Tag: उद्योग

  • ‘पिक आवर’ मा नचलाउने सर्तसहित उद्योगलाई थप विद्युत दिइने

    ‘पिक आवर’ मा नचलाउने सर्तसहित उद्योगलाई थप विद्युत दिइने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ ।

    मुलुकभित्र उत्पादित विद्युत वर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभर लोड भएमा नचलाउने सर्त राखी उद्योगहरुलाई विद्युत उपलब्ध गराउन लागेको हो । प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत आपूर्ति लिन आग्रह गरे ।उद्योगहरुले अहिले ११ र ३३ केभीबाट विद्युत आपूर्ति लिइरहेका छन् । ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युतको महसुल सस्तो छ ।

    ‘एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागेजति विद्युत दिन सकिरहेका छैनौं भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत खेर फाल्नु पर्ने अवस्था छ, लाइन ट्रिपिङ हुने, कम भोल्टेजलगायतको समस्या छ’घिसिङले भने, ‘यस्तो अवस्था अन्त्यका लागि एउटा÷दुईवटा टान्सफर्मर, पोल,कन्डक्टरजस्ता उपकरण थपेर मात्रै नहुने देखिएको छ, यसका लागि मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँदैछौं ।’

    उनले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताए। ‘हाम्रो दैनिक माग २ हजार मेगावाटको हाराहारीमा पुगेको छ तर पूर्व–पश्चिम विद्युत आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ’,उनले भने,‘प्रसारण सञ्जाल विस्तारका लागि ४ सय र २ सय केभीका लाइन निर्माणाधीन छन् तर स्थानीयको अवरोध, अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रक्रिया र रुख कटानीको स्वीकृति भएमा भएको ढिलाइ, ठेकेदारको कामजोर कार्यसम्पादन कारण आयोजनाको निर्माण सम्पन्न हुन सकिरहेको छैन, छिट्टो सम्पन्न गर्न सबै निकायसँग समन्वय र सहकार्य गरिरहेका छौं ।’

    औद्योगिक करिडोरले बेहोरिएको ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या समाधानका गर्न स्रोत र साधन अभाव नहुने गरी काम अगाडि बढाइएको उल्लेख गर्दै घिसिङले यस्ता समस्या न्यूनिकरण गर्दै भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको प्रतिबद्धता जनाए ।

    प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।

    दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिने छ ।

    कार्यक्रममा उद्योग संगठन मोरङ,मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नं १ प्रादेशिक तदर्थ समितिका प्रतिनिधिहरुले मोरङ– सुनसरी औद्योगिक करिडोमा सञ्चालित उद्योगहरुले बेहोरिरहेको विद्युत आपूर्तिका विषयमा जानकारी गराएका थिए । संगठनहरुले दैनिक रुपमा भइरहेको ट्रिपिङ, न्यून गुणस्तरलगायतको समस्या समाधान गरी विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित गर्न माग गरेका छन् ।

    मोरङ–सुनसरी औद्योगिक करिडोर अन्तर्गत मोरङको कटहरी गाउँपालिका क्षेत्रमा रहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न अध्ययन समिति गठन गरिएको छ । विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काको संयोजकत्वमा गठित समितिमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संघठनका प्रतिनिधि सदस्य छन् ।

    समितिले विद्युत् आपूर्तिमा भइरहेको समस्या र समाधानका उपायहरुसहित सुझाव दिने प्राधिकरण प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनरका निर्देशक राजन ढकालले जानकारी दिए ।

  • धनुषामा जैविक मल उद्योगको शिलान्याश, एक वर्षभित्र सञ्चालनमा आउने

    धनुषामा जैविक मल उद्योगको शिलान्याश, एक वर्षभित्र सञ्चालनमा आउने

    जनकपुरधाम । देशभर मलको हाहाकार भइरहेको बेला धनुषाको धनुषाधाम नगरपालिका– ३ मा जैविक मल उत्पादन गर्ने उद्योग बन्ने भएको छ ।

    शनिबार प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले उद्योगको शिलान्यास गरेका हुन् । २८ करोडको लागतमा आरोह फर्टिलाइजर प्रालिले सो उद्योग स्थापना गर्नेछ । एक वर्षभित्रै उत्पादन सुरु गर्ने उद्देश्यका साथ काम अगाडि बढाएको कम्पनीका म्यानेजिङ डाइरेक्टर आङकामी लामाले जानकारी दिए ।

    उनका अनुसार उद्योगमा प्रयोग हुने मेसिनहरु भारतबाट ल्याउनुपर्ने हुन्छ । बन्द हडताल र कोरोनाका कारण समस्या नभए एकवर्ष अगावै उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । प्रतिवर्ष ७ हजार ५ सय मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्य छ ।

    कम्पनीका म्यानेजिङ डाइरेक्टर लामा भन्छन्, ‘रसायनिक मलले उर्वर जग्गालाई बिगारेको छ । तर जैविक मलले बिग्रेको जग्गालाई सुधार्ने काम गर्छ । यो रसायनिक मलभन्दा आधा सस्तो पनि हुन्छ ।’

    शिलान्यास समारोहमा बोल्दै कृषिमन्त्री साहले स्थापना हुन लागेको मल उद्योगले प्रदेश २ का किसानलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।

    ‘देशभर हरेक वर्ष ७ लाख मेट्रिक टन मलखाद किसानलाई आवश्यकता पर्छ’, मन्त्री साहले भने, ‘तर कुनै वर्षमा पनि ३ देखि ४ लाख मेट्रिक टनभन्दा बढी आयात गरिएको छैन । समयमा किसानले मल नै पाइरहेको अवस्था छैन । त्यसैले प्रदेशमा मल उद्योग स्थापना हुनु खुशीको कुरा हो ।’

  • लकडाउनमा आपूर्ति सेवा चुस्त पार्न मन्त्रालयले बनायो उच्चस्तरीय ‘र्‍यापिड रेस्पोन्स टिम’

    लकडाउनमा आपूर्ति सेवा चुस्त पार्न मन्त्रालयले बनायो उच्चस्तरीय ‘र्‍यापिड रेस्पोन्स टिम’

    काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भोलिदेखि १५ दिनसम्म निषेधाज्ञा लागू गरेपछि उपभोक्तालाई अत्यावश्यक सेवाको आपूर्ति सहज पार्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम निर्माण गरेको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाको समयमा आपूर्ति प्रणाली सहन पार्न सरोकारवाला मन्त्रालयका अधिकारीहरु सम्मिलित टिम बनाएको जानकारी दिएको छ ।

    मन्त्रालयले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ, दैनिक उपभोग्य समाग्रीको ढुवानी र आपूर्ति तथा त्यस्ता वस्तुहरुको उत्पादन र वितरणमा केहि समस्या देखिए सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न मोबाइल नम्बरसहित जिम्मेबार व्यक्ति तोकिदिएको छ ।

    आपूर्ति व्यवस्थापनमा आपूर्ति मन्त्रालय सह-सचिव  प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमनको सहजताका लागि गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामाग्रीको आपूर्तिको समस्या आएमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरे, उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय प्रवक्ता सह-सचिव डाक्टर नारायणप्रसाद रेग्मीलाई जिम्मेबार व्यक्ति तोकिएको छ ।

  • निजीकरण गरिएका उद्योग फिर्ता ल्याएर पीपीपी मोडलमा चलाउन अध्ययन समितिको सुझाव

    निजीकरण गरिएका उद्योग फिर्ता ल्याएर पीपीपी मोडलमा चलाउन अध्ययन समितिको सुझाव

    काठमाडौं । सरकारले विगतमा निजीकरण गरेका संस्थानहरु पुनः सरकारले नै सञ्चालन गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले निश्कर्ष निकालेको छ । रुग्ण उद्योग अध्ययन समितिले निजीकरण गरिएका उद्योगहरु सरकार फिर्ता ल्याएर सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडालिटीमा सञ्चालन गर्न सुझाव दिएको हो ।

    पूर्व सञ्चारसचिव दीपक सुवेदीको संयोजकत्वमा रुग्ण उद्योग अध्ययन समिति गठन भएको थियो । सो समितिले पुस १२ गते उद्योग मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।

    निजीकरण भएका सरकारी उद्योगहरुले उत्पादनभन्दा पनि जग्गा बिक्री गरेर अन्य व्यवसायमा लगानी गर्ने गरेको अध्ययनले देखाएको छ । अध्ययन समितिका संयोजक सुवेदीले सरकारलाई निजीकरण गरिएका उद्योगलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडालिटीमा सञ्चालन गर्न सुझाव दिइएको बताए ।

    उनले भने, ‘सरकारले उत्पादनमूलक उद्योग सञ्चालनका लागि सरकारको स्वामित्वमा रहेका संस्थाहरु निजीकरण गरेको थियो । तर उत्पादनमूलक उद्योग सञ्चालन नगरी जग्गा नै बिक्री गरिरहेकाले ती उद्योगहरु सरकारले नै सञ्चालन गर्नुपर्ने देखिएको छ ।’

    सरकारले हाल सञ्चालन गरिरहेका उद्योगहरु नाफामा लैजान के–के गर्नुपर्छ भन्ने पनि प्रतिवेदनमा समेटिएको सुवेदीले बताए ।

    उनले भने, ‘निजी क्षेत्रले सञ्चालन गरेका उद्योगले नाफा कमाउने तर सरकारले सञ्चालन गरेको उद्योग घाटामा जान हुँदैन । हाम्रो अध्ययनले ३ सिफ्ट काम गराएर पूर्ण क्षमतामा उद्योगहरुलाई सञ्चालन गर्दा नाफामा जाने देखिएको छ । एउटै प्रकृतिका उद्योहरुलाई एउटै बोर्ड र उद्योगमा दक्ष तथा अनुभव भएका व्यक्तिहरु नियुक्त गरेर सञ्चालन गर्नुपर्छ ।’

    सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टलाई मर्ज गरेर नेपाल सिमेन्ट कारखाना नाम राख्न सुझाव दिइएको छ । दुईवटा उद्योगलाई एउटा मात्रै सञ्चालक समिति गठन गरेर सिमेन्ट उद्योग सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

    उद्योग मन्त्रालयका सहसचिव, प्रवक्ता तथा रुग्ण उद्योग अध्ययन समितिका सदस्य सचिव डा. नारायणप्रसाद रेग्मीले पूर्वसचिव, उद्योग विज्ञ र प्राविधिक टोलीलगायतले अध्ययन गरेको बताए ।

    उनले भने, ‘रुग्ण उद्योग अध्ययन समितिले उद्योग मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । सरकारले प्रतिवेदनको अध्ययन गरेर काम अगाडी बढाउने छ । सरकार र निजी क्षेत्र मिलेर उद्योग सञ्चालन गर्ने सुझाव दिइएको छ ।’

    निवर्तमान उद्योग राज्यमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलला दुगडले पनि सरकारको स्वामित्वमा रहेको उद्योग र संस्थानहरुलाई नाफामा लैजानका लागि विभिन्न प्रयास गरेका थिए । राज्यमन्त्री हुँदा उनले सरकारका संस्थान र उद्योगहरुलाई नाफामा लैजाने योजना पेश गर्न निर्देशन दिएका थिए । नाफामा लैजान नसक्ने उद्योग वा सस्थानका प्रमुखलाई जिम्मेवारी छाड्न चेतावनी दिएका थिए ।

    ‘म राज्यमन्त्री भएको बेलामा सरकारले सञ्चालन गरेका उद्योग र संस्थानहरुलाई नाफामा लैजाने अभियान नै सञ्चालन गरेको थिएँ । सबै संस्थानको अवस्था के हो र के-के गर्‍याे भने नाफामा जान्छ भनेर अध्ययन समिति नै बनाएर काम अगाडि बढेको थियो । सरकारले पनि आफ्नो स्वामित्वमा भएका संस्थानहरुलाई कसरी नाफामा लैजाने भनेर काम गरिरहेको छ । प्रधानमन्त्री पनि यस विषयमा सकारात्कमक हुनुहुन्छ,’ उनले भने ।

