Tag: आरती साह

  • आरतीलाई एसिड छ्याप्ने श्रीमान् संजिवलाई साढे १० वर्ष कैद 

    आरतीलाई एसिड छ्याप्ने श्रीमान् संजिवलाई साढे १० वर्ष कैद 

    जनकपुरधाम । आरती साहमाथि एसिड प्रहार गरेको घटनामा दोषी ठहर भएका उनकै श्रीमान संजिव साहलाई जिल्ला अदालत धनुषाले साढे १० वर्ष कैद सजायँ तोकेको छ ।

    पीडित आरतीलाई दोषी ठहर श्रीमान संजिवबाट ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सो फैसला सुनाएको हो ।

    जनकपुरधाम उपमहानगर ७ स्थित डेरामा बसेकी आरती र छोरी रियामाथि सञ्जिवले ०७७ कात्तिक २७ मा एसिड प्रहार गरेका थिए ।

    संजिवलाई एसिड उपलब्ध गराउने जनकपुरकै निखिल स्टोरका संचालक नागेन्द्र साहले भने अदालतबाट सफाइ पाइसकेका छन् ।

    न्यायाधीश शिवाकोटीकै इजलासले गत साउन २५ गते एसिड बेच्ने नागेन्द्रलाई सफाइ र पीडित आरतीका श्रीमान संजिवलाई दोषी ठहर गरेको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालयले श्रीमती आरतीमाथि एसिड प्रहार गर्ने सबैला नगरपालिका ६ का संजिव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुनबमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने माग गरेको थियो ।

    पीडित आरतीलाई आज मात्रै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

  • आरती साहमाथि एसिड प्रहार गर्ने श्रीमान् दोषी ठहर, एसिड उपलब्ध गराउने व्यवसायीलाई सफाई

    आरती साहमाथि एसिड प्रहार गर्ने श्रीमान् दोषी ठहर, एसिड उपलब्ध गराउने व्यवसायीलाई सफाई

    जनकपुरधाम । धनुषाकी आरती साहमाथि एसिड प्रहार गरेको घटनामा जिल्ला अदालत धनुषाले उनकै श्रीमानलाई दोषी ठहर गरेको छ भने एसिड उपलब्ध गराउने व्यावसायीलाई सफाई दिइएको छ ।

    एसिड प्रहार गरी अंगभंग र कुरूप बनाएको मुद्दामा अदालतले पीडित आरतीका श्रीमान् संजिव साहलाई दोषी ठहर र एसिड बेचेका व्यावसायी नागेन्द्र साहलाई सफाई दिएको हो ।  न्यायाधिश कृष्ण मुरारी सिवाकोटीले एकल इजलाशले यस्तो फैसला सुनाएका छन् । दोषी ठहर संजिवलाई सजाय निर्धारणको लागि पेश गर्ने आदेश पनि दिएको छ । अब एक हप्ताभित्रै सजाय निर्धारण हुने बताइएको छ ।

    जनकपुरधाम उपमहानगर ७ स्थित डेरामा बसेकी आरती र छोरी रियामाथि सञ्जिवले ०७७ कार्तिक २७ मा एसिड छ्यापेका थिए । घटना लगत्तै संजिवलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि संजिवले निखिल स्टोरबाट एसिड किनेको वयान दिएपछि प्रहरीले स्टोर संचालक नागेन्द्रलाई पनि पक्राउ गरेको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाकै सबैला नगरपालिका ६ का संजिव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दावी जिल्ला अदातलतमा दर्ता गराएको थियो ।

    एसिड प्रहारबाट आरती शरीरको करिब १५ प्रतिशत भाग जलेको थियो । काठमाडौंको किर्तिपुर अस्पतालमा उनको अनुहारको दाहिने भागको छाला प्रत्यारोपण समेत गरिएको छ । छोरी रियाको हात र टाउकोमा एसिडले खत बसेको छ ।

    आर्थिक अभावका कारण आरतीलाई आमा(बुवाले ऋण काढेर उपचार गराएका छन् । विभिन्न दाताले केहि सहयोग गरेपनि उपचारमा करिब ३ लाख रुपैया ऋण काढेर तिरेको आरतीकी आमा सुनिता बताउछिन् । आरती जनकपुरमै तरकारी बेचेर गुजरा चलाउछिन् ।