Tag: उपेन्द्र यादव

  • एक-अर्कालाई निष्कासन गर्ने महन्थ र उपेन्द्रको पत्रबारे के गर्दैछ आयोग ?

    एक-अर्कालाई निष्कासन गर्ने महन्थ र उपेन्द्रको पत्रबारे के गर्दैछ आयोग ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुई पक्षले एक अर्कालाई निष्कासन गर्दै दिएको जानकारीको अध्ययन गरिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षले पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी आयोगमा आएको र उक्त निर्णयको वैधता जाँच्ने काम भइरहेको बताए ।

    ‘दुवै पक्षले आ-आफ्नो निर्णय अनुसार पार्टीको साधरण सदस्यबाट निष्कासन गरिएको भन्ने सन्दर्भको व्यहोरा चाहिँ आयोगमा दर्ता भएको छ,’ नेपाल प्रेससँग श्रेष्ठले भने, ‘उहाँहरूले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम भन्नु भएको छ। दर्ता किताबबाट नाम हटाएर अद्यावधिक गरिदिनु भन्ने छ। यसमा आयोगले अहिले केही गरिसकेको छैन ।’

    दुवै पक्षका निर्णय हेरेर कुनैको पर्याप्त लागेमा आयोगले निर्णय गर्ने श्रेष्ठले बताए । उनले भने, ‘गर्न मिल्ने, नमिल्ने, कागजातहरू पुगेको छ/ छैन भन्ने कुरा सम्बन्धित शाखा, महाशाखाबाट आयोगमा पेस हुन्छ । त्यसमा आयोगले निर्णय लिन्छ । तर, आयोगले निर्णय गर्नलाई यो पर्याप्त हो कि होइन भन्ने कुरा नै बाँकी छ ।’

    जसपाको उपेन्द्र यादव पक्षले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र यादव, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको थियो । उक्त जानकारी आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गरेको थियो ।

    त्यसको ‘काउन्टर’ मा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएको थियो ।

  • निर्वाचन आयोगमा महन्थको काउण्टर पत्र- उपेन्द्रको नाम दर्ता किताबबाट हटाइयोस्

    निर्वाचन आयोगमा महन्थको काउण्टर पत्र- उपेन्द्रको नाम दर्ता किताबबाट हटाइयोस्

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।
    जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले यादवको नाम हटाउन आयोगलाई काउण्टर पत्र पठाएका हुन् ।
    ठाकुरले निर्वाचन आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानको दफा ५० को १ बमोजिम अनुशासन कारवाही भई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । पत्रमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ को १, २ र ३ बमोजिम दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोध समेत गरिएको छ ।
    पत्रमा यादवले पार्टीको विधान, नीति र निर्णय विपरीत कार्य गरेको र पटक-पटक स्पष्टीकरण सोध्दा पनि कुनै जवाफ नदिएको उल्लेख गरिएको छ ।
    यसअघि आजै उपेन्द्र यादव पक्षले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरिएको व्यहोरासहितको पत्र निर्वाचन आयोगमा पठाएको थियो ।
  • निर्वाचन आयोगमा उपेन्द्रको पत्र- जसपाको दर्ता किताबबाट महन्थको नाम हटाइयोस्

    निर्वाचन आयोगमा उपेन्द्रको पत्र- जसपाको दर्ता किताबबाट महन्थको नाम हटाइयोस्

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) आजबाट औपचारिक रूपमा विभाजन भएको छ । जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएपछि पार्टी विभाजनले औपचारिकता पाएको हो ।

    यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले आजै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासनको घोषणा गरेको थियो ।

    सो सम्बन्धी निर्णयको जानकारी तत्कालै यादवले निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट नाम हटाउन अनुरोध गरेका छन् । आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।

    जसपा विवाद पनि अब तत्कालीन नेकपाको जस्तै निर्वाचन आयोगमा पुगेको छ । महन्थ ठाकुर पक्षले पनि उपेन्द्रमाथि निष्कासनको  कारवाहीको निर्णय गर्न लागेको छ ।

  • उपेन्द्रलाई महन्थको २४ घण्टे अल्टिमेटम, चित्त बुझ्दो स्पष्टीकरण नदिए पार्टीबाटै निष्कासन

    उपेन्द्रलाई महन्थको २४ घण्टे अल्टिमेटम, चित्त बुझ्दो स्पष्टीकरण नदिए पार्टीबाटै निष्कासन

    काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्कासन गर्ने चेतावनी दिएका थिए ।

    यादवले सोही व्यहोराको २४ घण्टे स्पष्टीकरण सोधेलगत्तै ठाकुरले काउन्टर जवाफ दिएका हुन् ।

    यो पनि पढ्नुहोस् : महन्थसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको लिखित चेतावनी

     

  • महन्थसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको लिखित चेतावनी

    महन्थसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको लिखित चेतावनी

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको चेतावनी दिएको छ । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो।

    दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन भनिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा जवाफ नदिए पार्टीबाट निष्कासनको कारवाही गर्ने चेतावनी दिइएको छ ।

  • उपेन्द्रसँग महन्थले सोधे ७ बुँदे स्पष्टीकरण–देउवालाई किन समर्थन गरेको ?

    उपेन्द्रसँग महन्थले सोधे ७ बुँदे स्पष्टीकरण–देउवालाई किन समर्थन गरेको ?

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधका छन् ।

    जेठ ११ गते सोधिएको स्पष्टीकरणमा ठाकुरले जेठ ८ र ९ गते स्थगित गरिएको बैठक के कारणले बोलाएर एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णय गरेको भनेका छन् ।
    त्यस्तै पछिल्लो समयमा आफूले रोक्दा रोक्दै अनधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठकहरु बसी पार्टी हित विपरित विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न ठाकुरले गरेका छन ।

    ठाकुरले मधेश आन्दोलनका माग पूरा गराउन र बन्दी रिहाई तथा अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन,नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले गठित कार्यदलले गरेका कामले कहाँ ठेस पुग्यो भन्ने प्रश्न समेत यादवलाई गरेका छन् ।

    ठाकुरले संसदीय दलको निर्णय वमोजम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यस विपरित शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुन कारणले हस्ताक्षर गरियो भन्न पश्न समेत यादवलाई सोधेका छन् ।

    ठाकुरले सर्वोच्च अदालतमा पार्टी निर्णय विपरित रिट लिएर गएकोमा समेत स्पष्टीकरण मागेका छन् ।                 