    संस्थानमा अब सरकारले लगानी वृद्धि नगर्ने र ती सस्थानलाई निजी क्षेत्रको लगानी थपेर पीपीपी मोडलमा सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको दुगड बताउँछन् ।

    सुवेदी सयोगक रहेको समितिले भृकुटी कागज कारखाना, हरिसिद्धि ईंटा टायल, गोरखकाली रबर, उदयपुर सिमेन्ट, हेटौंडा सिमेन्ट, एभरेष्ट पेपर मिल, मोरङ सुगर मिल, महादूर्गा इट्टा भट्टा, मुमेन्टो गार्मेन्ट, माउण्ट एभरेष्ट, श्रीराम सुगर मिल्स, इलेक्ट्रो रिसर्च सेन्टर, युनिक हाइडल कम्पनी लगायतको अध्ययन गरेको थियो ।

    निजीकरणको उद्देश्यअनुसार सञ्चालन नभएका उद्योगहरु सरकारले नै फिर्ता लिएर सञ्चालन गर्नुपर्ने समितिको सुझाव रहेको छ । निजीकरण गरिएका उद्योगहरुले व्यवसायिक हिसावले काम नगरी जग्गा बेचेर राफसाफ गर्ने उद्देश्य राखेको प्रतिवेदनमा औंल्याइएको छ ।

    तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति अनुसार भृकुटी कागज कारखानालाई २०४९ सालमा जमिनसहित सबै संरचना निजीकरण गरिदिएका थिए । त्यसपछि सरकारी उद्योगहरु निजीकरण हुन सुरु भएका थिए । ६० बिगाहा जमिनमा स्थापना भएको कागज कारखानले तत्कालीन समयमा दैनिक ८ टन कागज उत्पादन गर्ने गरेको थियो । हाल यो कारखाना बन्द छ । निजीकरण भएका प्राय सबै उद्योगहरु रुग्ण अवस्थामा छन् ।

  • जग्गाको भाउ आकाशियो, नयाँ उद्योग खोल्न लगानीकर्ता उदासीन

    जग्गाको भाउ आकाशियो, नयाँ उद्योग खोल्न लगानीकर्ता उदासीन

    विराटनगर । उद्योगी पवन सारडाले दुई वर्षअघि सुनसरीको इनरुवा-दुहबी सडकको आसपासको क्षेत्रमा नयाँ उद्योग खोले । उनले फलाम उद्योग सञ्चालनका लागि तत्कालीन समयमा उद्योगका लागि आवश्यक पर्ने जग्गा खरिद गर्नका लागिमात्र १६ करोड रूपैया खर्च गरे ।

    अहिले उद्योग विस्तार गर्न खोज्दैछन् । सारडा भन्छन,‘उद्योग विस्तारका लागि जग्गा नभेटिएको होइन’ जग्गाको मूल्य अति महँगो भएपछि योजना अघि बढ्न सकेको छैन ।’

    मुख्यत: सुनसरी-मोरङ औद्योगिक करिडोर र त्यसको आसपासमा नयाँ उद्योगका लागि जग्गाको प्राप्ति अब चुनौतीपूर्ण भइसकेको छ ।‘१ बिघा जग्गा चाहियो भने कम्तीमा ८/१० करोड रूपैयाँ त जग्गामै जाने अवस्था छ । यति महँगोमा जग्गा किनेर उद्योग चलाउनु कठिन काम हो,’ सारडाले भने ।

    यो करिडोरमा भाउ आकाशिएपछि जग्गामा बढी पूँजी खन्याउनु परेको उद्योगीहरूको गुनासो छ । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष भीम घिमिरे पनि नयाँ उद्योगका लागि जग्गा व्यवस्थापन असहज भइसकेपछि लगानीकर्ताहरू निरास बनेको बताउँछन् । ‘भित्री सडकमा समेत कठ्ठाको ४०/४५ लाखमा जग्गा किनबेच भइरहेको छ । जग्गामा महँगो मूल्य हालेर उद्योग चलाउनु अब सहज छैन,’ घिमिरेले भने ।

    कोशी राजमार्गको दुहबीदेखि विराटनगरको रानीसम्म करिब १ हजार साना/ठूला उद्योग छन् । दुहबी-विराटनगरको रानी योजनाबद्ध तरिकाले औद्योगिक कोरिडोरका रूपमा विस्तार भएको होइन । भारतसँगको मुख्य नाका जोगवनीसँग जोडिनु र सहज सम्पर्कसहित देशको मध्यभागमा रहनुले एकपछि अर्को उद्योग खुल्दै गएका हुन् ।

    महंगो जग्गाले उद्योगको स्थिर पूँजीमा लगानी बढेको छ । यसको प्रत्यक्ष असर वस्तुको उत्पादन लागतमा जोडिने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा बताउँछन् । ‘सरकारले उत्पादन प्रवर्द्धनको नीति लिनुपर्ने भएपनि अवस्था फरक छ’ अध्यक्ष मुन्दडा भन्छन्,‘ठूलो पूँजी हिस्सा उद्योगको जग्गा प्राप्तिमा खर्चिनुपर्ने अहिलेको अवस्था छ ।’

    जग्गामा बढी पूँजी हाल्दा उद्यमको प्रतिस्पर्धी क्षमता नकारात्मक हुने उद्यमी बताउँछन् । ‘उत्पादन लागत बढ्दा त्यसको असर उपभोक्ता र अर्थतन्त्रमै पर्छ । सरकारले यसमा नीतिगत व्यवस्था मिलाउन ढिलाइ गर्नु हुँदैन,’ मुन्दडाले भने ।

    जग्गाको मूल्य उच्च

    प्रदेशको राजधानी विराटनगर भएपछि त्यस आसपासको जग्गाको मूल्य आकाशिएको छ । उद्योगमा लगानी गर्ने रकम जग्गामा लगानी गर्नुपर्दा नयाँ उद्योग स्थापनामा चुनौती देखिएको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अविनास बोहराले नयाँ उद्योग स्थापनाका लागि वाहिर क्षेत्रवटा लगानीकर्ता आउने वातावरण नहुँदा ठूला उद्योग स्थापनामा कठिनाइ भएको वताए ।

