Tag: उपेन्द्र यादव

  • माओवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए मुलुक संघीय गणतान्त्रिक हुने थिएन: उपेन्द्र यादव (भिडिओ)

    माओवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए मुलुक संघीय गणतान्त्रिक हुने थिएन: उपेन्द्र यादव (भिडिओ)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुनुमा जनयुद्ध र मधेश विद्रोह कारक रहेको दाबी गरेका छन् ।

    आइतबार माओवादी केन्द्रको आठौं महाअधिवेशनलाई शुभकाना दिँदै उनले मुलुकमा अब गणतन्त्रबाहेक कुनै पनि तन्त्रको विकल्प नरहेको बताए ।

    ‘माओवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए यो मुलुक संघीय गणतन्त्र मुलुक हुने थिएन,’ उनले भने, ‘संवैधानिक राजतन्त्रमा रुमल्लिएर बस्ने थियो होला ।’

    जनयुद्धमा बेपत्ता भएका र मारिएकाले न्याय पाएको र उनीहरुले न्याया पाउनुपर्ने बताउँदै यादवले भने, ‘उत्पीडित, शोषित वर्गको न्याय, सम्मानका लागि यो महाधिवेशनले ठोस गति दिन सकोस् ।’

    यादवले संविधान परिमार्जन र संशोधन आवश्यक रहेको समेत बताए। ‘संविधान जारी हुँदाका बखत आधाले कालो दिवस मनाएका थिए,’ उनले भने, ‘केहीले बत्ती समेत बालेका थिए । संविधानको संशोधन र परिमार्जन अत्यन्त महत्वपूर्ण छ ।’

    कार्यक्रममा सहभागी एमाले महासचिव शंकर पोखरलप्रति कटाक्ष गर्दै संसद अवरुद्ध पार्ने हठ समेत त्याग्न आग्रह गरे। ‘अब संसदलाई केही प्राप्त हुनेवाला छैन,’ यादवले भने, ‘माधवजी संसदमा भएकाले संसद अवरोध गरेँ भन्नुहुन्छ । यस्ता किसिमका हठ त्यागौं ।’

  • उपेन्द्रको प्रस्ताव- निर्वाचन प्रणाली र शासकीय स्वरूप फेरौं (भिडिओ)

    उपेन्द्रको प्रस्ताव- निर्वाचन प्रणाली र शासकीय स्वरूप फेरौं (भिडिओ)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणाली र शासकीय स्वरूप फेर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकाना दिँदै यादवले यस्तो प्रस्ताव राखेका हुन् । उनले भने, ‘लोकतन्त्रका लागि फेरि जनताले आन्दोलन नगर्न संधिवानलाई अविलम्ब्न संशोधन गर्नुपर्छ । निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्छ ।’

    विगतमा मधेश आन्दोलनका बेला भएका सहमति कार्यान्वयन गर्न अब ढिला गर्न नहुनेमा उनको जोड छ ।

     

  • एमाले देश र जनताको पक्षमा उभियोस् : उपेन्द्र यादव (भिडिओ)

    एमाले देश र जनताको पक्षमा उभियोस् : उपेन्द्र यादव (भिडिओ)

    चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने बताएका छन् ।

    चितवनको नारायणी किनारमा एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै यादवले संविधानलाई अझ समावेशी र संघीयतालाई अझ प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने बताए ।

    ‘संविधानलाई अझ परिष्कृत बनाएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी मजबुत बनाउन आवश्यक छ । त्यसका लागि एमालेको महाधिवेशन देश र जनताको पक्षमा उभियोस्’, यादवले भने ।

  • संविधान संशोधन नभएकाले न्यायालयमा समस्या आयोः उपेन्द्र यादव (भिडिओ)

    संविधान संशोधन नभएकाले न्यायालयमा समस्या आयोः उपेन्द्र यादव (भिडिओ)

    काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा अहिलेको समस्या आएको बताए । उनले अब पनि संविधान संशोधन नगरी अघि बढ्न नसकिने भन्दै संविधान संशोधन हुनपर्नेमा जोड दिए ।

    उनले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने विश्वास पनि व्यक्त गरेका छन् । न्यायालयभित्र राजनीतिक दलले हस्तक्षेप गर्न उचित नहुने भन्दै उनले जारी समस्या न्यायालय भित्रैबाट छिटै समाधान हुने विश्वास व्यक्त गरेका हुन् ।

    शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा उनले भने– न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने झन् चौपट हुन्छ । त्यसकारण न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ ।

    उनले सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने पनि बताए ।

  • जसपाले राजेन्द्रको नेतृत्वमा चार मन्त्री पठाउने, उपेन्द्रले एकलौटी गरेको भन्दै असन्तुष्टी

    जसपाले राजेन्द्रको नेतृत्वमा चार मन्त्री पठाउने, उपेन्द्रले एकलौटी गरेको भन्दै असन्तुष्टी

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा पठाउने नामको टुंगो लगाएको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पार्टीबाट पठाउने नाम टुंग्याएका हुन् ।

    केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहमद इस्तियाक राईले राजेन्द्र श्रेष्ठको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय भएको बताए । उनका अनुसार श्रेष्ठका अलवा रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने भएका छन् ।

    जसपाले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गठबन्धनमा भएको थियो ।

    मन्त्रालय बाँडफाँटमा उपेन्द्र यादवले एकलौटी गरेको भन्दै असन्तुष्टी बढेको छ। प्रदेश २ बाट मन्त्री बनाउँदा लुम्बिनीबाट नबनाएको र जनआधार नभएको क्षेत्रबाट श्रेष्ठलाई मन्त्री बनाएको भन्दै त्यसमा बाबुराम भट्टराई पनि सहमत नभएको बताइएको छ ।

    यादवले रेणु यादवलाई पटक-पटक अवसर दिएकोमा पनि जसपामा असन्तुष्टी बढेको छ ।

  • पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना आवश्यकः उपेन्द्र यादव

    पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना आवश्यकः उपेन्द्र यादव

    जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

    होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले आज आयोजना गरेको पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने, ‘धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश २ मा खुद्रा विकासले समृद्धि सम्भव छैन । पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले एकीकृत योजना बनाउनुपर्छ ।’

    धार्मिक र ऐतिहासिक पर्यटन विश्वभरमै पर्यटनको ठुूलो हिस्सा ओगटेको उल्लेख गर्दै अध्यक्ष यादवले पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेका प्रदेशभरीकै धार्मिक तथा ऐतिहासिक स्थलहरुलाई समेटेर एकीकृत योजना बनाउन प्रदेश सरकारलाई सुझाए ।

    कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि प्रदेशका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा विकास निर्माणको काम सुरु गरिसकेको बताए । उनले अगामी दिनमा एकीकृत योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

    प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको पर्यटन प्रवर्द्धनका लागि हरेक पक्षसंग सहकार्य गर्न सरकार तयार रहेको मुख्यमन्त्री राउतको भनाई थियो ।

    कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साहले पर्यटकीय विकासमा अर्थको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

  • जसपा मधेस प्रदेश समिति बैठक जारी, राजपाबाट आएकाको समायोजन हुँदै

    जसपा मधेस प्रदेश समिति बैठक जारी, राजपाबाट आएकाको समायोजन हुँदै

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समितिको बैठक सुरू भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित होटल बाबाको पढावामा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

    यादवको प्रमुख आतिथ्य र प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका तत्कालीन समाजवादी पार्टीका मधेस प्रदेश समिति अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा बैठक बसेको हो ।

    तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो । तर, मधेस प्रदेश समिति समायोजन भएको थिएन । आजको बैठकको प्रमुख एजेण्डा मधेस प्रदेश समिति समायोजन, पुनर्गठन तथा विस्तार रहेको नेताहरूले बताएका छन् ।

    पूर्वराजपाबाट आएकालाई आजै प्रदेश कमिटीमा समायोजन घोषणा गरिनेछ । जसपाको संशोधित विधानअनुसार प्रदेश कमिटीमा अब १५० जना रहने छन् । ११ जना पदाधिकारीको संख्या बढाएर १५ जना पुर्‍याइएको छ ।