  • जसपाको कार्यकारी अधिकार उपेन्द्र यादवलाई, ठाकुर लगायत चार नेतालाई स्पष्टीकरण साध्ने निर्णय

    जसपाको कार्यकारी अधिकार उपेन्द्र यादवलाई, ठाकुर लगायत चार नेतालाई स्पष्टीकरण साध्ने निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ।

    दुई दिन बसी आइतबार सकिएको जसपाको कार्यकारिणी समितिको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ।’

    जसपामा दुई अध्यक्ष छन् । यसअघि महन्थ ठाकुरले यस्तो अधिकार प्रयोग गर्दै आएका थिए। त्यस्तै जसपाले ठाकुर लगायत पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

    ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी समेत बैठकले दिएको छ। संसदीय दलको नेतामा महतो चयन भएको विषयलाई पनि बैठकले अस्वीकार गरेको छ।

    त्यस्तै सरकारसँग वार्ता गर्न बनेको कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको प्रति समेत आपत्ति जनाएको छ।

  • महन्थ-उपेन्द्र टकरावमा राजेन्द्रको इन्ट्री, जसपा विवाद अब त्रिपक्षीय

    महन्थ-उपेन्द्र टकरावमा राजेन्द्रको इन्ट्री, जसपा विवाद अब त्रिपक्षीय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद समाधानका लागि गरिएको प्रयत्न केही घण्टा नबित्दै असफल भएको छ । विवाद समाधानको संकेत गर्दै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले गरेको संयुक्त वक्तव्यविरुद्ध वरिष्ठ नेता राजेन्द्र महतो पक्षले आजै कदम चालेको छ ।

    महतोकै निर्देशनमा संसद सचिवालयमा पुरानो मितिमा तयार भएको पत्र दर्ता गराइएको छ । अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित सो पत्रमा वैशाख ३० गतेको संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेतामा निर्वाचित गरेको व्यहोरा उल्लेख छ । जसपाका नेताहरूले पार्टीभित्र जारी दुई लाइन संघर्षमा ‘तेस्रो धार’ को इन्ट्री भएको बताएका छन् ।

    पढ्नुहोस्: संसद सचिवालयमा महन्थको पत्र- जसपा संसदीय दलको नेता महतो

    अध्यक्ष यादवनिकट सांसद रामबाबु यादवले पार्टीलाई एकतावद्ध बनाउने प्रयासविरुद्ध संसद सचिवालयमा फर्जी चिठी पठाइएको दावी गरे । ‘महन्थ ठाकुर र उपेन्द्र महतोले विवाद समाधान गर्ने भए भनेर राजेन्द्रजीले गुटबन्दी गर्नुभएको हो । उहाँको दाउ परास्त हुन्छ’,यादवले नेपाल प्रेससँग भने । संसदीय दलको नेता चयनको निर्णय कुनै हालतमा स्वीकार नहुने उनको भनाइ छ ।

    अध्यक्ष ठाकुरनिकट केन्द्रीय सदस्य डा.सुरेन्द्र झाले भने पार्टीभित्र असहज परिस्थितिमा भएका असहज निर्णयहरूबारे संवादबाटै समाधान हुने बताए । ‘संयुक्त वक्तव्यबाट विवाद मिलाउने प्रयासमात्रै भएको हो । सबै विवाद मिलिसकेको छैन । विवाद मिल्नै बाँकी छ भने केही विवादहरु आउनु ठूलो कुरा होइन’, झाले नेपाल प्रेससँग भने । संसदीय दलको नेता चयनको निर्णय संसदीय दलकै बहुमतबाट भएको भन्दै झाले त्यो निर्णय नमान्ने भए विगतदेखिका निर्णयहरु समेत प्रभावित हुने बताए ।

    आज दुई अध्यक्षको संयुक्त वक्तव्यमार्फत जसपाले सरकारमा नजाने, आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अग्रसरता लिने र कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको थियो । त्यसको केहीबेरमै महतोनिकट नेताहरूले संसद सचिवालय पुगेर ठाकुरको हस्ताक्षरमा यसअघि नै तयार भएको पत्रमा मिति सच्याएर दर्ता गराएका थिए । त्यसलगत्तै अध्यक्ष यादवले पनि आजै संसदीय दलको नेता चयन नभएको जानकारी दिँदै संसद सचिवालयमा पत्र बुझाएका छन् । यी घटनाक्रमबाट जसपाको आन्तरिक राजनीतिक अझ जटिल बनेको छ ।

    जसपा नेता डम्बर खतिवडा पार्टीभित्र फुटपरस्त शक्ति हावी हुन खोजेको बताउँछन् । सहमतिका लागि प्रयास भइरहँदा संसद सचिवालयमा पत्र पठाइनु गलत भएको उनले बताए । ‘हामी लचिलो भएर संवाद गरिरहेका छौं तर पार्टीभित्र एक पक्षले विभाजनलाई मद्दत पुग्नेगरी काम गर्न खोजेको छ । कार्यकारिणी बैठकले विभाजन चाहनेहरुको विरुद्धमा निर्णय लिनेछ’, खतिवडाले भने ।

    जसपामा पार्टी एकताकै समयमा महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको सो पक्षको दावी छ । वैकल्पिक सरकार गठनका विषयमा साझा मत नबनेको बेला ठाकुर पक्षको समर्थनमा महतो संसदीय दलको नेता चयन भएका थिए । ‘यो पार्टीमा सबैको हिस्सेदारी छ । पार्टी एकतादेखि नै महतोजीको भूमिका मिनिमाइज गर्न खोजियो । अब हामीलाई त्यो मान्ने छैन । उहाँ नै संसदीय दलको नेता हो’, महतोनिकट एक नेताले भने ।

    मंगलबारको घटनाक्रमले जसपाभित्र एकताको सम्भावना थप जटिल बनेको गएको नेताहरु स्वीकार्छन् । जेठ ८ र ९ गतेलाई बोलाइएको कार्यकारिणी समितिको बैठकले नै एकता वा विभाजनबारे निर्णय दिनसक्ने बताइन्छ ।

  • महन्थको पत्रलाई उपेन्द्रको काउन्टर- दलको नेता महतो चयन भएका छैनन्

    महन्थको पत्रलाई उपेन्द्रको काउन्टर- दलको नेता महतो चयन भएका छैनन्

    काठमाडौं । संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेको कागजको मसी सुक्न नपाउँदै जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवको सहमति भाँडिएको छ ।

    महन्थ ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै उपेन्द्रले काउन्टरपत्र पठाएका छन् । उनले हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताएका छन् ।

    कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् । यादवले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन भनेका छन् ।

  • प्रधानमन्त्रीलाई पुनः शपथ गराउन जसपाको माग

    प्रधानमन्त्रीलाई पुनः शपथ गराउन जसपाको माग

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ ।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको शपथका क्रममा भएको घटनाले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादामा असर पुगेकोले पुनः शपथ गराउन माग गरेका हुन् ।

    ‘प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गराउन हाम्रो पार्टी माग गर्दछ’, यादवले विज्ञप्तीमार्फत भनेका छन् ।

    विज्ञप्तीमा हालै गरिएको राजदूतहरुको नियुक्तिमा संविधानले सुनिश्चित गरेको समावेशिताको सिद्धान्त अस्वीकार गरिएको आरोप समेत छ । राजदूत नियुक्ति सच्याएर समावेशी मान्यता र मापदण्डका आधारमा नियुक्ति गर्न यादवको माग छ ।

    कोरोनाको दोस्रो लहरको बढ्दो प्रभावले नेपाली जनता आक्रान्त भएको भन्दै आवश्यक स्वास्थ्य जनशक्ति, बेड, अक्सिजन, आइसीयु, भेन्टिलेटर र औषधीको यथाशीघ्र व्यवस्था गर्न समेत जसपा अध्यक्ष यादवले माग गरेका छन् ।

  • जसपामा विवाद बढेपछि महन्थ र उपेन्द्रबीच वार्ता हुँदै

    जसपामा विवाद बढेपछि महन्थ र उपेन्द्रबीच वार्ता हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा सम्भावित विभाजन रोक्न आज दुईपक्षीय वार्ता हुँदैछ ।

    एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाभित्र वैकल्पिक सरकार गठनको विषयमा देखिएको मतभेद चुलिँदो छ । विवादकै बीच अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता हुन लागेको हो ।

    भेटमा पार्टीभित्रका समस्या समाधानको बाटो पहिल्याउने वा अलग-अलग बाटो तय गर्ने भन्नेमा छलफल हुनेछ । ‘पार्टीभित्र विवाद भएको कुरा लुकेको छैन । अध्यक्षहरू बसेर समाधन खोज्नुहुन्छ होला । मिल्ने अवस्था रहेन भने छुट्टिन के भो र ?’, जसपाका एक नेताले भने ।

    ठाकुर पक्षले हालै राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । यादव पक्षले भने संसदीय दलको एकीकरण भइनसकेको र विधान पनि नबनेकोले नेता चयन अवैध भएको दावी गर्दै आएको छ ।

    शनिबार यादव पक्षको कार्यकारिणी समितिको बैठक बसेको छ । शनिबारको बैठक जसपाको आधिकारिक नभएको भन्दै ठाकुरले विज्ञप्ति नै जारी गरेका थिए । यादव पक्षले पनि बैठकपछि विज्ञप्ति जारी गरेर दलको नेता चयन नभएको जनाएको थियो । विज्ञप्ति प्रकरणपछि दुवै अध्यक्षबीच आज एक बजे वार्ता हुन लागेको हो ।

  • बाबुराम-उपेन्द्र पक्षीय जसपाको बैठक बोलाइयो

    बाबुराम-उपेन्द्र पक्षीय जसपाको बैठक बोलाइयो

    काठमाडौं । जनता समाजवादी पार्टी औपचारिक विभाजनको दिशामा अघि बढेको छ । महन्थ ठाकुर पक्षले बहुमत सांसदको उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको भोलिपल्टै उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।

    दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकले महन्थ पक्षमाथि कारवाहीको प्रस्ताव गर्ने सम्भावना रहेको एक नेताले बताए । जसपाको ५२ सदस्यीय कार्यकारिणी समितिमा दुवै पक्षले बहुमत दावी गरेका छन् ।

    केपी ओली सकारलाई विश्वासको मत दिने सन्दर्भमा जसपा विभाजित भएको थियो । महन्थ ठाकुर पक्ष तटस्थ रहँदा बाबुराम उपेन्द्र पक्षले विपक्षमा मतदान गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेपछि उपेन्द्र यादवले वैकल्पिक सरकारका लागि कांग्रेस सभापति शेरवहादुर देउवालाई समर्थन गरेका थिए ।

    तर महन्थ ठाकुरले जसपा वैकल्पिक सरकारको पक्षमा नरहेको भन्दै राष्ट्रपतिलाई लिखित जानकारी दिएपछि विपक्षी गठबन्धनले वहुमत जुटाउन नसक्दा ओली नै प्रधानमन्त्री बन्ने स्थिति निर्माण भएको थियो । अहिले पनि जसपाको महन्थ ठाकुर पक्ष ओलीलाई सघाउने पक्षमा छ ।

  • महन्थजीले बाटो बिराउनुभयो : उपेन्द्र यादव (भिडियो)

    महन्थजीले बाटो बिराउनुभयो : उपेन्द्र यादव (भिडियो)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले अनिश्चयको बाटो हिँडेको बताएका छन् ।

    संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले जसपाभित्र दुई पक्षको बाटो फरक परेको नभई ठाकुर पक्षले बाटो बिराएको दावी गरे । ‘उहाँ र हामीबीच बाटो फरक परेको होइन । उहाँहरू अनिश्चयको बाटोमा हिँड्नुभएको हो । त्यो बाटोबाट मुलुकलाई कहाँ पुर्‍याउने हो उहाँहरूलाई नै थाहा छैन’, यादवले भने ।

    वैकल्पिक सरकार गठन हुँदा नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य जसरी पनि संसद भङ्ग गर्नु रहेको आरोप लगाए । ‘उहाँको छाँटकाँट र बोलीवचन हेर्दा जसरी पनि संसद भङ्ग गरेर लोकतन्त्र र संविधानलाई क्षति पुर्‍याउनेतर्फ अग्रसर भएको देखिन्छ’, यादवले भने ।

    उनले जनता कोरोनाको महामारीमा तड्पिएको बेला भएको संसद भंग गरेर चुनावमा जानु गलत हुने समेत बताए ।

  • जलेश्वरदेखि डोलेश्वरसम्म : एक वर्षपछि यसरी टुंगियो महेश टिमको मिसन

    जलेश्वरदेखि डोलेश्वरसम्म : एक वर्षपछि यसरी टुंगियो महेश टिमको मिसन

    काठमाडौं । ठिक एक वर्षअघि पनि यो बेला मुलुकमा लकडाउन थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा चरम विवाद भइरहेको थियो ।

