Tag: उपचुनाव

  • उपचुनावमा गठबन्धन भर्सेस एमाले : अर्घाखाँचीमा टोपबहादुर कति सुरक्षित ?

    उपचुनावमा गठबन्धन भर्सेस एमाले : अर्घाखाँचीमा टोपबहादुर कति सुरक्षित ?

    सन्धीखर्क । सत्ता गठबन्धनको सोमबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उपचुनाव तथा राष्ट्रियसभा चुनावमा एमालेविरुद्ध मिलेर लड्ने निर्णय गरेको छ । निर्वाचन आयोगले उपचुनावको मिति तय गरिसकेको छैन ।

    माओवादीबाट निर्वाचित चारजना प्रतिनिधिसभा सदस्य कैलालीका लेखराज भट्ट र गौरीशंकर चौधरी, रौतहटका प्रभु साह र अर्घाखाँचीका टोपबहादुर रायमाझी नेकपा विभाजनपछि एमालेमा रहेपछि उनीहरूलाई माओवादीले पदमुक्त गरेको थियो ।

    तीसहित विभिन्न प्रदेशसभा सदस्य पदसमेत रिक्त भएकाले ती ठाउँमा उपचुनाव हुँदैछ । जसपाले पदमुक्त गरेको लुम्बिनीका ४ जनाको हकमा मुद्दा चलिरहेकाले अन्य क्षेत्रमा उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।

    उपचुनावमा सत्ता गठबन्धनले मिलेर लड्ने घोषणा गरेसँगै चुनावी माहौल बन्न थालेको छ । विशेषगरी माओवादीका प्रभावशाली नेताहरू जो एमाले बने, उनीहरू पुनः सांसद निर्वाचित हुन कति सम्भव छ ? एमाले एकातिर, सत्ता गठबन्धन अर्कोतिर हुँदा आउने चुनाव रोचक हुनेछ ।

    यसै सन्दर्भमा हाल एमालेमा रहेका चर्चित नेता टोपबहादुर रायमाझीको चुनाव क्षेत्रको सामान्य चर्चा गर्न खोजिएको छ ।

    २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि भएका तीनवटै आम निर्वाचनमा लगातार अर्घाखाँचीबाट निर्वाचित हुँदै आएका टोपबहादुर रायमाझी यसपटक उपचुनावमा नयाँ परिचयका साथ जानुपर्नेछ ।

    तत्कालीन माओवादीको शीर्ष तहका नेता रायमाझीले दुईपटक आफ्नै बलमा र २०७४ सालको निर्वाचनमा एमालेको समेत मत पाएर करीव १८ हजारको भारी मतान्तरमा सांसद निर्वाचित भएका थिए ।

    अब उपचुनावमा उनको नयाँ परिचय हुनेछ-एमाले नेता । २०७० मा माओवादीका धेरै शीर्ष नेताहरूले चुनाव हार्न लाग्दा मतगणनास्थल छाडेर बहिष्कार गरेपनि रायमाझीले अर्घाखाँचीबाटै पार्टी निर्णयलाई चुनौती दिँदै मतगणनास्थलमा बसेर निर्वाचित भएका थिए ।

    यदि उपचुनावमा सत्ता गठबन्धन एकजुट भएर जाँदा रायमाझीको चौथो जित सहज होला ? करिब चार वर्षअघिको गणितले उनको सहज जितमा प्रश्न उठाउँछ तर राजनीतिमा ४ वर्षअघिको मत सर्लक्क तलमाथि भने हुँदैन ।

    जिल्लामा विकासप्रेमी भनेर चिनिएका रायमाझीसँग हिजोको माओवादी पंक्ति पूरै छैन । जिल्लामा करिब ३० प्रतिशत कार्यकर्ता उनीसँगै एमालेमा लागेको अनुमान छ । तर, माओवादी नेताहरू भने रायमाझीसँग १० प्रतिशतमात्रै नेता कार्यकर्ता एमालेमा लागेको बताउँछन् ।

    जिल्लाबाट निर्वाचित रायमाझीसँगै राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्य चन्द्रबहादुर खड्काले सांसद पद त्यागेर एमाले रोजेका थिए । खड्काले गठबन्धनसँग उपचुनाव हारिसकेका छन् भने अब गठबन्धनको सामना गर्ने पालो रायमाझीको आउँदैछ ।

    अर्घाखाँचीमा रायमाझीका लागि फाइदा भनेको एमालेको बलियो संगठन र जनाधार नै हो । उनको लागि अर्को फाइदा के हो भने अर्घाखाचीमा एमाले विभाजनको असर तुलनात्मकरूपमा कम परेको छ । नेकपा एसले एमालको जति मत काट्छ त्यो भन्दा बढी माओवादीबाट एमालेमा थपिएको छ ।

