Tag: इङ्ल्यान्ड

  • केनको ह्याट्रिकमा इङ्ल्यान्ड विजयी, पोल्यान्डको छैठौं जित

    केनको ह्याट्रिकमा इङ्ल्यान्ड विजयी, पोल्यान्डको छैठौं जित

    काठमाडौं । कप्तान ह्यारी केनको ह्याट्रिकप्रेरित इङ्ल्यान्डले सन् २०२२ मा कतारमा हुने फिफा विश्व कप अन्तर्गत युरोपेली छनोटमा शानदार जित निकालेको छ । वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा केनको ह्याट्रिकसँगै थ्री लायन्सले अल्वानियामाथि ५-० गोलको फराकिलो जित निकालेको हो ।

    इङ्ल्यान्डको जितमा कप्तान केनले १८, ३३ र ४५औं मिनेटपछि थपिएको १ मिनेटमा एक गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्यारी म्याग्युएरले नवौं तथा जोर्डन हेन्डरसनले २८औं मिनेटमा गोल गरेका थिए ।

    जितसँगै इङ्ल्यान्डले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । समूह आईको अर्को खेलमा पोल्यान्डले १० खेलाडीमा सीमित बनेको एन्डोरालाई ४-१ ले पराजित गरेको छ ।

    पोल्यान्डको जितमा कप्तान रोबर्ट लेवान्डोस्कीले दुई तथा कामिल जोविएक र अर्काडिअस मिलिकले १/१ गोल गरे । एन्डोराका मार्क भालेसले १ गोल फर्काए ।

    एन्डोराका रिकार्ड फर्नान्डेज पहिलो मिनेटमानै सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । जितपछि इंग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा छ । पराजित अल्वानिया १५ अंक सहित तेस्रो स्थानमा छ ।

    यता, जितपछि पोल्याण्ड ९ खेलबाट २० अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट एन्डोरा ५ अंक जोडेर पाँचौ स्थानमा छ ।

  • टी-२० विश्व कप: फाइनलमा स्थान बनाउन इङल्यान्ड र न्युजिल्यान्ड भिड्दै

    टी-२० विश्व कप: फाइनलमा स्थान बनाउन इङल्यान्ड र न्युजिल्यान्ड भिड्दै

    काठमाडौं । जारी आईसीसी टी–२० विश्व कपमा आजदेखि सुरु हुने सेमिफाइनलको पहिलो खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् ।

    इओन मोर्गानको कप्तानीमा रहेको इङ्ल्यान्डले सुपर–१२ को खेलहरुमा मा समूह विजेता बनेको थियो भने केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्डले दोस्रो भएर सुपर–१२ का खेलहरू सकेको थियो । दुवै टोलीले समान ४ खेल जितेका थिए ।

    र, एक खेल हारेका थिए । आजको विजेता टोलीले बिहीबार हुने पाकिस्तान र अस्ट्रेलियाबीचको विजेता टोलीसँग फाइनलमा आइतबार भिड्नेछन् ।

    इङ्ल्यान्डले रोयलाई कसरी प्रतिस्थापन गर्छ ?

    जोसन रोयलाई चोटका कारण गुमाउनु इङल्यान्डका लागि ठूलो धक्का हो । यसले जोस बटलरसँग कसले ओपनिङ गर्छ र रोयको ठाँउमा कस्ले खेल्छ ? भन्ने मुख्य प्रश्न छ ।

    कसले ओपनिङ गर्छ भनेर निर्णय गरिसकेको तर नाम अहिले नखुलाउने कप्तान मोर्गानले बताएका थिए । जोनी बेयरस्टो पनि यो प्रश्नका लागि सम्भावित उत्तर हुन सक्छन् । किनभने उनले एकदिवसिय क्रिकेटमा ओपनिङ गर्छन् र उनको टी–२० ओपनरको रूपमा पनि राम्रो रेकर्ड छ । र, पेस र स्पिनविरुद्ध एकदमै राम्रो ब्याटिङ गर्छन् ।
    अथवा इङ्ल्यान्डले डेभिड मलान, लाइम लिभिङस्टोन वा मोइन अलीलाई अवसर दिन सक्छ । उनीहरू सबैसँग टी–२० मा शीर्ष क्रममा ब्याटिङ गरेको प्रशस्त अनुभव छ ।

    ‘हामी शीर्ष क्रममा ब्याट गर्न सक्ने र चाहनेहरू टोलीमा भएकाले हामी भाग्यशाली छौं,’ मोर्गानले भने, ‘यदि तपाईले वरिपरि हेर्नुभयो भने सबैभन्दा धेरै रन बनाएका, ठूला नाम गरेका खेलाडीहरु सबै ब्याटिङ् गर्न चाहान्छन् वा प्रत्येक टोलीमा शीर्ष तीनमा ब्याटिङ गरिरहेका छन् ।’

    ‘हामी भाग्यमानी यस अर्थमा छौं, किनभने हामीसँग शीर्ष तीनमा ब्याटिङ गर्न चाहानेहरुको लाइन छ, र उनीहरू प्रतियोागितामा ठूलानाम हुन् । र, उनीहरू विपक्षी बलरहरूलाई फेस गर्न चाहन्छन् ।

    ओपनिङमा को आउँछ ? भन्ने सन्दर्भमा मोर्गनले भने, ‘यो अवस्थामा निर्भर हुन्छ ।’

    यदि इङल्यान्डले रोयको स्थानमा अर्को ब्याट्सम्यानलाई खेलाउँछ भने त्यो साम बिलिङ्स हुन सक्छन् । उनी चौथोदेखि सातौं नम्बर जुनसुकै स्थानमा ब्याटिङ गर्न सक्छन् । र, स्पिन अट्याकविरुद्ध उनको प्रदर्शन राम्रो छ ।

    तर, इङल्यान्डको चिन्ताको विषय भनेको ‘डेथ–ओभर’ बलिङ हो । दक्षिण अफ्रिकासँग पराजित खेलमा अन्तिम पाँच ओभरमा ७१ रन खर्चेको इङल्यान्डले डेभिड विली, टोम कुरान अथवा रिस टोप्ली मध्य एकलाई बलिङमा उतार्न सक्छ । र, बलिङ अलराउन्डर क्रिस वोक्सलाई सातौं नम्बरमा ल्याउन सक्छन् ।

    पावर प्ले महत्वपूर्ण

    बलिङ अथवा ब्याटिङजे सुरुमा गरे पनि इङल्यान्डको मध्यक्रम टेस्ट गर्न न्युजिल्यान्डले तिब्र गतिका बलर टे«न्ट वल्ट र टिम साउथीले पहिलो ६ ओभरमा विकेट लिने आशा गरेका छन् । अहिलेसम्म नखुलेको इङल्यान्डको मध्यक्रमलाई एक्सपोज गर्नु न्युजिल्यान्डको आजको प्रमुख लक्ष्य हुनेछ ।

    बाँया हाते बलर बोल्ट ११ विकेटसहित प्रतियोगितामा धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । जसमध्ये ३ विकेट उनले पावर प्लेमा लिएका थिए । उनले डेथ बलरको रूपमा पनि आफूलाई प्रमाणित गरिसकेका छन् ।

    बटलरले कुल २ सय ४० रन बनाएर प्रतियोगितामा दोस्रो सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा पाकिस्तानका कप्तान बाबर आजाम छन् । उनले २ सय ६४ रन बनाइसकेका छन् । यदि बटलर ६ नम्बर पछि रहेभने इङल्यान्डले ठूलो स्कोर बनाउन सक्छ अथवा न्युजिल्यान्डले दिएको लक्ष्य सहजै चेज गर्नसक्छ ।

    इङल्यान्डले अफ स्पीनर अली र सिमर वोक्सले आफ्नो पावर प्ले वर्चस्वलाई निरन्तरता दिने आशा राखेको छ ।

    वोक्सले प्रतियोगितामा अन्य बरलको तुलनामा पावर प्लेमा धेरै बलिङ गरेका छन्, र उनले सुरुआती ६ ओभरमा प्रतिओभर मात्र ५.१ रन दिएका छन् । अलीले अन्य स्पिनरभन्दा बढी बलिङ गरेका छन् र १३ को औसतमा पाँच विकेट लिएका छन् ।

    के न्युजिल्यान्डले पर्याप्त रन बनाउन सक्छ ?

