दिल्ली । अरुणाञ्चल प्रदेशकी तासी याङ्जोम सन् २०२१ को मौसममा सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बनेकी छिन् ।
नेसनल इन्स्टिच्युट अफ माउन्टेनियरिङमा पर्वतारोहण तलिम लिएकी याङ्जोमलाई भारतका युवामन्त्री किरण रिजले बधाइ दिएकी छिन् ।



दिल्ली । अरुणाञ्चल प्रदेशकी तासी याङ्जोम सन् २०२१ को मौसममा सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बनेकी छिन् ।
नेसनल इन्स्टिच्युट अफ माउन्टेनियरिङमा पर्वतारोहण तलिम लिएकी याङ्जोमलाई भारतका युवामन्त्री किरण रिजले बधाइ दिएकी छिन् ।



काठमाडौं । मंगलबार र बुधबार मात्र १ सय ५० आरोहीले सगरमाथा चुचुरो टेकेका छन् ।
आज बिहान ७ देखि अहिलेसम्म ७० जनाले सगरमाथाको सफल आरोहण गरेको सगरमाथा बेस क्याम्पमा रहेकी पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् ।
‘बिहानबाट अहिलेसम्म सगरमाथामा जानेको संख्या ७० भन्दा बढी हुन सक्छ’ उनले भनिन् । मंगलबार ८० जना आरोहीले सगरमाथा आरोहण गरेका थिए । यी सबै विदेशी गएका हुन् ।
आजै बिहान सगरमाथाको सफल आरोहण गरेका एकैघरका तीन दिदीबहिनी र २१ औं पटक सगरमाथाको चुचुरोमा पुगेका पेम्बा दोर्जे शेर्पालगायत उनीहरूको टोली भने यो संख्यामा समावेश छैन ।
‘उनीहरू शेर्पा समुदायबाट चढेकाले विभागबाट अनुमति लिएका छैनन् । उनीहरू विभागले गणना गर्ने संख्यामा परेका छैनन्,’ आचार्यले भनिन् ।
यो सिजनका लागि मात्र ४०८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । जसमा ४३ समूहका ३१५ जना पुरुष, ९२ जना महिला र एकजना अन्य छन् ।

काठमाडौं । दोलखाका एकै परिवारका तीन दिदीबहिनीले बुधवार सगरमाथाको सफल आरोहण गरेका छन् ।
दोलखास्थित गौरीशंकर गाउँपालिका-९ बेदीङका दिदी-बहिनी निमा जाङ्बु शेर्पा (वर्ष ३०) छिरिङ नाम्गे शेर्पा (वर्ष २६) र दावा फुटी शेर्पा (वर्ष २४) ले आज विहान ७ बजेको वरिपरि सगरमाथा चुचुरोमा पुगेका हुन् । यी दिदी-बहिनीले तीन वर्षभित्र सात वटै महादेशका उच्च हिमाल चढेर विश्व रेकर्ड समेत राख्ने उद्देश्य रहेको बताएका छन् ।
यसैबीच, संचारमन्त्री पार्वत गुरुङले ती दिदीबहिनी आरोहीलाई बधाइ व्यक्त गरेका छन् । मन्त्री गुरुङले बैशाख २ गते मन्त्रालयमा आयोजित कार्यक्रममा ती दिदीबहिनीलाई राष्ट्रिय झण्डा हस्तन्तारण गर्दै बिदाइ समेत गरेका थिए ।

आजै दोलखा सोही ठाउँका पेम्वा दोर्जे शेर्पाले आज २१ औं पटक सगरमाथाको सफल आरोहण गर्न सफल भएका छन् । पेम्बाले बुधवार बिहान ७ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
ड्रिमर्स डिष्टिनेशन ट्रेक एण्ड एक्सपेडिसनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाउँ’ भन्ने सन्देशका साथ २१ औं पटक सगरमाथा चढेका हुन् ।

