Tag: उपचार

  • तिलोत्तमाका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क उपचार

    तिलोत्तमाका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क उपचार

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई घर-घरमा पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको छ ।

    ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम बनाएर तिलोत्माले यो कार्यक्रमको शुरुवात गरेको हो ।
    तिलोत्तममा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेको स्वास्थ्य शाखाले तथ्यांक निकालेको छ ।

    यो कार्यक्रमअनुसार हरेक वडामा दुई-दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नेछन् । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइने नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले विभिन्न ११ थरी औषधी र मधुमेह परीक्षणको समेत व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको साथैं निःशुल्क औषधी र आवश्यक परामर्श उपलब्ध गराउने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

    नगर प्रमुख बासुदेव घिमिरेले ज्येष्ठ नागरिकको मन जितेर काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । तिलोत्तमा नगरपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएर काम गरिरहेको बताउँदै उनले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरेर यो कार्यक्रम सुरु गरिएको बताए ।

  • खोकीको उपचार गराउन गएकी युवतीको मुटु गलत ठाउँमा भेटियो

    खोकीको उपचार गराउन गएकी युवतीको मुटु गलत ठाउँमा भेटियो

    काठमाडौं । अमेरिकाकी एक युवती पछिल्लो दुई महिनादेखि खोकीसँग जुधिरहेकी थिइन् । उनी डाक्टरसामु यो समस्या लिएर पुगिन् र डाक्टरले उनको उपचार सुरु गरे । उपचारका दौरान उनको मुटु गलत स्थानमा छ भन्ने पत्ता लाग्यो ।

    र, क्लेयरले टिकटक भिडियोमार्फत् आफ्नो कहानी सुनाएकी छन् । सिकागोमा बस्दै आएकी १९ वर्षीया क्लेयर म्याकको जुनमा हाथ काटिएको थियो । र, उनी टिटनासको सुई लगाउन डाक्टरसामु गएकी थिइन् । त्यो बेलासम्म उनलाई दुई महिनादेखि खोकीले पनि सताइरहेको थियो । र, अस्पताल पुगेका बेला त्यसको पनि उपचारका लागि उनले सोधेकी थिइन् ।

    सोही क्रममा उनको मुटु गलत स्थानमा रहेको पत्ता लागेको थियो । क्लेयरले भिडियोमा आफू विद्यार्थी भएको र नाइट लाइफमा पार्ट-टाइम काम गर्दै आएको बताएकी छन् । गत महिना कोरोना गाइडलाइन्स अनुसार सिकागो खुल्न सुरु हुँदै गर्दा उनलाई रुघा लागेको थियो । र, औषधी खाँदा पनि ठीक भइरहेको थिएन ।

    उनको छातीमा इन्फेक्सनको आशंका गरेर एक्सरे गरिएको थियो । जब एक्स-रेको रिपोर्ट आयो, डाक्टर आश्चर्यमा परेका थिए । क्लेयरले आफ्नो भिडियोमा भनेअनुसार रिपोर्ट हेरेर डाक्टरले आफूलाई गलत ठाउँमा मुटु भएको बताएका थिए ।

  • झलनाथमा ‘मिर्गौला फेल’ पछिको जटिलता, आज दिल्ली प्रस्थान

    झलनाथमा ‘मिर्गौला फेल’ पछिको जटिलता, आज दिल्ली प्रस्थान

    काठमाडौं । केही दिनदेखि अस्वस्थ बनेका एमाले नेता झलनाथ खनाललाई आज उपचारका लागि नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा विभिन्न जटिलता उत्पन्न भएपछि परिवारको निर्णयमा दिल्ली लगिएको हो ।

    लगातार ज्वरो आएपछि खनाललाई तीन दिनअघि नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गयो । उनमा ‘मिर्गौला फेल’ पछिको स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले बताएको छ ।

    गत माघमा स्वास्थ्यमा समस्या आएपछि झलनाथ उपचारका लागि दिल्ली पुगेका थिए । त्यहाँको एपोलो अस्पतालमा स्वास्थ परीक्षण गर्दा उनको मिर्गौला फेल भएको पुष्टि भएको थियो ।

