Tag: ईपीएल

  • वर्षाका कारण स्थगित ईपीएलका दुई खेलको नयाँ मिति सार्वजनिक

    वर्षाका कारण स्थगित ईपीएलका दुई खेलको नयाँ मिति सार्वजनिक

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार वर्षाका कारण स्थगित भएका दुई खेलको नयाँ मिति तोकिएको छ ।

    घोषित नयाँ मिति अनुसार अक्टोबर १ शुक्रबार बिहान काठमाडौं र विराटनगरबीच खेल हुनेछ । भने अक्टोबर २ बिहान भैरहवा र चितवन भिड्नेछन् ।

    बाँकी खेलहरू अवरुद्ध नभए पूर्वनिर्धारित मितिमै हुनेछन् ।

    आज १२:१५ मा तय गरिएको काठमाडौं र पोखरा राइनोजबीचको खेल पनि स्थगित हुने सम्भावना छ । वर्षाले मैदान ओसिले भएकाले खेल भइहाले पनि थोरै ओभरको हुन सक्नेछ आयोजकले बताएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत सोमबारका लागि निर्धारित काठमाडौं र विराटनगर वारियर्स साथै चितवन राइनोज र भैरहवा ग्लाडिएटर्सबीचको खेल स्थगित भएको थियो ।

  • ईपीएलः भैरहवा र चितवनको खेल पनि स्थगित हुने सम्भावना

    ईपीएलः भैरहवा र चितवनको खेल पनि स्थगित हुने सम्भावना

    काठमाडौं । वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो दिनमा दुवै खेल प्रभावित बनेका छन् । बिहान ९ बजे तय भएको विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स-११ को खेल रद्द भइसकेको छ ।

    त्रिवि क्रिकेट मैदानम चिसो भएकाले समयममा खेल हुन नसकेपछि ११ : ४० सम्म पर्खेर खेल स्थगित गरिएको थियो । त्यस्तै, दिउँसो १ :३० बजे हुने तय भएको चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सको खेलको टस पनि हुन सकेको छैन ।

    त्यसमाथि अहिले कीर्तिपुरमा पुनः वर्षा हुन थालेसँगै यो खेल पनि स्थगित हुने सम्भावना बढेको छ । वर्षा सुरू भएसँगै पिच ढाकिएको छ ।

    भैरहवाको आइतबार दिउँसो सुरू भएको पोखरा राइनोजविरुद्धको खेल पनि वर्षाका कारण स्थगित भएको थियो । र दुवै टोलीले अंक बाँडेका थिए । आयोजकले आजको पहिलो खेल एक खेल मात्रै हुने कुनै अन्य दिनमा हुन सक्ने बताएको छ । यस्तै, दोस्रो खेलको भने आधिकारिक जानकारी आएको छैन ।

    यद्यपि, वर्षा क्रमिकरूपमा बढ्दै गएपछि खेल हुने सम्भावना न्यून देखिएको छ ।

  • ईपीएलः विराटनगर र काठमाडौंको खेल रद्द

    ईपीएलः विराटनगर र काठमाडौंको खेल रद्द

    काठमाडौं । आइतबारको भारी वर्षाका कारण एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार बिहान ९ बजे तय भएको विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स-११ बीचको खेल रद्द भएको छ ।

    शनिबारदेखि सुरु भएको ईपीएलको चौथो संस्करणको दोस्रो दिन आइतबार दिउँसो परेको पानीले पोखरा राइनोजर भैरहवा ग्लाडिएटर्सबीचको खेल स्थगित भएको थियो । स्थगित भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका थिए ।

    आइतबारको भारी वर्षाका कारण मैदान चिसो भएकाले आज बिहान तय भएको खेल मैदान चिसो भएकाले समयमा सुरु हुन सकेको थिएन । र, टेक्निकल कमिटीले खेल रद्द गरेको छ । यद्यपि, यसको नतिजा भने निकालिएको छैन ।

    आयोजकले एक खेल मात्र भएको अन्य कुनै दिन यो खेल हुन सक्ने बताएको छ ।

    सन्दीप लामिछानेको कप्तानीमा भएको काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्समाथि ७ विकेटको शानदार जित निकालेको थियो । यस्तै आइतबार भएको खेलमा विराटनगर चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो ।

    काठमाडौंमा अुनबन्धित पाकिस्तानी पूर्वकप्तान शाहिद अफ्रिदीको यो सिजनको अन्तिम खेल आज भएकाले त्रिवि मैदानमा पुगेका दर्शक निराश बनेका छन् । अफ्रिदीले काठमाडौं आएलगत्तै दुई खेलपछि आफू स्वदेश फर्किने बताएका थिए ।

    सोही अनुरुप पहिलो खेलमा काठमाडौंबाट मैदानमा उत्रिएका अफ्रिदीले ब्याटिङमा पालो नआए पनि आफ्नो कोटाको पूरा चार ओभर बलिङ गरेका थिए । ३२ रन खर्चेर विकेट लिन असफल रहे पनि एउटा क्याच गरेका थिए ।

  • ईपीएलः विराटनगर र काठमाडौंको खेल अझै अनिश्चित

    ईपीएलः विराटनगर र काठमाडौंको खेल अझै अनिश्चित

    काठमाडौं । आइतबारको भारी वर्षाका कारण एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार बिहान ९ बजे तय भएको विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स-११ बीचको खेल अझै सुरू हुन सकेको छैन ।

    शनिबारदेखि सुरू भएको ईपीएलको चौथो संस्करणको दोस्रो दिन आइतबार दिउँसो परेको पानीले पोखरा राइनोजर भैरहवा ग्लाडिएटर्सबीचको खेल स्थगित भएको थियो । स्थगित भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका थिए ।

    आइतबारको भारी वर्षाका कारण मैदान चिसो भएकाले आज बिहान तय भएको खेलका लागि ११ः ४० मा ग्राउन्ड इन्स्पेक्सन हुने र यसको टुङ्गो लाग्ने टेक्निकल कमिटीले बताएको छ ।

    सन्दीप लामिछानेको कप्तानीमा भएको काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्समाथि ७ विकेटको शानदार जित निकालेको थियो । यस्तै आइतबार भएको खेलमा विराटनगर चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो ।

    काठमाडौंमा अुनबन्धित पाकिस्तानी पूर्वकप्तान शाहिद अफ्रिदीको यो सिजनको अन्तिम खेल आज भएकाले त्रिवि मैदानमा पुगेका दर्शक अलमलमा परेका छन् । अफ्रिदीले काठमाडौं आएलगत्तै दुई खेलपछि आफू स्वदेश फर्किने बताएका थिए ।

    सोही अनुरुप पहिलो खेलमा काठमाडौंबाट मैदानमा उत्रिएका अफ्रिदीले ब्याटिङमा पालो नआए पनि आफ्नो कोटाको पूरा चार ओभर बलिङ गरेका थिए । ३२ रन खर्चेर विकेट लिन असफल रहे पनि एउटा क्याच गरेका थिए ।

    काठमाडौं र विराटनगरबीच अहिले हुने तय भएको खेल १२ः २० सम्म सुरु नभए स्थगित हुनेछ र दुवै टोलीले अंक बाँड्ने छन् ।

  • ईपीएल : पानी परेकाले भैरहवा र पोखराबीचको खेल स्थगित, दुवै टिमले अंक बाँडे

    ईपीएल : पानी परेकाले भैरहवा र पोखराबीचको खेल स्थगित, दुवै टिमले अंक बाँडे

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आइतबार भएको दोस्रो खेल वर्षाका कारण अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

