Tag: ऊर्जामन्त्री पम्फा भुसाल

  • पोल भाडा वृद्धिबारे विद्युत प्राधिकरणको आजकै बैठकमा छलफल गर्ने ऊर्जामन्त्री भुसालको आश्वासन(भिडिओ)

    पोल भाडा वृद्धिबारे विद्युत प्राधिकरणको आजकै बैठकमा छलफल गर्ने ऊर्जामन्त्री भुसालको आश्वासन(भिडिओ)

    काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छन् ।

    नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत प्राधिकरणको आजै बस्ने बोर्ड बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने आश्वासन समेत दिइन् ।

    भुसालले भेलामा भनिन्, ‘आजै प्राधिकरणको बोर्ड बैठक मेरै अध्यक्षतामा हुँदैछ । पोल भाडा बढाइएको विषयमा मैले कुरा बुझ्छु । आवश्यक परेमा समस्या समाधानका लागि तपाईंहरूसहितको कार्यदल बनाइनेछ । व्यवसायीलाई मारमा पर्न दिइन्न ।’

    मन्त्री भुसालले यसै साताभित्र संचारमन्त्री पनि आउने र व्यवसायीका समस्या समाधान संवादबाट गर्ने बताइन् । पोलको साटो अब विस्तारै भूमिगत तार प्रविधिमा विद्युत प्राधिकरण जान लागेको भन्दै व्यवसायीहरूलाई पनि पोलको विकल्पबारे छलफल गर्न उनले आग्रह गरेकी छन् ।

  • औद्योगिक ग्राहकको विद्युत शुल्क घटाउने ऊर्जामन्त्रीको आश्वासन

    औद्योगिक ग्राहकको विद्युत शुल्क घटाउने ऊर्जामन्त्रीको आश्वासन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत महसुल पनि घटाउने बताएकी छन् ।

    नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा ऊर्जामन्त्री भुसालले शुरूमा घरायसी प्रयोजनमा खपत भएको विद्युतको महसुल घटाउने र उत्पादनमा वृद्धि भएसँगै औद्योगिक क्षेत्रको महसुल पनि कम गर्ने आश्वासन दिएकी हुन् ।

    मन्त्री भुसालले आर्थिक विकास, गरिबी निवारण, औद्योगिक विकास र कृषिको विकासका लागि ऊर्जा कच्चा पदार्थ भएकाले यसको सुलभ उपलब्धता आवश्यक रहेको बताइन् । आर्थिक विकासको कच्चा पदार्थ विद्युत हो, उनले भनिन्न कच्चा पदार्थ बेचेर कोही धनी भएको छैन । हामी पनि आन्तरिक खपतमा नै जोड दिनेछौँ ।

    मन्त्री भुसालले विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीमा सुधार गरेर अघि बढ्ने आफ्नो योजना रहेको पनि उल्लेख गरेकी छिन् । उद्योगीले पहिलेदेखि नै विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल घटाउन माग गर्दा मन्त्री भुसालले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुलसम्बन्धी विवाद आफ्नो मन्त्रालयले मात्रै टुंग्याउन नसक्ने उनको भनाइ छ ।

    ऊर्जा मन्त्रालय सिंहदरबारमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका उद्योगहरुको लागत कम गर्ने गरी नेपाल उद्योग परिसंघले उठाएको पावर ह्विलिङको कार्यान्वयनका लागि आवश्यक कार्यविधि जारी गरी गर्नुपर्ने बताएका छन् । उनले साना उपभोक्तालाई जस्तै उद्योगहरूलाई पनि डिमान्ड शुल्क छुटको व्यवस्था कार्यान्वयन गर्न आग्रह समेत गरेका हुन् ।

    अध्यक्ष अग्रवालले विद्युत निर्यातको सट्टा स्वदेशी उद्योगहरूलाई निर्यातकै दरमा गुणस्तरीय विद्युत उपलब्ध गराउँदा आन्तरिक बजारमा विद्युत खपत बढ्ने र अर्थतन्त्रको वृद्धिमा समेत योगदान गर्ने बताए । उद्योगहरूले अहिले पनि ट्रिपिङ, कम भोल्टेज जस्तो समस्या भोगिरहेको भन्दै विद्युतको गुणस्तरमा सुधार गर्नुपर्ने उल्लेख गरे ।

    परिसंघले एक घर एक विद्युतीय चुलोको परिकल्पनालाई नमूनाको रूपमा पोखराबाट शुरूआत गरी सातै प्रदेशका एक-एक शहरमा विस्तार गर्न पनि सरकारलाई सुझाव दिएको छ । परिसंघले एक प्रदेशमा कम्तिमा एउटा सय मेगावाटभन्दा ठूला जलाशयुक्त वा अर्धजलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ ।

    नेपाल विद्युत प्राधिकरणले विगतको छुट बिलका नाममा उद्योगी व्यवसायीलाई त्रसित बनाउने गरी बक्यौता भुक्तानीका लागि पत्राचार गरेको र हाल आएर सो को बक्यौता उठाउन ताकेता गरिरहेको भन्दै अग्रवालले डेटिकेटेड र ट्रंक लाइनको सम्झौता गरी विद्युत खरिद गरेका बाहेकका ग्राहकहरूलाई टीओडी मिटरको आधारमा मात्रै विद्युत बिलिङ गर्ने व्यवस्था गर्न आग्रह गरे ।

    छलफलमा परिसंघका गभर्निङ काउन्सिलका सदस्य शिवरतन सारदा एवं उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे र हेमराज ढकाल तथा राष्ट्रिय परिषद् सदस्य ज्ञानेन्द्रलाल प्रधान र नेपाल उद्योग परिसंघ, प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे र महानिर्देशक यादवप्रसाद पौडेल उपस्थिति थिए ।

  • ऊर्जामा व्यापक सरुवा : विद्युत विकास विभागमा सन्दीप देव, मधुकर मन्त्रालयमा

    ऊर्जामा व्यापक सरुवा : विद्युत विकास विभागमा सन्दीप देव, मधुकर मन्त्रालयमा

    काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको सरुवाबाट आफ्नो काम अघि बढाएकी छन् । भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भने राजीनामा मागेकी छन् ।

    भुसाल मन्त्री भएलगत्तै ऊर्जा मन्त्रालयअन्तर्गतको महत्वपूर्ण मानिने विद्युत विकास विभागको महानिर्देशकमा सहसचिव सन्दीपकुमार देवलाई पठाइएको छ । यसअघिका महानिर्देशक नविनकुमार सिंहको  त्यहाँबाट सरुवा गरिएको मन्त्रीनिकट स्रोतले जनाएको छ ।

    सिंह दुई पटक विद्युत विकास विभागको महानिर्देशक भएका व्यक्ति हुन् । उनलाई बुधबारदेखि नै लागु हुनेगरी जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । सन्दीपकुमार देव यसअघि विद्युत विकास विभागको उपमहानिर्देशक थिए ।

    वर्षमान पुन ऊर्जामन्त्री भएका बेला मन्त्रालयमा सरुवा भएका देव ९ महिनापछि सोही विभागका प्रमुख भएर फर्केका छन् । देवले बुधबारदेखि नै विभागमा कार्यभार सम्हालेका छन् ।

    त्यस्तै ऊर्जामन्त्री भुसासलले सुनकोशी मरिण डाइभर्जन आयोजना प्रमुख सुशील आचार्यलाई जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सरुवा गरिएको छ । विभागका यसअघिका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी मन्त्रालयमा सरुवा भएका छन् ।