Tag: उपराष्ट्रपति नन्दबहादुर पुन

  • चाडपर्वका माैलिकता जाेगाऔं, विकृति हटाऔं: उपराष्ट्रपति पुन

    चाडपर्वका माैलिकता जाेगाऔं, विकृति हटाऔं: उपराष्ट्रपति पुन

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् ।

    उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गरेका छन् ।

    सबै खाले चाड पर्वको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व रहेको उपराष्ट्रपतिको भनाइ छ । उपराष्ट्रपतिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभामा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । विविधतायुक्त धर्म, संस्कार संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन्,’ सन्देशमा उनले भनेका छन्, ‘महान् चाड तिहारले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु ।’

    जनताको लामो सङ्घर्षपछि देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक परिवर्तन प्राप्त भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले यी परिवर्तनलाई संविधानले संस्थागत गरेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नती र समृद्धिको मार्गमा रहेको बताएका छन् ।

  • उपराष्ट्रपतिले भने- आगामी दिन राजनीतिक रूपमा केही जटिल, जनतामा निराशा बढ्न थाल्यो

    उपराष्ट्रपतिले भने- आगामी दिन राजनीतिक रूपमा केही जटिल, जनतामा निराशा बढ्न थाल्यो

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रतिनिधिसभा विघटनप्रति इंगित गर्दै आगामी दिन राजनीतिक रूपमा केही जटिल बन्ने बताएका छन् ।

    गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उपराष्ट्रपति पुनले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रभाव नपारेसम्म राजनीतिक परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने दावी गरेका छन् ।

    ‘गणतन्त्रलाई परष्कृत गर्न संविधानसम्मत चल्न र जनअभिमतको कदर गर्न अनिवार्य छ । नयाँ संविधान बमोजिम २०७४ को निर्वाचनमा राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि जनमत अभिव्यक्त भएको थियो’, उपराष्ट्रपतिले भनेका छन्, ‘तर पछिल्ला ६ महिनाको बीचमा प्रतिनिधिसभा दुईपटक विघटन भएको छ । सम्मानित सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) ले मुलुक आक्रान्त भइरहेको दुःखद्‌ अवस्थामा फेरि विघटन भएको छ । यसमा राजनीतिक दलहरूमा मतएकता नहुँदा आगामी दिन राजनीतिक रूपमा केही जटिल बन्ने देखिन्छ ।’

    एकात्मक, सामन्तवादी, पुराना सोंच, शैलीहरू विद्यमान रहेको भन्दै उपराष्ट्रपति पुनले यसले जनतामा निराशा बढ्न थालेको बताएका छन् ।

    ‘पछिल्लोपटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा म आशावादी छु । सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्याहरू छिट्टै समाधान हुने नै छन् । राजनीतिक समस्याका बीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहरलाई नियन्त्रण गर्न, गम्भीर संक्रमितहरूको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न अपील गर्दछु’, उपराष्ट्रपतिले आफ्नो सन्देशमा भनेका छन् ।

  • महिला हिंसाका घटनाले सभ्य समाजलाई गिज्याइरह्यो: उपराष्ट्रपति (भिडियो)

    महिला हिंसाका घटनाले सभ्य समाजलाई गिज्याइरह्यो: उपराष्ट्रपति (भिडियो)

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् ।

    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्शको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला हिंसाका घटनाहरु न्युनीकरण हुन नसकेको र अपराधीहरु कानूनी दायरामा आउन नसकेकाले सबैले गम्भीरतापूर्वक सोच्ने बेला आएको बताए ।

    उनले महिला हिंसाका घटनाले दिदीबहिनीहरुले असुरक्षित महसूस गरिरहेको उल्लेख गर्दै महिला हिंसाको अन्त्य विना समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका हुन् ।महिला हिंसाका घटना न्यूनीकरण हुन नसकिरहेको भन्दै उपराष्ट्रपति पुनले ज्यादै दुःखको कुरा भएको बताए ।

    उपराष्ट्रपति पुनले भने, ‘स–साना बालबालिकाहरुको बलात्कारपछि हत्याका घटनामा अपेक्षाकृत न्यूनीकरण हुन सकिरहेको छैन । कतिपय घटनाका अपराधीहरु कानूनको दायरामा आउन सकिरहेका छैनन् । महिला हिंसाका अन्य घटनाहरु पनि थुप्रै घटिरहेका छन् । र मानिसमा चेतनाको कमीका कारण हो या अपराधीको पहिचान र उचित कानूनी कारबाही हुन नसक्दा यस्ता घटना घटिरहेका छन् । यसमा हामी सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।’

    उनले महिला हिंसाका घटनाले महिला असुरक्षित रहेको भन्दै उनले हिंसात्मक घटनाले समाजलाई गिज्याइरहेको समेत बताए ।

    उनले भने, ‘एक्काइसौं शताब्दीको यो सभ्य समाजलाई गिज्याइरहेका महिला हिंसाका घटनाहरुले हाम्रो दिदीबहिनीहरुले असुरक्षित महसूस गरिरहनुभएको छ । अर्कोतर्फ यस्ता घटनाहरुले विश्व जगतमा देशको छवि समेत धुमिल बनिरहेको छ । हामीले जबसम्म स्कूल गएका छोरीहरु घर फर्कन सक्दैनन् कि, मध्यरातमा कार्यस्थलबाट फर्किरहेका दिदीबहिनीहरु हिंसामा पर्छन् कि, घर भित्र रहेका दिदीबहिनीहरु कुटपिट तथा हिंसामा पर्छन् कि भन्ने आशंका गरिरहनुपर्ने अवस्थाको जबसम्म अन्त्य गर्दैनौं तबसम्म हाम्रो समाज सभ्य र सुरक्षित बन्न सक्दैन ।’

    उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धिप्रति गर्व गर्दै बाँकी उपलब्धिहरुका लागि सचेत रहन आग्रह समेत गरे ।

    महिला सशक्तीकरणका लागि शिक्षा र आर्थिक आत्मनिर्भरता पहिलो पाटो रहेको भन्दै उनले देशको समृद्धिको लागि उद्यम क्षेत्रमा महिलाहरुको सहभागिता आवश्यक रहेको बताए ।

  • उपराष्ट्रपति पुनद्वारा नेपाली फिल्मले लय समात्ने विश्वास, पुनरुत्थानमा एकजुट हुन आह्वान

    उपराष्ट्रपति पुनद्वारा नेपाली फिल्मले लय समात्ने विश्वास, पुनरुत्थानमा एकजुट हुन आह्वान

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाले थलिएको नेपाली फिल्म उद्योगले चाँडै लय समात्ने विश्वास व्यक्त गरेका छन् ।

    चलचित्र प्राविधिक संघको डेलिगेसन टोलीसँग भेट गर्दै पुनले कोभिडको कारण समस्या भोगेको फिल्म क्षेत्रलाई लयमा ल्याउन सबै क्षेत्र एकजुट हुनुपर्ने खाँचो औंल्याए ।

    उपराष्ट्रपतिसँगको भेटपछि नेपाल प्रेससँग कुरा गर्दै संघ अध्यक्ष पुष्कर लामाले भेटमा पुनले फिल्म क्षेत्रको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका थिए ।

    प्राविधिक संघले आउँदो शनिबार आयोजना गर्ने नेफ्टा अवार्डमा उपराष्ट्रपति पुन प्रमुख अतिथिका रुपमा सहभागि हुँदैछन् । भाइरस महामारीले रोकिएको नेफ्टा अवार्ड यसपटक स्वदेशमै हुन लागेको हो ।