    किर्तीपुरस्थित त्रिवि मैदानमा जारी भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजको खेल वर्षाले अवरुद्ध भएको हो । टस जितेर व्याटिङ रोजेको पोखराले खराब सुरुआत गरेको थियो ।

    १२ रनमा ५ विकेट गुमाएको पोखराका लागि छैटौ नम्बरमा ब्याटिङमा उत्रिएका एसेला गुणरत्नेले टोलीलाई लय दिन खोजेका थिए तर उनी १६ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाउँदै पेभिलियन फर्किए ।

    त्यस्तै क्रिजमा विवेक यादव १ चौका र छक्कासहित १६ बलमा १६ रन बनाएर खेलिरहेका थिए । भने विक्रम सोव ७ बलमा ७ रनसहित थिए । भने अरु कुनै व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    भैरहवाको बलिङमा दुर्गेश गुप्ताले ३ ओभरमा १ मेडनसहित १६ रन खर्चिँदै ३ विकेट लिए । धम्मिका प्रसाद, अविनास बोहरा र तुलबहादुर थापाले समान १ विकेट लिएका थिए ।

    भोलि हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

  • सिकन्दर राजाको अर्धशतकमा चितवनलाई १५२ रनको लक्ष्य

    सिकन्दर राजाको अर्धशतकमा चितवनलाई १५२ रनको लक्ष्य

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत जारी खेलमा सिकन्दर राजाको अर्धशतकमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १५२ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार गर्‍यो ।

    खराब सुरुआत गरेको विराटनगरका लागि पाँचौ नम्बरमा ब्याटिङमा उत्रिएका सिकन्दर राजाले सौरभ खनालसँग ५१ रनको साझेदारी गर्दै ४७ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको उत्कृष्ट इनिङ खेले । विराटनगरका लागि अनिल साहले ३१ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । विराटनगरका ओपनर आसिफ सेख गोल्डेन डकआउट हुँदा चन्द्रपल हेमराज २ रनमा पेभिलियन फर्किए ।

    त्यस्तै सौरभ खनाल ३० र अनिल खरेल शून्यमा अविजित रहँदा अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    चितवनका लागि सोम्पाल कामी, कमल ऐरि, कारिम जनत र सागर ढकालले समान २ विकेट लिए । त्यस्तै साहव अलामले १ विकेट लिए ।

  • काठमाडौंका लागि गुर्बाजको अर्धशतक

    काठमाडौंका लागि गुर्बाजको अर्धशतक

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्सविरुद्ध १ सय ५८ रनको लक्ष्य पछ्याइरहेको  काठमाडौं किङ्ग्स-११ का लागि रमानुल्लाह गुर्जाबले अर्धशतक बनाएका छन् । काठमाडौंका लागि ओपनिङमा आएका गुर्बाजले २४ बलमा ४ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका हुन् ।

    अहिले काठमाडौंका लागि गुर्बाज र रायन बर्ल क्रिजमा छन् । ६.५ ओभर सकिँदा ६५/२ को अवस्थामा ब्याटिङ गरिरहेको छ ।

  • पवन सर्राफको अर्धशतकमा काठमाडौंलाई १५८ रनको लक्ष्य

    पवन सर्राफको अर्धशतकमा काठमाडौंलाई १५८ रनको लक्ष्य

    काठमाडौं । पवन सर्राफको अर्धशतक प्रेरित ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा काठमाडौं किङ्ग्स–११ लाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साविक विजेता ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गर्‍यो ।

    खराब सुरुआत गरेको ललितपुरका लागि पाँचौं नम्बरमा ब्याटिङमा आएका पवनले योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी गर्दै ४४ बलमा ५ चौका र ४ छक्कासहित ६१ रनको महत्त्वपूर्ण इनिङ खेले । ललितपुरका लागि योगेन्द्र कार्कीले २० बलमा ३ छक्कासहित ३३ रन जोडे ।

    ललितपुरका ओपनर कुशल भुर्तेल गोल्डेन डक हुँदा सान्डुन भिराक्कोडी २ रनमा पेभेलियन फर्केका थिए । यस्तै शंकर राना १४, मिक्यो दोर्जी १७ र ललित राजवंशी शून्यमा अविजित रहँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    काठमाडौंका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । आफ्नो कोटाको पूरा चार ओभरमा १८ रन मात्रै खर्चेका जितेन्द्रले काठमाडौंका लागि किफायती बलिङ गरे । त्यस्तै, रायन बुर्लले २ तथा गुल्शन झाले २ विकेट लिए ।

    काठमाडौंका कप्तान सन्दीप ४ ओभरमा ४४ रन खर्चेर विकेटविहीन रहे । पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीले ४ ओभर बलिङ गरेर ३२ रन खर्चिँदा विकेट लिन सकेनन् ।

  • काठमाडौंविरुद्ध पवनको अर्धशतक

    काठमाडौंविरुद्ध पवनको अर्धशतक

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा काठमाडौं किङ्ग्स-११ विरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुर प्याट्रिओट्सका लागि पवन सर्राफले अर्धशतक बनाएका छन् ।

    खराब सुरुआत गरेको ललितपुरका लागि पाँचौै विकेटको रूपमा क्रिजमा उत्रिएका पवनलले ४० बलमा ४ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका छन् ।

    योगेन्द्रसिंक कार्कीसँऊ ५९ रनको साझेदारी गर्दै पवनले ईपीएलको चौथो संस्करणकै पहिलो अर्धशतक बनाएका हुन् । ललितपुर १५.३ ओभरमा ११४/४ को अवस्थामा ब्याटिङ गरिरहेको छ ।

  • विराटनगरको उप-कप्तान अनिल साह

    विराटनगरको उप-कप्तान अनिल साह

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणमा विराटनगर वारियर्सले अनिल कुमार साहलाई उप कप्तान घोषणा गरेको छ । शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताका लागि विराटनगरले शुक्रबार अनिललाई उप-कप्तान घोषणा गरेको हो ।

    नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले ईपीएल नखेल्ने बताएपछि विराटनगरको कप्तानी कसले गर्ने भन्नेमा विभिन्न अनुमान भएका थिए । राष्ट्रिय टोलीका अलराउन्डर करण केसीले विराटनगरको कप्तानी गर्नेछन् ।

    विराटनगरले शुक्रबार सामाजिक सञ्जालमार्फत अनिललाई उप-कप्तान चयन गरेको जानकारी दिएको छ । अनिल घरेलु प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्छन् ।

    विकेटकिपर ब्याट्सम्यान अनिलको विराटनगरले ईपीएलको पहिलो खेलमा आइतबार चितवन टाइगर्सको सामना गर्नेछ ।

    यो सिजनका लागि विराटनगरको टोली: करण केसी, आसिफ शेख, अनिल कुमार शाह, सन्दीप रजाली, सौरभ खनाल, सुमित महर्जन, हरिबहादुर चौहान, सोनु देवकोटा, प्रतिश जिसी, रामनरेश गिरी, विक्रम कुमार भुसाल, अनिल खरेल, अर्जुन चुनारा, सन्तोष यादव ।

    विदेशी खेलाडी: रायन पठान, चन्दरपाउल हेमराज, सिकन्दर राजा, दिलसान मुनाविरा ।

    *सच्याइएको ।

  • ईपीएल आजदेखि: अफ्रिदीको काठमाडौं र ललितपुर भिड्दै

    ईपीएल आजदेखि: अफ्रिदीको काठमाडौं र ललितपुर भिड्दै

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण सन् २०१९ र २०२० मा हुन नसकेको ईपीएल आजदेखि दर्शकसहित हुँदैछ ।