काठमाडौं । वसन्त यामको आरोहणका लागि थोरै सङ्ख्यामा भए पनि आरोही आउन थालेका छन् । सो यामको आरोहण अनुमतिका लागि केही आरोहीले निवेदन दिएका छन् ।
वसन्त याम शुरु भइसकेकाले अबका दिनमा आरोही समूह आउने पर्यटनविभागको अपेक्षा छ । विभागका निर्देशक मीरा आचार्यले याम शुरु भए पनि अहिलेसम्म विभागले अनुमति जारी गरेको छैन । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ ।
कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी चैतमा सगरमाथा आरोहण गर्ने भएको छ ।
यस वर्षको वसन्त याममा सर्वोच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली चैत २ गते नेपाल आउने मनामास्थित बहराइन नेपाली राजदूतावासले यसअघि नै विज्ञप्तिमार्फत जनाएको छ ।
बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकमार्फत भइरहेको छ । टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।
कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।
विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।
व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
हालै काठमाडौँमा भएको एक कार्यक्रममा पर्यटनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्बाधरुपमा नेपाल भ्रमण गर्न दिने जनाउनुभएको थियो ।
अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने जनाइएको छ ।पर्वतारोहणको मुख्य याम वसन्तका लागि अहिले विभिन्न पर्वतारोहणसम्बन्धी कम्पनीमार्फत बुकिङ चलिरहेको छ ।
सेभेन समिट ट्रेकको मात्रै वसन्त यामका लागि ८० विदेशीसहित २५० आरोहीले सगरमाथा आरोहणको तयारी गरिरहेको कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो । अन्य कम्पनीमार्फत पनि आरोहीले धमाधम बुकिङ गरिरहेका छन् ।
महामारीकै बीच बहराइनका राजकुमारसहितको टोलीलाई गत शरद् याममा मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले असोज २९ गते मनास्लुको सफल आरोहण गरेको थियो । महामारीबीच भएको सो आरोहण नै विदेशी टोली सम्मिलित पहिलो थियो ।
त्यसपछि कतारका राजकुमारसहितको टोलीले गत कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ ।
अहिले पर्यटनका सबैजसो क्षेत्र खुलिसकेका छन् । पर्यटकीय गतिविधि पनि बढेको छ । सरकारले कोभिडका कारण स्थगन गरिएको पदयात्रा र पर्वतारोहण कात्तिकदेखि खुलाएको थियो । रासस

काठमाडौं । दोस्रो सर्वोच्च शिखर केटू आरोहण गरेर फर्किएको नेपाली टोलीलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको अगुवाइमा पर्वतारोही संघसंस्था र शेर्पा समुदायले बाजागाजा र झाँकीसहित स्वागत गरे ।
गत शनिबार दश सदस्यीय नेपाली पर्वतारोही टोलीले हिउँद याममा पाकिस्तानस्थित २८,२५१ फिट उग्लो माउन्ट केटु चढेर इतिहास रचेको थियो ।नेपाल आइपुग्दा आरोही टोली निकै उत्साहित देखिएको थियो । टोलीको नेतृत्व गरेका निर्मल पूर्जाले माउन्ट केटूमाथिको विजय जलवायु परिवर्तन र महामारीविरुद्ध बलियो सन्देश भएको बताए ।
‘हामीले ज्यानको बाजी लगाएर केटु चढ्यौं’ उनले भने, ‘निकै खुशी महसुस भएको छ ।’ शेर्पा समुदायको विश्वले प्रशंसा गरेको भन्दै उनले जलवायु परिवर्तन र कोरोनाले थलिएको पर्यटनलाई आफूहरुको माउन्ट केटू विजयले सन्देश दिने बताए ।पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले अब यो टोलीले आठ हजार मिटर उचाइका नेपाली शिखर महामारीपछि खुला भएको सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले थलिएको पर्यटनलाई उकास्ने काममा सरकार सधैं साथमा हुने बताए ।
‘देशका लागि यो एउटा जित थियो’ अर्का आरोही मिङ्मा जी शेर्पाले भने । निर्मल र मिङ्मासहित मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जिन शेर्पा र किलु पेम्बा शेर्पाले हिमाल आरहेण गरेका थिए ।