    जसपा फुटेर लोसपा गठन भए पनि प्रदेश २ मा तत्कालीन राजपाबाट निर्वाचित ९ सांसद जसपामै छन् । प्रदेश २ मा अहिले जसपाका ३८ सांसद छन् ।

  • उपेन्द्र यादव भन्छन्- दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार हुन्न

    उपेन्द्र यादव भन्छन्- दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार हुन्न

    काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् ।

    सिन्धुलीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले २० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेशले अस्थिरता ल्याउने भन्दै पहिले यसलाई खारेज वा निष्क्रिय बनाएरमात्र सरकार विस्तार हुने प्रष्ट पारे ।

    यादवले भने, ‘तत्काल केही गर्नु परेका कारण अध्यादेश ल्याइएको हो । त्यसलाई खारेज नगर्दा दलहरु टुक्रिरहने र लोकतन्त्रनै खतरामा पर्ने भएकाले यसलाई खारेज गरेपछिमात्र मन्त्रिपरिषद विस्तार हुन्छ ।’

    सरकारले अध्यादेश संसदमा पेस गरिसकेको छ । सोही अध्यादेशका आधारमा एमाले र जसपा विभाजित भएका छन् । अब जसपा विभाजनका लागि अहिलेको अध्यादेश कायमै रहदा ४ जना सांसदले विद्रोह गरे पुग्छ ।

    मन्त्री बन्न नपाउनेहरुले फेरि पार्टी फुटाउने त्रास यादवलाई छ ।

  • भागबण्डा विवाद मिलाउन प्रचण्ड सक्रिय, हात्तीवनमा माधव र उपेन्द्रसँग छलफल

    भागबण्डा विवाद मिलाउन प्रचण्ड सक्रिय, हात्तीवनमा माधव र उपेन्द्रसँग छलफल

    काठमाडौं । सत्तारुढ गठबन्धनका कांग्रेसबाहेक अन्य तीन शीर्ष नेताबीच सरकारमा सहभागिता र एमसीसी विवादबारे छलफल भएको छ ।

    हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा माओवादी अध्यक्ष प्रचण्ड,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो । छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।

    एमसीसीका सन्दर्भमा कांग्रेस र सत्ता गठबन्धनका अन्य दलबीचमै कुरा मिलेको छैन । त्यस्तै माधव नेपाल र उपेन्द्र यादवबीच मन्त्रालय बाडफाँडमा समेत विवाद भएकाले प्रचण्डले मध्यस्थता गरिरहेका छन् ।

    प्रचण्डकै पहलमा आजको वार्ता भएको स्रोतले जनाएको छ । उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा दुवै दलले दावी गरेका छन् । यसअघि सत्तारुढ गठबन्धनको बैठकमै नेपाल र यादवबीच विवाद भएको थियो ।

  • उपेन्द्र यादव भन्छन्– साधु महन्थहरु ओलीको मतियार बनेपछि जसपाको सरकार बनेन

    उपेन्द्र यादव भन्छन्– साधु महन्थहरु ओलीको मतियार बनेपछि जसपाको सरकार बनेन

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरहरुकै गल्तीका कारण पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर गुमेको बताएका छन् ।

    ‘केपी ओलीको कर्तुत असंवैधानिक हो भन्दै पार्टीले सर्वसम्मत रुपमा आन्दोलन गर्ने र आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका थियौं’, जनकपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा महन्थ ठाकुरलाई लक्षित गर्दै अध्यक्ष यादवले भने, ‘तर साधु महन्थहरु केपी ओलीको मतियार बनेकै कारण जसपाको नेतृत्वमा सरकार बन्न सकेन ।’

    अध्यक्ष यादवले ‘आन्दोलनमा संगसंगै रहेका साधु महन्थहरु कति बेला भागेर बालुवाटार पुग्यो थाहासमेत नपाएको’ भन्दै व्यङ्ग्य गरे । उनले भने, ‘हामीसँगै आन्दोलनमा अगाडि बढ्दै थियो । कति बेला भागेर बालुवाटार पुग्यो, थाहा पनि भएन । त्यो दिनदेखि अहिलेसम्म फर्केका छैनन् ।’

    महन्थ ठाकुर पक्षका सांसदहरुलाई लक्षित गर्दै उनले ‘माननीय समेत जोगाउन नसक्नेले मधेस र मधेसी जनता कसरी जोगाउन सक्छन् ?’ भन्दै प्रश्न समेत गरे ।

    अध्यक्ष यादवले पार्टीबाट चिप्लिएर केही व्यक्ति मात्र गएको र उनीहरुले एउटा ग्रुप बनाएको टिप्पणी गरे । तत्कालीन राजपाका ८० प्रतिशत नेता र जनता आफ्नो पार्टीमा रहेको उनको दावी छ ।

  • देउवाले उपप्रधानमन्त्री नबनाउने भनेपछि जसपामा देखियो ‘साइड इफेक्ट’

    देउवाले उपप्रधानमन्त्री नबनाउने भनेपछि जसपामा देखियो ‘साइड इफेक्ट’

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो क्याबिनेटमा उपप्रधानमन्त्री नराख्ने भनेसँगै सत्तारुढ जनता समाजवादी पार्टीमा त्यसका ‘साइड इफेक्ट’ देखिन थालेका छन् ।

    देउवाले उपप्रधानमन्त्री नराख्ने भन्दा माओवादी अध्यक्ष प्रचण्डलाई मात्र होइन जसपाभित्र पनि कतिपय नेतालाई राहत मिलेको छ । यद्यपि जसपा अध्यक्ष उपेन्द्र यादव यसअघि केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीबिना नै मन्त्री भएका थिए ।

    जसपाको आज बस्ने केन्द्रीय कार्यकारिणी समिति बैठक सरकारमा जाने विषयमै छलफलमा केन्द्रित हुनेछ । तर, आफू सरकारको नेतृत्व गरेर जाने अवस्था नहुँदा कुनै कारण देखाएर सरकारमा तत्काल सहभागी नहुने निर्णय उपेन्द्रले गराउन खोजेको आशंका समेत कतिपय नेताहरूले गर्न थालेका छन् ।

    मन्त्री बन्न कै लागि संसद पुनःस्थापनापछि महन्थ ठाकुर पक्षका १० जना सांसद उपेन्द्रतिर लागेका छन् । उनीहरू मन्त्री बन्न नपाए यादवको साथमा रहन गाह्रो छ । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलगायत शीर्ष नेताबाहिरबाट सरकारमा मन्त्री पठाउने र त्यसमा बहुमत जुटाउने पक्षमा छन् ।

    खेमा बदलेर उपेन्द्रलाई साथ दिएका महिन्द्रराय यादव र मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बन्नबाट रोक्न अरु सांसद लागेका छन् । मृगेन्द्र प्रतिनिधिसभा चुनाव हारेर राष्ट्रियसभामा आएकाले उनलाई नारायणकाजी रोक्ने संवैधानिक अस्त्र प्रयोग भएको छ ।

    महिन्द्र यादव आर्थिक मामिलामा बदनाम भएको भन्दै पार्टीभित्रबाट उनलाई सरकारमा जान नदिन वहुसंख्यक नेताहरु एकमत छन् । बाबुराम र अशोक राईले समेत उनको नाममा आपत्ति जनाएको जसपा स्रोतले जनाएको छ ।

    अशोक राई खेमाबाट राजेन्द्र श्रेष्ठ मन्त्री बन्न र सरकारको नेतृत्व गरेर जान लबिङमा छन् । तर, जसपाको जनाधार नै मधेस भएको र काठमाडौं जिल्लाभरिबाट ५ हजार मत समेत ल्याउन नसक्ने श्रेष्ठलाई मन्त्री बनाउँन नहुने भन्दै मधेशी सांसदहरू विरोधमा छन् ।

    एकातिर महन्थ छाडेर आएका १० जना सांसदको व्यवस्थापन र अर्कोतिर आफू सरकारमा जाने परिस्थिति प्रतिकूल बन्दै जाँदा उपेन्द्र यादव नयाँ रणनीतिमा जुटेका छन् ।

    सरकारमा बढीमा ६ मन्त्री पाइने र त्यसको भोलिपल्टै सांसदहरू महन्थतिर लाग्ने खतरा जसपामा छ । संसद पुनःस्थापनाअघि यादवसँग १२ जना सांसद थिए भने महन्थ पक्षमा २० जना थिए ।