    शनिबार हुने उद्घाटन खेलमा काठमाडौं उपत्यकाका दुई टोली- ललितपुर प्याट्रिओट्स र काठमाडौं किङ्ग्स-११ भिड्ने छन् । नेपाली समयअनुसार शनिबार दिउँसो १२:१५ बजे सुरु हुने खेलमा साविक विजेता जितसहित उपाधि रक्षा अभियान सुरु गर्न चाहन्छ ।

    यद्यपि, पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीको उपस्थितिले उत्साहित काठमाडौं पनि धमाकेदार सुरुआत गर्ने तयारी छ । ललितपुर युवा स्टार कुशल भुर्तेलको नेतृत्वमा खेल्ने छ भने काठमाडौंको कप्तानी स्टार स्पीनर सन्दीप लामिछानेले गर्नेछन् ।

    ललितपुरका पूर्व घोषित कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिता सुरु हुनु दुई दिनअघि मात्रै नाम फिर्ता लिएपछि ललितपुरले कुशललाई कप्तान चयन गरेको हो ।

    यसअघि यी दुई टोलीबीच भएका तीन खेलमा ललितपुरले एकतर्फी नतिजा निकालेको छ । दोस्रो सिजन २०१७ मा ७ विकेटले हारेको काठमाडौं २०१८ मा १० र १ विकेटले पराजित भएको थियो ।

    काठमाडौं किग्स-११: सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा ।

    विदेशी खेलाडी: शाहिद अफ्रिदी, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज ।

    ललितपुर प्याट्रिओट्स: ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह ।

    विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन विराक्योडी ।

  • भोलिबाट ईपीएल : यी हुन् ६ टीमका २४ विदेशी क्रिकेटर

    भोलिबाट ईपीएल : यी हुन् ६ टीमका २४ विदेशी क्रिकेटर

    काठमाडौं । बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण भोलि (शनिबार) देखि सुरु हुँदैछ । यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थुप्रै विदेशी क्रिकेटरहरुले भाग लिँदैछन् ।

    कोरोनाभाइरसको महामारीले विश्वव्यापी लकडाउन नभएको भए ईपीएलको चौथो संस्करण झन् ‘धमाकेदार’ रुपमा दुई वर्षअघि नै सकिएको हुन्थ्यो । तर, कोरोनाभाइरसको महामारीका कारण आयोजनाको अन्तिम घडीमा आइपुगेर ईपीएल स्थगित भयो । यसले आयोजकको तयारी मात्रै खेर गएन, ईपीएलमा जोडिन आँटेका केही विश्वप्रख्यात खेलाडीहरु पनि पछि हटे ।

    विश्व क्रिकेटका चर्चित हस्तिहरु– क्रिस गेल, कोरी एन्डरसन, ड्वेन स्मिथ, पल स्टर्लिङ, हासिम अमला, मोहमद सहजाद लगायतका खेलाडी ईपीएल खेल्न आउने निश्चित भइसकेको थियो । एबी डिभिलियर्स जस्ता क्रिकेटरको चर्चा पनि चलिरहेको थियो । तर, कोरोनाभाइरसको महामारीले आयोजना सफल हुन नसकेर दुई वर्षपछि धकेलियो । त्यही संस्करण अन्ततः शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

    दुई वर्षअघि घोषित खेलाडीको अनुपस्थिति रहने भए पनि केही चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरले प्रतियोगितामा सहभागिता जनाउँदैछन् । पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकाका उपल थरङ्गा, बंगलादेशका तमिम इकबाल लगायतका खेलाडीहरुलाई नेपाली दर्शकहरुले प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

    ईपीएलको यो संस्करणमा पूर्व घोषित खेलाडीहरू अनुपस्थित नहुनुको कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू पुनः सुचारु हुन पनि हो । तर, जिम्मावे, बंगलादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तानका प्रतिष्ठित खेलाडीको उपस्थितिले नयाँ तरङ्ग पैदा गर्नेमा विश्वस्त हुन सकिन्छ ।

    यो वर्षको ईपीएलमा देखिने विदेशी अनुहार

    विराटनगर वारियर्स सन् २०१७ मा च्याम्पियन बनेको विराटनगरले गत संस्करणमा समूह चरण पार गर्न सकेन । पहिलो चरणका पाँच खेलमा तीन हार र दुई जितको नजिता निकालेको विराटनगर ६ मध्ये पाँचौं टोलीमा सीमित बनेको थियो ।

    पारस खड्काको कप्तानीमा रहेको विराटनगर यसपाली नयाँ नेतृत्वसहित मैदानमा उत्रिने निश्चित छ । र, आसन्न प्रतियोगिताका लागि विराटनगरले क्यानडियन रायन पठान, गुयानाका चन्दरपाउल हेमराज, जिम्वावेका सिकन्दर राजा र श्रीलंकाली दिलसान मुनाविरालाई टोलीमा अनुबन्ध गरेको छ ।

    यसअघिका दुई संस्करणमा उल्लेख्य नतिजा निकाल्न नसकेको पोखरा राइनोज यसपाली त्यो लय सुधार्ने तयारीमा छ । यसअघिका संस्करणमा शक्ति गौचनको कप्तानीमा ईपीएल खेलेको पोखराको नेतृत्व यसपाली विनोद भण्डारीले गर्ने बुझिएको छ ।

    पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेर पराजित भएको पोखरा दोस्रो सिजनमा प्रारम्भिक चरणमै सीमित भयो । गत सन् २०१९ मा हुने भनिएकै समयमा ईपीएल आयोजित हुन्थ्यो भने क्रिस गेललाई त्रिवि क्रिकेट मैदानमा दर्शकले हेर्न पाउँथे ।

    त्यो सम्भव नभएपछि आसन्न संस्करणका लागि श्रीलंकाका सहान अराचचिगे र असेला गुनारत्ने, दक्षिण अफ्रिकाका रिचार्ड लेभी, वेस्ट–इन्डिजका केसरिक विलियम्सलाई टोलीले अनुबन्ध गरेको छ ।

    राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछानेलाई उनकै जन्मदिनमा कप्तान घोषित गरेको काठमाडौंले उद्घाटन खेलमा ललितपुरको सामना गर्दैछ । पहिलो संस्करणको प्रारम्भिक चरण पार गर्न नसकेको काठमाडौंले दोस्रो सिजन क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । तर, त्यहाँ पराजित भएपछि पहिलोपटक फाइनल पुग्ने मौका गुमाएको काठमाडौंले यो सिजन टोलीमा विश्व परिचित खेलाडीलाई समावेश गरेको छ ।

    पकिस्तानका पूर्वकप्तान तथा चर्चित अलराउन्डर शाहिद अफ्रिदीसँगै सिंगापुरका जनक प्रकाश, जिम्बावेका रायन ब्रुल, अफगानिस्तानका रमानुल्लाह जुर्बाजलाई यो सिजनका लागि अनुबन्ध गरिएको छ ।

    गत सिजनको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै च्याम्पियन बनेको ललितपुरले पहिलो खेलदेखि नै यो सिजनको उपाधि रक्षा अभियान सुरु गदैछ । पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेको लतिलपुरले गत सिजनको फाइनलमा भैरहवालाई पराजित गर्दै उपाधि उचालेको थियो । लगातार दोस्रो पटक उपाधि जित्ने तयारीमा रहेको ललितपुरले आगामी सिजनका लागि अफगानिस्तानका अज्मतुल्लाह ओमरजाई, श्रीलंकाली ओशाडा फर्नान्डो, भुटानका मिक्यो दोर्जी र श्रीलंकाका शेनडन विराकोड्डीलाई टोलीमा समावेश गरेको छ ।