    मोरङ उद्योग संगठनका पूर्वअध्यक्ष घिमिरे भन्छन्, ‘अधिकांश उद्योग यही क्षेत्रमा सञ्चालनमा छन् । कोशी राजमार्ग छेउछाउको जग्गा प्रतिकठ्ठा कम्तीमा तीस/चालिस लाख पर्छ । एउटा उद्योग स्थापना गर्न चार/पाँच बिगाहा जमिन चाहिन्छ । बैंकबाट लिएको र आफूसँग भएको पैसा जग्गामै सकिन्छ ।’

    उनले यस्तो अवस्थामा आफूहरूसँग भएको र बैङ्कबाट लिएको ऋण जग्गा खरीदमै खर्च हुने स्थिति रहेको भन्दै लगानीकर्ता उद्योग क्षेत्रमा गर्ने लगानी अन्यमा जाने सम्भावना भएको बताए ।

    सहायक सडकतिर भने जग्गा सस्तो पाइए पनि पूर्वाधार अभाव रहेको उद्योगी बोहरा बताउँछन् । ‘कोरिडोरमा यस्ता थुप्रै सम्पर्क सडक छन् । तर, त्यहाँ बाटो र बिजुलीजस्ता संरचनाको उचित व्यवस्था छैन ।’

    ५ देखि ८ वर्षभित्र प्रतिफल निकाल्ने लक्ष्यलाई यसले समस्या परिरहेको उनको भनाइ छ । यो करिडोरमा आउने उद्योगका लागि सरकारले सरकारले विकल्प खोजिदिनुपर्ने बोहराको माग छ ।

    ‘क्रस बोर्डर इकोनोमिक्स जोन’ को माग

    मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग सञ्चालनका लागि अब क्रस बोर्डर इकोनोमिक्स जोन निर्माण गर्नुपर्ने माग राखेका छन् । सीमा क्षेत्रमा क्रस बोर्डर इकोनोमिक्स जोन निर्माण गरिएको खण्डमा नयाँ उद्योग खोल्नका लागि उद्योगीहरू प्रोत्साहित हुने उनी बताउँछन् ।

    उद्योगीले उठाउँदै आएको विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्र घोषणाको माग समय अनुकुल परिमार्जन गरी अब क्रस बोर्डर इकोनोमिक्स जोनको निर्माणमा सरकार लाग्न आवश्य रहेको उनले सुझाए ।

    ‘क्रस बोर्डर इकोनोमिक्स जोन’ को लागि प्रस्तावित जग्गा ।

    मोरङ र सुनसरीमा साल्ट ट्रेडिङको स्वामित्वमा रहेको ८ सय ५० विघा जमिनमध्ये अमरडुवामा ३ सय विघामा क्रस बोर्डर इकोनोमिक्स जोन निर्माण गरिनुपर्ने मुन्दडाले बताए ।

    सेजको अवधारणामा ‘ब्रेक’

    निजी क्षेत्रले २६ वर्षदेखि निरन्तर रूपमा सेज स्थापनाको लागि पहल गर्दै आएको छ । सो माग सुनुवाइ नभएपछि अहिले क्रस बोर्डर इकोनोमिक्स जोनको अवधारण अघि सारिएको हो । विराटनगरमा सेज स्थापनाको पहल सर्वप्रथम उद्योग संगठन मोरङका तत्कालीन अध्यक्ष स्व. महेन्द्र गोल्छाले गरेका थिए ।

    जग्गा खरिद गर्न घरेलु तथा साना उद्योग कार्यालयले करिब ३० लाख रूपैयाँ निकासा गरेको थियो । तर, सो रकम अपुग हुने भन्दै काम अघि नबढेपछि त्यो रकम फ्रिज भयो ।

    मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडा सरकारी बेवास्ताले विराटनगरमा विशेष आर्थिक क्षेत्र स्थापनाको अवधारणाले मूर्तरूप नपाएको बताउँछन् । उनले भने, ‘हामीले यो क्रममा पटक-पटक काठमाडौं धाएर प्रधानमन्त्री र मन्त्रीहरूलाई ज्ञापनपत्र बुझायौं, तर आश्वासनबाहेक केही पाइएन ।’

    सरकारले औद्योगिक उत्पादन बढाउन र निर्यात व्यापारलाई बढावा दिन २०४९ देखि विशेष आर्थिक क्षेत्र स्थापना सम्बन्धी योजना ल्याएको थियो । यसका लागि २०६० सालमा विशेष आर्थिक क्षेत्र परियोजना समिति गठन गरिएको थियो ।

    २०७३ मा सरकारले कानून निर्माण गर्नुका साथै विशेष आर्थिक क्षेत्र प्राधिकरण गठन गरेर स्वायत्तता प्रदान पनि गर्‍यो । जग्गा खरिदमा विवाद देखिएकोले सेज स्थापना गर्ने योजना अहिलेपनि धेरै स्थानमा अलपत्र परेको छ ।

    जुम्ला, नुवाकोट, गोरखा, काभ्रे, धनगढी, नेपालगन्ज, बारा, रौतहट, धनुषा, सिरहा र विराटनगरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने लक्ष्य लिइएको छ । तर, भैरहवाबाहेक कहीँ पनि निर्माण भएको छैन ।

    विशेष आर्थिक क्षेत्रभित्र निर्माण हुने उद्योगलाई पहिलो ५ वर्ष आयकरमा शत प्रतिशत छुट पाउने छन् । त्यस्तै, उद्योगमा प्रयोग हुने ६० प्रतिशत कच्चा पदार्थ स्वदेशी भएमा थप १० वर्ष ५० प्रतिशत छुट पाउने छन् । त्यसबाहेक कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकिङ सामग्री, प्लान्ट र पार्टपुर्जा समेतमा भन्सार महसुल र भ्याट छुटको व्यवस्था छ ।

    सेजअन्तर्गतका उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने कानूनी प्रावधान छ। सेजभित्र उद्योग स्थापना गर्न प्रक्रियागत झन्झट नहोस् भनी एकद्वार प्रणाली स्थापना गरिएकोले बन्द र हड्ताल गर्न पाइँदैन।