    न्युजिल्यान्डको बलियो पक्ष भनेको बलिङ हो, फास्ट बलर एडम मिल्नेले बोल्ट र साउथीलाई राम्रोसँग समर्थन गरेका छन् । स्पिनरहरू मिचेल सान्टनर र इस सोधीले किवीको बलिङलाई कसिलो बनाएका छन् । यद्यपि इङ्लिस ब्याटरले बुधबार हुने सेमिफाइनलमा दुवै बरको कडा परीक्षा लिने निश्चित छ ।

    न्युजिल्यान्डको ब्याटिङमा लगातार ठूलो हिटिङको अभाव छ । ओपनर मार्टिन गप्टिल विपक्षी बलरमाथि हाबी हुने र लगातार ठूला सट प्रहार गर्ने क्षमता राख्छन् । तर, प्रतियोगितामा मुमेन्टम क्याच गर्न नसकेका गप्टिलले कूल १ सय ७६ रन मात्रै बनाएका छन् । त्योमध्ये ९३ रन स्कटल्यान्डविरुद्धको खेलमा जोडेका थिए । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले उत्कृष्ट भूमिका निभाइरहेका छन् । यद्यपि उनी ठूला सटभन्दा पनि बललाई मैदानमै खेलेर रन बनाउने चाहना राख्छन् ।

    पाकिस्तानको राम्रो बलिङ अट्याकले न्युजिल्यान्डलाई १२३–८ मा सीमित गरेको थियो । यो पक्कै पनि यो इङल्यान्डले नाटकीय जित निकालेको २०१९ को ५० ओभरको विश्वकप फाइनल दोहोर्याए जस्तै हो ।

    ‘हामीले एक अर्कासँग धेरै पटक खेलेका छौँ,’ न्युजिल्यान्डका कप्तान विलियमसनले भने, ‘हामीले केही साँच्चै राम्रो सिरिजहरूमा राम्रो खेलहरू खेलेका छौँ । इङ्ल्यान्ड पक्ष र विशेष गरी सेतो बल पक्षहरू विकास धेरै वर्षहरूमा महत्त्वपूर्ण छ । समग्रमा उनीहरूले केही साँच्चै नै राम्रो क्रिकेट खेलिरहेका छन् । हामीलाई थाहा छ यो एकदमै राम्रो चुनौती हो जसबारे हामीलाई छ ।’

  • टी-२० विश्व कपमा इंग्ल्यान्डको लगातार दोस्रो जित

    टी-२० विश्व कपमा इंग्ल्यान्डको लगातार दोस्रो जित

    काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी- ट्वान्टी विश्व कपमा लगातार दोस्रो जित निकालेको छ ।

    बुधबार भएको समूह- १ को खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

    जितका लागि १२५ रनको सामान्य लक्ष्य पाएको इंग्ल्यान्डले १४ ओभर १ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले सर्वाधिक ६१ रन बनाए । डेविड मलान २८ रनमा अविजित रहे ।

    बंगलादेशका शोरिफुल इस्लाम र नासुम अहमदले १-१ विकेट लिए ।

    आबुधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनायो । बंगलादेशका मुश्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए । कप्तान महमुदुल्लाह रियाद र नासुम अहमदले समान १९ रन जोडे ।

    इंग्ल्यान्डका तीव्र गतिका बलर टाइमल मिल्सले सर्वाधिक ३ विकेट लिए । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको थियो ।

    इंग्ल्यान्ड दुई खेलबाट ४ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । समान २ अंक भए पनि नेटरनरेटको आधारमा श्रीलंका दोस्रो, अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । यस्तै, बंगलादेश पाँचौँ र वेस्टइन्डिज पुछारमा छन् ।

    यता, सुपर- १२ को समूह- २ मा पाकिस्तान दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ ।

  • ३४ खेलमा अपराजित इटली विश्वकीर्तिमान नजिक

    ३४ खेलमा अपराजित इटली विश्वकीर्तिमान नजिक

    काठमाडौं । रोबर्टो मान्चिनीको इटालीले फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ को नतिजामा पराजित गर्दै युरो २०२० को उपाधि जित्यो । आइतबार राति इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा पेनाल्टी सुटआउटमा बाजी मारेसँगै इटालीले ३४ खेलमा अपराजित यात्रा तय गरेको हो ।

    निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको सेमिफाइनलमा स्पेनलाई ४-२ को नतिजामा पराजित गर्दै इटालीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको इटालीले २-१ गोलको नतिजामा जित हासिल गरेको थियो ।

    इटालीले आफ्नो उपाधि यात्रामा १३ गोल गरेर ४ गोल मात्र खाएको थियो । इटाली अन्तिम पटक नेसन्स लिगअन्तर्गत २०१८ को सेप्टेम्बर १० मा पोर्चुगलसँग पराजित भएको थियो ।

    प्रशिक्षक भिट्टोरियो पोज्जो नेतृत्वको ‘अज्जुरी’ले सन् १९३५ देखि १९३९ सम्म ३० खेलमा अपराजित यात्रा तय गरेको थियो । त्यो समयमा इटालीले दोस्रो विश्वकप (१९३८)को उपाधि र ओलम्पिक गोल्ड मेडल (१९३६) जितेको थियो ।

    अहिले मान्चिनी नेतृत्वको इटाली विश्व फुटबलको इतिहासकै सर्वाधिक लामो अपराजित यात्राको कीर्तिमान बनाउन नजिक पुगेको छ । अहिलेसम्म फुटबलको इतिहासमा ब्राजिल र स्पेनले समान ३५ खेलमा अपराजित यात्रा तय गरेर कीर्तिमान राखेका छन् ।

    अहिले इटाली मात्रै नभएर अल्जेरया पनि लामो अपराजित यात्रामा छ । अफ्रिक कप अफ नेसन्स विजेता अल्जेरिया २०१८ यताका २८ खेलमा अपराजित छ ।

    कुन राष्ट्रिय टोलीको छ सबैभन्दा लामो अपराजित यात्रा ?

    टिम खेलहरू समय
    ब्राजिल ३५ १९९३-१९९६
    स्पेन ३५ २००७-२००९
    इटाली ३४ २०१८-अहिलेसम्म
    अर्जेन्टिना ३१ १९९१-१९९३
    इटाली ३० १९३५-१९३९
    फ्रान्स ३० १९९४-१९९६
    अल्जेरिया २७ २०१८-अहिलेसम्म
    वेस्ट जर्मनी २३ १९७८-१९८१
    फ्रान्स २३ २०१०-२०१२
  • हामी इङ्ल्यान्डमाथि हाबी भयौं: मान्चिनी

    हामी इङ्ल्यान्डमाथि हाबी भयौं: मान्चिनी

    काठमाडौं । प्रशिक्षक रोबर्टो मान्चिनीले इटाली इङ्ल्यान्डमाथि हाबी भएको संकेत गर्दै आफ्ना ‘एक्सट्राअर्डिनरी’ खेलाडीको प्रसंशा गरेका छन् ।

    इटालीले वेम्ब्ली स्टेडियममा आइतबार राति भएको फाइनलमा पेनाल्टीमा ३-२ गोलको नतिजामा जित निकाल्दै ५३ वर्षपछि युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

    निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । इङ्ल्यान्डका तीन खेलाडी पेनाल्टीमा गोल गर्न नसक्दा उपाधि इटालीको पक्षमा परेको थियो ।

    इटालियन प्रशिक्षक मान्चिनीले १२० मिनेट इङ्ल्यान्डविरुद्ध खेलिसकेपछि ‘इटाली जितको हकदार भएको’ प्रतिक्रिया दिएका छन् ।

    ‘यो सोच्दा अपत्यारिलो लाग्थ्यो, तर हाम्रा खेलाडीहरू ‘एक्स्ट्राअर्डिनरी’ रहे,’ उनले भने, ‘उनीहरूलाई भन्न मसँग कुने शब्द छैन, यो एक अद्भूत समूह छ, यो सहज खेल थिएन, उनीहरू एकदमै कठिन प्रतिद्वन्दी थिए । तर, हामीले डोमिनेट गर्‍यौं ।’

  • २०१३ मै भएको थियो युरो २०२० को फाइनलमा इटालीसँग इङ्ल्यान्ड हार्ने भविष्यवाणी

    २०१३ मै भएको थियो युरो २०२० को फाइनलमा इटालीसँग इङ्ल्यान्ड हार्ने भविष्यवाणी

    काठमाडौं । आइतबार राति वेम्ब्ली स्टेडियममा भएको युरो २०२० को फाइनलमा इटालीले बाजी मार्‍यो । सन् २००६ विश्वकपपछि पहिलो पटक ठूलो प्रतियोगिता जितेको इटालीले युरो १९६८ पछि पहिलोपटक जितेको हो ।