    नेकपा विभाजनका लागि ओलीले अध्यादेश ल्याएको आरोप प्रचण्ड-माधव पक्षले लगाइरहेका बेला तत्कालीन संघीय समाजवादी पार्टीका सांसदलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लाग्यो नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनाललाई ।

    मेरियट होटलबाट डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले यादवलाई उठाएर घरमा लगे । यादवले दिनमा दुईपटक बोली फेरे । आफू राजीखुसी आएको र कसैले अपहरण नगरेको उनको बयानपछि पनि अपहरणकाण्ड सेलाएन । महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध जिल्ला अदालतमा अपहरणको मुद्दा पनि दायर भयो । जलेश्वरमा मुद्दा लिन नमानेपछि काठमाडौंमा लगाइएको थियो ।

    समाजवादी पार्टीबाट फुट्न चाहने सांसदहरूको लागि ओलीले ल्याएको अध्यादेश त फिर्ता भयो तर त्यही प्रकरणबाट शुरू भएको मधेशवादी दलका नेताहरूसँगको चिनजान महेश बस्नेतहरूले भने दोस्तीमा परिणत गरे ।

    सरकारले अध्यादेश ल्याएपछि रातारात मिलेका समाजवादी र राजपाका नेताहरू अहिले पुनः विभाजनको डिलमा पुग्दा फेरि महेश बस्नेत चर्चामा छन् । प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनको बहुमत पुग्न नदिन जसपाको महन्थ ठाकुर पक्षका सांसदलाई सुरक्षित गर्ने सेल्टर महेश बस्नेतले नै मिलाएपछि एक वर्षअघिको कनेक्सन सफल भएको छ ।

    उपेन्द्र-बाबुराम पक्षले सांसदहरूलाई घर घरबाट उठाउँदै लुकाउन थालेपछि जसपाका नेताहरूले आफ्ना सांसदलाई सुरक्षित रूपमा एकै ठाउँमा राख्न खोजे । यसक्रममा प्रधानमन्त्रीको तर्फबाट पनि महेश बस्नेतहरूसँग समन्वय गर्नु भनेर पहिलेदेखिनै भनेकाले जसपा नेताहरूलाई बस्नेतले डोलेश्वर रिसोर्टको व्यवस्थापन गरेको बताइन्छ ।

    जसपाका सांसदहरूसँग अघिल्लो वर्षदेखि नै दोस्ती बढाएका महेश बस्नेत, निरु पाल र किसान श्रेष्ठले उपेन्द्र यादवतिरका कतिपय सांसदलाई ठाकुरका पक्षमा उभ्याउन समेत पहल गरेको बताइन्छ । जसपाका नेताहरूसँग राजनीतिक रूपमा प्रधानमन्त्रीको तर्फबाट गोकुल बास्कोटासमेत संवादमा थिए ।

    यी नेताहरूले महन्थ राजेन्द्र महतोसँग कन्भिन्स हुन नसकेका कतिपय सांसदलाई व्यक्तिगत रूपमा बालुवाटार पुर्‍याएर प्रधानमन्त्रीसँग भेट गराएका थिए । प्रधानमन्त्रीले कुनै पनि अनुचित हर्कत गरेर सांसद आफ्नो पक्षमा पार्दिन भनेकाले उनीहरूले भनेका ठाउँमा बजेट पार्ने, योजनाहरू पार्नेजस्ता काम भने भएका छन् ।

    संसदमा विश्वासको मतका बेलासम्म जसपाका सांसद ठाकुर पक्षमा १५ र उपेन्द्रको पक्षमा १५ जना उभिएका थिए । लक्ष्मणलाल कर्ण कोभिडका कारण अनुपस्थित थिए भने रुही नाज पनि उपस्थित भइनन् । उनलाई बाबुराम भट्टराईका पारिवारिक नातेदारको घरमा राखिएको र त्यहाँबाट मुक्त गरेर महेश बस्नेतले मिलाएको डोलेश्वर रिसोर्टमा लगिएको दावी ठाकुर पक्षको छ ।

    त्यस्तै चन्द्रकान्त चौधरीलाई पनि रामबाबु यादवले गाडीमा हालेर लगेपछि छोराले अपहरण मुद्दा लगाउँछु भन्ने चेतावनी दिए । अपहरण मुद्दामा महेश बस्नेतहरूले छोरालाई साथ दिएपछि बाटोबाटै चन्द्रकान्त पनि डोलेश्वर पुर्‍याइएका थिए । यसरी जसपामा ठाकुर पक्षका १८ जना सांसद पुगे । कल्लु विकलाई भने उपेन्द्र पक्षले लुकाएर राखेको आरोप ठाकुर पक्षको छ ।

    सांसदहरूलाई सुरक्षित गरेर ठाकुरको पक्षमा २३ जना पुर्‍याउने र उपेन्द्र यादवलाई पार्टी फुटाउन ४० प्रतिशत पुग्न नदिन महेश बस्नेतहरू सक्रिय भएका छन् । यो सम्बन्ध आगामी निर्वाचनसम्म जाने र मधेशमा एमाले तथा जसपाको महन्थ पक्षबीच गठबन्धन गर्ने तथा कतिपय जसपा सांसद सूर्य चिन्हबाटै चुनाव लड्नेसम्मको कुरा अघि बढेको बताइन्छ ।

    यसबीचमा डा. बाबुराम भट्टराईले दुईपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । भेटका कुरा बाहिर नआए पनि उनी आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्थे । त्यो सम्भव नभएपछि राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव उनले राखेका हुन् ।

    ओलीले बाबुरामसँग अघिल्ला वर्ष आफूमाथि सांसद अपहरणको आरोप लगाएकामा असन्तुष्टि जनाएका थिए । स्रोतका अनुसार बाबुरामले त्यो बेला अपहरण नभएर राजनीतिक मुद्दामात्र बनाइएको भन्दै त्यो गलत नै भएको स्वीकार गरेका थिए ।

    तर, त्यही प्रकरणबाट महेश बस्नेतलाई भने जसपाका नेताहरूसँग नजिकिन सजिलो भयो । यसबीचमा सांसदहरूलाई प्रधानमन्त्रीसँग भेटाउनेदेखि महन्थ, राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताहरूसँग बाक्लो भेटघाट हुन थाल्यो ।

    यी सबै घटनाक्रममा जेलभित्रबाटै जसपा सांसद रेशमलाल चौधरीको पनि सक्रिय भूमिका रहेको थियो । उनी शुरूदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोलाई केपी ओलीसँगै मिल्न दबाब दिइरहेका थिए । एमाले सम्बद्ध अनेरास्ववियूबाट राजनीति गरेका चौधरीका बुबा एमालेबाटै प्रदेशसभाको उम्मेदवार पनि बनेका थिए ।

    नयाँ सरकार गठनको खेल शुरू भएपछि मुद्दा फिर्ता लगायतका प्रक्रियामा ओली र महन्थ पक्षले कार्यदल बनाउनुअघि रेशमलाई महेश बस्नेतले जेलमै गएर भेटेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा गएका बस्नेतले चौधरीसँग भेटेपछि उनी सीधै धनगढी गएका थिए । त्यसको केही दिनमा सकारसँग ठाकुर पक्षको अनौपचारिक सहमति भयो र मुद्दाहरू फिर्ता भए ।

    डोलेश्वर नै किन ?