    मन्त्री बन्न नपाएका र मन्त्री बनेकाहरू समेत यादवको पल्ला भारी भएपछि महन्थलाई छाडेर उनीतिर लागेका थिए । तर सरकारमा सहभागितापछि एकपटक फेरि सांसदहरूको ओहोरदोहोर चल्ने र महन्थ पक्ष बलियो बन्ने अवस्था आउने भएकाले नेताहरू परिपक्व अवस्था बनाएर मात्र निर्णय गर्न चाहन्छन् ।

  • जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन भएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा चयन गरेको हो । बैठकमा २१ जना सांसद उपस्थित थिए।

    यादवलाई दलका नेतामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र यादवले सर्मथन गरेका थिए । निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवाद निरुपण गरिदिएपछि जसपाले दलको नेता चयन गरेको हो।

  • जसपा बैठक जारी, मन्त्री चयन र सांगठानिक विषयमा निर्णय हुने

    जसपा बैठक जारी, मन्त्री चयन र सांगठानिक विषयमा निर्णय हुने

    काठमाडौं । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ ।

    बिहान ११ बजे बैठक बस्ने भनिए पनि गठबन्धनको बैठकमा सहभागी भएर शीर्ष नेताहरू आउन ढिला भएपछि अबेर शुरू भएको हो । तुलसीलाल अमात्य स्मृति भवनमा बैठक जारी छ ।

    आजको बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिलाई पूर्णता दिने र संगठन विस्तार तथा समायोजन गर्ने विषयमा छलफल गरिने बताइएको छ ।

  • महन्थदेखि रेशम चौधरीसम्म जसपाबाट हटाइए, निर्वाचन आयोगविरुद्ध अर्को पक्ष अदालत जाने

    महन्थदेखि रेशम चौधरीसम्म जसपाबाट हटाइए, निर्वाचन आयोगविरुद्ध अर्को पक्ष अदालत जाने

    काठमाडौं । पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको छ।

    बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सनाखत गर्दा आफ्नो पक्षमा नउभिएका सबैलाई पार्टीबाट निस्काशन गरेको हो ।

    सोमबार निर्वाचन आयोगमा सनाखत गर्दा यादवको पक्षमा ३४ जना उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना उभिएका थिए । ५१ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए ।

    ठाकुर पक्षमा उभिने सबैलाई कारबाही गरेपछि हाललाई कार्यकारिणी समिति ३४ सदस्यीय रहने जसपाले बताएको छ।

    यसैबीच ठाकुर पक्ष निर्वाचन आयोगविरुद्ध अदालतमा जाने भएको छ । आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्ष असन्तुष्ट बन्दै आयोगविरुद्ध अदालत जान लागेको हो।

  • एक वर्ष अघि उपेन्द्रलाई ‘रेस्क्यू’ गरेका महन्थ आफैं दुर्घटनामा

    एक वर्ष अघि उपेन्द्रलाई ‘रेस्क्यू’ गरेका महन्थ आफैं दुर्घटनामा

    काठाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादमा अन्तिम फैसला दिन निर्वाचन आयोगले सनाखत लिँदै गर्दा महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षका नेता-कार्यकर्ताको अनुहारमा छुट्याउन सकिने गरी फरकपन थियो । कार्यकारणी सदस्यहरुको सनाखत नसकिँदै उनीहरुमा आयोगको सम्भावित परिणामको पूर्वानुमान भइसकेको थियो । त्यसैले ठाकुर पक्ष मलिन अनुहार लिएर हिँडिरहेको थियो भने यादव पक्ष नेताहरु प्रफुल्लित मुद्रामा थिए ।

    आयोगले ठाकुर पक्ष र यादव पक्षका लागि बेग्ला बेग्लै सनाखत स्थलको व्यवस्था गरिदिएको थियो । त्यहाँ देखिएको माहोलबाटै सम्भावित फैसलाको पूर्वानुमान गर्न सकिन्थ्यो ।

    त्यसैले आयोगको फैसला पूर्व नै ठाकुर पक्षका दुई वरिष्ठ नेताले हार स्वीकार गरेको भावमा आफ्ना अभिव्यक्ति दिएका थिए । एक वर्षअघि आफूहरुकै कारण उपेन्द्र यादवको उद्धार भएको तर अहिले आफ्नै लागि दुर्भाग्यपूर्ण अवस्था आएको भनाइ राजेन्द्र महतो र शरदसिंह भण्डारीले मिडियासामू राखे ।

    महतोको भनाइ थियो, ‘उपेन्द्र यादवको पार्टी हामीले एक वर्ष पहिले बचाइदिएका थियौं । एक सालभित्रै यो अवस्था आउला भनेर कल्पना पनि गरिएको थिएन । तर, दुर्भाग्यपूर्ण अवस्था आयो ।’

    अनि भण्डारीले भनेका थिए, ‘हामीले अहिले विभाजन मागेको होइन । जसपा एकीकरणको बेला उपेन्द्र यादवको अनुहार र अवस्था कस्तो थियो जगजाहेर छ । साँच्चै भन्ने हो भने हामीले उपेन्द्रजीलाई रेस्क्यू गरेका थियौं ।’

    दुवै नेताको भनाइमा रेस्क्यू गरिएका नेताबाट आफूहरु दुर्घटनामा पारिएको भाव व्यक्त थियो ।

    एक वर्ष अघिको त्यो रेस्क्यू

    जसरी अहिले जसपाको विभाजनमा एमाले अध्यक्ष केपी शर्मा ओली जोडिन आइपुग्छन्, त्यसरी नै संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीचको एकिकरणमा पनि उनै जोडिन्छन्।

    बाम गठबन्धनले पाएको सुविधाजनक मत लिएर प्रधानमन्त्री बन्न तयार रहेका ओलीसँग संघीय समाजवादी पार्टी मिसिएपछि सरकार झण्डै दुई तिहाइ हाराहारीको बन्न पुग्यो । अर्को मधेशवादी पार्टी भने विपक्षमा बस्यो ।

    उपेन्द्र यादव आफैंले रोजेको मन्त्रालयसहित संघीय समाजवादी पार्टीको नेृत्व गर्दै ओली सरकारमा सहभागी भए । सरकार गठनको एक वर्ष पुगेपछि जसरी प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढ्दै थियो, त्यसैगरी यादवको पार्टीमा पनि विवाद बढ्दै थियो ।

    ओलीलाई पनि आफ्नैहरुबाट संकट सिर्जना भइरहेको थियो भने यादवले पनि त्यस्तै अवस्था पार्टीमा भोगिरहेका थिए । यहीबीचमा प्रधानमन्त्री ओलीसँगको ‘टसल’ का कारण यादव करिब डेढ वर्षमै सरकारबाट बाहिरिए ।

    प्रधानमन्त्री ओलीले आफूलाई सोध्दै नसोधी आफ्नो मन्त्रालय परिवर्तन गरिदिएकोमा अपमानित भएको अनुभव गरिरहेका थिए । त्यस्तोमा उनले सरकारमा बसिरहन ठीक ठानेनन् । तर, उनकै पार्टीका मोहमद इस्तियाक राइ लगायतका केही मन्त्रीले सरकार छाड्न चाहेका थिएनन् ।

    यादवको पार्टीका करिब आधा दर्जन सांसद दल विभाजन गरेरै भए पनि सरकारमै रहिरन चाहन्थे । पार्टीभित्र संकट झेलिरहेका ओलीले त्यसलाई टार्न यो विभाजनलाई अवसर ठाने । यादव पक्षका ८/१० जना सांसद आफ्नो पार्टीमा ल्याउन सकिएकमा आफू दुर्घटनाबाट बच्ने अनुमान ओलीको थियो । त्यही मेसोमा २०७७ वैशाख ८ गते ओलीले दल फुटाउन सजिलो हुने अध्यादेश ल्याइदिए । ओलीले यो अध्यादेश आफ्नो फाइदा र यादवको पार्टीबाट फुट्न चाहनेलाई सजिलो हुनेगरी ल्याइदिएका थिए । नेकपाभित्रै व्यापक विरोध भएको र यादवले आफ्नो पार्टी फुटाउन ल्याइएको भनेर चर्को विरोध गरेपछि त्यो ओलीका लागि प्रत्युपादक भयो ।