    चितवन टाइगर्सले हालसम्म इलिमिनेटर पार गर्न सकेको छैन । पहिलो सिजनमा पहिलो सिजनमा प्रारम्भिक चरण पार गर्न नसकेको चितवनले दोस्रो संस्करणमा इलिमिनेटरमा स्थान बनाएको थियो । तर, त्यहाँबाट अघि बढ्न सकेको थिएन । पहिलो पटक फाइनल यात्रा तय गर्ने सोचसहित यो सिजनको तयारी गरिरहेको चितवनले अफगानिस्तानका मोहम्मद शहजाद र करिम जनत, मलेसियाका विरनदीप सिंह, श्रीलंकाली सेकुगे प्रशन्नालाई टोलीमा अनुबन्ध गरेको छ ।

    लगातार दुई सिजन फाइनलमा पुगेर उपाधि जित्न असफल रहेको भैरहवा ग्लाडिएटर्स यसपटक त्यो खडेरी चिर्ने प्रयत्नमा छ । पहिलो संस्करणमा सोझै फाइनलमा पुगेको भैरहवा दोस्रो सिजनमा क्वालिफायर, इलिमिनेटर हुँदै फाइनलसम्म पुगेकोे थियो ।

    सन् २०१७ मा विराटनगर वारियर्ससँग पराजित भएको भैरहवा २०१८ मा ललितपुरसँग स्तब्ध हुनुपर्यो । दुई पटक उपाधि नजिक पुगेर असफल रहेको भैरहवाले यसपाली टोलीलाई अझ सशक्त बनाउन बंगलादेशका तमिम इकबल, मलेसियन सार्भिन मुनियान्दी, श्रीलंकाली उपल थरङ्गा र धमिका प्रसादलाई टोलीमा समावेश गरेको छ ।

     

  • काठमाडौंका मेयरले सन्दीप लामिछानेलाई भने- अफ्रिदीसँग नआत्तिनू !

    काठमाडौंका मेयरले सन्दीप लामिछानेलाई भने- अफ्रिदीसँग नआत्तिनू !

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न आएका पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी ईपीएल खेल्न आउँदा नेपाली क्रिकेट समर्थकमा ठूलै उत्साह छ । तर, उनले जम्माजम्मी दुई म्याचमात्रै खेल्ने कुराले निराशा पनि ।

    हिजो नेपाल ओर्लनासाथ पत्रकारहरूसँग अफ्रिदीले आफू दुई म्याच मात्रै खेल्ने खुलासा गरेका थिए । आज उनको टिम किङ्स ११ काठमाडौंले अफ्रिदीलाई समेत राखेर प्रिम्याच प्रेस मिट गर्‍यो । त्यसमा पत्रकारको चासो थियो- किन दुई म्याचमात्रै । जवाफमा अफ्रिदीले आफू व्यस्त रहेको बताएर टारे ।

    ‘म निकै व्यस्त थिएँ र छु, त्यसैले यसपाली दुई म्याच मात्रै खेल्ने भएँ,’ उनले भने, ‘तर, अर्कोपटक पनि आएँ भने पक्कै पूरा सिजन खेल्नेछु ।’

    नेपाललाई सुन्दर देश भन्दै उनले परिवारसहित घुम्न आउने चाहना पनि व्यक्त गरे । आफू दुई म्याच खेल्न मात्र नभइ पाकिस्तान र नेपालबीच सम्बन्ध राम्रो बनाउनका लागि आएको उनको भनाइ छ ।

    ‘नेपालमा मैले न्यानो आतिथ्य पाएँ, यी दुई दिन खुशीसाथ बितेका छन्,’ उनले भने, ‘हाम्रो टिमको नेतृत्व गर्न लागेको सन्दीपलाई अल द बेस्ट भन्न चाहन्छु । मेरो साथ र समर्थन टिमलाई रहनेछ ।’

    अफ्रिदीले नेपाली क्रिकेट टिमले आवश्यक सम्झेको खण्डमा जहिले पनि आउन तयार रहेको बताए ।

    काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि प्रेसमिटमा उपस्थित थिए । उनले टिभीमा हेर्दै आएको खेलाडीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले अफ्रिदीको उपस्थितिबाट नआत्तिन किङ्स ११ का कप्तान सन्दीप लामिछानेलाई सुझाव दिए ।

    ‘कहिलेकाहीँ आफूभन्दा तगडा खेलाडी देख्दा डराउने प्रवृत्ति हुन्छ,’ शाक्यले भने, ‘म सन्दीपलाई नआत्तिइकन खेल्न सुझाव दिन्छु । यसपाली जितेर आएपछि उनले अघिल्लो संस्करणमा आफूले टिमको जर्सी डिस्प्ले गर्दाको क्षण सम्झिए ।

    ‘त्यसबेला मैले जितेर आएपछि सँगै खुशीयाली मनाउनुपर्छ भनेर शुभकामना दिएको थिएँ । तर, खेलको नियम हो, सबैले जित्न सक्दैनन्, त्यसबेला सफल हुन सकिएन,’ उनले भने, ‘यसपाली मेरो र सिंगो महानगरपालिकाको तर्फबाट शुभकामना दिन्छु । जितेर आएपछि सँगै खुशीयाली मनाउने अधुरो इच्छा यसपाली पूरा हुने अपेक्षा छ ।’

    किङ्स ११ का कप्तान सन्दीपले अफ्रिदीको उपस्थितिले आफ्नो टिममा धेरै फरक पार्ने बताए ।

    उनले भने, ‘हाम्रो टिमले मात्र नभएर अरु टिमले पनि साहिद भाइबाट धेरै सिक्न पाउनेछन् । उहाँको उपस्थिति नै ठूलो कुरा हो हाम्रो लागि ।’

  • व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने!

    व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने!

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणमा ललितपुर प्याट्रिओट्स कप्तान मल्ल नखेल्ने क्लबले बताएको छ ।

    उनले ललितपुरका सीईओलाई इ-मेल गर्दै आफ्नो सतप्रतिशत प्रदर्शन दिनका लागि आफू तयार नरहेको बताउँदै नाम फिर्ता लिएका हुन् ।

    ललितपुर प्याट्रिओट्सको टोली: ज्ञानेन्द्र मल्ल (नखेल्ने), सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह । विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन वोराक्योडी ।

  • शाहिद अफ्रिदीले ईपीएलका दुई खेल मात्रै खेल्ने!

    शाहिद अफ्रिदीले ईपीएलका दुई खेल मात्रै खेल्ने!

    काठमाडौं । पाकिस्तानका पूर्व कप्तान तथा चर्चित क्रिकेटर शाहिद अफ्रिलीले एभरेष्ट प्रिमियर लिग (ईपीएल)का दुई खेल मात्रै खेल्ने बताएका छन् ।

    काठमाडौं किङ्ग्स-११ बाट शनिबार देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करण खेल्न नेपाल आइपुगेका अफ्रिदीले आफू दुई खेल मात्रै खेलेर फर्किने बताएका हुन् ।

    कतार एयरवेजबाट कतार हुँदै अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो अवतरण गरेका हुन् । अवतरण गरेर पत्रकारसँग कुरा गर्दै उनले दुई खेल मात्रै खेलेर पाकिस्तान फर्किने बताएका हुन् ।

    काठमाडौंले उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो खेलमा बुधबार पोखरा राइनोजसँग खेल्ने छ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको टोलीमा अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया, आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा छन् ।

    यस्तै विदेशी खेलाडीमा अफ्रिदीसँगै, जनक प्रकाश, रेयान ब्रुल, रहमाउल्ला गुरबाज छन् ।

  • ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा (तस्बिरहरु)

    ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा (तस्बिरहरु)

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न पाकिस्तान पूर्व कप्तान शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । शनिबार देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणमा अफ्रिदीले काठमाडौं किङ्ग्स-११ बाट खेल्ने छन् ।