    यस विषयमा चैत ७ गते नेपाल प्रेसले समाचार प्रकाशित गरेको थियो ।

    त्यसबेला झलनाथको सचिवालयले समाचारको खण्डन गरेको थियो । तर, नर्भिक अस्पताल स्रोतले भने मिर्गौला फेल भएको पुनःपुष्टि गरेको छ ।

    ‘अहिले उहाँलाई देखिएको समस्या भनेको मिर्गौला फेल भएपछि हुने समस्या हो । उहाँको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । त्यसैले अक्सिजनको नियमित सपोर्टमा राख्नु परेको छ’, स्रोतले भन्यो ।

    स्रोतका अनुसार हिजो उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्टमात्रै लिन सक्यो । यसको अर्थ उनको मुटुले राम्रो काम नगरिरहेको चिकित्सकले बताएका छन् । यसैगरी पिसाबमा पनि इन्फेक्सन देखिएको छ ।

    नर्भिकले झलनाथको यहीँ उपचार सम्भव भएको बताए पनि परिवारले भने दिल्ली लैजाने निर्णय गरेका हुन् ।

    ‘हामीले उपचार गर्न सक्छौं भनेका हौं । तर, उहाँहरुले पहिलेदेखि एपोलोमा देखाइरहनु भएको रहेछ । अहिले पनि एपोलोको डाक्टरसँग कुरा गर्नुभयो र डाक्टरको सल्लाहमा नै लैजान लाग्नुभएको हो,’ स्रोतले भन्यो ।

    खनाललाई एक महिना अगाडि मात्रै कोरोना संक्रमण भएको थियो । त्यसबेला उनी नर्भिक अस्पतालमा नै उपचार गराएर घर फर्केका थिए । अहिले ‘पोस्ट कोरोना’ को समस्या हो कि भनेर सुरुमा आँकलन गरिए पनि त्यस्ताे नदेखिएको अस्पताल स्रोतले बतायो ।

  • अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्नेलाई कारवाही

    अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्नेलाई कारवाही

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।

    मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न/नगराउन अनुरोध गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएकाले कारवाही गरिने जानकारी दिए ।

    मन्त्रालयले प्राप्त बिरामीको तथ्याङ्कका आधारमा अस्पतालमा अक्सिजन आवश्यकतानुसार उपलब्ध गराएको जनाइएको छ । अस्पतालमा पुगेका अक्सिजन सिलिण्डर अस्पतालको अक्सिजन आपूर्ति प्रणालीमा स्वतः जाने भएकाले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।

    -रासस

  • जो बिरामी हुँदा पनि कोरोना संक्रमितको ज्यान जोगाउन लागे

    जो बिरामी हुँदा पनि कोरोना संक्रमितको ज्यान जोगाउन लागे

    काठमाडौं । मंगलबारको कोरोना रिपोर्टले डा. पुरुषोत्तम वर्मालाई ढुक्क बनायो । ढुक्क यसकारण कि, रिपोर्ट नेगेटिभ आएको थियो । अस्पतालमा काम गर्दा गर्दै कमजोरीले गालेको थियो उनलाई । कोरोनासँग मिल्दो लक्षण पनि देखिएको थियो ।

    सामाजिक सञ्जालमा पनि संक्रमित भनेर हल्ला फिँजियो । जे होस्, नतिजा भने सुखद् आयो ।

    डा. वर्माको फोटो सामाजिक सञ्जालमा केहीदिन यता भाइरल बनेको थियो । कोरोना महामारीमा दिलोज्यान दिएर बिरामीको उपचारमा तल्लीन कतिपय स्वास्थ्यकर्मी आफैं संक्रमित छन् । तै पनि पेसागत धर्म मात्र हैन, मानवीयताको मूल्य निभाइरहेका छन् भन्ने प्रमाणस्वरूप उनको कारुणिक फोटो देखा परेको थियो सामाजिक सञ्जालमा ।