    तर, सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा उनको जित सहज छैन । किनकी यहाँ कांग्रेस र एमाले हाराहारीका शक्ति हुन् भने राष्ट्रिय जनमोर्चाको समेत निर्णायक मत छ । अहिले जनमोर्चा पनि सत्ता गठबन्धनमा भएकाले एमाले एकातिर र अन्य दल अर्कोतिर हुँदा गणित विपक्षमा बढी देखिन्छ ।

    २०७४ को आम निर्वाचनमा रायमाझीले वाम गठबन्धनको साझा उम्मेदवार बन्दा ५० हजार ८३७ मत प्राप्त गरेर बिजय हासिल गरेका थिए । प्रतिद्धन्द्धी कांग्रेसका रामबहादुर विसीले ३२ हजार ५४४ मत प्राप्त गरेका थिए । रायमाझीले पाएको ५० हजार ८ सय मतमा राजमोको समेत करिब ४ हजार मत थियो ।

    त्यसो भए अर्घाखाचीमा सिंगल सिंगल कुन पार्टी बलियो छ त ? त्यसका लागि दलहरुले पाएको समानुपातिक मत हेर्नुपर्छ । अर्घाखाँची प्रतिनिधिसभामा एकमात्र क्षेत्र भएकाले जिल्लाभरको समानुपातिक मतले दलीय हैसियत देखाउँछ ।

    चार वर्षअघि अर्घाखाँचीमा एमालेले ३० हजार ४१७ मत प्राप्त गरेर जिल्लाको सबैभन्दा ठूलो दल बनेको थियो । कांग्रेसले २८ हजार ३६९ मत प्राप्त गरेको थियो भने माओवादीले १४ हजार ९६२ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाले ४ हजार ७७१ मत पाएको थियो ।

    अर्घाखाँचीमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले ६९४ मत पाएको थियो समानुपातिकतर्फ । जुन दल अहिले जसपामा रुपान्तरण भइसकेको छ । गठबन्धनलाई यो मत पनि फाइदा हुनेछ ।

    यसबीचमा नयाँ मतदाता पनि थपिएका छन् । तर, चार वर्षअघिको समानुपातिक मत हेर्दा सत्ता गठबन्धन बलियो हुनेछ । माओवादीले पाएको करिब १५ हजार समानुपातिक मतमा रायमाझीसँग गएको माओवादी हिस्साले ५ हजार मत कटाए पनि उनका लागि उपचुनाव फलामको च्यूरा बन्ने देखिन्छ । यद्यपि जिल्लाको शीर्ष नेता भएकाले उनको व्यक्तिगत प्रभावले पनि प्रत्यक्ष चुनावमा अर्थ राख्न सक्छ ।

    यदि रायमाझीसँग कांग्रेस उम्मेदवारले प्रतिस्पर्धा गरेमा माओवादीको मत उनले अझ बढी आफूतिर तान्न सक्छन् । तर, माओवादीकै उम्मेदवार हुँदा कांग्रेसको मत तितरबितर हुनेछ । गणित रायमाझीको अनुकूल नभए पनि चार दिनमै बदलिने मतदाताको मुडलाई ४ वर्षअघिको मतपेटिकाबाट निकालेर जोख्न अवश्य सकिन्न ।

  • प्रभु साहको आरोप- संघ र प्रदेशको उपचुनाव टार्न आयोग र सरकारको साँठगाँठ भयो

    प्रभु साहको आरोप- संघ र प्रदेशको उपचुनाव टार्न आयोग र सरकारको साँठगाँठ भयो

    काठमाडौं । नेकपा (एमाले) का नेता प्रभु साहले संघ र प्रदेशको रिक्त ठाउँमा ६ महिनाभित्र उपचुनाव गराउनु पर्ने संवैधानिक व्यवस्था रहेको भन्दै चुनाव नगराउन निर्वाचन आयोग र सरकारबीच साँठगाँठ भएको आरोप लगाएका छन् ।

    ‘प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थालाई समेत नजरअन्दाज एवं खिल्ली उडाउँदै मेरो निर्वाचन क्षेत्रलगायत देशका अन्य रिक्त स्थानहरूमा निर्वाचन आयोग र अहिलेको यो अपवित्र गठबन्धनको सरकारले हालसम्म पनि उपनिर्वाचन गराउन नसक्नु वा नचाहनु भनेको खेद एवं दु:खको विषयमात्र नभइ देशमा विधिको शासन, कानूनी राज्य एवं हाम्रो संवैधानिक हकको ठाडो बरखिलाफ एवं उपहास पनि हो,’ साहले फेसबुकमा लेखेका छन्।

    एमाले रोजेपछि साहलाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गरिसकेको छ । दलीय अनुशासनको नाममा कारबाहीको डण्डा चलाउने प्रचण्डले पनि यसको जवाफ दिनुपर्ने उनले टिप्पणी गरेका छन् । साहले भनेका छन्, ‘जनतालाई लामोसमयसम्म जनप्रतिनिधिविहीन बनाइराख्ने निर्वाचन आयोग र अहिलेको अपवित्र गठबन्धनको सरकारको यो अक्षम्य अपराध हो ।’