    अफ्रिदी कतार एयरवेजबाट बिहीबार अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई ईपीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर अख्तरसँगै पाकिस्तानी दूतावासका कर्मचारीले विमानस्थलमा स्वागत गरेका छन् ।

    काठमाडौंले उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको टोलीमा अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया, आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा छन् ।

    यस्तै विदेशी खेलाडीमा शाहिद अफ्रिदीसँगै, जनक प्रकाश, रेयान ब्रुल, रहमाउल्ला गुरबाज छन् ।

  • ईपीएल खेल्न रिचार्ड लेभी नेपालमा

    ईपीएल खेल्न रिचार्ड लेभी नेपालमा

    काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर रिचार्ड लेभी एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आइपुगेका छन् । असोज ९ देखि त्रिवि क्रिकेट मैदानमा शुरू हुने प्रतियोगितामा लेभीले पोखरा राइनोजबाट खेल्नेछन् ।

    लेभीले खेलेका २२० टी-२० अन्तर्राष्ट्रिय खेलमा ५ हजार भन्दा बढी रन बनाएका छन् । पोखराले आइतबार भैरहवा ग्लाडिएटरर्ससँग खेल्नेछ । शनिबार हुने उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्स र काठमाडौं किङ्स-११ भिड्ने छन् ।

    पोखराको टोली : विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विपिन रावल, लोकेशबहादुर बम, रविन्द्र शाही, विवेक कुमार यादव, सुशन भारी, किशोर महतो, विक्रम सोब, नन्दन यावद, देव शाह, अर्जुन कुमाल, विपिन खत्री । विदेशी खेलाडीः सहान अराचचिगे, रिचार्ड लेभी, असेला गुनारत्ने, केसरिक विलियम्स ।

  • शाहिद अफ्रिदी भोलि नेपाल आउँदै

    शाहिद अफ्रिदी भोलि नेपाल आउँदै

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न पाकिस्तान पूर्व कप्तान शाहिद अफ्रिदी भोली नेपाल आउँदै छन् । शनिबार देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणमा अफ्रिदीले काठमाडौं किङ्ग्स-११ बाट खेल्ने छन् ।

    अफ्रिदी कतार एयरवेजबाट बिहीबार दिउँसो ३:५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । काठमाडौंले उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको टोलीमा अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया, आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा छन् ।

    यस्तै विदेशी खेलाडीमा शाहिद अफ्रिदीसँगै, जनक प्रकाश, रेयान ब्रुल, रहमाउल्ला गुरबाज छन् ।

  • मिक्यो दोर्जी ईपीएल खेल्न नेपाल आइपुगे

    मिक्यो दोर्जी ईपीएल खेल्न नेपाल आइपुगे

    काठमाडौं । भुटानी क्रिकेट टोलीका युवा ब्याट्सम्यान मिक्यो दोर्जी एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आइपुगेका छन् ।

    आगामी शनिबादेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणमा दोर्जीले साविक विजेता ललितपुर प्याट्रिओट्सको प्रतिनिधित्व गर्नेछन् ।

    दोर्जीले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा राम्रो प्रदर्शन गरेका मिक्यो नेपाल आइपुगेको ललितपुरले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

    प्रतियोगिताको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किङ्ग्स-११ सँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

    ललितपुर प्याट्रिओट्स: ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह ।

    विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन वोराक्योडी ।

  • ईपीएलमा दर्शक उपस्थित हुने, टिकट मुल्य एक हजार र दुई सय

    ईपीएलमा दर्शक उपस्थित हुने, टिकट मुल्य एक हजार र दुई सय

    काठमाडौं । आगामी शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चोथो संस्करणमा दर्शकले अनुमति पाउने भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ९ गतेदेखि २३ गतेसम्म चल्ने प्रतियोगिताका लागि ईपीएलले टिकट मुल्य सार्वजनिक गरेर बुकिङसमेत खुला गरिसकेको छ ।

    यसका लागि ईपीएलले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको सीडीयो गोविन्द प्रसाद रिजालले बताए ।

    ‘आयोजकले प्रतियोगिता सञ्चालनका लागि हामीसँग अनुमतिका लागि आह्वान गर्नुभएको थियो,’ सीडीओ रिजालले भने, ‘स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर सञ्चालनको अुनमति दिएका छौं ।’

    खेल हुने स्थानको दर्शक क्षमताको करिब आधा जती दर्शक उपस्थित गराएर प्रतियोगिता सञ्चालन गर्र्ने अनुमति दिएकोसमेत उनले बताए ।

    प्रतियोगिता सुरु हुन चार दिन मात्र बाँकी रहँदा सबै फ्रेन्चाइजले टोली सार्वजनिक गरिसकेका छन् । आयोजकले प्रभु पेमार्फत टिकट बुकिङसमेत खुला गरेको छ ।

    प्रतियोगिताको पहिलो चरणको खेलका लागि सामान्यतर्फको टिकट दुई सय र भीआईपीतर्फको एक हजार रूपैयाँ तोकेको छ ।

  • चितवन टाइगर्सको सहायक प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर पुरु सिंह, दीलिप नाथ उपकप्तान

    चितवन टाइगर्सको सहायक प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर पुरु सिंह, दीलिप नाथ उपकप्तान

    काठमाडौं । भारतका पूर्व क्रिकेटर पुरु सिंहलाई चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा टिम व्यावस्थापक तथा सहायक प्रशिक्षकको रूपमा भित्र्याएको छ ।

    हाल आईसीसी लेभल-२ प्रशिक्षक रहेका सिंहले देल्लीको रान्जी टफ्रीमा सात सिजन खेलेका थिए । उनले टोलीमा गौतम गम्भीर, विरेन्द्र सेवाग, युवराज सिंह र आशिस नेहेरा जस्ता खेलाडीहरूसँग खेलेका थिए ।

    त्यस्तै चितवनले नेपाल पुलिस क्लबका बाँया हाते ब्याट्म्यान दीलिप नाथलाई उप-कप्तान घोषणा गरेको छ ।

    चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । चौथो संस्करणको ईपीएलमा चितवनसँगै भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, काठमाडौं किङ्ग्स-११, विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

  • श्रीलंकाली अलराउन्डर फर्नान्डेजले ललितपुरबाट ईपीएल खेल्ने

    श्रीलंकाली अलराउन्डर फर्नान्डेजले ललितपुरबाट ईपीएल खेल्ने

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकाली अलराउन्डर ओशाडा फर्नान्डेजलाई आगामी संस्करणका लागि अनुबन्ध गरेको छ ।

    दश दिनपछि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणका लागि ललितपुरले २९ वर्षीया फर्नान्डेजलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

    टी–२०, ओडीआई र टेस्ट गरी तीन वटै फम्र्याटका लागि श्रीलंकाको राष्ट्रिय टोलीमा रहेका फर्नान्डो विस्फोटक ब्याटिङ र सटिक लेग ब्रेकका लागि जानिने गरेका छन् । ललितपुरले यसअघि नै भुटानका युवा ब्याट्सम्यान मिक्यो दोर्जी र अफगानिस्तानका अज्मातुल्लाह ओमारजाईलाई क्लबमा भित्र्याइसकेको छ ।

    प्रतियोगिताको नियमअनुसार सबै फ्रेन्चाइज टोलीमा कम्तिमा तीन जना विदेशी खेलाडी हुनै पर्नेछ ।

    असोज ९ गतेदेखि २३ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका कुल ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । भैरहवा ग्लाडिएर्ट, पोखरा राइनोज, काठमाडौं किङ्ग्स–११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र विराटनगर वारियर्सले आसन्न ईपीएलमा प्रतिस्पर्धा गर्नेछन् ।