    फोटोमा डाक्टर वर्मा हातमा सलाइन लगाएर अस्पतालमा काम गरिरहेका देखिन्थे । स्वयम् बिरामी भएर संक्रमितको उपचारमा खटिएको डाक्टर देख्दा तस्बिरले धेरैको हृदय पगाल्यो ।

    कोरोना ‘हटस्पट’ बाँकेको नेपालगञ्ज मेडिकल कलेजको कोरोना वार्डमा उनी यतिबेला पनि बिरामीको हेरचाहमा लागिरहेका छन् ।

    डेढ वर्षदेखि त्यहाँ कार्यरत डा. वर्मालाई यस्तो चाप कहिल्यै परेको थिएन । सँगै काम गर्ने तीन साथी कोरोना संक्रमित भए । र होम आइसोलेसनमा गए । थेग्नै नसक्ने थियो बिरामीको चाप । त्यही क्रममा आफैं पनि बिरामी परे उनी ।

    ‘मलाई आराम चाहिएको थियो । संक्रमण भयो भन्ने लागेको थियो । यस्तै बेलामा त हो काम देखाउने । विकल्प पनि थिएन । स्लाइन लगाएर काममा खटिएँ म,’ उनी सुनाउँछन् ।

    त्यति नै बेला एक जना सहकर्मीलाई लाग्यो- यो त पछिसम्म मेमोरी हुन्छ ।’ अनि उनले दृश्यलाई फोटोमा कैद गरे । अर्का सहकर्मीले फेसबुकमा राखिदिए । डा. वर्माले पछिमात्र थाहा पाए त्यो कुरा ।

    अघिल्लो वर्षको भन्दा धेरै गाह्रो बनाएको छ यसवर्ष कोरोनाले । दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा अघिल्लो सालको तुलनामा अस्पताल आउने बिरामीको संख्या मात्र बढेको छैन । समस्या पनि गम्भीर बन्दै गएको छ ।

    बिरामीमा अक्सिजन लेभल घट्ने र सास फेर्न गाह्रो हुने समस्या निकै छ । अस्पतालमा बिरामीको संख्या बढ्दै गएका कारण स्वास्थ्यकर्मीको अहोरात्र खटिनुपरेको छ । यसरी खटिँदा थुप्रै अनुभव व्यहोरिसकेका छन् डा. वर्माले ।

    उनको आग्रह छ- कोरोनासँग नआतिऔं । ‘भीडभाडमा नबस्ने, सही तरिकाले मास्क लगाउने र हातलाई निरन्तर साबुनपानीले धुने वा स्यानीटाइजर लगाउने मात्र गरे पनि संक्रमणबाट जोगिन सकिन्छ । फैलिन पनि कम हुन्छ,’ उनी सुझाउँछन् ।

  • सुदूरपश्चिम प्रदेश : आँगनमा राखेर संक्रमितको उपचार

    सुदूरपश्चिम प्रदेश : आँगनमा राखेर संक्रमितको उपचार

    कैलाली । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरले सुदूरपश्चिमका अस्पतालमा चाप बढेको छ ।

    प्रदेशको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । कोरोना संक्रमितको उपचारका लागि ५५ शय्या छन् । अहिले ५८ जना भर्ना भएका छन् ।

    तीमध्ये ३ जना भेन्टिलेटरमा छन् भने २० जना आईसीयूमा छन् । २८ जनालाई अक्सिजनको सहायतामा राखिएको र ७ जना मेड्रेटमा रहेको अस्पतालले जनाएको छ ।

    बेड अभावका कारण कोभिड-१९ को लक्षण भएकाहरूको आकस्मिक कक्षमै उपचार भइरहेको छ । १५ शय्याको आकस्मिक कक्ष भरिएपछि ग्यालरी र अस्पतालको आँगनमा राखेर उपचार भइरहेको छ ।