    पार्टीभित्र र बाहिरको चर्को दवाव थेग्न गाह्रो भएपछि ओलीले अध्यादेश फिर्ता लिनुपर्ने अवस्था आयो । तर, अध्यादेश ल्याएको दुई दिनमै घट्ने जति राजनीतिक घटना घटिसकेका थिए ।

    यादवको पार्टीका सांसद सुरेन्द्र यादव अपहरणमा परेको हल्ला चल्यो । उनी ओली सरकारमा यादव स्वाथ्यमन्त्री हुँदा राज्यमन्त्री थिए । अध्यादेश ल्याएको दुई दिनपछि १० बैशाखको साँझ ७ बजेपछि यादव बेपत्ता भएको खबर मिडियामा फैलियो । त्यसले अर्को तरङ्ग ल्याइसकेको थियो । उता यादवको अवस्था अज्ञात थियो, अर्कोतिर आफ्नो दल विभाजन रोक्न उपेन्द्र यादव लागिसकेका थिए ।

    यादव र बाबुराम भट्टराई राजपासँग एकीकरण गर्ने वार्तामा जुटे । त्यही दिनको मध्यरातमा यादवको पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनाउने सहमति चमत्कारिक ढंगले भयो । मध्यरातमै ४ बुँदे सहमति सार्वजनिक भयो।

    उता काठमाडौंको मेरियट होटेलमा अपहरणमा परेका भनिएका सांसद यादव रहेको खबर पनि आयो । साथमा थिए, एमाले नेता महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल । यसलाई धेरैले अपहरण भने । तर, यादवलगायत उनीसँगै रहेकाले सहमतिमा आएको बताए ।

    घटना जे भएको भए पनि दुई पार्टीबीच भएको एकीकरणपछि यसको खास अर्थ भएन । यादवको पार्टी विभाजन हुनबाट जोगियो । एक प्रकारले महन्थ ठाकुरहरुले उपेन्द्र यादवको रेस्क्यू भएको थियो ।

    विभाजनका खास कारण

    समाजवादी पार्टीको अहिलेको विभाजनमा पनि एमाले अध्यक्ष ओली नै जोडिन आइपुग्छन् । गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे । त्यस बेला ठाकुर र यादव ओलीको कदमको विरोधमा उत्रिए । विघटनविरुद्ध छिटो प्रतिक्रिया व्यक्त गर्दै ठाकुर र यादवको हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा भनिको थियो, ‘प्रतिनिधि सभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो । यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा हो । तसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं ।’

    तर, दोस्रो विघटनमा जसपा भित्रको अवस्था फरक रह्यो । अदालते पहिलो विघटन बदर गरिदिएपछि ओलीसँग ठाकुरको सामिप्यता बढ्यो । दोस्रो विघटनमा ठाकुर पक्ष मौन रह्यो । यादव पक्षले भने तिब्र विरोध गर्‍यो । यहीबीचका सरकारसँग केही सम्झौता गरेर ठाकुर पक्ष सरकारमा समेत सहभागि भयो । यसले पहिले नै एकजुट नरहेको जसपामा तिब्र विभाजन ल्याइदियो ।

    एउटा पक्ष सरकारमा सहभागी भयो, अर्को पक्षले विघटनको विरोध गर्यो । ओलीले विश्वासको मत लिँदा ठाकुर तटस्थ बसे, यादव पक्ष ओलीको विपक्षमा । ठाकुर तटस्थ बसेकै कारण विपक्षी गठबन्धनले बहुमत पुर्याउने योजनामा धक्का लाग्यो ।

    सरकारमा गएको १२ दिनमै अदालतले त्यसलाई उल्ट्याइदियो । ठाकुर पक्ष सरकारबाहिर भयो । जसपा विवाद निर्वाचन आयोगमा पुग्यो । एकले अर्कालाई पार्टीबाटै निस्कासन गरे । अदालतले संसद विघटन फेर पनि उल्ट्याइदियो । ओलीले पनि सरकार छाड्नुपर्ने अवस्था आयो । र, आज आयोगले फैसला गर्दै यादव पक्षलाई आधिकारिकता दियो ।

    ठाकुरका सीमित विकल्प

    ओली कदमको विरोधमा उत्रिएको तत्कालीन विपक्षीले स्वयं ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो । तर, ठाकुर त्यसमा तयार भएनन् । दोस्रो संसद विघटन अघिसम्म एक हिसाबले ठाकुर अबसरै अबसरको बीचमा थिए, तर उनले त्यसलाई उपयोग गरेनन् ।

    कुनै बेला प्रधानमन्त्री नै बन्न सक्ने अवसरले घेरिएका ठाकुर निर्वाचन आयोगको आजको फैसलापछि ‘राजनीतिक दुर्घटना’ मा परेका छन् । दलबिहीन अवस्थामा पुगेका छन् उनी । उनको रेक्यू गर्न अहिले उपेन्द्र यादव साथमा हुने छैनन् ।

    आयोगकै फैसला अनुसार अब नयाँ दल दर्ता गर्ने बाहेक उनीसँग कुनै विकल्प र अबसर छैन । केन्द्रीय कार्यकारणी समिति र संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएकाले ठाकुरसँग रहेका सांसद जसपा छाडे कारवाहीमा पर्ने छन् ।

    विभिन्न समूह जोडेर राजपा बनाएका ठाकुरको संठन यसअघि नै मजबुत थिएन । अहिले पहिले साथमा रहेका समेतले साथ छोडेपछि यादव झन् कमजोर बनेका छन् । जीवनको उत्तरार्धमा ठाकुरले फेरि शून्यबाट शुरुवात गर्नुपर्ने छ । नयाँ पार्टी खोलेर गरिएको उनको आह्वान जनताले पत्याइहाल्छन् भन्ने कुराको पनि केही ग्यारेन्टी छैन ।

  • निर्वाचन आयोगको हेड काउन्टमा उपेन्द्र पक्ष बिजयी, महन्थले अर्को दल दर्ता गर्न सक्ने

    निर्वाचन आयोगको हेड काउन्टमा उपेन्द्र पक्ष बिजयी, महन्थले अर्को दल दर्ता गर्न सक्ने

    काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ।

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको यादव पक्षमा बहुमत देखिएकाले इजलासले उक्त पक्षलाई आधिकारिकता दिने फैसला गरेको जानकारी दिए ।

    उनले भने, ‘बहुमत सदस्यहरुको समर्थन रहेको उपेन्द्र यादव समूहले आधिकारिकता पाएको छ, आजको इजलासले यही निर्णय गरेको छ।’ श्रेष्ठले ५१ जनाको केन्द्रीय कार्यकारणी सदस्यहरुमध्य ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थ ठाकुरको पक्षमा सनाखत दिएको बताए । १ जना टस्थ बसेको बताए।

    जसपा आधिकारिकता विवाद निरुपणको लागि निर्वाचन आयोगले एकीकरणकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई प्रत्यक्ष उपस्थित गराई सनाखत गरेको थियो ।

    नयाँ दल गठनका लागि ठाकुर पक्षलाई अबसर भएको र बाँकी कुरामा आयोगको कुनै भूमिका नहुने उनले बताए।

  • शरदसिंह भण्डारीको दावी- जसपा बनाएर हामीले उपेन्द्रको रेस्क्यू गरेका थियौं

    शरदसिंह भण्डारीको दावी- जसपा बनाएर हामीले उपेन्द्रको रेस्क्यू गरेका थियौं

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले जालझेल गरेर उपेन्द्र यादवले आफ्नो बहुमत निर्वाचन आयोगमा देखाए पनि त्यसबाट आफूहरू विचलित नभएको बताएका छन् ।

    निर्वाचन आयोगमा सनाखतपछि पत्रकारसँग कुरा गर्दै भण्डारीले निष्ठा र अवसरवादमध्ये केही व्यक्तिले अदल-बदल गरेर अवसरवादी चरित्र देखाएको टिप्पणी गरे । उनले अब के गर्ने भन्ने बारे आयोगको निर्णय र अदालतको फैसलापछि हुने बताए ।

    भण्डारीले एक वर्षअघि तत्कालीन राजपा र समाजवादी पार्टी एकीकरण गरेर आफूहरुले उपेन्द्र यादवको राजनीति जोगाइदिएकोमा अहिले बदलाभाव देखाएको आरोप लगाए । त्यसबेला उपेन्द्र यादवको ९ जना सांसदले अलग दल खोल्न सरकारमार्फत अध्यादेशसमेत ल्याइएको थियो ।