  • हेमराज चन्द्रपलले विराटनगर वारियर्सबाट ईपीएल खेल्ने

    हेमराज चन्द्रपलले विराटनगर वारियर्सबाट ईपीएल खेल्ने

    काठमाडौं । वेस्ट इन्डिजका क्रिकेटर हेमराज चन्द्रपलले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

    चन्द्रपललाई तेस्रो अन्तर्राष्ट्रिय खेलाडीको रूपमा टोलीमा भित्र्याएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

    उनले वेस्ट इन्डिजबाट ६ वटा एकदिवसीय खेलहरू खेलेका छन् । भने क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता विभिन्न टी- २० प्रतियोगिताहरू खेलिसकेका छन् ।

    विराटनगर ईपीएल दोस्रो संस्करणको विजेता टोली हो । ६ फ्रेन्चाइज टोली सहभागी हुने ईपीएल चौथो संस्करण असोज ९-२३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

  • भुटानका रन्जुङ् मिक्यो दोर्जीले ललितपुरबाट ईपीएल खेल्ने

    भुटानका रन्जुङ् मिक्यो दोर्जीले ललितपुरबाट ईपीएल खेल्ने

    काठमाडौं । भुटानका उदीयमान युवा क्रिकेटर रन्जुङ् मिक्यो दोर्जीले ललितपुर प्याट्रियट्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

    मंगलबार विज्ञप्तिमार्फत दोर्जीले ईपीएल खेल्ने जानकारी दिइएको हो । दोर्जी टेक्निकल क्षमता भएको ब्याट्समेनको रूपमा परिचित छन् ।

    ‘मलाई यो अवसर दिनु भएकोमा सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद । साविकविजेता टोली ललितपुरका लागि खेल्न असाध्यै उत्साहित छु ’, दोर्जिले भने,‘र फेरि एकपटक नेपाली दर्शकसामु खेल्ने मौका पाँउदा धेरै खुसी महसुस गरेको छु ।’

    ललितपुरसहित ६ फ्रेन्चाइज टोलीको सहभागिता रहको ईपीएल असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा हुनेछ ।

  • सिकन्दर राजाले विराटनगर वारियर्सबाट ईपीएल खेल्ने

    सिकन्दर राजाले विराटनगर वारियर्सबाट ईपीएल खेल्ने

    काठमाडौं । जिम्बावेका क्रिकेटर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

    सोमबार विज्ञप्ति जारि गर्दै सिकन्दरलाई पहिलो अन्तर्राष्ट्रिय खेलाडीको रूपमा टोलीमा भित्र्याएको हो । सिकन्दरले अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५० एकदिवसीय, १७ टेस्ट र ४२ टी-२० आई खेलहरू खेलेका छन् । त्यस्तै, उनले पाकिस्तान प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग लगायतका टि-२० लिग खेलिसकेका छन् ।

    विराटनगर ईपिएल दोस्रो संस्करणको विजेता टोली हो । ६ फ्रेन्चाइज टोली सहभागी हुने ईपीएल चौथो संस्करण असोज ९-२३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

  • भिरनदीप र प्रसन्नाले चितवनबाट ईपीएल खेल्ने

    भिरनदीप र प्रसन्नाले चितवनबाट ईपीएल खेल्ने

    काठमाडौं । अर्को महिना काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणका लागि चितवन टाइगर्सले श्रीलंकाली सिकुगे प्रसन्ना र मलेसियन ब्याट्सम्यान भिरनदीप सिंहलाई अनुबन्ध गरेको छ ।

    आगामी असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलका लागि दुवै खेलाडी नेपाल आउने निश्चित भएको ईपीएलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

    २२ वर्षीया विकेटकिपर ब्याट्सम्यान भिरनदीपले २५ टी–२० आई, ५ लिस्ट ए, २५ टी–२० क्रिकेट खेलिसकेका छन् ।

    यस्तै, ३६ वर्षीया अलराउन्डर प्रसन्नाले १ टेस्ट, ४० ओडीआई, २० टी–ट्वान्टी आर्य, ११३ फस्र्ट क्लास क्रिकेट, १६७ लिस्ट ए क्रिकेट र १७० टी–२० खेलेका छन् ।

  • इङ्लिस क्रिकेटर जेम्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

    इङ्लिस क्रिकेटर जेम्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

    काठमाडौं । इङ्लिस व्यावसायिक क्रिकेटर अलेक्जेन्डर जेम्स ब्लेकले ललितपुर प्याट्रिओट्सबाट आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

    आगामी असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको नयाँ संस्करणका लागि साविक विजेता ललितपुरले इङ्लिस बायाँ हाते ब्याट्सम्यान ब्लेकलाई अनुबन्ध गरेको हो ।

    ईपीएलका प्रमुख कार्यकारी अधिकृत आमिर अख्तरले ब्लेक ईपीएलका लागि नेपाल आउने तय भइसकेको जानकारी दिए ।

    ‘ब्लेक राम्रो खेलाडी हुन्,’ अख्तरले नेपाल प्रेससँग भने, ‘केही बेरमा हामी आधिकारिक रूपमै सार्वजनिक गर्दैछौं ।’

    असोजमा हुने ईपीएलको चौथो संस्करणमा ललितपुरसँगै काठमाडौं किङ्ग्स-११, भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् ।

    पाकिस्तानी पूर्व कप्तान तथा प्रतिष्ठित क्रिकेटर शाहिद अफ्रिदी, अफगानी मोहम्मद शहजाद, श्रीलंकन दिनेश चन्डिमललगायतका खेलाडीले पनि ईपीएल खेल्ने तय भइसकेको छ ।

  • अफ्रिदीदेखि ब्रेथवेटसम्म: नेपालमा खेल्न आउँदैछन् यी विश्वस्तरीय क्रिकेटर

    अफ्रिदीदेखि ब्रेथवेटसम्म: नेपालमा खेल्न आउँदैछन् यी विश्वस्तरीय क्रिकेटर

    काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिताको रूपमा दाबी गरिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आगामी संस्करण असोजमा आयोजना हुँदैछ । यतिबेला फ्रेन्चाइज टिमहरू आगामी संस्करणका लागि खेलाडीहरू ‘हायर’ गर्न व्यस्त छन् ।

    कोरोना भाइरसको महामारीले नेपाललाई ६ महिना कडा लकडाउन जान बाध्य नबनाएको भए इपीएल सम्पन्न भएर पनि अर्कै मानक स्थापित गरिसकेको हुन्थ्यो । विश्व क्रिकेटका ठूला नाम- क्रिस गेल, एबी डिभिलियर्स, हासिम अमलाजस्ता खेलाडीहरू नेपाल आउने निश्चित भइसकेको थियो ।

    कोरोना भाइरसको बढ्दो संक्रमणका कारण देश लकडाउनमा जान बाध्य भयो र स्थगित भयो इपीएल । गेल र डिभिलियर्सको ब्याटले रनवर्षा गरेको प्रत्यक्ष हेर्ने नेपाली क्रिकेटप्रेमीको धोको अधुरै रह्यो । यद्यपि, निराश भइहाल्नु पर्ने अवस्था छैन । नेपालमा ठूलो फ्यान फलोइङ भएका अन्य केही विश्वस्तरीय क्रिकेटर इपीएलमा जोडिएका छन् र जोडिने क्रम जारी छ ।

    करिब दुई वर्षपछि फेरि नेपाली क्रिकेट जगत ईपीएललाई लिएर उत्साहित भएको छ । प्रतियोगितामा प्रायोजकहरू जोडिने, क्लबले नयाँ खेलाडी सार्वजनिक गर्ने लगायतका गतिविधि जारी छन् । र, ईपीएलका लागि घोषित मिति नजिकिँदो छ ।