    तत्काल नैतिकताको आधारमा राजीनामा गर्न वा सार्वजनिकरूपमा आत्मालोचित भइ माफी माग्दै रिक्त स्थानहरूमा चुनाव गराउन उनले माग गरेका छन् ।

  • प्रतिनिधि र प्रदेशसभा उपचुनावको तयारीमा निर्वाचन आयोग, स्थानीय तहको नहुने

    प्रतिनिधि र प्रदेशसभा उपचुनावको तयारीमा निर्वाचन आयोग, स्थानीय तहको नहुने

    काठमाडौं । स्थानीय तहमा रिक्त रहेका पदाधिकारीका लागि उपनिर्वाचन नहुने भएको छ । तर, निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको उपचुनावको तयारी भने थालेको छ ।

    निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले स्थानीय तहको अर्को निर्वाचन आउन एक वर्ष पनि बाँकी नभएकाले उपनिर्वाचन नगराइने जानकारी नेपाल प्रेसलाई दिए ।

    २०७४ वैशाख ३१ मा पहिलो र असार १४ मा दोस्रो गरी स्थानीयत तहको निर्वाचन दुई चरणमा भएको थियो ।

    स्थानीय तहका पदाधिकारीको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा पद रिक्त हुन गएमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    पहिलो चरणको चुनाव भएको अवधि २०७९ वैशाखमा पुग्छ जुन समय आउन १० महिना पनि छैन ।

    प्रतिनिसभा र प्रदेशसभा उपनिर्वाचनको तयारी

    आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि भने तयारी शुरू गरेको छ । आयोगका सचिव अधिकारीले उपनिर्वाचनको मिति सरकारसँग छलफल गरेर तय गर्ने र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागिएको जानकारी दिए ।

    संविधानमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी समय बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाबाट गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७४ मंसिर १० र मंसिर २१ मा भएको थियो । अर्को चुनाव २०७९ मंसिभित्र गर्नुपर्छ जसका लागि करिब १७ महिना बाँकी छ ।

    रिक्त स्थान : प्रतिनिधिसभा- ४ र प्रदेशसभा- ११

    दल परिवर्तन गरेका कारण कारवाहीमा परेका र राजीनामा दिएका गरी अहिले प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ११ सदस्यको पद रिक्त भएको छ । ती रिक्त स्थानमा अब आयोगले उपनिर्वाचन गराउनेछ ।

    एमालेमा गएका कारण माओवादी केन्द्रले अर्घाखाँची-१ का टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीलाई कारवाही गरि पदमुक्त गराएको थियो ।

    त्यस्तै प्रदेशसभातर्फ एमालेमा गएका कारण ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङबुहाङलाई माआवादी केन्द्रले कारवाही गरेको थियो ।

    प्रदेश २ मा तीनजना प्रदेशसभा सदस्यको पद खाली छ । दल त्याग गरेर एमालेमा गएका कारण माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारवाही गरेको थियो ।

    दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त हुनेमा धनुषाका रामचन्द्र मण्डल, बाराकी ज्वाला साह र रौतहटका कुन्दनप्रसाद कुशवाहा छन्। समानुपातिक सांसद मोहम्मद समीर कारवाहीमा परे पनि माओवादीले उनको ठाउँमा नयाँ सदस्य नियुक्त गरिसकेको छ ।

    वागमती प्रदेशमा एक प्रदेशसभा सदस्यको पद रिक्त छ । दोलखा ‘ख’ बाट निर्वाचित पशुपति चौलागाईंको कोरोनाका कारण मृत्यु भएको थियो ।

    लुम्बिनी प्रदेशसभामा पनि ४ सदस्यको पद रिक्त भएको छ । दुई सांसदले दल त्याग गरेको र अरु दुईजनाले राजीनामा दिएका कारण त्यहाँ खाली भएको हो ।

    एमालेका सांसद दाङका अम्बरबहादुर डाँगी र कपिलवस्तुका दीर्घनारायण पाण्डेले राजीनामा दिएका थिए। त्यस्तै प्रदेशसभा सदस्यद्वय रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थी एमालेमा गएका कारण माओवादीले उनीहरुलाई कारवाही गरेको थियो ।

    कर्णाली प्रदेशसभा सदस्य दैलेखका धर्मराज रेग्मी र सुदूरपश्चिम प्रदेशसभा सदस्य अछामका झपट बोहोरा एमालेमा गएका कारण माओवादीले कारवाही गरेको थियो ।

  • राष्ट्रियसभा उपचुनावको परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

    राष्ट्रियसभा उपचुनावको परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

    रूपन्देही । लुम्बिनी प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।

    प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । कोरोना महामारीको उच्च जोखिमका कारण भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले नेपाल प्रेसलाई बताए ।

    निर्वाचनका लागि दाङको घोराहीमा तीन मतदानस्थल तोकिएको छ ।