    भण्डारीले भने, ‘हामीले अहिले विभाजन मागेको होइन । सबैलाई थाहा छ जसपा एकीकरणको बेला उपेन्द्र यादवको अनुहार र अवस्था कस्तो थियो जगजाहेर छ । साँच्चै भन्ने हो भने हामीले उपेन्द्रजीलाई रेस्क्यू गरेका थियौं ।’

  • बहादुर भवनमा हेड काउन्ट- निरीह ठाकुर, विजयी मुद्रामा उपेन्द्र

    बहादुर भवनमा हेड काउन्ट- निरीह ठाकुर, विजयी मुद्रामा उपेन्द्र

    काठमाडौं । जनता समाजवादी पार्टीभित्रको शक्ति सन्तुलनमा सत्ता परिवर्तनसँगै व्यापक हेरफेर भएको छ । केपी ओली नेतृत्वको सरकारमा सहभागी हुँदा जसपाको महन्थ ठाकुर पक्ष संसदीय दलमा करीव दुईतिहाई बहुमतमा थियो भने कार्यकारिणी समितिमा पनि लगभग हाराहारी थियो ।

    तर, सत्ता परिवर्तनसँगै उपेन्द्र यादव पक्ष दुई तिहाई नजिक पुगेको छ भने ठाकुर पक्ष निरीह बनेको छ । एक वर्षअघि राजपा र समाजवादी पार्टी एकीकरण हुँदाको शक्ति अब ठाकुरले गुमाएका छन् । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउँदै गर्दा ठाकुरले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत नपाउने अवस्था देखिएको छ ।

    ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरिसकेका छन् भने जेलमा रहेका रेशम चौधरीले पनि यादवलाई साथ दिने बताइएको छ । ठाकुर पक्षमा कार्यकारिणी समितिका १६ जना पनि नपुग्ने यादवनिकट नेताहरूको दावी छ ।

    निर्वाचन आयोगले यादवलाई आधिकारिकता दियो भने ठाकुरलाई अर्को दल दर्ता गर्ने मौका दिन्छ । तर, ४० प्रतिशत पुगेन भने सांसद पद धरापमा पर्ने अवस्था हुन्छ र ठाकुर अझ कमजोर हुन्छन् । जसपाका ३२ सांसदमध्ये १९ जना यादव पक्षमा पुगिसकेका छन् ।

    बहादुरभवनस्थित निर्वाचन आयोगमा हेड काउन्ट हुँदा ठाकुर पक्ष निरीह र यादव पक्ष विजेताका रूपमा देखिएका छन् । ठाकुर पक्षका नेता केशव झाले आफ्नो समूहमा कति जना छन् भन्न सकेनन् ।

  • यो सरकार हाम्रो हो, तत्कालै मन्त्री पठाउँछौं : उपेन्द्र यादव

    यो सरकार हाम्रो हो, तत्कालै मन्त्री पठाउँछौं : उपेन्द्र यादव

    काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकार आफूहरूले बनाएको भन्दै अब तत्कालै सरकारमा सहभागी हुने बताएका छन् ।

    निर्वाचन आयोगमा जसपाको आधिकारिकताका लागि सनाखत गरिसकेपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले चाँडै मन्त्रीहरू सरकारमा पठाउने बताए ।

    जसपाको आधिकारिकता यादव पक्षले पाउने देखिएपछि उनले अब सरकारमा जाने बाटो खुलेको बताए ।

  • महन्थ ठाकुरको मुद्दा कुमार रेग्मीको इजलासमा, हेड काउन्ट रोक्न अन्तरिम आदेश माग

    महन्थ ठाकुरको मुद्दा कुमार रेग्मीको इजलासमा, हेड काउन्ट रोक्न अन्तरिम आदेश माग

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले गर्न लागेको ‘हेड काउन्ट’विरुद्ध पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाईको पेशी तोकिएको छ ।

    न्यायाधीश कुमार रेग्मी एकल इजलासमा पेशी तोकिए पनि अन्तिममा रहेकाले आजै सुनुवाइ नहुने सम्भावना छ । आयोगले भोलि जसपाका दुवै पक्षका कार्यकारिणी समिति सदस्यहरुलाई नागरिकता प्रमाणपत्रसहित सनाखतका लागि बोलाएको छ ।

    ठाकुरले पनि आयोगको सो निर्णय एकपक्षीय भएको र आफूले अधिकारप्राप्त अध्यक्षका हैसियतमा गरेको हेरफेरलाई मान्यता नदिएको भन्दै आयोगको सो निर्णय कार्यन्वयन रोक्न अदालतमा शुक्रवार रिट दर्ता गराएका थिए ।

  • जसपा उपेन्द्र यादव पक्षद्वारा संसदीय दलको विधान पारित

    जसपा उपेन्द्र यादव पक्षद्वारा संसदीय दलको विधान पारित

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को बाबुराम-उपेन्द्र पक्षको संसदीय दलको बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो बसेको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका दुई दर्जन सांसदहरूको उपस्थिति रहेको यादवका प्रेस संयोजक महेश चौरासियाले बताए ।

    चौरासियाका अनुसार दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउनेछ ।

    यसअघि महन्थ ठाकुर पक्षले बहुमत दावी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । पछिल्लो समयमा ६ जना सांसदले ठाकुरको साथ छाडेपछि अहिले यादव पक्ष बहुमतमा छ ।

  • जसपा संसदीय दलमा उपेन्द्र पक्षको बहुमत, ६ जनाले छाडे महन्थको साथ

    जसपा संसदीय दलमा उपेन्द्र पक्षको बहुमत, ६ जनाले छाडे महन्थको साथ

    काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले निर्णय सुनाउन लागेका बेला उपेन्द्र यादव पक्षले संसदीय दलमा पनि बहुमत जुटाएको छ ।

    जसपा उपेन्द्र पक्षको आइतबार पार्टी कार्यालय बालकुमारीमा बसेको संघीय संसदीय दलको बैठकमा १९ जना सांसद उपस्थित भएर हस्ताक्षर गरेका छन् । तीमध्ये दुईजना राष्ट्रियसभाका छन् ।

    जसपाका प्रतिनिधिसभामा निलम्बितबाहेक ३२ जना र राष्ट्रियसभामा तीनजना सांसद छन् । आइतबारको बैठकमा प्रतिनिधिसभाका १७ जना सांसद उपस्थित भएको र एकजना रुही नाज सर्लाहीमा रहेकाले उपस्थित हुन नसकेको नेता इस्तियाक राईले बताए ।

    राष्ट्रियसभाका तीनमध्ये मृगेन्द्रकुमार सिंह र प्रमिलाकुमारी यादव उपेन्द्र पक्षमा खुलेका छन् । प्रतिनिधिसभाका १२ जनाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाउँदै अदालत गएका थिए ।

    तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै प्रमोद साह,नरमाया ढकाल, रेणुका गुरुङ, रुही नाज, अमृता अग्रहरी र रानी मण्डलले ठाकुर पक्ष छाडेका छन् ।

    अब ठाकुरको पक्षमा १४ प्रतिनिधिसभाका १४ र राष्ट्रियसभाका एक सांसद बाँकी रहेका छन् ।

  • महन्थ पक्षबाट मन्त्री बनेकी रेणुका उपेन्द्रतिर

    महन्थ पक्षबाट मन्त्री बनेकी रेणुका उपेन्द्रतिर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद रेणुका गुरुङले महन्थ ठाकुर छाडेर उपेन्द्र यादव पक्षलाई साथ दिएकी छन् ।

    ओली नेतृत्वको सरकारमा १२ दिन राज्यमन्त्री रहेकी गुरुङ अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा जारी उपेन्द्र-बाबुराम पक्षको संसदीय दलको बैठकमा सहभागी छिन् ।

    मन्त्रिपरिषद् विस्तार सर्वोच्च अदालतले खारेज गरेपछि गुरुङ १२ दिन मात्रै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बन्न पाएकी थिइन् ।