    केही ठूला क्रिकेटरहरू, विश्वकप विजेताहरू आसन्न ईपीएल खेल्न नेपाल आउने निश्चित भइसकेको छ । विभिन्न ६ फ्रेन्चाइज टोलीले नेपाली समर्थकलाई मनोरञ्जन दिलाउनका लागि महंगो रकममा ती खेलाडीलाई अनुवन्धित गरेका छन् । यद्यपि, उनीहरूको मूल्य खुलाइएको छैन ।

    शाहिद अफ्रिदी, पाकिस्तान

    विश्व क्रिकेटमै तहल्का मच्चाउन सफल एक सनसनी नाम हुन् पाकिस्तानी अलराउन्डर शाहिद अफ्रिदी । उनको ब्याटले चल्यो भने कुनै पनि बलरले पानी भन्न पाउँदैन ।

    विष्फोटक ब्याटिङका लागि चिनिएका ४४ वर्षिय अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन्न्यास लिइसकेका छन् । यद्यपि, फ्रेन्चाइज क्रिकेटमा भने उनी अझै सक्रिय छन् । ब्याटिङका साथै उनी स्पिन बलिङ पनि गर्छन् ।

    अफ्रिदीका नाममा अनेक विश्व किर्तिमानहरू जोडिएका छन् । उनले आफ्नो डेब्यू एकदिवसीय म्याचमै शतक हानेका थिए, त्यो पनि केवल ३७ बलमा । लामो समयसम्म यो अन्तर्राष्ट्रिय क्रिकेटमै सर्वाधिक छिटो शतकको रुपमा दर्ज थियो । १७ वर्षपछि न्यूजिल्यान्डका पूर्व क्रिकेटर कोरी एन्डरसनले ३६ बलमा शतक बनाएर अफ्रिदीको रेकर्ड तोडेका थिए ।

    बलिङतर्फ अफ्रिदीले एकदिवसीयमा ३ सय ९५, टेस्टमा २७, ९९ टी-२० आई र फस्ट क्लास क्रिकेटमा १ सय ३३ विकेट लिएका छन् । उनले खेलेका २७ टेस्ट खेल, ३ सय ९८ एकदिवसीय र ९९ टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा ११ हजारभन्दा बढी रन बनाएका छन् ।

    पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका अफ्रिदीले काठमाडौं किङ्ग्स इलेभेनबाट खेल्ने निश्चित भइसकेको छ । नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले उनलाई आगामी सिजनका लागि अनुबन्ध गरेको हो ।

    अफ्रिदीलाई किङ्ग्स ११ ले आइकोनिक इन्टरनेसनल स्टारको रूपमा भित्र्याएको बताएको छ । नेपालमा पनि निकै राम्रो फ्यान फलोइङ भएकाले उनको ब्याटिङ हेर्ने ठूलै भिड जम्मा हुन सक्ने (यदि कोरोनाका कारण दर्शकको उपस्थितिमा रोक लागेन भने) अवस्था छ ।

    दिनेश चन्डिमल, श्रीलंका

    श्रीलंकाका पूर्वकप्तान दिनेश चन्डिमल पनि भरपर्दा ब्याट्सम्यानका रुपमा चिनिन्छन् । श्रीलंकाबाट ६२ टेस्ट, १४९ ओडीआई र ५७ टी-२० आई खेलिसकेका उनी पनि अन्तर्राष्ट्रिय क्रिकेटमा परिचित नाम हुन् ।

    चण्डिमलले आफ्नो क्रिकेट करिअरमा ६२ टेस्ट, १४९ एकदिवसीय र ५७ वटा टि-२० खेलेका छन् । उनका नाममा ११ वटा टेस्ट सतक र ४ एकदिवसीय सतक छन् । ब्याटिङसँगै विकेटकिपिङ पनि गर्छन् । उनी ३१ वर्षका भए ।

    चन्डीमलले भैरहवा ग्लाडियटर्सबाट ईपीएल खेल्दै छन् । उनले नेपाल सुन्दर देश भएको बताउँदै नेपालमा आएर खेल्नका लागि आफू उत्सुक रहेको बताएका छन् । उनी श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडीसमेत हुन् ।

    शोएब मलिक, पाकिस्तान

    पाकिस्तानी अलराउन्डर सोयब मल्लिक मध्यक्रमका अनुभवि र भरपर्दा ब्याट्सम्यानका रुपमा चिनिन्छन् । क्रिजमा टिकेर खेल्ने र ठूला सटहरू पनि लगाउन सक्ने क्षमता छ उनको ।

    मलिक १०० वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष क्रिकेटर हुन् । उनले ३५ टेस्ट, २ सय ८७ एक दिवसीय, १ सय १६ टी-२० अन्र्तराष्ट्रिय र ४ सय २५ टी-२० खेलेका छन् । अनुभवी क्रिकेटर मलिकको उपस्थितिलाई लिएर नेपाली समर्थक पनि उत्साहित छन् ।

    मलिकले ईपीएल खेल्ने निश्चित भइसके पनि कुन टोलीबाट खेल्ने भन्ने खुलाइएको छैन ।

    ड्यानिस अजिज, पाकिस्तान

    पाकिस्तानी क्रिकेटर ड्यानिस अजिजले चितवन टाइगर्सबाट ईपीएल खेल्ने निश्चित भइसकेको छ । उनले सन् २०२१ अप्रिलमा दक्षिण अफ्रिका विरुद्धको खेलमा पाकिस्तान क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

    अजिजले २ एक दिवसीय र २ टी-२०आई खेलेका छन् । भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई आइडियल मान्ने उनी प्रतिभावान युवा खेलाडी हुन् । २५ वर्षिय अजिजसँग दुई एकदिवसीय र दुई टि-२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ । उनी अराउन्डरका रुपमा चिनिन्छन् ।

    कार्लोस ब्रेथवेट, वेस्ट-इन्डिज

    वेस्ट-इन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेटले कुन टोलीबाट ईपीएल खेल्ने निश्चित भइसकेको छैन । तर, उनी नेपाल आउने निश्चित भएको आयोजकले जनाएको छ ।

    सन् २०१६ मा भारतमा भएको टी-२० विश्वकप वेस्ट इन्डिजलाई जिताउन उनले ब्रेथवेटले निर्णायक भूमिका खेलेका थिए । ईंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको फाइनल खेलमा उनले ४ बलमा लगातार छक्का प्रहार गरेर वेस्ट इन्डिजलाई उपाधि दिलाएका थिए । त्यो अद्भूत प्रदर्शनले उनलाई विश्वसामु चिनाएको थियो ।

    ठूला सटका लागि कहलिएका ब्रेथवेटले ३ टेस्ट, ४४ एकदिवसीय र ४१ टी-२० आई खेलिसकेका छन् ।

  • दीनेश चन्डिमलले भैरहवाबाट ईपीएल खेल्ने

    दीनेश चन्डिमलले भैरहवाबाट ईपीएल खेल्ने

    काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणका लागि भैरहवा ग्लाडिएटर्सले श्रीलंकाली राष्ट्रिय क्रिकेटर दीनेश चन्डिमललाई अनुबन्ध गरेको छ । असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलका लागि विश्वकप च्याम्पियन दीनेशलाई अनुबन्ध गरेको क्लबले जानकारी दिएको हो ।

    सन् २०१३ मा चन्डिमल बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टी-२० आईमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । २०१४ को टी-२० विश्वकप उपाधि श्रीलंकाले जित्दा चन्डिमल पनि उक्त टोलीका सदस्य थिए ।