    उद्योग विभागका अनुसार सुनसरी-मोरङ औद्योगिक करिडोरमा ५ सय करोड रूपैयाँ उद्योगमा लगानी छ ।

    करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कटपाता, प्लाष्टिकका सामान, सिमेण्ट, दाना, बिजुलीको तार, जीआई पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् । उक्त क्षेत्रका उद्योगमा ८० हजार भन्दा बढीले रोजगारी पाएका छन् ।

  • निर्माण अगाडि बढाउँदा भूगर्भ विज्ञानको अध्ययन गर्नुपर्छ: उद्योग राज्यमन्त्री

    निर्माण अगाडि बढाउँदा भूगर्भ विज्ञानको अध्ययन गर्नुपर्छ: उद्योग राज्यमन्त्री

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला वि.क.ले भौतिक पूर्वाधार निर्माणका कामलाई अगाडी बढाउँदा भुगर्भ विज्ञानको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

    आइतबार दशौँ नेपाल भौगर्भिक सम्मेलन २०२१ को उद्घाटन गर्दै राज्यमन्त्री वि.क.ले सरकारले विकास निर्माण र भौतिक संरचना निर्माणका धेरै कामहरु अगाडी बढाएको भन्दै ति कामहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउनको निम्ति भुगर्भ विज्ञानको सहि अध्ययन, अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

    विकास निर्माणका कामलाई दुरगामी गराउन र देशलाई समृद्ध बनाउनको निम्ति सरकारले गर्ने कामहरुलाई भुगर्भ विज्ञानसँग जोडेर व्यवस्थित गर्नैपर्ने उनको भनाई छ ।

    उनले भनिन्,‘विभिन्न खालका संरचनाहरुको निर्माण गर्ने, पुल, बाटो, विभिन्न खालका उद्योगहरु निर्माण गर्ने, विभिन्न खालका नयाँ खानी लगायतका विभिन्न खालको खोज अनुसन्धान गर्ने यी विभिन्न खालका निर्माणका कामलाई अगाडी बढाइरहेका छौँ । तर यो कार्यलाई व्यवस्थित गर्न, दुरगामी गर्न र मुलुकले राखेको राष्ट्रिय आकांक्षालाई पुरा गर्नका लागि हामीले भुगर्भको सही अध्ययन, अन्वेषण र विश्लेषण गर्न सक्यो भने मात्रै यो कुरा सम्भव हुन्छ जस्तो लाग्छ मलाई । समृद्ध नेपालको कुरा गरिरहदाखेरी अब हामीले गर्ने कामहरुलाई भु–विज्ञानसँग जोडेर यसलाई व्यवस्थित गरेर नलगिकन उन्मुक्ति पाइदैन । यसलाई राज्यले महत्वको हिसाबले अगाडी लानुपर्छ ।’

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक संरचना भुकम्प प्रतिरोधी नभएका कारण भुकम्पका कारण धेरै क्षति बेहोर्नुपरेको बताए ।

    पुनर्निर्माणको भुगर्भको अध्ययन हुनुपर्नेमा पनि उनको जोड छ । भौतिक पूर्वाधार निर्माणमा भुगर्भको अवस्था अनुसार ध्यान दिनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाई छ ।

    पछिल्लो समय सरकार र इन्जिनियरिङ क्षेत्रमा भुर्गभको अध्ययन गर्नुपर्ने बुझाइ क्रमश बढ्दै गएको भन्दै ज्ञवालीले यसको निम्ति भुगर्भविद्हरुको योगदान महत्वपूर्ण हुने बताए ।

  • लामो समयदेखि उद्योगले भाडा नबुझाएपछि सामान जफत

    लामो समयदेखि उद्योगले भाडा नबुझाएपछि सामान जफत

    काठमाडौं । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय राजविराज सप्तरीले लामो समयसम्म भाडा बापतको रकम नबुझाउने उद्योगको समान जफत गरी असूली गर्ने प्रक्रिया शुरु गरेको छ ।

    औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिए पनि लामो समयदेखि उद्योग सञ्चालन नगरेको र भाडा बापतको रकम समेत नतिरेपछि कृष्णा खाद्य उद्योग र पद्मा ज्योति प्लाष्टिक उद्योगको समान जफत गरी भाडाबापतको रकम असुल्ने प्रक्रिया शुरु गरेको हो ।

    वर्षाैदेखि उद्योगको नाममा सेड भाडामा लिएर उद्योग सञ्चालन नगरी कब्जामा राख्ने र भाडा समेत नबुझाउने प्रवृत्ति बढेपछि कारवाही गरी सेड खाली गराइएको तथा सामान समेत लिलाम गर्ने प्रक्रिया अघि बढाइएको औद्योगिक क्षेत्रका प्रमुख दीपक आचार्यले बताए ।

    खाली गराइएका सेडमा नयाँ उद्योग सञ्चालनका लागि प्रक्रियासमेत शुरु गरिसकेको उनले जानकारी दिए ।

    सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, रुपनी गाउँपालिका–६ का वडाध्यक्ष जगदीश दास, घरेलु तथा साना उद्योग कार्यालयका नेत्र बाँस्तोला र सघन शहरी विकास आयोजना राजविराजका इन्जिनीयर ब्रह्मदेव चौधरी उपस्थितिमा बन्द उद्योगको ताला फुटाएर समान जफत गरिएको प्रमुख आचार्यले जानकारी दिए ।

    कार्यालयका अनुसार ती उद्योगबाट करीब ४०÷४५ लाख रुपैया भाडा बापतको बक्यौता रकम उठाउन बाँकी छ । कृष्णा खाद्य उद्योगबाट करिब ११ लाख ७० हजार रुपैयाँ र पदमा ज्योति प्लाष्टिक उद्योगले ८ लाख ८० हजार भाडाबापतको रकम तिर्न बाँकी रहेको प्रमुख आचार्यले बताए ।

    भाडा नबुझाएका यी सबै उद्योग बन्द अवस्थामा रहेको र बक्यौता रकम बुझाउन पटक–पटक सूचना दिँदा समेत कुनै सुनुवाइ नभएपछि समान जफत गरी सेड खाली गराउन लागिएको हो ।

