भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत २ खर्ब २५ अर्ब आन्तरिक ऋण र २ खर्ब ९९ अर्ब ५० करोड रूपैयाँ बाह्य ऋण गरी ५ खर्ब २४ अर्ब ५० करोड रूपैयाँ ऋण उठाउने लक्ष्य लिएको थियो ।

    यो सरकार गठन हुँदा कुल गार्हस्थ्य उत्पादनमा ऋणको अंश ३० प्रतिशत रहेकोमा अहिले त्यस्तो अनुपात बढेर ३५.७१ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक विभागको पछिल्लो प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन ३९ खर्ब ४३ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ ।

    सरकारले लिएको ऋणको ब्याज तिर्नका लागि प्रत्येक वर्ष ठूलो मात्रामा बजेटको व्यवस्था गर्नुपर्ने अवस्था छ । सरकारको अनावश्यक दायित्व, ऋणको ब्याज, खर्चमा अनुशासन कायम गर्न नसक्दा प्रत्येक वर्षको बजेटमा ऋणको अंश तीब्ररूपमा बढिरहेको छ ।

    २३ अर्ब भुक्तानी

    सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साँवा १२ अर्ब १३ करोड ५१ लाख रूपैयाँ र ब्याजतर्फ १० अर्ब ८९ करोड ६९ लाख रूपैयाँ भुक्तानी गरेको सार्वजनिक ऋण ब्यवस्थापन कार्यालयको दोस्रो क्वाटरको प्रतिवेदनले देखाएको छ ।

    गत वर्षको सार्वजनिक ऋण प्रतिवेदननुसार नेपालले विश्व बैंकको आईडीएबाट सबैभन्दा धेरै ४७.९ प्रतिशत, एसियाली विकास बैंकबाट ३३.८ प्रतिशत, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सीबाट ४.५४ प्रतिशत, अन्तर्राष्ट्रिय मुद्राकोषबाट ३.२७ प्रतिशत, चीनको एक्जिम बैंकबाट ३.२४ प्रतिशत, भारतको इक्जिम बैंक लाइन अफ क्रेडिटबाट ३.०९ प्रतिशत ऋण लिएको छ ।

    किन बढ्दैछ ऋण ?

    विकासोन्मुख वा कम विकसित देशहरुले विकास-निर्माण लगायत विभिन्न आवश्यकताहरू पूरा गर्न आन्तरिक वा बाह्य ऋण लिने गर्छन् । ऋण लिनु आफैंमा गलत नभए पनि यसरी लिएको ऋणको सदूपयोगका विषयमा भने सचेतता आवश्यक हुन्छ ।

    नेपालको वर्तमान राजस्व संकलनले चालु खर्चसमेत धान्न नसक्ने अवस्था आइसकेको छ । त्यसैले पनि प्रत्येक वर्ष ऋणको चाप थपिँदै गएको हो । सरकारले घाटा बजेटको ग्याप पूरा ऋणमा निर्भर हुनुपरेको छ ।

    दाताको स्वार्थ नमिल्ने, परियोजना समयमा सम्पन्न नहुने, भ्रष्टाचार बढेको, ठकेदारको बदमासी, परियोजना निर्माणअघिका पूर्वतयारीहरू समयमा नै सम्पन्न नहुनेलगायतका समस्या छन् । यसले गर्दा ऋणको उचित सदुपयोग हुन सकेको देखिदैन ।

    मुलुक संघीयतामा गएपछि केन्द्रीय सरकारको भागमा थुप्रै दायित्वहरू सिर्जना भएको छ । प्रत्येक वर्ष बजेटमार्फत केन्द्रले प्रदेश र स्थानीय तहमा सशर्त विशेष र समपूरक अनुदानको व्यवस्था गर्नुपर्ने बाध्यात्मक अवस्था छ । राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न गर्न नसक्दा त्यसको लागत बढिरहेको छ । सरकारले निर्मम भएर सार्वजनिक क्षेत्रको खर्च कटौती गर्न नसक्दा व्ययभार बढ्दोक्रममा छ ।