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा अवस्थित डोलेश्वर रिसोर्टमा जसपाका केही सांसद तीन दिनदेखि नै बसेका थिए । विशेष गरी उपेन्द्र यादवको दबाब थेग्न नसक्ने सांसदलाई सुरक्षित राख्ने ठाउँ चाहियो भनेपछि बस्नेतले सो रिसोर्ट व्यवस्था गरेका थिए ।

    त्यसपछि बिहीबार महन्थ पक्षमा लागेका सबै सांसदलाई प्रधानमन्त्रीमा केपी ओली नियुक्त हुन्जेल राखिएको थियो । सो रिसोर्ट व्यवस्थापनमा सूर्यविनायक नगरपालिकका मेयर वासुदेव थापा र सोही वडाका वडाध्यक्ष किरण थापालगायतका सक्रिय थिए ।

    डोलेश्वर रिसोर्ट नै रोज्नुको कारण भने सो वडा एमालेको दुई तिहाई शक्ति भएको र सुरक्षका हिसाबले पनि पार्टी कार्यकर्ता नै खटिने भएकाले रोजिएको थापाले बताए । रिसोर्ट पनि मलेसियाबाट फर्केका एमालेनिकट युवाहरूले संचालन गरेका हुन् ।

  • महन्थसहित जसपाका १९ सांसद भक्तपुरको होटलमा, उपेन्द्रलाई ४० प्रतिशत पुग्न नदिने प्रयास

    महन्थसहित जसपाका १९ सांसद भक्तपुरको होटलमा, उपेन्द्रलाई ४० प्रतिशत पुग्न नदिने प्रयास

    काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरूको भेला भक्तपुरको एक होटलमा शुरू भएको छ । भेलामा १९ जना प्रतिनिधिसभा सदस्य सहभागी भएको दावी ठाकुर पक्षले गरेको छ ।

    उपेन्द्र यादव पक्षले सांसदहरूलाई घर-घरमा गएर दबाब दिन थालेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयभित्र एकै ठाउँमा रहने गरी भक्तपुरको होटलमा बोलाइएको ठाकुरनिकट एक नेताले बताए ।

    होटलमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झासहितका शीर्ष नेताहरू समेत पुगेका छन् । सांसदको संख्या अझै बढ्ने र उपेन्द्र पक्षलाई अर्को दल दर्ता गर्न ४० प्रतिशत पुग्न नदिने प्रयास भइरहेको नेताहरूले बताएका छन् ।

    जसपाका ३४ मध्ये हाल ३२ सांसद छन् । यादव पक्षमा १३ सांसद पुग्न नदिने प्रयास भइरहेको ठाकुरनिकट स्रोतले जनाएको छ । विश्वासको मत दिने बेला अनुपस्थित भएकी रुही नाज समेत ठाकुर पक्षमा लागेकी छन् ।

    ठाकुर पक्षमा ठाकुर र राजेन्द्र महतोसहित हाल १९ सांसद देखिएका छन् ।

  • संसदमा जसपाको दुई लाइन : ठाकुर तटस्थ, विपक्षमा यादव (भिडियो)

    संसदमा जसपाको दुई लाइन : ठाकुर तटस्थ, विपक्षमा यादव (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद प्रतिनिधिसभा बैठकमै प्रस्तुत भएको छ ।

    जसपा अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टी विश्वासको मत दिने वा नदिने दुवै पक्षमा नउभिने बताए । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताए । ‘विश्वासको पक्षमा मत दिन सक्दैनौं, विपक्षमा मतदान गर्छौं ।’

    जसपाले विश्वासको मत सम्बन्धी प्रस्तावबारे हुने मतविभाजनमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो ।

    प्रतिनिधिसभाको बैठकमा भने दुवै अध्यक्षको फरक-फरक धारणा व्यक्त भएको हो । यसबाट ठाकुर पक्षका सांसदहरू तटस्थ रहने र यादव पक्षका सांसदहरूले विश्वासको मतको विपक्षमा मत दिने सम्भावना बढेको छ ।

  • उपेन्द्र यादवको प्रश्न- संसदलाई विश्वास नगर्ने प्रधानमन्त्रीलाई संसदले किन विश्वास गर्ने ?(भिडियाे)

    उपेन्द्र यादवको प्रश्न- संसदलाई विश्वास नगर्ने प्रधानमन्त्रीलाई संसदले किन विश्वास गर्ने ?(भिडियाे)

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्नु नै गलत भएको बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यादवले विगतमा आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्नु प्रधानमन्त्रीको कमजोरी भएको बताए ।

    ‘प्रधानमन्त्रीले सहमति गर्नुहुन्छ तर कार्यान्वयन नगरी विश्वासघात गर्नुहुन्छ । जुन संसदलाई असंवैधानिक ढंगले विघटन गर्नुभयो त्यही संसदमा विश्वासको मत माग्दै हुनुहुन्छ । जुन संसदमा तपाईको आफ्नै विश्वास छैन त्यो संसदले तपाईलाई किन विश्वासको मत दिने ?’, यादवले प्रश्न गरे ।

    प्रधानमन्त्री ओलीले मधेसका जनताप्रति अपमान गरेको र विगतमा गरेका सहमति कार्यान्वयन नगरेको यादवले आरोप लगाए ।

    ‘हिजो मधेस आन्दोलनमा मधेसी जनता मारिँदा २-४ आँप झरेर केही हुँदैन भन्ने प्रधानमन्त्रीले अहिले त्यही आँप खुवाएर मधेसीलाई फकाउन खोज्नुभएको छ’, यादवले भने । संसदीय मूल्य मान्यताविपरीत अध्यादेशका भरमा शासन गर्न खोजेकोले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए ।

    ध्यान दिनुपर्थ्यो कोरोनातिर, ध्यान गयो अयोध्यातिर

    यादवले सरकारको ध्यान कोरोनातिर नगएको अरोप लगाएका छन् । सम्बोधनको क्रममा उनले भने ‘सरकारले ध्यान दिनुपर्थ्यो कोरोनातिर, तर, ध्यान गयो अयोध्यातिर । के अध्योध्याले कोरोना ठिक हुन्छ ?’