    यसअघि गत वर्ष पनि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले महालक्ष्मी खाद्य उद्योग र एसएण्ड इलेक्ट्रोनिक्सको समान जफत गरेको थियो ।
    कूल २९४ रोपनी (साढे २२ बिघा) मा फैलिएको औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत् टेलिफोनलगायत सम्पूर्ण सुविधासम्पन्न १० घरेलु उद्योग सञ्चालन गर्न सक्ने क्षमता छ ।

    त्यसमा हाल मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कोशी पोलिमर्स र उषा जल उद्योग सञ्चालनमा छन् । यस औद्योगिक क्षेत्रमा नेपाल सरकारका तर्फबाट कार्यालय प्रमुखसहित १० जना कर्मचारीको दरबन्दी छ ।

    भारत सरकारको सहयोगमा विसं २०४४ मा शिलान्याश भएको उक्त औद्योगिक क्षेत्र निर्माण भए पश्चात २०५१ मा भारत सरकारले नेपाललाई हस्तान्तरण गरिसकेपछि त्यसमा नौ वटा उद्योग सञ्चालनमा आएका थिए ।

    राजविराज औद्योगिक क्षेत्रका नामबाट २०४४ सालमा स्थापित उक्त औद्योगिक क्षेत्रलाई विकाश गर्ने उद्देश्यले हृदयेश त्रिपाठी उद्योगमन्त्री भएका बेला गजेन्द्रनारायण सिंहको नामसँग जोडेर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको नाममा नामकरण गरिएको थियो ।

     

  • खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ ।

    केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

    विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

    विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताउँछन् ।

    उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन÷तीन लाख जरिवाना गरिएको हो ।

    पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु ४०, सनफ्लावर तेल प्रतिलिटर ४० र भटमासको तेल लिटरमा २० भन्दा बढीले मूल्य बढाइएको छ ।

    अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानूनअनुसार थप कारवाही हुने जनाइएको छ ।

    मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन् ।

  • लकडाउनमै थपिए अर्बौं लगानीका नयाँ उद्योग

    लकडाउनमै थपिए अर्बौं लगानीका नयाँ उद्योग

    विराटनगर । विश्‍वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमले हर क्षेत्र थलिएको छ । तर, महामारी र लकडाउनको असहज परिस्थितिकै बीच सुनसरी-मोरङ औद्योगिक करिडोरमा अर्बौंको लागानीका नयाँ उद्योगहरू थपिएका छन् ।

    नयाँ स्थापना भएका उद्योगहरू प्रायः कोरोनालक्षित स्वास्थ्य सामग्रीदेखि खाद्यान्‍न उत्पादनसम्म रहेका छन् । उद्योग संगठन मोरङका अनुसार कोरोना महामारी शुरू भएपछि एक दर्जन स्यानिटाइजर र मास्क उद्योग खुलेका छन् । मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु र अध्यक्ष प्रकाश मुन्दडाको संयुक्त लगानीमा स्यानिटाइजर उद्योग खुलेको छ ।

    साबुन र सरफ मात्रै उत्पादन गर्दै आएको हिमगिरी हाइजिन प्रालिले नयाँ उद्योग स्थापना गरेर आउरा ब्रान्डको स्यानिटाइजर बजारमा ल्याइरहेको छ । त्यस्तै उद्योगी महेश सोनीले आफ्नो साबुन तथा सरफ उद्योगमा स्यानिटाइजर उत्पादन गर्ने युनिट औषधि व्यवस्था विभागमा दर्ता गराएर उत्पादन थालेका छन् ।

    ‘स्यानिटाइजरको माग बजारमा अत्यधिक छ’ उद्योगी सोनीले भने,‘बन्दाबन्दीको बीचमा नै हामीले स्यानिटाइजर उद्योगमा लगानी गरेका छौँ ।’ समग्रमा अहिले यसको व्यापार राम्रो छ ।’

    पछिल्लो समय मुलुकभरि बन्दाबन्दी हटाइएपछि ती उद्योग सञ्चालनमा आएका हुन् ।

    विराटनगरका युवा व्यवसायीहरूको समूहले अमेरिकी कम्पनी आरसी कोलाका ६ प्रकारका पेय पदार्थलाई नेपाली बजारमा ल्याएका छन् । उनीहरूले यस वर्षको शुरूमा नै ती उत्पादन बजारमा ल्याउने तयारी गरेका थिए । तर, चैतबाटै बन्दाबन्दी भएपछि उत्पादन रोकिएको थियो ।

    करीब ८० करोडको लागतमा मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा भेन्चुरा बोटलर्स उद्योग स्थापना भएको ७ महीनापछि यसले ६ प्रकारका पेय पदार्थको व्यावसायिक उत्पादन शुरू गरेको हो ।

    विराटनगरका उद्धवप्रसाद आचार्य नेतृत्वको दुर्गालक्ष्मी समूहले फ्रेन्चाइज लिएर आरसी कोला ब्रान्डका पेय पदार्थ नेपाली बजारमा ल्याएको हो । आचार्य भन्छन, ‘परीक्षण उत्पादन गरेको झन्डै ६ महीनापछि बजारमा उत्पादन लिएर आएका छौं, सबैतिरबाट राम्रो प्रतिक्रिया पाएका छौँ ।’

    समूहका सञ्चालक आचार्यका अनुसार भेन्चुरामा ८० करोडको लगानी छ । भेन्चुराले कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जिराको स्वादमा पेय पदार्थ र माउन्ट भिटा ब्रान्डमा पानीको उत्पादन र बजारीकरण शुरू गरिसकेको छ । २० जना स्थायी कर्मचारी रहे पनि १ सय ५० ले रोजगारी पाएको उद्योगको भनाइ छ ।

    नेपालमा चप्पलको उत्पादन गर्ने विराटनगरको म्याजिक समूहले काठ र प्लाइउडको विकल्पमा प्रयोग गर्ने गरी ‘प्लास्टिक बेस’ वस्तुको उत्पादन र मार्केटिङ शुरू गर्दागर्दै बन्दाबन्दीमा ठप्प भएको उद्योग पनि सञ्चालनमा आएको छ ।