    सरकारले लिएको ऋणको ब्याज तिर्नका लागि प्रत्येक वर्ष ठूलो मात्रामा बजेटको व्यवस्था गर्नुपर्ने अवस्था छ । सरकारको अनावश्यक दायित्व, ऋणको ब्याज, खर्चमा अनुशासन कायम गर्न नसक्दा प्रत्येक वर्षको बजेटमा ऋणको अंश तीब्ररूपमा बढिरहेको छ ।

    यसरी सरकारले एकातिर खर्च नियन्त्रण गर्न सकेको छैन भने अर्थतन्त्रमा उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सृजना नहुँदा राजस्वको स्रोत पनि सुकिरहेको छ । राजस्वको दायरा वृद्धि नभएका कारण हाल संकलित राजस्वले चालु खर्च पनि धान्न धौधौ परेको छ ।

    पछिल्लो वर्षको आएको विश्वब्यापी महामारी कोरोना भाइरस र त्यसको सतर्कताका लागि जारी गरिएको ९ महिना लामो बन्दाबन्दीले मुलुकको अर्थतन्त्रलाई निकै अप्ठ्यारो अवस्थामा पुर्‍याइदियो । आगामी दिनमा कोभिडबाट प्रभावित अर्थतन्त्र अगाडि बढाउनुपर्ने चुनौतीसँगै सरकारले सन् २०२६ सम्ममा विकासशील राष्ट्रकोरुपमा स्तरोन्नति हुने, दिगो विकासको लक्ष्य हासिल गर्ने र १५ औं योजनाको लक्ष्य हासिल गर्नुपर्ने चुनौतीहरू छन् । पछिल्लो समय अनुदानबाट प्राप्त हुने सहयोग कम हुँदै गएकाले नेपालले ती लक्ष्य हासिल गर्न ऋणमै भर पर्नु परेको छ ।

    विज्ञ भन्छन्ः ‘डेप्ट क्राइसिस’आउन सक्छ

    अर्थतन्त्रका विज्ञहरू नेपालजस्तो मुलुकका लागि वैदेशिक सहयोग अपरिहार्य भए पनि अन्धाधुन्द ऋण लिँदा भने संकट आउन सक्ने औंल्याउँछन् । विकासका ठूला परियोजनामा मात्रै ऋण लिन उनीहरुको सुझाव छ ।

    अर्थशास्त्री डा. विश्व पौडेलले आन्तरिक ऋण बढ्नु खासै ठूलो कुरा नभए पनि नेपाल वैदेशिक ऋण तीब्र गतिमा बढ्दै गएकोतर्फ भने सरकार सजग बन्नुपर्नेमा जोड दिए ।

    ‘नेपालले पूर्वाधार निर्माण तथा पुन:निर्माणका लागि ऋण लिइरहेको छ । त्यसको सदुपयोग भयो भने राम्रै हो । ऋण नलिई विकास निर्माणको काम गर्न सकिन्न । तर, हामीले सकेसम्म सानातिना कामका लागि ऋण लिनु उचित होइन । नेपाल वैदेशिक ऋण तीब्र गतिमा बढेको छ । यसको गति कम गर्नेतर्फ ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ,’ पौडेलले भने ।

    अर्का अर्थविद् डा चन्द्रमणि अधिकारी कुल गार्हस्थ्य उत्पादनको तुलनामा ४५ प्रतिशतसम्म ऋण लिदा खासै फरक नपर्ने भएपनि नेपालमा यसको सदुपयोग हुन नसकेको बताउँछन् ।

    ‘नेपालको अहिले कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋणको अंश ३५ प्रतिशत रहेको छ, यसलाई ठिकै मान्न सकिन्छ । तर, ऋण लिएपछी त्यसको उचित सदुपयोग हुनुपर्छ । ऋणले राजस्व संकलन गर्नुसक्नु पर्छ । यो हुन सकेको छैन,’उनले भने ।

    ऋण लिएपछि प्रत्येक वर्ष यसको साँवाब्याज भुक्तानीका लागि बजेट छुट्याउनुपर्ने उनी बताउँछन् ।

    अधिकारी भन्छन्, ‘अहिले पनि हामीले प्रत्येक वर्ष डेप्ट सर्भिसिङका लागि १५ प्रतिशत भन्दा बढी बजेट छुट्याउनुपर्ने अवस्था छ । यसले गर्दा प्रत्येक वर्ष बजेटको आकार बढाउनुपर्ने हुन्छ,’ उनले भने ।