    शेरबहादुर देउवाले विश्वासको मत लिन लागेका बेला गुरुङले अन्तिम समयमा आएर कित्ता परिवर्तन गर्दै यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएकी हुन् । योसँगै उपेन्द्र यादव पक्षतिर १८ सांसद रहेका छन् भने ठाकुर पक्षमा १४ छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाँडफाँट, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा बैठक केन्द्रित रहेको यादवका प्रेस संयोजक महेश चौराशियाले बताए ।   ।

    जसपाका ३४ सांसद भए पनि २ निलम्बनमा परेकाले ३२ सांसदमात्र छन् ।

  • जसपा उपेन्द्र पक्षधरको बैठक जारी, देउवा सरकारमा सहभागिताबारे छलफल

    जसपा उपेन्द्र पक्षधरको बैठक जारी, देउवा सरकारमा सहभागिताबारे छलफल

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षधरको बैठक शुरू भएको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै बैठक शुरू भएको हो ।

    विपक्षी गठबन्धनमा रहेको उपेन्द्र यादव पक्षको जारी बैठकमा सरकारमा सहभागी हुने वा नहुनेबारे मुख्य एजेण्डा रहेको यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

    उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरू बैठकमा सहभागी छन् ।

  • जसपाका दुवै पक्ष निर्वाचन आयोग जाँदै

    जसपाका दुवै पक्ष निर्वाचन आयोग जाँदै

    काठमाडौं । विभाजनउन्मुख जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा जाने भएका छन् ।

    पार्टीमा विवाद बढेपछि दुवै पक्षले एक अर्को पक्षलाई कारवाही गर्दै आफू नै आधिकारिक भएको दावीसहित आयोगमा निवेदन दिएका थिए ।

    आयोगले त्यसलाई प्रक्रियामा अगाडि लिएर दुवै पक्षलाई छलफलका लागि आज बोलाएको छ ।

    उनीहरूलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम छलफलका लागि बोलाइएको हो ।

  • देउवालाई प्रधानमन्त्री नबनाउने राष्ट्रपतिको भूमिका शंकास्पद : उपेन्द्र यादव

    देउवालाई प्रधानमन्त्री नबनाउने राष्ट्रपतिको भूमिका शंकास्पद : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु नपर्ने कुनै कारण राष्ट्रपतिसँग नरहेको उनले बताए ।

    सम्पादकहरुसँगको अन्तरक्रियामा यादवले भने, ‘कि मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नुपर्यो । होइन भने बहुमतको हस्ताक्षरसहित दावी गरेका देउवालाई प्रधानमन्त्री नबनाउननुपर्ने कुनै कारण छैन । राष्ट्रपतिको भूमिका शंकास्पद र सन्देहास्पद छ ।’

    राजाहरुको सिको गरेर केपी ओलीले संसद विघटन गरी निरंकुश शासन चलाउन खोजेको आरोप उनले लगाए । राष्ट्रपतिसँग मिलेमतो गरी अध्यादेशमार्फत स्वेच्छाचारी शासन गर्न खोजेको उनको दावी थियो ।

    ‘पटक-पटक प्रधानमन्त्रीबाट असंवैधानिक काम भएपनि राष्ट्रपतिसंग मिलेर असंवैधानिक रुपमा देश कब्जामा लिदैंछन्’, यादवले भने ।

    उनले प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गरेपनि राष्ट्रपतिले अस्वीकार गर्नु असंवैधानिक रहेको यादवको भनाइ छ । उनले १ सय ४६ जना सांसदले दिएको रिट निवेदनका पक्षमा सर्वोच्च अदालतले फैसला दिने विश्वास समेत व्यक्त गरे ।

  • ३० नेताको हस्ताक्षरसहित जसपा आधिकारिकताको लागि यादव पक्षको दावी

    ३० नेताको हस्ताक्षरसहित जसपा आधिकारिकताको लागि यादव पक्षको दावी

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दावी गरेको छ ।

    यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी गरेका हुन् । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।

    आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दावी गरेको हो ।

    जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘तपाईंहरूको बीचमा दुई पक्ष देखिएको हुँदा विवाद निरुपणको प्रावधानबाट आउनुभयो भने हामीलाई सजिलो हुन्छ भनेर उहाँहरुले भनिसकेपछि हामीले अहिले विवाद निरुपणको प्रावधान अनुसार राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ त्यस अनुरुप नै आधिकारिकता दावी गरेर आज निवेदन दिएका छौँ ।’

  • आधिकारिकता दावी लिएर जसपाको यादव पक्ष निर्वाचन आयोग जाँदै

    आधिकारिकता दावी लिएर जसपाको यादव पक्ष निर्वाचन आयोग जाँदै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पक्षले आज निर्वाचन आयोगमा आधिकारिकता दावी गर्दै निवदेन दिने भएको छ ।

    जसपा केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजे प्रमुख नेताहरू आफैं निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय पुगी पार्टीको नाम, चुनाव चिन्ह, छाप र निर्णयको आधिकारिकताका लागि निवेदन दिने तयारी भएको छ ।

    यादव पक्षको हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो ।

  • जसपाका सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने यादव पक्षको निर्णय

    जसपाका सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने यादव पक्षको निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव नेतृत्वको पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

    यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट पारेको हो । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ ।

    यस्तै बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । जसअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिइनेछ ।

    ‘राजनीतिक दलसम्बन्धी ऐन अनुसार हाम्रो पक्ष नै जसपाको आधिकारिक हो भनेर बहुमत सदस्यहरू निर्वाचन आयोगमा भौतिक रुपमै उपस्थित भएर निवेदन दिनेछौं’, बैठकपछि जसपा नेता डम्बर खतिवडाले नेपाल प्रेससँग भने । खतिवडाका अनुसार दलको नाम, विधान, झण्डा र निर्णयको आधिकारिकता दावी गर्न छिट्टै आयोगमा निवेदन दिइनेछ ।

    बैठकले ढुंगा, गिटी लगायत खानीजन्य निर्माण सामाग्री निकासीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । पार्टीस्तरबाट चुरे संरक्षण अभियान चलाउने निर्णय समेत भएको नेता खतिवडाले जानकारी दिए । आजको बैठकमा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरई अशोक राई, राजेन्द्र श्रेष्ठलगायत उपस्थित थिए ।

  • उपेन्द्र यादवले बोलाए जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    उपेन्द्र यादवले बोलाए जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन् ।

    पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला अत्यावश्यक छलफल गर्न भन्दै यादवले असार ३ गते साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।

    बैठकमा उपस्थित हुन केन्द्रीय कार्यकारिणी समितिका सबैलाई खबर गरिएको छ । अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह अहिले सरकारमा छ ।

    यादव पक्षले ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा निर्वाचन आयोगले सदर नहुने निर्णय गरेको थियो । बैठकमा आयोगको निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने जसपा नेताहरूले जनाएका छन्।

  • जसपा उपेन्द्र पक्षको तयारी – निर्वाचन आयोगसँग कुरा गर्ने, नभए अदालत जाने

    जसपा उपेन्द्र पक्षको तयारी – निर्वाचन आयोगसँग कुरा गर्ने, नभए अदालत जाने

    काठमाडौं । निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्ट देखिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले न्यायिक निकास खोज्ने भएको छ ।

    यादव पक्षका शीर्ष नेताहरुबीच पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बहुमतले गरेको निर्णय कार्यान्वयन हुन नसक्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जानेबारे छलफल भइरहेको छ ।

    निर्वाचन आयोगले जसपामा २ जना अध्यक्ष रहने व्यवस्था रहेको भन्दै एकजना अध्यक्षको मात्रै हस्ताक्षरमा भएको पदाधिकारी हेरफेर वा निष्कासन सम्बन्धी निर्णय स्वीकृत नहुने ठहर गरेको थियो । जसपाले भने पार्टीको बहुमत पक्षले गर्ने निर्णय कार्यान्वयनमा बाधा हुन नहुने भन्दै निर्वाचन आयोगसँग छलफल गर्ने तयारी थालेको छ ।

    ‘निर्वाचन आयोगसँग छलफल गरेर थप प्रष्ट पार्ने प्रयास पहिलो चरणमा हुनेछ । त्यसबाट पनि निकास भएन भने न्यायिक निकासको खोजी त गर्नैपर्छ’, जसपा नेता गंगानारायण श्रेष्ठले भने । निर्वाचन आयोगले पदाधिकारी हेरफेर भन्दा कुन जसपा वैध हो ? भन्नेबारे निर्णय दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