    घरेलु टोलीविरुद्ध प्रतिस्पर्धात्मक खेलमा पुनरागमनसहित जित निकालेको इटालीले ३४ खेलमा अपराजित यात्रासमेत तय गरिसकेको छ । खेलको दोस्रो मिनेटमै १-० गोलको नतिजामा पराजित भएको इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।

    बराबरी गोलसँगै अतिरिक्त समयमा धकेलिएको खेल पुन: बराबरीमा सीमित भएपछि नतिजाका लागि पेनाल्टी सुटआउटको विकल्प रहेन । सोही पेनाल्टी सुटआउटका लागि ११८औं मिनेटमा मैदान प्रवेश गरेका इङ्लिस दुई खेलाडी- जाडोन साञ्चो र मार्कस रासफोर्ड चुक्दा इटालीले बाजी मार्‍यो । पेनाल्टीमा ३-२ गोलको नतिजा निकालेको इटालीले दोस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि चुम्यो ।

    यी सबै त सामान्य वास्तविकता थिए । तर, इटालीले पेनाल्टी सुटआउटमा इङ्ल्यान्डलाई पराजित गरेसँगै एक समर्थकले २०१३ मा गरेको भविष्यवाणी मिलेको छ ।

    @lawseyitfc ले २०१३ को फेब्रुअरी २२ मा इङ्ल्यान्ड युरो २०२० को पेनाल्टी सुटआउटमा इटालीसँग पराजित हुने भविष्यवाणी गरेका थिए ।

    अझ रोमाञ्चक कुरा त केछ भने उनले आफ्नो ट्वीटमा युरो २०२० भनेरै मेन्सन गरेका छन् । र, कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको युरोपियन च्याम्पियनसिपको नाम भने ‘युरो २०२०’ नै राखिएको थियो ।

    यसले उनको भविष्यवाणी अझै मिलेको दर्शाएको छ । विभिन्न अन्तर्राष्ट्रिय खेलकुद सञ्चारमाध्यमहरूमा उनको ट्वीट भाइरल बनेपछि उनले फेरि ट्वीट गरेका छन् ।

    उनले आफ्नै पुरानो भविष्यवाणीको ट्वीटमा रिप्लाई गर्दै ‘लोल…. कसैले यो किन भेट्टायो फेरि.. ‘ भनेर प्रतिक्रिया दिएका छन् ।

  • इंग्ल्याण्डलाई हराएर ५३ वर्षपछि इटाली बन्यो युरोपियन च्याम्पियन

    इंग्ल्याण्डलाई हराएर ५३ वर्षपछि इटाली बन्यो युरोपियन च्याम्पियन

    काठमाडौं । पेनाल्टीमा इंग्ल्याण्डलाई ३-२ गोलको नतिजामा पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ ।

    निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुंगिएसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी शुटआउटमार्फत लिइएको थियो ।

    इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको इटालीका लागि ३७ वर्षीय डिफेन्डर लियोनार्दो बोनुचीले बराबरी गोल फर्काएका थिए ।

    बोनुचीले ६७औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए । उनको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

    इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले पेनाल्टीकै लागि ११८औं मिनेट सब्स्टिच्युट गरेका खेलाडीद्वय- मार्कोस रासफोर्ड र जाडोन साञ्चो नै पेनाल्टीमा असफल भएका थिए ।

    सन् १९६८ मा युरो जितेको इटाली २००० र २०१२ मा फाइनल पुगेर पराजित भएको थियो । सन् २०१८ मा प्रशिक्षक रोबर्टो मान्सिनीले प्रशिक्षकको जिम्मेवारी लिएयता अपराजित रहेको इटालीले २००६ विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

    पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने घरेलु मैदानमा फाइनल हार्ने तेस्रो मुलुक बनेको छ । यसअघि २००४ मा पोर्चुगल र २०१६ मा फ्रान्स घरेलु मैदानमा फाइनल हारेका थिए ।

  • युरो २०२० फाइनल: इटालीविरुद्ध १९६६ विश्वकपको इतिहास दोहोर्‍याउला इङ्ल्यान्डले ?

    युरो २०२० फाइनल: इटालीविरुद्ध १९६६ विश्वकपको इतिहास दोहोर्‍याउला इङ्ल्यान्डले ?

    काठमाडौं । पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको इङ्ल्यान्ड आइतबार राति वेम्ब्लीमा इटालीलाई पराजित गर्दै इतिहास रच्ने दाउमा छ । सन् १९६६ मा घरेलु मैदानमा विश्वकप उपाधि उचालेको इङ्ल्यान्ड युरो २०२० मा पनि त्यही सफलता दोहोर्‍याउन चाहन्छ ।

    यस्तै, २००० र २०१२ को फाइनलमा पुगेर पनि उपविजेतामा मात्रै सीमित भएको इटाली लगातार तेस्रो पटक फाइनलमा पराजित हुन चाहँदैन ।

    समूह चरणमा सतप्रतिशत नतिजा निकालेको इटालीले अन्तिम-१६ मा अस्ट्रियालाई पराजित गरेको थियो । त्यस्तै, क्वार्टरफाइनलमा विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई पन्छाएको इटालीले सेमिफाइनलमा २०१२ मा ४-० ले पराजित हुँदाको प्रतिद्वन्दी स्पेनलाई हरायो ।

    लगातार ३३ खेलमा अपराजित रहेको इटाली प्रतियोगिताको ‘डोमिनेन्ट’ टोली हो । अनुभवी र युवा खेलाडीको उत्कृष्ट तालमेल देखिएको इटाली टीम गेम खेल्दै फाइनलसम्म आइपुगेको हो । त्यस्तै, समूह चरणमा दुई जित र एक बराबरीसहित अन्तिम १६ मा आइपुगेको इङ्ल्यान्डले अन्तिम-१६ मा जर्मनीलाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा युक्रेनलाई हराएको इङ्ल्यान्डले सेमिफाइनलमा डेनमार्कविरुद्ध पुनरागमन जित निकालेको थियो ।

    जारी प्रतियोगिताका ६ खेलमा १ गोल मात्रै खाएको इङ्लिस टोली फाइनलमा पनि क्लिनसिट राख्न चाहन्छ । अर्कातिर, समान ६ खेलमा १२ गोल ठोकिसकेको इटाली पनि घरेलु मैदानमा इङ्ल्यान्डलाई पराजित गर्दै १९६८ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिप जित्ने दाउमा छ ।

    विश्व फुटबलमा प्रसिद्ध वेम्ब्ली स्टेडियममा यी टोली नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे आमनेसामने हुनेछन् ।

    केही रोचक तथ्यहरू:

    – यो इटालीको १०औं ठूलो प्रतियोगिता हो । युरोपेली मुलुकमा जर्मनीले मात्र इटालीभन्दा धेरै (१४) पटक ठूला प्रतियोगिता खेलेको छ । १९६८ मा च्याम्पियन बनेको इटालीले त्यसयता खेलेका दुई फाइनल २००० र २०१२ मा पराजय भोगेको छ ।

    – १९६६ विश्वकपको च्याम्पियन इङ्ल्यान्डको त्यस यताकै पहिलो फाइनल यात्रा हो । अझै युरोपियन च्याम्पियनसिपमा भने इङ्ल्यान्डका लागि यो पहिलो अनुभव हुनेछ । यो कुनै पनि देशका लागि विश्वकप र युरोको फाइनलबीचको सबैभन्दा ठूलो (५५ वर्षको) ग्याप हो ।

    – इङ्ल्यान्ड युरोपियन च्याम्पियनसिपको फाइनल खेल्ने १३औं टोली हो । यसअघिका १२ मध्ये तीन टोलीले मात्रै पहिलो फाइनल हारेका छन् । सन् १९६० मा युगोस्लाभिया, १९८० मा बेल्जियम र २००४ मा पोर्चुगल पहिलो पटक फाइनल पुगेर हारेका थिए ।

    – इटाली युरोपियन च्याम्पियनसिमा दुई पटक उपविजेतामा सीमित भएको छ । २००० युरोको फाइनलमा फ्रान्स र २०१२ फाइनलमा स्पनेसँग इटाली पराजित भएको थियो । जर्मनी र युएसएसआर मात्रै ३ पटक फाइनल हारेका छन् ।

    – इङ्ल्यान्डले १९६६ मा विश्कप जित्दा वेम्ब्लीमै फाइनल खेलेको थियो । र जर्मनीलाई ४-२ गोलको नतिजामा पराजित गरेको थियो ।

    – पछिल्ला दुई आयोजक देशले आफ्नै देशमा भएका फाइनल हारेका छन् । सन् २००४ मा पोर्चुगल र २०१६ मा फ्रान्स घरेलु मैदानमा फाइनलमा पुगेर पराजित भएका थिए ।

  • युरो २०२० सेमिफाइनल: डेनमार्कको ‘दन्त्यकथा’ जारी रहला ?