    व्यंग्य गर्दै यसबारे उनले थप भनाइ राखे, ‘म त आफ्नो क्षेत्रमा बन्न लागेकाले प्रचण्ड खुसी हुनुहुन्छ भन्ने सोचेको उहाँ पनि खुसी पाइनँ ।’

    यादवले संघीयाता मास्न खोजेको आरोप प्रधानमन्त्रीलाई लगाए। ‘संघीयतालाई समाप्त पार्ने,’ यादवले भने, ‘सबैभन्दा न्यून समावेशिता यही तीन वर्षमा भएको छ। नभए अहिलेसम्म भएका नियुक्ति हेर्दा हुन्छ ।’

  • महन्थ ठाकुरलाई थाहै नदिई बसेको जसपा बैठकमा क-कसले गरे हस्ताक्षर ?

    महन्थ ठाकुरलाई थाहै नदिई बसेको जसपा बैठकमा क-कसले गरे हस्ताक्षर ?

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षलाई थाहै नदिई केन्द्रीय कार्यकारिणी समिति बैठकको माइन्यूट तयार पारेको खुलासा भएको छ ।

    लुम्बिनी प्रदेशसभाका चारजना सांसदलाई पदमुक्त गर्न भनी बाबुराम उपेन्द्र पक्षका नेता सहसराम यादवले प्रदेशसभा सचिवालयमा बुझाएको पत्रमा महन्थ पक्ष बाहेकका २६ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर भेटिएको छ ।

    ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका २६ जनालाई खाली कागजमा हस्ताक्षर गराएको जसपा स्रोतले जनाएको छ । महन्थ ठाकुरले निषेधाज्ञाको बेला कार्यकारिणी समिति बैठक बस्न नमानेपछि बाबुराम उपेन्द्र पक्षले बहुमत सदस्यको हस्ताक्षर जुटाएर कारवाही गरेको बताइएको छ ।

    सोही हस्ताक्षरलाई माइन्यूटमा परिणत गरी अनुशासनको कारवाही र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।

    जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक अहिलेसम्म नबसेको र बैठक बोलाउने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई रहेको बताएका छन् । उनले जसपाको नाममा गरिएको लुम्बिनीको कारवाही फर्जी भएको भन्दै त्यसले कानुनी मान्यता नपाउने बताए ।

  • जसपामा बैठक बोलाउनै विवाद, बाबुराम उपेन्द्रको प्रस्ताव महन्थ पक्षद्वारा अस्वीकार

    जसपामा बैठक बोलाउनै विवाद, बाबुराम उपेन्द्रको प्रस्ताव महन्थ पक्षद्वारा अस्वीकार

    काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) को कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै विवाद उत्पन्न भएको छ ।

    जसपाका शीर्ष नेताहरूको आजको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकारिणी समितिको बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए ।

    अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरूले भने कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने बताएका थिए । बैठक बस्ने विषयमा विवाद भएपछि शीर्ष नेताहरू कुनै निष्कर्षमा पुगेनन् । ‘कार्यकारिणीको बैठक बोलाउने विषयमा सहमति जुटेन । शीर्ष नेताहरूबीच नै फेरि छलफल गर्ने कुरा भएको छ’, बैठकमा सहभागी एक नेताले भने ।

    जसपाभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन् । ठाकुर, महतोलगायतका नेताहरू भने पार्टीले अघि सारेका मागहरू पूरा गर्न ध्यान दिनुपर्ने र अहिले नै ओली सरकारको विकल्प खोज्न नहुने पक्षमा छन् । जसपाले आधिकारिक निर्णय नलिएकै कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन निर्माणले सार्थकता पाउन सकेको छैन ।

  • संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमा शंका उत्पन्न हुन थाल्योः उपेन्द्र यादव

    संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमा शंका उत्पन्न हुन थाल्योः उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो संघर्षपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमा शंका उत्पन्न भएको बताएका छन् ।

    संघर्ष त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न राष्ट्रिय एकताको आवश्यकतामा उनले जोड दिए ।

    रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि जनताले वास्तवमा ठूलो आशा गरेका थिए । अब देश राजनीतिकरूपले संस्थागत भएर जान्छ भन्ने । तर, अहिले अर्कै अवस्था छ ।’

    उनले अब आइन्दा आफ्ना परिपत्रहरूमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने सरकारले निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

    ‘प्रधानमन्त्रीजी यहीँ हुनु हुन्छ, मलाई मन्त्रिपरिषद्को यस्तो निर्णय सुन्दा दुख लागेको छ । यो गणतन्त्रको भविष्यमा चारैतिरबाट आशंका उत्पन्न भइरहेको छ,’ यादवले भने ।

  • यो सरकारसँग सती जाँदैनौं, लगनगाँठो पनि कस्दैनौं : उपेन्द्र यादव

    यो सरकारसँग सती जाँदैनौं, लगनगाँठो पनि कस्दैनौं : उपेन्द्र यादव

    रुपन्देही । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनमात्रै अहिलेको राजनीतिक निकास भएको दाबी गरेका छन् ।

    प्रेस मञ्च नेपालले आज बुटवल गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशी नचाहने सरकार पूर्णरूपमा असफल भएकाले यसको विकल्प खोज्नुपर्ने बताए ।

    सत्तासमीकरणमा सरकारसँग सती जान नसक्ने र कुनै लगनगाँठो पनि नबाँध्ने उनको भनाइ थियो । अध्यक्ष यादवले भने, ‘सरकारले संसदलाई कामबिहिन बनायो । कुनै विजनेस दिएको छैन । संसद असफल बनाउने खेलमा लागेको छ । फेरि संसद विघटन गर्न सरकार लागि परेको छ ।

    पार्टीका राजबन्दी रिहाइका लागि सरकारसँग वार्ता भइरहेको विषयलाई सत्ता साझेदारीका रुपमा व्याख्या गरिएको उनको टिप्पणी छ ।