    लकडाउनको ८ महीनाभन्दा बढी समय उद्योगहरू पूर्णक्षमतामा सञ्‍चालन नहुँदा १५ हजार बेरोजगार भएका उद्योग संगठन मोरङले जनाएको छ ।

    इटहरी उपमहानगरपालिकाको खनारमा रहेको वन्डर म्याटेरियलले ‘अल्टवुड’ ब्रान्डमा पीभीसी र डब्ल्यूपीसीको उत्पादन गरिरहेको उद्योग बन्दाबन्दीका कारण उत्पादन नै ठप्प भएको थियो । बन्दाबन्दी हटेपछि उद्योग सञ्चालनमा आएको प्रबन्धक महेश वाहेतीले बताए । उद्योग पुनः सञ्चालनमा आए पनि उत्पादनको बजारमा खपत भने घटेको वाहेतीले बताए । उद्योग करीब २५ करोडको लागतमा स्थापना गरिएको हो ।

    इटहरी उपमहानगरपालिकाको खनारमा पुराना तथा काम नलाग्ने कागज प्रशोधन गरेर नयाँ कागज बनाउने उद्योगसमेत यस अवधिमा सञ्चालनमा आएको छ । दैनिक सवा सय मेट्रिक टन पुरानो कागज प्रशोधन गरेर सो उद्योगले १ सय टन नयाँ कागज उत्पादन गर्दै आएको छ । अरिहन्त कोरुगेशनले झुत्रा कागज प्रशोधन गर्न थालेको छ । उद्योगका सञ्चालक पारस लुनियाका अनुसार गतवर्षदेखि नै लगानी गरिएको उद्योग बन्दाबन्दीकै बीचमा सञ्चालनमा ल्याइएको हो ।

    उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बन्दाबन्दीको समयमा करिडोर क्षेत्रमा नयाँ उद्योग स्थापना हुनुले औद्योगिक वातावरण निर्माणमा सहयोग पुगेको बताउँछन् । कोरोना महामारीका बीचमा युवाहरूको समूह उद्योगमा लगानी गर्न प्रोत्हासहित भएको उनको भनाइ छ।

    घिमिरेका अनुसार औद्योगिक क्षेत्रमा बन्दाबन्दी हटेपछि क्रमशः उद्योगहरू सञ्चालनमा आउन थालेको र धेरै नयाँ उद्योग र केही पुरानै उद्योगको पनि क्षमता विस्तार भई उत्पादन शुरू भएको छ ।

    सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग पूर्णक्षमतामा फर्कँदै

    कोरोना महामारीका कारण उत्पादन कटौती गरेका उद्योगहरू विस्तारै पूर्णक्षमतामा फर्किन थालेका छन् ।

    कोरोना संक्रमणको प्रभाव कम भएसँगै उत्पादन कटौती गरी १ सिफ्टमा सञ्चालन हुँदै आएका उद्योगहरू पूर्णक्षमतामा सञ्चालन हुन उद्योगीहरू बताउँछन् । उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेका अनुसार करिडोरका बन्दाबन्दीका कारण ठूला उद्योगले ३० प्रतिशतसम्म उत्पादन कटौती गरेका थिए । ती उद्योगले २ सिफ्टबाट २ सिफ्ट कतिपयले एक सिफ्टमात्र उद्योग चलाउदै आएका थिए ।

    साना तथा मझौला उद्योगको उत्पादन घटेपछि त्यसमा काम गरिरहेका ३० प्रतिशत अदक्ष कामदारहरू पूर्णबेरोजगार बनेका थिए । तर उद्योगहरू बिस्तारै पूर्णक्षमतामा फर्केपछि कामदारहरू पनि फर्किन थालेका छन् ।

    सुनसरी-मोरङ औद्योगिक करिडोरभित्रका सबैभन्दा बढी मजदुर कार्यरत अरिहन्त मिल्टफाइवर्स र रघुपति जुट मिलका सञ्चालक राजकुमार गोल्छाले पछिल्ला दिनमा मानिसको जीवनशैली बिस्तारै सामान्य बन्‍न थालेसँगै १ सिफ्टमा चल्दै आएका उद्योगहरू अहिले ३ सिफ्टमै सञ्‍चालन भइरहेका छन् ।

    १ सिफ्टमा मात्र सीमित हुँदा उद्योगमा कार्यरत ३० प्रतिशत मजदुर कामविहीन थिए । कोरोनाको प्रभावका कारण उद्योगले १५ दिन काम र १५ दिन आराम दिएर उद्योगले कामदारलाई काममा लगाइरहेको थियो ।

    अरिहन्त मल्टिफाइवर्समा ४ हजार ५ सय मजदुर र रघुपति जुटमिलमा २ हजार ५ सय मजदुर कार्यरत छन् । तर कोभिड १९ को महामारीको कारण ३० प्रतिशतले अर्थात् २ हजार १ सयले रोजगारी गुमाएका थिए ।

    अहिले उद्योग पूर्णक्षमतमा आएसँगै कामदारहरू रोजगारीमा फर्किएका छन् । तर, उद्योगमा कार्यरत भारतीय मजदुर भने आएका छैनन् । करिडोरका उद्योगमा १० हजार भारतीय मजदुर कार्यरत् थिए ।

    इटहरीको खनारमा रहेको रिलायन्स स्पेनिङ मिल्समा चार हजार मजदुर कार्यरत छन् । कोरोना महामारीका कारण एक सिफ्टमा सीमित भएको उद्योगलेपनि २ सातादेखि पूर्णक्षमतामा सञ्चालन हुदै आएको छ ।

    रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार कोरोनाको कारण स्थायी मजदुरलाई उद्योगले कामको दिन घटाएर आलोपालो गर्दै आएकोमा अहिले भने उद्योग तिन सिफ्ट चल्न थालेको छ । रिलायन्स ११ महिनापछि पूर्णक्षमतमा फर्किएको प्रशासन प्रमुख पोखरेले बताए ।

    कोरोनाका कारण यसअघि उद्योगले ३० प्रतिशत उत्पादन कटौती गरेको थियो । उनका करिडोरमा रहेका जुट, धागो, चाउचाउ, तेल, चामल, दुध, साबुन, कुकिज, दाना उत्पादन गर्ने उद्योग हाल सञ्चालनमा रहेका छन् ।