    युरो २०२० सेमिफाइनल: डेनमार्कको ‘दन्त्यकथा’ जारी रहला ?

    काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध उत्रिँदा डेनमार्क जारी प्रतियोगितामा बुन्दै गरेको ‘दन्तेकथा’ जारी राख्न तल्लीन हुनेछ । बुधबार राति इङ्ल्यान्डको लन्डस्थित वेम्ब्ली स्टेडियममा हुने खेलमा नतिजा आफ्नो पक्षमा पारेर दन्तेकथामा नयाँ अध्याय थप्नु भने उसका लागि कठिन चुनौती हुने निश्चित छ ।

    डेनिस ‘डाइनामाइट’ले जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलसम्म एकनासको प्रदर्शन गर्न सकिरहेको थिएन । पहिलो खेलमै टोलीका महत्त्वपूर्ण सदस्य क्रिस्टियन एरिकसनलाई प्रतियोगिताबाट गुमाउनु पनि यसको कारण रह्यो ।

    तर, अन्तिम खेलमा बलियो प्रतिद्वन्दी रुसविरुद्ध ४-१ को शानदार जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको डेनिस टोलीले अन्तिम-१६ मा वेल्समाथि ४-० को जित निकाल्यो । त्यो खेलमा सुरुआती-११ मा पुनरागमन गरेका कास्पर डोलबर्गले दुई गोल गरेका थिए ।

    सन् १९९२ मा उपाधि जित्दा तय गरेको सेमिफाइनल यात्रामा फेरि पुनरागमन गर्न डेनमार्कले क्वार्टरफाइनलमा चेक रिपब्लिकमाथि २-१ गोलको नतिजामा जित हासिल ग¥यो । तर, त्यो खेलको पहिलो हाफमै दुई गोल ठोकिसकेको डेनमार्कका लागि चाहेकोभन्दा कठिन सावित भएको थियो ।

    यद्यपि, खेल शैलीलाई लिएर भइरहेका यावत आलोचनका बाबजुद पनि ग्यारेथ साउथगेटको इङ्लिस टोली सेमिफाइनलसम्म आइपुगेको छ । साउथगेटको टोलीले लगातार दोस्रो पटक ठूला प्रतियोगितामा सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि २०१८ मा रुसमा भएको फिफा विश्वकपमा पनि सेमिफाइनलसम्मको इङ्लिस टोली क्रोएसियासँग पराजित भएको थियो ।

    समूह चरणका खेलमा अपराजित रहे पनि दुई गोल मात्रै गर्न सफल इङ्ल्यान्डले अन्तिम १६ मा जर्मनीको सामना गरेको थियो । जर्मनीविरुद्ध जारी प्रतियोगितामा पहिलो पटक दुई गोल गर्न सफल इङ्लिस टोलीले क्वार्टरफाइनलमा युक्रेनलाई ४-० ले पराजित गरेको थियो ।

    टिम न्युज:

    इन्जुरीको समस्या नभएकाले इङ्लिस टोलीको मुहारमा एउटा आनन्दको माहोल छ । युवा खेलाडी बुकायो साकाले ट्रेनिङका दौरान लागेको चोटका कारण युक्रेनविरुद्धको क्वार्टरफाइनल गुमाएका थिए । र, उनी सेमिफाइनलमा डेनमार्कविरुद्धको खेलका लागि पूर्ण रूपमा फिट भइसकेका छन् ।

    तर, प्रशिक्षक साउथगेटले इङ्ल्यान्ड फाइनलसम्म पुग्न सके साकालाई विश्राम पनि दिन सक्नेछन् । युक्रेनविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका जाडोन सान्चोलाई उनको स्थानमा साउथगेटले प्रयोग गर्न सक्ने छन् । कसलाई खेलाउने भन्ने निर्णय लिनु साउथगेटका लागि कठिन हुने निश्चित छ ।

    इङ्ल्यान्डको सम्भावित लाइन-अप:

    जोर्डन पिकफोर्ड, काइल वाल्कर, जोन स्टोन्स, ह्यारी म्यागुएर, ल्युक शह, डेक्लान राइस, ह्यारी फिलिप्स, सान्चो, म्यासन माउन्ट, राहिम स्टर्लिङ, ह्यारी केन

    एरिकसनमाथि भएको दुर्भाग्यशाली दुर्घटनाले उनलाई प्रतियोगिताबाटै बाहिर धकेलेपछि सुरुआती खेलमा तहसनहस भएर फेरि सम्हालिएको छ, डेनिस टोली । प्रशिक्षक कास्पर ह्युमल्यान्ड टोलीमा थप कुनै पनि इन्जुरी समस्या नभएकाले खुशी छन् ।

    चेक रिपब्लिकविरुद्धको खेल बेन्चबाट हेरेका स्ट्राइकर युसुफ पौलसेन र विङ्ग ब्याक ड्यानिएल वासले सुरुआती-११ मा फर्किएर डोलबर्ग र स्ट्रिगरलाई प्रतिस्थापन गर्ने सम्भावना उच्च छ ।

    डेनमार्कका सम्भावित सुरुआती-११

    कास्पर स्माइकल, एन्द्रेस क्रिस्टियनसेन, सिमन साहर, यान्निक भेस्टरगार्ड, स्ट्रिगर, पेरी इमिल होइबर्ग, थोमस डेलानी, योहाकिम मेहेले, मार्टिन ब्रेथवेट, मिक्केल ड्याम्सगार्ड, डोलबर्ग

    गेम चेन्जर्स

    फेरि अर्का एट्लान्टाका विङ्ग ब्याक मेहेले डेनमार्कको जारी यात्रामा गेमचेन्जर बनेका छन् । चेकविरुद्धको खेलमा दोस्रो गोलका लागि असिस्ट दिएका मेहेलेको त्यो क्रस एक क्षमतावान् फुटलबरको ‘डिस्प्ले’ थियो ।

    लगातार दुई गोल गरेका डोलबर्ग, मिडफिल्डमा प्रभावकारी देखिएका ड्याम्सगार्ड र मेहेलेले इङ्ल्यान्डविरुद्धको खेलमा पनि आफ्नो जारी फर्मलाई निरन्तरता दिने अपेक्षा गर्नेछन् । फाइलन पुग्नका लागि ती खेलाडीबाट प्रभावकारी प्रदर्शनको एकदमै खाँचो पनि डेनिस टोलीलाई छ । यद्यपि, इङ्लिस टोलीमा भने लगभग सबै नेतृत्व गर्न अब्बल छन् । कप्तान ह्यारी केन किन कप्तान हुन् भन्ने कुरा उनले सही समयमा पकडेको लयले पनि सावित गरिसकेको छ ।

    समूह चरणमा गोल गर्न नसकेका केनले अन्ततः नकआउट चरणमा आफ्नो फर्म पाइसकेका छन् । जर्मनीविरुद्धको खेलमा खाता खोलेका केनले युक्रेनविरुद्ध दुई गोल थपे ।

    साउथगेटले बुधबार पनि केनले त्यो लय कायमै राख्नेमा ग्यारेथ साउथगेट आशावादी छन् । यस्तै स्टर्लिङ तथा अन्य अट्याकर पनि डेनमार्कविरुद्धको खेलमा गेम चेन्जर बन्न निश्चय नै चाहन्छन् । डेनमार्कलाई हराउँदै इङ्लिस टोली ५५ वर्षको उपाधि खडेरीमा पूर्णविराम लगाउन चाहन्छ ।

  • युरो २०२०: कीर्तिमानी युक्रेनी टोलीको अर्को इतिहास रच्ने लक्ष्य

    युरो २०२०: कीर्तिमानी युक्रेनी टोलीको अर्को इतिहास रच्ने लक्ष्य

    काठमाडौं । युरो २०२० को फाइनल पुग्नका लागि इङ्यान्ड सहज बाटोमा देखिन्छ । यद्यपि, जारी संस्करणका कुनै पनि टोलीविरुद्ध खेल्न सहज हुन्छ भन्नु मुर्खता सावित हुने स्पष्ट छ ।

    ग्यारेथ साउथगेटको इङ्लिस टोलीसामु अब युक्रेन खडा छ । इटालीको रोममा शनिबार हुने क्वार्टरफाइनल एन्ड्री सेभ्चेन्कोको युक्रेनलाई हराउन सके इङ्ल्यान्डले फाइनल प्रवेशका लागि डेनमार्क र चेक रिपब्लिकको विजेतासँग खेल्ने छ ।

    देशका सर्वकालिन महान् खेलाडीमध्ये एक खेलाडी तथा युक्रेनबाट एक मात्र बालोन डी’अर विजेता खेलाडी सेभ्चेन्कोको टोलीले अहिलेसम्ममा नै इतिहास रचिसकेको छ । युरोपियन च्याम्पियनसिपको इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा पुगेको युक्रेन के सेमिफाइनल पुग्ला त ?