    ‘रेशम चौधरीको रिहाइ भनेको राजबन्दीसम्बन्धी मुद्दा हो उनको रिहाइ हुनुपर्छ, तर सरकारले उनको रिहाइलाई सत्ता साझेदारीको शर्तका रूपमा व्याख्या गरेर भ्रम सिर्जना गरेको छ । जसपा उक्त मुद्दालाई सत्ताको भर्‍याङ बनाउँदैन,’ यादवले भने, ‘राजनीतिक अभियोग र राजनीति फरक कुरा हो ।’

    पछिल्लो समय सत्ता समीकरणबारे जसपाभित्रका केही व्यक्ति लागे पनि ती असफल हुने यादवले बताए । उनले भने, ‘जसपाको स्पष्ट लाइन हो, वर्तमान सरकारसँग कुनै सहकार्य, साझेदारी हुँदैन ।’

  • लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    जनकपुरधाम । जनता समाजवादी पार्टीका एक प्रमुख नेता  उपेन्द्र यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने प्रस्ताव राखेका छन् ।

    तत्कालीन संघीय समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका राउतलाई हटाउने उपेन्द्रको प्रस्तावले जसपामा नयाँ बहस सिर्जना गरेको छ ।

    यादवले नै मुख्यमन्त्री बनाएका राउतलाई हटाउने कुरा बाबुराम भट्टराईले अहिले रोकेका छन् । भट्टराईले मुख्यमन्त्री परिवर्तन गर्ने हो भने पनि पहिले पार्टी र सरकारको नेतृत्व टुंगो लगाउनुपर्ने भनेर ‘होल्ड’ गरेको उनीनिकट स्रोतले जनाएको छ ।

    स्रोतले भन्यो, ‘उपेन्द्रजीले मुख्यमन्त्री परिवर्तन गर्ने प्रस्ताव पहिले नै राख्नुभएको हो । बाबुरामले प्रदेशमा पार्टीको नेतृत्व साविक जसपा र समाजवादीमध्ये एउटाले गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने मोडालिटीमा सहमति गरौं भनेर रोकिएको हो ।’

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएको ९ महिना बितिसक्दा पनि प्रदेश २ मा जसपाको संसदीय दलको नेता चयन गरिएको छैन । मुख्यमन्त्री राउत अहिले पनि तत्कालीन समाजवादी पार्टीको दलको नेताको हैसियतमा छन् ।

    दलको नेता चयन प्रक्रियामै विवाद भएकाले मुख्यमन्त्री फेर्ने उपेन्द्रको प्रयासले मूर्तरूप भने पाएको छैन । प्रतिनिधिसभा विघटनपछि पार्टी आन्दोलनमा केन्द्रित रहेकाले दलको नेता चयनमा ढिलाइ भएको जसपाका सांसद विन्देश्वर यादवले बताए ।

    नेपालप्रेससँग कुरा गर्दै यादवले भने, ‘मुख्यमन्त्रीले जनताको अपेक्षा बमोजिम काम गर्न सकेका छैनन् उनलाई हटाउनुपर्छ भन्ने कुरा हो । तर, संसद विघटनका कारण प्राप्त उपलब्धि नै गुम्ने खतरा बढेको छ । पहिले यसलाई बचाउनुपर्छ । त्यसैले यसतर्फ केन्द्रित भएपछि मुख्यमन्त्री फेर्नुपर्ने छलफल पनि बन्द भएको हो ।’

    दलको नेता राउत नै बन्न सकेनन् भने मुख्यमन्त्री फेरिने निश्चित छ । संसदीय दलको नेता चयन गर्नका लागि पार्टीले पाँच सदस्यीय समिति समेत बनाएको छ । समितिमा सांसदहरू मनिष सुमन, रामाशिष यादव, रानी शर्मा तिवारी, उपेन्द्र महतो र परमेश्वर साह छन् । समितिलाई विधान बनाउन जिम्मेवारी तोकिएको थियो ।

    तर, मनिष सुमनले एक्लै विधान बनाएर मुख्यमन्त्री राउतलाई बुझाए । समितिमा रहेका अन्य चार सांसदसँग सल्लाहसमेत नगरी सुमन एक्लैले विधान बनाएपछि समिति निस्क्रिय रहेको समितिका सदस्य रामाशिषले बताए ।

    पार्टी एकता भए पनि प्रदेशसभामा अहिले राजपा र समाजवादी अलग-अलग दल अस्तित्वमा छन् । १०-१५ दिनपछि दलको नेता चयन प्रक्रिया शुरू हुने मनिष सुमनले बताए ।

    संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सांसद मनिष सुमनलगायतको नाम चर्चामा छ ।

    मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टी र मन्त्री सोनल तत्कालीन राजपाका संसदीय दलका नेता हुन् । उपेन्द्रले भने राउतलाई हटाएर विजय यादवलाई मुख्यमन्त्री बनाउन चाहेका छन् ।

    राउत पार्टीभित्रको पछिल्लो विवादमा इस्तियाक राई पक्षमा लागेको बुझाइ उपेन्द्रको छ । रेणु यादव, इस्तियाक राईलगायतका नेताहरूले गत वैशाखमा समाजवादी पार्टी फुटाएर अलग दल दर्ता गर्न खोजेका थिए ।

    त्यसका लागि सहज बनाउन प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेशसमेत ल्याएका थिए । तर, चौतर्फी विरोधपछि अध्यादेश फिर्ता भएर सांसदको संख्या समेत गडबड भएपछि उनीहरूको प्रयास असफल भएको थियो ।

  • जसपामा मर्यादाक्रमको लफडा, उपेन्द्र यादवलाई कालोझण्डा देखाउने चेतावनी (अडियोसहित)

    जसपामा मर्यादाक्रमको लफडा, उपेन्द्र यादवलाई कालोझण्डा देखाउने चेतावनी (अडियोसहित)

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले संसद् विघटनविरुद्ध सिरहामा गर्न लागेको सभा विवादित बनेको छ । आन्दोलनको घोषणा गर्दा सभामा सहभागी हुने नेताको नाम मर्यादाक्रम मिचेर राखेपछि विवाद उत्पन्न भएको हो ।

    जसपाले जनप्रदर्शन एवम् विरोध सम्बन्धी कार्यक्रमका लागि जारी गरेको परिपत्रमा माघ ३ मा सिरहामा हुने प्रदर्शन तथा सभामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव र राजकिशोर यादव सहभागी हुने उल्लेख छ । परिपत्र गर्दा मर्यादाक्रम मिचेर आफ्नो नाम सबभन्दा तल राखेकोमा नेता राजकिशोर यादवले असन्तुष्टी पोखेका छन् । उनले कार्यक्रम नै बहिष्कार गर्ने बुझिएको छ ।