    सञ्चालित उद्योगहरूमध्ये धेरै पूर्णक्षमतामा आएका छन् भने कतिपय उद्योगले अहिले पनि ७० देखि ८० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।

    कोरोनाका कारण सुनसरी-मोरङ औद्योगिक करिडोरमा कार्यरत १५ सय मजदुरको रोजगारी गुमेको थियो । ८ महीनाभन्दा बढी समय उद्योग पूर्णक्षमतामा सञ्‍चालन नहुँदा १५ हजार बेरोजगार भएका उद्योग संगठन मोरङले जनाएको छ ।

    यो अवधिमा तीमध्ये ३० प्रतिशत अर्थात १० हजार बेरोजगार भएका थिए । १४ हजारले आंशिक रोजगारी पाएका थिए । करिडोरमा ५० हजार मजदुर कार्यरत् छन् । ती मध्ये २१ हजार मजदुरले भने पूर्णकालीन रोजगारी पाइरहेका छन् । करिडोरका साना-ठूला गरी ५०० उद्योग छन् ।

  • कोभिडका कारण बन्द भएका ५४ प्रतिशत उद्योग   संचालनमा

    कोभिडका कारण बन्द भएका ५४ प्रतिशत उद्योग संचालनमा

    काठमाडौं । कोभिड पछि बन्द भएका उद्योग/व्यवसाय ५४ प्रतिशत संचालनमा आएका छन् । राष्ट्र बैंकले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असर र प्रभाव सम्वन्धि गरेको ‘फलोअप’ सर्वेक्षणमा  सो कुरा बताइएको हो ।

    बैंकले गरेको ‘फलोअप’ सर्वेक्षणमा ४६ प्रतिशत उद्योग व्यवसाय अझैपनि पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन् ।

    राष्ट्र बैंकले गत जेठ र असारमा पहिलोपटक उद्योग/व्यवसायमा कोभिड–१९ ले पारेको प्रभाव सम्बन्धि पहिलो सर्वेक्षण गरेको थियो । त्यसपछि कार्तिक र मंसिरमा पनि बैंकले पुन सर्वेक्षण गर्दा सो तथ्याङक आएको हो ।

    राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार गत वर्ष कोभिड अगाडि २९ प्रतिशत मात्र उत्पादन स्थिति कारोबार थियो भने यो वर्ष सोही समयमा ५१ प्रतिशत उत्पादन बढेको छ ।

    बैंकका अनुसार रोजगारीको अवस्थामा समेत सुधारआई ७७ प्रतिशतबाट ८७ प्रतिशत पुगेको छ । कोभिड–१९ का कारण नेपालको आर्थिक वृद्धिदर समेत न्यून रहेको राष्ट्र बैंकको भनाइ छ ।

    राष्ट बैंकले गत जेठ देखि असारसम्म ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीबाट तथ्याङ्क संकलन गरेको थियो । त्यस अवधिमा ४ प्रतिशत मात्र उद्योग पूर्ण संचालनमा आएका थिए । ६१ प्रतिशत उद्योग व्यवसाय संचालन हुन सकेका थिएनन् ।

  • कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने मन्त्रीको चेतावनी

    कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने मन्त्रीको चेतावनी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन् ।

    शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले विभिन्न वस्तुहरुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकोले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताए ।

    अहिले दाल, फलाम, सिमेन्टलगायतका वस्तुहरुमा अत्यधिक महँगी बढेको गुनासो आएकोले मूल्यवृद्धि नियन्त्रण आफैं गर्न उद्योग व्यवसायीका संगठनहरुलाई आग्रह गरे ।

    आफैं मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर अनुगमन गर्ने र गल्ती गर्नेलाई नछाड्ने बताए । निजी क्षेत्रलाई स्वतन्त्ररुपमा छाडिएको अवस्थामा व्यवसायीहरुले मूल्य वृद्धि गरेर बजारलाई महँगो बनाएको पनि मन्त्री भट्टले बताए ।

    उद्योगी व्यवसायीहरुलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको तर केही उद्योगी व्यवसायीले अस्वाभाविक मूल्यवृद्धि गराई बजारलाई प्रभावित पारेको जानकारी दिए । तर पनि सरकारले उत्पादन बढाउन, लगानी आकर्षित गर्न काम गरिराखेको स्पष्ट पारे ।

     

  • ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु

    ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार पाँचौ वार्षिक ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु गरेका छन् । वार्ता शुरु गरेकोमा आफू निकै खुसी भएको बताएका छन् ।

    उनले ट्वीट गर्दै भनेका छन् पाँचौ वार्षिक ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ताको शुरुवात गर्न पाएकोमा म हर्षित छु,’ । ‘एउटा सक्षम व्यावसायिक वातावरणको निर्माण दुई देशबीचको बढ्दो व्यापार सम्बन्धले थप मजबुत बनाउने तथा नेपाली अमेरिकीहरुलाई उत्तिकै सघाउनेतर्फ पहिलो महत्वपूर्ण कदम हो, मेरो उच्च प्राथमिकता पनि हो,’ उनले ट्वीटमा भनेका छन् ।

    नेपाल सरकार र संयुक्त राज्य अमेरिकाले २०६८ वैशाख २ गतेबाट लागू हुने गरी व्यापार तथा लगानीसम्बन्धि सम्झौता (टिफा) मा हस्ताक्षर गरेका हुन् । यो सम्झौताको उदेश्य व्यापार, लगानी तथा प्राविधिक सहयोग विस्तार र दुई देशबीचको आर्थिक सम्बन्ध सबलीकरण लगायत रहेका छन् ।

    २०७२ वैशाखमा नेपालमा भूकम्प गएपछि सन् २०१५ को व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनले नयाँ देशकेन्द्रित ग्राहता कार्यक्रम स्थापित गरी ‘हार्मोनाइज्ड ट्यारिफ शेडुल’अन्र्तगत ७७ वस्तुहरु समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको छ । जसमा हस्तकला, शल भ्रमण सामग्र लगायतका वस्तु छन् ।