    युक्रेनको लय कस्तो ?

    सन् २००६ पछि पहिलो पटक ठूला प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको युक्रेन युरोमा भने पहिलो पटक अन्तिम ८ मा पुगेको हो । समूह चरणबाट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाएको युक्रेनले नर्थ मेसिडोनियाविरुद्ध २-१ को जित तथा नेदरल्यान्ड्स र अस्ट्रियाविरुद्ध क्रमश: ३-२ र १-० को पराजय बेहोरेको थियो ।

    विश्व बरियताको २४औं स्थानमा रहेको युक्रेनले अहिलेसम्म इङ्ल्यान्डलाई एक पटक मात्रै पराजित गरेको छ । सन् २००९ मा भएको विश्वकप छनोटमा युक्रेनले इङ्लिस टोलीविरुद्ध १-० को जित हासिल गरेको थियो ।

    कूल सात पटकको प्रयासमध्ये एक पटकमा मात्र युक्रेनले नतिजा आफ्नो पक्षमा पारेको छ । तीमध्ये एक जित २०१२ युरोको समूह चरणमा थियो । इङ्ल्यान्ड १-० ले विजयी भएको त्यो खेलमा वाइन रूनीले एक मात्र निर्णायक गोल गरेका थिए । यी दुई टोलीबीचको अन्तिम भिडन्त भने २०१४ विश्वकपको छनोटमा भएको थियो । उक्त खेलमा फ्रान्क लाम्पार्डले गरेको गोलमा इङ्ल्यान्ड हारबाट जोगिएको थियो भने नतिजा १-१ को बराबरीमा टुङ्गिएको थियो ।

    सेभ्चेन्कोको युक्रेनी टोली विश्वकप छनोट चरणमा समूहमा तेस्रो स्थानमा छ । युक्रेनले सुरुआती तीन खेलबाट ३ अंक जोडिसकेको छ ।

    यसै वर्ष भएका खेलहरूमा युक्रेनले फ्रान्स, कजाकस्तान र फिनल्यान्डसँग बराबरी खेलेको थियो ।

    यार्मोलेन्को- एक खतरा खेलाडी

    युक्रेनसँग भएको सबैभन्दा ठूलो अस्त्र हुन्, वेस्ट ह्याम युनाइटेडका एन्ड्री यार्मोलेन्को । शनिबारको खेलका लागि यार्मोलेन्को तयार हुन्छन् कि हुँदैनन् भन्ने सेभ्चेन्कोका लागि चिन्ताको विषय हुनसक्छ । यार्मोलेन्कोलाई कुनै पनि हालमा बेन्चमा सीमित गर्न चाहँदैनन् । उनी स्वीडेनविरुद्धको प्रि-क्वार्टरफाइनलको खेलमा अतिरिक्त समयको पहिलो हाफमा चोटका कारण बाध्य भएर सब्स्टिच्युट भएका थिए ।

    गत सिजन डेभिड मोयेसको वेस्ट ह्यामबाट १५ खेल मात्र खेलेका ३१ वर्षीय यार्मोलेन्कोले युक्रेनका लागि सुरुआती तीन खेलमा दुई गोल तथा एक असिस्ट गरिसकेका छन् ।

    बोरुसिया डर्टमन्डका पूर्व फरवार्ड यार्मोलेन्कोले ह्याम्पडेनमा स्वीडेनविरुद्ध तीन उत्कृष्ट पास निकालेका तथा ओलेक्सान्डर जिन्चेन्कोको गोलका लागि उत्कृष्ट असिस्ट प्रदान गरेका थिए । योसँगै ठूला प्रतियोगितामा कुनै पनि ठूला प्रतियोगितामा पाँच गोलमा डाइरेक्ट इन्भल्भमेन्ट भएका यार्मोलेन्को दोस्रो खेलाडी बनेका छन् । यसअघि प्रशिक्षक सेभ्चेन्कोको पाँच गोलमा डाइरेक्ट इन्भल्भमेन्ट थियो ।

    उत्कृष्ट फर्ममा भएका यार्मोलेन्को र कप्तान जिन्चेन्कोको उच्च मनोबलप्रेरित युक्रेन इङ्ल्यान्डविरुद्ध जित निकाल्दै पहिलो पटक युरोपियन सेमिफाइनलमा पुग्न चाहन्छ ।

    यद्यपि, १९६६ पछि पहिलो पटक ठूला प्रतियोगिताको नकआउटमा जर्मनीलाई पराजित गरेको इङ्ल्यान्डविरुद्धको खेल युक्रेनका लागि फलामको चिउरा चपाउनु समान हुनेछ ।

  • युरो २०२०: जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्‍वार्टरफाइनलमा

    युरो २०२०: जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्‍वार्टरफाइनलमा

    काठमाडौं । जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन राहिम स्टर्लिङ र कप्तान ह्यारी केनले १/१ गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम १५ मिनेटमा दुई गोल गर्दै इङ्ल्यान्डले अन्तिम ८ स्थान सुरक्षित गर्‍यो ।

    इङ्ल्यान्डले जर्मनीलाई ठूला प्रतियोगितामा १९६६ पछि पराजित गरेको पहिलो पटक हो । जितसँगै क्‍वार्टरफाइनलमा पुगेको इङ्ल्यान्डले स्वीडेन र युक्रेनबीचको विजेतासँग खेल्ने छ ।

    २०१४ को विश्वकप विजेता जर्मनी युरो २०१६ को सेमिफाइनलबाट बाहिरिएको थियो भने २०१८ विश्वकपमा समूह चरण पार गर्न असफल भएको थियो ।

  • जर्मनी र इङ्ल्यान्डको त्यो प्रतिस्पर्धा- जसले फुटबललाई सधैंका लागि परिवर्तन गर्‍यो

    जर्मनी र इङ्ल्यान्डको त्यो प्रतिस्पर्धा- जसले फुटबललाई सधैंका लागि परिवर्तन गर्‍यो

    काठमाडौं । विश्व फुटबलमा सबैभन्दा ठूलो दुश्मनी जर्मनी र इङ्ल्यान्डभन्दा अरू छैन । यी दुई देशबीच दशकौंदेखि भएका भिडन्तका कयौं इतिहास सम्झनालायक छन् । इङ्ल्यान्ड समर्थकहरूले त पेनाल्टीमा झन् धेरै वर्षदेखि पीडादायी क्षण भोग्नुपरेको परेको छ ।

    फेरि एक पटक मंगलबार युरो २०२० को नकआउटमा जर्मनी र इङ्ल्यान्ड आमनेसामने हुँदा दुवै देश इतिहासमा नयाँ अध्याय थप्न तयार छन् । क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नु दुवै टोलीको एउटै उद्देश्य हुनेछ ।

    सन् २०१४ को विश्वकप जितेको जर्मनीको हात पछिल्लो समयमाथि देखिन्छ । तर, इङ्ल्यान्डसँगको प्रतिस्पर्धा कठिन हुनेमा शंका छैन । जर्मन समर्थकहरू यो प्रतिस्पर्धालाई लिएर आत्मविश्वास पनि कमजोर छैनन् ।

    सन् १९८७ मा इङ्ल्यान्डबाट जर्मनी सरेका स्टुआर्ट दाइक्स दोहोरो नागरिक हुन् । बुन्डेसलिगा क्लबको कार्यालयमा काम गरेको एक फुटबल समर्थक भएकोले उनले दुवैको आँखाबाट प्रतिस्पर्धा देखेका छन् ।

    ‘मलाइ लाग्छ, जर्मनीको लागि पनि यो सबैभन्दा ठूलो खेल हो’, उनी सिएनएनसँग भन्छन् । ‘इङ्ल्यान्डविरुद्ध जर्मनीको चार्म बाँकी सबै भन्दामाथि छ । फुटबल परिदृष्यमा जर्मनीका लागि अरू ठूल्ठूला खेलहरू होलान् । तर, पृष्ठभूमि, इतिहास र अर्थको आधारमा ती सबै खेल भन्दा इङ्ल्यान्डविरुद्धको भिडन्त नै ठूलो हुन्छ । इङ्ल्यान्ड फुटबलको घर हो । वेम्ब्ली फुटबलको घर हो । त्यसैले यो जर्मनीका लागि विशेष छ । यति भनिरहँदा पनि उनीहरू(जर्मन)मध्ये धेरैलाई सधैंझैँ जितिन्छ भन्ने लागेको हुनसक्छ ।’