    ‘दिन प्रतिदिन सङ्क्रमितहरू बढिरहेका छन्’ अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने ‘अहिले ग्यालरीमा र आँगनमा पनि राखेर उपचार गर्न बाध्य छौँ ।’ उनका अनुसार संक्रमितलाई प्राथमिकतामा राखेर लक्षण देखिएकाहरूलाई आकस्मिक कक्षमा लैजाने र अन्य बिरामीहरूलाई त्यहाँ राख्ने गरी टेन्ट बनाइएको थियो । तर अहिले ठाउँ अभाव छ ।

    अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर तीव्र फैलिएको बताए । ‘कोरोना नियन्त्रणभन्दा बाहिर गइरहेको छ । हामीसँग भएको क्षमता भन्दा धेरै संक्रमित आइरहेका छन्’ उनले भने ‘अहिले सम्मत हामीले जेनतेन थेगेका छौँ । अब गाह्रो छ ।’

    अक्सिजन अभाव

    सेती प्रादेशिक अस्पतालमा अहिले अक्सिजन अभाव छ । ‘अक्सिजन भएको बेला एउटा बिरामीले एउटा अक्सिजन पाउँछन् । नत्र दुई बिरामीलाई एउटा अक्सिजन दिनु पर्ने बाध्यता छ ’पाण्डेले भने ‘पर्याप्त अक्सिजन नहुँदा हामीलाई संक्रमितको उपचार गर्न समस्या छ । ’

    आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पतालले दैनिक ३ हजार ६७५ किलोग्राम अक्सिजन उत्पादन गर्दै आएको थियो । प्रतिसिलिन्डर ४७ किलोग्राम गरेर दैनिक ७५ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको अस्पतालले अहिले त्यो परिणाम घटेको जनाएको छ ।

    ‘अहिले ५५ देखि ६० सिलिन्डर मात्र उत्पादन भइरहेको छ । दैनिक १४० देखि १५० सिलिन्डर को आवश्यकता पर्छ’ मेसु पाण्डे भन्छन् ।

    अस्पतालका अनुसार गर्मीका कारण लोड धान्न नसक्दा र बेला-बेलामा विद्युत बन्द हुँदा अक्सिजन उत्पादनमा कमी आएको छ ।

  • कोरोना कहर : भुइँमै संक्रमितको उपचार

    कोरोना कहर : भुइँमै संक्रमितको उपचार

    दाङ । कोरोना संक्रमण दर ह्वात्तै बढेसँगै अस्पतालमा बेडको अभाव हुन थालेको छ ।

    दाङको बेलझुन्डी कोरोना अस्पतालमा बेडको अभाव भएपछि भुइँमा राखेर संक्रमितको उपचार थालिएको छ । ४२ शय्याको सो अस्पतालमा संक्रमितको चाप बढेपछि भुइँमै राखेर उपचार थालिएको व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।

    त्यहाँ अहिले ६ जना संक्रमितको भुइँमा उपचार भइरहेको छ ।

  • बाबुराम भट्टराईको रोग निर्क्यौल हुन केही दिन लाग्ने

    बाबुराम भट्टराईको रोग निर्क्यौल हुन केही दिन लाग्ने

    काठमाडौं । हिजो अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री तथा जसपा अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ ।

    उनको वायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार पीईटी-स्क्यानलगायतका केही परीक्षण गर्न चिकित्सकले सुझाएका छन् ।

    वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि भट्टराईको रोगको निर्क्यौल हुनेछ ।

    न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंकामा नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा भर्ना भई भट्टराई उपचाररत छन् ।

  • बाबुराम भट्टराईलाई भोलि अस्पताल भर्ना गरिने

    बाबुराम भट्टराईलाई भोलि अस्पताल भर्ना गरिने

    काठमाडौं । स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भोलि अस्पताल भर्ना गरिने भएको छ ।

    उनले आज चिकित्सकसँग प्रारम्भिक स्वास्थ्य परामर्श गरेका छन् । प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार थप परीक्षण र उपचारका लागि भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा भट्टराईलाई भोलि भर्ना गरिने छ ।

    पेटमा समस्या देखिएपछि भट्टराईले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

    चिकित्सकले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सककै सल्लाहअनुसार भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट सोमबार दिल्ली दिल्ली गएका हुन् ।