    ‘जसपा नेपाल नाम गरेको पार्टीमा दुईतिरबाट काम भइरहेको छ । समानान्तर गतिविधि भइरहँदा आयोगले कुन पक्ष वैध हो भन्दिनुपर्छ । हामीले आयोगसँग वैधता चाहेका छौं’, श्रेष्ठले भने । पार्टीभित्र विभिन्न विकल्पमा छलफल भइरहेको भन्दै नेता श्रेष्ठले आयोगसँग छलफल र अदालत जाने दुवै विषयबारे छिट्टै निर्णय हुने बताए ।

  • ‘उपेन्द्रजीको पार्टीलाई हामीले उद्धार गरेका हौं, अब आत्मालोचना गरेमात्रै एकता सम्भव’

    ‘उपेन्द्रजीको पार्टीलाई हामीले उद्धार गरेका हौं, अब आत्मालोचना गरेमात्रै एकता सम्भव’

    काठमाडौं । यतिबेला जनता समाजवादी पार्टीको एउटा हिस्सा सरकारमा छ भने अर्को हिस्सा विपक्षी गठबन्धनमा छ । महन्थ ठाकुर नेतृत्वको समूह सरकारमा महत्वपूर्ण हिस्सासहित उपस्थित हुँदा उपेन्द्र यादव नेतृत्वको समूह विपक्षी गठनबन्धनमा सक्रिय छ ।

    २०७७ साल बैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भएको थियो । एकता र समायोजनको प्रक्रिया नसकिँदै जसपा विभाजनको संघारमा पुगेकोहो । एकपक्षले अर्को पक्षलाई गरेका कारवाही निर्वाचन आयोगको पछिल्लो निर्णयबाट अस्वीकृत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक सहकार्य गर्ने वा नगर्ने भन्ने विषयमा विवाद बढ्दा जसपाको दुवै समूह समानान्तर अभ्यासमा सक्रिय हुँदै आएका छन् ।

    लामो समयदेखिको विवादले निरन्तरता पाउँदा जसपाको एकतावद्ध यात्रा सम्भव छ वा छैन ? भन्ने प्रश्न पेचिलो बनेको छ । यही सन्दर्भमा जसपाको महन्थ ठाकुर नेतृत्वको समूहका नेता डा.सुरेन्द्र कुमार झासँग नेपाल प्रेसका लागि नकुल अर्यालले गरेको कुराकानी प्रस्तुत छ नेपाल टकमा–

    जसपा नेपालबारे निर्वाचन आयोगले हालै दिएको निष्कर्षलाई कुन रुपमा लिनुभएको छ ?

    निर्वाचन आयोगले दिएको निर्णयबाट समानताका आधारमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको प्रष्ट भएको छ । पार्टीमा २ अध्यक्ष प्रणाली रहेको छ र जसको प्रथम अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ । निर्वाचनको आयोगको निर्णय हाम्रो अपेक्षा अनुसारकै छ । अर्का अध्यक्ष उपेन्द्र यादवजीको समूहले पार्टीको प्रथम अध्यक्ष लगायतलाई नै कारवाही गर्ने भनेर दिनुभएको पत्रलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

    निर्वाचन आयोगले पार्टीको विधान र राजनीतिक दलसम्बन्धी कानून अनुसार गरेको निर्णय हाम्रा लागि स्वभाविक नै छ । यसका लागि हामी निर्वाचन आयोगलाई धन्यवाद समेत दिन्छौं । आयोगले जसपालाई एकतावद्ध बनाएर लैजान अन्तिम अवसर पनि दिएको छ । उपेन्द्रजीहरुले पार्टी एकताको आवश्यकता, आन्दोलनको उद्देश्य र पार्टीहित सोच्ने हो भने राजनीतिक रुपमा सच्चिन जरुरी छ ।

    महन्थ ठाकुर नेतृत्वको तपाईहरुको समूहको अबको कदम चै के हुन्छ ?

    हामीले आपसमा सल्लाह गरिरहेका छौं । विवादको सुरुवात हाम्रो तर्फबाट भएको होइन । उपेन्द्रजीहरुले एक पछि अर्को गल्ती गर्दै गइरहनुभएको छ । अघिल्लो वर्ष बैशाखको १० गते राति राजपा गएर उपेन्द्रजीको पार्टीलाई उद्धार गरेको हो । उपेन्द्रजीहरुले मधेश आन्दोलनको कार्यभार सम्झनुभयो भने अझै केही सम्भावना छ ।

    हाम्रो आधार एउटै हो, राजनीतिक एजेण्डा एउटै हो भने आफ्नो तर्फबाट भएका कमजोरीमा आत्मालोचना गरेर आउनुभयो भने जति नै समस्या भएपनि एकीकृत जसपा सम्भव छ । तर विगतमा एकपछि अर्को विवादित काम जुन गर्नुभयो । प्रदेशका सांसददेखि पार्टीकै प्रथम अध्यक्षलाई कथित कारवाही घोषणा गर्नुभएको छ ।

    एकीकृत जसपाको सम्भावना कठिनै भए पनि असम्भव भने होइन । विवाद, कारवाही र पार्टी एकता संकटमा पार्ने काम उपेन्द्रजीको समूहबाट भएको हो । त्यसैले पार्टी एकताका लागि सच्चिने पहल पनि उहाँहरुले नै गर्नुपर्छ । यसमा नै केन्द्रित रहेर हामीले पनि छिट्टै निर्णय लिन्छौं ।

    पार्टी एकता जोगाउनेबारे औपचारिक/अनौपचारिक रुपमा संवाद भइरहेको छ त ?

    दोस्रो तहका नेताहरुको बीचमा पार्टी एकता जोगाउनेबारे छलफल भइरहेको छ । छलफल जारी छ र हामी निष्कर्षमा पुगिसकेका छैनौं । म आफ्नै उपेन्द्रजीसँग २ साताअघि एकतावद्ध भएर जानेबारे संवाद गरेको हुँ ।

    तर अहिलेसम्मको प्रयासले मूर्तरुप लिन सकेको छैन । एकीकृत भएर जाने काम बादलपारीको घामजस्तै भएपनि निर्वाचन आयोगको निर्णयबाट एकता असम्भव भने भइसेकको छैन । अझैपनि पार्टीको एजेण्डा र एकताबारे जिम्मेवार हुने हो भने जसपा जोगाउन सकिन्छ ।

    तपाईहरुका बीचमा त कसले पहिला नयाँ पार्टी घोषणा गर्ने भन्नेमा मात्रै अलमल भएको हो भनिन्छ नि !

    नयाँ पार्टी घोषणा गर्ने सवालै उठ्दैन नि ! जनता समाजवादी पार्टी नेपालको प्रथम अध्यक्ष माननीय महन्थ ठाकुरजी हुनुहुन्छ । उहाँ पार्टीको हरेक समिति र संसदीय दलमा कम्फर्टेबल बहुमतमा हुनुहुन्छ । त्यसैले हामीले नयाँ पार्टी खोल्नुपर्ने छैन ।

    कुनै व्यक्तिले नयाँ पार्टी खोल्न सक्छ । पार्टीको नीति निर्णय र एजेण्डा छाड्नेहरुले त पार्टी छाड्नैपर्छ नि । तर हाम्रो लागि जसपा नै निर्णायक हो । महन्थजीको नेतृत्वमा जसपा नेपालले आफूलाई अझ बढी जिम्मेवार र सक्षम बनाएर लैजान्छ ।

    यतिधेरै विवाद छ अब जसपा एक रहन्छ वा रहन्न ?

    हामी त अहिलेको अवस्थालाई अवसर बनाउन चाहन्छौं । नेताहरुले कुण्ठा त्याग्नुपर्‍यो । उपेन्द्रजीले गलत निर्णय गर्नुभएको छ । महन्थजी जत्तिको सिनियर नेताको अपमान गर्नुभयो । रातारात पार्टी फुटाउन तयार हुने मान्छे लिएर उहाँहरु हिड्नुभएको छ । आजसम्म भएका कमजोरीप्रति आत्मालोचना गर्नुभयो भने एकता कायम रहन्छ ।

    ठाकुरकै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्दै हुनुहुन्छ हो ?