    अहिले सिरहामा जताततै मर्यादाक्रमबारे अनेक टिकाटिप्पणी भइरहेका बेला राजकिशोर निकट नेता राजाराम यादव र जसपा अध्यक्ष उपेन्द्र यादवसँग फोनमा चर्काचर्की भएको अडियो सार्वजनिक भएको छ ।

    अडियोमा उपेन्द्र यादव परिपत्रमा मर्यादाक्रम अनुसार नाम नलेखेको बताउँछन् । तर, नेता राजाराम त्यो नसच्याए एउटा समूह (राजकिशोरका समर्थक) कार्यक्रममा सहभागी नहुने भन्छन् । त्यसपछि उपेन्द्र यादवले रिसाएर ‘ओलीको कार्यक्रममा जान र पार्टी छाडेर भाग्न’ भनेका छन् ।

    जवाफमा नेता राजारामले भनेका छन्,–तपाई डिक्टेटरशीप चलाउनुहुन्छ । अध्यक्ष हुनुहुन्छ भने के भयो ? तपाई आउनुस् सिरहा हामी पार्टीकै मान्छे कालो झण्डा देखाउँछौं ।’ उनले सिरहाको कार्यक्रम समेत राजकिशोरको समूहले बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

    राजकिशोर यादव तत्कालिन राजपाका अध्यक्ष मण्डल सदस्य थिए । पार्टी एकतापछि उनी रेणु यादवभन्दा पनि मर्यादाक्रममा अगाडी छन् । फोनमा भएको चर्काचर्कीले पार्टीको एकता प्रक्रियामा असर पर्ने देखिन्छ ।

    अडियो

  • सङ्घीयता र गणतन्त्र रक्षाका लागि लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक: अध्यक्ष यादव

    सङ्घीयता र गणतन्त्र रक्षाका लागि लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक: अध्यक्ष यादव

    पर्सा । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

    सङ्घीय प्रेस फोरम पर्साले आज वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको असंवैधानिक कदमका कारण सङ्घीयता र गणतन्त्र जस्ता प्राप्त उपलब्धि गुमिने खतरा उत्पन्न भएकाले वर्तमान राजनीतिक जटिलताबाट मुलुकलाई बाहिर निकालन सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको छ ।

    अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको फैसला लोकतन्त्रवादीको पक्षमा आउने र प्रतिनिधिसभा पुनस्र्थापित हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै वैशाख महिनामा कुनै पनि हालतमा निर्वाचन नहुने बताए । उनले प्रतिनिधिसभा विघटनको विषय विशुद्ध राजनीतिक भएकाले यसको निकास पनि राजनीति तवरले खोज्न जरुरी रहेको बताए।

    पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले नेपाल भारतबीच रहेका सबै विवाद र समस्याको निकास वार्ता र संवादबाटै खोजिनुपर्ने बताए ।

    जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य एंव नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापित गर्नेमा कुनै शङ्का नरहेको बताए । उनले नेपालमा देखापरेका ऐतिहासिक मुद्दाहरुमा सर्वोच्चले सधैँ लोकतन्त्र र जनताको पक्षमा फैसला गरेकाले प्रतिनिधिसभा पुनस्र्थापित हुनेमा कुनै शङ्का नरहेको प्रस्ट पारे ।

  • उपेन्द्र यादवको प्रस्ताव– संसद जिउँदैछ, बैठक बोलाऊ

    उपेन्द्र यादवको प्रस्ताव– संसद जिउँदैछ, बैठक बोलाऊ

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले पनि प्रतिनिधिसभा विघटन नभएको भन्दै बैठक बोलाउनुपर्ने प्रस्ताव गरेका छन् ।

    मंगलबार जसपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यादवले भने, ‘असंवैधानिक तरिकाले संसद विघटन हुँदैन, प्रतिनिधिसभा जिउँदैछ। सभामुखले बैठक बोलाएर कामकारबाही गर्न सक्नुहुन्छ।’

    उनले अल्पमतमा रहेका प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार समेत नभएको जिकिर गरे। ‘अल्पमतमा परिसकेको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार हुँदैन’ यादवले भने, ‘प्रधानमन्त्रीविरूद्ध ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर नै गरेका थिए। उहाँ अल्पमतमा परिसक्नुभएको अवस्थामा प्रतिनिधिसभा भंग गर्नुभयो। यसो गर्न मिल्दैन।’

    जसपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधव नेपाल पनि सहभागी थिए।

  • जसपा अध्यक्ष यादवको शंकाः ओलीले संघीयता खारेज गरेर संकटकाल लगाउँछन्

    जसपा अध्यक्ष यादवको शंकाः ओलीले संघीयता खारेज गरेर संकटकाल लगाउँछन्

    जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली राजा महाराजाकै बाटोमा लागेको टिप्पणी गरेका छन् । उनले ओलीको कार्यशैली महेन्द्रवादी, निरंकुशवादी र नश्लवादी भएको टिप्पणी गरेका हुन् ।

    जनकपुरमा आयोजित युवा नेतृत्व प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेशसभालाई समेत समाप्त पार्ने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘ओलीले संसद विघटन चुनाव गराउनका लागि गरेकै होइनन् । अब प्रदेशसभा पनि समाप्त पाछनर्् । त्यसपछि आन्दोलन हुन्छ, अनि संकटकाल लगाउँछन् । त्यसपछि सेनाले संविधान भंग गरेर अगाडि बढ्छ ।’

    ‘लामो आन्दोलनबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मौलिक हक जस्ता अधिकार ओलीले समाप्त पार्न खोजेका छन्’, उनले भने, ‘फेरि मुलुकलाई निरंकुश शासन प्रणालीतिर मुलुकलाई लैजान खोजिएको छ ।’

    पार्टीमा झगडा भयो भन्ने बहानामा ओलीले देशमै आगो लगाएको उनले बताए ।

    ओली र शेरबहादुर देउवाको एउटै बोली रहेको भन्दै उनले कांग्रेसले पनि लोकतन्त्रको रक्षा गर्न नसक्ने बताए ।

    ओमनी, वाइडबडी, नेपाल ट्रष्ट, बालुवाटार जमिन, टेलिकम, सुनलगायतका सबै काण्ड ओली सरकारकै पालामा किन भयो ? भन्ने प्रश्न गर्दै उनले भने, ‘भन्नलाई कम्यूनिष्ट । तर धन्दा र व्यवहार भ्रष्टतन्त्र भयो ।’