    विश्व फुटबललाई नै परिवर्तन गर्ने त्यो खेल

    सन् २०१० मा जर्मनीसँग भएको प्रतिस्पर्धा इङ्ल्यान्ड समर्थकहरू सम्झन चाहँदैनन् । दक्षिण अफ्रिकाको ब्लोइमफोन्टेनमा भएको प्रतिस्पर्धामा जर्मनीले इङ्ल्यान्डलाई ४-१ गोलको नतिजामा हराएको थियो । त्यसको नजिताको बाबजुद त्यो दिनको खेलका गतिविधिहरूले फुटबललाई सधैंका लागि परिवर्नत गर्‍यो ।


    फ्रांक लाम्पार्डको ‘घोस्ट गोल’को त्यो खेल सधैं सम्झना भइरहेनेछ । जुन गोल विश्व फुटबलमा गोललाइन प्रविधि भित्र्याउनु पर्ने कारण बन्यो ।

    २-१ गोलको नतिजा जारी खेलको मध्यपंक्तिका इङ्लिस खेलाडी लाम्पार्डले जर्मन गोलकिपर मानुएल नोएरको गोलपोस्टमा छिराएर बराबर गरेको सोचे । क्रसबार र गोल लाइनबाट पार भएर बल फर्किए पनि त्यो दिनका म्याच अफिसियलहरूले देखेनन् । र, गोलले मान्यता पाएन ।

    यसले इङ्ल्यान्डमा व्यापक आक्रोश पैदा गर्‍यो । फुटबलको नियामक निकायलाई माफी मगाउन र फुटबलमा नयाँ प्रविधि भित्राउन माग भयो ।

    र, अर्को संस्करणको फिफा विश्वकप २०१४ बाट गोललाइन प्रविधिको प्रयोग भयो । त्यसपछिको २०१८ को संस्करणमा त भिडियो असिस्टेन्ट रेफ्रि (भार)को पूरा प्रचलन आयो । ‘यसले खेलमा राम्रो परिवर्तन ल्यायो’, लाम्पार्डले भनेका थिए, ‘यस बारेमा म खुशी छु । गोललाइन प्रविधि समग्र खेलका लागि सकरात्मक कदम भएको छ ।’

    पेनाल्टी पीडा

    जर्मनीसँगको प्रतिस्पर्धामा इङ्ल्यान्डलाई सधैं ध्वंश र अन्धकार मात्रै छैन । डेभिड बेक्याम, स्टेभेन जेरार्ड र माइकल ओवेनले नेतृत्व गरेको इङ्ल्यान्डले सन् २००१ को विश्वकप छनौट खेलमा जर्मनीलाई ५-१ अन्तरले हराएको थियो । सन् १९६६ मा इङ्ल्यान्डले जितको पहिलो र एक्लो विश्वकप फाइनलमा पनि जर्मनीलाई नै हराएको थियो ।

    त्यो खेलमा पनि एक गोल विवादास्पद बन्यो । एलन बलले दिएको क्रसमा जेफ हर्ट्सले बल नियन्त्रण गरे । गोलकिपरलाई बिट गर्दै बल माथि हाने । बल क्रमबारमा ठोक्किएर हुत्तिँदै भुइँमा बजारियो । यसले लाइन पार गरेको भनेर भन्न असम्भव बनायो ।

    दुवैतर्फबाट हात उठे । केही मिनेटको समय तनावग्रस्त बन्यो । अजरबैजानका लाइन्सम्यान तोफिक बाक्रामोभले सुरुमा गोलको मान्यता दिएनन् । पछि रेफ्रीसँग सल्लाह गरेर गोलको मान्यता दिए । त्यपछि ३-२ को गोल नतिजा भयो । पछि इङ्ल्यान्डले ४-२ अन्तरले उपाधि जित्यो । त्यो नै अहिलेसम्मको इङ्ल्यान्डले जितको एक्लो विश्वकप उपाधि हो ।

    त्यसपछिका इङ्ल्यान्डका सफलता थोरै र धेरै अन्तरालका बीचमा मात्रै भएका छन् । इङ्ल्यान्डले अधिकांश हृदयघात हुने खालका प्रतिस्पर्धाहरू पेनाल्टीमै भोगेको छ ।

    सन् १९९० को विश्वकप र १९९६ को युरो दुवैको. सेमिफाइनलबाट पेनाल्टीमै जर्मनीसँग हारेर इङ्ल्यान्ड बाहिरिएको थियो ।

    सन् १९९० मा इङ्ल्यान्ड पाउल ग्यासकोइ आँशु खसालेर बाहिरिएका थिए । पहेलो कार्ड पाएर बाहिरिएका उनी फाइनमा पुगेको खण्डमा खेल्न वञ्चित हुने सम्झिएर रोएका थिए ।

    एउटा उक्ति छ: २२ जनाले एउटा बलको पछि ९० मिनेटसम्म कुद्छन् । अन्तिम सधैं जर्मनीले जित्छ ।

    अहिलेका इङ्ल्यान्ड टोलीका मुख्य प्रशिक्षक गेराथ साउथगेटले वेम्ब्लीमा भएको १९९६ को निर्णायक पेनाल्टी मिस गरेका थिए । इङ्ल्यान्ड समर्थकहरू मंगरबारको खेलमा त्यो अवस्था नआओस् भनेर प्रार्थाना गरिरहेका हुनेछन् ।

    ‘जर्मनीका सथर्मकहरूको एउटा कुख्यात चुट्किला छ । पेनाल्टी हान्नमा इङ्ल्यान्डका खेलाडीहरू धेरै खराब छन्,’ दाइक्स भन्छन् ।

    ‘मेलै एक समाचार शीर्षक हेरेको थिए जहाँ लेखिएको थियो इङ्ल्यान्डले जर्मनीलाई जित्नसक्छ तर, पेनाल्टीमा होइन । यो अहिलेको क्षणमा आएको कुरा यहि हो । साँचो भएर भन्दा दुवै टोलीले राम्रोसँग खेलिरहेका छैनन् । र, त्यो उनीहरूको मानसिकता भएको हुनसक्छ । जहाँ जर्मनीलाई केही फाइदा हुन सक्छ ।’

    वेम्ब्लीको जादु

    कोभिड-१९ को प्रतिबन्धका बीच ४० हजार समर्थकहरूले प्रत्यक्ष खेल हेर्नेछन् । र, दाइक्स वेम्ब्ली जर्मनी र इङ्ल्यान्ड दुवैका समर्थकहरूका लागि जादुमयी स्थान भएको बताउँछन् ।

    ‘मैत्रीपूर्ण खेलमासमेत वेम्ब्लीमा जित निकाल्नु धेरै ठूलो कुरा हो । कोभिड निषेधका कारण त्यहाँ धेरै जर्मनी सथर्मकहरू नहुनु दु:खद् कुरा हो । जर्मनी फुटबल समर्थकहरूका लागि वेम्ब्ली उत्कृष्ट ठाँउ हो’, उनी भन्छन् ।

    अझै पनि राजनीतिक विगत र दुई वटा विश्वयुद्धको कुरा कोट्याएर अस्वस्थ्य तुलना गर्नेहरू छन् । खासगरी अंग्रेजी ट्याब्लोइड अखबारबाट यस्तो हुन्छ ।

    तर, अधिकांशले यो जस्तो वास्तविकता हो, त्यसरी नै हेर्छन् । अरू कुनै फुटबलसँग तुलना नहुने इतिहास भएका प्रतिभाशाली खेलाडीहरूले भरिएका दुई फुटबल शक्तिको रूपमा हेर्छन् ।

    ‘हामी खेलाडीको रूपमा धेरै इतिहासको बारेमा सोच्दैनौं । यो यहाँको र अहिलेको सवाल हो । जमर्नी कुन पक्षमा बलियो छ कुन पक्षमा हामीले फाइदा लिएर उनीहरूलाई तनाव दिन सक्छौँ हामी त्यो सोच्छौं’, इङ्ल्यान्डका खेलाडी जोर्डन ह्यान्डरसनले पत्रकारहरुलाई बताएका छन् ।

    इङ्ल्यान्डले युरो २०२० को प्रि-क्‍वार्टरफाइनलमा मंगलबार राति ९:४५ बजे वेम्ब्लीमा जर्मनीको सामना गर्दैछ ।