    यो विल्कुल गलत हो । नयाँ दल खोल्नुपर्ने कुनै आवश्यकता हामीर्ला छैन । महन्थ ठाकुरजीको नेतृत्वमा पार्टी अगाडि बढ्छ । कसैले जसपाको मुद्धा र संगठनलाई कमजोर गराउन चाहेको छ भने त्यसको प्रतिवाद हामी गर्छौ । यो पार्टी लाखौ जनताको भावनासँग जोडिएको छ । मधेश आन्दोलनले उठाएका महान् एजेण्डाको यसले अगुवाई गरिरहेको छ । राजनीतिक रुपमा जसपाले अझ धेरै गर्न बाँकी छ । त्यसैले हामी जसपाको मूलधारको रुपमा रहन्छौं । जसपाको जनमत हामीसंग छ । नयाँ पार्टी खोल्ने कुरा हामीले सोचेको पनि छैनौं ।

    लामो समयदेखि जसपाको विवाद निरन्तर छ । यसको वारपार कहिले हुन्छ त ?

    हामी बाहिरका दुश्मनसँग लडिरहेका छैनौं । पार्टीभित्रकै साथीहरुका बीचमा सहमति बढेको देखिन्छ । यसलाई हामीले लडाई वा वारपार गर्ने विषयका रुपमा बुझेका छैनौं । जसपाको दायित्व भनेको आफ्ना नेता, कार्यकर्ता र एजेण्डाको रक्षा गर्नु हो । महन्थजीको नेतृत्वमा रहेको समूह समझदारी बनोस् भन्ने पक्ष छ । कसैसँग लडाइँ गर्न हामी चाहदैनौं ।

    पार्टीका केही साथीहरु जो जसपाको मूलधारबाट बरालिनु भएको छ, उहाँहरुलाई संवादबाटै साथ लिएर जान सकिन्छ भन्ने हामीलाई लागेको छ । वारपार गर्नुभन्दा बढीभन्दा बढी कार्यकर्ताको साथ हासिल गर्न हाम्रा लागि महत्वपूर्ण छ । जसले पार्टी विभाजको चाहना राख्नुभएको छ उहाँहरु सच्चिनुको विकल्प छैन । उहाँहरु सच्चिनु भएन भनेपनि महन्थ ठाकुरजीको नेतृत्वमा जसपा नेपाल अगाडि बढ्छ । एकता नचाहनेहरु छुट्नुहुन्छ ।

  • उपेन्द्र यादव जनकपुरमा, प्रदेश सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

    उपेन्द्र यादव जनकपुरमा, प्रदेश सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश-२ मा सत्ता समीकरण परिवर्तन गर्न रातारात जनकपुर आइपुगेका छन् ।

    तत्कालीन राजपा र संघीय समाजवादी फोरमले प्रदेश-२ मा सरकार बनाएको थियो । पछि दुवै पार्टी एकीकरणपश्चात् जसपा बन्यो । पछिल्लो सयम पुनः पार्टी दुई समूहमा विभाजित भएको छ ।

    शुक्रबार महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भए लगत्तै उपेन्द्र यादव प्रदेश-२ मा सत्तासमीकरण परिवर्तन गर्न सक्रिय भएका हुन् । उनले प्रदेशमा पूर्व जसपाका मन्त्रीलाई हटाएर माओवादी केन्द्र र नेपाली कांग्रेसलाई ल्याउन छलफल सुरु गरेको बुझिएको छ ।

    शुक्रवार यादवले काँग्रेस उपसभापति विमलेन्द्र निधीसँग भेट गरे । निधीले मुख्यमन्त्री दिएपछि मात्र सरकारमा सहभागी हुने बताएका थिए । शुक्रवारै कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतसँग छलफल गरेपछि काँग्रेस प्रदेश सरकारमा सहभागी हुन तयार भएको एक साँसदले बताए ।

    केन्द्रमा बनेको गठबन्धन अनुसार उपेन्द्र यादव पक्षले माओवादी केन्द्रलाई पनि प्रदेश सरकारमा ल्याउने छलफल चलाएको छ । माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने बुझिएको छ ।

    माओवादीका एक सांसदले भने, ‘सरकारमा सहभागिताबारे छलफल भएको छ । तर मन्त्रालयको टुंगो लाग्न सकेका छैन ।’

    तत्कालीन राजपाको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाउने मुख्यमन्त्री राउत निकट स्रोतले जनाएको छ ।

    तत्कालीन राजपाबाटै सामाजिक विकास मन्त्री बनेका नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री बनेका रामनरेश राय यादव उपेन्द्र यादव समूहमा लागेपछि पद जोगिने भएको छ । मन्त्री साह र यादव जसपाका केन्द्रीय कार्यकारिणी सदस्य हुन् । साह राजेन्द्र महतो र यादव महेन्द्र राय यादवको कोटाबाट मन्त्री बनेका थिए ।

    पूर्व राजपाका एक मन्त्री र तीन राज्यमन्त्रीलाई मात्र हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएपछि भागबण्डा मिलाउन उपेन्द्र यादवलाई सकस भएको छ । केही मन्त्रालय फुटाएर भएपनि कांग्रेस र माओवादीलाई सन्तुष्ट हुनेगरी सरकारमा ल्याउने विषयमा उपेन्द्र यादवले छलफल चलाएको स्रोतले जनाएको छ ।

    कांग्रेस उपसभापति निधीले मुख्यमन्त्रीमा कांग्रेस हुनु पर्ने दावी गरेपनि लालबाबु राउत नै निरन्तरता पाउने देखिएको छ । कांग्रेसमा पनि दुई खेमामध्ये रामचन्द्र पौडेल पक्षका सांसदहरू तत्काल राउतलाई नै निरन्तरता दिने पक्षमा उभिएको स्रोतको दावी छ ।

    हुन त मन्त्री सोनलले पनि कांग्रेसलाई आफ्नो पक्षमा पार्न लबिङ नगरेका होइन् । तर केन्द्रमा बनेको तालमेलको हिसावले मन्त्री सोनलले गरेको आग्रह अनुसार महन्थ ठाकुर पक्षसँग सहकार्य नहुने काँग्रेसका एक सांसदले बताए ।

    उनी भन्छन्, ‘पछि के हुन्छ भन्न सकिन्न । तर अहिले उपेन्द्र यादव पक्षसँग नै सहकार्य हुन्छ ।’

  • महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको पत्र- कारवाही पुष्टि हुने आधार देखिएन

    महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको पत्र- कारवाही पुष्टि हुने आधार देखिएन

    काठमाडौं । निर्वाचन आयोगले जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ ।

    आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै मंगलबार दुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको छ ।

    दुवै अध्यक्षले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली अनुरुप नभएकोले बदर गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए ।

  • उपेन्द्रको ठहर – खानीजन्य वस्तुको निर्यात वातावरणीय हिसाबले घातक

    उपेन्द्रको ठहर – खानीजन्य वस्तुको निर्यात वातावरणीय हिसाबले घातक

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात वातावरणीय हिसाबले घातक भएको बताएका छन् ।

    सरकारले शनिबार ल्याएको बजेटमा व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात उल्लेख छ । बुधबार विज्ञप्ति जारी गर्दै यादवले त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    ‘हालै सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ र निजी क्षेत्रको संलग्नतामा चुरेक्षेत्रमा बसोवास गराउने, वन विनास गरी होटल, मोटल, रिसोर्ट आदि खोल्ने भनिएकोमा यसप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस नीति, कार्यक्रम र योजना वातावरणीय हिसाबले घातक रहेको छ। यसबाट नवधनाढ्य देखि व्यवसायीलाई त फाइदा नै होला तर, यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई मधेशमा ठूलो प्राकृतिक संकट आउने छ।’

    यसले पर्यावरणमा नकरात्मक असर पार्ने र तराई-मधेशमा बसोबास गर्ने जनताले त्यसको मूल्य चुकाउनु पर्ने यादवको दावी छ । ‘व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको छ । यसले चुरे विनाश गर्ने, तराई-मधेशलाई मरुभूमिकरण गर्ने निश्चित नै छ,’ यादवले भनेका छन्।

    भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ल्याइएको नीति रद्ध गर्नुपर्ने उनको माग छ ।