    श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । चन्डिमल ओडीआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन् । उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडीआईमा कप्तानी गरेका थिए ।

    चन्डिमलले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ ओडीआई र ५७ टी-२० आई खेल खेलेका छन् । टी-२० आईमा चन्डिमलले ५ अर्धशतकसहित कूल ८ सय ६८ रन जोडेका छन् । चन्डिमलले राजस्थान रोयल्सबाट आईपीएलसमेत खेलिसकेका छन् ।

    ३१ वर्षीय विकेटकिपर ब्याट्सम्यान चन्डिमल श्रीलंका वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् । चन्डिमलले श्रीलंका टेस्ट, ओडीआई र टी-२० तीनै शैलीमा कप्तानी गरेका छन् ।

    भैरहवामा यसअघि झैं शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त स्वदेशी खेलाडीको रूपमा निरन्तर रहेको पनि क्लबे जानकारी दिएको छ ।

  • अन्तिम ओभरमा ४ छक्का हान्दै वेस्ट-इन्डिजलाई विश्वकप जिताउने ब्रेथवेटले ईपीएल खेल्ने

    अन्तिम ओभरमा ४ छक्का हान्दै वेस्ट-इन्डिजलाई विश्वकप जिताउने ब्रेथवेटले ईपीएल खेल्ने

    काठमाडौं । वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिक असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपीएल) खेल्न नेपाल आउने भएका छन् ।

    सन् २०१६ मा भारतमा भएको टी-२० विश्वकपमा इंग्ल्याण्ड र वेस्ट-इन्डिजबीचको फाइनल खेलमा वेस्ट इन्डिजका अलराउण्डर ब्रेथवेटले अविश्वसनीय इनिङ खेलेका थिए ।

    इंग्लिस बलर बेन स्टोक्सले फालेको अन्तिम ओभरमा वेस्ट-इन्डिजलाई १९ रन चाहिएको थियो । र, सुरुवाती ४ बलमा लगातार छक्का प्रहार गर्दै ब्रेथवेटले वेस्ट इन्डिजलाई टी-२० विश्वकपको उपाधि दिलाएका थिए ।

    असोज ९ गतेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलमा विश्वकप विजेता ब्रेथवेट र मलिकलले खेल्ने पक्का भएको आयोजकले जानकारी दिएको छ ।उनले कुन टोलीबाट खेल्छन् भन्ने सार्वजनिक गरेको छैन ।

    पाकिस्तानका सोएब मलिकले राष्ट्रिय टोलीबाट ३५ टेस्ट, २ सय ८७ ओडीआई, १ सय १६ टी-२० आई र ४ सय २५ टी-२० खेल खेलेका छन् ।

  • ईपीएलको टाइटल स्पोन्सर–बजाज पल्सर

    ईपीएलको टाइटल स्पोन्सर–बजाज पल्सर

    काठमाडौं । असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को टाइटल स्पोनसर बजाज पल्सरले गर्ने भएको छ । आगामी सेप्टेम्बरदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ईपीएल १४ दिनसम्म चल्ने छ ।

    ईपीएलमा ६ फ्रेन्चाइज टोलीहरू– विराटनगर वारियर्स, काठमाडौं किङ्ग्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।

    आइतबार म्यारिओट होटेलमा ईपीएल र बजाज पल्सरबीच सम्झौता भएको छ । सम्झौतापछि गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले नेपाली युवाले क्रिकेटलाई माया गरिदिएको र पछिल्लो समयमा क्रेज पनि बढेको र नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितालाई प्राियेजन गरेको बताए ।

    ‘यो एसोसिएसनले पक्कै पनि देशभरीबाट धेरै गुणस्तरीय खेलाडीहरूलाई जन्म दिनेछ’ उनले भने, ‘बजाज पल्सर नेपालमा खेलकुदको विकासका लगि हरदम प्रतिबद्ध छ ।’

    यस्तै, ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले बजाज उत्कृष्ट ब्रान्ड रहेको बताए । ‘बजाज ब्रान्ड उत्कृष्टताको एक उदाहरण हो । र सत्य यो हो कि हामी ईपीएलमा लगातार उत्कृष्टताका लागि प्रयास गरिरहेका हुन्छौं ।’

  • पाकिस्तानी ड्यानिश अजिजले चितवनबाट ईपीएल खेल्ने

    पाकिस्तानी ड्यानिश अजिजले चितवनबाट ईपीएल खेल्ने

    काठमाडौं । पाकिस्तानी क्रिकेटर ड्यानिश अजिज एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आगामी सिजन चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।

    असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने ईपीएलका लागि अजिज चितवनले घोषणा गरेका पहिलो विदेशी खेलाडी हुन् ।

    स्टाइलिस युवा देब्रे हाते ब्याट्सम्यानले यसै वर्ष पाकिस्तानबाट क्रमशस् दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र ट्वान्टी(२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । २५ वर्षे अजिजलाई भारतका अलराउन्डर युवराज सिंहसँग पनि तुलना गरिने गरिन्छ । अजिजको स्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैली उनका रोल मोडल युवराजको जस्तै रहेको छ ।

    अजिजले युवराजलाई क्रिकेटमा आफ्नो प्रेरणाको रूपमा लिने गरेका छन्। अजिजले नेसनल टी(२० कपमा असाधरण प्रर्दशन देखाएका थिए । विशेष गरी म्याच फिनिसिङमा उनले विशेष इनिङ्स खेलेका थिए ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त ईपीएल २०२१ को आयोजना मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृत गरिसकेको छ । र, नेपालको सबैभन्दा ठूलो खेलकुद इभेन्ट आयोजनाका लागि तयार रहेको आयोजकले बताएको छ ।

    ुनयाँ सिजनको ईपीएलका लागि ड्यानिशलाई भित्र्याउँदा हामी उत्साहित छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपलाई नयाँ आयाम दिने छ,ु चितवनकी अप्रेसन्स डाइरटेक्टर विनिता चौधरीले भनिन् ।

  • सन्दीप काठमाडौं किंग्सको कप्तानमा नियुक्त

    सन्दीप काठमाडौं किंग्सको कप्तानमा नियुक्त

    काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछाने काठमाडौं किङ्स एलेभेनको कप्तान बनेका छन् ।

    आगामी सेप्टेम्बर २५ देखी अक्टोबर ९ सम्म राजधानीमा आयोजना हुने चौथो संस्करण एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा किङ्स एलेभेनले सन्दीपलाई नियुक्त गरेको हो ।

    सन्दीपले तेस्रो संस्करण इपिएल ललितपुर पेटरियट्सबाट खेलेका थिए । सन्दीपको टोलीबाट पाकिस्तानी महान क्रिकेटर शाहिद अफ्रिदी पनि खेल्ने छन् ।

  • साहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने (भिडियोसहित)

    साहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने (भिडियोसहित)

    काठमाडौं । पाकिस्तानी अलराउण्डर साहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने भएका छन् ।

    आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म हुने चौथो संस्करण एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि काठमाडौं किङ्ग्स ११ ले आइकोनिक इन्टरनेसनल स्टारको रूपमा विश्वचर्चित पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीलाई सार्वजनिक गरेको छ ।

    ४४ वर्षीय अफ्रिदी पाकिस्तानका पूर्वकप्तान समेत हुन् ।

  • एभरेस्ट प्रिमियर लिग सेप्टेम्बरमा हुने

    एभरेस्ट प्रिमियर लिग सेप्टेम्बरमा हुने

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) सेप्टेम्बरमा हुने भएको छ ।

    आयोजकले दिएको जानकारीअनुसार २०२१ को सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।