    सिएनएन स्पोर्ट्सबाट
  • ‘इङ्ल्यान्ड ठूला भिडन्तका लागि तयार हुन्छ’

    ‘इङ्ल्यान्ड ठूला भिडन्तका लागि तयार हुन्छ’

    काठमाडौं । चेक रिपल्बिकमाथि १-० को जितसँगै समूह डीको विजेता बन्दै अन्तिम १६ मा पुगेको इङ्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो टोली नकआउटका लागि तयार हुने बताएका छन् । राहिम स्टर्लिङको गोलसँगै चेक टोलीमाथि जित हासिल गरेको साउथगेटको इङ्लिस साइडले समूह एफको उपविजेतासँग मंगलबार वेम्ब्लीमा खेल्ने निश्चित भइसकेको छ ।

    प्रतियोगिता अगाडि बढ्दै जाँदा कठिन हुने र साउथगेट आफ्नो टोली त्यसका लागि तयार हुनेमा विश्वस्त छन् । त्यो जितले इङ्लिस टोलीको भेट जर्मनी, फ्रान्स वा पोर्चुगलसँग हुने निश्चित भइसकेको छ । र, इङ्ल्यान्ड युरोपका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रशिक्षक साउथगेटको विश्वास छ ।

    ‘हामीले दुई विपक्षी टोलीहरू– क्रोएसिया र चेक रिपब्लिकसँग खेल्यौं । यी दुई टोली राम्रो लेभलको फुटबल खेलिरहेका छन् र स्कटल्यान्डविरुद्धको खेल पनि हाम्रा खेलाडीका लागि राम्रो अनुभव भयो,’ साउथगेटले भने, ‘तर, अबका खेलहरू फरक हुनेछन् । हामीलाई थाहा छ, त्यहाँ विश्वकप विजेता, युरो च्याम्पियन र जर्मनी छन् । जर्मनी एकदमै बलियो टोली देखिएको छ ।’

    ‘तर, हामीले त्यो कुरा १८ महिनादेखि थाहा पाइरहेका छौं । राम्रो पक्ष भनेको हामी अझै पनि सुधार गरिरहेका छौं । हामी विपक्षीका लागि पनि खेल्न कठिन देखिइरहेका छौं,’ उनी भन्छन्, ‘हाम्रो टोलीका खेलाडीले खेल्ने पर्याप्त समय पाएका छन्, त्यो स्क्वाड डेप्थका लागि महत्त्वपूर्ण थियो । हाम्रो टोली केही कम जोसिलो देखिएको छ, त्यसमा परिवर्तन गर्नु जरुरी छ ।

    प्रतियोगितामा पहिलो पटक बुकायो साका र ज्याक ग्रेलिसलाई चेक रिपब्लिकविरुद्ध मैदानमा उतारेका साउथगेट अन्तिम-१६ को खेल वेम्ब्लीमै खेल्न पाउँदा मख्ख देखिन्थे । इङ्ल्यान्ड समूह विजेता नभएर दोस्रो स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा पुगेको भए सजिलो विपक्षी टोली पाउने थियो ।

    ‘हामीले खेलाडीलाई चेक रिपब्लिकविरुद्धको खेल अन्तिम १६ मा पुगिसकेकाले कम महत्त्वपूर्ण रहेको तर केही पाउन अझै बाँकी रहेको बताएका थियौं,’ साउथगेटले भने, ‘पहिलो वा दोस्रो हामीले जसरी पनि अगाडि बढ्नुपर्छ । त्यसैले वेम्ब्लीमा खेल्नका लागि हाम्रो हातमा भएको नियन्त्रण गुमाउनु हुँदैन ।’

    स्कटल्यान्डका बिली गिल्मोर कोरोना संक्रमित भएपछि उनीसँग १२० सेकेन्डसँगै बिताएका दुई इङ्लिस खेलाडी बेन चिल्वेल र म्यासन माउन्ट आइसोलेसनमा बस्न बाध्य पारिएकोमा साउथगेट सन्तुष्ट छैनन् । ‘दुवै खेलाडी चेक रिपब्लिकविरुद्धको खेल गुमाउनु पर्दा एकदमै निराश भएका छन्,’ उनले भने, ‘सबै टोली प्लेनमा, बसमा हिँडिरहेका छन् । तर, हाम्रा दुई खेलाडीले १२० सेकेन्ड टनेलमा गिल्मोरसँग बिताए पनि परीक्षणमा नेगेटिभ देखिएपछि किन आइसोलेनसमा बस्नु पर्ने हो ? मैले बुझिनँ ।’

    साउथगेटले ज्याक ग्रेलिस र बुकायो साकाको प्रदर्शनको प्रशंसा गर्दै भने, ‘साकाको बारेमा धेरै बोल्न सक्दिनँ । तर उनले मौका पाए । ट्रेनिङमा उनको प्रदर्शन उत्कृष्ट हुन्थ्यो । हामीले उनलाई अगाडि खेलाउनेबारे पनि सोचेका थियौं र उनले चेक टोलीविरुद्धको खेलमा मौका पाए । उनको प्रदर्शन अविश्वसनीय थियो ।’

  • स्कटल्यान्डसँग बराबरीमा रोकियो इङ्ल्यान्ड

    स्कटल्यान्डसँग बराबरीमा रोकियो इङ्ल्यान्ड

    काठमाडौं । स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएसँगै इङ्ल्यान्ड एक खेल अगावै युरो २०२० को नकआउटमा स्थान सुरक्षित गर्नबाट चुकेको छ ।

    शुक्रबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको समूह ‘डी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड पुरानो प्रतिद्वन्दी स्कटल्यान्डलाई पराजित गर्न असफल रह्यो ।

    खेलको सुरुआतदेखि नै बल पोसेसनमा प्रभुत्व जमाएको इङ्ल्यान्डले गोलका लागि अवसरको सिर्जना गरे पनि प्रभावकारी फिनिसिङ नहुँदा बराबरीमा चित्त बुझाउनु पर्‍यो । पहिलो खेलमा चेक गणतन्त्रसँग २-० ले पराजित भएको स्कटल्यान्डको बराबरीसँगै समूह चरण पार गर्ने सम्भावना बढेको छ ।

    यस्तै पहिलो खेलमा क्रोएसियालाई १-० ले पराजित गरेको इङ्ल्यान्डको पनि नक आउट प्रवेश सम्भावना प्रवल छ ।

  • २५ वर्षपछि ठूला प्रतियोगितामा भिड्दै इङ्ल्यान्ड र स्कटल्यान्ड

    २५ वर्षपछि ठूला प्रतियोगितामा भिड्दै इङ्ल्यान्ड र स्कटल्यान्ड

    काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को समूह चरण अन्तर्गत शुक्रबार राति तय भएको इङ्ल्यान्ड र स्कटल्यान्डबीचको भेट ठूला प्रतियोगितामा २५ वर्षपछि हुन लागेको हो । गारेथ साउथगेटको नेतृत्वमा रहेको इङ्ल्यान्ड स्कटल्यान्डलाई पराजित गर्दै एक खेल अगावै नकआउटमा स्थान सुरक्षित गर्न चाहन्छ ।

    अर्कातिर स्कटल्यान्ड इङ्ल्यान्डलाई हराउँदै प्रतियोगितामा समूह चरण पार गर्ने सम्भावना जिवितै राख्न चाहन्छ । इङ्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई १–० को नतिजामा पराजित गरेको थियो । स्टिभ क्लार्कको नेतृत्वमा रहेको स्कटल्यान्डले भने पहिलो खेलमा चेक रिपब्लिकसँग २–० को पराजय भोगेको थियो ।

    नेपाली सयमअनुसार शुक्रबार राति १२ः ४५ बजे वेम्ब्लीमा हुने ११५औं भेटमा २२ हजार ५ सय समर्थकको उपस्थिति रहने छ । यद्यपि, प्रतिस्पर्धात्मक खेलमा भने यो १००औं भेट हुनेछ ।

    ठूला प्रतियोगितामा यी दुई टोलीको अन्तिम भेट १९९६ को समूह चरणमा भएको थियो । उक्त खेलमा इङ्ल्यान्डलाई २–० गोलको नतिजामा जित दिलाउन एलेन सेरर र पौल ग्यासकोइग्नेले एक÷एक गोल गरेका थिए । उक्त खेलमा अहिले इङ्लिस टोलीका मुख्य प्रशिक्षक साउथगेट पनि खेलेका थिए ।

    आजको खेल स्कटल्यान्डले लागि जित्नै पर्ने दबाब भने छैन । वेम्ब्लीमा पराजित भए पनि स्कटिस टोलीको समूह चरण पार गर्ने सम्भावना बाँकी रहने छ । पहिलो चरणबा समूह विजेता र उपविजेतासँगै राम्रो नतिजा भएका तेस्रो स्थानमा रहेर समूह चरण कटाएका ६ टोलीले पनि नकआउटमा स्थान बनाउने छन् ।

    यदि स्कटल्यान्डले इङ्ल्यान्डलाई पराजित गर्न सकेन तर क्रोएसियासँग तीन अंक बटुल्न सक्यो भने तेस्रो स्थानमा रहँदा अर्को चरणमा जान सक्ने सम्भावना बाँकी नै रहन्छ ।

    इङ्ल्यान्डले थप तीन अंक हासिल गर्‍यो भने एक खेल अगावै अन्तिम–१६ मा स्थान सुरक्षित गर्नेछ । यदि इङ्ल्यान्डले जित निकाल्यो र क्रोएसियाले चेक गणतन्त्रलाई हराउन सकेन भने उनीहरू समूह विजेता बन्ने पनि निश्चित हुनेछ ।

    दुवै प्रशिक्षकलाई खेलाडी छनोटमा द्वुविधा छ ?

    चोटका कारण क्रोएसियाविरुद्धको पहिलो खेल गुमाएका म्यानचेस्ट युनाइटेडका डिफेन्डर ह्यारी म्यागुएर स्कटल्यान्डविरुद्धको खेलका लागि तयार रहेको बताइसकेका छन् । पहिलो खेलमा एस्टन भिल्लाका टायरोन मिङ्गस र जोन स्टोन्सले इङ्ल्यान्डको रक्षापंक्ति सम्हालेका थिए ।

    यस्तै, लेफ्ट ब्याकमा केइरोन ट्रिपियरले स्थान बनाएका थिए । ‘योर्कशायरका पिर्लो’ अर्थात् लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सले क्रोएसियाविरुद्धको खेलमा सम्झनलायक प्रदर्शन गरेका थिए । उनले मिडफिल्डमा म्यासन माउन्ट र डेक्लान राइससँगै सुरुआती ११ मा स्थान बनाएका थिए ।

    तर, एस्टन भिल्लाका प्लेमेकर ज्याक ग्रेलिस र लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले स्कटल्यान्डविरुद्धको खेलमा स्थान बनाउने सम्भावना देखिन्छ । यस्तै, स्कटल्यान्डविरुद्ध फाइनल थर्डमा मार्कोस रासफोर्ड र जाडोन सान्चोले पनि स्थान बनाउन सक्नेछन् ।

    अर्कातिर आर्सनलका केइरन टिर्ने टोलीमा फर्किएसँगै स्कटल्यान्डको टोलीमा ऊर्जा थपिएको छ । यद्यपि, स्कटिस गोलकिपर डेभिड मार्सलले चेक फरवार्ड प्याट्रिक शिकलृ गरेको दोस्रो गोलपछि सर्वव्यापी आलोचना बेहोरिरहेका छन् ।

    शिकले गोलकिपर अगाडि बढेको अवस्थामा मैदानको बीचभागबाट प्रहार गरेका बलले सोझै जाली चुमेको थियो । उनलाई प्रशिक्षक क्लार्कले खेलाउनेमा धेरै शंका नभए पनि उनको स्थान क्र्याग गोर्डनले स्थान बनाउँदा आश्चर्य हुनेछैन ।

    चेक टोलीविरुद्ध स्कटल्यान्डले १९ पटक गोलपोस्टमा प्रहार गरे पनि गोल गर्न असफल भएको थियो । चेक गणतन्त्रविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेर प्रभावशाली प्रदर्शन गरेका चे आडम्सले सुरुआती ११ मा स्थान बनाउने प्रवल सम्भावना छ ।

  • चोटका कारण हेन्डरसनले छाडे इङ्लिस टोली

    चोटका कारण हेन्डरसनले छाडे इङ्लिस टोली

    काठमाडौं । म्यानचेस्टर युनाइटेडका गोलकिपर डिन हेन्डरसनले चोटका कारण युरो २०२० का लागि इङ्लिस टोलीबाट नाम फिर्ता लिएका छन् ।

    ‘हिप’मा देखिएको समस्याका कारण हेन्डरसनले नाम फिर्ता लिएसँगै उनको स्थान शेफिल्ड युनाइटेडका गोलकिपर एरोन राम्सडेलले लिने भएका छन् ।

    प्रतियोगिता सुरु हुनु अगावै टोलीको घोषणा गरिसक्नु पर्ने भए पनि चोटका कारण गोलकिपरले खेल्न नसक्ने भए परिवर्तन गर्न सकिने युइएफएको नियम छ ।

    उनको स्थान लिएका राम्सडेल इङ्ल्यान्डको ३३ सदस्यीय प्रारम्भिक टोलीमा परेका थिए । तर, अन्तिम टोली अटाएका थिएनन् । राम्सडेलले यसअघि पनि इङ्ल्यान्डको प्रतिनिधित्व गरेर खेलिसकेका छन् । उनले मार्चमा भएको यु २१ युरोमा इङ्लिस टोलीमा स्थान बनाएका थिए ।

    नाम फिर्ता लिएका हेन्डरसन म्यानचेस्टर युनाइटेड फर्किने छन् । त्यहाँ युनाइटेडकै मेडिकल स्टाफले उनको उपचारमा सहयोग गर्नेछन् ।

  • युरो २०२०: इङ्ल्यान्डको विजयी सुरुआत

    युरो २०२०: इङ्ल्यान्डको विजयी सुरुआत

    काठमाडौं । क्रोएसियालाई १-० गोलको नतिजामा पराजित गर्दै युइएफए युरो २०२० मा इङ्ल्यान्डले विजयी सुरुआत गरेको छ । समूह ‘डी’ अन्तर्गत इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा घरेलु टोलीले विश्वकप २०१८ को उपविजेताविरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्यो ।

    इङ्ल्यान्डलाई जित दिलाउन राहिम स्टर्लिङले एक मात्र निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ५९औं मिनेटमा स्टर्लिङले गरेको एक मात्र गोल इङ्ल्यान्डलाई महत्त्वपूर्ण जित दिलाउन पर्याप्त भयो ।

    उनले काल्भिन फिलिप्सको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै सोझै गोलमा परिणत गरेका थिए ।

    जितसहित प्रतियोगिताको सुरुआत गरेको इङ्ल्यान्डले दोस्रो खेलमा शनिबार स्कटल्यान्डको सामना गर्नेछ । यस्तै पराजित क्रोएसिया शुक्रबार हुने आफ्नो दोस्रो खेलमा चेक गणतन्त्रविरुद्ध पहिलो जितको खोजीमा हुनेछ ।

  • युरो २०२० मा आज तीन खेल: ६:४५ मा इङ्ल्यान्ड र क्रोएसिया भिड्दै

    युरो २०२० मा आज तीन खेल: ६:४५ मा इङ्ल्यान्ड र क्रोएसिया भिड्दै

    काठमाडौं । युइएफए युरो २०२० अन्तर्गत आज तीन खेल हुँदैछन् । नेपाली समयअनुसार साँझ ६:४५ बजे हुने खेलमा इङ्ल्यान्डले विश्वकप २०१८ को उपविजेता क्रोएसियाको सामना गर्दैछ ।

    त्यस्तै, राति ९:४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत अस्ट्रिया र नर्थ मेसिडोनिया भिड्दैछन् । नर्थ मेसिडोनिया पहिलो पटक युरोमा छनोट भएको हो । यसअघि १९६० देखि १९९२ सम्म मेसिडोनिया युगोस्लाभियामै गाभिएको थियो । तर, स्वतन्त्र भइसकेपछि भने पहिलो पटक ठूलो प्रतियोगितामा छनोट भएको हो ।

    राति १२:४५ बजे हुने समूह ‘सी’ कै दोस्रो खेलमा नेदरल्यान्ड्स र युक्रेन भिड्दैछन् । १९८८ मा च्याम्पियन बनेको नेदरल्यान्ड्सले त्यसपछि सेमिफाइनल पार गर्न सकेको छैन । २०१६ मा फ्रान्समा भएको पछिल्लो संस्करणमा नेदरल्यान्ड्स छनोट हुन सकेन ।

    गत संस्करणको समूह चरणबाटै बाहिरिएको युक्रेन आजको यसपटक नेदरल्यान्ड्सविरुद्ध सकारात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रिँदैछ ।